Showing posts with label Civilization. Show all posts
Showing posts with label Civilization. Show all posts

Tuesday, April 28, 2020

खस जातिको खास कुरो


डा. माधवप्रसाद पोखरेल, फुर्सद,  ११ फागुन २०७५ ०७:४५:००
खस जातिको खास कुरो
सभ्यता
जुम्लामा नारायणको पूजा गर्दा पनि बोको बलि गर्ने चलन छ। यो चलन हिन्दू धर्मसित मिल्दैन। यसरी खसहरूका चलन नै हिन्दूहरूसँग धेरै मिल्दैनन्।

नेपाली भाषालाई मगर, नेवार र पश्चिमका केही जनजाति खस भाषा भन्छन्। त्यस्तै नेपाली मातृभाषा हुने पहाडे बाहुन, क्षेत्री, ठकुरी, सन्न्यासी, कामी, दमाई, गाइने र (सम्भवतः) वादीहरूलाई खस जाति भनेर प्रायः आफूले भन्दा अरूले अलिक तल खसालेर चिनाउने चलन थियो। हिजोआजचाहिँ विशेषगरी कर्णाली प्रदेश र सुदूरपश्चिमका नेपाली मातृभाषीहरूले आफू र आफ्नो मातृभाषालाई गर्वसाथ खस भनेर चिनाउने चलन चलेको पाइन्छ। आफूलाई ‘खस आर्य’ भनेर चिनाउने राजनीतिक आन्दोलन पनि केही वर्षअघि चलेको थियो। वास्तवमा खसहरू को हुन् र तिनीहरूको प्रागैतिहासिक, ऐतिहासिक, भौगोलिक र सामाजिक चिनारी के हो भन्ने कुरो अत्यन्त छोटकरीमा दिन यो लेख लेखिएको हो।
महाभारत, विष्णु पुराण, मार्कण्डेय पुराण, वायुपुराण आदि पुराणमा खस जातिको वर्णन पाइन्छ। इसापूर्व पाँचौं शताब्दीका युनानी इतिहासकार हेरोडोटस, इसापूर्व तेस्रो शताब्दीका रोमन इतिहासकार प्लिनी, सातौं शताब्दीका चिनियाँ यात्री स्वेन चाङ, बाह्रौं शताब्दीको काश्मीरको इतिहास ‘राजतरंगिणी’ आदि ग्रन्थहरूमा खस जातिको सामान्य चर्चा छ। युधिष्ठिरको राजसूय यज्ञमा खसहरू कैलाश मानसरोवर क्षेत्रबाट कमिलाले धुल्याएको बुकी सुन कोसेली लिएर पुगेका थिए।
एड्वार्ड एट्किन्सन (१८८४ इ) ले ‘हिमालयन गजेटियर’मा खसहरूको विस्तृत परिचय दिएका छन्। राहुल सांकृत्यायनले खसहरूका वर्णन तीनचारवटा किताबमा गरेका छन्। तर इटालीका पुरातत्त्वविद् जिउसेप्पे टुची (१९५६ इ) र योगी नरहरिनाथले २०१२–१३ साल तिर कैलाश मानसरोवर क्षेत्र र जुम्लामा खसहरूको सिँजा खोला उपत्यका फेला नपारुन्जेल नेपालीहरूलाई काठमाडौंको इतिहासलाई मात्र नेपालको इतिहास भन्ने बानी परेको थियो।
टुचीले कैलाश मानसरोवर क्षेत्रदेखि जुम्लाको सिँजा खोला उपत्यका हुँदै दैलेखको दुल्लुसम्म खस राज्यका कीर्ति राख्ने बलिया प्रमाण प्रस्तुत गरे। योगी नरहरिनाथ (२०१३, २०२२) ले ‘इतिहास प्रकाश’ का तीनवटा किताब मात्र निकालेनन्, खस प्रदेशका थुप्रै अभिलेख पनि प्रकाशित गरे। त्यसपछि मात्र इतिहासको अध्ययन गर्नेहरूले अशोक चल्लका अभिलेखहरू भारतको गयामा अनि गढवाल र कुमाउमा क्राचल्ल र अशोक चल्लका अभिलेख भएको कुरो प्रकाशित भइसकेको कुरो खोजेर बटुले। अबचाहिँ खस राजाहरूको कीर्ति दुल्लुमा भएको पृथ्वी मल्लको कीर्तिस्तम्भ (१४१३) ले मात्र देखाएन पृथ्वी मल्लका पुर्खा अशोक चल्लले त गयाको अभिलेखमा आफूलाई ‘सपादलक्ष प्रदेश’ र ‘दानव भूतल (कुमाउँको ‘दानापुर’ र बर्दियाको ‘दानव ताल’ छेउ) का राजा’ भनेर चिनाएका रहेछन्। तेह्रौं शताब्दीमै जुम्लाका आदित्य मल्लले काठमाडौं उपत्यका जितेको कुरो धनवज्र वज्राचार्य (२०२२) ले प्रकाशमा ल्याए।
कलकत्ता विश्वविद्यालयबाट भाषाशास्त्रमा एमए गरेर फर्केपछि बालकृष्ण पोखरेलले खसानमा पैदल यात्रा गरेर ‘नेपाली’ पत्रिकामा ‘नेपाली भाषाको कथा’ (२०१७) भन्ने लेख लेखेर ऐतिहासिक भाषा विज्ञानका आधारमा ध्वनि परिवर्तनका नियम बनाएर कर्णाली प्रस्रवण क्षेत्रको ‘खस’ भाषा नेपाली भाषाको माउ हो भन्ने प्रमाणित गरे, अनि पनि ‘पाँच सय वर्ष’ (२०२०) का अभिलेखहरू कालक्रम मिलाएर प्रकाशित गर्दै खस जातिको परिचय दिने विस्तृत भूमिका लेखे। बालकृष्ण पोखरेलको त्यो भूमिका राहुल सांकृत्यायनका ग्रन्थबाट प्रभावित थियो। यसरी त्रिभुवन विश्वविद्यालयका नेपाली विषयका विद्यार्थीहरूलाई पढाउँदा पोखरेलले नै खस जातिको परिचय दिए।
चूडामणि बन्धु उनकै विद्यार्थी हुन्, जसले ‘नेपाली भाषाको उत्पत्ति’ (२०२६) भन्ने किताबमा खस भाषा र नेपालीको विस्तृत परिचय दिए। सत्यमोहन जोशी नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव भएपछि सिँजाखोला उपत्यकाको ‘लोक संस्कृति’को परियोजना बनाएर पाँच जना बेग्ला बेग्लै शोधकर्ता (भाषामा चूडामणि बन्धु, मानवशास्त्रमा विहारीकृष्ण श्रेष्ठ, भूगोलमा स्थिरजंगबहादुर सिंह, लोक साहित्यमा प्रदीप रिमाल र इतिहासमा आफैं) लिएर स्थलगत अनुसन्धान गर्न २०२७ सालमा जुम्ला पुगे। झन्डै डेढ महिनाको स्थलगत अध्ययनपछि प्रकाशित भएको पाँच ठेलीको ‘कर्णाली लोक संस्कृति’ भन्ने किताबले २०२८ सालको मदन पुरस्कार पायो। त्यसपछि मोहनबहादुर मल्ल, सूर्यमणि अधिकारी, पूर्णप्रकाश नेपाल ‘यात्री’ आदि अनुसन्धाता खसको खोजीमा कर्णाली प्रस्रवण क्षेत्रतिर आकर्षित भए।
नेपालमा खसहरूबारे केही भ्रम प्रचलित छन्। पहिलो भ्रमचाहिँ खस जाति ‘खस्’ धातुबाट विकसित भएको हो कि भन्ने भ्रम। तर ‘संसारको छानो’ भन्ने विश्वको सबभन्दा अग्लो ताजिकिस्तानमा पर्ने पामिरको पठार वरिपरि (नेपाल, कुमाउँ, गढवाल, पञ्जाब, काश्मीर, पाकिस्तान, अफगानिस्तान, ताजिकिस्तान, चीनको सिन्च्याङ र पश्चिम तिब्बत) हिमाच्छादित पर्वतमालाको वरिपरि ‘खस मण्डल’ बनाएर एक ढिक्को भएर आज पनि अनुहार, भाषा, भेस, संस्कृति र स्थान नाममा दसीका रूपमा देखिने खस जातिको नामको व्युत्पत्ति कसरी नेपाली भाषाको ‘खस्’ धातुबाट हुनु सम्भव छ ?
खसहरूबारे दोस्रो भ्रम हो— तिनीहरू नेपालमा बाहिरबाटै आए भन्ने भ्रम। माथि उल्लेख गरिएको हिमाली भूभागमा एक ढिक्को भएर पनि कतै बाहिरबाट आउन सकिन्छ ? खसहरूसित अनुहार मिल्ने मानिस माथि उल्लेख गरिएको ताजिकिस्तान, तुर्कमेनिया, उज्बेकिस्तान, इरान, ककेसस, रुस लगायत पूरै युरोपसम्म लगातार रूपमा जोडिएको नदेखेर खसहरू बाहिरबाट आए भन्नु भ्रम र पूर्वाग्रहबाहेक केही पनि होइन। खस जनता जहाँजहाँ छन्, त्यहीँकै आदिवासी हुन् भन्ने अनेक प्रमाणहरू छन्।
अरूकै छोरीबुहारी र पत्नीहरूसित एकै चोटि रासलीला मनाउने पुरुषलाई भगवान् कृष्ण मानेर पूजा गर्न समाजले केही पनि अप्ठ्यारो मानेको छैन। कृष्णजी र राजामहाराजाहरूलाई समाजले चरित्रहीन ठहर्‍याएर कलंकित गरेको छैन। तर, मातृसत्तात्मक समाजमा त्यसैगरी एउटै महिलाले बेग्लाबेग्लै पुरुषसित रात बिताएको पनि स्वाभाविक हुन्छ भन्ने कुरो हाम्रो पितृसत्तात्मक आँखाले बुझ्न सक्तैन।
महाभारत र माथि उल्लेख गरेका पुराणहरूमा खसहरू मानसरोवर क्षेत्रमा भएको उल्लेख छ। महाभारत काललाई प्राध्यापक बीबी लाल (१९५५ इ) ले खैरो रङका माटाका भाँडा चलाउने समय (इसापूर्व नवौं शताब्दी) को ठहर्‍याएका छन्। महाभारतको घटना नवौं शताब्दी भए पनि पुराणहरू इसापूर्व दोस्रो शताब्दीअघि लेखिएनन्। धेरैजसो पुराण त गुप्त काल (चौथो—छैटौं शताब्दी)मा लेखिए। विष्णुपुराण र मार्कण्डेय पुराणलाई सबैभन्दा पुराना मानिएको छ। एट्किन्सनले ती पुराणमा पनि खसहरूको उल्लेख भेटेका छन्।
इसापूर्व पाँचौं शताब्दीका युनानी इतिहासकार हेरोडोटसले कैलाश मानसरोवरको कमिलाले उत्पादन गरेको बुकी सुनको चर्चा गरेका छन्। अलेक्जेन्डर कनिङ्घमले इसापूर्व छैटौं शताब्दीसम्म भारतमा सुनको सिक्का बनाउने चलनै थिएन, त्यसैले भारतीय राजाहरू इसापूर्व छैटौं शताब्दीका इरानी सम्राट् दारिउसलाई बुकी सुन नै थैलामा राखेर चढाउँथे भन्ने लेखेका छन्। खसहरूले मानसरोवर क्षेत्रको त्यही कमिलाले उत्पादन गर्ने बुकी सुन (पिपिलिका सुवर्ण) नै आफ्नो खटनमा राख्न नै मानसरोवर क्षेत्र रोजेका रहेछन्। इरानका सम्राट्लाई भारत सरकारले चढाउने बुकी सुन पनि मानसरोवर क्षेत्रमै उत्पादन भएको होला।
इटालेली लामा तारानाथले बुद्ध धर्मको इतिहासको परिशिष्टमा ‘दिव्यावदान’ र ‘अशोकावदान’ शीर्षकका दुइटा लेख दिएका छन्, जसअनुसार इसापूर्व तेस्रो शताब्दीमा पाटलीपुत्र (पटना) मा अशोकका बाबु बिन्दुसारको मृत्यु भएपछि अशोकलाई राज्यको उत्तराधिकार नदिन राज्य विप्लव भएका बेलामा अशोकलाई गद्दीमा चढाउन पश्चिम नेपालका दुइटा खसहरूले सघाएका थिए भन्ने कुरो देखिन्छ। पछि अशोकले पश्चिम नेपालको खस प्रदेश जितेको कुरो पनि बौद्ध साहित्यमा पाइने सूचना सेलुप्स्की (१९६७ इ) ले दिएका छन्। रोमन इतिहासकार प्लिनी (इसापूर्व पहिलो शताब्दी)ले पनि हिमालयको यस भेगमा खसहरूको बसोवासको चर्चा गरेका छन्।
बालकृष्ण पोखरेलले ‘खस जातिको इतिहास’मा युरेसियामा भेटिने खसका सबै गोती (शक) हरूलाई खस घोषित गरेका छन्। तर समग्र भित्री र बाहिरी युरेसियाको ऐतिहासिक र पुरातात्त्िवक अनुसन्धानको अध्ययन गर्दा राहुल सांकृत्यायनले भनेझैं, खसको उपवर्ग शक नभएर शकको उपवर्ग मात्र खस भएको देखिन्छ। ‘खस’ शब्दसित मिल्ने ठाउँहरू ताक्लामकान, अफगानिस्तान, पाकिस्तान, आदि ठाउँमा पाइने भए पनि (खोअस, खोअस्पेस, खोफेने, खसमीर, खसघर, खो, आदि) यस जातिलाई खालि भारतको कुल्लुदेखि नेपालसम्म मात्र खस नामले बोलाउने गरेको पाइन्छ। यी तथ्यले पनि खसहरूलाई ‘खसमण्डल’सँग मात्र जोड्छ, बाहिर पु‍र्‍याउँदैन। कैलाश पर्वत शिवजीको मूल थलो मानिन्छ।
शिवजीलाई ‘यक्षस्वरूपाय जटाधराय’ (जटाधारी यक्ष स्वरूपका) भनिएको छ। एट्किन्सनले खसहरूलाई पहिले ‘यक्ष’ भनिन्थ्यो भन्ने लेखेका छन्। खसहरू शिवभक्त हुन्छन्। खसहरू बसेको ठाउँमा शिवजीकै पूजा बढ्ता हुन्छ। वासुकी नाग शिवजीको गहना मानिन्छ। खसहरू वासुकी नागलाई धेरै मान्दछन्। खसहरूका बसोवास क्षेत्रमा नागपञ्चमी, नाग पूजा, नाग लाग्ने, नागको शिर, जस्ता अनेक लोकाचार पाइन्छन्।
तेस्रो भ्रम खस राजाहरू भोटे हुन् कि भन्ने पनि छ। किनभने पहिलो त तिब्बतबाटै आएर नागराजले जुम्लालाई आफ्नो केन्द्र बनाएको कुरो कीर्तिस्तम्भमा छ। दसौं शताब्दीपछि तिब्बतका राजा स्रङ चन गम्पोका सन्तानले तिब्बतलाई तीनओटा राज्यमा बाँडे। त्यसपछि पूर्वको केन्द्र ह्लासा भयो, बीचको केन्द्र मानसरोवर क्षेत्र भयो र पश्चिमको केन्द्र चाहिँ लद्दाख भयो। त्यसपछि ह्लासाबाट मानसरोवर क्षेत्र (गुगे र पुराङ) तिब्बती संस्कृतिको केन्द्र भयो। एघारौं शताब्दीका भोटे राजाले थोलिङ गुम्बा बनाए अनि काश्मीर र विहारमा विद्यार्थीहरूलाई संस्कृत पढ्न पठाए, तर काश्मीरकै गर्मी पनि तिब्बती विद्यार्थीले सहन सकेनन्। धेरै विद्यार्थी मरेपछि राजाले विक्रमशीला महाविहारबाट धेरै प्रयत्न गरेर गुरु दीपंकरलाई बोलाए। एघारौं शताब्दीमा दीपंकर नेपालको बाटो थोलिङ गुम्बा पुगे, त्यहाँका विद्यार्थी पढाउने जिम्मा लिए, तिब्बती पनि सिके र संस्कृतका सयौं ग्रन्थ अनुवाद गरे। जुन राजाले दीपंकरलाई बोलाए, तीचाहिँ दुई जना छोरासहित भिक्षु भए। ती राजाको संस्कृत नाम ज्ञानप्रभ थियो र उनका एउटा छोराको नाउँ नागराज थियो।
पृथ्वी मल्लको दुल्लुको कीर्ति स्तम्भमा दुइटा वंशावली छन्। पृथ्वी मल्लका बाबु पुण्य मल्ल जन्मिँदा पाल थरका थिए, तर राजा हुँदा ससुराली मल्ल राजाहरू अपुता भएकाले ‘मल्ल’ थर लिएर घर ज्वाइँ तथा पुण्य मल्लका उत्तराधिकारी धर्मपुत्र भए। यसरी दुइटा वंश जोडिएर मल्ल भएको देखिन्छ। मल्ल थर भएका मानिसहरू त बुद्धकै पालामा पनि कुसिनगरमा बस्थे। राजाहरूको पाल वंश आठौं शताब्दीतिर बंगालमा थालियो। ठीक त्यसै बेला गुजरातमा गुर्जर प्रतिहारवंशी राजाहरू बलिया भए। तर नवौं, दसौं शताब्दीमा गुर्जर प्रतिहारवंशी राजाहरूले कन्नौज हत्याउँदा उनीहरूको थर पाल भइसकेको थियो। मध्य एसियाका राजा मुहम्मद गजनीले एघारौं शताब्दीमा कन्नौज हत्याएपछि आफ्ना आसेपासे लिएर उनीहरू मानसरोवर पुगे र सम्भवतः उनीहरूले तिब्बती राजवंशबाट राज्य हत्याए। यसरी गुगेका पाल थर भएका राजाहरू भोटे राजाका उत्तराधिकारी भएका देखिन्छन् अनि कालान्तरमा तिनीहरूकै मल्ल थर हुन्छ।
यसरी प्रागैतिहासिक आप्रवासको परिणामस्वरूप खस जाति दुई किसिमले क्रमशः सर्दै कर्णाली प्रदेश आइपुगेको देखिन्छ। खस शासकहरूचाहिँ पामिरको फेरो मारेर पश्चिम चीनको ताक्लामकान उपत्यकाबाट ताजिकिस्तान, ताजिकिस्तानबाट अफगानिस्तान, अफगानिस्तानबाट पाकिस्तान, पाकिस्तानबाट काश्मीर, काश्मीरबाट गढवाल, गढवालबाट कुमाउँ र कुमालबाट नेपाल आएको इतिहासले देखाउँछ। गुगल अर्थ हेर्दा खस जनताचाहिँ ताक्लामकान उपत्यकाबाट पाखैपाखा पश्चिम तिब्बतको ताक्लाकोट हुँदै नेपाल मात्र होइन, काश्मीर, ताजिकिस्तान, किर्घिजिस्तान र मंगोलियासम्म त्यसै पुग्न सक्ने देखिन्छ। यसरी खस जनताचाहिँ पामिरको मालभूमि वरिपरिको भौगोलिक मण्डल बनाएर एक ढिक्को भएर फैलेको देखिन्छ। यो भूभाग भित्र बीचमा अर्को जाति नै छैन।
भारतमा आइपुगेका खस शासकहरू पनि नेपालमा शासन गर्न आइपुगेकै देखिँदैन। मानसरोवर क्षेत्रबाट नेपालमा शासन गर्न कर्णाली प्रदेश आएका ‘खस राजा’ हरूको थर ‘पाल’, ‘चल्ल’ र ‘मल्ल’ देख्ता तिनीहरू एघारौं शताब्दीमा भारतको बंगाल, विहार र काश्मीरमा शक्ति खिएर पश्चिम तिब्बत पुगेर शक्ति सञ्चय गर्दै तिब्बती राजवंशलाई विस्थापित गरे पनि तिब्बती संस्कृतिको संरक्षण गर्ने भारतीय शासकहरूका रक्तमिश्रित वंशज होलान् भन्ने अड्कल गर्न सकिन्छ। तर उनीहरूका जनतालाई पनि भारतीय नै ठान्नु इतिहासको बहुआयामिक स्वरूपसित परिचित नहुनु हो। यसरी खस राजाहरूका रगतमा त भारतीय र तिब्बतीहरूको रक्त मिश्रण भएको हुने सम्भावना भए पनि खस जनतालाई पनि त्यस्तै ठान्न सकिँदैन।
यसै आधारमा जबजब गंगा सिन्धुको मैदानमा मध्य एसियाबाट विदेशी आक्रमण भयो, तबतब पुराना शासकहरू विस्थापित भएर गढवाल, कुमाउँ र नेपालका हिमाली र पहाडी प्रदेशतिर भाग्न बाध्य भए। क्यारमका गोटी सरेझैं त्यस्ता शासक उनीहरूका सेनामेना तथा आशामुखीहरू लिएर हिमाली र पहाडी प्रदेशतिर विस्थापित हुँदै गए होलान्। त्यसरी विस्थापित हुने अनेक सभ्यताका पत्रपत्र गढवाल, कुमाउँ र नेपालका हिमाली र पहाडी प्रदेशमा भेटिन सक्छन्। यसरी कर्णाली प्रदेशका खसहरूको सभ्यता भित्र अनुसन्धान गरे, अनेक सभ्यताका पत्र पाइन सक्छन्।
खसहरूका धेरै चलनहरू भारतका हिन्दुका चलनसँग मिल्दैनन्। आज पनि हुम्ला र डोल्पामा ४०५ परिवारमा द्रौपदी प्रथा पाइन्छ। यो चलन तिब्बती मूलका जनतामा मात्र होइन, खसहरूमा पनि पाइन्छ। बादीहरूको बहुपति प्रथा हिमाली क्षेत्रको ‘द्रौपदी प्रथा’ भन्दा फरक छ। पितृसत्तात्मक समाजले धेरै दरबारका राजा महाराजाहरूमा प्रचलित एउटै पुरुषले बेलुकैपिच्छे अर्का अर्कै महिलासित रात बिताएको धेरै अस्वाभाविक मान्दैन। अरूकै छोरीबुहारी र पत्नीहरूसित एकै चोटि रासलीला मनाउने पुरुषलाई भगवान् कृष्ण मानेर पूजा गर्न समाजले केही पनि अप्ठ्यारो मानेको छैन। कृष्णजी र राजामहाराजाहरूलाई समाजले चरित्रहीन ठहराएर कलंकित गरेको छैन। तर मातृसत्तात्मक समाजमा त्यसैगरी एउटै महिलाले बेग्लाबेग्लै पुरुषसित रात बिताएको पनि स्वाभाविक हुन्छ भन्ने कुरो हाम्रो पितृसत्तात्मक आँखाले बुझ्न सक्तैन।
बादीहरूको समाजमा मातृसत्तात्मक समाजको त्यही अवशेष छ, जहाँ श्रीमतीहरू गाउँका राजा, रजौटा र ठालुहरूकहाँ नाचगान गरेर रात बिताउन पुग्छन् र उनीहरूका पतिहरू चाहिँ मादल र बाजा बजाएर सहजकर्ता हुन्छन्। बादीहरूले खस जातिको प्रागैतिहासिक चलन साँचेको देखिन्छ। चीन, ग्रिस, संस्कृत र मध्य एसियामा ‘स्त्रीराज्य’को वर्णन पाइन्छ। महाभारत र हेरोडोटसले पनि कुमाउँको ब्रह्मपुर मास्तिरको खसहरूको स्त्रीराज्यको उल्लेख गरेका छन्। खसहरूका परिवारमा सौता अंश लाग्छ, भारतमा जस्तो छोरा अंश लाग्दैन। पाञ्चाल (कुमाउ)की राजकुमारी द्रौपदीको बहुपतित्वको उपहास महाभारतमा पनि गरिएको छ।
कर्णाली प्रस्रवण क्षेत्रमा कुनै पुराणमा पनि उल्लेख नभएका असंख्य देउताको पूजा हुन्छ। कुमाउमा कुम्भ निकुम्भको पूजा हुन्छ। डोटी र बैतडीमा घटाल (घटोत्कच) देवताको पूजा हुन्छ। खसहरू हिन्दू धर्मशास्त्र बन्नुभन्दा अगाडिदेखि नै यस भूभागमा बसोवास गरेकाले र गंगा सिन्धुको मैदानमा वेद, ब्राह्मण र हिन्दू पुराणहरू लेखिएकाले ब्राह्मण धर्म (वर्णा श्रम धर्म) बन्नुभन्दा अगाडि नै हिमालयको यस भेगमा बसिरहेका आदिवासी खसहरूलाई मनुस्मृतिमा पनि जातमा काढेको देखिन्छ। कुमाउँ, बैतडी, डोटी, अछाम, हुम्ला र जुम्लामा अझै पनि जनै नलगाउने (मतवाली) क्षेत्रीहरू पाइन्छन्। गबारियोले यस्तै क्षेत्रीलाई चाहिँ सक्कली खस मानेका छन्। पछि बनेको हिन्दू वर्णा श्रम धर्मले यस्ता छेत्रीहरूलाई अछाममा पानी नै काढेको पनि देखिन्छ भने, कतैकतैचाहिँ बिहेबारी चल्ने सूचना पनि पाइएको छ।
संस्कृति के चार अध्याय’ भन्ने किताबमा दिनकरले लेखेका छन्— हिन्दू समाजले प्रविधिज्ञहरूलाई चाहिँ जातकट्टा गरेर पानी काढेको देखिन्छ। नेपालका कामी, दमाई, सार्की, गाइने, आदि त्यस्तै प्रविधिज्ञ हुन्स नेपालका प्राचीन इन्जिनियर हुन्। डा. महेश्वर जोशी (२०११ ई) ले ‘शूद्रों का ब्राह्मणत्व’ भन्ने किताबमा लेखेका छन्— कुमाउमा गोर्खालीहरूले नजितुन्जेल त्यहाँका शूद्रलाई पानी काढिएको पनि थिएन। बाहुनसँग बिहेबारीमा पनि बन्देज थिएन। यसरी नेपालमा चाहिँ मैदानी हिन्दू धर्मको प्रभावले आफ्नै सीप भएका केही खस जातिलाई अन्यायपूर्वक दलित बनाइएको रहेछ।
http://annapurnapost.com/news/121200

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...