Showing posts with label Traditional Jatra. Show all posts
Showing posts with label Traditional Jatra. Show all posts

Friday, June 14, 2019

मच्छिन्द्रनाथको रथ यात्रा सुरु

मच्छिन्द्रनाथको रथ यात्रा सुरु
रवीन्द्र गौतम, ११ बैशाख २०७६ ११:४९:००
दोलखा : करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरु भएको छ। पौराणिक रातो मच्छिन्द्रनाथको मुर्तिलाई दुधमा नुहाएर रथारोहण गरिए पछि आइतबारबाट रथजात्रा सुरु गरिएको हो। प्रत्येक बर्ष कृष्णपक्षदेखि प्रर्दशन गरिने मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखा सहरको बिभिन्न टोलमा पुर्‍याउने प्रचलन रहेको छ।
मल्लकालीन सभ्यताको रुपमा तत्कालिन मल्ल राजा जय वासुदेवले सुरु गरेको यो जात्रा हाल कालिञ्चोक युवा क्लबको सक्रियतामा प्रर्दशन हुँदै आएको क्लबका संयोजक सुरेश श्रेष्ठले बताए। एकहप्तासम्म चल्ने रथ जात्राको पहिलो दिन पिंगलदेखि नक्छेसम्म, ९ गते कोर्छेसम्म, १० गते टसिचासम्म, ११ गते माथिल्लो स्वयम्भुस्थान, १२ गते दुंगलसम्म, १३ गते पिंगलसम्म र अन्तिम दिन १४ गते डोकुलढुङ्गा टोलसम्म पुर्‍याएर समापन गरिने परम्परा छ।
यो जात्रा मनाउँदा रोग नलाग्ने, सुख्खा याममा पानी पर्ने आदी जनविश्वास छ। धार्मिक आस्थाका कारण जात्रा सुरु हुने बेला स्थानीय व्यक्तिहरु व्रत समेत बस्ने गर्छन। स्थानीय पर्शुराम जोशी रथ तान्ने बेलामा पानी पर्ने गरेकोले जात्राप्रति धेरैको विश्वास रहेको बताउँछन्।
मल्ल राजा जय वासुदेवले कुन मितिदेखि यो जात्रा सुरु गरे भन्ने प्रमाण नभेटिए पनि ने.स. ७०१ (वि.सं. १६३८) मा वंभु वहालका भिक्षु श्री जय जीवराज, जितपारज्यु, देवसिंह र केरंकुटुं रामसिंहले सुनको प्रभा र हृदयसिंह बाबुले सुनको छत्र दोलखाको अवलोकितेश्वर श्री ३ आर्यवलोकितेश्वर भट्टारक सम्बोधन गरी चढाएको प्रमाण भेटिएकोले यो जात्रा त्यो भन्दा अघिदेखिनै सुरु भएको अनुमान गर्न सकिन्छ।
राजा जय वासुदेवले हालको लापिलाङ गाउँस्थित पाखो जग्गा त्यहाँका थामी जातिलाई कमाउन दिएको र गुठीको समेत व्यवस्था गरेको उल्लेख छ। उक्त जग्गाको आय स्रोतबाट गुठीमार्फत थामीहरुले रथ तान्न चाहिने सामग्री, एउटा राँगो, एउटा भेडा, दुई पाथी तेल, दुई पाथी घ्यू, डोरी र काठहरु उपलब्ध गराउनु पर्ने व्यवस्था रहेकोमा थामीहरुले ती सामानहरु दिन छाडेका थिए।

सुरु भयो बालकुमारी जात्रा



 


सुरु भयो बालकुमारी जात्रा
वैशाख ५, २०७६कान्तिपुर संवाददाता
ललितपुर — नागको प्रतीकस्वरूप ५४ हात लामो लिंगो ठड्याउँदै सुनागुथिमा बुधबार बालकुमारी जात्रा सुरु भएको छ । लिंगो ठड्याउँदा इन्द्र गुठीयारहरूले बालकुमारी मन्दिर परिसरमा इन्द्र बाजा बजाए । चैत शुक्ल त्रयोदशीदेखि तीन दिन मनाइने जात्रामा बालकुमारीलाई इष्ट देवताका रूपमा पुज्छन् ।
जात्राकै लागि भृगारेश्वर महादेव मन्दिर परिसरमा रहेको १२ फिट अग्लो एउटै ढुंगाबाट निर्मित त्रिशूलमा बहुमूल्य हीरामोती र सुनका पाताले सजाइएको छ । बालकुमारी गुठीका जनकराज महर्जनका अनुसार लिंगोको टुप्पोमा पञ्चरत्न कपडा, राष्ट्रिय झन्डा, कुसी स्वाँ (एक प्रकारको फूल) र बिमिरो राख्ने चलन पुरानै हो । टुप्पोदेखि तल फेदसम्म नागको प्रतीकका रूपमा विभिन्न देवीदेवताको चित्र अंकित प्राचीन थान्का सजाउने चलन पनि छ ।
पूर्णिमाको दिन यो जात्रा निकै रोचक हुन्छ । गुठीकै पुणिराज महर्जनका अनुसार यस दिन लिंगोको टुप्पोमा राखिएको बिमिरो प्राप्त गर्नेलाई सन्तान लाभ हुने जनविश्वास छ । त्यसैले बिमिरो खोस्न स्थानीयबीच तँछाडमछाड चल्छ । सुनागुथिमा १ हजार १ सय ४९ घरधुरी छन् । लिंगो ठड्याउन प्रत्येक वर्ष छुट्टाछुट्टै टोलको पालो हुन्छ । यस वर्ष च्वःकेबः टोलबासीको पालो हो । च्वःकेबः टोलका ८० वर्षीय सानुबाबु महर्जन ब्याङला आजु गुठीका थकाली हुन् । यस वर्ष उनको नेतृत्वमा लिंगोठड्याइएको छ ।
जात्राको दोस्रो दिन बिहीबार गणेश, बालकुमारी, कुमार र महादेवको मूर्ति मन्दिर बाहिर ल्याइन्छ । पूजा गरेर गरगहनाले सजाइन्छ । साँझ छुट्टाछुट्टै शिखर शैलीको खटमा राखी बाजागाजासहित नगर परिक्रमा गरिन्छ । महर्जनका अनुसार जात्रामा गणेश र कुमारको खट बालकुमारी पीठमा लानुपर्छ, यो पारिवारिक मिलनको प्रतीक हो । ‘आमाबुवालाई सेवा गर्नु भनेको संसारको सबै तीर्थ घुम्नुसरह भएको सन्देश दिन्छ जात्राले,’ उनले भने । अन्तिम दिनछ्यास टोलमा बालकुमारीको खटलाई गणेश, कुमार र महादेवको खटले परिक्रमा गराइन्छ । यो जात्राको मुख्य आकर्षण मानिन्छ ।
सिद्धिपुरबासीले पनि बालकुमारी जात्रा मनाइरहेका छन् । चैत मसान्तदेखि पाँच दिन मनाइने जात्राको मूल दिन बुधबार गणेश, भैरव र बालकुमारीको खट सांस्कृतिक बाजागाजाका साथ जात्रा गर्दै नगर परिक्रमा गराइयो ।प्रकाशित : वैशाख ५, २०७६ ०९:००

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...