Showing posts with label Kusunda. Show all posts
Showing posts with label Kusunda. Show all posts

Friday, June 14, 2019

भाषा सिक्न दाङ झरे कुसुन्डा

भाषा सिक्न दाङ झरे कुसुन्डा
वैशाख १५, २०७६काशीराम डाँगी
रोल्पा — लोपोन्मुख रहेको कुसुन्डा भाषा सिक्न रोल्पाबाट एक परिवार दाङ झरेको छ । यो जिल्लाकै एक मात्र कुसुन्डा परिवार हो । भाषा आयोगको सहयोगमा देउखुरीमा कुसुन्डा भाषाको औपचारिक कक्षा सञ्चालन भइरहेको छ ।
रोल्पाको रुन्टीगढी–५ का लालबहादुर कुसुन्डाले पत्नी र एक्ली छोरीलाई कक्षा पठाएका हुन् । त्यहाँ उनैकी दिदी कमला र साथी ज्ञानीमैयाले भाषा सिकाउँछन् । लालबहादुरलाई कुसुन्डा भाषाको सामान्य जानकारी छ । उनकी पत्नी बेलमती र पाँच वर्षकी छोरी सवितालाई दाङ लैजान कुसुन्डा विकास समाजले सहयोग गरेको छ ।
रुन्टीगढी गाउँपालिकाका अध्यक्ष बालाराम बुढाले भाषा सिकेका कुसुन्डा परिवारको संरक्षणसम्बन्धी योजना अघि सार्ने बताए । उनले जीवनयापनका लागि कुसुन्डालाई सघाउने वचनसमेत दिए । जिल्लाकै एक मात्र कुसुन्डा परिवार भएकाले सरकारले एक दशकअघि उनीहरूलाई घर बनाइदिएको थियो । ५१ वर्षे लालबहादुर र ४८ वर्षकी बेलमतीको ०६८ मा गाउँलेको पहलमा बिहे भएको थियो । बेलमती स्थानीय पुनमगर समुदायकी हुन् ।
भाषा सिकाउन लमही नगरपालिका–६, कुलमोडका ८१ वर्षीया ज्ञानीमैया र ४३ वर्षीया कमला लागिपरेका छन् । आयोगले दुवैलाई स्रोत व्यक्तिका रूपमा खटाएको छ । उनीहरूले मासिक तीन हजार रुपैयाँ पाउँदै आएका छन् । कुसुन्डा समाजका अनुसार ज्ञानीमैया र कमला मात्रै कुसुन्डा भाषाका जानकार हुन् । रोल्पाकी कमला बिहे भएर दाङ आएकी हुन् । दुवै जनाले पुर्खाले बोलेका आधारमा भाषा सिकेको बताए ।
समाजले देशभर कुसुन्डाको संख्या २ सय ७३ रहेको जनाएको छ । तीमध्ये दाङमा ९८ र रोल्पामा ३ जना छन् । दाङमा भाषा सिक्न रोल्पा, दाङ र प्यूठानका गरी २२ जना सहभागी छन् । कुसुन्डा भाषाका अध्येता उदय आलेमगरले सहजीकरण गर्दै आएका छन् । उनले लोपोन्मुख अवस्थामा पुगेको भाषा जोगाउन पाएकामा खुसी व्यक्त गरे । उनले यसअघि कुसुन्डा भाषासम्बन्धी शब्दकोशसमेत प्रकाशित गरिसकेका छन् । थारू र मगर भाषा, संस्कृति र अवस्थाको समेत अध्ययन गर्दै छन् ।
कुसुन्डा भाषा चार चरणमा पढाइ भइरहेको छ । आलेका अनुसार कुल ३ सय ६० घण्टा पढाइन्छ । पहिलो चरणमा खानपान, सरसफाइ, नातागोता, घरायसी व्यवहारका भाषा सिकाइन्छ । दोस्रो चरणमा सामाजिक सम्बन्धसम्बन्धी, तेस्रोमा पाठ्यक्रममा आधारित र चौथोमा शब्दावली, व्याकरणका बारेमा भाषागत शिक्षा दिने योजना छ ।
कुसुन्डा समाजका अध्यक्षमा दाङका धनबहादुर कुसुन्डा छन् । वनमै रमाउने, खेतीपाती नगर्ने र जंगलमै डुलिहिंड्ने कुसुन्डाको पुर्ख्यौली चलन हो । उनीहरू समूह बनाएर वनमा बस्ने, कन्दमूल खाने, धनुकाँडबाट सिकार खेल्ने र मागेर जिउ पाल्ने गर्दै आएको पाइएको अध्येता आलेले बताए ।
प्रकाशित : kantipur, वैशाख १५, २०७६ ०८:२४

Thursday, June 13, 2019

सोजाक माने नमस्कार

सोजाक माने नमस्कार
कुसुन्डा/शब्दअर्थ, अन्नपूर्ण, फुर्सद, ९ चैत्र, २०७५
(भाषा अमूल्य सम्पत्ति हो। भाषा मरे सभ्यता पनि मर्छ। अंग्रेजी भाषाले संसारका विभिन्न भाषामा प्रचलित शब्दलाई आफ्नो शब्दकोशमा प्रविष्टि दिइरहेको छ। उनीहरूको शब्दकोश मोटाइरहेको छ, तर सरकारी तथ्यांकअनुसार नेपालमा एक सय २३ भाषा बोलिए पनि हाम्रा शब्दकोश भने पातला छन्। सीमित शब्दलाई मात्र शब्दकोशमा स्थान दिइएको छ।
शब्दकोश बहुभाषिक–बुहभाषिकीय हुन सकेको छैन। हाम्रै नेपाली दाजुभाइले बोल्ने भाषालाई ‘आगन्तुक’ भनेर पढाइरहेका छौँ। हामीले भाषिक विविधतालाई सदुपयोग गर्न सकेका छैनौँ, यसको प्रयोगलाई बढाएर भाषालाई समृद्ध–समृद्ध बनाउन सकेका छैनौँ। हामी यस शब्दकोश स्तम्भमा नेपाली भाषाको शब्दकोेशमा नसमेटिएका ‘नेपाली’ शब्द र तिनको अर्थ दिनेछौँ।
पहिलो अंकमा सबैभन्दा कम वक्ता (२७३ जना) भएका कुसुन्डा भाषाका केही शब्द र अर्थ प्रस्तुत गरेका छौँ। यस स्तम्भमा नेपाली भाषाकै पनि विभिन्न क्षेत्रमा बोलिने भाषिकालाई पनि समेट्नेछौँ। हाम्रो अभिप्राय हो-शब्द अपुग भए विदेशी भाषाका शब्द पनि प्रयोग गरौँ तर त्यसअघि हाम्रै १२२ वटा भाषा र भाषिकातिर पनि नजर दिऔँ। नमस्कार नमस्कार भन्दा दिक्क भए सोजाक पनि भनौँ। हामी विभिन्न सुमदायका वक्तालाई आफ्ना भाषाका केही रोचक शब्द र तिनको अर्थ लेखी पठाउन आह्वान गर्छैं।)
नेपालमा सबैभन्दा थोरै मान्छेले बोल्ने भाषाको रूपमा रहेको कुसुन्डा भाषा राम्रोसँग जान्ने एकमात्र जीवित व्यक्ति हुन्, ज्ञानीमैया कुसुन्डा (८३)। उनी आफ्नो भाषा लोप भएकामा चिन्तित छिन्। उनी दाङस्थित आफ्नै घरमा कुसुन्डा भाषा सिकाउँछिन्। भाषा सिकाइसकेर अजिकी (बाख्रा) चराउँदै गरेकी ज्ञानीमैयाले आफ्नो भाषाका केही शब्द सुनाइन्। कुसुन्डा भाषामा ‘धोका’ बुझाउने शब्द भने रहेनछ। यसको समाजशास्त्रीय व्याख्या होस्। भाषा कसरी आविष्कार हुन्छ होला, बुझिल्याउँदा अनौठो लाग्छ। जुत्ता–चप्पल लाउने चलन त धेरै पछि चल्यो होला तर कुसुन्डा भाषामा जुत्ता÷चप्पल बुझाउने शब्द हो-यन गिट। अब सुनौँ, नानीमैयाँ आमालाई :
नटी च्यु : के छ ?, ओय च्यु : ठीकै छ, ओहि : घर, नवअगन : बिहे, ओलाङ : मीठो, नखिया अगन : हाँस्नु,
दङा : लट्ठी, इमा : खेत, नु : मान्छे, म्याक : जनावर, दुख्ची : छोरा, निङ्गिचे : छोरी, अजिकी : बाख्रा,
याङ : गोबर÷दिसा, दुम : माटो, ओगजी : मृत्यु, डुई : लोग्ने÷पुरुष, बम : आकाश, अबोक : तरकारी,
अम्बा : मासु, ओए चिउ : राम्रो, कोलम चिउ : नराम्रो, इङ्गुटप : रात, ओङ्चा : दिन, टाङ् : पानी,
यन गिट : जुत्ता चप्पल, सोजाक : नमस्कार,
प्रस्तुति : : वसन्त आचार्य

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...