नेपालको राजनीतिक इतिहासको संक्षिप्त झलक
चीन र भारतको वीचमा र हिमालयको काखमा बसेको छ नेपाल । प्राकृतिक
सौन्दर्यले भरिएको देशको इतिहास हेर्दा नेपाल स्वतन्त्र राष्ट्रको रूपमा परिचित छ
। नेपालदेखि दक्षिणपट्टि रहेका देशहरू विदेशी अधिनमा रहँदा पनि नेपाल स्वतन्त्र
राष्ट्रको रूपमा आफ्नो परिचय दिन सफल देखिएको छ ।
विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन
भूमिको रूपमा वर्णन गरिएको छ । करीब १३ करोड वर्ष अगाडि बनेका यहाँका पर्वत
शृङ्खलाहरू र उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको
पाइन्छ ।
नेपाल नामको पहिलो उल्लेख अथर्व परिशिष्टमा गरिएको पाइन्छ । अथर्व
परिशिष्टको समय निश्चित गर्न नसकिएतापनि ५०० देखि ६०० इसापूर्वको बीचमा यसको
निर्माण भएको मानिन्छ । नेपालका शिलालेखहरूमा भने वि.सं. ५२२ पछि पाइएका अभिलेखमा
नेपाल शब्दको उल्लेख भएको छ ।
यसरी यो मुलुक अत्यन्तै प्राचीन समयदेखि नै नेपाल नामबाट परिचित
रहेको स्पष्ट हुन्छ । अर्कोतर्फ नेपाल भुमिमा गौतम बुद्धको जन्मथलो र विश्वको
सवैभन्दा ठूलो हिमालय पर्वतले नेपाललाई सवैभन्दा उच्च स्थानमा राखेको छ ।
लिच्छवीहरुले किराँतीलाई लखेटेर गण्डकीदेखि कोशीसम्मको भूभागमा
राज्य संचालन गरेका थिए । वि.सं. १७९९ मा गोरखाका राजा नरभुपाल शाहको निधन भएपछि
राजा पृथ्वीनारायण शाहको राज्य विस्तारको सोचसँगै एकीकरणको प्रयास शुरु भयो । उनले
प्रथम पटक वि.सं. १८०० मा नुवाकोट आक्रमण गरे तर, पराजित भए ।
त्यसपछि फेरि एक वर्षपछि त्यहाँ आक्रमण गरी उनले विजय हासिल गरे ।
त्यसपछि वि.सं. १८१४ र २१ मा कीर्तिपुर आक्रमणमा हार भोग्नुपर्यो । कालु पाण्डे
मारिएका थिए । वि.सं. १८२२ चैत ३ गते उनले फेरि कीर्तिपुरमा आक्रमण गरे र जित हात
पारे । उनले १८२५ मा काठमाण्डुमा आक्रमण गरे र जित हात पारे ।
त्यसपछि उनले क्रमशः ललितपुर र भक्तपुरमा आक्रमण गरे । जुन १८२५ र
२६ मा गरिउको थियो । त्यसमा पनि उनले जित हात पार्दै राज्य एकीकरणको अभियानको
बलियो आधार तयार पारे । त्यसपछि उनले गोरखाबाट राजधानी काठमाण्डुमा सारे र नयाँ
नेपाल अधिराज्य स्थापना गरे । यो अभियान उनको मृत्युपछि पनि रोकिएन ।
राणा शासन वि.सं. १९०३ देखि २००७ सालसम्मको समयमा राणाहरुले
नेपालमा पारिवारीक शासन गरेको नेपालको इतिहास छ । त्यस समयमा राणा भाईभाईहरुमा
प्रधानमन्त्रीको पद सार्दै जाने प्रचलन थियो । देशका मुख्य शक्तिशाली पदमा राणा
खानदानको हैकमी शासन थियो ।
त्यसबेला देश राणाको इसारामा चल्थ्यो राणाले जे भन्यो त्यही
हुन्थ्यो । आर्थिक, सामाजिक, शैक्षिक लगायतका सम्पूर्ण क्षेत्रमा अरुलाई कडा बन्देज थियो । यस
समयमा जंगबहादुरको नाम निकै चर्चामा थियो । त्यसपछि २००७ मा राणा शासनको अन्त्य
हुँदै प्रजातन्त्रको स्थापना भयो । राणाले गर्दै आएको हुकुमी शासन अन्त्य भयो ।
जनताले राहतको महसुस गरे । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक लगायतका क्षेत्रमा सहजता आयो । तर, प्रजातन्त्र लामो समय टिकेन २०१७ पुस १ गते पञ्चायती व्यवस्थाको
स्थापना भयो । वि.सं. २०१५ सालमा भएको संसदीय चुनावबाट निर्वाचित सरकारलाई २०१७
पुस १ गते दिनदहाडै राजा महेन्द्रबाट अपदस्त गरिएको थियो ।
पञ्चायती शासन स्थापना गरेपछि राजनीतिक दल प्रतिबन्ध गरिए भने
जननिर्वाचित प्रधानमन्त्री बी.पी कोइराला, उनको मन्त्रीमण्डलका सदस्य, सांसद, राजनीतिक दलका नेता र कार्यकर्तालाई
रातारात पक्राउ गरियो र जेल हालियो । राजनीतिक दलका नेताहरू राजकाज, राज्यद्रोह लगायतका मुद्दामा लामो समय जेल बसे ।
पञ्चायती व्यवस्थामा पक्राउ गर्न नसकेका राजनीतिक दलका नेता
कार्यकर्ता ठूलो सङ्ख्यामा भारत पलायन भए । पञ्चायतको स्थापना भएको २-३ वर्षमै
देशभरी पञ्चायतको जगजगी फैलियो । पञ्चायतलाई बलियो बनाउने गरी राजालाई सर्वाधिकार
सम्पन्न व्यवस्थासहित २०१९ सालमा पञ्चायती संविधान जारी गरियो ।
वि.सं. २०४६ मा भएको नेपालको प्रथम जनआन्दोलनमा नेपालका विभिन्न
दलहरु एकै उद्धेश्य लिएर आन्दोलनमा होमिएका थिए । नेपाली कांग्रेसको नेतृत्वमा
विभिन्न कम्युनिष्टको समूह संयुक्त बाम मोर्चा बनाएर आन्दोलनमा होमिएको थियो ।
तत्कालीन नेकपा माओवादीले २०५२ साल फाल्गुन १ गते जनयुद्धको घोषणा
गरेको थियो । ‘प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंश गर्दै नयाँ जनवादी सत्ताको
स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने मूल नाराका साथ जनयुद्धको शुरुवात
भएको थियो ।
रोल्पाको होलेरी, रुकुमको आठविसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरु र गोरखाको च्याङलीमा रहेको
कृषि विकास बैंक कब्जा गरेर थालनी गरेको जनयुद्धले दस वर्षमा नेपाली समाजमा
युगान्तकारी उथलपुथल ल्याइदियो ।
जनयुद्धका दश वर्ष नेपाली समाजका तीव्र रुपान्तरणकारी वर्षहरु थिए
। युगौदेखिको सामन्ती समाजलाई जरैदेखि हल्लाइदिएको थियो, त्यो जनयुद्धले । त्यस समय राज्य र माओवादी तर्फबाट हजारौँ मानिसले
ज्यान गुमाउनु परेको थियो भने वेपत्ता भएकाहरुको अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।
विसं २०५८ जेठ १९ गते राती नारायणहिटी दरवारभित्र भएको
रक्तपातपूर्ण गोलीकाण्डमा राजा बीरेन्द्रको परिवारका सबैजनाको हत्या भयो ।
तत्कालिन युवराज दीपेन्द्रले गरेको भनिएको सो हत्याकाण्डमा राजा बीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र
९ दिनपछि मृत्यु भएको भनिएको, राजकुमारी श्रुती, राजकुमार निराजन लगायत राजपरिवारका धेरै जनाको मृत्यु भएको थियो ।
जसको खुलासा हालसम्म पनि हुन सकेको छैन ।
दोस्रो जनआन्दोलन नेपालमा भएको शान्तिपूर्ण आन्दोलन थियो जुन १९
दिनसम्म चलेको थियो । यस आन्दोलनले नेपालको २ सय ३७ वर्ष पुरानो राजतन्त्र ढालेर
देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो। आन्दोलनमा विभिन्न राजनीतिक पार्टी र
शसस्त्र युद्ध गरिरहेको माओवादी समेत सम्मिलित भएको थियो । जनआन्दोलन सफल भएसँगै
माओवादी जनयुद्धको अन्त्य भएको थियो भने देशमा शान्ति स्थापना भएको थियो ।
त्यसपछि देशमा गणतन्त्र बहुदलीय व्यवस्था लागु भयो । कसैको पनि
बहुमत नआएकाले मिलीजुली सरकारले देश हाक्दै गए । बहुमत नआएकाले देशमा विकास भएन ।
अनन्त बहुमतको सरकार बनाएर छाडे तर शक्तिशाली प्रधानमन्त्री हुँदा पनि नत उद्योग
नै खुले नत वेरोजगार नै हटेर गयो ।
अब लोकतन्त्रले कहिले सम्म शाशन गर्छ भन्ने हरेकको सोच हुदैछ ।
लोकतन्त्र दिनप्रति दिन कमजोर हुदै छ । शक्तिशाली प्रधानमन्त्री भएर पनि देशमा
विकास हुन नसक्नु दुर्भाग्य भन्दा खासै फरक छैन । छिमेकीसंगको सम्बन्ध बिग्रदैछ ।
छिमेकी शक्तिशाली भएकाले कुटनीतिक तरिकाबाट समस्या समाधान हुन सकिरहेको छैन ।
हाम्रो नेतृत्वमा दुरदर्शिताको अभाव देखिदैछ । अब फेरि देशमा फोहरी राजनीतिको खेल
शुरू हुदैछ ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद
नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको
स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।