Thursday, June 13, 2019

सोजाक माने नमस्कार

सोजाक माने नमस्कार
कुसुन्डा/शब्दअर्थ, अन्नपूर्ण, फुर्सद, ९ चैत्र, २०७५
(भाषा अमूल्य सम्पत्ति हो। भाषा मरे सभ्यता पनि मर्छ। अंग्रेजी भाषाले संसारका विभिन्न भाषामा प्रचलित शब्दलाई आफ्नो शब्दकोशमा प्रविष्टि दिइरहेको छ। उनीहरूको शब्दकोश मोटाइरहेको छ, तर सरकारी तथ्यांकअनुसार नेपालमा एक सय २३ भाषा बोलिए पनि हाम्रा शब्दकोश भने पातला छन्। सीमित शब्दलाई मात्र शब्दकोशमा स्थान दिइएको छ।
शब्दकोश बहुभाषिक–बुहभाषिकीय हुन सकेको छैन। हाम्रै नेपाली दाजुभाइले बोल्ने भाषालाई ‘आगन्तुक’ भनेर पढाइरहेका छौँ। हामीले भाषिक विविधतालाई सदुपयोग गर्न सकेका छैनौँ, यसको प्रयोगलाई बढाएर भाषालाई समृद्ध–समृद्ध बनाउन सकेका छैनौँ। हामी यस शब्दकोश स्तम्भमा नेपाली भाषाको शब्दकोेशमा नसमेटिएका ‘नेपाली’ शब्द र तिनको अर्थ दिनेछौँ।
पहिलो अंकमा सबैभन्दा कम वक्ता (२७३ जना) भएका कुसुन्डा भाषाका केही शब्द र अर्थ प्रस्तुत गरेका छौँ। यस स्तम्भमा नेपाली भाषाकै पनि विभिन्न क्षेत्रमा बोलिने भाषिकालाई पनि समेट्नेछौँ। हाम्रो अभिप्राय हो-शब्द अपुग भए विदेशी भाषाका शब्द पनि प्रयोग गरौँ तर त्यसअघि हाम्रै १२२ वटा भाषा र भाषिकातिर पनि नजर दिऔँ। नमस्कार नमस्कार भन्दा दिक्क भए सोजाक पनि भनौँ। हामी विभिन्न सुमदायका वक्तालाई आफ्ना भाषाका केही रोचक शब्द र तिनको अर्थ लेखी पठाउन आह्वान गर्छैं।)
नेपालमा सबैभन्दा थोरै मान्छेले बोल्ने भाषाको रूपमा रहेको कुसुन्डा भाषा राम्रोसँग जान्ने एकमात्र जीवित व्यक्ति हुन्, ज्ञानीमैया कुसुन्डा (८३)। उनी आफ्नो भाषा लोप भएकामा चिन्तित छिन्। उनी दाङस्थित आफ्नै घरमा कुसुन्डा भाषा सिकाउँछिन्। भाषा सिकाइसकेर अजिकी (बाख्रा) चराउँदै गरेकी ज्ञानीमैयाले आफ्नो भाषाका केही शब्द सुनाइन्। कुसुन्डा भाषामा ‘धोका’ बुझाउने शब्द भने रहेनछ। यसको समाजशास्त्रीय व्याख्या होस्। भाषा कसरी आविष्कार हुन्छ होला, बुझिल्याउँदा अनौठो लाग्छ। जुत्ता–चप्पल लाउने चलन त धेरै पछि चल्यो होला तर कुसुन्डा भाषामा जुत्ता÷चप्पल बुझाउने शब्द हो-यन गिट। अब सुनौँ, नानीमैयाँ आमालाई :
नटी च्यु : के छ ?, ओय च्यु : ठीकै छ, ओहि : घर, नवअगन : बिहे, ओलाङ : मीठो, नखिया अगन : हाँस्नु,
दङा : लट्ठी, इमा : खेत, नु : मान्छे, म्याक : जनावर, दुख्ची : छोरा, निङ्गिचे : छोरी, अजिकी : बाख्रा,
याङ : गोबर÷दिसा, दुम : माटो, ओगजी : मृत्यु, डुई : लोग्ने÷पुरुष, बम : आकाश, अबोक : तरकारी,
अम्बा : मासु, ओए चिउ : राम्रो, कोलम चिउ : नराम्रो, इङ्गुटप : रात, ओङ्चा : दिन, टाङ् : पानी,
यन गिट : जुत्ता चप्पल, सोजाक : नमस्कार,
प्रस्तुति : : वसन्त आचार्य

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...