मानेभन्ज्याङका
अन्तिम मुखिया
२०४५ मा स्थानीय विकास शुल्क एक कित्ता जग्गा
बराबर दुई रुपैयाँ उठाउने अनुमति मुखियालाई थियो । त्यो रकम उनले आफ्नो तलबसरह
खर्च गर्न पाउँथे ।
असार १९, २०७९कुम्भराज
राई
ओखलढुंगा — कमलसिं राई गाउँका नामी डकर्मी हुन् । ५९ वर्षका भए । उनले बनाएका घरहरू गाउँभरि छन् । तर मानेभन्ज्याङ गाउँपालिका–५ उदैपुरका कमलसिंलाई गाउँमा अझै मुखिया भनेर चिन्छन् । उनी साबिक मानेभन्ज्याङ गाविस
क्षेत्रका अन्तिम मुखिया हुन् ।
राणाकालसम्म पनि मुखिया गाउँका प्रशासकसरह
थिए । जग्गाजमिनको तिरो (राजस्व)
संकलन गर्नेदेखि झैंझगडा निरूपण र न्याय
सम्पादनसम्मका काम जिम्मावाल मुखियाले गर्थे । कमलसिंले पञ्चायतको उत्तराद्र्धमा दुई वर्ष मुखियाको काम गरे । २०४४ मा जग्गाजमिन नापी भयो । सोही नापीका आधारमा उनले २०४६ सम्म
तिरो संकलन गरे । त्यसपछि बहुदल आयो । पञ्चायती शासन समाप्तिसँगै मुखिया, जिम्वाल, गौरङ, थरी, कार्बारीले काम गर्ने चलन अन्त्य भयो ।
कमलसिं रहरले वा क्षमताले मुखिया
भएका चाहिँ होइनन् । सयौं वर्ष पहिले
उनका जिजुहरू यस भेगका शासक थिए । १८ औं शताब्दीमा
उनका जिजु घमण्ड राई यस क्षेत्रका राजा थिए । उनले पृथ्वीनारायण
शाहसँग विभिन्न सर्तसहित मुखिया पदमा रहने सम्झौता गरेर आफ्नो राज्य नेपाल
एकीकरणमा गाभे । त्यसपछि मुखियाका जेठा छोरा मुखिया रहने परम्परा कायम
हुँदै आयो । उनका हजुरबुबा पञ्चध्वज राई मुखियाका रूपमा चर्चित
थिए । बुबा नरमान राई मुखिया भए । नरमानका जेठा छोरा शरणजित मुखिया हुनुपर्ने थियो । तर उनी पिता जीवित छँदै छुट्टिएर बसे । माइला कमलसिंलाई २७ वर्षको उमेरमै मुखियाको
जिम्मेवारी आइलाग्यो ।
राणा शासनकालपछि मुखियाको अधिकार
क्षेत्र साँघुरिँदै गएको थियो । पृथ्वीनारायण
शाहसँग घमण्ड राईले दक्षिणमा उदयपुरको जहडी रिस्कु, उत्तर पूर्वमा सोलुखुम्बुको काँकु मुक्ली, देउसा, पञ्चन, पूर्वमा रोम्दु खोला र पश्चिममा मोलुङ खोलासम्म रैतीबाट
सिक्सार (अनिवार्य कोसेली) उठाउन पाउने सम्झौता गरेका थिए । सिक्सारमा मधेसको धानचामलदेखि, हिमालको चौंरी घिउ, तामाखानीको काँचो तामासम्म उठाउन पाउने सम्झौता थियो । कतिपय तत्कालीन लिखतहरू अझै मुखियाको घरमा छन् । तत्कालीन लिपिलाई अध्ययन गर्न सके अझै प्रमाणित गर्न
सकिने कमलसिंले बताए । उनको पालासम्म
आइपुग्दा त्यो चलनको अवशेष मात्र थियो ।
गाउँ आसपासकाले दसैंमा कोसेली
लिएर टीका थाप्न आउँथे । उनीहरूको जग्गा
तत्कालीन नेपाली सेनाले लिएका थिए । त्यसैले सेनाले
दसैंमा मार हानेर पूजा गर्दा अनिवार्य राँगाको फिला ल्याइदिने चलन कमलसिंका बुबा
नरमानको पालासम्म थियो । कमलसिंले जग्गाको
तिरो संकलन गरी प्रत्येक वर्षको जेठदेखि असारको पहिलो सातासम्म जिल्ला मालपोत
कार्यालयमा एकमुष्ट रूपमा बुझाउँथे । सुरुमा यसरी संकलित
तिरो बुझाउँदा मालपोतले बाटो खर्च भनेर १० रुपैयाँसम्म दिन्थ्यो । २०४५ मा स्थानीय विकास शुल्क भनेर एक कित्ता जग्गा
बराबर दुई रुपैयाँ उठाउने अनुमति मुखियालाई थियो । त्यो रकम मुखियाले आफ्नो तलबसरह खर्च गर्न पाउँथे । उनले सबैभन्दा बढी दुई हजार रुपैयाँसम्म स्थानीय
विकास शुल्क संकलन गरेका थिए । त्यतिखेर काट्ने
रसिदमा पित्तलको छाप लगाइन्थ्यो । औंठी जस्तै छापमा
मुखियाको नाम लेखिएको हुन्थ्यो ।
बहुदलसँगै
व्यवस्था फेरियो । लेखपढ खासै नभएकाले कमलसिं डकर्मी काम थाले । त्यसैले जीविका गर्दै आएका छन् । बाउबाजे त्यतिखेरका हर्ताकर्ता भए पनि उनले
रवाफ देखाएनन् । ‘गाउँमा जाँदा मुखिया आए है भनेर मानमनितो
गर्ने चलन थियो,’
उनी विगत सम्झिँदै भन्छन्, ‘त्यो समयअनुसारको व्यवस्था थियो ।’ उनलाई गणतन्त्रको बारेमा थाहा छैन । गाउँका काम गर्नुपरे वडाध्यक्ष र
गाउँपालिका अध्यक्ष कहाँ पुग्नुपर्छ भन्ने थाहा छ । नेपालको इतिहासमा सयौं वर्ष प्रथाका रूपमा
रहेको मुखिया जिम्वाल परम्पराको प्रतिनिधिपात्र हुन् कमलसिं । तीन दशकअघिसम्म मुखिया काम गरेका उनी जस्ता
सयौं मुखियाहरू गाउँघरमा छन् । उनीहरूसँग ऐतिहासिक दस्ताबेज, लिखत,
तमसुकहरू छन् । जसको बारेमा उचित अध्ययन हुन सकेको छैन ।
प्रकाशित
: कान्तिपुर, असार १९, २०७९ १२:०५