Saturday, October 03, 2020

‘नेपाल लोकवार्ताको जीवित संग्रहालय हो’

 नेपाल लोकवार्ताको जीवित संग्रहालय हो’

सम्पूर्ण, बिहिबार, १७ पुष २०७६, https://sampurnaweekly.com/news/2719

संस्कृतिविद् तुलसी दिवस नेपाली लोकवार्ता तथा संस्कृति समाजका अध्यक्ष हुन्। उनका लोकसंस्कृतिसम्बन्धी आधा दर्जन किताब प्रकाशित छन्। यही संस्थाको आयोजनामा मंसिरमा काठमाडौँमा ‘सातौँ अन्तर्राष्ट्रिय लोकवार्ता कंग्रेस’ सम्पन्न भएको थियो। सम्मेलनमा स्वदेशी र विदेशी संस्कृतिविद्, प्राध्यापक र अनुसन्धाताको सहभागिता थियो। संस्कृतिविद् दिवससँग सातौँ लोकवार्ता सम्मेलन र नेपाली लोकसंस्कृतिको समग्र अवस्थाबारे ‘अन्नपूर्ण सम्पूर्ण’का लागि निर्भीकजंग रायमाझीले संवाद गरेका छन्। 


सातौँ लोकवार्ता सम्मेलन’ औपचारिकता निर्वाह गर्न मात्रै गरिएको थियो या यसको कुनै विशिष्ट अभिप्राय थियो

पहिला–पहिला नेपालमा लोकवार्तालाई निकै पुरातन दृष्टिले हेरिन्थ्यो। तर, लोकवार्ता र लोकसंस्कृति आधुनिक दृष्टिमा समेत उत्तिकै महत्त्वपूर्ण छन्। लोकवार्ताभित्र गाउँखाने कथा, उखानटुक्का, रीतिरिवाज, अनुष्ठान, जीवनशैली सबै पर्छन्। यिनै लोकवार्ता, मौखिक लोकवार्ता, अभौतिक सांस्कृतिक सम्पदा र सांस्कृतिक अध्ययनको संकलन, संरक्षण र प्रवद्र्धन नै लोकवार्ता सम्मेलनको मुख्य अभिप्राय हो। 

लोकवार्ता संस्कृति समाजले विभिन्न लोकजीवनको अध्ययन र अनुसन्धान गर्ने थालनी गरेको छ। यस क्रममा संस्थाले लोकसाहित्य र लोकवार्ताका २५ वटा पुस्तक प्रकाशन गरिसकेको छ। ती पुस्तक र प्रत्येक लोकवार्ता सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रलाई डिजिटलाइज्ड गरेका छौँ। जसबाट हाम्रो विशेषता, विशिष्टता र सम्पन्नतालाई अन्तर्राष्ट्रिय रूपमा लाने प्रयत्न भएको छ। यसैले लोकवार्ता सम्मेलन औपचारिकता मात्र नभएर हाम्रो कामको निरन्तरता हो। 

सम्मेलनमा मुख्य गतिविधि के–के थिए?  के तिनले नेपालको लोकवार्तालाई अझ समयसापेक्ष बनाउन सहयोग गर्छन्

सम्मेलन मुख्य त ‘लोकवार्ता, लोकजीवन तथा अभौतिक सांस्कृतिक सम्पदा’मा  केन्द्रित रह्यो। यसबाहेक थप १० वटा उपविधामा हामीले विमर्श गर्‍यौँ। ती उपविधामा ‘लोकवार्ता, लैङ्गिकता तथा शक्ति’,  ‘लोकवार्ता, सृजनात्मक लेखन तथा काव्य’,  ‘सांस्कृतिक अध्ययन’ आदि पर्छन्। यिनै मूल विषयमा केन्द्रित रहेर ८८ वटा भन्दा बढी कार्यपत्र प्रस्तुत भयो भने त्यसमाथि प्रशस्त छलफल र टिप्पणी पनि गर्‍यौँ। 

नेपाल कुनै एउटा जाति विशेष, कुनै एउटा भाषा विशेष र कुनै एक संस्कृति विशेषको पेवा होइन। यहाँ बसोबास गर्ने १ सय २५ जातजातिको सामूहिक सम्पदा नै नेपाल हो। यो कुरा बुझ्न सकियो भने नेपालको लोकसाहित्यको महत्त्व आफैँ बोध हुन्छ। 

पहिलेका सम्मेलनझैँ यो सम्मेलन पनि लोकवार्ता, संस्कृति, समाजशास्त्र, मानवशास्त्र, संगीतशास्त्र, भाषाविज्ञान, पर्यटन, इतिहास, भूगोल, विज्ञान, इन्जिनियरिङ विधाका अनुसन्धाता, शिक्षक, विद्यार्थीहरूबीच मन्थन हुने साझा थलो बनेको थियो भन्ने विश्वास लिएका छौँ। सम्मेलनले नेपाली लोकवार्तालाई अन्तर्राष्ट्रिय मञ्चमा पुग्न थप सहज भएको छ। 


दक्षिण एसियाको समकालीन लोकसाहित्यसँग नेपालको लोकसाहित्य तुलना गर्दा कस्तो पाउनुहुन्छ ?

हरेक जाति र राष्ट्रको आ–आफ्ना सांस्कृतिक विशिष्टता हुन्छन्। हामी नेपालीको त विविधताका कारण लोकसाहित्य धनी छ। तर, कुनै पनि परम्परागत संस्कृति आजको समयसँग तुलना गर्दा रूढिग्रस्त छन् भने तिनलाई त्याग्न पनि सक्नुपर्छ। 

फेरि अरू देश र भूगोलको संस्कृतिसँग आफ्नो संस्कृति तुलना गर्दा हामीले के बुझ्नुपर्छ भने संस्कृति भनेको स्थिर अवधारणा होइन, गतिशील अवधारण हो। संसारैभरि आ–आफ्नै शैलीका लोकजीवन र संस्कृति विद्यमान छन्। त्यसमा समय, स्थान र घटनाक्रम जोडिन्छन्। दक्षिण एसियाको लोकसाहित्य हेर्ने हो भने त्यसमा हिन्दूत्वको प्रभाव छ। त्यही कुरा नेपालमा पनि लागू हुन्छ। तर, नेपाल कुनै एउटा जातिविशेष, कुनै एउटा भाषाविशेष र कुनै एक संस्कृतिविशेषको पेवा होइन। यहाँ बसोबास गर्ने १ सय २५ जातजातिको सामूहिक सम्पदा नै नेपाल हो। यो कुरा बुझ्न सकियो भने नेपालको लोकसाहित्यको महत्त्व आफैँ बोध हुन्छ। लोकपरम्परा र मौखिक लोकपरम्परामा नेपाल अगाडि छ भन्ने पनि ज्ञान हुन्छ। यसर्थ लोकवार्तामा नेपाल जीवित संग्रहालय हो। 

हाम्रो लोकजीवनको खास विशिष्टता के हो

विविधता नै नेपाली लोकजीवनको मुख्य विशेषता हो। यहाँ भौगोलिक रूपमा हिमालदेखि मधेशसम्म बसोबास गर्ने जातजातिका आ–आफ्नै मौलिक परम्परा र संस्कृति छन्। यसैले नेपाली संस्कृतिलाई भौगोलिक रूपमा हेर्नुपर्छ। एउटा पहाडको फेदीदेखि चुचुरोसम्म पुग्दा मौसम मात्र होइन, त्यहाँका वनस्पति, खाद्यान्न, माटो, वन्यजन्तु फरक–फरक छन्। त्यस भेगमा बोलिने भाषा पनि फरक छ। ती विभिन्न भाषा बोल्नेका नाचगान फरक छन्। तिनका आस्था, विश्वास र प्रचलन फरक–फरक छन्। वेशभूषा र जीवनकर्ममा गहिरो भिन्नता छ। यस किसिमको अनुपम सांस्कृतिक वैविध्य भएको हुनाले नै यो देश सम्पदाको देश हो।

नेपाली लोकवार्ता तथा संस्कृति समाजको निजी प्रयासबाट मात्रै सातौँ सम्मेलन भएको थियो वा यसमा सरकारी निकायको पनि संलग्नता थियो

हामीले विशेष गरेर लोकसाहित्य र संस्कृतिका विषयगत क्षेत्रमा लागेका विज्ञ मानिस संगठित हुनुपर्छ भन्ने अवधारणाले २०५१ सालमा ‘नेपाली लोकवार्ता तथा संस्कृति समाज’ स्थापना गरेका हौँ। यस संस्थाले एक जातिले अर्को जातिको संस्कृति जान्नुपर्छ भन्ने कुरामा विशेष जोड दिन्छ। आफ्नो मात्र होइन, अरूको पनि संस्कृति छ भन्ने बोध हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। यही मान्यतालाई अघि सारेर कार्यक्रम गर्दा हामीले केही सरकारी निकाय र अन्य संघसंस्थाको सहयोग पनि पाएका थियौँ। काठमाडौँ महानगरपालिका, नेपाल प्रज्ञा प्रतिष्ठान र लोयल्टी एकेडेमीको सहयोग पाएका थियौँ। त्यस्तै, नेपाल पर्यटन बोर्ड सातौँ कंग्रेसको मुख्य प्रवद्र्धक थियो। 

मौलिक सृजनात्मक साहित्य र लोकसाहित्यमा के–के पृथक्ता र कस्ता समानता छन्

साहित्य र लोकसाहित्यबीच निकै नजिकको समानता छ। लोकसाहित्य पनि सृजनशील साहित्यजस्तै हो तर त्यसमा व्यक्तिको भन्दा समूह विशेषको रचनाको भूमिका बढी देखिन्छ। लोकसाहित्य व्यक्तिले जस्तो एक्लैले रचना गरिएको हुँदैन। पहिला–पहिला लोकसाहित्य केवल मौखिक परम्परामा सीमित थियो। तर, आज लिखित रूपमा पनि लोकसाहित्य संकलन भइसकेको छ। लोकसाहित्यमाथि अनुसन्धान र विचार–विमर्श हुन थालेका छन्। 

उसो त व्यक्तिले रचना गरेको कुरा पनि मौखिक परम्परा हुँदै लोकमा गएर फैलियो भने त्यो लोकसाहित्य हुन्छ। फेरि हामीले आधुनिक साहित्यको रचना गर्दा कुनै न कुनै माध्यमले लोकसाहित्य र आफूले आत्मसात् गरेको संस्कृतिको प्रभाव परिरहेकै हुन्छ। सर्जकले आफ्नो लोकजीवन र परम्पराभन्दा पृथक् हुन्छु भनेर सक्दैन। लोकसाहित्यकै जगमा विश्वमा उच्च कोटीका आधुनिक साहित्य लेखिएका छन्। त्यसैले लोकसाहित्य हाम्रो मौलिक रचनामा स्वतः जोडिएर आउँछ। 

लोकसाहित्य र लोकसंस्कृति अझै सर्वसाधारणले बुझ्न नसकेको विषय हो

उहिले लोकसाहित्य भन्नेबित्तिकै गाउँको वा निम्नवर्गीय जीवनको भाषा भन्ने बुझिन्थ्यो। सामान्य मानिसले गाउने गीत, बोल्ने भाषा, लगाउने वेशभूषा, रहनसहन नै लोकसंस्कृति हो भन्ने ठानिन्थ्यो। तर, अहिले त्यो धारणा परिवर्तन भइसकेको छ। आफ्नो विविधता र मौलिक परम्पराको अमूल्य सम्पत्ति हो भन्ने बुझाइ फैलिँदै गएको छ। त्यसैको परिणामस्वरूप नेपालमा पनि लोकवार्ताको अध्ययन र अनुसन्धान हुन थालेको छ। सरकारी तवरबाट पनि लोकसंस्कृतिको संवद्र्धन गर्ने प्रयास सुरु हुन थालेको छ। संस्कृति पढ्ने, पढाउने र पाठ्यक्रममा राख्ने कामको थालनी भएको छ। 

हामी सबै लोकजीवनकै उत्पादन हौँ

हो, हामी सधैँभरि लोकजीवनबाटै प्रेरित भइरहेका हुन्छौँ। त्यसैले त भौतिक विकासका लागि नेपाली लोकजीवन, लोकवार्ता र लोकसंस्कृतिको विकास अपरिहार्य छ। भौतिक विकासलाई स्थायित्व दिने काम लोकसाहित्य र लोकजीवनले नै गर्छन्। लोकसंस्कृतिको बलियो आधार भएन भने विकास एकपाटे मात्र हुन्छ। तर, विकास र समृद्धि त चारैतिर फैलिनुपर्छ। त्यसका लागि आफूसँग भएका ‘सांस्कृतिक सम्पदा’ र ‘जीवित सांस्कृतिक सम्पदा’ बलिया आधार हुन्। 

 

 

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...