Showing posts with label Nepal History. Show all posts
Showing posts with label Nepal History. Show all posts

Friday, June 14, 2019

नुवाकोटमा सिन्दुरे जात्रा

नुवाकोटमा सिन्दुरे जात्रा
वैशाख १०, २०७६कृष्ण थापा
नुवाकोट — पृथ्वी नारायण शाहले नुवाकोट जितेको खुसियालीमा सुरु गरेको सिन्दुरे जात्रा अझै पनि निन्तर छ । पुरानो सदरमुकाम नुवाकोटको भैरवीथानमा जात्रा सम्पन्न भएको छ । राजप्रतिनिधि महेन्द्रकुमार शाहीले धामी र धमिनीलाई सिन्दुर छर्कने कार्य गरेपछि सिन्दुरे जात्रा सुरु भएको थियो ।
‘नुवाकोट जित्यौ भन्ने सन्देश दिन देवीको जात्रासँगै सिन्दुर जात्रा गरेको इतिहास छ,’ शाहीले भने ।जात्राअन्तर्गत विदुर नगरपालिका– ५ देवीघाटस्थित जालपादेवी मन्दिरबाट शनिबार राति धामीधमिनी, उपासे, राजप्रतिनिधि, नुवाकोट भैरवीको रथमा अष्टमातृका, बाह्रभाइ गणको मुकुटसहितको खट भैरवीथानमुनि धारपानीमा बिसाउने चलन छ । आइतबार साइत हेरेर अपराहृन ३ बजेको समयमा गुभाजुले धामी र धमिनीलाई पूजाविधि गरे । सेनाले सलामी अपर्ण गरे । सरकारी पदाधिकारीसहित सेनाको ब्यान्ड बाजा, देवीको बजाइने बाजा, धिमे बाजासहित शक्ति पीठ भैरवीको खट, धामीधमिनीसहित भैरवीथान पुर्‍याए ।
कुमारीको उपस्थितिमा तान्त्रिक विधिअनुसार गुभाजुले धामीधमिनी, गणेशलाई विधिपूर्वक पूजा गरी गाजल लगाए । त्यसपछि राजप्रतिनिधि शाहीले धामी र धमिनीलाई सिन्दुर छरेर सिन्दुर जात्रा गरे । जात्रालुलाई सिन्दुर छर्किने, गाजल र सिन्दुरको टीका लगाउने चलन छ । जात्रा अवलोकन गर्न प्रदेश ३ का सभामुख सानु श्रेष्ठ, प्रदेश सांसद उच्च पदस्थ पदाधिकारी उपस्थित थिए ।
भैरवीमा सिन्दुर जात्रा गरेपछि बाजागाजासहित धामीलगायत झल्दरी छाता ओढाएर भैरवीको खट अघि लगाई साततले दरबारमा सेनाले भैरवी सलामी दिएको थियो । राजप्रतिनिधि शाहीको निवासमा हाँस बलि गर्दै भत्किएको पाँचतले तुलजा भवानीको प्रांगणमा सेनाले सलामी अर्पण गरे ।
धामी, धमिनी र गणेश र कुमारलाई तुलजा भवानीका उपासेहरूले भोज खुवाए । तलेजु भवानीको मन्दिरमा बलि चढाई भैरवीको खट र धामी भैरवी मन्दिर प्रांगण लामपाटी राखिएको छ । सिन्दुर जात्रा गरेपछि काठमाडौंको वसन्तपुरबाट कँडेलचोक भगवती नुवाकोट आउँछिन् । उनी नागपानीदेवी डिलमा एक रात बसेर फर्किएर लिंगो ढालेपछि १७ वैशाखमा सिन्दुरे जात्रा सम्पन्न हुने राजप्रतिनिधि शाहीले बताए । प्रकाशित : कान्तिपुर, वैशाख १०, २०७६ ०८:५१

पृथ्वीनारायणअघि क–कसले गरे काठमाडौं आक्रमण ?

पृथ्वीनारायणअघि  क–कसले गरे काठमाडौं आक्रमण ?
सुजित मैनाली, वैशाख १४, २०७६कान्तिपुर संवाददाता
विसं १८०१ मा गोरखाली फौजले काठमाडौंअन्तर्गतको नुवाकोट जितेसँगै आधुनिक नेपाल निर्माणफ्रव्रिया औपचारिक रूपमा आरम्भ भयो  । ...राज्यविस्तारको अभिलाषा राखेर त्यसतर्फ अग्रसर हुने यस क्षेत्रका पहिलो शासक थिएनन् पृथ्वीनारायण  ।
उनीअघि पनि थुप्रै शासकले काठमाडौंअन्तर्गतका भूभाग आफ्नो अधीन ल्याउने प्रयत्न गरेकै थिए । उनकै पुर्खा द्रव्य शाहले यस्तो आँटेका थिए । राम शाहको पालामा छेउछाउका घलेराज्यलाई जित्दै गोरखाको सीमा ललितपुर र काठमाडौंसम्मै जोडिन पुगेको थियो । नरभूपाल शाहले पूर्वतिर बढ्ने उद्देश्यले नुवाकोटमा हमला गरेर हार खाएका थिए ।
पितापुर्खाले गर्न नसकेको काम पृथ्वीनारायणले सम्भव तुल्याए । काठमाडौं खाल्डो कब्जा गर्न तम्सिने गोरखा एक्लो थिएन । विभिन्न राज्यले पटक–पटक हमला गरिसकेका थिए तर उनीहरूमध्ये अधिकांशको ध्येय त्यहाँ लुट मच्चाई आर्थिक लाभ लिएर फर्किनेमा सीमित थियो । सन् ७८२ मा कश्मीरका राजा जयापीड विनयादित्य नेपालमाथि हमला गर्न दलबलसहित आएका थिए तर कर्णाली नाघ्न सकेनन् । त्यति बेलाको सम्पन्न राज्य नेपालको वैभव लुटेर चरम आर्थिक सङ्कटबाट गुज्रिरहेको कश्मीरलाई त्यसबाट मुक्त गराउने उनको ध्येय थियो तर राजा अरमुडिले उनलाई पराजित गरी कालीगण्डकी किनारमै कैद गरिदिए । अरमुडिलाई राजतरङ्गिणीमा नेपालका राजा भनिएको छ ।
मिथिलामा कर्णाट–वंश स्थापना गर्ने राजा नान्यदेवले सन् १०९७ मा काठमाडौं उपत्यकामा हमला गरेका थिए । पश्चिम नेपालको सिञ्जा उपत्यकालाई राजधानी बनाएको खसराज्यका राजा जितारि मल्लले पनि विसं १३४४ मा हमला गरेका थिए तर काठमाडौंको फौजले ८ सय खसको संहार गरेपछि उनी फर्किए । विसं १३४५ मा जितारिले पुनः हमला गरे । काठमाडौंका गाउँहरूमा आगो लगाइदिनेजस्ता उत्पात मच्चाए ।
तिरहुत राज्यले सन् १२९० र सन् १३११ गरी दुईपटक आक्रमण गरेको थियो । पछिल्लो आक्रमणको एक वर्षसम्म तिरहुतियाहरूले काठमाडौं उपत्यका कब्जा गरेका थिए । सन् १३१३ मा खसराजा रिपु मल्ल र सन् १३२८ मा अर्का खसराजा आदित्य मल्लले पनि काठमाडौं उपत्यकामाथि हमला गरेका थिए । वि.सं. १४०६ मा बङ्गालका सुल्तान समसुद्दिनले त यहाँ लुटपाटै मच्चाए । आगजनी गरिदिए । पशुपतिनाथको मूर्ति फmुटाएर तीन टुव्रा बनाए । स्वयम्भूको धर्मधातु स्तूप ध्वस्त पारिदिए ।
पाल्पाका राजा मुकुन्द सेन प्रथमले पनि हमला गरेका थिए । उनले काठमाडौंलाई घेरा हाली थानकोट र कीर्तिपुरमा आगो लगाइदिए । राणाकालको उत्तरार्द्धतिर नेपाल आएका फ्रान्सेली लेखक सिल्भाँ लेभीले मुकुन्द सेनले गरेको हमलाबारे रोचक किंवदन्ती उल्लेख गरेका छन्–
‘एकजना मगरले काठमाडौंका घरका छाना, धाराका टुटीसमेत सुनका छन् भन्दै मुकुन्द सेनलाई उकासिदिएछ । यो सुनेर लोभिएका उनले घोडचडी सैनिकसहितको ठूलो दलबल उपत्यकामा उतारिहाले । पाल्पाली फौजसँग टिक्न नसकेर उपत्यकाका सैनिक भागाभाग हुन पुगे । तीनै शहरमा हाहाकार मच्चियो । लुटपाटमा उत्रिएको पाल्पाली फौजले रत्न–आभूषण त के छाड्थ्यो, अन्नबालीसमेत बाँकी नराख्ने भयो । यसबाट जोगिन कतिपय उपत्यकावासीले फौज आउनुअघि नै बारीको मुला उखेले । खेतको धान काटे अनि त्यसलाई जमिनभित्र लुकाए । लुटपाट मच्चाउने क्रममा मुकुन्द सेनले मत्स्येन्द्रनाथअगाडिको भैरवमूर्तिसमेत उखेलेर लगे । पाल्पाली सैनिक फर्किएपछि उपत्यकावासीले खाल्डोमा लुकाएको त्यही धान र मुला निकालेर खाना जोहो गरे । काठमाडौं उपत्यकामा हकुवा चामल र सिन्कीको फ्रचलन त्यही बेला सुर भएको रे !’
पृथ्वीनारायणले काठमाडौंमाथि हमला गर्नुको नियत पूर्ववर्तीहरूको जस्तो लुटपाट र आर्थिक लाभ थिएन । विजयपछि गोरखाली फौजले उपत्यकाका राजा तथा भारदारका सम्पत्ति नलुटेकैचाहिँ होइन । ब्राहृमणबाहेकका समुदायबाट खोसिएका रत्नादि बहुमूल्य द्रव्यहरूको चाङै लगाइएको र तिनलाई गन्न गर्गमुनिजस्ता मुख्य गणकबाट पनि सम्भव हुन नसकेको पृथ्वीनारायणका समकालिक कवि ललितावल्लभले आफ्नो भक्तविजय काव्यमा उल्लेख गरेका छन् । तर त्यति बेलाका सरकारी दस्तावेजहरू अध्ययन गर्दा पृथ्वीनारायणले नयाँ राज्य जितेपछि पराजित शासकको श्रीसम्पत्ति हरण गर्ने र स्थानीय बासिन्दाको निजी सम्पत्तिमाथिको अधिकार, रीतिथिति, चालचलन आदिलाई निरन्तरता दिने नीति लिएको देखिन्छ । कीर्तिपुर र अन्य केही ठाउँका एकाध सर्वसाधारणका सम्पत्ति हरण गरिएका अपवाद नपाइएका होइनन् ।
पराजित राजखलकलाई चाहिँ पृथ्वीनारायणले सम्पत्ति र ऐश्वर्यरहित बनाए । गोरखाली फौजले काठमाडौंका राजा जयप्रकाश मल्लकी आमाको घाँटीमा बचेको एकसरो हारसम्म बाँकी राखेन । उपत्यका गोरखामातहत आएपछि काठमाडौं छोडेर पटनाका लागि निस्किनै लाग्दा उनको हार खोसियो । वृद्धावस्थाका कारण दृष्टि गुमाएकी उनी विधवा नातिनीबुहारीका साथ जाँदै थिइन् । बुच्चै घाँटी पटना पुगेकी जयप्रकाशकी आमाको दीनहीन अवस्था देखेर आफूले आासु थाम्न नसकेको पादरी जिसेप्पीले उल्लेख गरेका छन् । जिसेप्पी तिनै इसाई मिसनरी हुन् जसलाई पृथ्वीनारायणले काठमाडौंबाट निकालेका थिए ।पृथ्वीनारायणको राज्यविस्तारको मूल उद्देश्य ती क्षेत्रमाथि स्थायी शासन सञ्चालन गर्नु नै थियो । मूल थलो गोरखाबाट राजधानी सारेर काठमाडौं ल्याउनुले उनको दीर्घकालिक राजनीतिक सोच झल्काउँछ ।
त्यो परिवेशमा राज्यविस्तार आलोच्य कदम थिएन । मल्ल र सेन शासकहरूले पनि क्षमताले भ्याएसम्म सीमाविस्तार गरेकै थिए । थ्वीनारायणकै मूल थलो गोरखा पनि विभिन्न कालखण्डमा पटकपटक पराजित झएको थियो । गोरखामा शाहवंश सुर गर्ने द्रव्य शाह लमजुङका राजकुमार थिए । उनीभन्दा अघि पश्चिम नेपालका खसराजा जितारि मल्लले विसं १३४४ तिर गोरखा र आसपास क्षेत्र जितेका थिए । मल्लराज्यमाथि पृथ्वीनारायणले विजय हासिल गरेजस्तै विसं १५२४ तिर भक्तपुरका राजा यक्ष मल्लले पनि गोरखालाई आफूअन्तर्गत ल्याएका थिए । पृथ्वीनारायणसँग पराजित सेनवंशले पनि कुनै बेला गोरखामाथि शासन चलाएको थियो । यी उदाहरणले पुष्टि गर्छन्– पहाडी क्षेत्रमा राज्यविस्तारको आकाङ्क्षा राखी अन्य राज्यमाथि बलपूर्वक कब्जा जमाउने प्रचलन पृथ्वीनारायणभन्दा निकै अघिदेखि थियो । उनले त्यही आकाङ्क्षालाई विरासतका रूपमा ग्रहण गरे । पृथ्वीनारायणको राज्यविस्तार अभियान हिंसाकै जगमा उभिएकोमा दुई मत छैन । हिंसा (युद्ध) मार्फत त्यो सम्भव पनि भयो । बेलायती लेखक जोन हृवेल्पटनले यो अभियानलाई विशुद्ध सैन्य–विजय उल्लेख गरेका छन् । यही तर्कमा टेकेर कतिपयले पृथ्वीनारायणको व्यापक आलोचना गर्छन् । आधुनिक नेपाल हिंसाको जगमा खडा हुनुलाई दुर्भाग्य मान्छन् उनीहरू । शान्तिपूर्ण तबरले गरिएको एकीकरणमात्र सर्वमान्य हुने उनीहरूको मत छ । कम्युनिस्ट लेखक आहुतिले लेखेका छन्– ‘संसारको इतिहासमा सबै एकीकरण बल प्रयोगबाटै भएको भन्ने सही होइन । हजरत मोहम्मदले आजभन्दा १४ सय वर्षपहिले इस्लामको एकीकरण वर्वर युद्धमा होमिएका सयौं कबिलाहरूको बीचमा छलफल र एकताद्वारा हासिल गरेका थिए । आजको संयुक्त राज्य अमेरिका र विघटित सोभियत सङ्घ दुवै नै छलफल र एकताद्वारा एकीकृत भएका थिए ।’
अपरिपक्व जगमा उभिएकै कारण विघटन भइसकेको तात्कालिक सोभियत सङ्घको चर्चा नगरौं तर आहुतिले भनेजस्तो इस्लामिक राज्य निर्माण बल प्रयोगबिनै सम्भव भएको होइन । हजरतले जीवनको अन्तिम १० वर्ष सैन्य कमान्डरका रूपमा बिताएका थिए । उनले मदिनाको शासक भएर मक्कालगायत ठाउँमाथि युद्ध छेडेका थिए । संयुक्त राज्य अमेरिका निश्चय पनि विभिन्न राज्यहरूबीचको छलफलबाट निर्माण भएको हो । युरोपेली उफनिवेशवादी शक्तिविरद्ध लड्न हिंसा सङ्गठित गर्नुपर्छ भन्ने उनीहरूले महसुस गरे । यद्यपि अब्राहम लिङ्कनसम्म आइपुग्दा अमेरिकी एकतामा ठूलो दरार उत्पन्न भयो । दक्षिणी राज्यहरूलाई संयुक्त राज्य अमेरिकाबाट छुट्टिन नदिन १९औं शताब्दीको मध्यतिर एक लाखभन्दा बढी अमेरिकीको रगतको खोलो बगाइएको थियो ।
पृथ्वीनारायणको नेतृत्वमा खास गरी कीर्तिपुरमा मच्चाइएको हिंसाको आलोचना गर्दै अध्येता राजेन्द्र महर्जनले लेखेका छन्– ‘कसैले युद्धमा लिइने अङ्गच्छेदको प्रतिशोध त बृहत् राष्ट्रिय उद्देश्यसामु गौण हुने तर्कको खेतीपाती गर्ने क्रम जारी छ । विशेषतः राष्ट्रिय एकीकरण र एकताका लागि युद्धमा जे पनि जायज हुने तर्कको खेती अचेल लहलहाएको छ ।’ वर्वर हिंसा प्रयोग भएकाले पृथ्वीनारायणको अभियान गलत रहेको र यसलाई राष्ट्रिय एकीकरण मान्न नसकिने महर्जनको तर्क छ । पृथ्वीनारायणको अभियान विशुद्ध राज्यविस्तार हो तर त्यस क्रममा प्रयोग भएको हिंसालाई पूर्णतः अस्वीकार गर्नुचाहिँ राज्यनिर्माणको आधारभूत पक्षप्रति आँखा चिम्लिनुसरह हो । हिंसाबिना राज्यस्थापनाको परिकल्पना गर्नु जग नहालीकन आलिसान महल ठड्याउने सपना देख्नुसरह हो । मार नहानीकन साप्रा लुछ्ने चाहना राखेजस्तो । राज्यनिर्माण प्रक्रियासँग हिंसा कसरी अभिन्न छ भन्ने प्रकाश पार्न फ्रान्सिस फुकुयामाले ‘द ओरिजिन अफ पोलिटिकल अर्डर’ लेखेका छन् । उनले चिम्पान्जीमाझ हुने हिंसासमेतको अध्ययन गरेर मान्छेले जङ्गली युगदेखि नै हिंसाको प्रयोगमार्फत राज्यनिर्माण प्रक्रियालाई कसरी अघि बढाउँदै लग्यो भन्ने चर्चा गरेका छन् ।
अर्का लेखक चार्ल्स टिलीले राज्यसँग हिंसाको अन्योन्याश्रित सम्बन्ध प्रस्ट्याउन राज्यलाई ‘सङ्गठित अपराध गर्ने वैधानिकता पाएको विशाल झुन्ड’ भनेका छन् ।राज्यले युद्धदेखि कर असुलीसम्मका काममा हिंसा प्रयोग गर्छ । महाभारतमा यक्ष र युधिष्ठिरबीच सबाल–जवाफ हुँदा पनि यस्तै भाव व्यक्त गरिएको छ । यक्षले युधिष्ठिरलाई ‘ब्राहृमण, नट र नर्तक, सेवक र राजा, यी चारलाई दान किन दिइन्छ ?’ भनी सोध्छन् । युधिष्ठिर जवाफ दिन्छन्– ‘ब्राहृमणलाई धर्म, नट र नर्तकलाई यश तथा सेवकलाई उनीहरूको भरणपोषणका निम्ति दान दिइन्छ । राजालाई भयका कारण दान (कर) दिइन्छ ।’
कल्पना गरिहेरौं, पृथ्वीनारायणको नेतृत्वमा गोरखाले राज्यविस्तार अभियान आरम्भ नगरेको भए के हुन्थ्यो ? निम्न दुईमध्ये कुनै एक अवस्था निम्तिन सक्थ्यो । पहिलो– छिन्नभिन्न अवस्थामा रहेको नेपाललाई एकपछि अर्को गरी बेलायतले निल्दै जान्थ्यो । दोस्रो– गोरखाबाहेक अन्य कुनै राज्यको नेतृत्वमा राज्यविस्तार अभियान अघि बढी नेपाल आजकै जस्तो स्वरूपमा आइपुग्थ्यो । पृथ्वीनारायण राजा बन्दाताका गोरखाभन्दा बलिया राज्य थुप्रै थिए । राज्यविस्तार अभियान सञ्चालन गर्न सक्ने हैसियत पनि उनीहरूसँगै बढी थियो । गोरखाले नथालेको भए अर्को कुनै राज्यले यसको नेतृत्व लिन सक्थ्यो । भारतमा मराठा र बेलायतले निरन्तर राज्यविस्तार गरिरहँदा पृथ्वीनारायणले त्यसको मनोवैज्ञानिक प्रभाव आत्मसात् गरेका थिए । चाँडै नेपालतर्फ त्यो खतरा सोझिन सक्ने सम्भावना अरू राजाहरूलाई पनि पक्कै छिपेको थिएन । त्यो मनोवैज्ञानिक प्रभावलाई दृढ–सङ्कल्पमा बदलेर राज्यविस्तार आरम्भ गर्न पृथ्वीनारायणभन्दा ती राजालाई बढी सहज हुन्थ्यो ।
काठमाडौं उपत्यकाका राज्य गोरखाभन्दा हरेक दृष्टिले सबल थिए । माटो बढी मलिलो भएकाले त्यहाँको कृषि–उत्पादन राम्रो थियो । तिब्बत र भारतबीचको व्यापारबाट काठमाडौंले लिच्छविकालदेखि नै मनग्गे कमाउँदै आएको थियो । मगर, खस र बगाले थापाजस्ता लडाकू जाति भनिएकाहरूको पनि कमी थिएन त्यहाँ । सामरिक रूपमा उपत्यका बढी सुरक्षित थियो । गोरखाली फौजले हमला गर्दा काठमाडौंका मल्लराजाहरूले सजिलै धपाउने गरेका थिए । मकवानपुर र पाल्पाका सेनराज्य पनि गोरखाभन्दा सशक्त थिए । मकवानपुरका सेनराजाहरूले अहिले नेपाल भनिने भूभागमा सर्वप्रथम बन्दुक–पत्थरकला पैठारी गराएका थिए । यति हुँदा पनि पृथ्वीनारायण नेतृत्वकै राज्यविस्तार अभियानले सफलता पायो ।
किन ? इतिहासविद् महेशचन्द्र रेग्मीका अनुसार यसका तीन कारण छन् । पहिलो– समग्र हिमाली क्षेत्रमाथि विजय सम्भव नभए पनि अधिकांश हिमाली क्षेत्रलाई आफ्नो बनाउनुपर्छ भन्ने दूरदर्शी नेतृत्व गोरखासँग थियो । दोस्रो– गोरखाले अन्य राज्यको तुलनामा ठूलो सङ्ख्यामा स्थायी सैनिक व्यवस्था गरेको थियो । तेस्रो– विजय–अभियान फैलादै जाँदा गोरखालाई करदाता, सैनिक, भरिया, श्रमिक, जमिन, जङ्गल, खानी आदि थप हासिल भयो । यसबाट अभियान अघि बढाउने सामर्थ्य पनि थपिँदै गयो ।
विसं १६३९ देखि १६७५ सम्म कान्तिपुरका राजा रहेका शिवसिंह मल्लले दोलखा, लिस्ती, केरुङ, मकवानपुर र सिंधुली जितेका थिए । उनले मोरङ क्षेत्रलाई पनि कान्तिपुरअन्तर्गत ल्याए । जनाति पार्थिवेन्द्र मल्लको पालामा तयार वंशावलीमा शिवसिंह मोरङसमेतका राजा हुन सफल भएको चर्चा गर्दै गरिएको छ ।
काठमाडौं उपत्यकाका यक्ष मल्लले पनि आफ्नो राज्य निकै विशाल बनाएका थिए । उनले गया, मगध, मिथिला, गोरखा, तिब्बतको सिकार्जोङसम्म सिमाना फैलाएको भनी उल्लिखित ऐतिहासिक सामग्री उपलब्ध छन् । यद्यपि तिनको प्रामाणिकतामा शङ्का गर्ने ठाउँ प्रशस्तै छ । त्यो राज्य विशाल थियो भन्नेचाहिँ निर्विवाद हो । उनको मृत्युपछि छोराहरूले दूरदर्शिता देखाउन सकेनन् । तीनै छोराले राज्य भाग लगाए । सिङ्गो मल्लराज्य पाटन, भादगाउँ र बनेपा गरी तीन टुक्रा हुन पुग्यो । विभाजनसँगै मल्लराज्यले विशाल नेपाल निर्माण गर्ने क्षमता फनि गुमायो । बरु तीनै राज्यबीच कलह सुर भयो । यसै कारण पनि पृथ्वीनारायणलाई उनीहरूमाथि विजय पाउन सहज भयो ।
(मैनालीको पुस्तक ‘शिलान्यास’ को सम्पादित अंश।)
-सुजित मैनाली प्रकाशित : वैशाख १४, २०७६ ०९:१३

नेपालको इतिहास



नेपालको इतिहास
कमल दीक्षित
अम्बिकाप्रसादको ‘नेपालको इतिहास’ ले दुई ओटा ‘नेपाली’ राज्यको इतिहास बताउँछ– नेपाल र रामनगरको।
नेपालको इतिहास नेपालीले त लेख्नै नहुने जस्तो थियो राणाकालभरि। लेखे पनि वंशावली सार्ने, त्यसैमा अलिकति आफ्ना मनमा लागेका तात्कालीन कुरा थप्ने र त्यो आफ्नै घरमा लुकाएर राख्ने गर्थे कोही निडर इतिहासप्रेमीहरू।
नेपालबाट भागेपछि (जङ्गपुत्र) पद्मजङ्गले अंग्रेजीमा लेखेको सानो इतिवृत्तबाहेक नेपालीहरू अरूले त आँटै गरेनन्। त्यस्तो बेला १९७९ सालमा भारतमै बसोबास भएका एक जना नेपाली ‘एड्भोकेट’ को एउटा किताब प्रकाशित भयो ‘नेपालको इतिहास’ भन्ने।
यो त हुनै नहुने कुरा, कसरी भयो? भन्ठाने रैथाने नेपालीले। तर उनीहरूलाई थाहा थिएन, महाराजको स्वीकृति पाएर नै भएको थियो त्यो काम। महाराज चन्द्रशमशेरका विश्वासपात्र दरबारिया व्यक्तिहरूको पहलमा भएको थियो, त्यो।
भारतीय बिहार राज्यको बेतिया निकट रहेको रामनगर राज्य नेपालका शाह खानदानका छोरीपट्टिका सन्तानको हैकममा थियो। उनीहरू पनि शाह नै कहलाउँथे। तिनका मन्त्री या ‘फौदार’ थिए अम्बिकाप्रसादहरू। त्यसै फौदार खलककी एउटी कन्यासँग महाराज चन्द्रका सल्लाहकार ‘माहिला पण्डित’ का एक छोराको विवाह भएपछि उनीहरूको पनि नेपाल आउने जाने बाटो खुल्यो।
एकपल्ट उनीहरू आएका बेला नेपालमै दुई ‘कुटुम्ब’ को सरसल्लाहपछि यो इतिहास लेख्ने निधो भएको बुझिन्छ। सल्लाहपछि अम्बिकाप्रसादलाई यताबाट केही सामग्री पनि उपलब्ध गराइयो र उनले पटनामा त्यो इतिहास लेखे। त्यो तयार भएपछि उनका काका देवीप्रसादले काशीमा त्यो प्रकाशित गरेका थिए।
मोटो गाता र भव्य ‘गेट–अप’ मा निस्केको त्यो किताब देखेर महाराज निकै प्रसन्न भए रे! किताबमा अघिल्तिरै राजसी पोशाकमा सजिएको उनको रङ्गीन फोटो थियो। किताब पनि अत्यन्त विनीत भावले उनैलाई ‘समर्पण’ गरिएको थियो। त्यस समर्पणवाक्यको अन्त्यमा एउटा आशीर्वाद–श्लोक समेत हालिएको थियो, यस्तोः
“स्वस्तिश्री मदतिप्रचण्डभुजदण्डेत्यादिपद्यान्वित।
नेपालक्षितिपाल तीनसरकार् सौर्यप्रतापान्वित।।
श्रीमान् चन्द्र नरेन्द्रका हजुरमा स्वस्ती हजारौं पुगुन्।
गुह्येशी पशुनाथले हजुरको सङ्कष्ट सारा हरून्।।”
यी त बाहिरी कुरा हुन् त्यस किताबको आकर्षणका। मुख्य कुरा थियो नेपालको इतिहासप्रति लेखकको आधुनिक दृष्टिकोण र त्यो इतिहास प्रामाणिक तथा वैज्ञानिक होस् भन्ने सचेतता।
पुस्तकको भूमिकाका प्रारम्भिक केही वाक्य हेरौं “वर्तमान समयमा प्रकाशित भएका देशदेशका इतिहासहरूमध्ये हिन्दीभाषामा लेखिएका नेपालका इतिहास दुई छन्। यौटा बाबू रामदीनसिंह लिखित र अर्को वेङ्कटेश्वर प्रेसका अध्यक्षद्वरा प्रकाशित भएको। तर यी दुवै थरि इतिहासमा लेखिएका धेरै कुराको जाँचबुझ् गर्दा ज्यादै नै भ्रमपूर्णता पाइन्छ।… राइट साहेवले अंग्रेजीमा अनुवाद गरेको यौटा नेपालको इतिहास पनि देखिन्छ।… यो इतिहास लेख्ता मैले पाएसम्मका सबै नेपालका इतिहासहरूको सहायता लिएको छु… डाक्टर राइट, पर्सी ब्राउन, ओलफील्ड, क्याप्टेन भ्यान्सिटार्ट… इत्यादि र नेपालका अनेक शिलालेख इत्यादि सामग्रीको संग्रहबाट यो पुस्तक तयार भएको छ…।”
‘नेपालको इतिहास’ का अम्बिकाप्रसादका यी प्राथमिक वाक्यहरू मार्मिक छन्। नेपालको इतिहास लेख्दा विदेशी लेखकहरूले धेरै भ्रमपूर्ण कुरा पनि लेखिदिए। तिनको संशोधन हुनु जरूरी छ भन्ने उनले बुझे अनि सकेजति गरे पनि। मेरो विचारमा नेपाली इतिहास–लेखनको श्रीगणेश गर्ने या भनौं नेपाली भाषामा लेखिएको नेपालको इतिहासको प्रथम पुस्तक कुन हो भनेर खोजिपस्ने हो भने यस पुस्तकभन्दा उँभो जान सकिंदैन। हुन त अम्बिकाप्रसादको त्यो इतिहास पनि त्रुटिरहित थिएन र नै उनको ‘इतिहास’ का धेरै कुरा ऐले काटिई संशोधन भइसकेका छन् तापनि उनले स्थापित गरेको मान्यता नै ऐले स्वीकृत भएको छ।
सर्वगुणसम्पन्न नभए पनि सर्वप्रथम छापिएको नेपालको आधुनिक इतिवृत्त अम्बिकाप्रसाद उपाध्यायको ‘नेपालको इतिहास’ एउटा महत्वपूर्ण र बेजोड पुस्तक हो भन्नैपर्छ। त्यसबाहेक सर्वप्रथम नेपालको इतिहासलाई प्राचीन, मध्यकालीन र आधुनिक गरी छुट्याई वर्गीकरण गर्ने पुस्तक पनि यही नै हो कि क्या।
अम्बिकाप्रसादले उस बेला खडा गरिदिएको त्यो काल विभाजनलाई ऐलेसम्म हाम्रा इतिहासकारहरू मोटामोटी पछ्याइरहेका छन्। यो पनि त्यस पुस्तकको एउटा विशेषता नै मान्नुपर्छ।
अम्बिकाप्रसादको यो किताब अर्को एउटा कुराले गर्दा पनि महत्वपूर्ण भएको छ। यस किताबले दुई ओटा ‘नेपाली’ राज्यको इतिहास बताउँछ। नेपाल त भयो नै तर अम्बिकाप्रसादले यसमा रामनगर राज्यको पनि इतिहास जोडेका छन्। उनको यस पुस्तकको नाम नै ‘नेपालको इतिहास र रामनगरको इतिहास’ भन्ने छ।
रामनगर राज्य भनेको नेपाली भाषी राजाहरूले शासन गरेको इण्डियाभित्रकै एउटा सानो राज्य हो। यो त्यस्तो एउटा मात्र राज्य थियो त्यस जमानामा ‘बिहार याण्ड उडिस्सा प्रोभिन्स’ अन्तर्गत। त्यस हिसाबले यो एउटा नौलो पुस्तक हुनपुगेको रहेछ हाम्रो नेपाली पुस्तक सम्पदामा।
अम्बिकाप्रसादको यो द्विदेशीय इतिहासमा नेपालको त शुरूदेखि त्यस बेलासम्म पाइएका साङ्गोपाङ्ग इतिवृत्त समेटिएका छन्। पुस्तकको एक–तृतीयांश अर्थात् १३० पृष्ठ ओगटे पनि रामनगर राज्यको भने अपूरो जस्तो लाग्छ किनभने त्यसले १८२७ सालदेखि एक सय वर्षको इतिहास मात्र बताउँछ।
नेपालका बहादुर शाहले तनहुँ आक्रमण गर्दा त्यहाँका राजा कुमारीदत्त सेन मारिएपछि भागेका उनका छोराहरू सोमेश्वर पर्वतमा लुकेर बसेका थिए। त्यताबाट एक छोरा तल झ्रेर इष्ट इण्डिया कम्पनीलाई बक्साई चम्पारनका केही तप्पाहरूमा रजाइँ चलाइबसेछन्। त्यही पछि रामनगर राज्य भएको रहेछ।
त्यहाँका राजा तेजप्रकाश सेनले बनारसमा श्री ५ रणबहादुर शाहकी छोरीलाई बिहे गरी चौथी रानी तुल्याएका थिए। उनको शेषपछि उनका सन्तानहरू बीच परेको मुद्दामामिला बेलाइतको ‘प्रिभि काउन्सिल’ सम्म पुगेको इत्यादि बताएर रामनगरको इतिहास टुंग्याइएको छ।

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...