Thursday, June 22, 2023

ऐतिहासिक महत्वका अजम्बरी सम्पदा नासिँदै

 

ऐतिहासिक महत्वका अजम्बरी सम्पदा नासिँदै

 https://newspolar.com/archives/171503 २५ बैशाख २०८०,

गलेश्वर । बेनीदरबाङ सडकको ट्र्याक नखुल्दासम्म यस क्षेत्रमा बटुवा र पर्यटकलाई लक्षित गरेर निर्माण गरिएका १४ ठाँटी थिए । ठाउँठाउँमा थान, थुम्का, चौतारी, देवल र सत्तल थिए । सडक खुलेको दुई दशकभित्रमा ती सबै सम्पदा नामो निसान नभेटिने गरी पुरिए ।

बेनीदरबाङ क्षेत्रका मात्रै होइन जिल्लाका सबै ठाउँका ऐतिहासिक तथा पुरातात्विक महत्वका मठ, मन्दिर, सत्तल, देवल, थुम्का, चौतारी, पोखरी, पाटीपौवा र धारा तथा कुवाजस्ता सम्पदा विगत २० वर्षयता नामेट हुने अवस्थामा पुगिसेका छन् । डोजर तथा स्काभेटरको प्रयोग गरी गाउँबस्ती, भिरपाखा र कुनाकन्दरामा समेत मोटरबाटो निर्माण गर्न थालिएपछि म्याग्दीका ग्रामीण क्षेत्रमा रहेका ऐतिहासिक र प्राकृतिक सम्पदा नासिँदै गएका छन् ।

तत्कालीन पर्वत राज्यअन्तर्गतको डढेकोट, ज्यामरुककोट, ताकम, ढोलठानलगायतका जिल्लाका ऐतिहासिक ठाउँका पुरातात्विक सम्पदा अहिलेको पुस्ताका लागि एकादेशको कथा जस्तै बनेका जिल्लाका ऐतिहासिक सम्पदाका विषयमा खोज अनुसन्धान गर्दै आउनुभएका बेनी नगरपालिका–५ पुलाचौरका शिव बानियाँले बताउनुभयो ।

दुई दशकअघिसम्म ग्रामीण क्षेत्रका लेकबेँसी, बस्ती, गोरेटो र उकाली ओरालीमा देखिने गरेका पाटी, पौवा, सत्तल, धारा, कुवा, पँधेरा, जरुवा, चौतारी, पोखरी र स्थानीय देवतालाई सम्झेर पाती चढाउने थुम्का नासिएर अहिले देखिन/भेटिन छाडेका उहाँको भनाइ छ । डोजर चालक नै इञ्जिनियर बनेर खनिएका मोटरबाटोका कारण वर्षौं पहिलेदेखिका ऐतिहासिक तथा प्राकृतिक सम्पदा नास भएर गए पनि यिनको संरक्षणका लागि कुनै निकायले वास्ता नगरेको स्थानीयको भनाइ छ ।

विकासका नाममा वातावरणीय प्रभाव मूल्याङ्क नगरी जथाभावी खनिएका मोटरबाटोका कारण म्याग्दीको बेनी नगरपालिकासहित पाँच गाउँपालिकामा रहेका तीन दर्जन बढी ऐतिहासिक तथा प्राकृतिक सम्पदा नासिएका पाइएको छ । यस्ता प्राकृतिक तथा ऐतिहासिक सम्पदाको तथ्याङ्क अद्यावधिक गर्ने कुनै निकाय नभए पनि स्थानीय तहले आआफ्नो क्षेत्रमा पहिला भएका र अहिले नरहेका यस्ता सम्पदाको बल्ल जानकारी लिन सुरु गरेका छन् ।

गाउँगाउँमा सडक सञ्जाल विस्तार गर्ने क्रममा कतिपय पाटी, पैवा, सत्तल, देवल, धारा, कुवा र चौतारी पोखरी भत्काइएको तथा पुरिएको बेनीका दण्डपाणि उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “विकासको नामबाट जुन विनाश भएको छ त्यसले दीर्घकालसम्म अपूरणीय क्षति पुर्‍याइरहने छ, सडकका नाममा डोजरले खेतका गरा, कान्ला र उर्वर जमिन मात्रै भत्काएको छैन आफ्ना पुर्खाको कीर्ति, संस्कृति, सभ्यता र हाम्रो परम्पराको जग पनि हल्लाएको छ, यसले हाम्रो ग्रामीण सौन्दर्य पनि खोसिदिएको छ ।

बाइसेचौबिसे राज्यअन्तर्गतका ऐतिहासिकस्थल ज्यामरुककोट, ताकमकोट, ढोलठानलगायत स्थानमा रहेका ऐतिहासिक देबल, मठ, थुम्का, सत्तल, चौतारी, पोखरी, कुवा र इनार अहिले खण्डहरमा परिणत भएका स्थानीयले बताएका छन् । ज्यामरुककोटमा अवस्थित मल्लकालीन राजा भर्ति बम मल्लले बनाएको फूलपाती चौतारी, डम्मरा चौतारी, गौडालाउने चौतारी, लामागराको पुर्खे सत्तल, ज्यामरुककोटको देवल, हाँडेभिर पश्चिमको पाती चढाउने थुम्कोलगायत दर्जनौंँ ऐतिहाँसिक, पुरातात्विक र प्राकृतिक सम्पदा नासिएका बगरफाँटका ८६ वर्षीय वेदप्रसाद उपाध्यायले बताउनुभयो ।

त्यसैगरी ऐतिहासिक महत्व बोकेका खड्ग भवानी मन्दिर, ताकममा अवस्थित ताकमकोट र ढोलठान मन्दिर वरिपरि रहेका कुवा तथा पोखरीको पनि अस्तित्व सङ्कटमा परेको छ । मल्लकालीन कालखण्डको जीवन्त इतिहास बोकेका यस्ता स्थलको संरक्षण गर्न सरोकारवाला निकायले ध्यान नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।

स्थानीयको गुनासोलाई ध्यानमा राख्दै यहाँका केही स्थानीय तहले ऐतिहासिक स्थलको संरक्षणमा चासो दिन थालेका छन् । ऐतिहासिक ज्यामरुककोटको खड्ग भवानी कोतमा रहेका ऐतिहासिक खजाना र सम्पदाको संरक्षण गर्न सुरु गरिएको बेनी–२ ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । रासस

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...