Showing posts with label तामाङ. Show all posts
Showing posts with label तामाङ. Show all posts

Saturday, April 30, 2022

तामाङ समुदायको कथा बोल्ने ‘पिंगाई माया’

 तामाङ समुदायको कथा बोल्ने ‘पिंगाई माया’ 

कान्तिपुर, वैशाख १४, २०७९सुशीला तामा‌ङ

काठमाडौं — तामाङ समुदायमा छोरी मान्छेलाई माया गरेर बोलाइने थुप्रै नामहरूमध्ये एक हो, ‘पिंगाई माया’ । यही मायालु नामलाई केन्द्रमा राखेर गायिका निर्मला घिसिङले एक पात्र बुनिन् । लेखपढ नगरेकी, गाउँमा सामान्य रुपमा बाबुआमा र भाइको सपनाका लागि दिनचर्या बिताएकी सोझी ‘पिंगाई माया’सँगै कवि राजु स्याङ्तानले जोडिदिए मध्यपहाडी लोकमार्गमा ज्यामी काम गर्ने एक युवकको संघर्ष । त्यसैमा कवि स्याङ्तानले अझै थपे युवक र ‘पिंगाई माया’बीचको प्रेम कथा 

तामाङ समुदायका महिला, मजदुरका कथा, यसभित्र लुकेका मौलिक कला, संस्कृतिलाई समेटेर तयार गरिएको ‘पिंगाई माया’ बोलको गीत म्युजिक भिडियोसहित हालैमात्र सार्वजनिक भएको छ । गीतमा शब्द गायिका घिसिङकै रहेको छ भने उनलाई स्वरमा साथ अनिश योञ्जनले दिएका छन् । कोरोना महामारीको समयमा सिर्जना भएको गीतमा तामाङ भाषासँगै समुदायकै संस्कृति र मौलिक ‘अर्गानिक’ प्रेम कथालाई उठान गर्ने जमर्को गरिएको कान्तिपुरसँगको कुराकानीमा गायिका घिसिङले सुनाइन् 

भाषा त्यसै पनि जातिको संस्कृति हो,’ उनले भनिन्, ‘यसमा तामाङ समुदायकै संस्कार र परम्पराका कुरा देखाउने हामीले कोसिस गरेका छौं ।’ तामाङ सेलोसंगीत, लोक आधुनिकलगायत संगीतमा आफ्नो ओझिलो स्थान बनाएकी घिसिङले गीतमार्फत समुदायका महिला पात्रका कथासँगै मौलिक संस्कृतिलाई अगाडि ल्याउने जमर्को गरिएको सुनाइन् । उनले भनिन्, ‘संगीतजस्ता कला समाजको दर्पण हो । यसले समाजकै कुरा उठान गर्ने भएकाले पक्कै पनि यो प्रभावकारी हुन्छ । यसैमा हाम्रो संस्कृतिका कुरा जोडेका छौं ।’ गीतलाई श्रोता तथा दर्शकका सामु ल्याउन झन्डै दुई वर्ष समय लागेको सुनाउँदै उनले केही अंश भए पनि समुदायको विषयलाई सशक्त रुपमा उठान गरिएकाले निकै सन्तुष्ट रहेको भाव व्यक्त गरिन् 

घिसिङको शब्द र भावलाई गीतको भिडियोमा समावेश गरिएको मजदुरको कथाले अझै बलियो बनाएको छ । गीतका शब्दहरू सुनेपछि लोकमार्गमा काम गर्ने तामाङ समुदायको एक युवकको कथा सिर्जित भएको कवि स्याङतानले सुनाए । यसले तामाङ समुदायका समग्र मजदुरहरूको कथालाई समेट्ने उनले दाबी गरे । स्याङतानका अनुसार समुदायको गीत तथा भिडियोमा आएको मौलिक कथा सम्भवतः यो नै पहिलो हो । सडकमार्गमा अहोरात्र खटिने मजदुरहरूको कथालाई उनले यसभन्दा अघि कवितामा उठान गरिसकेका छन् । सडक मजदुरका पीडा र कथालाई प्रस्तुत गरिएको स्याङ्तानको ‘रामबहादुर मार्ग’ शीर्षकको कविता धेरैले रुचाएका पनि छन् । कवितामा कोरिएका कथा दृश्यमा पनि देखिनुपर्छ भन्ने हेतुले भिडियोको कथामा समेटिएको उनले बताए । ‘कविताको भाषामा पाएको पाठक र दृश्यमा पाउने दर्शक फरक होला तर समुदायको अर्गानिक कथा भन्ने यो मेरो कोसिस नै हो‚’ उनले भने 

गीतमा प्रयुक्त भिडियोमा स्थानीय युवती र ज्यामी काम गर्ने युवकको प्रेमकथामा रामेछापको सुनापति गाउँपालिकाको सुन्दर तामाङ बस्ती देख्न सकिन्छ । रक्सी पारिरहेको दृश्य, टोटलाको फूल, तितेपातीको प्रयोग, समुदायमा परम्परादेखि चल्दै आएको नुन, तेल पैंचो माग्ने प्रचलनलाई समेत देखाइएको छ । गीत र कथाका माध्यमबाट समाजको ग्रामीण बस्तीमा यथावत् रहेको पक्षलाई उजागर गरी देखाउने उनीहरूको जमर्को हो । अजय स्याङतानले निर्देशन गरेको भिडियोमा कलाकारहरू बुद्धि तामाङ र निरञ्जली लामाले अभिनय गरेका छन् 

प्रकाशित : वैशाख १४, २०७९ २०:०३

 

Saturday, October 16, 2021

सति प्रथाको तामाङ समाजमा पारेको असर


 

सति प्रथाको तामाङ समाजमा पारेको असर
Amrit Yonjan-Tamang, Facebook, July 9, 2020

 फेसबुकमा आज तलको चित्र देखियो। सति प्रथाको अन्त भएको १०० वर्ष पूरा भएको दिन रहेछ आज। हिन्दू परम्परामा श्रीमान मर्दा श्रीमती पनि लाससंगै जल्नु पर्ने प्रथा थियो। हदैको अमानवीयता। यो चलन भारतभरि पनि थियो। नेपालमा श्रीमती मात्र होइन नोकर चाकर पनि मालिकसंगै चित्तामा जल्नु पर्ने थियो भन्ने हरफहरु इतिहासमा एदाकदा पढन पाइन्छ। तामाङ जातिलाई मास्न वा कमारो (दास) बनाउन मिल्ने जातिको श्रेणीमा राखेर राणा दर्वारमा ढोके, छाते, हुक्केका साथै रखैल र केटीस्या बनाएर दास-दासी बनाएका थिए। आफ्नो मालिकको मृत्युसंगै कैयौं तामाङहरू जलेर मरे होलान्, यसतर्फ हाम्रा इतिहासकारहरूको ध्यान जान सकेको छैन, जान आवश्यक छ। आज पनि हजारौं तामाङ युवाहरू आफ्नो हिन्दू राज नेताको पछि लागेर नेतासंगै सति प्रथालाई निरन्तरता दिइरहेको हेर्दा त्यस ताका सति गएनन् होला भन्न सकिन्न।

आजको दिनले मलाई हज्सन पेपर- “मूर्मीहरूको कुलाचार” (सन् १८४७) को स्मरण गरायो। त्यस पेपरमा तामाङ समाजमा सति प्रथाको विस्तृत वर्णन छ। आज भन्दा २० वर्ष अगाडि अमेरिकी प्रोफेसर क्याथरिन एस. मार्चले सो पेपर प्रस्तुत गर्दा सबैजसो तामाङ बौद्धिक वर्गले “यो हुन सक्दैन, तामाङ समाज हिन्दू नहुनाले यस्तो सम्भव छैन” भनेर आपत्ति जनाएको थियो।

मानव समाज सत्ताको रापतापबाट प्रभावित हुदों रहेछ। मैले यसबारे सन् १९९९ तिर काठमाडौं उपत्यका वरिपरिको तामाङ गाउघरमा त्यस कथनको सर्वे़क्षण गर्दा उपत्यका वरिपरिका तामाङ गाउँघरमा सति प्रथाको केही छनक पाएको थिए तर बकमफुसे गफ ठानेर मैले पन्छ्याइ रहे । आज तामाङ मूल्य र मान्यता तोडेर वा कुल्चेर आफ्ना प्रिय नेतासंग सतिजान तयार तामाङ युवा दास्ता देख्दा र राणाकालीन परिवेश हेर्दा तामाङहरु सति गएनन् होला भन्न सकिने अवस्थामा म छैन। उनीहरू सति गएको आभास हुन्छ र हज्सन पेपरमा लेखेको कुरा सत्य जच्दछ। सति तामाङ संस्कृति होइन र थिएन पनि तर सत्ताको रापतापमा र त्यस ताका मासिन्य मतवालीको हैसियत हेर्दा धेरै तामाङहरू सति गए होलान भन्ने अटकल काट्न सकिन्छ । यसबारे पनि गहन ढंगले वहसको थालनी गरौं र तामाङ इतिहासको बलियो जगको निर्माण गरौं। सबैमा अनुरोध ।

 

किरातको इतिहास : को हुन् किरात राई ?

  किरातको इतिहास : को हुन् किरात राई ? डा. भक्त राई , लोकपाटी न्यूज ६ माघ २०७६ , सोमबार किरात शब्द अनेक जातिहरूलाई बुझाउने पुञ्ज हो। कि...