पर्वपिच्छे फरक स्वाद
वैशाख ४, २०७६कान्तिपुर संवाददाता
जनकपुर — मैथिली समाजमा खानपानसम्बन्धी एउटा भनाइ छ, ‘माछ, पान आ मखान स्वर्गमे सेहो नहि भेटैत छै ।’ अर्थात् माछा, पान र मख्खन स्वर्गमा समेत पाइँदैन । नयाँ वर्षसँगै वैशाख २ गते जुडशीतल पर्व मनाउँदा स्थानीयबासीले सातु, गुड, आँपको चटनी, बरी भोजन गरे । यस दिन तिलकोर, तरुल, तरुवा (पकौडा) सँगै दही खाने चलन छ ।
‘मिथिलाञ्चलमा चार ऋतुलाई लक्षित पर्व मनाइन्छ,’ जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले भने, ‘जुडशीतल, दशहरा, तिलासंक्रान्ति र फागुपर्व । यी सबैमा खानपान पनि ऋतुअनुसार भिन्नाभिन्नै हुन्छ ।’ उनका अनुसार गर्मी मौसमको खानपान भएकाले काँचो आँप चटनी, सातु, बरी, दहीजस्ता परिकार जुडशीतल पर्वसित जोडिएको छ ।
धेरैले मौलिक भेषभूषा, भाषा, संस्कृति, चित्रकला, लोकगीत, लोकगाथा तथा विवाह पद्धतिसँग मात्रै मिथिलाञ्चलको मौलिकता जोड्दै आएकोमा मौसम अनुसारका परिकारको संस्कृतिले भने खासै चर्चा नपाएको महन्थ वैष्णवले बताए । ‘मिथिलाको आफ्नै मौलिक भोजन विन्यास छ’, उनले भने, ‘आज मिथिला भोजन हुन्छ भन्नेबित्तिकै पाहुनाहरू हुरुक्कै हुने त संस्कार नै हो ।’
उनले पछिल्लो समय मैथिली चित्रकलाले बढी चर्चा पाए पनि यहाँको मौलिक खाना संस्कृति भने आधुनिक बजारमा प्रवर्द्धन हुन नसकिरहेको बताए । छठ पर्वमा गहुँको पीठोमा सख्खर मिसाएर बनाइने ठकुवा, चामलको आटामा सख्खर मिसाएर बनाइने भुसुवाजस्ता परिकार, साउनमा हुने चौठचन्द पर्वमा खाइने पूरी, खीर, ओलको तरकारी र चोखाले पनि मिथिलाका मौलिक परिकार हुन् । त्यस्तै शारदीय नवरात्रको अवसरमा मासु, माछासँगै खीर र पूरी खाने चलन छ । तिलासंक्रान्तिमा खिचडी, घ्यू, चाकु, तरुल, मुरही, तिल खाइन्छ भने फागु पर्वमा पुवा, पुरी र माछामासुका परिकार खाने गरिन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका निरीक्षक प्रवीणकुमार तिवारी मिथिला क्षेत्रको पारम्परिक भोजनसंस्कृति वैज्ञानिक भएको व्याख्या गर्छन् ।
‘खाद्य विज्ञानले हामीलाई पौष्टिक तथा सन्तुलित भोजन खान निर्दिष्ट गर्छ,’ उनले भने, ‘सिजनअनुसारको खानपानको संस्कृति वैज्ञानिक छ । यो मिश्रित खाद्य परम्परा हो ।’ एउटै खाद्य पदार्थको अनेकथरि परिकार बनाएर खानु मिथिलाञ्चलको अर्को विशेषता हो । मौलिक खानपानले पनि मिथिला समाजको सम्मुनत सभ्यताको संकेत गर्ने समाजशास्त्रका जानकार रामचन्द्र झा बताउँछन् ।
प्रकाशित : वैशाख ४, २०७६ ०९:१७