Sunday, April 26, 2026

दशैँ र गुरुङहरु

 दशैँ र गुरुङहरु, Dr.  Jagman Gurung

कोटलाई संस्कृतमा कोट्ट,नेपालीमा कोट, नेपाल भाषामा क्वाठ र गुरुङ भाषामा क्वे भन्दछ। कोट एउटा सामरिक किल्ला र प्रशासनिक केन्द्र हो।नेपालीमा कोटको उमरा र घाटको माझी भन्ने उखान छ,किनभने कोटको मुख्य व्यक्तिलाई उमरा भन्दछ।ती उमराहरु मध्येका प्रमुख उमरालाई मीर उमरा भन्दछ।नेपाल भाषामा क्वाठ नायक प्रधान भन्दछ।

अघि राजतन्त्रात्मक राज्यकालमा राज्यमा राज्याधिकारी र धर्माधिकारी दुईटा पद थिए।अघि बाइसे, चौबीसे राज्यकालमा राजालाई तखतमा चढेका राजा भन्दथे।कालान्तरमा गद्दिनसीन श्री ५ महाराजाधिराज भन्न थालियो।त्यस अवस्थामा तखतमा चढेका राजा अथवा श्री ५ महाराजाधिराजलाई राज्याधिकारी र राजाका श्री ६ बडागुरुज्यूलाई धर्माधिकारी मानिन्थ्यो।राजा भएका दरबार र कोटहरुमा राज्याधिकारी राजाले पानी समाउने र राजाका गुरु पुरोहितले संकल्प वाक्य बोलेर दुर्गापूजा र मौलोपूजा गरिन्थ्यो।राजा नभएका कोटमा उमरा, मीर उमरा, तालुकदार,जिम्मावाल,मुखियाले राज्याधिकारी राजाको प्रतिनिधि भएर पानी समाउने र धर्माधिकारी श्री ६ बडागुरुज्यूको प्रतिनिधि ब्राह्मण पुरोहितले संकल्प वाक्य भनेर दुर्गापूजा र मौलोपूजा गरिन्थ्यो।कोट नभएका गाउँहरुमा मुखिया कै आगनमा मौलो गाडेर मौलोपूजा गरिन्थ्यो।

गुरुङहरुमा आफ्नै थिति परम्परा अनुसार दशैँ मान्ने परम्परा थियो।लमजुङका राजा यशोब्रह्म शाहका पालादेखि गुरुङहरुमा हिन्दूविधिले दुर्गापूजा गरेर दशैँ मान्ने परम्परा भित्रियो। यशोब्रह्म शाहले गुरुङहरुलाई नमासिने चोखो मतवाली जात र क्षेत्री- ठकुरी सरह खुँडा हान्ने जातमा दराई दिए। खुँडा हान्ने जातमा दरिए पछि गुरुङहरुले गाउँका तालुकदार, जिम्मावाल, मुखिया; गढी गौँडाका द्वारे र कोटका उमरा र मीर उमरा भएर राज्यको शासनमा सहभागी हुन पाए।यशोब्रह्म शाहले लमजुङ चारनाल(मादी पूर्व र मर्स्याङ्दी पश्चिमको ईलाका ) र उँभो खोला( बाहुनडाँडादेखि उँभो र मनाङको सुकेखोलादेखि उँधोको ईलाका) का घले, गुरुङ र लामालाई उमराली मानको पगरी दिएका थिए।त्यस ईलाकामा जग्गाको जाँच गरेर माना- मुठीको आधारमा तिरो उठाइने थिएन।उमराहरुले राजालाई सालबसाली रूपमा नगदी वा जिन्सी सिर्तो तिरेर शासन गर्दथे।वि. सं.१८६२ मा किल्ला काँगडातिरको युद्धको उद्योग चल्दा देवी देवताको गुठी हरण भयो, ब्राह्मणको कुशविर्ता हरण भयो तर लमजुङ चारनाल र उँभोखोला समेतमा गुरुङ उमराहरुको सिर्तोविर्ता यथावत् कायम थियो।

लमजुङ, पुरानोकोटका मुखिया कोके गुरुङ थिए।अहिले पनि लमजुङ, पुरानोकोटको मौलोमा तीनै कोके मुखियाका सन्तान कोके गुरुङले कर्ता भएर पूजा गर्दछन्।लमजुङ,पुरानोकोटको चण्डी मन्दिरमा कोके गुरुङले शाह राजाहरुको पुस्तावली फलाकेर पूजा गर्दछन्।लमजुङ, रागिनासकोटका द्वारे तुलाराम फिब्रोँ लामा गुरुङ थिए।तीनै द्वारे तुलाराम फिब्रोँ लामा गुरुङका वंशज रागिनासकोटका मुखिया थिए। द्रव्य शाहले लमजुङबाट गोरखा प्रवेश गर्दा उनलाई १८ जना गुरुङ उमराहरुले साथ दिएका थिए।गोरखाको सिरानचोकलाई बाह्र थरी र सात वराहले घेरेर राखेको छ।गोरखाको सिरानचोक द्रव्य शाहको पालाका गणेश पाण्डे र किल्ला काँगडाका योद्धा बडाकाजी अमरसिंह थापाको थलो हो तर सिरानचोकका बाह्र थरी र सात वराह मध्ये सिरानचोकका महामुखिया चाहिँ सिरानचोक, थालाजुङ, रामचेका गोफ्ले साँहिला गोलबहादुर कोके गुरुङ हुनुहुन्थ्यो।वहाँलाई मैले भेटेको छु।

यसैगरी सिरानचोकका द्वारे दर्लामी गुरुङ थिए।सिरानचोक, तल्लो पामका द्वारे माहिला टङ्कमान दर्लामी गुरुङलाई पनि मैले भेटेको छु।गोरखा अजिरकोटका हजार कुरियाका मुखिया चैबर लामछाने गुरुङ थिए।गोरखा, आपुन थुम एघार गाउँ रैतीका जिम्मावाल डम्बरराज लामछाने गुरुङ हुनुहुन्थ्यो।वहाँलाई पनि मैले भेटेको छु। गोरखा ,सिम्जुङका उमरा सै गुरुङ थिए।तीनै सिम्जुङे उमरा सै गुरुङका सन्तान लामछाने गुरुङहरु सिम्जुङका मुखिया थिए। अमर घले र रघु घले गोरखा, बारपाकका उमरा थिए।तमु ह्युल छोजधिँका पूर्व केन्द्रीय अध्यक्ष रेशम फेवाली प्हज्यु गुरुङका बाज्ये गोरखा, भुमलिचोकका जिम्मावाल थिए।

शङ्कर गुरुङ, किसन गुरुङ र मधु गुरुङ चितवन, कविलासपुरगढीका उमरा थिए। तनहूँ, पुर्कोटका महामुखिया स्टाफ सार्जेन्ट दिलिपसिंह फेवाली फहज्यु गुरुङ हुन्थ्यो। वहाँ मेरो मित्र हुनुहुन्छ।तमु ह्युल छोजधिँ केन्द्रीय समितिका निवर्तमान महासचिव धनमान फेवाली प्हज्यु गुरुङका पिता तनहूँ क्यामिनका मुखिया थिए।कास्कीको रूपाकोट, वरथोकमा लमजुङको भुजुङबाट आएका पोम गुरुङ मुखिया छन् ।

अघि २००० ढोरका महामुखिया जसपुरका मनध्वज कोने लामछाने गुरुङ थिए।ढोर, लामागाउँका पैँडि खलकका ल्हवाँ गुरुङहरु आफ्नै घरको आगनमा मौलो गाडेर दशैँ मान्दछन् ।श्याङ्जा, नुवाकोटका मुखिया नुवाकोट, देउरालीका घोताने गुरुङ थिए।श्याङ्जा, कोल्मा, बाहाकोटका मुखिया घोताने गुरुङ थिए।कास्कीको भुम्दिकोटमा मेरा मानसपुत्र अक्षुण्णकाजी(लर्डश्री) गुरुङका बाज्ये तगुह्रोँ घोताने गुरुङ मुखिया थिए।कास्कीको पाउँदुरकोटका मुखिया टुट लामछाने गुरुङ थिए।पर्वत, ठाना, भाङ्ग्राका मुखिया म्हिगिह्रोँ घोताने गुरुङ थिए।पर्वतको दुर्लुङकोटमा अघि टुट लामछाने गुरुङ मुखिया थिए।पछि म्हिगिह्रोँ घोताने गुरुङ दुर्लुङका मुखिया भए। 

घान्द्रुङका पा प्ल्हन लामछाने गुरुङ र वीरवल प्ल्हन लामछाने गुरुङले पर्वतका राजा कीर्तिवम मल्ललाई रु.५००।- ले सहयोग गरि घान्द्रुङको आँडिखेत १०० मुरि र ६ वलक भोग गर्ने अख्तियार पाएका थिए।कास्कीको चौरनिवासी सुब्बा प्र्ह्लाद ङेह्रोँ पैँगि लामा गुरुङले वि. सं.१८७२ वैशाख ६ गते राजगढको युद्धमा अंग्रेजका नायक अक्टरलोनिको तासकुचिनको झण्डा र तरवार खोसेर ल्याएका थिए।उक्त झण्डा र तरवारको आजसम्म सरकारी गुठीबाट नित्य नैमित्य पूजा हुँदैछ।कास्कीको झुप्राङकोटमा गर्लाङका मुखिया घोताने गुरुङले कर्ता भएर पूजा गर्दछन्।

अन्तिम समय ताका कास्कीको अर्मलाकोटका मुखिया केशर टुँ घ्याबृँ गुरुङ थिए।साविक लमजुङ हाल कास्की,६ गाउँ, घ्याम्राङका तिरिजका धनी जिम्मावाल मुखिया सन्तवीर नम्जु क्रोम्छैँ गुरुङ थिए।६ गाउँमा दशजना गुरुङ उमराहरु थिए।ती दश उमरा मध्ये राज्याधिकारी राजाको प्रतिनिधि भएर ६ गाउँको थुम याङ्जाकोटको मौलोपूजा गर्ने उमरा चाहिँ मीर उमरा कहलाउँदथ्यो।कुग्याल्बु क्ह्रोँगि लामा गुरुङ , सान्के कामी र मान्के दमाईँले ६ गाउँ याङ्जाकोटको थुम जमाएका थिए ।यी गुरुङ मुखिया, महामुखिया,द्वारे, उमरा र मीर उमराहरु केवल एउटा उदाहरण मात्र हो।यस्ता धेरै उदाहरण छन् जस्लाई यहाँ समेट्न सकिएको छैन।

गुरुङहरु अघि शाहकालमा खुँडाहान्ने जातमा दरिएका थिए।यसैगरी राणाकालमा दुवालवन्दी सिपाहीमा दरिएका थिए।नेपालमा खुँडाहान्ने जातमा दरिएका र दुवालवन्दी सिपाहीमा दरिएका जातलाई भारतमा गोरखा पल्टनमा भर्ती गर्दथे।त्यसकारण गुरुङले जात ढाँटेर गोरखा पल्टनमा भर्ती हुन परेर।अहिले दशैँ मान्नु नमान्नु आफ्नो खुशी हो तर अघि गुरुङका पुर्खाले राजासंग बोल कबोल गरेर मौलो गाडेर दशैँ मानेर मान पदवी पाएको हुँदा अहिलेका गुरुङहरुले यो ऐश्वर्य व्यहोर्न पाएको हो।यो कुरा हामी सबैले राम्ररी बुझ्न सक्नु पर्दछ।।

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...