Showing posts with label सत्ता र सरकार. Show all posts
Showing posts with label सत्ता र सरकार. Show all posts

Monday, May 23, 2022

मायाजाल

 

मायाजाल

कुनै पनि मुलुकको सफलता वा असफलता उसले अवलम्बन गर्ने राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन । मुख्य कुरा त्यो मुलुकले अवलम्बन गर्ने राज्यसत्ताको चरित्रमा भर पर्छ ।

कान्तिपुर, फाल्गुन २६, २०७७केशव दाहाल

सत्ता र सरकार फरक कुरा हुन् । सत्ताको एक अंग हो सरकार । र, सरकार सम्पूर्ण राज्यसत्ता होइन । जस्तो कि, ओली सरकारका प्रधानमन्त्री हुन् । देउवा विपक्षी दलका नेता । नेकपाको कचिङ्गलबाट सडकमा आइपुगेका छन् दाहाल र नेपालहरू, जो स्वयं विद्रोहीजस्ता देखिन्छन् । सडकमै छन् भट्टराई र यादवहरू ।

भलै, सर्वोच्च अदालतको पछिल्लो फैसलापछि परिदृश्य अलि फेरिएको छ । सरकारलाई केन्द्रमा राखेर हेर्दा भने अझै पनि ओली एकातिर छन्, बाँकी अर्कातिर । यिनका दरबार र सिंहासनहरू फरक छन् । स्वार्थहरू फरक छन् । अभीष्टहरू फरक छन् । तर आजको नेपाली राज्यसत्तालाई केन्द्रमा राखिहेर्दा यी सबै एक ठाउँमा छन् । यी सबै एकै हुन् । र, हुन् नेपाली सत्ताका संस्थापनहरू ।

राजनीतिमा सरकारको आलोचना र राज्यसत्ताको आलोचना नितान्त फरक विषय हुन् । सरकारको आलोचना एउटा तत्कालीन मुद्दा हो । राज्यसत्ताको आलोचना दीर्घकालीन । राजनीतिमा सरकारको आलोचना मुख्यतः दलीय प्रतिस्पर्धा हो । तर सत्ताको आलोचना व्यापक र बृहत्तर आन्दोलन । त्यसैले नै विशेषतः सरकारविरोधी आन्दोलनमा सहभागी हुन्छन् दलका कार्यकर्ताहरू । तर सत्ता रूपान्तरणको आन्दोलन गर्छन् जनताले । सरकारविरोधी आन्दोलनहरू जनआन्दोलन हुँदैनन् । तर राज्यसत्ता बदल्ने आन्दोलनहरू जनआन्दोलन हुन्छन् । विचार गरौं, भर्खरै मात्र सर्वोच्च अदालतले संसद् पुनःस्थापना गर्नासाथ नेकपा प्रचण्ड–नेपाल समूहको आन्दोलन किन सकियो ? कांग्रेसको प्रदर्शन किन रोकियो ? तर नागरिक आन्दोलन किन जारी छ ? किनकि पार्टीहरू दलीय स्वार्थबाट प्रेरित थिए । तर नागरिक आन्दोलन समग्र राज्यसत्ताको परिवर्तन चाहन्छ । स्पष्ट छ, सत्ताको चरित्रलाई नखलबल्याई गरिने बोक्रे परिवर्तन राजनीतिको मायाजाल मात्र हो ।

सत्ताको निरन्तरता

२०६२/६३ को जनआन्दोलननेपाली राजनीतिकै सर्वाधिक हस्तक्षेपकारी आन्दोलन थियो, जसले व्यवस्था फेर्‍यो र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्‍यो । जनताको अपेक्षा थियो— ‘लोकतन्त्र, न्याय, पहिचान, समानता र समृद्धिसहितको नेपाल ।’ यस्तो नेपाल जहाँ मिलोस् ‘केटाकेटीका लागि स्कुल, युवाका लागि काम र ज्येष्ठ नागरिकहरूका लागि आराम ।’ तर भयो के ? राजनीतिक व्यवस्था त परिवर्तन भयो तर सत्ताको चरित्र फेरिएन । सरकार फेरियो र बाँकी सबै कुरा उस्तै रहे । व्यवस्था फेरियो र बाँकी केही पनि फेरिएन ।

जस्तो, हिजो पनि किसानहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् । हिजो पनि महिलाहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् । हिजो पनि मजदुरहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् । हिजो पनि गाउँहरू ठगिएका थिए र आज पनि ठगिएकै छन् । हिजो एउटाले ठग्थ्यो, आज अर्कोले । ठग्नेहरू फेरिए । उनका सिन्डिकेटहरू फेरिए । तर ठगिनेहरू उनै रहे, जो वर्षौंदेखि ठगिँदै थिए । व्यवस्था फेरिएर के भयो ? खेलको नियम फेरिएन । हिजो पञ्चायतले जनताका सपनाहरूमाथि कोर्रा बर्साउँथ्यो, आज लोकतन्त्रले । पछिल्लो राजनीतिक परिवर्तनले न मुसहर, चमार, खत्वेहरूलाई जीवनको उज्यालो दियो, न त राजी, किसान र चेपाङहरूलाई । न कर्नालीको भोकमरी घट्यो न त सुदूर पहाडहरूमा आशाको दियो बल्यो । व्यवस्था फेरिनु तर सत्ताको चरित्र उस्तै रहनु कस्तो विरोधाभास ?

सत्ताको रंग

मदन भण्डारीको एउटा भनाइ यहाँ निकै सान्दर्भिक हुन सक्छ । यो २०४७ कात्तिकको कुरा हो । काठमाडौंको एउटा सभामा भण्डारीले भने, ‘हामीले राजा फाल्यौं तर सामन्तवाद फाल्न सकेनौं भने यो परिवर्तनको कुनै अर्थ रहँदैन । बरू राजा रहेर पनि सामन्तवाद फालियो भने त्यो महत्त्वपूर्ण हुन्छ ।’ परिवर्तनको अर्थलाई स्थापित गर्ने यो निकै सशक्त भनाइ हो । जसको आशय हुन्छ— व्यवस्था परिवर्तन भनेको कुनै व्यक्ति वा शासकको मात्र परिवर्तन होइन । यो उपरिसंरचनाहरूको मात्र परिवर्तन होइन । राजनीतिक परिवर्तन मुख्यतः राज्यसत्ताको परिवर्तन हो । अन्यथा परिवर्तनको गुदी छोडेर बोक्रामा रमाउनुको के अर्थ ?

कुनै पनि देशका समस्याहरू राजनीतिक व्यवस्थासँग मात्र सम्बन्धित हुँदैनन् । त्यसले संरक्षण गरेका अनेक संरचनागत सत्ताहरूसँग सम्बन्धित हुन्छन् । यसको अर्थ राजनीतिक आन्दोलनले व्यवस्था परिवर्तन गरेर मात्र पुग्दैन । संरचनागत सत्ताहरूमा परिवर्तन गर्नुपर्छ । हामीले व्यवस्था त परिवर्तन गर्‍यौं तर अनेक सत्तालाई हल्लाउन सकेनौं । जस्तो, जातको सत्ता उस्तै रह्यो । धर्मको सत्ता उस्तै रह्यो । लिंगको सत्ता उस्तै रह्यो । भाषाको सत्ता उस्तै रह्यो । सहरको सत्ता उस्तै रह्यो । सम्पत्तिको सत्ता उस्तै रह्यो ।

२०६३ को आन्दोलनले राजनीतिक व्यवस्था त परिवर्तन गर्‍यो तर आर्थिक–सामाजिक सत्ता उस्तै रह्यो । व्यवस्था त बदलियो तर सत्ताको चरित्र उस्तै रह्यो । परिणाम, एउटा राजा फालियो तर सयौं छोटे राजा जन्मिए । राजा जन्माउने अनेक सत्तालाई संरक्षण गरेर एउटा राजा फाल्नुको के अर्थ ?

भनिन्छ, ‘सत्तालाई स्वरूपमा मात्र हेरेर पुग्दैन । गुणमा हेर्नुपर्छ ।’ जस्तो, बेलायतलाई संसदीय प्रजातन्त्रको जननी मानिन्छ । बेलायत आर्थिक–सामाजिक रूपमा समृद्ध मुलुक हो । त्यही व्यवस्था भारतमा पनि छ । अन्यत्र पनि छ । के बेलायतमा सफल संसदीय लोकतन्त्रले भारतमा उसरी नै न्याय गरेको छ ? छैन । भारतको लोकतन्त्रले त्यहाँ हुर्कंदो शोषण, विभेद र सीमान्तीकरणलाई अझै तोड्न सकेको छैन । किन ? किनभने भारतको सत्तासंरचना अभिजातमुखी र विभेदपूर्ण छ । त्यसैले किसानहरूसँग जमिन छैन । त्यसैले महिला, दलित र गरिबहरूको जीवन कष्टकर छ । त्यसैले धार्मिक अल्पसंख्यकहरू विभेदमा छन् । त्यसैले उत्पादनसम्बन्धहरू न्यायपूर्ण छैनन् । परिणाम, भारतमा संसारकै सबैभन्दा गरिब मजदुर र धनी मालिकहरू बस्छन् । भारतको अनुभवले भन्छ— ‘लोकतन्त्र भनेको चुनाव मात्र होइन, सत्ताको लोकतन्त्रीकरण पनि हो ।’

विषयलाई बुझ्न अमेरिका अर्को ताजा उदाहरण हुन सक्छ । जस्तो, अमेरिकामा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख छन्, जो सरकारप्रमुख र राष्ट्रप्रमुख दुवै हुन् । एउटै व्यक्ति सरकारप्रमुख र राष्ट्रप्रमुख हुँदा पनि अमेरिकामा स्थिरता छ । लोकतन्त्र छ । र, निरंकुशता छैन । किन त्यस्तो ? किनभने राज्यसत्ताको चरित्र राजनीतिक व्यवस्थाले मात्र निर्धारण गर्दैन । आर्थिक–सामाजिक संरचनाहरूले पनि निर्धारण गर्छन् । राजनीतिक, आर्थिक र सामाजिक संरचनाहरू लोकतान्त्रिक हुनासाथ व्यक्ति चाहेर पनि निरंकुश हुन सक्दैन । जस्तो, ट्रम्प । तर राजनीतिक, आर्थिक र सामाजिक सत्ता निरंकुश हुनासाथ व्यक्ति जतिसुकै लोकतान्त्रिक भए पनि काम छैन ।

सबैलाई थाहा छ— बंगलादेशमा दुई बेगमहरू छन् जो पालैपालो सरकार र सडकको मोर्चा सम्हाल्छन् । के त्यसो भए बंगाली महिलाहरू सुखी छन् ? होइन, संसारका दुःखी महिला र गरिब कामदारहरू बंगलादेशमै बस्छन् । महिला शासक हुँदैमा महिलाहरू समृद्ध हुन्छन् भन्ने पनि देखिएन । उता, त्यत्रो लामो आन्दोलनबाट स्थापित म्यान्मार सरकारले अल्पसंख्यक रोहिंग्याहरूलाई संरक्षण गर्न सकेन । किन यस्तो भयो ? किनभने जनतालाई सुख, समृद्धि र परिवर्तन दिने कुरा राजनीतिक व्यवस्थाले मात्र निर्धारण गर्दैन ।

कम्युनिस्टहरूमै पनि फरक–फरक उदाहरण छन् । चीन, क्युबा, भियतनाम, उत्तर कोरियाजस्ता मुलुकमा भन्नका लागि उस्तै कम्युनिस्ट व्यवस्था छ । क्युबामा दाजुको लामो शासनपछि भाइ शक्तिमा छन् । उत्तर कोरियामा नाति र अन्य केहीमा पार्टी नेताहरू । स्वरूपमा हेर्दा सबै एकैखाले कम्युनिस्ट हुन् । तर चीन विश्वकै महाशक्तिको दौडमा छ । भियतनाम कृषि उत्पादनमा अब्बल बन्दै छ । तर उत्तर कोरिया तनावमा छ । यसर्थ कम्युनिस्टहरूबीच पनि फरक–फरक अनुभव छन् । जस्तो कि, शक्तिशाली सोभियत संघ विघटन भयो । तर चीनको विकासले चामोलोङ्मा छुँदै छ । प्रश्न आउँछ, त्यसो भए फरक कहाँ छ ? खासमा कुनै पनि मुलुकको सफलता वा असफलता त्यो मुलुकले अवलम्बन गर्ने राजनीतिक व्यवस्थामा मात्र निहित हुँदैन । मुख्य कुरा त्यो मुलुकले अवलम्बन गर्ने राज्यसत्ताको चरित्रमा भरपर्छ ।

आजको कुरा

दार्शनिक अभिमतले भन्छ— वस्तुको भौतिक स्वरूपले चरित्रको निर्धारण गर्दैन । स्वरूपमा जतिसुकै रङरोगन गरे पनि गुण वा चरित्र पदार्थको प्रधान पक्ष हो । स्वरूप सहायक । यो अभिमत पदार्थमा मात्र नभई व्यक्ति स्वयं, समाज विज्ञान र राजनीतिमा पनि लागू हुन्छ । आवरण हेरेर न पुस्तकको चरित्र थाहा हुन्छ, न त रङ हेर्दैमा कफीको स्वाद । फूलको सुगन्धले त्यसको गुण निर्धारण गर्दैन । प्रश्न हामीले कत्रो आन्दोलन गर्‍यौं भन्ने होइन । प्रश्न हामीले कस्तो राजनीतिक व्यवस्था ल्यायौं भन्ने होइन । प्रश्न हामीले ल्याएको राजनीतिक व्यवस्थाले के बदलाव ल्यायो भन्ने हो । प्रश्न हामीले हाम्रो परम्परागत सत्तालाई किन फेर्न सकेनौं भन्ने हो ?

हाम्रा अगाडि अहिले दुइटा बाटा छन् । पहिलो तत्कालीन राजनीतिक घटनाहरूमा रमाउने । पुस ५ को प्रतिगमन सच्चियो भनेर हर्षबढाइँ गर्ने । तमासा हेर्ने । पुराना दलहरूलाई गाली गर्ने र उनीहरू नै एक दिन सच्चिनेछन् भनेर कामना गर्ने । यो यथास्थितिको बाटो हो । यो बाटोमा हिँड्दा कुनै जोखिम छैन । तर सत्ताको परिवर्तन असम्भव छ ।

दोस्रो बाटो छ, राज्यसत्तालाई जनमुखी बनाउन निरन्तर आन्दोलन गर्ने । राजनीतिक परिवर्तनलाई सत्ता र संरचनाहरूसंग जोड्ने । जातको सत्ता बदल्ने । लिंगको सत्ता बदल्ने । भाषाको सत्ता बदल्ने । सम्पत्तिको सत्ता ढाल्ने । यी अनेक सत्तालाई लोकतान्त्रिक, जनमुखी र न्यायपूर्ण बनाउने । यो निश्चय नै अप्ठ्यारो बाटो हो । तर यो परिवर्तनको बाटो हो । यो सत्तालाई बदल्ने बाटो हो । स्पष्ट छ, पटकपटक एउटै बाटो हिँडेर नयाँ गन्तव्यमा पुगिँदैन । त्यसैले सत्ताको राजनीति बदलौं, धेरै पक्ष आफैं फेरिनेछन् ।

dahal.keshab@gmail.com

 

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...