Monday, October 19, 2020

घाँटु देवी बारे लोक कथा

 

घाँटु देवी बारे लोक कथा

संकलनः मीन श्रीस मगर, मगर अध्ययन केन्द्र

(विद्यावारिधिः मगर संस्कृति)

उहिले सत्य युगको कुरा हो; देवदेवीहरूले मानिसलाई पनि आफूझैं देवतामा रुपान्तरण गर्दथे । तान्त्रिक विद्यामा पोख्त मानिसहरूले देवतासँग कुराकानी गर्ने क्षमता राख्दथे । त्यो युगमा मगरात भनिने मग्वर, धवलस्रोत, गण्डीगुल्म आदि राप्ती तथा गण्डकी प्रश्रवणक्षेत्रका मगर बस्तीहरूमा शक्तिशाली तान्त्रिकहरूको निकै ठूलो प्रभाव रहेको थियो । अलौकिक शक्ति प्राप्त ती तान्त्रिकले असामान्य गतिविधिहरू गर्दथे । तान्त्रिक शक्ति प्रयोग गरेर कुनै पनि जीवजन्तुलाई मार्ने र पुनः जीवित बनाउन सक्ने क्षमता उनीहरूमा हुन्थ्यो । बेलाबेलामा उनीहरूले आफ्ना अद्भूत क्षमता अर्थात घातक आभिचारिक (black magic) क्षमता प्रदर्शन गर्दथे ।  ती तान्त्रिकहरू बाघ लगायतका विभिन्न जीवजन्तुहरूमा रुपान्तरण हुने गर्दथे । धवलागिरी, हिमचुली, अन्नपूर्ण, माछापुच्छ्रे आदि हिमालहरू देवताको बासस्थल मानिने हुँदा ती हिमालहरूबाट उत्पन्न भएका नदीहरू कालीगण्डकी, बडीगाड, उत्तरगंगा, राप्ती आदिलाई ज्यादै पवित्र मानिन्थ्यो । ती हिमनदीका प्रश्रवणक्षेत्रमा बसोबास गर्ने मगर तान्त्रिकहरू निकै शक्तिशाली मानिन्थे ।

मुस्ताङको न्हुबिनी हिमालबाट उत्पन्न भएको पवित्र कालीगण्डकी किनारका गुल्मी, वागलुङ, पाल्पा, पर्वत, स्याङ्जा र नवलपरासीका मगर बस्तीहरूका साथै राप्ती प्रश्रवणक्षेत्रका रुकुम र रोल्पा क्षेत्रका मगर बस्तीहरूमा एक भाइ र नौ बहिनी तान्त्रिकहरूको प्रभावशाली अस्तित्व रहेको थियो । कालीगण्डकी किनारको बस्ती (वर्तमान पाल्पाको पीपलडाँडा, रामपुर तथा स्याङ्जाको गराङ्दी) का दस भाउना (एक भाइ र नौ बहिनी) तान्त्रिकहरू तान्त्रिक विद्यामा निपूर्ण थिए । ढ्याङ्ग्रे लामा (तान्त्रिक दाजु) र नौ बहिनी बीच कुनै कारणवस वैमनस्यताको वातावरण सिर्जना हुँदैगयो । उनीहरू बीचमा तन्त्रमन्त्रको युद्ध चल्नेक्रममा नौ बहिनीहरू दाजु ढ्याङ्ग्रे लामाबाट परास्त भई अलपिए । अलप भएको तेस्रो दिन अर्थात कात्तिक ठूली एकादशीका दिन नौकन्या तान्त्रिकहरू सेतीबेणी (गुल्मी, पर्वत र स्याङ्जाको संगम स्थल कालीगण्डकी) का कन्याहरूमा आविर्भाव भएका थिए । आफ्नो शरीरमा नौ कन्या तान्त्रिक आविर्भाव भएपछि कन्याहरूको आँखा बन्द भई कम्पन हुन थाल्यो । उनीहरू विभिन्न भावभङ्गीमा प्रस्तुत हुनथाले । तान्त्रिक कन्या उत्रिएर प्रस्तुत हुने अवस्था वा प्रस्तुतिकरणलाई घाँटु भन्न थालियो । सेतीबेणी अर्थात सेतीघाटबाट प्रारम्भ भएकाले सेतीघाटु भन्ने क्रममा कालान्तरमा सतीघाटु शब्द जनजिब्रोमा प्रचलित हुनपुग्यो । अर्कोतर्फ मृत्युको तेस्रो दिनको घोट संस्कार (शुद्धशान्ति) मा मृतकको आत्मालाई तान्त्रिक विधिबाट जगाएर पितृमा थपना गर्ने तथा नाचगान गर्नेक्रममा नौ कन्या तान्त्रिक उत्रेकाले मगर भाषामा घोट+उ (पष्टी विभक्ति)=घोटु अर्थात घोट सम्बन्धी भन्ने अर्थमा ‘घाँटु’ को विकास हुनगयो । स्याङ्जा राम्चेका मगरहरूले आजसम्म पनि हरेक वर्षको कात्तिक ठूली एकादशीका दिन सेतीबेणीमा गएर घाँटु नाट्य गाथाको थालनी गर्ने र वैशाख पूर्णिमा (चण्डी पूर्णिमा/बुद्ध पूर्णिमा) का दिन प्रदर्शन गर्ने परम्परालाई निरन्तरता दिएको पाइन्छ ।

हिमचुलीका सात बहिनी मायू (देवी) हरू मध्ये एक बहिनी नवलपरासीको देवचुलीमा बसोबास गर्न आउँदा त्यहाँ रहेको दैत्यसँग ठूलो संघर्ष परेको थियो । देवीले दैत्यलाई परास्त गर्न नसकेपछि भुमरीको रुप धारण गरी नजिकैको अर्खला गाउँमा घाँटु नाचिरहेका दुई मगर कन्यालाई उडाएर देवचुली पहाडमा पुयाई आफू झैँ मायू (देवी) मा रुपान्तरण गराएकी थिइन् । त्यसपछि तीनकन्या मायूको संयुक्त शक्तिबाट दैत्यमाथि विजय प्राप्त भएको थियो । यो घटना चैत्र पूर्णिमाको समयमा भएकाले देवचुली पहाडको गुफामा तीन कन्या मायू (देवी) अर्थात घाँटु देवीको पूजाआजा गर्ने परम्पराको थालनी गरियो । देवचुली आसपासका हुप्सेकोट, बुलिङटार, धौवादी रुदपुर, अर्खला, कीर्तिपुर आदि क्षेत्रका मगरहरू र नवलपुर (रजहर तथा कोलुवातिर) का थारुहरूले संयुक्त रुपमा मगर झांक्री र थारु गुरौको नेतृत्वमा तान्त्रिक विधिबाट घाँटु देवी (तीनकन्या मायु/कुमारवर्ती माई) को पूजा गर्ने परम्परा उहिल्यैदेखि चलिआएको छ । यसै आधारमा कतिपय मगर गाउँमा चैत्र पूर्णिमाको दिन घाँटुको थालनी गर्ने र वैशाख पूर्णिमाको दिन चण्डी पूजा गरी विशेष प्रदर्शन गर्ने परम्परा रहेको छ ।

यो कथा सुन्नेलाई सुनको माला; भन्नेलाई फूलको माला ।

 


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...