अतितको सम्झना M सत्य घटनामा आधारित
विर्सिनसक्नु मेरो जीवनको घटना
लेखक प्रहरी उपरीक्षक नुर बहादुर
थापा
जेठा र माइला दाजुहरु पल्टनमा भर्ना
भई सक्नु भएको थियो । म र साइँला दाजु आर्या स्कूलमा पढथ्यौं । पछि खाल्सा स्कूलमा
पढन थाल्यौं । यो स्कूल घरबाट नजीक पथ्र्यो । साइँला दाजुले स्कूल जाँदा आउँदा
मेरो हात समातेर लाने गर्नु हुन्थ्यो । साईला दाजुले मलाई धेरै माया गर्नु
हुन्थ्यो । स्क्ुलबाट घर आए पछि आमाले विभिन्न किसिमका खाजा बनाई दिनु हुन्थ्यो ।
आमाको माया जति मिठो र ठुलो हुन्छ त्यति ठुलो कुनै वस्तु हुँदैन । सधै साईला
दाजुले मलाई भात खाइ सके पछि स्कूल लाने गर्नु हुन्थ्यो । एक दिन सधैं झैं विहान
स्कूल जाँदै थियौं अचानक हवाईजहाज आकाशमा उडेको आवाज सुनियो, हामी छक्क परयौं र कता होला भनि आकाश तिर हेर्दै थियौं । एकै छिनमा
हाम्रै टाउकाे माथि उडेको देख्यौं र हामी सबै हवाईजहाज उडेको तिर हेर्दै कुदन
थाल्यौं । त्यो दिन स्कूल जान ढिला भएकोले स्कूल पनि नगई घर तिरै फर्केर आयौं ।
मेरी आमा अति धर्मकर्म गर्नु
हुन्थ्यो । घरको छेवैमा पूजापाठ गर्न एउटा तुलसीमठ बनाइएको थियो । गुलाफ चमेली
जस्ता राम्रा फूल रोपेको थियो । साह्रै रमरणीय थियो । आमाले सधैं तुलसीको मठमा
पूजा गर्नु हुन्थ्यो । मेरी आमा सधैं स्नान गर्न घर देखी केही टाडा ईरावदी नदीमा
जानु हुन्थ्यो । के वर्षा के ठण्डी, के गर्मी सधैं नै आमा विहानै ईरावदी नदीमा जानु हुन्थ्यो । म एक्लै
हुने हुँदा आमाले मलाई पनि संगै लानु हुन्थ्यो । जाडो महिनामा आमाले मलाइ बाबुकोट
लगाई लानु हुन्थ्यो ।
हाम्रो घरको अगाडी एउटा ठुलो रबरको
रुख थियो । यो मचनी भरमा सबै भन्दा ठुलो रबरको रुख थियो । हाम्रो घरको पहिचान गर्न
ठुलो रबरको रुख भने पछि सबैले चिन्दथे । घर अगाडी केही परबाट मोटर गाडी चल्ने ठुलो
बाटो थियो । त्यो बाटोको अझै अगाडी रेलको लिक थियो । केही दिन पछि फेरी एउटा हवाइ
जहाज आइ धेरै बेर सम्म माथि आकाशमा उडी पूरा मचीनको चक्कर लागाएर गयो । अब यहाँ
धेरै हल्ला चल्न थाल्यो । बृटिश र जापानको लडाइ हुन्छ र । त्यसैले यो हवाइजहाजले
सिआइडी (रेकी) गरेर गएको हो । सबैमा डरत्रास हुन थाल्यो । केही दिन पछि
मोटरगाडीहरु पनि थरी थरीका गुडन थाल्यो । हामीले चार पाँगे्र मोटरमात्र देखेका
थियौं, लडाइको हल्ला चले पछि त ट पाँग्रे, दश पाँग्रे मोटर र ठुलठुला ट्रक चल्न थाले । हवाईजहाज पनि थरिथरि रंग
भएका उडन थाले । मान्छेमा धेरै डर हुन थनल्यो अब के गर्ने । कसो गर्ने भन्ने विचार
उठ्न थाल्यो ।
यस्तैमा बृटिश सरकारले वर्मावासीलाई
अब लडाई हुन्छ त्यसैले आआफनो बचाउको लागी घर अगाडी ट्रेन्च खन्ने, बालुवा थुपारी राख्न भन्ने आह्वान गर्न थाल्यो । फेरी अर्को आह्वान
के गरे भने ट्रेन्चलाई माथिबाट छोप्ने, ट्रेन्च बाँसको झयाँग मुनी खन्ने र माथिबाट हरियो स्याउला, घाँसले छोपने । यसो गरे माथिबाट हवाईजहाजले देख्दैन, थाहा पाउदैन भन्ने प्रचार गरे । हामीले पनि त्यसरी नै गरयौं र
अरुहरुले पनि यस्तै गरे । सबैमा झन धेरै डर हुन थाल्यो । केही दिन पछि लडाई भइहाले
पछि बचाउनको लागी के गर्नु पर्छ भन्नेबारे सबै वर्मा वासीहरुलाई यस्तो आव्हन गरयो
। अलार्म साइरन बजेपछि घरमा भएको सबैजना खनेको ट्रेन्चमा छिटोछिटो पस्ने र
बाटोघाटोमा हिडदै गरेको भए तिनीहरु रुखमुनि, झयाँगमुनि, खाल्डोहरुमा लुक्ने । यसको लागि
अभ्यास गरिने छ भन्ने अह्वान भयो । केहि दिनमै यो अभ्यास शुरु भयो । पहिलो साइरन
बजे सबै लुक्ने, अर्को साइरनमा बाहिर आउने । अब यो
अभ्यास प्राय दिनमा एक पटक सधैं गराउन थाल्यो ।
यस्तैमा वृटिश सरकारले के पनि
अह्वान गरयो भने, जो जो वर्मा छाडी बाहिर जहाँ जहाँ
जान मन छ जान सक्छ । हवाइजहाजबाट जानेले आफुलाई चाहिने सामान मात्र लिएर जान सक्छ
र बढी भएको सामानको जिम्मेवार हुने छैन भन्ने आदेश पनि भयो । मान्छेको चापले गर्दा
धेरै मान्छेहरु हवाईजहाजबाट जान सक्दैनथे । यस्तै हल्ला डर त्रास भएकै बेला माथि
रंगून, माल्डेलेमा बम, गोलीले घाइते भएका मानिसहरुलाइ रेलले ल्याई हाम्रो घरको अगाडीको
लिकमा रोकी सबैलाई उतारी रेल स्टेशनतिर गयो । यी घाइतेहरु कोही टाउकोमा पटिट
बाँधेको, कसैको खुटटा, कसैको हातमा पटटी बाँधेको घाइतेहरु सबै हाम्रो घर र अरुहरुको घरमा
आई रुदै कराउदै बच्चाबच्चीहरु समेत लिई बस्न आए । यो अवस्थादेखी आमा, दाजु, दिदी, भेनाहरु सबै सल्लाह गरे र अब हामी पनि यहाँ बस्न हुदैन चाँडै हिडनु
पर्छ नत्र हाम्रो पनि यस्तै हालत हुन्छ । सबैको सल्लाह हिडनेनै भयो र के के सामान
लाने नलाने छुटटाउन सुरु भयो । दुई दिन पछि, विहानै हिडने भनी सबैको सल्लाह भयो र आआफनो गोरुगाडामा चाहिने
सामानहरु राखी हिडयौं । घरमा पालेको सुँगुर थियो त्यो पनि रातीनै बनाई लग्यौं ।
हिडने बेलामा आमाले घरको सन्ध्याकालमा बाल्ने दियो जलाउनु भयो । यसरी नै तुलसीको
मठ, ईनार, कुवाँ, ठुलो रबरको रुखमा बत्ति दियो जलाई सधैं सधैंकालागी त्यो घर छाडी
हिडयौं । सबै दाजुदिदी, भेनाहरु, भाञ्जा भाञ्जीहरु रुदै हिडन थाल्यौं । कहाँ जाने केही थाहा छैन ।
एकमात्र लक्ष्य नेपाल जाने तर नेपाल कुन बाटो जाने केही थाहा छैन । एकमात्र भरोसा
भगवान थियो । सबैले घर तिर हेरेर नमस्कार गरी सधैं सधैंको लागी मचिना होरीलाइनलाई
पछि छाडी अगाडी बढयौं । एघार जनालाई जन्म दिई अझै पनि छोरा बुहारी, नाती, नातिनी, ज्वाइ छोरीहरुलाई हिडन लाग्नु भएकोमा धन्य छ मेरो आमा तिमीलाई, कोटी कोटी साष्टाँग दण्डवत ढोग छ ।
जति जति अगाडी बढदै जान्थ्यौं
त्यतिनै बाटो भरी कागज, कपडा हरु छरिएको देखिन्थ्यो । अधि
बढने क्रम चलिनै रहेको थियो । यस्तैमा विहानको करीब १० बजेको समय हुँदो हो आकाशमा
तिनवटा हवाइजहाज गुडुङ गुडुङ गर्दै हाम्रै टाउको माथिबाट गयो । सबै मानिसहरु कोही
जंगलभित्र पसे, कोही खाल्डोतिर लुके भने कोही
बाटोमै हिडिरहे । यो हवाई जहाज सिधै मचिनामा गइ बम खसाल्न थालेछन् । मचिना
होरीलाइनको पुरै घरहरु ध्वस्त बनाइ त्यहाँ भएको एयरपोर्ट समेत बम खसाली हवाई जहाज
बस्नै नसक्ने गरी ध्वस्त बनाइदिएछ । अझै हाम्रो हिडने क्रम जारी नै थियो । घाम
चर्को लागेकोले ज्यादै गर्र्मी थियो । केहीबेर गर्र्मी छल्न जंगलको छायामा बसी
पुनः हिडने क्रम शुरु भयो । करीब पाँच छ बजेको समयमा हामी बाह्र माइलको पडावमा
पुग्यौं । त्यहाँ हामी भन्दा अघि हिडने थुप्रै मान्छे हरु पुगी सकेका रहेछन् ।
त्यहाँ सबैै संग भेट भयो । खुशी माने पनि डरत्रास सबैमा थियो । सबै मिलेर खानासाना
बनाइ खाइ सुते र भोलीपल्ट विहान चार बजे पुनः हिडने क्रम शुरु भयो ।
हामीले यस पडावलाइ छाडी गएको दसएघार
बजे यहाँ पनि हवाईजहाजले बम खसालेछ । मानिसहरु बम लागी धेरै मरे । हिडने क्रममा
हामी अर्को पडावमा साँझ पख आईपुग्यौं र खाना खाइखाइ सके पछि सबै जना सुतेर भोली
पल्ट फेरी विहान चार बजे उठी हिडने क्रम शुरु भयो । यहाँ पनि उही दसएघार बजेको
समयमा बम खसाले र यहाँ पनि धेरै मानिस बमको छर्राले लागी मरे । यसरी तिन ठाउँ बाट
बाँची हामी अर्को पडावमा आइपुग्यौं । यतिवेरसम्म हामी सबै सकुशल थियौं । भालिपल्ट
यसै ठाउँमा खाना खाइ हिडने भनी सल्लाह भयो र विहानको खाना बनाइरहेको बेलामा कताबाट
आएका एँग्लो इण्डिएनहरुले हाम्रोबानाइरहेको खाना लुटी लगे । हामी हेरेको हेरै भयौं
। फेरी खाना छिटो छिटो बनाएर खाइ हिडयौं । यहाँबाट केही पर हिडिसकेपछि १०२ माइल
खुटटीमा (mile pillar) आइपुग्यौं ।
यहाँबाट मूल बाटो गयौं भने सुप्राबुङ्ग भन्ने ठाउँमा पुग्छ र त्यहाँ बाट एयरपोर्ट
पनि छ भन्ने सुनेको तर यो एयरपोर्ट पनि जापानले बम खसाली ध्वस्त बनाइदिएको छ
हवाइजहाज आउँदैन भन्ने सुन्यौं । अब के गर्ने भन्ने सल्लाह गर्न थाल्यौं र अन्तमा
अब पैदल बाटो जाने भन्ने भयो र सामान हरु के के लाने र के के फेक्ने (छाडने) भनी
छुटयायौं र सबैले आफुले बोक्न सक्ने सामान बोकी हिडन शुरु गरयौं ।
चामल दाल हरु घरबाट ल्याएको गोरुको
जिउमाथि राख्न खोज्दा गोरु न्मान्ने भएकाले मुस्किलले माने पछि हामीले राखी हिडन
शुरु गरयौं । यो ठाउँमा ठुलो खाल्डो थियो । अगाडी आउने सबैले आफनो मोटर, मोटरसाइकल, साइकल, बैलगाडा यही खाल्डामा खसालेका रहेछन३ र हामीले पनि हाम्रो गाडा यही
खाल्डोमा खसालीदियौं । मलाई पनि आमाले एउटा सानो झोलामा केही कपडाहरु राखी बोक
भनेर दिनु भयो । अब हाम्रो संकट र कष्टदायी यात्रा यो १०२ माइलको खुटटी बाट शुरु
हुन्छ । चार दिनको हिडाई पछि यो १०२ माइलको खुटटी भेट भएकोमा मेरो लागी चीरस्मरणीय
छ किन भने यसै ठाउँबाट हाम्रो नेपाल जाने यात्रा शुरु हुन्छ । सबैले आफनो सामान
बोकी हिडन प्रारम्भ भयो । गोरुलाइ धपाउँदै हिडाउने काम माइला भेनाले गर्नु भयो ।
आमाले मेरो हात समाति हिड भनेर
हिडाउनुभयो । मेरो कान्छी दिदीको भर्खर जन्मेका राम लक्षमण भान्जाहरुलाइ कान्छा
भेनाले बोक्नु भयो । दिदीहरुले सामान बोके । जन्तरी दिदीको पनि एकजना मात्र छोरा
थियो । उनि सानै भए पनि हिडन सक्थे । यसरी हामी सबैको पैदल यात्रा अघि बढदै गयो ।
कोही अगाडी कोही पछाडी जंगल र पहाडको बाटो हिडदै गयौं । केही पर पुगे पछि बाटोको
जंगल छेउमा झिंगा भन्केको आवाज आयो । के हो भनि हेर्दा एक जना साधु कमण्डलु रुखमा
झुण्डाइ त्रिशुल गाडेको र रुद्राक्ष माला लगाएको जिउ पुरै ढाडिएको डुङ्गडुङ्ग
गनाउने थालेको देखियो । यहाँ बाट हिडदै जाँदा कहाँ बास बस्ने केही थाहा थिएन ।
जंगलै जंगल हिडदै जाँदा साँझ पनि पर्न लागेकोले त्यहाँ सानो खोला जस्तो बगी रहेको
पानी थियो । आमाले आज यही वास बस्ने भनेपछि सबै जना थकाइ मार्न थाल्यौं । केही बेर
थकाइ मारीसकेपछि खाना बनाउन शुरु भयो र भेना र दाजुहरुले स्याउला काटी छाप्रो
बनाउन भयो र यही छाप्रोमा रात वितायौं ।
भोली फेरी विहानै हिडन थाल्यौं ।
जाँदा जाँदा कहाँ पुग्ने कहाँ बस्ने केही थाहा छैन । बाटो सानो गोरेटो जंगलै जंगल, कुनै मान्छै संग भेटघाट छैन । यो हिंडदै गरेको बाटो कचीनहिल रहेछ ।
ठाउँ ठाउँमा अघि आएका मान्छेहरु मरेका लासहरु देख्यौं । कुनै स्वास्नी मान्छे, कुनै लोग्ने मान्छे र कुनै बच्चा । स्वास्नी मान्छेको गला, कान, र नाकमा सुन लगाएको र लोग्ने
मान्छेको हातमा औंठीहरु देखिन्थे । यस्तै प्रकारको लास हरु थुप्रै भेटियो । हाम्रो
यात्रा बढी रहयो । कहिले बास बस्दै सात आठ दिन डाँडाकाँडा जंगलको बाटो हिडदै एउटा
कचीन गाउँमा आइपुग्यो । यहाँका कचीन हरु पनि लडाइ हुन्छ भन्ने डरले सबै घर छाडी
जंगल पसेका रहेछन् । कता बाट एकजना त्यही बस्ने कचीन आइपुग्यो र उनीसंग भेनाले
कुरा गर्दा त्यो ठाउँको नाम भैखुङ्ग रहेछ । यो कचीन घरको हेरविचार गर्न आएको रहेछ
। फेरी पछि उतै जंगल तिर गयो । यहाँ पातलो घरहरु रहेछ र हामीहरु यिनै घरहरुमा बस्यौं । यो भैखुङ्गमा बृटिश सरकारले
रिफयुजीहरुका लागी रासन गोदाम राखेको रहेछ । यहाँ चामलको डंगुर थुपारेको रहेछ ।
चामल जति लगे पनि रोकतोक थिएन । कचीनहरुले यो गोदामबाट चामल, सुकेको माछा, डब्बाको दुध, अरु टिनका डब्बामा राखेको मासु सबै कचीन हरुले लगिसकेको रहेछ ।
चामल मात्र डंगुर थियो । यो चामल पनि भित्र पसेर लिनु पथ्र्यो किनभने छेउछेउको
चामल सबै हिलो माटो लागेको फोहर थियो । यस भैखुङ्गमा हामी सबै धेरै दिन बस्न परयो
किनभने धेरै जना थाकेकोले विरामी पर्न थाले । केही दिन पछि फेरी अघि बढयौं ।
यस गाउँबाट करिब एक माइल दुरीमा
एउटा अस्पताल पनि रहेछ । यो बृटिशहरुले बनाएको रहेछ । तर हामी यहाँ आउँदा विल्कुल
खाली थियो । कुनै दवाई, स्टाफहरु थिएनन् । यहाँ आइ पुग्दा
फेरी हिडन नसक्ने भई यसै अस्पतालमा बस्यौं । यहाँ धेरै जना विरामी परे । कान्छी
दिदीका जुम्ल्या छोरा राम लक्षमण विरामी परेर यही परलोक भए । हाम्रो परिवारको
संख्यामा सबैभन्दा पहिले परलोक भएको यहि हो । यहाँबाट फेरी केही दिन पछि अघि बढयौं
। अब हाम्रो हिडाई धेरै विस्तारै हुदै गयो । सबैजना कमजोर हुँदै गए । अब त कहाँ
सम्म हुन थाल्यो भने जहाँ पानी खोलानाला भेटिन्छ त्यहाँ बास बस्न थालियो । बाटोमा
धेरै मानिसहरु मरेको भेटियो । यहा एउटा बडो अचम्म लाग्ने कुरा के भने यत्रो घंघोर
जंगलमा कुनै हिंसक जनावर, सर्पहरु केही देखिएन, भेटिएन, कुनै मानिसहरु पनि भटिएन र डरत्रास
केही थिएन । यति सम्म हुन थाल्यो कि आआफनो परिवारमा माया ममता हराउँदै गयो । यो
सबै उनै दयालु भगवानको लिला होला भन्नुमा अतिशयोक्ति नहोला । यसै ठाउँमा (भैखुङ्ग)
आकाश कालो भएर आयो । केही छिन मै ठुलो पानी पर्न थाल्यो । पानीको भल आउन थाल्यो ।
जताततै माछाहरु देखिन थाले । रातो खाले माछा थुप्रै देखियो । हामीले यि माछा
पक्रेर पोलेर खायौं । यसरी जंगलै जंगलको बाटो गर्दै, जता पायो तेतै बास बस्दै हिडने गरयौं । मच्छर अति लाग्ने, दिसापिसाब गर्न पनि मच्छरले गर्दा गाह्रो पथ्र्याे । अब धेरै जना
विरामी परेकोले हिडनै नसक्ने अवस्थामा पुगे । खानलाई चामल पनि सकिदै गयो । अब
विस्तार गर्दै परिवारहरु पनि छुट्टिन थाले । कचीनहिल मै धेरै दिन लाग्यो ।
यसरी हिडने क्रम चल्दै गयो । आमाले
मलाई हातमा समातेर अघि हिडाउँदै लानु भयो । अरुहरु पनि पछि पछि विस्तारै आउँदै
गर्थे । यसरी आमाले मलाई जहाँ पानी भेटिन्थ्यो त्यहाँ बसी घरबाट ल्याएको मह र पानी
खुवाउनुहुन्थ्यो र अरुहरुलाई
पर्खेर बस्थ्यौं । जो जो आएपुग्थे विस्तारै विस्तारै हिडायर लान्थ्यौं । जहाँ
पानीको कलकल आवाज सुनिन्थ्यो त्यही बास बस्ने भनी हिडथ्यौं । पानी बगेको आवाज नजिक
सुनेपनि त्यो खोला सम्म पुग्न चै अति गाह्रो पर्थ्यो ।
बाटोमा पानी परिरहन्थ्यो । परे पनि
विस्तारै हिडने क्रम चै चली नै रहन्थ्यो । घर छाप्रो केही छैन, रुखको मुनी बसी रात काटथ्यौं । मच्छरले सुत्नै दिदैनथ्यो । विहान
भए पछि फेरी हिडन थाल्थ्यौं । यसरी एक दुइ महिना हिडि सके पछि बल्ल बल्ल अर्को
गोदाम भएको ठाउँ सुम्विथाङ्गमा आइपुग्यों । यहाँ पनि बुटिश सरकारले राशन पनीको
व्यवस्था गरेको रहेछ र उहाँ बृटिश हरु दुई तिन जना रिफयुजीहरुको हेरविचारको लागी
बसेको रहेछ । यहाँ एउटा ठुलो चौर थियो । हवाइरुजहाजले राशन, चामल, दुध, डब्बाको मासु, दवाईहरु पनि
प्यारासुटबाट झार्दो रहेछ । बृटिशको यो छाप्रो देखि अलि पर चिनीया फौजको कैम्प
रहेछ । चिनीयाहरुकोपनि राशन पानी उनीहरुकै जवाइजहाजले झारेको रहेछ । यसरी राशन
झारेको वेलामा सबै रिफयुजीहरुको घरै पिच्छे एकजनाले राशन बोक्न जानु पर्दो रहेछ ।
नगएमा लठठीले पिटने रहेछ । एक दिन सिमसिम पानी परिरहेकोबेलामा बृटिशको हवाईजहाज
राशन झार्न आयो र एक जना हरेक घरबाट राशन बोक्न जान परयो । यतिखेर दाजु, दिदी, भेना सबै नै जनानै विरामी भएका थिए
। सबै विरामी परेकाले मलाई जान परयो । राशनको बोरा ठुलो ठुलो भएकोले हेर्दै जाँदा
एउटा सानो बोरा देखें र त्यसैलाई बोक्न सकीनसकी टाउकोमा राखि बोकें । पानी परेको र
बोरा भिजेको हुँदा पानी तरकेर मुखमा आयो र कसो गर्दा चाटन प्गें । चाटदा गुलियो
लागेकोले चीनीको बोरा रहेछ भन्ने थाहा पाएँ । यो राशन झारेको ठाउँबाट करिब आधा
घंटाको बाटो बोकी गोदाममा पुरयाउनु परयो । त्यहाँ राशन बोकीलाने लाई दुधको बडब्बा, सुकेको फलहरु दिने गर्दथे । बोरा टाउकोमा बोकेकाले केही बेर टाउको
हल्लाउँनै सकिन । ठाडैको ठाडै भयो । केहिबेर पछि ठीक भयो ।
एक दिन यहाँको प्रमुख एकजना गोरा
घुम्दै रिफयुजीक्याम्पमा आउँदा दाजुले अंग्रेजी बोल्ने भएकोले गोरा संग कुरा गरी
राम्रो खाले औषधि दियो । यो आषधिले दाजुलाई धेरै नै राम्रो गरयो । केही दिन पछि
मलाई पनि ज्वरो आयो । पेट दुख्ने भयो । यस ठाउँमा कलेराको प्रकोप बढयो । धेरै
मानिसहरु मरे । मरेकालाई बृटिशको का मगर्ने मानिसहरुले मरेका मानिसहरुको घाँठीमा
डोरीले बाँधी मचान बाट झाथ्र्यौ र एउटै खाल्डोमा गाडी दिन्थ्यो । जनतरी दिदीको
छोराको पनि यहाँ नै स्वर्गे भयो । यस ठाउँमा करिब एक महिना जति बसे पछि अलिअलि ठीक
भएपछि फेरी अघि हिडन थाल्यौं । कहिले कहाँ कहीले कहाँ बास बस्दै दिडदै गयौं ।
बाटोमा पानी दिन दिनै जसो पर्न थाले पनि यताउति ओत लाग्दै हिडयौं । आमाले मलाई
हरेक समय सहारा दिदै हिडाउनु हुन्थ्योे । यतिखेर मेरो आमा सिवाय हरु कोही थिएन ।
जहाँ पानी भेटथ्यौं त्यहाँ आमाले मलाई पाउरोटी, मह र पानी खुवाउनु हुन्थ्यो । आमाले कहिले जंगलमा उम्रेको सानो
रुखको बोट भाँची त्यसको वीचको गुदी खुवाउनु हुन्थ्यो । गुलियो स्वाद हुन्थ्यो ।
बाटोमा छुटेका दिदी, भेना संग वास बसेको ठाउँमा भेट
हुन्थ्यो । एक दिन कान्छा भेनालाई एकलै देख्दा दिदी खै भनि सोधदा बाटैमा परलोक भयो
भन्नु भएको थियो । यस्तै किसिमबाट कसले कसलाई कसले कसलाई बाटोमा उछिन्दै हिडन
थाल्यौं । विरामी परेकाहरुलाई विस्तारै आउ भन्दै अघि बढयौं । यसरी हिडदा हिडदै
कचीनहिल काटिएछ र अब नागा हिल चढने बाटो आयो ।
नागा हिल असाध्धै अग्लो र अपठयारो
थियो । पानी परेकोले घुँडा घुँडा सम्म गाडेर हिडनु पथ्र्यो । जुगा असाध्य लाग्ने, जुगाले टोकेर घाउै घाउ भयो । मच्छर त्यत्तिकै बाक्लो लाग्थ्यो ।
पानी परेकोले अग्लो डाँडामा हिडन गाह्रो थियो । यस्तैमा एउटा तारे गोरु, जस्ले चामल ढाडमा बोकेको थियो, चिप्लेर कता हो कता छाङ्गामा खस्यो । हामी अक्क न बक्क भयौं । अब
अर्को विजुले भन्ने गोरु र घरै बाट आएको एउटा कुकुर चैं संगै हिडदै आएको छ । रात
पर्न थाले पनि बास बस्ने ठाउँमा पानी कतै भेटिदैन । खोला बगेको सुनिन्छ तर भेटिदैन
। निकै बेर हिडे पछि एउटा सानो खोल्सी जस्तोमा पानी बगेको रहेछ । त्यही नै बास
बस्यौं । अर्को दिन विहान फेरी हिडन शुरु भयो । अब त केही छिन हिडे पछि बास बस्नु
पर्ने स्थिति आयो । शरीर ज्यादै शिथिल हुदै आयो । अब त चामल पनि सकियो । के खाने
कुनै आशा छैन ।
यस्तैमा जेठा दाजुले म अघि जान्छु
चामल खानेकुरा हरू पाएँ भनि लिएर आउँछु भनि अघि बढनु भयो । हामी हिडदै जाँदा एक ठाउँमा
सानो खोला जस्तै भेटियो । सबै आलस्य भई कोही यता कोही उता पल्टन थाल्यौं । यस्तैमा
आमाले पटुकीमा एक मुठी चामल राख्नुभएको रहेछ । त्यही ठाउँमा एउटा डब्बा भेटियो र
त्यही डब्बामा एक मुठी चामल र सिस्नु पखालेर त्यसैमा हाली पकाउनु भयो । सबैले
अलिअलि बाँडेर आयौं खायौं । यसले हामीलाइ ठुलो प्राण आयो । त्यसपछि हामी फेरी अघि
बढयौं । केही पर पुगे पछि एक ठाउँमा एउटा पानी भएको सानो खाल्डो भरी माछा चलेको
जस्तो देखियो र हेर्दा नभन्दै माछा नै रहेछ ।
हातले समाति झिक्यौं । निकै धेरै रहेछ । केही पर हिडे पछि नागाहरुको घर हरु भेटियो
। यहाँ पनि कुनै नागाहरु थिएनन् । नागाहरुको चार पाँच वटा घर थियो । यहि बास बस्ने
सुविधा भएकोले हामी सबै यही घर हरुमा बस्यौं र ति माछाहरुलाइ पोलेर खान थाल्यौं । कागती लटरम्म फलेको थियो । यो
कागति टिपेर खायौं । यो खाए पछि मलाई अलिअलि ज्वरो आउने निको भयो र अरुहरुलाई पनि
यसले ठीक गरयो । यहाँ पनि केहि समय बसेर फेरी अघि बढयौं ।
केही बेर हिडे पछि अर्को नागाको घर
भेटियो । यस घरमा एक जना चिनीया सिपाही बन्दुक सहित मरेको देखियो । त्यस्तै एक जना
महिलाको पनि शव देख्यौं । अघि बढदै जाँदा एउटा गोदाम घर भटियो तर त्यहाँ केही पनि
थिएन । सबै चामल लगी सकेको रहेछ । हामीले ल्याएको सबै चामल सकि सकेको थियो । यहाँ
भुईमा झरेको चामलहरु बटुल्यौं । दिन भरी हिडे पछि बास बस्ने बेला सम्म कतै पानी
भेटिएन । बीच जंगलमा बास बस्नु परयो । आमाले मलाइ रुखका पातहरुबाट शीतको थोपा
बटुलेर ल्याउन भने अनुसार एक घंटा जति थोपा थोपा शीत जम्मा गरेर एउटा भाँडामा भरेर
आमालाई दिएँ । उहाँले त्यसमा विहान बटुलेका चामल पकाउनु भयो र सबैले अलि अलि खायौं
। मेरो घाँटीमा भाट अडकेर झन्डै मरेको । अर्को दिन हिडने बेलामा जन्तरे भेनाले
दिदीलाई डोकोमा बोकी ल्याउनु भयो । दिदीले सुकुटी खाने इच्छा गर्नु भएको रहेछ ।
भगवानको लिला अपरम्पार छ । त्यही बेलामा जंगलबाट एक जना नागा धनुषबाण लिएर आयो ।
भेनाले इशारा गरेर सुकुटी छ भनेर सोधनु भयो । नागाले के को हो सुकुटी देखायो ।
भेनाले coin दिएर किन्नु भयो । यो सुकुटी दिदीको मुखमा राख्नासाथ दिदीको प्राण
गयो । भेनाले एउटा भातखाने सिलाभरको थाल झिकेर त्यसैले खाल्डो खनि दिदीलाई पुर्नु
भयो । त्यस पछि हामी सबै अघि बढयौं ।
दिन भरी हिडे पछि साँझ बास बस्ने
बेला भयो । एक ठाउँमा एउटा चिनीया सिपाहीले छाप्रो बनाइ सुतेको रहेछ । त्यो सिपाही
मरेको धेरै दिन भइ सकेको थियो । त्यसको राइफल, गोली, साथैमा थियो । जिउको मासु कुहेर गली
सकेको थियो । लाशलाइ सोरसार पारेर हामी त्यही छाप्रोमा बस्यौं । भोली पल्ट केही
बेर हिडे पछि नागाको खोरीयामा पुग्यौं । त्यहाँ पिडालु रोपेको रहेछ । हामीले
पिडालु निकालेर पोलेर खान थाल्यौं । कता बाट हो कुन्नि चिनीया सिपाही हरु ताँती
लागी आएर अझ सम्म हामीले ल्याएको जिवितै रहेको एउटा विजुले गोरु र एउटा कुकुर थियो
। यिनिहरुले गोरुलाइ मारेर तानी लैजान खोज्दा माइला भेनाले नलैजाउ भन्दा उनलाइ
गालामा दुइ चडकन हानेर पिस्तोल देखाए । हामीले केही गर्न सकेनौ । एकै छिनमा पोलेर
खान थाले । यहाँ हामी हिडन नसक्ने भएर केही दिन यही बस्यौं । एक दिन दुइ जना नागा
हरु आए र हामीलाइ भात र साग पकाएर खुवाए । भोली पल्ट फेरी अघि बढयौं । धेरै दिन
पछि नागाको गाउँमा आइ पुग्यौं । यहाँ पनि बृटिश सरकारले गोदाम राखेको रहेछ । यहाँ
भात र सुकेको माछा खान पायौं । एउटा सानो घरमा आगो तापेर बसेको बेला अचानक आगोबाट
पटाका पडकेको जस्तो लाग्यो र हामी पर पर भाग्यौं । पछि हेर्दा त बन्दुको गोली पो
पडकेको रहेछ । हामी धन्यै बाँच्यौं । यसै ठाउँमा पछाडी छुटेका दिदी भेनाहरु संग
भेट भयो । सबै विरामी परेर हिडनै नसक्ने अवस्थामा थिए । पानी परीरहेकाले हिडन
गाह्रो थियो । यहाँ हामी सबै केही दिन बस्यौं । एक दिन हाम्रो कुकुर लाइ चिनीया
हरुले मारेर लैजादै रहेछन् । हामीले केही भन्न सकेनौं । केही दिन पछि हामी सबै
हिडन थाल्यौं ।
केही समय हिड पछि सालविन नदि भेटियो
। हो बर्माको ठुलो नदि रहेछ । नागाहरुले डुँगामा हामीलाइ पैसा लिएर तारे । खोला
पारी एउटा नागाको घरमा बस्यौं । पानी ठुलो परी रहेको थियो । यस घरको अगाडी केरा, मकैको थाँक्रो, र फर्सी रहेछ ।
पकायर खायौं । यस्तैमा एउटा जंगली हात्ती कता बाट आइ पुगेर केराको बोट खान आइ
पुगेको थियो । केही दिन पछि त्यो हात्तीलाइ नागा हरुले मारेर डोकोमा हालेर लगे । यहाँ
जेठी दिदीको र उनको परिवारको प्रायः सबै जनाको ज्वरो र पखाला बाट मृत्यु भयो । एक
भान्जा र एक भान्जी मात्र बाँचे । यो सालवीन नदिले धेरै जनाको लाश बगाएर किनारामा
थुपारेको थियो । यहाँबाटपनि हामी हरु अगाडी बढयौं । केही दिन हिडे पछि बास बसेको
ठाउँमा जेठा दाजूले चामल लिएर आइ पुग्नु भयो । उनले चामल आफनो पतलुनको दुइ मोरीमा
बाँधेर ल्याएका थिए । चामल ल्याएकोमा सबै जना खुशी भयौं । चामल सकिएपछि दाजुले
फेरी चामल लिन जान्छु भन्दा मेलै म पनि जान्छु भने । आमाले जान्छस त भनि सोधनु भयो
। मैले जान्छु भने पछि आमाले पनि हुन्छ जा भन्नु भयो । यहाँबाट आमा र मेरो विछोड
भयो ।
यसरी केही दिन हिडे पछि बाटोमा
बृटिस सरकारले पठाएका मानिसहरु भेटयौं । यिनिहरुले हामीलाइ फर्कन दिएनन् । जति पनि
मान्छे आउँथे अघि पठाउँथे । अब दाजु र म लेडु आसाम भन्ने ठाउँमा आइपुग्यौं । यहाँ
बृटिश सरकारले रिफयुजीका लागी खानाको रामरो बन्दोबस्त गरेको रहेछ । खाना पछि
हामीलाइ ट्रममा चढाएर मारगेटा सप भन्ने ठाउँमा पुरयायो । त्यस पछि मारगेटा
क्याम्पमा लगेर राख्यो । भोली पल्ट हामीलाइ गुहाटी मुकामघाटमा ल्यायो र यसै
क्याम्पमा राख्यो । यस ठाउँमा सबै कुराको व्ययस्था राम्रो थियो । यहाँ दिन दिनै
मान्छे हरु ल्याउँथ्यो । म चै दिन दिनै आमा कहिले आउनुहुन्छ भनेर ट्रकमा आएका
मान्छे हरुलाइ हेर्थे । एक हप्तापछि आमालाइ सिकिस्त विरामी अवस्था ल्याइ पुरयाए ।
यसै ट्कमा दिदी हरु पनि साथै आएका थिए । आमा धेरै विरामी हुनु भएको रहेछ । औषधिले
काम गरेन । आमाले कान्छा खै कान्छा मात्र भन्नु हुन्थ्यो । एक दिन धेरैनै सिकिस्त
भएपछि मलाई दिदीहरुले अस्पताल लगि चमचामा पानी हाली आमालाई खुवाउन लगाउनु भयो ।
मैले खुवाएको पानी पनिखानु भयो र चमचा मुखले नै च्यापी प्राण त्यागनु भयो । सबै
जना रुन थाल्यौ । भोली पल्ट आमालाइ दफनाउन ब्रहमपुत्र नदिमा लानु पर्ने भयो ।
आमाको शरिरमा ओढाउने कपडा थिएन । भाग्यवश यहाँ क्याम्पमा खाना खाइसकेपछि कपडा दिने
गर्थ्यो । त्यही सेतो कपडा मेरो थियो । त्यही कपडा आमाको लाशमाथि ओडाउन काम लाग्यो
। केही दिन पछि हामीसबैलाइ मुकामघाटबाट ब्रम्हपुत्र नदि जहाजमा हाली पारी पुरयायो ।
यहाँ हामीलाइ रेलबाट लग्ने व्यवस्था गरेको रहेछ । यो रेल विषेश गरी बर्मा बाट आउने
रिफयुजीहरुहरुको लागी मात्र व्यवस्था गरेको रहेछ । यहाँ बाट हामीलाइ एक महिना पछि
मोतिहारी भन्ने स्टेशनमा ल्याइ पुरायो । यहाँबाट हामीलाई ट्कमा राखी मोतिहारी
बजारको बीचमा पर्ने मीना बजारमा ल्याइ पुरायो । यही नै हामीलाइ राख्यौ ।
यहाँ रिफयुजीका लागी राम्रो
व्यवस्था गरेकाले लेखकले फुटबल लगायत अन्य खेलकुदमा भाग लिने गर्थे । पछि यहाँबाट
उहाँ विभिन्न स्थानहरु हुँदै नेपालमा आएर प्रहरीका आइजीपी पहलसिंह लामालाइ भेटे
पछि प्रहरीमा जागीरे हुनु भएको रहेछ । यो कथालार्इ अब यहीं नै वीट मार्दै छु ।
तपाइहामीले पढेर थाहा पायौ, दोस्रो विश्वयुद्धले लाखौ लाख परिवारको विचल्ली बनाएको
कुरा । उनिहरुको रोदन, दुख, करुणा बारे कसैले कतै लेख्दैनन्, कतै पढिदैन ।
ओम शान्ति ।