Showing posts with label Prithavi Narayan. Show all posts
Showing posts with label Prithavi Narayan. Show all posts

Friday, June 14, 2019

पृथ्वीनारायणअघि क–कसले गरे काठमाडौं आक्रमण ?

पृथ्वीनारायणअघि  क–कसले गरे काठमाडौं आक्रमण ?
सुजित मैनाली, वैशाख १४, २०७६कान्तिपुर संवाददाता
विसं १८०१ मा गोरखाली फौजले काठमाडौंअन्तर्गतको नुवाकोट जितेसँगै आधुनिक नेपाल निर्माणफ्रव्रिया औपचारिक रूपमा आरम्भ भयो  । ...राज्यविस्तारको अभिलाषा राखेर त्यसतर्फ अग्रसर हुने यस क्षेत्रका पहिलो शासक थिएनन् पृथ्वीनारायण  ।
उनीअघि पनि थुप्रै शासकले काठमाडौंअन्तर्गतका भूभाग आफ्नो अधीन ल्याउने प्रयत्न गरेकै थिए । उनकै पुर्खा द्रव्य शाहले यस्तो आँटेका थिए । राम शाहको पालामा छेउछाउका घलेराज्यलाई जित्दै गोरखाको सीमा ललितपुर र काठमाडौंसम्मै जोडिन पुगेको थियो । नरभूपाल शाहले पूर्वतिर बढ्ने उद्देश्यले नुवाकोटमा हमला गरेर हार खाएका थिए ।
पितापुर्खाले गर्न नसकेको काम पृथ्वीनारायणले सम्भव तुल्याए । काठमाडौं खाल्डो कब्जा गर्न तम्सिने गोरखा एक्लो थिएन । विभिन्न राज्यले पटक–पटक हमला गरिसकेका थिए तर उनीहरूमध्ये अधिकांशको ध्येय त्यहाँ लुट मच्चाई आर्थिक लाभ लिएर फर्किनेमा सीमित थियो । सन् ७८२ मा कश्मीरका राजा जयापीड विनयादित्य नेपालमाथि हमला गर्न दलबलसहित आएका थिए तर कर्णाली नाघ्न सकेनन् । त्यति बेलाको सम्पन्न राज्य नेपालको वैभव लुटेर चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको कश्मीरलाई त्यसबाट मुक्त गराउने उनको ध्येय थियो तर राजा अरमुडिले उनलाई पराजित गरी कालीगण्डकी किनारमै कैद गरिदिए । अरमुडिलाई राजतरङ्गिणीमा नेपालका राजा भनिएको छ ।
मिथिलामा कर्णाट–वंश स्थापना गर्ने राजा नान्यदेवले सन् १०९७ मा काठमाडौं उपत्यकामा हमला गरेका थिए । पश्चिम नेपालको सिञ्जा उपत्यकालाई राजधानी बनाएको खसराज्यका राजा जितारि मल्लले पनि विसं १३४४ मा हमला गरेका थिए तर काठमाडौंको फौजले ८ सय खसको संहार गरेपछि उनी फर्किए । विसं १३४५ मा जितारिले पुनः हमला गरे । काठमाडौंका गाउँहरूमा आगो लगाइदिनेजस्ता उत्पात मच्चाए ।
तिरहुत राज्यले सन् १२९० र सन् १३११ गरी दुईपटक आक्रमण गरेको थियो । पछिल्लो आक्रमणको एक वर्षसम्म तिरहुतियाहरूले काठमाडौं उपत्यका कब्जा गरेका थिए । सन् १३१३ मा खसराजा रिपु मल्ल र सन् १३२८ मा अर्का खसराजा आदित्य मल्लले पनि काठमाडौं उपत्यकामाथि हमला गरेका थिए । वि.सं. १४०६ मा बङ्गालका सुल्तान समसुद्दिनले त यहाँ लुटपाटै मच्चाए । आगजनी गरिदिए । पशुपतिनाथको मूर्ति फmुटाएर तीन टुव्रा बनाए । स्वयम्भूको धर्मधातु स्तूप ध्वस्त पारिदिए ।
पाल्पाका राजा मुकुन्द सेन प्रथमले पनि हमला गरेका थिए । उनले काठमाडौंलाई घेरा हाली थानकोट र कीर्तिपुरमा आगो लगाइदिए । राणाकालको उत्तरार्द्धतिर नेपाल आएका फ्रान्सेली लेखक सिल्भाँ लेभीले मुकुन्द सेनले गरेको हमलाबारे रोचक किंवदन्ती उल्लेख गरेका छन्–
‘एकजना मगरले काठमाडौंका घरका छाना, धाराका टुटीसमेत सुनका छन् भन्दै मुकुन्द सेनलाई उकासिदिएछ । यो सुनेर लोभिएका उनले घोडचडी सैनिकसहितको ठूलो दलबल उपत्यकामा उतारिहाले । पाल्पाली फौजसँग टिक्न नसकेर उपत्यकाका सैनिक भागाभाग हुन पुगे । तीनै शहरमा हाहाकार मच्चियो । लुटपाटमा उत्रिएको पाल्पाली फौजले रत्न–आभूषण त के छाड्थ्यो, अन्नबालीसमेत बाँकी नराख्ने भयो । यसबाट जोगिन कतिपय उपत्यकावासीले फौज आउनुअघि नै बारीको मुला उखेले । खेतको धान काटे अनि त्यसलाई जमिनभित्र लुकाए । लुटपाट मच्चाउने क्रममा मुकुन्द सेनले मत्स्येन्द्रनाथअगाडिको भैरवमूर्तिसमेत उखेलेर लगे । पाल्पाली सैनिक फर्किएपछि उपत्यकावासीले खाल्डोमा लुकाएको त्यही धान र मुला निकालेर खाना जोहो गरे । काठमाडौं उपत्यकामा हकुवा चामल र सिन्कीको फ्रचलन त्यही बेला सुर भएको रे !’
पृथ्वीनारायणले काठमाडौंमाथि हमला गर्नुको नियत पूर्ववर्तीहरूको जस्तो लुटपाट र आर्थिक लाभ थिएन । विजयपछि गोरखाली फौजले उपत्यकाका राजा तथा भारदारका सम्पत्ति नलुटेकैचाहिँ होइन । ब्राहृमणबाहेकका समुदायबाट खोसिएका रत्नादि बहुमूल्य द्रव्यहरूको चाङै लगाइएको र तिनलाई गन्न गर्गमुनिजस्ता मुख्य गणकबाट पनि सम्भव हुन नसकेको पृथ्वीनारायणका समकालिक कवि ललितावल्लभले आफ्नो भक्तविजय काव्यमा उल्लेख गरेका छन् । तर त्यति बेलाका सरकारी दस्तावेजहरू अध्ययन गर्दा पृथ्वीनारायणले नयाँ राज्य जितेपछि पराजित शासकको श्रीसम्पत्ति हरण गर्ने र स्थानीय बासिन्दाको निजी सम्पत्तिमाथिको अधिकार, रीतिथिति, चालचलन आदिलाई निरन्तरता दिने नीति लिएको देखिन्छ । कीर्तिपुर र अन्य केही ठाउँका एकाध सर्वसाधारणका सम्पत्ति हरण गरिएका अपवाद नपाइएका होइनन् ।
पराजित राजखलकलाई चाहिँ पृथ्वीनारायणले सम्पत्ति र ऐश्वर्यरहित बनाए । गोरखाली फौजले काठमाडौंका राजा जयप्रकाश मल्लकी आमाको घाँटीमा बचेको एकसरो हारसम्म बाँकी राखेन । उपत्यका गोरखामातहत आएपछि काठमाडौं छोडेर पटनाका लागि निस्किनै लाग्दा उनको हार खोसियो । वृद्धावस्थाका कारण दृष्टि गुमाएकी उनी विधवा नातिनीबुहारीका साथ जाँदै थिइन् । बुच्चै घाँटी पटना पुगेकी जयप्रकाशकी आमाको दीनहीन अवस्था देखेर आफूले आासु थाम्न नसकेको पादरी जिसेप्पीले उल्लेख गरेका छन् । जिसेप्पी तिनै इसाई मिसनरी हुन् जसलाई पृथ्वीनारायणले काठमाडौंबाट निकालेका थिए ।पृथ्वीनारायणको राज्यविस्तारको मूल उद्देश्य ती क्षेत्रमाथि स्थायी शासन सञ्चालन गर्नु नै थियो । मूल थलो गोरखाबाट राजधानी सारेर काठमाडौं ल्याउनुले उनको दीर्घकालिक राजनीतिक सोच झल्काउँछ ।
त्यो परिवेशमा राज्यविस्तार आलोच्य कदम थिएन । मल्ल र सेन शासकहरूले पनि क्षमताले भ्याएसम्म सीमाविस्तार गरेकै थिए । थ्वीनारायणकै मूल थलो गोरखा पनि विभिन्न कालखण्डमा पटकपटक पराजित झएको थियो । गोरखामा शाहवंश सुर गर्ने द्रव्य शाह लमजुङका राजकुमार थिए । उनीभन्दा अघि पश्चिम नेपालका खसराजा जितारि मल्लले विसं १३४४ तिर गोरखा र आसपास क्षेत्र जितेका थिए । मल्लराज्यमाथि पृथ्वीनारायणले विजय हासिल गरेजस्तै विसं १५२४ तिर भक्तपुरका राजा यक्ष मल्लले पनि गोरखालाई आफूअन्तर्गत ल्याएका थिए । पृथ्वीनारायणसँग पराजित सेनवंशले पनि कुनै बेला गोरखामाथि शासन चलाएको थियो । यी उदाहरणले पुष्टि गर्छन्– पहाडी क्षेत्रमा राज्यविस्तारको आकाङ्क्षा राखी अन्य राज्यमाथि बलपूर्वक कब्जा जमाउने प्रचलन पृथ्वीनारायणभन्दा निकै अघिदेखि थियो । उनले त्यही आकाङ्क्षालाई विरासतका रूपमा ग्रहण गरे । पृथ्वीनारायणको राज्यविस्तार अभियान हिंसाकै जगमा उभिएकोमा दुई मत छैन । हिंसा (युद्ध) मार्फत त्यो सम्भव पनि भयो । बेलायती लेखक जोन हृवेल्पटनले यो अभियानलाई विशुद्ध सैन्य–विजय उल्लेख गरेका छन् । यही तर्कमा टेकेर कतिपयले पृथ्वीनारायणको व्यापक आलोचना गर्छन् । आधुनिक नेपाल हिंसाको जगमा खडा हुनुलाई दुर्भाग्य मान्छन् उनीहरू । शान्तिपूर्ण तबरले गरिएको एकीकरणमात्र सर्वमान्य हुने उनीहरूको मत छ । कम्युनिस्ट लेखक आहुतिले लेखेका छन्– ‘संसारको इतिहासमा सबै एकीकरण बल प्रयोगबाटै भएको भन्ने सही होइन । हजरत मोहम्मदले आजभन्दा १४ सय वर्षपहिले इस्लामको एकीकरण वर्वर युद्धमा होमिएका सयौं कबिलाहरूको बीचमा छलफल र एकताद्वारा हासिल गरेका थिए । आजको संयुक्त राज्य अमेरिका र विघटित सोभियत सङ्घ दुवै नै छलफल र एकताद्वारा एकीकृत भएका थिए ।’
अपरिपक्व जगमा उभिएकै कारण विघटन भइसकेको तात्कालिक सोभियत सङ्घको चर्चा नगरौं तर आहुतिले भनेजस्तो इस्लामिक राज्य निर्माण बल प्रयोगबिनै सम्भव भएको होइन । हजरतले जीवनको अन्तिम १० वर्ष सैन्य कमान्डरका रूपमा बिताएका थिए । उनले मदिनाको शासक भएर मक्कालगायत ठाउँमाथि युद्ध छेडेका थिए । संयुक्त राज्य अमेरिका निश्चय पनि विभिन्न राज्यहरूबीचको छलफलबाट निर्माण भएको हो । युरोपेली उफनिवेशवादी शक्तिविरद्ध लड्न हिंसा सङ्गठित गर्नुपर्छ भन्ने उनीहरूले महसुस गरे । यद्यपि अब्राहम लिङ्कनसम्म आइपुग्दा अमेरिकी एकतामा ठूलो दरार उत्पन्न भयो । दक्षिणी राज्यहरूलाई संयुक्त राज्य अमेरिकाबाट छुट्टिन नदिन १९औं शताब्दीको मध्यतिर एक लाखभन्दा बढी अमेरिकीको रगतको खोलो बगाइएको थियो ।
पृथ्वीनारायणको नेतृत्वमा खास गरी कीर्तिपुरमा मच्चाइएको हिंसाको आलोचना गर्दै अध्येता राजेन्द्र महर्जनले लेखेका छन्– ‘कसैले युद्धमा लिइने अङ्गच्छेदको प्रतिशोध त बृहत् राष्ट्रिय उद्देश्यसामु गौण हुने तर्कको खेतीपाती गर्ने क्रम जारी छ । विशेषतः राष्ट्रिय एकीकरण र एकताका लागि युद्धमा जे पनि जायज हुने तर्कको खेती अचेल लहलहाएको छ ।’ वर्वर हिंसा प्रयोग भएकाले पृथ्वीनारायणको अभियान गलत रहेको र यसलाई राष्ट्रिय एकीकरण मान्न नसकिने महर्जनको तर्क छ । पृथ्वीनारायणको अभियान विशुद्ध राज्यविस्तार हो तर त्यस क्रममा प्रयोग भएको हिंसालाई पूर्णतः अस्वीकार गर्नुचाहिँ राज्यनिर्माणको आधारभूत पक्षप्रति आँखा चिम्लिनुसरह हो । हिंसाबिना राज्यस्थापनाको परिकल्पना गर्नु जग नहालीकन आलिसान महल ठड्याउने सपना देख्नुसरह हो । मार नहानीकन साप्रा लुछ्ने चाहना राखेजस्तो । राज्यनिर्माण प्रक्रियासँग हिंसा कसरी अभिन्न छ भन्ने प्रकाश पार्न फ्रान्सिस फुकुयामाले ‘द ओरिजिन अफ पोलिटिकल अर्डर’ लेखेका छन् । उनले चिम्पान्जीमाझ हुने हिंसासमेतको अध्ययन गरेर मान्छेले जङ्गली युगदेखि नै हिंसाको प्रयोगमार्फत राज्यनिर्माण प्रक्रियालाई कसरी अघि बढाउँदै लग्यो भन्ने चर्चा गरेका छन् ।
अर्का लेखक चार्ल्स टिलीले राज्यसँग हिंसाको अन्योन्याश्रित सम्बन्ध प्रस्ट्याउन राज्यलाई ‘सङ्गठित अपराध गर्ने वैधानिकता पाएको विशाल झुन्ड’ भनेका छन् ।राज्यले युद्धदेखि कर असुलीसम्मका काममा हिंसा प्रयोग गर्छ । महाभारतमा यक्ष र युधिष्ठिरबीच सबाल–जवाफ हुँदा पनि यस्तै भाव व्यक्त गरिएको छ । यक्षले युधिष्ठिरलाई ‘ब्राहृमण, नट र नर्तक, सेवक र राजा, यी चारलाई दान किन दिइन्छ ?’ भनी सोध्छन् । युधिष्ठिर जवाफ दिन्छन्– ‘ब्राहृमणलाई धर्म, नट र नर्तकलाई यश तथा सेवकलाई उनीहरूको भरणपोषणका निम्ति दान दिइन्छ । राजालाई भयका कारण दान (कर) दिइन्छ ।’
कल्पना गरिहेरौं, पृथ्वीनारायणको नेतृत्वमा गोरखाले राज्यविस्तार अभियान आरम्भ नगरेको भए के हुन्थ्यो ? निम्न दुईमध्ये कुनै एक अवस्था निम्तिन सक्थ्यो । पहिलो– छिन्नभिन्न अवस्थामा रहेको नेपाललाई एकपछि अर्को गरी बेलायतले निल्दै जान्थ्यो । दोस्रो– गोरखाबाहेक अन्य कुनै राज्यको नेतृत्वमा राज्यविस्तार अभियान अघि बढी नेपाल आजकै जस्तो स्वरूपमा आइपुग्थ्यो । पृथ्वीनारायण राजा बन्दाताका गोरखाभन्दा बलिया राज्य थुप्रै थिए । राज्यविस्तार अभियान सञ्चालन गर्न सक्ने हैसियत पनि उनीहरूसँगै बढी थियो । गोरखाले नथालेको भए अर्को कुनै राज्यले यसको नेतृत्व लिन सक्थ्यो । भारतमा मराठा र बेलायतले निरन्तर राज्यविस्तार गरिरहँदा पृथ्वीनारायणले त्यसको मनोवैज्ञानिक प्रभाव आत्मसात् गरेका थिए । चाँडै नेपालतर्फ त्यो खतरा सोझिन सक्ने सम्भावना अरू राजाहरूलाई पनि पक्कै छिपेको थिएन । त्यो मनोवैज्ञानिक प्रभावलाई दृढ–सङ्कल्पमा बदलेर राज्यविस्तार आरम्भ गर्न पृथ्वीनारायणभन्दा ती राजालाई बढी सहज हुन्थ्यो ।
काठमाडौं उपत्यकाका राज्य गोरखाभन्दा हरेक दृष्टिले सबल थिए । माटो बढी मलिलो भएकाले त्यहाँको कृषि–उत्पादन राम्रो थियो । तिब्बत र भारतबीचको व्यापारबाट काठमाडौंले लिच्छविकालदेखि नै मनग्गे कमाउँदै आएको थियो । मगर, खस र बगाले थापाजस्ता लडाकू जाति भनिएकाहरूको पनि कमी थिएन त्यहाँ । सामरिक रूपमा उपत्यका बढी सुरक्षित थियो । गोरखाली फौजले हमला गर्दा काठमाडौंका मल्लराजाहरूले सजिलै धपाउने गरेका थिए । मकवानपुर र पाल्पाका सेनराज्य पनि गोरखाभन्दा सशक्त थिए । मकवानपुरका सेनराजाहरूले अहिले नेपाल भनिने भूभागमा सर्वप्रथम बन्दुक–पत्थरकला पैठारी गराएका थिए । यति हुँदा पनि पृथ्वीनारायण नेतृत्वकै राज्यविस्तार अभियानले सफलता पायो ।
किन ? इतिहासविद् महेशचन्द्र रेग्मीका अनुसार यसका तीन कारण छन् । पहिलो– समग्र हिमाली क्षेत्रमाथि विजय सम्भव नभए पनि अधिकांश हिमाली क्षेत्रलाई आफ्नो बनाउनुपर्छ भन्ने दूरदर्शी नेतृत्व गोरखासँग थियो । दोस्रो– गोरखाले अन्य राज्यको तुलनामा ठूलो सङ्ख्यामा स्थायी सैनिक व्यवस्था गरेको थियो । तेस्रो– विजय–अभियान फैलादै जाँदा गोरखालाई करदाता, सैनिक, भरिया, श्रमिक, जमिन, जङ्गल, खानी आदि थप हासिल भयो । यसबाट अभियान अघि बढाउने सामर्थ्य पनि थपिँदै गयो ।
विसं १६३९ देखि १६७५ सम्म कान्तिपुरका राजा रहेका शिवसिंह मल्लले दोलखा, लिस्ती, केरुङ, मकवानपुर र सिंधुली जितेका थिए । उनले मोरङ क्षेत्रलाई पनि कान्तिपुरअन्तर्गत ल्याए । जनाति पार्थिवेन्द्र मल्लको पालामा तयार वंशावलीमा शिवसिंह मोरङसमेतका राजा हुन सफल भएको चर्चा गर्दै गरिएको छ ।
काठमाडौं उपत्यकाका यक्ष मल्लले पनि आफ्नो राज्य निकै विशाल बनाएका थिए । उनले गया, मगध, मिथिला, गोरखा, तिब्बतको सिकार्जोङसम्म सिमाना फैलाएको भनी उल्लिखित ऐतिहासिक सामग्री उपलब्ध छन् । यद्यपि तिनको प्रामाणिकतामा शङ्का गर्ने ठाउँ प्रशस्तै छ । त्यो राज्य विशाल थियो भन्नेचाहिँ निर्विवाद हो । उनको मृत्युपछि छोराहरूले दूरदर्शिता देखाउन सकेनन् । तीनै छोराले राज्य भाग लगाए । सिङ्गो मल्लराज्य पाटन, भादगाउँ र बनेपा गरी तीन टुक्रा हुन पुग्यो । विभाजनसँगै मल्लराज्यले विशाल नेपाल निर्माण गर्ने क्षमता फनि गुमायो । बरु तीनै राज्यबीच कलह सुर भयो । यसै कारण पनि पृथ्वीनारायणलाई उनीहरूमाथि विजय पाउन सहज भयो ।
(मैनालीको पुस्तक ‘शिलान्यास’ को सम्पादित अंश।)
-सुजित मैनाली प्रकाशित : वैशाख १४, २०७६ ०९:१३

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...