Saturday, December 11, 2021

अतितको सम्झना, सत्य घटनामा आधारित विर्सिनसक्नु मेरो जीवनको घटना

 

अतितको सम्झना M सत्य घटनामा धारित विर्सिनसक्नु मेरो जीवनको घटना

लेखक प्रहरी उपरीक्षक नुर बहादुर थापा

 मेरो बुबा महाबीर थापा पश्चिम नेपालको स्याङजा जिल्लाको आँधीखोला बेनीमा जन्मेर बर्माको मचीना, होरी लायन् (अकचीन भिलेज)मा घरजम गरी बस्नुहुन्थ्यो । त्यसताका नोकरीको खोजीमा आफनो जन्मस्थल छाडी दार्जीलिङ्ग, घुम जलपहाडको बृटिश डिपुमा सिपाहीमा भर्ना भई बर्मा पुगेर बृटिश आर्मीको सुबदार तह (दर्जा) मा रिटायर्ड हुनुभएको कुरा मेरा दाजु, दिदिहरुबाट थाहा भयो भने मेरी आमा जानकी देवी थापा खर्साङ्ग (Kurseung) को हुनुहुन्थ्यो । उहाँहरुबाट जन्म भएका सन्तानहरुमा हामी सात बहिनी छोरी र चार भाई छोराहरु थियौं । बर्मामा हाम्रो जग्गा जमीन गाईवस्तु धेरै नै थियो त्यसैले कुनै कुराको दुख भने छंदै थिएन । सुबदार महाबीरको सन्तान भने पछि सबैले चिन्दथे । सबै सुखशान्ति मंगलमय, खुशीयालीको साथमा बसेका थियौं । हरेक वर्षको चाडपर्वहरुमा सबै दिदीदाजुहरु मूलघरमा जम्मा भेला भई बडो हर्ष र उल्लासको साथ खुशीयाली मनाउथ्यौं । हाम्रो घरमा नरिवल, सुपारी, आँप, अनार, चाँप, पानका रुखहरु थिए साथै दगेंजी भन्ने एउटा फलको बोट पनि थियो । बर्मिजहरुले असाध्यै मिठो मान्थे र किनेर लान्थे । घरको पछाडीको करेसाबारी धेरै ठुलो थियो । बाँसको झयाँङ्ग, खरको घारी प्रशस्त थियो । केरा र अनरस प्रशस्त हुन्थ्यो ।

जेठा र माइला दाजुहरु पल्टनमा भर्ना भई सक्नु भएको थियो । म र साइँला दाजु आर्या स्कूलमा पढथ्यौं । पछि खाल्सा स्कूलमा पढन थाल्यौं । यो स्कूल घरबाट नजीक पथ्र्यो । साइँला दाजुले स्कूल जाँदा आउँदा मेरो हात समातेर लाने गर्नु हुन्थ्यो । साईला दाजुले मलाई धेरै माया गर्नु हुन्थ्यो । स्क्ुलबाट घर आए पछि आमाले विभिन्न किसिमका खाजा बनाई दिनु हुन्थ्यो । आमाको माया जति मिठो र ठुलो हुन्छ त्यति ठुलो कुनै वस्तु हुँदैन । सधै साईला दाजुले मलाई भात खाइ सके पछि स्कूल लाने गर्नु हुन्थ्यो । एक दिन सधैं झैं विहान स्कूल जाँदै थियौं अचानक हवाईजहाज आकाशमा उडेको आवाज सुनियो, हामी छक्क परयौं र कता होला भनि आकाश तिर हेर्दै थियौं । एकै छिनमा हाम्रै टाउकाे माथि उडेको देख्यौं र हामी सबै हवाईजहाज उडेको तिर हेर्दै कुदन थाल्यौं । त्यो दिन स्कूल जान ढिला भएकोले स्कूल पनि नगई घर तिरै फर्केर आयौं ।

मेरी आमा अति धर्मकर्म गर्नु हुन्थ्यो । घरको छेवैमा पूजापाठ गर्न एउटा तुलसीमठ बनाइएको थियो । गुलाफ चमेली जस्ता राम्रा फूल रोपेको थियो । साह्रै रमरणीय थियो । आमाले सधैं तुलसीको मठमा पूजा गर्नु हुन्थ्यो । मेरी आमा सधैं स्नान गर्न घर देखी केही टाडा ईरावदी नदीमा जानु हुन्थ्यो । के वर्षा के ठण्डी, के गर्मी सधैं नै आमा विहानै ईरावदी नदीमा जानु हुन्थ्यो । म एक्लै हुने हुँदा आमाले मलाई पनि संगै लानु हुन्थ्यो । जाडो महिनामा आमाले मलाइ बाबुकोट लगाई लानु हुन्थ्यो ।

हाम्रो घरको अगाडी एउटा ठुलो रबरको रुख थियो । यो मचनी भरमा सबै भन्दा ठुलो रबरको रुख थियो । हाम्रो घरको पहिचान गर्न ठुलो रबरको रुख भने पछि सबैले चिन्दथे । घर अगाडी केही परबाट मोटर गाडी चल्ने ठुलो बाटो थियो । त्यो बाटोको अझै अगाडी रेलको लिक थियो । केही दिन पछि फेरी एउटा हवाइ जहाज आइ धेरै बेर सम्म माथि आकाशमा उडी पूरा मचीनको चक्कर लागाएर गयो । अब यहाँ धेरै हल्ला चल्न थाल्यो । बृटिश र जापानको लडाइ हुन्छ र । त्यसैले यो हवाइजहाजले सिआइडी (रेकी) गरेर गएको हो । सबैमा डरत्रास हुन थाल्यो । केही दिन पछि मोटरगाडीहरु पनि थरी थरीका गुडन थाल्यो । हामीले चार पाँगे्र मोटरमात्र देखेका थियौं, लडाइको हल्ला चले पछि त ट पाँग्रे, दश पाँग्रे मोटर र ठुलठुला ट्रक चल्न थाले । हवाईजहाज पनि थरिथरि रंग भएका उडन थाले । मान्छेमा धेरै डर हुन थनल्यो अब के गर्ने । कसो गर्ने भन्ने विचार उठ्न थाल्यो ।

यस्तैमा बृटिश सरकारले वर्मावासीलाई अब लडाई हुन्छ त्यसैले आआफनो बचाउको लागी घर अगाडी ट्रेन्च खन्ने, बालुवा थुपारी राख्न भन्ने आह्वान गर्न थाल्यो । फेरी अर्को आह्वान के गरे भने ट्रेन्चलाई माथिबाट छोप्ने, ट्रेन्च बाँसको झयाँग मुनी खन्ने र माथिबाट हरियो स्याउला, घाँसले छोपने । यसो गरे माथिबाट हवाईजहाजले देख्दैन, थाहा पाउदैन भन्ने प्रचार गरे । हामीले पनि त्यसरी नै गरयौं र अरुहरुले पनि यस्तै गरे । सबैमा झन धेरै डर हुन थाल्यो । केही दिन पछि लडाई भइहाले पछि बचाउनको लागी के गर्नु पर्छ भन्नेबारे सबै वर्मा वासीहरुलाई यस्तो आव्हन गरयो । अलार्म साइरन बजेपछि घरमा भएको सबैजना खनेको ट्रेन्चमा छिटोछिटो पस्ने र बाटोघाटोमा हिडदै गरेको भए तिनीहरु रुखमुनि, झयाँगमुनि, खाल्डोहरुमा लुक्ने । यसको लागि अभ्यास गरिने छ भन्ने अह्वान भयो । केहि दिनमै यो अभ्यास शुरु भयो । पहिलो साइरन बजे सबै लुक्ने, अर्को साइरनमा बाहिर आउने । अब यो अभ्यास प्राय दिनमा एक पटक सधैं गराउन थाल्यो ।

यस्तैमा वृटिश सरकारले के पनि अह्वान गरयो भने, जो जो वर्मा छाडी बाहिर जहाँ जहाँ जान मन छ जान सक्छ । हवाइजहाजबाट जानेले आफुलाई चाहिने सामान मात्र लिएर जान सक्छ र बढी भएको सामानको जिम्मेवार हुने छैन भन्ने आदेश पनि भयो । मान्छेको चापले गर्दा धेरै मान्छेहरु हवाईजहाजबाट जान सक्दैनथे । यस्तै हल्ला डर त्रास भएकै बेला माथि रंगून, माल्डेलेमा बम, गोलीले घाइते भएका मानिसहरुलाइ रेलले ल्याई हाम्रो घरको अगाडीको लिकमा रोकी सबैलाई उतारी रेल स्टेशनतिर गयो । यी घाइतेहरु कोही टाउकोमा पटिट बाँधेको, कसैको खुटटा, कसैको हातमा पटटी बाँधेको घाइतेहरु सबै हाम्रो घर र अरुहरुको घरमा आई रुदै कराउदै बच्चाबच्चीहरु समेत लिई बस्न आए । यो अवस्थादेखी आमा, दाजु, दिदी, भेनाहरु सबै सल्लाह गरे र अब हामी पनि यहाँ बस्न हुदैन चाँडै हिडनु पर्छ नत्र हाम्रो पनि यस्तै हालत हुन्छ । सबैको सल्लाह हिडनेनै भयो र के के सामान लाने नलाने छुटटाउन सुरु भयो । दुई दिन पछि, विहानै हिडने भनी सबैको सल्लाह भयो र आआफनो गोरुगाडामा चाहिने सामानहरु राखी हिडयौं । घरमा पालेको सुँगुर थियो त्यो पनि रातीनै बनाई लग्यौं । हिडने बेलामा आमाले घरको सन्ध्याकालमा बाल्ने दियो जलाउनु भयो । यसरी नै तुलसीको मठ, ईनार, कुवाँ, ठुलो रबरको रुखमा बत्ति दियो जलाई सधैं सधैंकालागी त्यो घर छाडी हिडयौं । सबै दाजुदिदी, भेनाहरु, भाञ्जा भाञ्जीहरु रुदै हिडन थाल्यौं । कहाँ जाने केही थाहा छैन । एकमात्र लक्ष्य नेपाल जाने तर नेपाल कुन बाटो जाने केही थाहा छैन । एकमात्र भरोसा भगवान थियो । सबैले घर तिर हेरेर नमस्कार गरी सधैं सधैंको लागी मचिना होरीलाइनलाई पछि छाडी अगाडी बढयौं । एघार जनालाई जन्म दिई अझै पनि छोरा बुहारी, नाती, नातिनी, ज्वाइ छोरीहरुलाई हिडन लाग्नु भएकोमा धन्य छ मेरो आमा तिमीलाई, कोटी कोटी साष्टाँग दण्डवत ढोग छ ।

जति जति अगाडी बढदै जान्थ्यौं त्यतिनै बाटो भरी कागज, कपडा हरु छरिएको देखिन्थ्यो । अधि बढने क्रम चलिनै रहेको थियो । यस्तैमा विहानको करीब १० बजेको समय हुँदो हो आकाशमा तिनवटा हवाइजहाज गुडुङ गुडुङ गर्दै हाम्रै टाउको माथिबाट गयो । सबै मानिसहरु कोही जंगलभित्र पसे, कोही खाल्डोतिर लुके भने कोही बाटोमै हिडिरहे । यो हवाई जहाज सिधै मचिनामा गइ बम खसाल्न थालेछन् । मचिना होरीलाइनको पुरै घरहरु ध्वस्त बनाइ त्यहाँ भएको एयरपोर्ट समेत बम खसाली हवाई जहाज बस्नै नसक्ने गरी ध्वस्त बनाइदिएछ । अझै हाम्रो हिडने क्रम जारी नै थियो । घाम चर्को लागेकोले ज्यादै गर्र्मी थियो । केहीबेर गर्र्मी छल्न जंगलको छायामा बसी पुनः हिडने क्रम शुरु भयो । करीब पाँच छ बजेको समयमा हामी बाह्र माइलको पडावमा पुग्यौं । त्यहाँ हामी भन्दा अघि हिडने थुप्रै मान्छे हरु पुगी सकेका रहेछन् । त्यहाँ सबैै संग भेट भयो । खुशी माने पनि डरत्रास सबैमा थियो । सबै मिलेर खानासाना बनाइ खाइ सुते र भोलीपल्ट विहान चार बजे पुनः हिडने क्रम शुरु भयो ।

हामीले यस पडावलाइ छाडी गएको दसएघार बजे यहाँ पनि हवाईजहाजले बम खसालेछ । मानिसहरु बम लागी धेरै मरे । हिडने क्रममा हामी अर्को पडावमा साँझ पख आईपुग्यौं र खाना खाइखाइ सके पछि सबै जना सुतेर भोली पल्ट फेरी विहान चार बजे उठी हिडने क्रम शुरु भयो । यहाँ पनि उही दसएघार बजेको समयमा बम खसाले र यहाँ पनि धेरै मानिस बमको छर्राले लागी मरे । यसरी तिन ठाउँ बाट बाँची हामी अर्को पडावमा आइपुग्यौं । यतिवेरसम्म हामी सबै सकुशल थियौं । भालिपल्ट यसै ठाउँमा खाना खाइ हिडने भनी सल्लाह भयो र विहानको खाना बनाइरहेको बेलामा कताबाट आएका एँग्लो इण्डिएनहरुले हाम्रोबानाइरहेको खाना लुटी लगे । हामी हेरेको हेरै भयौं । फेरी खाना छिटो छिटो बनाएर खाइ हिडयौं । यहाँबाट केही पर हिडिसकेपछि १०२ माइल खुटटीमा (mile pillar) आइपुग्यौं । यहाँबाट मूल बाटो गयौं भने सुप्राबुङ्ग भन्ने ठाउँमा पुग्छ र त्यहाँ बाट एयरपोर्ट पनि छ भन्ने सुनेको तर यो एयरपोर्ट पनि जापानले बम खसाली ध्वस्त बनाइदिएको छ हवाइजहाज आउँदैन भन्ने सुन्यौं । अब के गर्ने भन्ने सल्लाह गर्न थाल्यौं र अन्तमा अब पैदल बाटो जाने भन्ने भयो र सामान हरु के के लाने र के के फेक्ने (छाडने) भनी छुटयायौं र सबैले आफुले बोक्न सक्ने सामान बोकी हिडन शुरु गरयौं ।

चामल दाल हरु घरबाट ल्याएको गोरुको जिउमाथि राख्न खोज्दा गोरु न्मान्ने भएकाले मुस्किलले माने पछि हामीले राखी हिडन शुरु गरयौं । यो ठाउँमा ठुलो खाल्डो थियो । अगाडी आउने सबैले आफनो मोटर, मोटरसाइकल, साइकल, बैलगाडा यही खाल्डामा खसालेका रहेछन३ र हामीले पनि हाम्रो गाडा यही खाल्डोमा खसालीदियौं । मलाई पनि आमाले एउटा सानो झोलामा केही कपडाहरु राखी बोक भनेर दिनु भयो । अब हाम्रो संकट र कष्टदायी यात्रा यो १०२ माइलको खुटटी बाट शुरु हुन्छ । चार दिनको हिडाई पछि यो १०२ माइलको खुटटी भेट भएकोमा मेरो लागी चीरस्मरणीय छ किन भने यसै ठाउँबाट हाम्रो नेपाल जाने यात्रा शुरु हुन्छ । सबैले आफनो सामान बोकी हिडन प्रारम्भ भयो । गोरुलाइ धपाउँदै हिडाउने काम माइला भेनाले गर्नु भयो ।

आमाले मेरो हात समाति हिड भनेर हिडाउनुभयो । मेरो कान्छी दिदीको भर्खर जन्मेका राम लक्षमण भान्जाहरुलाइ कान्छा भेनाले बोक्नु भयो । दिदीहरुले सामान बोके । जन्तरी दिदीको पनि एकजना मात्र छोरा थियो । उनि सानै भए पनि हिडन सक्थे । यसरी हामी सबैको पैदल यात्रा अघि बढदै गयो । कोही अगाडी कोही पछाडी जंगल र पहाडको बाटो हिडदै गयौं । केही पर पुगे पछि बाटोको जंगल छेउमा झिंगा भन्केको आवाज आयो । के हो भनि हेर्दा एक जना साधु कमण्डलु रुखमा झुण्डाइ त्रिशुल गाडेको र रुद्राक्ष माला लगाएको जिउ पुरै ढाडिएको डुङ्गडुङ्ग गनाउने थालेको देखियो । यहाँ बाट हिडदै जाँदा कहाँ बास बस्ने केही थाहा थिएन । जंगलै जंगल हिडदै जाँदा साँझ पनि पर्न लागेकोले त्यहाँ सानो खोला जस्तो बगी रहेको पानी थियो । आमाले आज यही वास बस्ने भनेपछि सबै जना थकाइ मार्न थाल्यौं । केही बेर थकाइ मारीसकेपछि खाना बनाउन शुरु भयो र भेना र दाजुहरुले स्याउला काटी छाप्रो बनाउन भयो र यही छाप्रोमा रात वितायौं ।

भोली फेरी विहानै हिडन थाल्यौं । जाँदा जाँदा कहाँ पुग्ने कहाँ बस्ने केही थाहा छैन । बाटो सानो गोरेटो जंगलै जंगल, कुनै मान्छै संग भेटघाट छैन । यो हिंडदै गरेको बाटो कचीनहिल रहेछ । ठाउँ ठाउँमा अघि आएका मान्छेहरु मरेका लासहरु देख्यौं । कुनै स्वास्नी मान्छे, कुनै लोग्ने मान्छे र कुनै बच्चा । स्वास्नी मान्छेको गला, कान, र नाकमा सुन लगाएको र लोग्ने मान्छेको हातमा औंठीहरु देखिन्थे । यस्तै प्रकारको लास हरु थुप्रै भेटियो । हाम्रो यात्रा बढी रहयो । कहिले बास बस्दै सात आठ दिन डाँडाकाँडा जंगलको बाटो हिडदै एउटा कचीन गाउँमा आइपुग्यो । यहाँका कचीन हरु पनि लडाइ हुन्छ भन्ने डरले सबै घर छाडी जंगल पसेका रहेछन् । कता बाट एकजना त्यही बस्ने कचीन आइपुग्यो र उनीसंग भेनाले कुरा गर्दा त्यो ठाउँको नाम भैखुङ्ग रहेछ । यो कचीन घरको हेरविचार गर्न आएको रहेछ । फेरी पछि उतै जंगल तिर गयो । यहाँ पातलो घरहरु रहेछ र हामीहरु यिनै घरहरुमा बस्यौं । यो भैखुङ्गमा बृटिश सरकारले रिफयुजीहरुका लागी रासन गोदाम राखेको रहेछ । यहाँ चामलको डंगुर थुपारेको रहेछ । चामल जति लगे पनि रोकतोक थिएन । कचीनहरुले यो गोदामबाट चामल, सुकेको माछा, डब्बाको दुध, अरु टिनका डब्बामा राखेको मासु सबै कचीन हरुले लगिसकेको रहेछ । चामल मात्र डंगुर थियो । यो चामल पनि भित्र पसेर लिनु पथ्र्यो किनभने छेउछेउको चामल सबै हिलो माटो लागेको फोहर थियो । यस भैखुङ्गमा हामी सबै धेरै दिन बस्न परयो किनभने धेरै जना थाकेकोले विरामी पर्न थाले । केही दिन पछि फेरी अघि बढयौं ।

यस गाउँबाट करिब एक माइल दुरीमा एउटा अस्पताल पनि रहेछ । यो बृटिशहरुले बनाएको रहेछ । तर हामी यहाँ आउँदा विल्कुल खाली थियो । कुनै दवाई, स्टाफहरु थिएनन् । यहाँ आइ पुग्दा फेरी हिडन नसक्ने भई यसै अस्पतालमा बस्यौं । यहाँ धेरै जना विरामी परे । कान्छी दिदीका जुम्ल्या छोरा राम लक्षमण विरामी परेर यही परलोक भए । हाम्रो परिवारको संख्यामा सबैभन्दा पहिले परलोक भएको यहि हो । यहाँबाट फेरी केही दिन पछि अघि बढयौं । अब हाम्रो हिडाई धेरै विस्तारै हुदै गयो । सबैजना कमजोर हुँदै गए । अब त कहाँ सम्म हुन थाल्यो भने जहाँ पानी खोलानाला भेटिन्छ त्यहाँ बास बस्न थालियो । बाटोमा धेरै मानिसहरु मरेको भेटियो । यहा एउटा बडो अचम्म लाग्ने कुरा के भने यत्रो घंघोर जंगलमा कुनै हिंसक जनावर, सर्पहरु केही देखिएन, भेटिएन, कुनै मानिसहरु पनि भटिएन र डरत्रास केही थिएन । यति सम्म हुन थाल्यो कि आआफनो परिवारमा माया ममता हराउँदै गयो । यो सबै उनै दयालु भगवानको लिला होला भन्नुमा अतिशयोक्ति नहोला । यसै ठाउँमा (भैखुङ्ग) आकाश कालो भएर आयो । केही छिन मै ठुलो पानी पर्न थाल्यो । पानीको भल आउन थाल्यो । जताततै माछाहरु देखिन थाले । रातो खाले माछा थुप्रै देखियो । हामीले यि माछा पक्रेर पोलेर खायौं । यसरी जंगलै जंगलको बाटो गर्दै, जता पायो तेतै बास बस्दै हिडने गरयौं । मच्छर अति लाग्ने, दिसापिसाब गर्न पनि मच्छरले गर्दा गाह्रो पथ्र्याे । अब धेरै जना विरामी परेकोले हिडनै नसक्ने अवस्थामा पुगे । खानलाई चामल पनि सकिदै गयो । अब विस्तार गर्दै परिवारहरु पनि छुट्टिन थाले । कचीनहिल मै धेरै दिन लाग्यो ।

यसरी हिडने क्रम चल्दै गयो । आमाले मलाई हातमा समातेर अघि हिडाउँदै लानु भयो । अरुहरु पनि पछि पछि विस्तारै आउँदै गर्थे । यसरी आमाले मलाई जहाँ पानी भेटिन्थ्यो त्यहाँ बसी घरबाट ल्याएको मह र पानी खुवाउनुहुन्थ्यो र अरुहरुलाई पर्खेर बस्थ्यौं । जो जो आएपुग्थे विस्तारै विस्तारै हिडायर लान्थ्यौं । जहाँ पानीको कलकल आवाज सुनिन्थ्यो त्यही बास बस्ने भनी हिडथ्यौं । पानी बगेको आवाज नजिक सुनेपनि त्यो खोला सम्म पुग्न चै अति गाह्रो पर्थ्यो ।

बाटोमा पानी परिरहन्थ्यो । परे पनि विस्तारै हिडने क्रम चै चली नै रहन्थ्यो । घर छाप्रो केही छैन, रुखको मुनी बसी रात काटथ्यौं । मच्छरले सुत्नै दिदैनथ्यो । विहान भए पछि फेरी हिडन थाल्थ्यौं । यसरी एक दुइ महिना हिडि सके पछि बल्ल बल्ल अर्को गोदाम भएको ठाउँ सुम्विथाङ्गमा आइपुग्यों । यहाँ पनि बुटिश सरकारले राशन पनीको व्यवस्था गरेको रहेछ र उहाँ बृटिश हरु दुई तिन जना रिफयुजीहरुको हेरविचारको लागी बसेको रहेछ । यहाँ एउटा ठुलो चौर थियो । हवाइरुजहाजले राशन, चामल, दुध, डब्बाको मासु, दवाईहरु पनि प्यारासुटबाट झार्दो रहेछ । बृटिशको यो छाप्रो देखि अलि पर चिनीया फौजको कैम्प रहेछ । चिनीयाहरुकोपनि राशन पानी उनीहरुकै जवाइजहाजले झारेको रहेछ । यसरी राशन झारेको वेलामा सबै रिफयुजीहरुको घरै पिच्छे एकजनाले राशन बोक्न जानु पर्दो रहेछ । नगएमा लठठीले पिटने रहेछ । एक दिन सिमसिम पानी परिरहेकोबेलामा बृटिशको हवाईजहाज राशन झार्न आयो र एक जना हरेक घरबाट राशन बोक्न जान परयो । यतिखेर दाजु, दिदी, भेना सबै नै जनानै विरामी भएका थिए । सबै विरामी परेकाले मलाई जान परयो । राशनको बोरा ठुलो ठुलो भएकोले हेर्दै जाँदा एउटा सानो बोरा देखें र त्यसैलाई बोक्न सकीनसकी टाउकोमा राखि बोकें । पानी परेको र बोरा भिजेको हुँदा पानी तरकेर मुखमा आयो र कसो गर्दा चाटन प्गें । चाटदा गुलियो लागेकोले चीनीको बोरा रहेछ भन्ने थाहा पाएँ । यो राशन झारेको ठाउँबाट करिब आधा घंटाको बाटो बोकी गोदाममा पुरयाउनु परयो । त्यहाँ राशन बोकीलाने लाई दुधको बडब्बा, सुकेको फलहरु दिने गर्दथे । बोरा टाउकोमा बोकेकाले केही बेर टाउको हल्लाउँनै सकिन । ठाडैको ठाडै भयो । केहिबेर पछि ठीक भयो ।

एक दिन यहाँको प्रमुख एकजना गोरा घुम्दै रिफयुजीक्याम्पमा आउँदा दाजुले अंग्रेजी बोल्ने भएकोले गोरा संग कुरा गरी राम्रो खाले औषधि दियो । यो आषधिले दाजुलाई धेरै नै राम्रो गरयो । केही दिन पछि मलाई पनि ज्वरो आयो । पेट दुख्ने भयो । यस ठाउँमा कलेराको प्रकोप बढयो । धेरै मानिसहरु मरे । मरेकालाई बृटिशको का मगर्ने मानिसहरुले मरेका मानिसहरुको घाँठीमा डोरीले बाँधी मचान बाट झाथ्र्यौ र एउटै खाल्डोमा गाडी दिन्थ्यो । जनतरी दिदीको छोराको पनि यहाँ नै स्वर्गे भयो । यस ठाउँमा करिब एक महिना जति बसे पछि अलिअलि ठीक भएपछि फेरी अघि हिडन थाल्यौं । कहिले कहाँ कहीले कहाँ बास बस्दै दिडदै गयौं । बाटोमा पानी दिन दिनै जसो पर्न थाले पनि यताउति ओत लाग्दै हिडयौं । आमाले मलाई हरेक समय सहारा दिदै हिडाउनु हुन्थ्योे । यतिखेर मेरो आमा सिवाय हरु कोही थिएन । जहाँ पानी भेटथ्यौं त्यहाँ आमाले मलाई पाउरोटी, मह र पानी खुवाउनु हुन्थ्यो । आमाले कहिले जंगलमा उम्रेको सानो रुखको बोट भाँची त्यसको वीचको गुदी खुवाउनु हुन्थ्यो । गुलियो स्वाद हुन्थ्यो । बाटोमा छुटेका दिदी, भेना संग वास बसेको ठाउँमा भेट हुन्थ्यो । एक दिन कान्छा भेनालाई एकलै देख्दा दिदी खै भनि सोधदा बाटैमा परलोक भयो भन्नु भएको थियो । यस्तै किसिमबाट कसले कसलाई कसले कसलाई बाटोमा उछिन्दै हिडन थाल्यौं । विरामी परेकाहरुलाई विस्तारै आउ भन्दै अघि बढयौं । यसरी हिडदा हिडदै कचीनहिल काटिएछ र अब नागा हिल चढने बाटो आयो ।

नागा हिल असाध्धै अग्लो र अपठयारो थियो । पानी परेकोले घुँडा घुँडा सम्म गाडेर हिडनु पथ्र्यो । जुगा असाध्य लाग्ने, जुगाले टोकेर घाउै घाउ भयो । मच्छर त्यत्तिकै बाक्लो लाग्थ्यो । पानी परेकोले अग्लो डाँडामा हिडन गाह्रो थियो । यस्तैमा एउटा तारे गोरु, जस्ले चामल ढाडमा बोकेको थियो, चिप्लेर कता हो कता छाङ्गामा खस्यो । हामी अक्क न बक्क भयौं । अब अर्को विजुले भन्ने गोरु र घरै बाट आएको एउटा कुकुर चैं संगै हिडदै आएको छ । रात पर्न थाले पनि बास बस्ने ठाउँमा पानी कतै भेटिदैन । खोला बगेको सुनिन्छ तर भेटिदैन । निकै बेर हिडे पछि एउटा सानो खोल्सी जस्तोमा पानी बगेको रहेछ । त्यही नै बास बस्यौं । अर्को दिन विहान फेरी हिडन शुरु भयो । अब त केही छिन हिडे पछि बास बस्नु पर्ने स्थिति आयो । शरीर ज्यादै शिथिल हुदै आयो । अब त चामल पनि सकियो । के खाने कुनै आशा छैन ।

यस्तैमा जेठा दाजुले म अघि जान्छु चामल खानेकुरा हरू पाएँ भनि लिएर आउँछु भनि अघि बढनु भयो । हामी हिडदै जाँदा एक ठाउँमा सानो खोला जस्तै भेटियो । सबै आलस्य भई कोही यता कोही उता पल्टन थाल्यौं । यस्तैमा आमाले पटुकीमा एक मुठी चामल राख्नुभएको रहेछ । त्यही ठाउँमा एउटा डब्बा भेटियो र त्यही डब्बामा एक मुठी चामल र सिस्नु पखालेर त्यसैमा हाली पकाउनु भयो । सबैले अलिअलि बाँडेर आयौं खायौं । यसले हामीलाइ ठुलो प्राण आयो । त्यसपछि हामी फेरी अघि बढयौं । केही पर पुगे पछि एक ठाउँमा एउटा पानी भएको सानो खाल्डो भरी माछा चलेको जस्तो देखियो र हेर्दा नभन्दै माछा नै रहेछ । हातले समाति झिक्यौं । निकै धेरै रहेछ । केही पर हिडे पछि नागाहरुको घर हरु भेटियो । यहाँ पनि कुनै नागाहरु थिएनन् । नागाहरुको चार पाँच वटा घर थियो । यहि बास बस्ने सुविधा भएकोले हामी सबै यही घर हरुमा बस्यौं र ति माछाहरुलाइ पोलेर खान थाल्यौं । कागती लटरम्म फलेको थियो । यो कागति टिपेर खायौं । यो खाए पछि मलाई अलिअलि ज्वरो आउने निको भयो र अरुहरुलाई पनि यसले ठीक गरयो । यहाँ पनि केहि समय बसेर फेरी अघि बढयौं ।

 

केही बेर हिडे पछि अर्को नागाको घर भेटियो । यस घरमा एक जना चिनीया सिपाही बन्दुक सहित मरेको देखियो । त्यस्तै एक जना महिलाको पनि शव देख्यौं । अघि बढदै जाँदा एउटा गोदाम घर भटियो तर त्यहाँ केही पनि थिएन । सबै चामल लगी सकेको रहेछ । हामीले ल्याएको सबै चामल सकि सकेको थियो । यहाँ भुईमा झरेको चामलहरु बटुल्यौं । दिन भरी हिडे पछि बास बस्ने बेला सम्म कतै पानी भेटिएन । बीच जंगलमा बास बस्नु परयो । आमाले मलाइ रुखका पातहरुबाट शीतको थोपा बटुलेर ल्याउन भने अनुसार एक घंटा जति थोपा थोपा शीत जम्मा गरेर एउटा भाँडामा भरेर आमालाई दिएँ । उहाँले त्यसमा विहान बटुलेका चामल पकाउनु भयो र सबैले अलि अलि खायौं । मेरो घाँटीमा भाट अडकेर झन्डै मरेको । अर्को दिन हिडने बेलामा जन्तरे भेनाले दिदीलाई डोकोमा बोकी ल्याउनु भयो । दिदीले सुकुटी खाने इच्छा गर्नु भएको रहेछ । भगवानको लिला अपरम्पार छ । त्यही बेलामा जंगलबाट एक जना नागा धनुषबाण लिएर आयो । भेनाले इशारा गरेर सुकुटी छ भनेर सोधनु भयो । नागाले के को हो सुकुटी देखायो । भेनाले coin दिएर किन्नु भयो । यो सुकुटी दिदीको मुखमा राख्नासाथ दिदीको प्राण गयो । भेनाले एउटा भातखाने सिलाभरको थाल झिकेर त्यसैले खाल्डो खनि दिदीलाई पुर्नु भयो । त्यस पछि हामी सबै अघि बढयौं ।

 

दिन भरी हिडे पछि साँझ बास बस्ने बेला भयो । एक ठाउँमा एउटा चिनीया सिपाहीले छाप्रो बनाइ सुतेको रहेछ । त्यो सिपाही मरेको धेरै दिन भइ सकेको थियो । त्यसको राइफल, गोली, साथैमा थियो । जिउको मासु कुहेर गली सकेको थियो । लाशलाइ सोरसार पारेर हामी त्यही छाप्रोमा बस्यौं । भोली पल्ट केही बेर हिडे पछि नागाको खोरीयामा पुग्यौं । त्यहाँ पिडालु रोपेको रहेछ । हामीले पिडालु निकालेर पोलेर खान थाल्यौं । कता बाट हो कुन्नि चिनीया सिपाही हरु ताँती लागी आएर अझ सम्म हामीले ल्याएको जिवितै रहेको एउटा विजुले गोरु र एउटा कुकुर थियो । यिनिहरुले गोरुलाइ मारेर तानी लैजान खोज्दा माइला भेनाले नलैजाउ भन्दा उनलाइ गालामा दुइ चडकन हानेर पिस्तोल देखाए । हामीले केही गर्न सकेनौ । एकै छिनमा पोलेर खान थाले । यहाँ हामी हिडन नसक्ने भएर केही दिन यही बस्यौं । एक दिन दुइ जना नागा हरु आए र हामीलाइ भात र साग पकाएर खुवाए । भोली पल्ट फेरी अघि बढयौं । धेरै दिन पछि नागाको गाउँमा आइ पुग्यौं । यहाँ पनि बृटिश सरकारले गोदाम राखेको रहेछ । यहाँ भात र सुकेको माछा खान पायौं । एउटा सानो घरमा आगो तापेर बसेको बेला अचानक आगोबाट पटाका पडकेको जस्तो लाग्यो र हामी पर पर भाग्यौं । पछि हेर्दा त बन्दुको गोली पो पडकेको रहेछ । हामी धन्यै बाँच्यौं । यसै ठाउँमा पछाडी छुटेका दिदी भेनाहरु संग भेट भयो । सबै विरामी परेर हिडनै नसक्ने अवस्थामा थिए । पानी परीरहेकाले हिडन गाह्रो थियो । यहाँ हामी सबै केही दिन बस्यौं । एक दिन हाम्रो कुकुर लाइ चिनीया हरुले मारेर लैजादै रहेछन् । हामीले केही भन्न सकेनौं । केही दिन पछि हामी सबै हिडन थाल्यौं ।

 

केही समय हिड पछि सालविन नदि भेटियो । हो बर्माको ठुलो नदि रहेछ । नागाहरुले डुँगामा हामीलाइ पैसा लिएर तारे । खोला पारी एउटा नागाको घरमा बस्यौं । पानी ठुलो परी रहेको थियो । यस घरको अगाडी केरा, मकैको थाँक्रो, र फर्सी रहेछ । पकायर खायौं । यस्तैमा एउटा जंगली हात्ती कता बाट आइ पुगेर केराको बोट खान आइ पुगेको थियो । केही दिन पछि त्यो हात्तीलाइ नागा हरुले मारेर डोकोमा हालेर लगे । यहाँ जेठी दिदीको र उनको परिवारको प्रायः सबै जनाको ज्वरो र पखाला बाट मृत्यु भयो । एक भान्जा र एक भान्जी मात्र बाँचे । यो सालवीन नदिले धेरै जनाको लाश बगाएर किनारामा थुपारेको थियो । यहाँबाटपनि हामी हरु अगाडी बढयौं । केही दिन हिडे पछि बास बसेको ठाउँमा जेठा दाजूले चामल लिएर आइ पुग्नु भयो । उनले चामल आफनो पतलुनको दुइ मोरीमा बाँधेर ल्याएका थिए । चामल ल्याएकोमा सबै जना खुशी भयौं । चामल सकिएपछि दाजुले फेरी चामल लिन जान्छु भन्दा मेलै म पनि जान्छु भने । आमाले जान्छस त भनि सोधनु भयो । मैले जान्छु भने पछि आमाले पनि हुन्छ जा भन्नु भयो । यहाँबाट आमा र मेरो विछोड भयो ।

यसरी केही दिन हिडे पछि बाटोमा बृटिस सरकारले पठाएका मानिसहरु भेटयौं । यिनिहरुले हामीलाइ फर्कन दिएनन् । जति पनि मान्छे आउँथे अघि पठाउँथे । अब दाजु र म लेडु आसाम भन्ने ठाउँमा आइपुग्यौं । यहाँ बृटिश सरकारले रिफयुजीका लागी खानाको रामरो बन्दोबस्त गरेको रहेछ । खाना पछि हामीलाइ ट्रममा चढाएर मारगेटा सप भन्ने ठाउँमा पुरयायो । त्यस पछि मारगेटा क्याम्पमा लगेर राख्यो । भोली पल्ट हामीलाइ गुहाटी मुकामघाटमा ल्यायो र यसै क्याम्पमा राख्यो । यस ठाउँमा सबै कुराको व्ययस्था राम्रो थियो । यहाँ दिन दिनै मान्छे हरु ल्याउँथ्यो । म चै दिन दिनै आमा कहिले आउनुहुन्छ भनेर ट्रकमा आएका मान्छे हरुलाइ हेर्थे । एक हप्तापछि आमालाइ सिकिस्त विरामी अवस्था ल्याइ पुरयाए । यसै ट्कमा दिदी हरु पनि साथै आएका थिए । आमा धेरै विरामी हुनु भएको रहेछ । औषधिले काम गरेन । आमाले कान्छा खै कान्छा मात्र भन्नु हुन्थ्यो । एक दिन धेरैनै सिकिस्त भएपछि मलाई दिदीहरुले अस्पताल लगि चमचामा पानी हाली आमालाई खुवाउन लगाउनु भयो । मैले खुवाएको पानी पनिखानु भयो र चमचा मुखले नै च्यापी प्राण त्यागनु भयो । सबै जना रुन थाल्यौ । भोली पल्ट आमालाइ दफनाउन ब्रहमपुत्र नदिमा लानु पर्ने भयो । आमाको शरिरमा ओढाउने कपडा थिएन । भाग्यवश यहाँ क्याम्पमा खाना खाइसकेपछि कपडा दिने गर्थ्यो । त्यही सेतो कपडा मेरो थियो । त्यही कपडा आमाको लाशमाथि ओडाउन काम लाग्यो । केही दिन पछि हामीसबैलाइ मुकामघाटबाट ब्रम्हपुत्र नदि जहाजमा हाली पारी पुरयायो । यहाँ हामीलाइ रेलबाट लग्ने व्यवस्था गरेको रहेछ । यो रेल विषेश गरी बर्मा बाट आउने रिफयुजीहरुहरुको लागी मात्र व्यवस्था गरेको रहेछ । यहाँ बाट हामीलाइ एक महिना पछि मोतिहारी भन्ने स्टेशनमा ल्याइ पुरायो । यहाँबाट हामीलाई ट्कमा राखी मोतिहारी बजारको बीचमा पर्ने मीना बजारमा ल्याइ पुरायो । यही नै हामीलाइ राख्यौ ।

 

यहाँ रिफयुजीका लागी राम्रो व्यवस्था गरेकाले लेखकले फुटबल लगायत अन्य खेलकुदमा भाग लिने गर्थे । पछि यहाँबाट उहाँ विभिन्न स्थानहरु हुँदै नेपालमा आएर प्रहरीका आइजीपी पहलसिंह लामालाइ भेटे पछि प्रहरीमा जागीरे हुनु भएको रहेछ । यो कथालार्इ अब यहीं नै वीट मार्दै छु । तपाइहामीले पढेर थाहा पायौ, दोस्रो विश्वयुद्धले लाखौ लाख परिवारको विचल्ली बनाएको कुरा । उनिहरुको रोदन, दुख, करुणा बारे कसैले कतै लेख्दैनन्, कतै पढिदैन ।

 

ओम शान्ति ।

 

 

 

 


किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...