Sunday, July 17, 2022

नेपाली समाजमा प्रचलित नाच गान

 नेपाल सँस्कृतिमा कति धनि देश । नेपाली समाजमा प्रचलित नाच गान ।

https://www.upakardhakal.com.np/2021/10/blog-post_23.html

 

1.      साकेला शिली — चाम्लिङ राई,

2.  जट जटिन नृत्य — थारू,

3.  मारुनी नाच — मगर,  

4.  पाङ्दुरे नाच — मगर,

5.  झामरे नाच — मगर र गुरुङ,   

6.  धान नाच — लिम्बू,  

7.  च्याब्रुङ नाच — लिम्बू,

8.  विरहेन चाँचर — थारू,

9.  चोरखेलिया नाच — थारू,

10.             रास लिला — थारू ,

11.             कृष्ण लिला — थारू ,

12.             तरवार नाच — थारू ,

13.             झुमरा नाच — राई,

14.             मयुर नाच — थारू ,  

15.             महरवा देवी नाच — थारू ,  

16.             वडका नाच — थारू युवती,

17.             बाह्रमासे नाच — थारू ,  

18.             हददुङ्वा नाच — थारू ,

19.             जोगिरा नाच — थारू,

20.             सरु नाच — थारू,  

21.             कठारिया नाच — थारू ,

22.             कटेहर नाच — थारू

23.             रानी नृत्य — थारू,  

24.             धुमरा/झुमरा नाच — थारू,

25.             रसधारी, झुमटा, छोकरा, झुर्रा — थारू,

26.             झिझिया नाच — मैथिली,  

27.             कहरवा नाच — कहार,

28.             पावस गीत — नटुवा,

29.             भजन गीत — बाहुन, क्षेत्री,

30.             बालुन/वालन — ब्राह्मण/क्षेत्री,

31.             स्याब्रु नाच — तामाङ/शेर्पा,

32.             संगिनी नाच — ब्राह्मण/क्षेत्री,

33.             राजवंशी नाच — राजवंशी,

34.             स्वौक्या ड्वाङ्न्या — दमाई,

35.             ढाल नाच — कुमशाल्या,

36.             वाँतर नृत्य — बाँतर,

37.             झपा नाच — मगर,

38.             हुर्रा नाच — मगर,

39.             रुद्रायणी नाच — नेवार,

40.             कर्मधर्मा नृत्य — झाँगड,

41.             धिमाल नृत्य — धिमाल,

42.             गोडही नृत्य — माझी,

43.             रोदी माच — मगर र गुरूङ,  

44.             झाम्रे नाच — मगर र गुरूङ,

45.             झुम्के नाच — मगर र गुरूङ,  

46.             सोरठी नाच — मगर र गुरूङ,

47.             सेलो नाच — तामाङ,

48.             मानीरिम्दु नाच — लामा,

49.             टप्पा नाच — मगर,

50.             ट्यामकुली नाच — मगर,  

51.             हवेदा, औली — थारू र राजवंशी,

52.             झांगर, कहार — थारू र राजवंशी,

53.             जताहा जातिनी नाच — थारू र राजवंशी,

54.             जाट जटिन — मैथिली,

55.             धिमे नाच — ज्यापु,

56.             धिन्तामै — नेवार,

57.             छ्याम — शेर्पा,

58.             चुडका — बाहुन/क्षेत्री,

59.             सामा चकेवा — मैथिली,

60.             होप्चा नाच — राई,

61.             झूँग नाच — उराव,

62.             लाखे नाच — नेवार,

63.             जुयी, वजाँरे नाच — मगर,

64.             पुलकिसी नाच — नेवार,

65.             अघौं नाच — गुरुङ,

66.             खालो नाच — माझी,

67.             घोडा नाच — नेवार,

68.             जोगी नाच — नेवार, टाकटुके नाच — नेवार,

69.             लुसी नाच — नेवार,

70.             छोरखोला नृत्य — मेचे,

71.             वैशाख नृत्य — मेचे,

72.             ठेकरा नाच — थारू,

73.             दफू वसुली नाच — चमार,

74.             डोमकछ — मिथिला,

75.             डोल नफाखर नाच — मेचे,  

76.             तावुछेवा नाच — तामाङ,

77.             थान नाच — गनगाई,

78.             फुटुक नाच — शेर्पा,

79.             फारुवाही नाच — यादव,

80.             वाघ नाच — नेवार,

81.             भगता नाच — मैथिली,

82.             भोटे सेलो नाच — भोटे/शेर्पा,

83.             रत्यौली नाच — वाहुन क्षेत्री,

84.             रोपाई नृत्य — नेवार,

85.             लठ्ठी नाच/दाण्डिया — थारू,

86.             वर्की नाच — थारू,

87.             वसन्त नाच — नेवार,

88.             वाढाडमी नाच — राई,

89.             सन्थाल/सतार नाच — सतार,

90.             सरङ्गे ना़च — मगर,

91.             सलहेस नाच — दुलाध र मुसहर,

92.             केलाङ् नाच — लिम्बु

93.             चावुङ् नाच — लिम्बू,

94.             रामदल नाच — दनुवार,

95.             पोयामारी नाच — धिमाल,

96.             ठोकर नाच — थारू,

97.             हनुमान नाच — वाहुनक्षेत्री,

98.             सौका नाच — सौका,

99.             काँठे नाच — काठमाडौं,

100.         सौका नाच — दार्चुला,

101.         लहरे नाच — डोल्पा, रुद्रायणी नाच — खोकना,

102.         भद्रकाली नाच — नासल चोक,

103.         झोरा नाच — लमजुङ्,

104.         देउडा नाच — सुदुर पश्चिम,

105.         नवदुर्गा नाच — भक्तपुर,

106.         पचलीभैरव नृत्य — काठमाडौं,

107.         लुमडी भद्रकाली नृत्य — काठमाडौं,

108.         चौलो नाच — डडेल्धुरा,

109.         पुतला नाच — अछाम,

110.         पैंसेरी — डोल्पा,

111.         गौना नृत्य — तराई क्षेत्र,

112.                        पतुरिया, हिजडा, चगेरा, चफेरा, करहवा, धोविया, वारी, छपका, पवरिया नाच — कपिलवस्तु

Friday, July 15, 2022

१४ जातिको नृत्यमाथि प्रतिष्ठानको अनुसन्धान

 १४ जातिको नृत्यमाथि प्रतिष्ठानको अनुसन्धान

Naya Patrika, २०७८ चैत ७ सोमबार

लोपोन्मुख नृत्यको संरक्षण गर्दै नयाँ पिँढीलाई ती नृत्यबारे जानकारी दिने उद्देश्यसहित गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशका १४ जातिको नृत्यमाथि अनुसन्धान सुरु गरेको छ प्रतिष्ठानले उपकुलपति गोरे गुरुङको संयोजकत्वमा उपसमिति बनाएर ती नृत्यहरूको अध्ययन अनुसन्धान सुरु गरेको हो

उपकुलपति गुरुङका अनुसार थकाली, कुमाल, छन्त्याल, माझी, गुरुङ, मगर, थारू, दरै, तामाङ, दुरा, ब्राह्मण तथा क्षेत्री, नेवार, दमाईं र गन्धर्व जातिको नृत्यको अध्ययन र अनुसन्धान सुरु भएको हो जसका लागि १४ जना अनुसन्धानकर्तालाई जिम्मा दिएको

अनुसन्धानकर्ताहरूले ३० चैतभित्र अनुसन्धान प्रतिवेदनसहितको सामग्री प्रतिष्ठानमा बुझाउनुपर्ने संयोजक गुरुङले जानकारी दिए अनुसन्धानकर्ताहरूले अक्षर भिडियोमा नृत्यको आवश्यक जानकारी संकलन गरिरहेका छन् छायांकन गर्नुपर्ने नृत्यका भिडियो २३ मिनेटदेखि दुई घन्टा ५८ मिनेटसम्मका हुने गुरुङले जानकारी दिए 

गुरुङका अनुसार प्राप्त भिडियो नयाँ पिँढीलाई देखाउन प्रतिष्ठानले श्रव्यदृश्य कक्षा तयार गर्न लागेको छ प्राप्त भिडियो लाइब्रेरीमा समेत राखिनेछ 

 

 

कुलपूजा : पूर्खा र प्रकृति रिझाउने उत्सव

 कुलपूजा : पूर्खा र प्रकृति रिझाउने उत्सव

किन, कसरी र कहिले गरिन्छ ?

https://www.onlinekhabar.com/2020/03/843865

हरेक मानिसको एउटा वंशवृक्ष हुन्छ, जसलाई पुर्खा वा कुल भन्ने गरिन्छ । आफ्नो पुर्खालाई सम्झिने वा सम्मान व्यक्त गर्ने विभिन्न जातजातिमा आ–आफ्ना तौरतरिका छन् । यसमध्ये एउटा हो, कुलपुजा । आर्य संस्कृतिमा मात्रै नभएर किराँतदेखि अरु पनि पूर्वीय परम्परामा कुलपूजाको परम्परा भेटिन्छ । यद्यपि, पुजाको विधिमा विविधता छन् । मानिसहरु फिरन्ते जीवन छाडेर पारिवारिक संरचनामा प्रवेशसँगै कुल पूजाको संस्कार सुरु भएको हो । पारिवारिक संरचनामा प्रवेश गरेसँगै बिस्तारै मान्छेमा ‘तेरो र मेरो’ को भावना विकास हुन थाल्यो । कृषि जीवन, परिवारका सदस्य र सिंगो जीवन नै तेरो–मेरोमा बित्न थालेसँगै कुलपूजाको परम्परा पनि कठोर र अनिवार्य हुँदै गयो ।

विशेषगरी देउराली र त्यस्तै साझा ठाउँमा कुलपूजाहरु गर्ने गरिन्छ । भगवानको पुजा र कुलपुजामा मुख्य फरक के छ भने कुलपुजा गर्दा कसैको पनि मुर्ति राखिँदैन । मानिसहरुले यायावरी जीवन छाडेको लामो समयसम्म एउटा परिवार विशाल वंशवृक्षमा परिणत हुँदै गएको पाइन्छ । यसैबाट एउटा ‘कुल’को निर्माण भएको हो । परिवारको वंशवृक्ष अझ बिस्तार हुँदै जाँदा यसमा ‘उपकुल’ हरु समेत थपिँदै गए । तिनलाई पनि ‘कुल’ को रुपमा नै मान्न थालियो । अहिले भने एकै गोत्र र थरभित्र समेत धेरै कुलहरु अस्तित्वमा छन् ।

कुलपूजा आफूलाई फुर्सदको मौसममा शुभ मुहूर्त जुराएर गर्न सकिन्छ भने अर्काेतर्फ यो पूजाको विधि पनि कुल अनुसार फरक हुने गर्छ । तर, यो पूजा नगर्ने हो भने कुल रिसाएर ठूलो अनिष्ट हुन सक्ने मान्यता छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराई कुल पूजाको नियम खुकुलो हुँदा हुँदै पनि अति आवश्यक र अनिवार्य गर्नैपर्ने पूजाको रुपमा मान्ने गरिएको बताउँछन् । उनकाअनुसार कुल पूजामा विशेषगरी ७ पुस्तासम्मका दिवंगत पितृहरुलाई सम्झिने गरिन्छ । ‘कुल पूजालाई पहिलेदेखि नै भगवत् पूजनभन्दा पनि महत्वका साथ हेर्ने गरिएको छ,’ भट्टराई भन्छन् ।

जनजाति संस्कारका विज्ञ भोगीराज चाम्लिङ कुल पूजाको महत्व मुन्धुममा समेत विशेष किसिमको हुने गरेको बताउँछन् । यसलाई प्रकृति पूजनको रुपमा लिँदै चाम्लिङ भन्छन्, ‘यो एक किसिमको प्रकृति पूजा हो । तर, यसमा पितृहरुको सम्झना धेरै गरिन्छ । मुन्धुमले पनि आफ्ना पितृहरुको पूजा गर्ने परम्पराको रुपमा यसको ब्याख्या गरेको छ ।’

देउराली पुज्ने प्रचलन धेरै पहिलेदेखि चल्दै आएको हो । अहिले यो परम्परा बिस्तारै कम हुँदैछ । परिवारिक संरचनाको सुरुवाती समयदेखि नै चलेको ‘तेरो मेरो’ भन्ने भावना विकास हुँदै मान्छे मरेपछि पनि आत्मालाई मेरो र तेरो भन्ने चलन चल्दै गयो । यसैले आफ्ना पुर्खाहरुले जीवनपछि पनि आफूलाई संरक्षण गर्छन् भन्ने मान्यताको विकास हुँदै गयो । यो चलन बिस्तारै मृत्युपछिसम्म पनि चल्दै गयो ।

पूर्ववैदिककालमा पनि मानिसहरु अलौकिक शक्तिमाथि विश्वास गर्थे र उनीहरुको कृपाले नै आफूहरुको सहज दैनिकी सम्भव भएको मान्ने गर्थे। आफूले कूलपूजा गरेपछि मात्रै मृत पूर्खाहरुको आत्माले शान्ति पाउने गर्छन् भन्ने मान्यता विकास भएसँगै यो एउटा नियमित प्रक्रियाको रुपमा चल्दै आयो ।

वैदिककालीन सूत्र

वैदिककालका मानिसहरु दुईवटा शक्तिलाई मान्थे । एउटा त अदृश्य तत्वको रुपमा रहेको भगवान र अर्काे पुर्खाहरु । ऋग्वैदिक काल (आजभन्दा तीन हजार वर्ष पहिले) सम्म पनि कुनै प्राकृतिक समस्याको कारण अलौकिक शक्ति नै हो भन्ने मान्यता देखिन्छ । खडेरी, अतिबृष्टि, अनाबृष्टि, हुरीबतास आदिको कारण अलौकिक शक्तिलाई मान्ने चलन पहिलेदेखि नै चल्दै आएको चलन हो । यसैबाट जन्मिएको मानिन्छ कूलपूजाको परम्परा ।

ऋग्वेदका कतिपय ऋचाहरुमा रुद्र(शिव)लाई धेरै नरिसाउन र आफूहरुबाट भएको गल्तीमा माफी दिन धेरै आग्रह गरिएको पाइन्छ । त्यसको लागि उनीहरुले क्षमा पूजाको रुपमा स्तुति, यज्ञ जस्ता शर्तहरु समेत राख्ने गरेको वैदिक ऋचाहरुमा उल्लेख छन् । सोही समयमा कुल देवताको रुपमा आफ्ना पितृहरुलाई समेत पूजा गर्न सुरु गरियो । कुलायनको रुपमा वैदिक साहित्यहरुमा यसको धेरै चर्चा गर्ने गरिन्छ ।

के हो कूल ?

आचारो विनयो विद्या प्रतिष्ठा दर्शनम्

निष्ठा वृत्तिस्तपो दानं नवधा कुल लक्षणम् ।

अर्थात्, कुनै पनि कुल बन्नको लागि आचार, विनय, विद्या, प्रतिष्ठा, दर्शन, निष्टा, वृत्ति, तप, दान गरी नौ वटा गुणहरु आवश्यक पर्छन् । यही नौ वटा लक्षण रहेको कुलमा आफ्ना पुर्खाहरुलाई सम्झिएर गरिने पूजा नै कुल पूजा हो ।

सामान्यतया कुनै पनि कूलको पूजा हुने ठाउँमा मूर्ति राख्ने गरिँदैन । एउटा कूलको अदृष्य स्वरुपको पूजा गर्ने गरिन्छ । तसर्थ कुल देवताको रुपमा कुन देवीलाई पूज्ने भन्ने यकीन हुँदैन । यद्यपि कुल २४ वटा गोत्रका मानिसहरुले कुल देवीको रुपमा विभिन्न योगिनीहरुको उल्लेख गर्ने गरेका छन् ।

कहिले र कसरी गर्ने ?

कुल पूजा कुन समयमा गर्ने भन्ने निश्चित विधान छैन । विधि पनि फरक फरक हुनसक्छन् । कोही वेदोक्त विधिका अनुयायी छन् भने कसैले तान्त्रिक विधिबाट पूजा गर्छन् । वेदोक्त विधिबाट पूजा गर्नेहरु शान्त रुपमा पूजा गर्छन् । तान्त्रिक विधिबाट पूजा गर्नेहरु भने केही भिन्न हुन्छन् । कोही पूजाको समयमा ‘शरीरमा कुल चढेर’ काम्छन् । कसैको पुरै परिवार नै काम्ने गरेको पनि पाइन्छ ।

कसैले कुलपुजामा बली चढाउँछन् । कसैले बली बर्जित गरेका हुन्छन् । यही बली दिने पनि आ–आफ्नै शैली हुन्छ । कोही खुकुरीले काटेर बलि दिन्छन् । कोही रगत आफैं पिउने पनि गर्छन् । कोही भगवानलाई रगत चढाउँछन् ।

धेरैले कुलदेवताको मन्दिरमा छानो राख्दैनन् । कुलदेवताको मन्दिरमा मूर्ति नहुने भएकोले छानो पनि राख्न नहुने कतिपयको मत हुन्छ । कसैले छानो राखेर मन्दिर समेत बनाएको देखिन्छ । यद्यपि त्यो पूजा गर्ने ठाउँमा रुख वा एउटा किलोलाई नै कुल देवताको मूर्ति बनाएर पूजा गर्ने गरिन्छ ।

कतिपय जाति तथा सम्प्रदायहरुले फुर्सदको समयमा कुलपुजा गर्छन् । यसमा कुनै निश्चित समय तोकिएको हुँदैन । तर, अधिकांशले मंसिर पूर्णिमा, अष्टमी र पञ्चमीका दिनमा कुलपूजा गर्ने गरेको पाइन्छ ।

वैदिककालको कृषिमैत्री स्तुति

आदिम कालमा मेघ गर्जन, बिजुली चम्किने र भारी वर्षामा ‘ईश्वर’ रिसाएको भन्दै विभिन्न किसिमको प्रकृति पूजा गर्ने चलन थियो । यही स्तुतिबाट हिन्दू धर्ममा यज्ञको सुरुवात भयो ।

शिवलाई रौद्र रुप निकालेको भनेर उनको नाम नै रुद्र राखियो । यसको कारण थियो धेरै रिसाएर चट्याङ आदिबाट आफूहरुको विध्वंस गराए भन्नु । इन्द्र, मरुत (वायु), सूर्य, पानी जस्ता खेतीपातीसँग सम्बन्धित विषयमा धेरै स्तुतिहरु गरिएको पाइन्छ । कतिपयले आफ्ना कुलदेवताको रुपमा नै सूर्य, वायुआदिको समेत स्तुति गर्ने गरेको पाइन्छ ।

 

जनै लगाउनुको शास्त्रीय एव‌ं वैज्ञानिक महत्व

 यस्तो छ जनै लगाउनुको शास्त्रीय एव‌ं वैज्ञानिक महत्व

https://www.deshkonews.com/archives/89645

जनैको शास्त्रीय महत्व

वैदिक सनातन वर्णाश्रम धर्म मान्ने तागाधारी जातिहरूले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, त्यस दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्दछन् । त्यसपछि जौ तिल कुश साथमा लिई अविच्छिन्न वंशपरम्परा जोगाएका उपाध्याय वैदिक ब्राह्मणहरूलाई गुरु थापी विधिपूर्वक आफ्ना शाखाका वेद-वेदांगको पाठ गर्दछन् वा सुन्छन् । त्यसपछि आ-आफ्ना गोत्र, प्रवर र ऋषिगणहरूको तथा वर्तमान समयका अरुन्धतिसहित सप्तर्षिमण्डलको विधिपूर्वक पूजा गरी ऋषितर्पणी,यज्ञोपवीताभिमन्त्रण (जनै मन्त्रने काम)गर्दछन् ।

वैदिक ग्रन्थअनुसार जनैलाई ‘ब्रह्मसूत्र’ अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदाध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो भन्ने बुझिन्छ । शिखाहरूमध्ये एउटा जनैका शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को जनैका शिखामा रहेका तीन डोरालाई कर्म, उपासना र ज्ञानका प्रतिकहरूको योग मानिन्छ ।

सत्य युगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामन अवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।

यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि(कश्यप, अत्री, भारद्वाज, गौतम, जमदग्नि, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ । ज्ञान र सफल जीवन मार्गको शिक्षा दिक्षा गर्ने ऋषीहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गरिन्छ । अतः श्रावणशुक्लपूर्णिमाका दिन अध्यायोपाकर्म (स्वाध्यायाध्ययनारम्भ)गरेर वेदोक्त पञ्चमहायज्ञको जग बसाउने काम गरिन्छ । यस कर्मलाई ब्रह्मयज्ञ आरम्भ गरेर मनाइन्छ । ब्रह्मयज्ञ अन्य पञ्च महायज्ञहरूको आत्मा पनि भएकाले अन्य यज्ञहरू गर्न न सक्नेहरूले पनि मात्र ब्रह्मयज्ञ सम्पन्न गर्दा अन्य सबै यज्ञहरू गरेको फल प्राप्त हुने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

जनैको व्यावहारिक/वैज्ञानिक महत्व

जनै धारण गर्नाले चञ्चल चित्तलाई वशमा राख्न सकिने तथा व्यक्तिमा सद्गुणको विकास हुने विश्वास गरिन्छ । काम, क्रोधजस्ता नकारात्मक आवेगहरुमा नियन्त्रण राख्न सजिलो हुने विश्वास समेत गरिन्छ ।

जनै धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुने तथा यसमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छ । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरुको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरु नदोहोर्याई सत्मार्गमा अभिप्रेरित हुन समेत जनैपूर्णिमाको दिन विधिपूर्वक जनैधारण गरिन्छ ।

जनै लगाउनाले हृदय रोगको सम्भावनालाई समेत कम गर्ने मत रहेको पाइन्छ । चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुनाले दिशा-पिसाब गर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बायाँ काँधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्ने विस्वास गरिन्छ ।

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...