Showing posts with label Langauge. Show all posts
Showing posts with label Langauge. Show all posts

Wednesday, June 12, 2019

मानक भाषाको खोजी

मानक भाषाको खोजी
—प्रदेश–२ भाषा वहस—
मंसिर १, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — संघीयतापूर्व एउटा मात्र नेपाली भाषालाई राष्ट्र भाषाको रूपमा महत्त्व दिइएको थियो तर अहिलेको संविधानमा भने हरेक भाषालाई राष्ट्रभाषाका रूपमा महत्त्व दिइएको छ । भाषा नीतिलाई परिमार्जित अवस्थामा ल्याउने प्रयास पनि भैरहेको छ ।
सिरहाको नवराजपुर गाउँमा मूलघर भएका प्राध्यापक योगेन्द्रप्रसाद यादव त्रिभुवन विश्वविद्यालयको अंग्रेजी र भाषाविज्ञान विभागमा गरेर ४२ वर्ष प्राध्यापक रहे । नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ रहिसकेका भाषाविद् यादवले प्रदेश–२ को मानक भाषाका बारेराखेको विचार :
भाषानीतिको तीनवटा पक्ष हुने गर्छ । पहिलो सरकारी कामकाजको भाषा तथा अन्य रूपमा भाषाको स्तरोन्नति, दोस्रो भाषाको विकास, संरक्षण र संवद्र्धन र तेस्रो शिक्षा आर्जनमा भाषाको प्रयोग ।
प्रदेश–२ भाषिक मुद्दा
प्रदेश–२ मा ४५ प्रतिशतभन्दा बढी मैथिलीभाषी छन्, दोस्रो १९ प्रतिशत मातृभाषी भोजपुरीभाषी छन् । यो दुईवटै भाषालाई प्रादेशिक सरकारमा कामकाजको भाषा बनाइनुपर्छ । नेपालीभाषालाई संविधानमै सरकारी कामकाजको भाषा भनिएको हुनाले हरेक प्रदेशमा नेपाली त स्वत: हुने नै भयो ।
त्यसैगरी, बज्जिका भाषा रौतहटमा बहुसंख्यकको भाषा छ । रौतहटमा स्थानीय स्तरमा सरकारी कामकाजको भाषामा बज्जिकालाई समेट्नुपर्छ । कुनै गाउँपालिका, नगरपालिकामा अल्पसंख्यक मातृभाषीको भाषा छ भने पालिकास्तरमा त्यो भाषालाई सरकारी कामकाजको भाषा बनाउन सकिन्छ ।
वर्तमान संविधानको सैद्धान्तिक पक्षलाई हेर्ने हो भने हरेक भाषाको वक्ताको संख्यालाई ध्यानमा राखेर सरकारी कामकाजको भाषा बनाउनेबारे ध्यान दिइनुपर्छ ।
matri bhasa diwas2
मगही भाषा
मैले मगहीभाषी समुदायसँग कुरा गर्दा पाउने गरेको छु— यसको भाषिक विशेषता मैथिलीभन्दा कुनै फरक छैन । मैले जे बोल्छु, मगहीभाषीले बुझ्छन् । मगहीभाषीले जे बोल्छन्, म बुझ्छु । पहिले मैथिलीलाई मातृभाषा भन्ने र लेखाउनेले नै मगही लेखाउन थालेका छन् । आदिवासी जनजाति प्रतिष्ठानले हरेक आदिवासी जनजातिको आफ्नै मातृभाषा हुनुपर्ने प्रावधान राखेको छ, त्यसैले मधेसका केही जातिबाट मगही भाषा लेखाइएको हो ।
केही दिनअघि मात्र भाषा आयोगले मलाई धानुक भाषाबारे अध्ययन–अनुसन्धान गर्नेबारे बतायो । धानुक जातिले
आफ्नो अलग्गै भाषा भएको भनिरहेका छन् । मेरो गाउँमा पनि धानुक छन्, उनीहरू हामीजस्तै बोल्छन् । धानुक जाति जनजातिमा सूचीकृत छन् । अब उनीहरू आफ्नो अलग्गै भाषा धानुक भएको बताउन थालेका छन् । मगही र धानुकजस्ता भाषाको भाषा वैज्ञानिक कुनै आधार छैन, यो केवल राजनीतिक लाभका लागि हो । मगही भाषा गंगापारि मगधको भाषा हो । अहिले जहाँका बासिन्दाले मगही भाषा भन्दै छन्, त्यहाँ मगही कसरी आयो ? जम्प गरेर भाषा कसरी आउँछ ? यसबारे विश्लेषण हुनु आवश्यक भइसकेको छ ।
आदिवासी जनजाति प्रतिष्ठानमा पुगेपछि त्यहाँ अलग मातृभाषा बताउनुपर्ने आवश्यक छ । त्यसैले मगही, धानुक, अमातको कुरा आएको हो । उनीहरूले मैथिली नै बोले पनि आफू अलग मातृभाषी भएको बताउनुपर्ने स्थिति आएको छ ।
सम्पर्क भाषा
सम्पर्क भाषालाई पनि सरकारी कामकाजी भाषाको रूपमा स्वीकार गरिएको छ । उदाहरणका लागि छिमेकी मुलुक पाकिस्तानमा उर्दू मातृभाषी ८ प्रतिशत मात्र छ । पन्जाबी र अन्य भाषा बोल्ने ४०/४५ प्रतिशत छन् । तर पनि मातृभाषाका रूपमा ८ प्रतिशतले बोलिने अल्पसंख्यक भाषा उर्दूलाई नै सरकारी कामकाज भाषा बनाइएको छ । उर्दू सबैले बुझ्ने हुनाले कामकाजको भाषा बनाइएको हो ।
म मैथिलीभाषी छु, कुनै अवधीभाषीसँग म हिन्दीभाषामा कुराकानी गर्छु । हिन्दीभाषा एउटा सम्पर्क भाषा छ । मधेसमा विभिन्न मातृभाषीबीच हिन्दी सम्पर्क भाषा छ । हिन्दी भाषा भारतको बहुसंख्यकको मातृभाषा होइन तर पनि सम्पर्क भाषा भएकाले सरकारी कामकाजको भाषासमेत हो । त्यसैगरी अंग्रेजी पनि भारतमा सम्पर्क भाषा छ । प्रदेश न. २ मा हिन्दी मातृभाषी छन् तर एकदमै न्यून । तर, दोस्रो भाषाका रूपमा अर्थात् सम्पर्क भाषाका रूपमा हिन्दीलाई समावेश गर्न सकिन्छ । मातृभाषाको स्थानमा भने होइन, त्यस्तो गर्नु हुन्न ।
आवश्यकताअनुसार मानिसहरू मैथिली, भोजपुरी र हिन्दी प्रयोग गर्न सक्छन् । २०६८ को जनगणना प्रश्नमा तपाईंको मातृभाषा के हो ? र, तपाईंको दोस्रो भाषा के हो ? भनेर सोधिएको थियो । ३४ प्रतिशतले नेपाली र ५ प्रतिशतले हिन्दी भनेका छन् । त्यसअनुसार १० लाख जनसंख्याको दोस्रो भाषा हिन्दी छ । हिन्दीलाई स्वीकार
गर्दैमा प्रदेश २ मा बोलिने अन्य भाषालाई घाटा हुनेजस्तो मलाई लाग्दैन ।
matri bhasa diwas1
भाषा आयोग
जसोतसो गठन भएको भाषा आयोग एक जना अध्यक्षका भरमा चलिरहेको छ । बाँकी कर्मचारी छन् जसलाई भाषा विज्ञानबारे थाहै छैन । सरकारी कर्मचारीहरू पनि भाषिक दक्षता भएका छैनन्, त्यसैले आयोगको काम गुणात्मक हुने हो वा होइन, त्यसमा शंकै छ । भाषा आयोग प्रभावकारी हुन नसक्नु सरकारको कमजोरी हो । भाषा नीति प्राथमिकतामै परेको छैन । भाषा आयोगमा सात जना सदस्य नियुक्त गर्नुपर्ने हो, यो रिक्त छ ।
मैथिली
मैथिली भाषा कुनै जाति विशेषको भाषा होइन । यसलाई कुनै जाति विशेषको भाषा भन्नु गलत हो । यस्तो धारणाको खण्डन गर्नुपर्छ । गणतन्त्रलाई मान्ने हो भने बहुसंख्यकलाई मान्नै पर्छ । प्रदेश–२ मा बहुसंख्यकले बोल्ने भाषा मैथिली हो । मैथिली भाषाको मानकीकरणका लागि बिहारमा केही प्रयास भइरहेका छन् । तर, त्यसले मान्यता पाइसकेको छैन । नेपालमा भने मैथिली मानकीकरणका लागि खासै पहल हुन सकेको छैन । मैथिली सरकारी कामकाज र पठनपाठनको भाषा भइसकेपछि यसको मानक रूपको खाँचो पर्न सक्छ ।
मैथिलीको दसवटा भाषिका छन् । यदि मानकीकरण गर्ने हो भने एउटै रूप हुन जान्छ । बाँकी त मैथिली नै हुने भयो । यो पनि एउटा समस्या हो । मैथिलीभाषीबीच नै लेख्य रूपमा भिन्नता हुनु स्वाभाविक हो । यो बिस्तारै विकसित हुने कुरो हो । यो लाद्ने होइन । नेपाली भाषाको मानकीकरण सवालमा यहाँ धेरैथरीका विचारले धेरै विवाद भएको देखिएकै हो । जहाँसम्म मातृभाषाको पढाइको कुरो छ, मातृभाषाबाट पढाइ सुरु गर्नुपर्छ । त्यसपछि सरकारी कामकाजको भाषा र त्यसपछि अंग्रेजी भाषा ।
भाषाको विकास हुनुपर्छ । मैथिली भाषामा शब्दकोश, व्याकरण, पाठ्य सामग्रीको निर्माण हुनुपर्छ । त्यति मात्र होइन, सूचना प्रविधिमा भाषालाई प्रवेश गराउनुपर्छ । डिजिटल डकुमेन्टेसन अर्थात् सफ्टवेयर प्रयोग गरेर भाषाको यान्त्रिकीकरण गर्ने । कुनै भाषाको अध्ययन, अनुसन्धानका लागि यो आवश्यक छ । नेपालीको युनिकोड बन्नु त्यसको एउटा उदाहरण हो । प्रदेश–२ का भाषाहरूको संरक्षण–संवद्र्धन गर्नका लागि डिजिटाइजेसन र अर्काइभ बनाउनु आवश्यक छ ।
मैथिली, भोजपुरी सरकारी कामकाजको भाषा भएपछि स्वत: अनुवादको काम बढ्नेछ । कम्प्युटराइज्ड अनुवादका लागि भाषामा काम गर्नु आवश्यक छ । नेपालीको ४० हजार शब्द अंग्रेजीमा अनुवाद गर्न सकिने सफ्टवेयर बनाइएको छ । त्यसैगरी ‘स्पेल चेकर’ अर्थात् हिज्जे परीक्षण गर्ने सफ्टवेयर बनाइनु आवश्यक छ । सूचना प्रविधिमा नलगेमा भाषा मर्ने निश्चित छ । किताब पुस्तकालयमा कुहिन सक्छ तर डिजिटल कपी छ भने त्यो जसरी जहाँ पनि प्रयोग गर्न मिल्छ ।
प्रस्तुति: जितेन्द्र झा
सूर्यनाथ मिश्रले ३१ वर्ष व्यवस्थापन विषयमा शिक्षण र ४ वर्ष कूटनीतिक सेवामा बिताएका छन् उनी रारा बहुमुखी क्याम्पस, जनकपुरबाट सेवानिवृत्त प्राध्यापक तथा कतारका लागि नेपाली पूर्वराजदूत हुन् लक्ष्मीनियाँ–७, धनुषानिवासी प्राध्यापक मिश्रले प्रदेश–२ को भाषा नीतिे सन्दर्भमा राखेको विचार :
मलाई प्रदेश २ को भाषाको सन्दर्भमा त्रिभाषिक नीति हरेक दृष्टिकोणले ग्रहण गर्न योग्य लागेको छ । यहाँ त्रिभाषिक नीतिको तात्पर्य माृतभाषा मैथिली, राष्ट्रिय भाषा नेपाली र अन्तर्राष्ट्रिय भाषा अंग्रेजी रहेको छ । त्रिभाषिकबाहेक अन्य भाषिक बोझ लाद्नु न्यायोचित हुँदैन ।
तथ्यांकगत आधारमा हेर्ने हो भने यो प्रदेशमा मैथिली मातृभाषी जनसंख्या सबैभन्दा बढी अर्थात् ४५.३ प्रतिशत छ । भोजपुरी माृतभाषा हुनेहरूको अनुपात १८.५८ प्रतिशत छ । नेपाली मातृभाषी संख्या ६.६७ प्रतिशत र अन्य माृतभाषा हुनेको २९.४५ प्रतिशत जनसंख्या छ । माृतभाषाबाहेक पहिचानका अन्य आधारहरू भनेर मानिएको भौगोलिक स्थिति, ऐतिहासिक निरन्तरता, वेशभूषा र संस्कृतिको आधारमा पनि अर्को तहमा मूल्यांकन गर्न सकिन्छ । यो दृष्टिकोणले पनि मैथिली भाषालाई नै प्रदेश २ को सरकारी कामकाजको दोस्रो भाषाको रूपमा ग्रहण गर्नु न्यायोचित हुनेछ ।
यदाकदा भाषाको मानकीकरणका बारेमा पनि बहस र विवाद चल्ने गरेको मैले पढेको, सुनेको छु । भाषाको मानकीकरण भनेको यसको गुणवत्ता, शुद्धता आदि सम्बन्धमा कुनै प्रकारको सन्देहको गुन्जाइस नरहने गरी मापदण्ड निश्चित गर्नु हो । भाषा मानकताको दृष्टिले पनि यस प्रदेशको सर्वश्रेष्ठ भाषा मैथिली हो । यसको आफ्नै लिपि, व्याकरण, शब्दकोश, साहित्य, संगीत र संस्कृति छ । हाम्रो त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरूमा मैथिली विषयको प्राध्यापन विसं २०१४ देखि नै हुँदै आएको तथ्य सर्वविविदै छ । यस विषयमा स्नातकोत्तर तहको प्राध्यापनको सुरु विसं २०३८ मा नै भएको थियो । यो पनि मानकीकरण सूचकांक हो ।
मानकीकरणको कुरा गर्दा मैथिलीभित्र १० वटा भाषिका रहेकाले यसमा भाषिक ‘मानकीकरण’ असम्भव छ भन्ने किसिमको तर्क पनि उठ्ने गरेको छ । तर, मैथिली भाषामा मात्रै विभिन्न भाषिका (वाणी/बोली) हरू रहेका होइनन् । हाम्रो राष्ट्रिय भाषा नेपाली र अन्तर्राष्ट्रिय भाषा अंग्रेजीमा पनि विभिन्न भाषिकाहरू छन् । पश्चिमी र पूर्वी नेपालमा बोलिने नेपालीको बोली एउटै छैन । अमेरिका र बेलायतमा बोलिने अंग्रेजीको बोली एउटै छैन । यस अर्थमा, भाषिका फरक हुँदैमा भाषा फरक भएको भन्न मिल्दैन ।
भाषा, सम्पर्क भाषा भनेको समाज र सामाजिक यथार्थमा जोडिएको संवेदनशीलताको पक्ष पनि हो । नेपालको वर्तमान सन्दर्भमा त्रिभाषिक नीति संवाद, ज्ञानोपार्जन र प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रम बजारमा रोजगारी प्राप्तिको दृष्टिकोणले प्रयाप्त छ । राष्ट्रिय भाषा नेपालीलाई नै सम्पर्क भाषाको रूपमा ग्रहण गर्नु सरल र उपयुक्त हुने देखिन्छ । हाम्रा छात्रछात्राहरूमाथि माृतभाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाबाहेक अन्य कुनै पनि भाषिक बोझ लाद्नु न्यायोचित हुँदैन ।
प्रस्तुति : दिनेश रेग्मी प्रकाशित : मंसिर १, २०७५ ०९:२४

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...