नेपालको इतिहासमा माथबरसिंह थापा
माथबरसिंह थापा (वि.सं. १८५५–१९०२) भीमसेन थापा मारिए (वि.सं. १८९६ साउन ६) पछि कोतपर्व (वि.सं. १९०३) अघि मुख्तियार (प्रधानमन्त्री सरहको पुरानो पद) र सेनाका कमान्डर इन्–चिफका रुपमा (वि.सं. १९००–१९०२) कार्यरत थिए । १९०२ मा उनको हत्या गरियो । उनी गोरखा बोर्लाङ्का थापा खलकका, नाताले भीमसेन थापाका भतिजा हुन् । भीमसेन थापालाई षड्यन्त्रपूर्वक मारिएपछि माथबर भागेर भारतको सिमला पुगेका थिए ।
चार वर्षपछि राजा राजेन्द्र बिक्रमकी दोस्री रानी राज्यलक्ष्मीले उनलाई फिर्ता बोलाईन् र आफ्नो छोरा रणेन्द्र बिक्रमलाई राजा बनाउन उनलाई अह्राईन् । तर माथबरले नमानेपछि रानी क्रुद्ध भईन् । यी रानीको रगत छिटै उम्लिने स्वभाव रहेछ । रीस नाकका टुप्पामा राखेकी रानीले माथबरलाई उनकै भान्जा जङ्गबहादुरलाई अह्राएर हत्या गरिदिइन्, चौतरिया फत्तेजङ्ग शाहलाई उनको कार्यभार सुम्पिदिइन् र दरबारमा थापाहरूको बर्चश्व सदाका लागि बिसर्जन गरिदिईन् । क्रुद्ध रानीको कमजोरीबाट फाईदा लिँदै उनलाई रिझाएर चतुर जंगबहादुर त्यसपछिका दिनमा बलियो हुँदै गए र आखिर कोतपर्वद्वारा सत्ता हत्याउन सफल भए ।
माथबरसिंह थापा देशभक्त थिए । उनी नेपालमा बढ्दो बेलायती हस्तक्षेपका प्रबल विरोधी पनि थिए । ब्रिटिश रेजिडेन्सले दरबारमा “आफ्नो सुँड पसालेको”मा उनको आपत्ती थियो । वि.सं. १८९७ माघ १३ गते शुक्रबार तत्कालीन राजा राजेन्द्रविक्रम शाहलाई एक अर्जीपत्र (ज्ञापनपत्र) लेखेका थिए, जसमा नेपालको बिग्रँदो राजनीतिक स्थितिप्रति चिन्ता र आपत्ती व्यक्त गर्दै भारतमा शासन चलाइरहेका अँग्रेजहरुबाट नेपालमा बढ्दो हस्तक्षेपलाई सहज रुपमा लिएकोबारे उल्लेख गरिएको थियो– “......भीमसेन थापा मात्रै बहुतै भाग्यमानी रहेछन् नेपाल बिग्रेको देषन पायेनन् हामी नेपालको सबै भारादार तमासा हेर्न्या र लेषिदिन्या बहुतै कुकर्मी करम चन्डाल अभागी नमक हरामी कुल्याहा रहेछौँ र तेस्तो देष्न पर्यो यहाँ एस्ता एस्ता कलम छुट्यो भंन्या षबर मुसदीहेरुको मुष जमानी सुनिन्छ.......।”
यो भनाई चित्तरन्जन नेपालीद्वारा लिखित ‘जङ्गबहादुरको कथा’ पुस्तक (पृ.४) बाट लिइएको हो ।
यहाँ प्रस्तुत उनको पोर्ट्रेट छाउनीस्थित म्युजियममा भएको उसैबेलाको ऐतिहासिक पोर्ट्रेट हो ।
साभार
Chandramani Gautam Facebook