Wednesday, March 22, 2023

संघीयता कार्यान्वयनमा देखिएका चुनौती र समाधानका उपायहरू

 संघीयता कार्यान्वयनमा देखिएका चुनौती र समाधानका उपायहरू

प्रकाशित मिति ः श्रावण १७, २०७९ मंगलबार, कारोवार संवाददाता

संघीयता नेपालका लागि राज्य सञ्चालनको नयाँ प्रणाली वा अभ्यास हो । जनआन्दोलनको बेला संघीयताबारे चर्चा नभए पनि तराई आन्दोलनलाई सम्बोधन गर्ने क्रममा अन्तरिम संविधान २०६३ मा संघीयता थप गरिएको हो । कतिपय राजनैतिक दलका नेतृत्वले संघीयता स्थापित भएमा ‘१० वर्षभित्र नेपाल स्वीट्जरल्यान्ड वा सिंगापुर बनाउने’, सपना पनि नबाँडेका होइनन् । तर, बौद्धिक जगत र जनताबीच संघीयताबारे व्यापक छलफल र अन्तरक्रियाबिना पारित भएको हुँदा आज कार्यान्वयनमा सकस भइरहेको छ । नेपालको संविधान (२०७२) ले संघीयतालाई संस्थागत गरेपछि अहिले हामी त्यसको अभ्यास गर्दैछौँ । संविधान र कानुनमा संघीयता आए पनि शासन सत्तामा बस्ने नेता, प्रधानमन्त्री, मन्त्रीहरू र माथिल्लो तहका संघीय कर्मचारीहरूमा भने एकात्मक शासन व्यवस्थाकै सोच र चिन्तन कायम छ ।

संघीयताको अर्थ अधिकार र जिम्मेवारीको बाँडफाँट हो । संविधानले संघ, प्रदेश र स्थानीय तहको अधिकार प्रष्ट पारेको छ । संविधानको धारा ५६ (२) मा ‘राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले संविधान तथा कानुनबमोजिम गर्नेछन्’, भन्ने उल्लेख छ । हाम्रा पूर्वप्रधानमन्त्री प्रदेश र स्थानीय तह संघको ‘एकाइ’ मात्र हुन् भन्न पछि पर्नुभएन । वास्तवमा प्रदेश र स्थानीय तह न संघको इकाइ हो न ती सरकारहरू कसैको मातहतमा बस्नु नै पर्छ । संवैधानिक व्यवस्थाअनुसार संघ, प्रदेश र स्थानीय तह आ–आफ्नो क्षेत्रमा स्वायत्त र स्वतन्त्र छन् । संविधानको धारा ६० मा ‘संघ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रको विषयमा कर लगाउन र ती स्रोतहरूबाट राजश्व उठाउन सक्नेछन्’ भन्ने व्यवस्था छ ।

संघीयताको ५ वर्षको अभ्यासले कतिपय प्रदेशहरूले आफ्नो औचित्य पुष्टि गर्न नसकेको आवाज पनि उठ्यो । २÷४ लाखको वडास्तरीय योजनासमेत प्रदेशस्तरको योजनामा समावेश गर्न खोज्दा प्रदेशको औचित्यतामाथि प्रश्न उठेको हो । संघ, प्रदेश र स्थानीय तहले योजना छनौट गर्दा निश्चित सीमा हुनुपर्ने हो । संघले रु.२५ करोडभन्दा माथिको योजना, प्रदेशले रु. ५ करोडदेखि २५ करोडसम्मको योजना र ५ करोडभन्दा कमको योजना स्थानीयको जिम्मा लगाएको भए आजको जस्तो अन्योल हुने थिएन ।

वास्तवमा प्रदेशले आफ्नो अधिकार क्षेत्रको काममा ध्यान नदिई बारम्बार सरकार परिवर्तनको फोहरी राजनैतिक खेलमा मात्रै दलहरू केन्द्रित हुनाले आजको अवस्था आएको हो । जनताको सेवा सुविधामाभन्दा मन्त्री र मन्त्रालयको संख्या बढाउनेतर्फ ध्यान दिनाले प्रदेश सरकारप्रति जनताको नकारात्मक दृष्टिकोणको विकास भयो । आफ्नो औचित्यता अरु कसैले होइन, आफैंले पुष्टि गर्नुपर्छ ।

स्थानीय तहले बनाउने अधिकांश कानुनमा ‘प्रदेश कानुनबमोजिम’ भन्ने उल्लेख छ तर प्रदेशले कानुन निर्माण नगर्दा धेरै स्थानीय तहहरूले काममा असहजता महशुश गरेका छन् । यसबारे प्रदेश सरकारहरूले सोच्नुपर्ने हो । ७ प्रदेशमध्ये ५ वर्षको अवधिमा एउटा प्रदेशले त नामसम्म राख्न सकेको थिएन । संघीय संरचना सफल वा असफल बनाउने संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको साझा जिम्मेवारी हो ।

स्थानीय तहको अधिकार संविधानमै सूचीकृत भएको नेपालको इतिहासमै यो पहिलो पटक हो । संघ र प्रदेशमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका छुटाछुट्टै व्यवस्था छ भने स्थानीय तहले ती तीनै निकायहरूको अधिकार प्रयोग गर्न सक्छन् । यस अर्थमा स्थानीय तह पहिलेको तुलनामा धेरै हदसम्म अधिकारसम्पन्न छन् । संघ, प्रदेश र स्थानीय तहको समन्वयले मात्रै संघीयताको प्रभावकारी कार्यान्वयन सम्भव छ ।

राजनैतिक पक्ष ः

संघ र प्रदेश सरकारको ५ वर्षको अवधिमा पटक पटक सरकारको फेरबदल भयो । संघमा २ पटक प्रधानमन्त्री र बागमती प्रदेशमा ३ पटक मुख्यमन्त्रीको फेरबदल भयो । अन्य प्रदेशहरूको अवस्था पनि त्योभन्दा फरक भएन । यसले शासक दलहरूप्रति नै जनताको वितृष्णा भयो । सरकारी दलहरूलाई भाग पु¥याउन मन्त्रालय टुक्र्याउने, मन्त्रीहरूको संख्या बढाउने जस्ता गलत कार्यहरू भए । यसले राज्यलाई अनावश्यक आर्थिक भार पर्न गयो र जनताले प्रदेशहरू खारेज गर्नुपर्ने सम्मको आवाज उठाए ।

संघीय शासन व्यवस्था कार्यान्वयनमा आएपछि विगतका जिल्लास्तरीय सबै संरचनाहरू खारेज भई पालिकास्तरमा आउनुपर्ने हो । विभिन्न बहानामा संघले जिल्लास्तरीय संरचनाहरूलाई पुनःस्थापना गर्ने कोसिस गर्दैछ । 

संघीयतासँग बाझिएका सबै कानुन २०७२ फागुनसम्म परिमार्जन गर्ने, तीन तहको साझा अधिकार सूचीमा रहेका शिक्षा, विद्युत, सिँचाइ, जलस्रोत, वन, सञ्चार, खानी, उद्योग, यातायात, कृषिलगायत क्षेत्रहरूका कानुन २०७५ चैतसम्म तयार गर्ने जस्ता निर्णय गरिए पनि सरकारले काम गर्न सकेन । अहिले विभिन्न संरचनाले काम गरिरहँदा व्यवस्थित रुपले अगाडि बढ्न सकेन ।

वित्तीय पक्ष ः

संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान बाँडफाँट गर्न संविधानमा वित्त आयोगको व्यवस्था गरिएको छ । तर नेपाल सरकारले वित्त आयोगलाई एउटा प्रशासनिक एकाइजस्तो व्यवहार गरेको गुनासो छ । अन्तर सरकारी बित्त हस्तान्तरण ऐन बनाएर ऐनको आधारमा काम अगाडि बढाउँदा आयोगको काम ओझेलमा परेको अनुभव गरिँदैछ ।

संघ, प्रदेश र स्थानीय तीनवटै तहले पुँजीगततर्फ योजनाअनुसार खर्च गर्न नसकेको यथार्थ हो । स्थानीय तहको हकमा केन्द्र र प्रदेशले समयमा बजेट नपठाउँदा पुँजीगत खर्च कम हुन गएको देखिन्छ । आर्थिक वर्षको अन्तिम समयमा मात्रै बजेट निकासा पठाउने परम्पराको अन्त्य हुनु जरुरी छ ।

संघ र प्रदेशले समानीकरण अनुदान बढाउनुपर्नेमा ठीक उल्टो सशर्त अनुदान बढाउने गरेको छ । स्थानीय तहलाई जनताको आवश्यकता र प्राथमिकता के हो भन्ने थाहा हुन्छ । सशर्त बजेट बढाउनुको अर्थ स्थानीय तहहरूमाथि केन्द्र र प्रदेशको नियन्त्रण कायम गर्न खोज्नु हो । त्यो संघीयताको मर्मविपरीत छ । यसर्थ समानीकरण अनुदान बढाउनु कानुनी र व्यावहारिक दृष्टिले उचित हुनेछ ।

संघ, प्रदेश र स्थानीय तहमा व्यापक आर्थिक अनियमितताका समाचारहरू बाहिरिएका छन् । पारदर्शिताको अभाव नै यसको मुख्य कारण हो । राज्यका हरेक योजना ठेक्कापट्टामा गराउने नीति अर्को कारण हो । सबै खर्च पारदर्शी गर्ने व्यवस्था हुन आवश्यक छ ।

प्रशासनिक पक्ष ः

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहमा प्रदेश लोकसेवाले मात्र स्थायी कर्मचारी पठाउने व्यवस्था छ । स्थानीय सरकारको रूपमा संवैधानिक व्यवस्था भएपछि कर्मचारीको लागि प्रदेशको मुख ताक्नुपर्ने व्यवस्था प्रगतिशील होइन । स्थानीय स्वायत्त शासन ऐन, २०५५ मै स्थानीय निकायलाई चाहिने आवश्यक कर्मचारी स्थानीय निकाय आफैले भर्ना गर्ने, आवश्यक सेवा सुविधाको व्यवस्थाको अधिकार थियो । कर्मचारीको कारण स्थानीय तहहरूले काम गर्न निकै समस्या भोग्दैछन् । अझ ५ वर्षसम्म प्रदेश लोकसेवाले कर्मचारी भर्नाको कुनै काम गर्न नसक्नु बिडम्बना नै हो ।

शिक्षकहरूलाई स्थानीय तहले तलब खुवाउने र नियन्त्रण संघ सरकारले गर्ने उचित होइन । संविधानअनुसार विद्यालयहरू हेर्ने जिम्मा स्थानीय तहको हो तर शिक्षक सरुवा, बढुवादेखि अधिकांश कामहरू संघ स्वयम्ले गर्दैछ । तलब खुवाउने र नियन्त्रण एकै ठाउँबाट हुनुपर्ने सामान्य मान्यतासमेत पालना भएन । कतिपय शिक्षकहरू स्थानीय तहअन्तर्गत बस्न चाहिरहेका छैनन् । शिक्षकहरू संघअन्तर्गत रहने व्यवस्थाका लागि केही शिक्षक संघहरू तर्फ लाग्दैछन् । शिक्षकहरू भर्ना, सेवा—सुविधालगायत सम्पूर्ण प्रशासनिक कामसमेत एउटै तहलाई दिनु उचित हुनेछ । यसबाट शिक्षकहरूलाई व्यवस्थित गर्न र शैक्षिक प्रगतिको लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास छ ।

संघीयता कार्यान्वयनका चुनौतीहरू र समाधानका उपाय ः

बेलाबखत प्रधानमन्त्री, मुख्यमन्त्री भइसकेकाहरूबाटै प्रदेश र स्थानीय तह संघका इकाइमात्र भएको र स्थानीय तहहरू प्रदेश अन्तर्गत हुनुपर्छ भन्नेजस्ता अस्पष्ट, संविधान र संघीयताको भावनाविपरीत अभिव्यक्ति आउनु संघीयताको लागि चुनौती हो । 

संघ, प्रदेश र स्थानीय सरकारको व्यवस्था हुँदाहुँदै जिल्ला समन्वय समितिको व्यवस्था अर्को चुनौति हो । त्यसको कुनै आवश्यकता र औचित्य छैन । संविधान संशोधन गरेर जिल्ला समन्वय समिति खारेज गर्नु नै उपयुक्त हुनेछ ।

संविधानको भावनाअनुसार जिल्लास्तरीय संरचनाहरू कृषि, शिक्षा, स्वास्थ्य, भूमिसुधार, नगर विकास, वन, खानेपानी, पुरातत्व जस्ता एकाइहरू पालिकाअन्तर्गत ल्याइनुपर्छ । यस्तो गर्न सकिए स्थानीय जनताले घरदैलोमै सरकार भएको अनुभव गर्न पाउनेछन् ।

जिल्ला शिक्षाको सम्पूर्ण जिम्मेवारी एउटै तहलाई र त्यसमाथिका शिक्षाको काम प्रदेश र संघले गर्ने व्यवस्था हुन आवश्यक छ । सीटीईभीटी अन्तर्गतका प्राविधिक तथा व्यावसायिक विद्यालय पनि स्थानीय तहअन्तर्गत सञ्चालनमा ल्याइनुपर्छ ।

स्थानीय तहको लागि संघ र प्रदेशले बनाउनुपर्ने आवश्यक कानुनहरू निर्माण गरी नदिँदा साझा अधिकार सूचीमा रहेका धेरै कामहरू हुन सकेनन् । अझ कतिपय विषयमा संघ आफैले कानुन संशोधन गरी स्थानीय तहको अधिकारसमेत खोस्न थालेको पाइएको छ । पुरातत्व विभाग स्थानीय तहअन्तर्गत आइसकेको र बजेटसमेत नगरपालिकामा पठाइसकेकोमा पछि कानुन संशोधन गरी बजेट फिर्ता लगेको ताजा उदाहरण हो । प्रदेशहरूले संविधानबमोजिम बनाउनुपर्ने कानूनहरू बनाई स्थानीय तहहरूलाई काम गर्न सहज बनाउनु आवश्यक छ ।

संघीयता लागू भएको ५ वर्ष भइसक्दा पनि शान्ति सुरक्षाको सबै व्यवस्था संघले नै गर्दैछ । प्रदेश गृहमन्त्री प्रहरीविना बस्नुपरेको छ । प्रदेश गृहमन्त्रीभन्दा प्रजिअ शक्तिशाली देखिएको छ । 

देश हितविपरीत एमसीसी र नागरिकता विधेयक पारित गर्नेजस्ता कार्यहरूले नेपाल विदेशीहरूको उपनिवेश हुने बाटोतर्फ अगाडि बढ्दैछ । सिक्किमीकरण र फिजीकरणको बाटोबाट देश आत्मनिर्भर र स्वाधिन बन्न सक्दैन । हामी नेपाललाई स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न सुरक्षित नेपाल बनाउनेतर्फ अग्रसर हुनैपर्छ । संघीयताको प्रभावकारी कार्यान्वयन भएमा देशको शीघ्र समृद्धि असम्भव छैन । संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गरी अगाडि बढौं । (भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)

अल्पसंख्यकप्रति उपेक्षा

 अल्पसंख्यकप्रति उपेक्षा

 लेखकहरु अपूर्व बराल, संजित श्रेष्ठ र सुदेश्ना थापा । (पेज १८–१९)

 नेपालले दलित, आदिवासी, अल्पसंख्यक समुदायको रक्षाका लागी स्थापित मानव अधिकार आयोगले अन्तराष्ट्रिय मापदण्ड अनुसार काम गर्न असमर्थ रहेकोले विश्व साम आफनो छवि धुमिल पारेको छ । यस सन्दर्भमा हिमाल अर्थ राजनीति मासिक पत्रिका वर्ष ३१, अङ्क ८, पूर्णङ्क ७, ०३ चैत्र २०७९ बाट यहाँ साभार गरिएको छ ।

दलित, जनजाति र अन्य सीमान्तकृत समुदाय लगायत विभिन्न अल्पसंख्यक समुदायको रक्षा गर्ने गरी नेपालले वनाएका कानूनहरु देशले अनुमोदन गरेको मानव अधिकार सम्वन्धी अन्तराष्ट्रिय महासन्धि अनुसार नै छन् । संवैधानिक प्रावधानहरुले पनि अल्पसंख्यकहरुको अधिकार रक्षा र प्रवद्र्धन गर्ने उद्येश्य राख्छन्, जस अन्र्तगत क्षेत्र, भाषा र संस्कृतिको अधिकार, दलित अधिकार, छुवाछुत विरुद्धको अधिकार लगायत छन् । मुलुकी, देवानी तथा फौजदारी संहिता, जातीय छुवाछुत र अन्य भेदभाव (कसूर र सजाय) ऐन, २०६८ लगायत कानूनले संवैधानिक प्रावधानको कार्यान्वयनमा सघाएका छन् । उल्लिखित ऐनमा संशोधन गरी वंश वा शारीरिक अवस्थाका आधारमा गरिने छुवाछुत र भेदभाव” लाई दण्डनीय वनाईएको छ, जुन “सवै प्रकारका जातीय छुवाछुत उन्मूलन सम्वन्धी अन्तराष्ट्रिय महासन्धि” अनुसार छ । ऐनले सबै प्रकारका छुवाछुत र भेदभावलाई दण्डनीय वनाए पनि यसको कार्यान्वयन प्रक्रिया स्पष्ट रुपमा उल्लेख गर्न चुकेको छ । साथै, धर्म परिवर्तनमा प्रतिवन्ध लगाएसंगै पछिल्लो दशकमा नेपालमा धार्मिक असहिष्णुता वढदै गएको छ, जसले देशलाई मानव अधिकार सम्वन्धी अन्तराष्ट्रिय स्थितिबाट खस्काएको छ । 

       आफू पक्ष राष्ट्र भएका महासन्धिका सिद्धान्तसंग बाझिने कानून संशोधन गर्न पनि नेपाल असफल भएको छ । जस्तै, “आदिवासी तथा जनजाति सम्वन्धी महासन्धि, सन् १९८९ अनुसार आदिवासी समुदाय सम्वन्धी निर्णय गर्नुपूर्व उनीहरुको सहमति लिनुपर्छ । यस्तो सिद्धान्तसंग बाझिन गरी बनेका कानून संशोधन वा खारेज भएका छैनन् । संविधानले अल्पसंख्यक समुदायको पक्षमा काम गर्ने र राज्य तहमा प्रतिनिधित्व वढाउने प्रतिवद्धता गरेको छ । तर, व्यवहारमा यी प्रतिवद्धता पूरा गर्न र उनीहरुको जीवनस्तर उकास्न असफल भएको छ ।  कानून र कार्यान्वयनमा भएको यो खाडलका कारण दलित, आदिवासी समुदाय र अन्य अल्पसंख्यक समुदायले असमानता भोग्नु परेको छ ।

       नेपालले यस्ता महासन्धिमा आधारित ‘संयन्त्रमा गरिने रिपोर्टिङ्गमा पनि कमजोर प्रस्तुती देखाएको छ ।  आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार कमिटि (एचआरसी), यातना विरुद्धको कमिटिले तय गरे अनुसार नियमित रिपोर्टिङ्गको पालना निकै न्यून छ । एचआरसी र सीईएससीआरमा नेपालले २०७२ सालमा संविधान जारी गर्नुअधि सन् २०१२ र २०११ मा रिर्पोटिङ्ग गरेको थियो । त्यस्तै, यातना विरुद्धको कमिटिमा त नेपालले २०६३ सालमा विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्नु अगावै सन् २००४ मा रिपोर्टिङ गरेको थियो । नेपाल सरकार र तत्कालिन विद्रोही नेकपा(माओवादी) वीच भएको शान्ति सम्झौताले एक दशक लामो सशस्त्र द्वन्द् अन्त्य गरेको थियो, जसमा अल्पसंख्यक समुदाय निकै प्रभावित भएको थियो । त्यसपछि नेपालको सामाजिक–राजनीतिक स्थितिमा आमूल परिवर्तन भएको सन्दर्भमा पछिल्ला विकासवारे नेपालले प्रतिवेदन प्रस्तुत गरेको छैन।

       विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) को पछिल्लो चक्रको हिस्साका रुपमा पेश गरिएको नेपालको राष्ट्रिय प्रतिवेदनमा अधिल्लो चक्रमा प्रस्तुत १५२ वटा सुझाव स्वीकार गरी कार्यान्वयन गरेको उल्लेख छ, तर त्यसवारे विस्तृत व्याख्या छैन । उक्त प्रतिवेदनमा उल्लेख गरिएका महत्वपूर्ण उपलव्धिमध्ये २०७२ सालको संविधानमा उल्लेखित मौलिक अधिकार कार्यान्वयनका लागि कानूनको निर्माण र राज्य संयन्त्रमा अल्पसंख्यकहरुको प्रतिनिधित्व बढाउन गरिएका कामको विवरण छ । प्रतिवेदनमा महिलाको अधिकार सम्वन्धमा भएका उपलव्धिको विस्तृत चर्चा गरिएको छ भने देशमा अल्पसंख्यक समुदायको अवस्थावारे खासै चर्चा छैन । अघिल्ला यूपीआर चक्रहरुमा दिईएका सुझाव कार्यान्वयन गर्ने सन्दर्भमा पनि देशको राजनीतिक वातावरण अनुकूल हुनेलाई मात्र स्वीकार गरी कार्यान्वयन गरिएको छ । विवाद सिर्जना गर्न सक्ने ठानिएको सुझाव पन्छाईएको छ । कार्यदलले प्राप्त गरेको सुझावमध्ये राष्ट्रिय मानव अधिकार आयोगमाथि प्रतिवन्ध हटाउने पनि उल्लेख छ । त्यस्तै, सरोकारवालाहरुले सरकार समक्ष जनजातिहरुको अधिकारको रक्षा गर्न, प्रभावकारी संक्रमणकालीन न्याय संयन्त्र निर्माण गर्न र धर्म परिवर्तनमा लगाईएको प्रतिवन्ध फुकुवा गर्न माग गरेका छन् ।

       अल्पसंख्यकको अधिकार रक्षा गर्ने कार्यादेश पाएका संवैधानिक अङ्गहरुलाई पनि नियुक्तिमा ढिलाई गरेर र स्रोतसाधन खुम्च्याएर कमजोर पारिएको छ । कतिसम्म भने, सरकारमा राष्ट्रिय मानव अधिकार आयोगले पार्ने प्रभाव कमजोर बनाउने उद्येश्यले आयोगका अधिकार कटौतीको प्रयास समेत गरियो । सरकारको यो कदमका कारण राष्ट्रिय मानव अधिकार संस्थाहरुको विश्वव्यापी सञ्जाल (जीएएनएचआरआई) ले नेपालको मानव अधिकार आयोगको दर्जा “ए” बाट घटाएर ‘बी” मा झा¥यो ।   

आयोगका अधिकारीहरुको नियुक्तीको वैधानिकतामाथि उठेको प्रश्न र कमजोर प्रदर्शनका कारण आयोगको स्तर खस्किन पुग्यो ।

       अल्पसंख्यक समुदाय प्रति विभेदको स्पष्ट निषेध र उनीहरुको सामाजिक–आर्थिक स्तर उकास्न र राज्य संरचनामा उनीहरुको प्रतिनिधित्व बढाउने उद्देश्यले विभिन्न प्रयत्न भए पनि यस समुदायले भोग्दै आएको संरचनागत सीमान्तीकरण र विभेद कायमै छ । साथै, महासन्धि सिर्जित संयन्त्रमा गर्नुपर्ने नियमित रिर्पोटिङ्ग नगरेकोले र संयुक्त राष्ट्रसंघको विशेष प्रक्रियाबाट प्राप्त सुझाव वेवास्ता गरेकोले मानव अधिकारका मान्यता र सिद्धान्तप्रति नेपालले जनाएको प्रतिवद्धता नै शङ्काको घेरामा परेको देखिन्छ ।

       नेपालले मानव अधिकार सम्वन्धी अन्तराष्ट्रिय मान्यता र तिनका बाध्यकारी प्रावधानलाई गम्भीरतापूर्वक लिन जरुरी छ । त्यस्तै, त्यसको कार्यान्वयनको प्रभावकारी अनुगमन पनि सुनिश्चित गरिनुपर्ने देखिन्छ । लोकतान्त्रिक राज्य निर्माणलाई सुदृढ बनाउन मानव अधिकारको रक्षा र प्रवद्र्धन , खास गरी अल्पसंख्यक समुदायको अधिकार रक्षाका सन्दर्भमा विशेष जोड दिन आवश्यक छ । राज्यको संघीय पुनःसंरचना भईरहेको सन्दर्भमा त यो झनै आवश्यक छ ।”  


 

आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ

 

आर्थिक समृद्धिबाट जातीय विभेद अन्त्य गर्न सकिन्छ
प्रधानमन्त्री प्रचण्ड

न्यूजपोलार
 
८ चैत्र २०७९, बुधबार १६:४२

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायमाथिको विभेद अन्त्यका लागि सामाजिक जागरण, रुपान्तरण र मुक्तिको आन्दोलन चलाइरहनुपर्ने बताउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकमा सांसद भुवनबहादुर सुनारले पेश गरेको छुवाछूत तथा जातीय विभेदविरुद्धको संकल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदले उठाउनुभएको जिज्ञासाको जवाफमा प्रधानमन्त्रीले निरन्तर सांस्कृतिक आन्दोलन र अभियान चलाउनुपर्ने बताउनुभयो ।

उहाँले दलित समुदायमाथि हुने विभेद अन्त्यका लागि सरकारको तर्फबाट भएका कानुनको प्रभावकारी कार्यान्वयन र अपुग भएका कानुन निर्माणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले दलित समुदायलाई अधिकार सम्पन्न गराउनका लागि ऐतिहासिक कर्म गर्न दृढ रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकार दलित समुदायको पक्षमा ऐतिहासिक कर्म गर्न दृढ र प्रतिबद्ध छ ।

दलित समुदाय र महिलामाथि भएको विभेद र ज्यादती अन्त्य गर्न कर्मचारीतन्त्र, सुरक्षा संयन्त्र र राजनीतिक नेतृत्वको सोचमा समेत परिवर्तन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास तथा समृद्धिको अभियानबाट पनि जतीय विभेद कम गर्न सकिने बताउनुभयो ।

प्रधानमन्त्रीले आफूहरु क्रान्तिकारी आन्दोलनमा रहेको बेला उठाइएका विषय नै सङ्कल्प प्रस्तावमा समावेश गरिएकामा प्रसन्नता व्यक्त गर्नुभयो । उहाँले क्रान्तिका बेला कायम भएका अन्तरजातीय विवाह क्रमशः सम्बन्ध विच्छेदतिर गएकामा दुःख व्यक्त गर्नुभयो ।

निरन्तर सामाजिक चेतना, रुपान्तरण र सांस्कृतिक आन्दोलनसँगै अगाडि जान जरुरी रहेको उल्लेख गर्दै उहाँले केही कानुनलाई व्यवहारिक रुप दिन जरुरी रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले सामाजिक आन्दोलनको प्रक्रिया अगाडि नबढ्दासम्म भएका कानुनको कार्यान्वयन पनि क्रमशः निष्प्रभावी हुँदै जाने खतरा रहेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “यो विषय निरन्तर आन्दोलनको विषय हो ।

दलित र उत्पीडितले प्राप्त गरेको अधिकार उल्ट्याउने कसरत अझै पनि जारी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सामाजिक चेतना र रुपान्तरणको अभियान निरन्तररुपमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले वैधानिक र कानुनीरुपले मात्रै विभेद र अपमानलगायतका समस्या समाधान गर्न खोजियो भने अप्ठ्यारो पर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले केही कानुनलाई समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले राजनीतिक इच्छाशक्ति, विचार, बहस र सङ्घर्षबाट समाधान गर्न सकिने पाटो भए पनि आर्थिक समृद्धिलाई नयाँ उचाईमा उठाउँदै जाँदा विभेद क्रमशः अन्त्य र सहज हुँदै जाने उल्लेख गर्नुभयो । विकासको गति लिँदै जाँदा विभेद र अपमान कम हुँदै जाने प्रधानमन्त्रीको भनाइ छ ।

कानुनको कार्यान्वयन र विकास निर्माणको कामसँग सँगै लैजाँदा पनि सामाजिक न्याय हुनसक्ने प्रधानमन्त्रीको भनाइ छ ।

सङ्कल्प प्रस्ताव सर्वसहमतिले स्वीकृत
राष्ट्रियसभाको आजको बैठकले सांसद भुवन सुनारले प्रस्ताव गर्नुभएको दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्नेसम्बन्धी सङ्कल्प प्रस्ताव सर्वसहमतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सङ्कल्प प्रस्तावमा उठाइएका विषय कार्यान्वयनका लागि सरकारलाई निर्देशन दिनुभयो ।

 

 

Friday, January 13, 2023

समावेशी आयोग र मुलुकको शासकीय चरित्र

 समावेशी आयोग र मुलुकको शासकीय चरित्र

संविधानको मर्मअनुसार निश्चित समयावधिभित्र समानुपातिक समावेशिता कायम गर्ने गरी ऐन, नियम र कार्ययोजना ल्याउनु जरुरी छ । असमावेशिताका कारण मुलुकले धेरै अवसर गुमाएको मात्र छैन, समृद्धिको मार्ग नै अवरुद्ध भएको छ ।

पुस २८, २०७९मानबहादुर बीके, कान्तिपुर

मुलुकले अवलम्बन गरेको आरक्षण व्यवस्थाबारे राष्ट्रिय समावेशी आयोगले केही समयअघि सार्वजनिक गरेको ‘विद्यमान सरकारी सेवामा आरक्षणको प्रभाव : अध्ययन प्रतिवेदन–२०७९’ ले सरोकारवालाहरूबीच तातो बहस सृजना गरेको छ

उक्त प्रतिवेदनले मूलतः निजामती सेवामा हाल उपलब्ध गराइएको आरक्षण व्यवस्था विक्रम संवत् २०९१ पछि कायम राख्नु वाञ्छनीय नहुने भन्दै अब कानुन बनाउँदा यसलाई ध्यान दिन सम्बन्धित मन्त्रालयहरूलाई सुझावसमेत दिएको छ २०६४ सालमा भएको निजामती सेवा ऐनको संशोधनले आरक्षणको व्यवस्था गरेकाले तत्कालीन विधायिकाको मनसाय बमोजिम १४ वर्षमा तालिका १ मा देखाइएजस्तै आरक्षणबाट प्रवेश गर्नेको संख्या तोकिएको अनुपातको नजिक पुगिसकेको र २०९१ सालसम्ममा यस्तो अनुपात ४५ प्रतिशत पुगिसक्ने भएकाले तत्पश्चात् यसको आवश्यकता नपर्ने ठोकुवा प्रतिवेदनमा गरिएको छ


अर्कातिर, प्रतिवेदनमा आरक्षण व्यवस्थाले सार्वजनिक सेवा विविधतायुक्त बनेको; आर्थिक–सामाजिक गतिशीलतामा महत्त्वपर्णू योगदान पुर्‍याएको; कानुनी व्यवस्थाले सुधार्न नसकेको विभेदको संस्कृति कमजोर बन्दै गएको; सार्वजनिक सेवा बिस्तारै समाजको ऐना बन्दै गएको; समाज क्रमशः समतामूलक बन्दै गएको; शासकीय व्यवस्थाप्रति सबै जात, जाति, लिंग, वर्ग, समूह र समुदायमा अपनत्वको भवना बढेको; सामाजिक सद्भाव पनि अभिवृद्धि गरेको; सेवा प्रवेश गरेको एक पुस्तामै आर्थिक रूपान्तरणलाई सम्भव बनाइदिएको जस्ता सकारात्मक प्रभाव पारेको भनी यस्तो प्रावधानलाई निजी क्षेत्रले आत्मसात् गर्नुपर्ने सुझावसमेत दिइएको छ

यसरी हेर्दा प्रतिवेदन आफैंमा बाझिएको देखिन्छ प्रतिवेदनमा एकातिर आरक्षणको उपयोग केही सीमित समुदायले मात्र गरेको हुँदा त्यहाँ केही ‘तरमारा वर्ग’ तयार भएको चिन्ता व्यक्त गरिएको छ भने, अर्कातर्फ यो व्यवस्थाले योग्यता प्रणालीलाई खुम्च्याएको हुँदा सार्वजनिक प्रशासनको कार्य सम्पादनमा प्रतिकूल प्रभाव परेको पनि उल्लेख छ, जुन आफैंमा पूर्वाग्रही मनोवृत्तिको उपजजस्तो देखिन्छ किनकि विश्वमा नेपालमा समेत भएका अध्ययनहरूले सामाजिक समावेशिताका कारण संस्थागत कार्यसम्पादन बढेकै देखाएका छन्

मूल कुरा, आयोगले वैकल्पिक नीतिगत व्यवस्था नसुझाई आरक्षण अन्त्यको एकतर्फी सिफारिस गरेको छ राज्यका सबै क्षेत्र, तह, संरचनामा सबै वर्ग, लिंग, जातजाति, समुदाय एवं क्षेत्रको समुचित प्रतिनिधित्व गराउन; पहुँच र समता अभिवृद्धि गर्न अनि सामाजिक न्याय स्थापना गर्न सरकारलाई सुझाव दिने तथा सिफारिस गर्ने जिम्मेवारी बोकेको संवैधानिक आयोगले एकाएक यस प्रकारको सिफारिस गर्दा आशंका उब्जिनु स्वाभाविकै हो उत्तिकै हैसियत राख्ने विषयगत आयोगहरूलाई यो अध्ययन प्रतिवेदन तयारीमा संलग्न नगराइँदा एवं प्रतिवेदनको भाषाशैली तर्कनाहरूको अध्ययन गर्दा कतै आयोग समस्त सीमान्तीकृत समुदायप्रति पूर्वाग्रही भएको त हैन, मुलुकको शासकीय चरित्रको विम्ब त हैन भन्ने आशंका हुन्छ किनकि सत्तामा रहनेहरूले समावेशी नीतिको कसरी दुरुपयोग गरिरहेका छन् भन्ने हालैको निर्वाचनमा राजनीतिक दलहरूले पठाएका समानुपातिक सूची हेरे पुग्छ ‘नाति जर्नेल’ देखि प्रधानमन्त्री मन्त्रीका पत्नी/आफन्तहरूका साथै पटकपटक सत्ता दोहन गरेकाहरू नै त्यो सूचीमा छन्

सर्वप्रथमतः, नेपालको संविधान अनुसार स्थापित आयोगले २०६४ सालको विधायिकी मनसाय हेर्ने हो कि संविधानको मर्म र भावना अनुसार सिफारिस गर्ने हो भन्ने प्रश्न तेर्सिन्छ संविधानमा भएको समानुपातिक समावेशिताको स्पष्ट व्यवस्थाको प्रतिकूल ४५ प्रतिशतमा मात्र समावेशिता भए पुग्छ भन्ने जिकिर नै गैरसंवैधानिक समानुपातिक समावेशिता भन्नेबित्तिकै त्यो जनसंख्याका आधारमा हुनु विश्वव्यापी मान्यता हो त्यस अर्थमा निजामती सेवामा शतप्रतिशत नै समानुपातिक कायम हुनुपर्ने संविधानको मर्म हो तालिका बमोजिम निजामती सेवामा असन्तुलित समानुपातिकता तर आयोगले त्यसबारे बोल्न आवश्यक ठानेन सायद यो सत्ताकै मनसाय हुन सक्छ



राज्यसत्ताको मुहानमा बसेकाहरूले शक्ति सम्बन्धमा कुनै रूपान्तरण अर्थात् संरचनात्मक परिवर्तन चाहँदैनन् भन्ने यसबाट प्रस्ट हुन्छ बरु असमावेशीको पर्खाल झन्झन् अग्लो बनाउन खोजेजस्तो देखिन्छ अर्थात्, अमर्त्य सेनले भनेजस्तो ‘उल्टो आरक्षण’ को सुनिश्चितता जुन उनीहरूले शताब्दिऔं भोग गर्दै आएका छन् नत्र केही व्यक्तिले निजामती सेवामा प्रवेश गरी आर्थिक हैसियत केही उकास्नुलाई ‘तरमारा’ को संज्ञा दिनु आफैंमा विभेदजन्य मनोविज्ञान हो, जुन कुरा केही समयअघि सर्वोच्च अदालतको फैसलामा प्रयोग गरिएको थियो

यो प्रतिवेदन उक्त फैसलाको दोस्रो संस्करणजस्तो देखिन्छ आखिर समावेशिता आर्थिक–सामाजिक सबलीकरणकै लागि हो नि ! अध्येताहरूले शताब्दिऔंदेखि निश्चित वर्चस्वशालीहरूले तर मारिरहेको वास्तविकतालाई चाहिँ किन बेवास्ता गरे होलान्? हो, आरक्षणको उपयोग अपेक्षित रूपमा नफैलिई केही सीमित समुदायमा खुम्चिरह्यो तर यसका लागि राज्यले के गर्‍यो भन्ने पनि हेर्नुपर्ने हुन्छ यस्तो विषयमा राज्यकै हस्तक्षेप जरुरी हुन्छ तसर्थ प्रतिवेदनले बरु अब आरक्षणलाई यसको उपयोगबाट छुटेका तल्लो तप्कासम्म पुर्‍याउन नीतिगत सिफारिस गरेको भए सामयिक हुन्थ्यो

आरक्षण वा यस्तै संरक्षणकारी नीतिको कुरा गर्दा वर्चस्वशालीहरूले योग्यता प्रणालीको दुहाई दिने परम्परा नै छ तर के राज्यका निकायहरूमा योग्यता प्रणाली हुबहु लागू भएको ? २०६४ सालभन्दा पहिलेचाहिँ पूर्ण रूपमा तथाकथित योग्यता प्रणाली थियो? त्यस बेला सार्वजनिक प्रशासन सेवाप्रवाह विकास र नागरिकहरूको पहुँचका सन्दर्भमा अहिलेभन्दा प्रभावकारी थियो? फेरि, अहिलेको आरक्षण खुला प्रतिस्पर्धात्मक प्रणालीकै एउटा हिस्सा हो, जसको मूल्यांकनको मूल आधार योग्यता प्रणाली नै हो योग्यता कसरी कसले निर्धारण गर्छ भन्नेमा भर पर्छ

म कुनै बेला एउटा अन्तर्राष्ट्रिय संस्थामा काम गर्दा हिमाली भेगका गाउँहरूमा सामाजिक परिचालन गर्ने कर्मचारीका लागि अंग्रेजी जान्नु र कम्प्युटर चलाउन सक्नुलाई योग्यता निर्धारण गरिएको थियो मैले त्यसको विरोध गरेको थिएँ त्यसमा स्थानीय भाषा जानेको र संस्कृति बुझेको हुनुपर्ने हो नि ! तर त्यस्तो योग्यता तोकिदिएपछि कसले मौका पाउँछ, सहजै अनुमान गर्न सकिन्छ कुनै जमानामा बेलायतमा योग्यतालाई ‘अक्सफोर्ड मेरिट’ भनिन्थ्यो हामीकहाँ पनि मनुस्मृतिबाट निःसृत एकलजातीय ज्ञानका आधारमा तयार भएको योग्यतालाई वर्चस्वशालीहरूका लागि राज्यस्रोतमा एकाधिकार जमाउने सुरक्षाकवचका रूपमा प्रयोग गरिएको छ यही योग्यता प्रणालीमा जातीय दण्ड (कास्ट पेनाल्टी) रहेको विश्व बैंकले सन् २००४ मा गरेको अध्ययनले देखाएकै अनि यस्तो योग्यता प्रणालीले सामाजिक न्याय गर्छ? यो ‘हामी र हाम्रो नस्ल मात्र योग्य, अरू अयोग्य’ देख्ने मनोवृत्ति हो भन्ने त संवैधानिक–राजनीतिक नियुक्तिहरूबाटै प्रस्ट हुन्छ

राजनीतिक प्रणालीबाट निर्वाचनमार्फत चुनिएर आउने सीमान्तीकृत समुदायको अवस्था पनि उस्तै छ दलितहरूका सन्दर्भमा झनै खस्किँदै गएको प्रत्यक्ष निर्वाचनका लागि राजनीतिक दलहरूले टिकट नदिने, दिइहाले पनि कमजोर क्षेत्रमा दिने र दलले उत्तिकै आयाममा सघाउ नगर्नेजस्ता कारणले प्रत्यक्ष निर्वाचनबाट सीमान्तीकृत समुदायको आशानुरूप प्रतिनिधित्व हुन सकेको छैन यही यथार्थ मनन गरेर संविधानमा समानुपातिक प्रणाली पनि राखिएको हो तर यसको झनै दुरुपयोग भइरहेको सर्वविदितै छ, यसको पुष्टि तालिका ३ बाट पनि हुन्छ



२७५ सिट रहेको प्रतिनिधिसभामा करिब ३१ प्रतिशत जनसंख्या रहेको खस–आर्य समुदायकै एकल वर्चस्व छ भने १३ प्रतिशत जनसंख्या रहेको दलित समुदायको हिस्सा जम्मा ६ प्रतिशत मात्र १६५ सिटका लागि भएको प्रत्यक्ष निर्वाचन प्रणालीबाट झन् एक जना मात्र दलित आउन सफल भएका छन् जुन प्रतिशतका हिसाबले .६० मात्र हुन्छ संविधानको धारा ८४() मा समावेशी प्रतिनिधित्व अन्तर्गत जनसंख्याका आधारमा महिला, दलित, आदिवासी जनजाति, खस–आर्य, मधेशी, थारू, मुस्लिम, पिछडिएको क्षेत्र समेतबाट समानुपातिकतर्फका ११० सिटमा प्रतिनिधित्व गराउनुपर्ने उल्लेख छ   सो अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन–२०७४ को दफा २८ ले दलित १३., आदिवासी जनजाति २८.७, खस–आर्य ३१.२, मधेशी १५.३, थारू ६.६ र मुस्लिम ४.४ प्रतिशत प्रतिनिधित्व हुनुपर्ने व्यवस्था छ   ऐनमा दलहरूले उम्मेदवारको बन्दसूची पिछडिएको क्षेत्र अपांगता भएका व्यक्तिको प्रतिनिधित्व हुने गरी गर्नुपर्ने व्यवस्था संविधानले समावेशी सिद्धान्तको व्यवस्था गरे पनि समानुपातिकमा छुट्याइएका सिटबाहेक प्रत्यक्षमा अन्य समूहको प्रतिनिधित्व अझै समान हुन सकेको छैन, जसका कारण संघीय संसद् कल्पना गरिएजस्तो पूर्ण समावेशी समानुपातिक हुन सकेको छैन  

अब संविधानको मर्म अनुसार निश्चित समयावधिभित्र समानुपातिक समावेशिता कायम गर्ने गरी ऐन, नियम र कार्ययोजना ल्याउनु जरुरी छ असमावेशिताका कारण मुलुकले धेरै अवसर गुमाएको मात्र छैन, समृद्धिको मार्ग नै अवरुद्ध भएको छ बहिष्करणको लागत मुलुकले अझै बोकिरहनु हुँदैन सन् २०२० को नेपाल मानव विकास प्रतिवेदनले देशमा असमानताका कारण प्रतिवर्ष २५. प्रतिशत मानव विकास गुमाइरहेको देखाएको त्यसबाट मुलुकले प्रतिवर्ष प्रत्यक्ष रूपमा १० प्रतिशतभन्दा बढी कुल गार्हस्थ्य उत्पादन गुमाइरहेको आकलन छ शृंखलागत असरको गणना गर्ने हो भने यसको हिस्सा अझै ठूलो हुन्छ

दक्षिण अफ्रिका स्वतन्त्र भएपछि रोजगार समता ऐन–१९९८ जारी गरिएको थियो जसले पाँच वर्षभित्र राज्यको प्रत्येक निकायले समानुपातिकता कायम हुने गरी समता योजना बनाउनुपर्ने व्यवस्था थियो सो योजना रोजगार समता आयोगमा पेस गर्नुपर्ने आयोगले सो बमोजिम गरे–नगरेको सुपरिवेक्षण गर्ने व्यवस्था थियो अनि पाँच वर्षकै छोटो अवधिमा मुलुकले समानुपातिक समावेशिता कायम गर्न सक्यो भारतमै पनि १८ प्रान्तमा ६० प्रतिशतभन्दा बढी आरक्षणको व्यवस्था यी केही पछिल्ला दृष्टान्त हेरी नेपालको संविधानको मर्म मुलुकको आवश्यकतालाई केन्द्रमा राखी समयावधि तोकेर समानुपातिकता कायम हुने व्यवस्था गर्नु मुलुकको विकासका लागि अपरिहार्य भइसकेको छ मूलतः राजनीति, सार्वजनिक र निजी क्षेत्रलाई सारभूत समावेशी बनाउने गरी एउटा छाता ऐन ल्याउनेतर्फ विषयगत आयोगहरूले र नयाँ विधायकहरूले सोच्नुपर्छ राज्यका सबै राजनीतिक सार्वजनिक सेवामा पाँच वर्षभित्र समानुपातिक समावेशिता कायम गर्ने निजी क्षेत्रमा व्यवसाय र कामको प्रकृति अनुसार समावेशिता क्रमशः बढाउँदै जाने गरी नीतिगत व्यवस्था गर्नु समयको माग हो

यसका साथै बहुलताको सारभूत व्यवस्थापनका लागि संविधानका केही प्रावधानमा पनि संशोधन आवश्यक छ विशेषतः धारा ४२, ८४, ८६ र २८५ मा संविधानको मर्मलाई स्पष्ट रूपमा सुनिश्चित हुने गरी समसामयिक संशोधन गर्न जरुरी छ धारा ४२ मा भएको भद्रगोल क्लस्टरलाई संशोधन गरी जातिगत आधारमा तय गर्नुपर्छ प्रत्येक क्लस्टरमा महिला, तेस्रोलिंगी र अपांगता भएका व्यक्तिको हिस्सा पनि स्पष्ट हुनुपर्छ धारा ८४, ८६ र १७६ मा प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाको गठनमा पूर्ण समानुपातिकता कायम हुने गरी निर्वाचन प्रणालीको व्यवस्था गर्ने र धारा २८५ मा सबै सरकारी सेवामा समानुपातिक समावेशिता हुने गरी स्पष्ट गर्न संशोधन जरुरी छ कानुन सबै निकायले निश्चित समयावधिमा समानुपातिक समावेशिता हासिल गर्ने र त्यसलाई कायम राख्ने सुनिश्चितता हुने गरी बनाउनु श्रेयस्कर हुन्छ निजी क्षेत्रमा पनि व्यवसाय कामको प्रकृति हेरी व्यावसायिक कार्य सम्पादनका लागि क्रमशः विविधता/समावेशिता बढाउँदै जाने गरी नीतिगत व्यवस्था गरिनुपर्छ

राजनीतिक तहमा प्रतिनिधिसभा र प्रदेशसभामा पूर्ण समानुपातिक प्रणाली अपनाउँदा अहिलेको जस्तो राजनीतिक दलहरूले बन्दसूची पेस गर्ने प्रणाली हैन कि निर्वाचन क्षेत्र नै आरक्षण गर्ने व्यवस्था गर्नुपर्छ ताकि प्रत्यक्ष जनमतबाट प्रतिनिधिहरू आउन सकून् र सम्बन्धित क्लस्टरका स्वतन्त्र उम्मेदवारको समेत गुन्जायस रहोस् यस्तो आरक्षित निर्वाचन क्षेत्र घुम्ती प्रणाली अनुसार गर्दै जानुपर्छ ताकि सबै ठाउँमा सबै क्लस्टरले निर्वाचित हुने मौका पाऊन् यो प्रणालीबाट पनि आउन नसक्ने चेपाङजस्ता लोपोन्मुख, तेस्रोलिंगी, अपांगता भएका व्यक्ति वा समुदायहरूका लागि भने विशेष व्यवस्था गर्नुपर्ने हुन्छ

शताब्दिऔंदेखि सबैभन्दा बढी ज्यादती भोगेका दलित तथा त्यस्तै अन्य समुदायका लागि केही अवधिका लागि केही विशेष निर्वाचन क्षेत्र तोकी संवन्धित समुदायका मतदाताले मात्र भोट हाल्ने व्यवस्था गर्न सकिन्छ हुन यो भारतमा अम्बेडकरले तत्कालीन ब्रिटिस सरकारमार्फत सन् १९३२ मा ‘साम्प्रदायिक पुरस्कार’ का रूपमा प्रस्ताव गरेको प्रणाली हो तर त्यस बेला महात्मा गान्धी स्वयं यसको विरोधमा अनशन नै बसेकाले यसलाई नल्याउने गरी सहमति गर्नुपरेको थियो जसलाई ‘पुना प्याक्ट’ का नामले चिनिन्छ तथापि त्यहाँको संविधानमा अनुसूचित जाति–जनजातिका लागि केही निर्वाचन क्षेत्र आरक्षित हुने प्रावधान भने कायम छ

भारतको लोकसभाका ५४३ सिटमध्ये अनुसूचित जाति (दलित) का लागि ८४ र अनुसूचित जनजातिहरूका लागि ४७ निर्वाचन क्षेत्र आरक्षित छन् तर अहिले समय बदलिएको हाम्रो समाज राजनीतिक प्रणाली रूपान्तरण हुने क्रममा छ प्रस्तावित सुझाव निश्चित समुदायका लागि मात्र आरक्षण नभई सबै समुदायका लागि समानुपातिक समावेशिता सुनिश्चित हुने खालको भएकाले यसमा कसैले गुमाउनुपर्दैन भविष्यमा सबैका लागि धेरै फराकिला ढोकाहरू खुल्दै जानेछन्

तसर्थ राष्ट्रिय समावेशी आयोगको प्रतिवेदनलाई नै टेकेर आरक्षणको सट्टा नेपालको संविधानले व्यवस्था गरेको सबै समुदायको प्रतिनिधित्वको सुनिश्चितताका लागि समानुपातिक समावेशिताको प्रावधानलाई अघि बढाउन विषयगत आयोगहरू, नागरिक समाज र नवनिर्वाचित विधायकहरू ढिलो नगरी लाग्नुपर्छ यही नै सामाजिक न्यायको प्राकृतिक सिद्धान्त हो

बीके नेपाल सरकारका पूर्वसचिव हुन्

प्रकाशित : पुस २८, २०७९ ०७:५६

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...