Showing posts with label Balkumari Jatra. Show all posts
Showing posts with label Balkumari Jatra. Show all posts

Friday, June 14, 2019

सुरु भयो बालकुमारी जात्रा



 


सुरु भयो बालकुमारी जात्रा
वैशाख ५, २०७६कान्तिपुर संवाददाता
ललितपुर — नागको प्रतीकस्वरूप ५४ हात लामो लिंगो ठड्याउँदै सुनागुथिमा बुधबार बालकुमारी जात्रा सुरु भएको छ । लिंगो ठड्याउँदा इन्द्र गुठीयारहरूले बालकुमारी मन्दिर परिसरमा इन्द्र बाजा बजाए । चैत शुक्ल त्रयोदशीदेखि तीन दिन मनाइने जात्रामा बालकुमारीलाई इष्ट देवताका रूपमा पुज्छन् ।
जात्राकै लागि भृगारेश्वर महादेव मन्दिर परिसरमा रहेको १२ फिट अग्लो एउटै ढुंगाबाट निर्मित त्रिशूलमा बहुमूल्य हीरामोती र सुनका पाताले सजाइएको छ । बालकुमारी गुठीका जनकराज महर्जनका अनुसार लिंगोको टुप्पोमा पञ्चरत्न कपडा, राष्ट्रिय झन्डा, कुसी स्वाँ (एक प्रकारको फूल) र बिमिरो राख्ने चलन पुरानै हो । टुप्पोदेखि तल फेदसम्म नागको प्रतीकका रूपमा विभिन्न देवीदेवताको चित्र अंकित प्राचीन थान्का सजाउने चलन पनि छ ।
पूर्णिमाको दिन यो जात्रा निकै रोचक हुन्छ । गुठीकै पुणिराज महर्जनका अनुसार यस दिन लिंगोको टुप्पोमा राखिएको बिमिरो प्राप्त गर्नेलाई सन्तान लाभ हुने जनविश्वास छ । त्यसैले बिमिरो खोस्न स्थानीयबीच तँछाडमछाड चल्छ । सुनागुथिमा १ हजार १ सय ४९ घरधुरी छन् । लिंगो ठड्याउन प्रत्येक वर्ष छुट्टाछुट्टै टोलको पालो हुन्छ । यस वर्ष च्वःकेबः टोलबासीको पालो हो । च्वःकेबः टोलका ८० वर्षीय सानुबाबु महर्जन ब्याङला आजु गुठीका थकाली हुन् । यस वर्ष उनको नेतृत्वमा लिंगोठड्याइएको छ ।
जात्राको दोस्रो दिन बिहीबार गणेश, बालकुमारी, कुमार र महादेवको मूर्ति मन्दिर बाहिर ल्याइन्छ । पूजा गरेर गरगहनाले सजाइन्छ । साँझ छुट्टाछुट्टै शिखर शैलीको खटमा राखी बाजागाजासहित नगर परिक्रमा गरिन्छ । महर्जनका अनुसार जात्रामा गणेश र कुमारको खट बालकुमारी पीठमा लानुपर्छ, यो पारिवारिक मिलनको प्रतीक हो । ‘आमाबुवालाई सेवा गर्नु भनेको संसारको सबै तीर्थ घुम्नुसरह भएको सन्देश दिन्छ जात्राले,’ उनले भने । अन्तिम दिनछ्यास टोलमा बालकुमारीको खटलाई गणेश, कुमार र महादेवको खटले परिक्रमा गराइन्छ । यो जात्राको मुख्य आकर्षण मानिन्छ ।
सिद्धिपुरबासीले पनि बालकुमारी जात्रा मनाइरहेका छन् । चैत मसान्तदेखि पाँच दिन मनाइने जात्राको मूल दिन बुधबार गणेश, भैरव र बालकुमारीको खट सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै नगर परिक्रमा गराइयो ।प्रकाशित : वैशाख ५, २०७६ ०९:००

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...