१९ वर्षपछि सल:चा नाच
श्रावण २७, २०७४सुनीता साखकर्मी
काठमाडौं — भक्तपुर– २०५५ साल । मंसिरको महिना चिसिँदै थियो । सरकारले घोषणा गरेको ‘भिजिट नेपाल’ अभियानका कारण राजधानी भने तात्दै थियो । मुलुकभरका विभिन्न क्षेत्रबाट नाचगानसहितको झाँकी लिएर वसन्तपुर दरबार परिसर पुगे मध्यपुर ठिमी नगरपालिका ५ पोबु टोलका केही लोक कलाकारहरू ।
उनीहरूले ‘सल:चा प्याखं’ (घोडा चढेर नाचिने नाच) प्रस्तुत गरिरहँदा मान्छेहरूको भीड लोभलाग्दो थियो । राजकुमारको श्रीपेच र पहिरनमा सजिएका कान्छा भासिमा पहिलोपटक हजारौंको भीडमा प्रस्तुत भएका थिए । गाईजात्राको भोलिपल्टदेखि चार दिनसम्म लगातार नाचिने यो नृत्य कान्छा भासिमाले १६ वर्षको उमेरदेखि नाच्दै आएका थिए । वसन्तपुरको त्यो प्रस्तुतिपछि भने उनले नाच्न पाएनन् ।
१९ वर्षपछि आफ्नै टोलका पाँच जना नातिहरूले उनको यो सपना पूरा गर्ने भएका छन् । बुधबारदेखि यो नाच फेरि सुरु भएको छ ।
के हो सल:चा ?
लिच्छवी कालदेखि प्रचलनमा रहेको मानिने यो नाच ठिमी, पोबुका भासिमा समुदायले मात्रै नाच्दै आएका छन् । महाभारतमा कौरवहरूसँग जुवामा हारेपछि पाएको वनबास र गुप्तबास सकेर पाण्डवहरू वर्षौंपछि विजयोत्सव गर्दै घोडामा फर्किएको प्रसंगलाई यो नाचमा नाटकीय रूपमा प्रस्तुत गरिने यो लोक नृत्यका गुरु कान्छा भासिमाले बताए । उनका अनुसार गाईजात्राको भोलिपल्टदेखि चार दिन यो नृत्य निकालिन्छ । ‘पोसाकको रंगअनुसार पाण्डवको दाजुभाइ वर्गीकरण गरिएको हुन्छ,’ उनले यो नृत्यबारे भने, ‘कृत्रिम घोडामा धनुष लिएर श्रीपेचसहित कालो वस्त्रमा युधिष्ठिर, रातो वस्त्रमा भीम, नीलो वस्त्रमा अर्जुन, पहेंलो वस्त्रमा नकुल र सेतो वस्त्रमा सहदेवको रूपमा कलाकारहरूले अभिनय गर्छन् ।’
कान्छाजस्तै विकुमानले पनि यो नाच १६ वर्षको उमेरदेखि नै नाच्दै आएका थिए । उनलाई नाच्नका लागि परिवारले पनि प्रोत्साहन गर्थे । ‘नाच्न हत्तपत्त कसैले पाउँदैनथे । गुरुहरूले छानेर नाच्न लगाउनुहुन्थ्यो,’ उनले भने । उनका अनुसार घण्टाकर्णको भोलिपल्टदेखि नास दयो (नृत्यनाथ देवता) लाई तानेर प्रतिस्थापना गरी गाईजात्राको बेलुकीसम्म यो नृत्यको तयारी गरिन्छ । यसपछि खिं, टाँ, झयाली, पोङ्गालगायतका परम्परागत बाजा बजाएर गणेश, पशुपति, नृत्यनाथ, भगवती र भैरवको गीत गाइन्छ । यिनै गीतमा पाण्डवको जीवन व्याख्या पनि समेटिएको हुन्छ ।
किन रोकियो ?
‘भिजिट नेपाल’ को झाँकीमा डिकेश, कान्छा, वीरेन्द्र, विकास, प्रेम भासिमा नाचेका थिए । बिकुमानलगायत सबैलाई गुरुहरू अष्टमान र राजकुमार भासिमाले सिकाएका थिए । गुरुहरूकै नेतृत्वमा हरेक वर्ष नाच निकालिन्थ्यो । दुर्भाग्य, सोही वर्ष गुरुहरूको निधन भयो । ‘बूढा हुँदासम्म पनि गुरुहरूले नै नेतृत्व गरिरहनुभएको थियो,’ कान्छाले भने, ‘गुरु बित्नुभएपछि कसैले वास्तै गरेनन् । नयाँ पुस्ताहरू पनि सिक्छु भनेर कोही आएन ।’ तयारीका लागि पैसाको अभावले पनि नाच रोकिएको उनले खुलाए । ‘नाच्न जान्नेहरू पनि बिदेसिए,’ उनले भने, ‘पाँच जनाले नाच्ने भए पनि गीत गाउने, बाजा बजाउने, बत्ती बोक्ने, व्यवस्था मिलाउने गरी पचास/साठी जना चाहिन्छ । सरकारले पनि सहयोग गरेन ।’
अहिले सल:चा प्याखं व्यवस्थापन कमिटी बनाएरै उनीहरू लागेका छन् । नाच सिकाउँदादेखि अहिलेसम्म करिब ८ लाख रुपैयाँ खर्च भइसकेको अनुमान छ । ‘प्रत्येक परिवारबाट रकम उठाएका छौं,’ कमिटीका श्रीकृष्ण भासिमाले भने, ‘नगरपालिकाले पनि दिन्छु भनेको थियो तर अहिलेसम्म दिएको छैन ।’
यसरी फेरि सुरु गरियो
नाच्न छोडेपछि भासिमा टोलका मानिस बालकुमारी, दुई पोखरी, चपाचो, भुलाङखेललगायत ठाउँमा पुगेर गाईजात्रा हेर्थे । ‘त्यहाँ निकालिने महाकाली र भैरवको नाच देख्दा आफ्नो ठाउँमा गर्न नपाउँदा मन भने अमिलो भएर आउँथ्यो,’ बिकुलाल भासिमाले भने, ‘हाम्रो आफ्नो पहिचान र गौरव नै मेटिएर जाने भएपछि हामी तातियौं ।’
त्यसपछि उनीहरूले कान्छा भासिमा अध्यक्ष रहेको ‘सिद्धिकाली भजन खल:’ मा नाचबारे छलफल चलाए । २१ जना तन्नेरी रहेको सल:चा प्याखं व्यवस्थापन कमिटी नै बनाए । ‘पाँच जनालाई एक महिना बेलुकी दैनिक पाँच घण्टा प्रशिक्षण दिएपछि नाच्न सक्ने भयौं,’ कमिटीकै धनकाजी भासिमाले भने, ‘१९ वर्षपछि हाम्रो आफ्नै नाच निकाल्यौं ।’ यसका लागि नाच र गीतको जिम्मा बिकुलालले लिएका छन् भने बाजामा कान्छा, सुर्जमान, ब्रम्हकाजी, चन्द्रकृष्ण, हीराकाजी भासिमाले लिएका छन् । गीत गाउनेहरूमा ८४ वर्षे पृथ्वीमान भासिमादेखि श्रीकृष्ण, धनकाजी, चयन्द्र, रमेश, पूर्ण बहादुर, कृष्णलगायत छन् । यस वर्ष नाच्नका लागि निखिल, सुजेन, रौनिक, क्रिस र आयुष छानिएका छन् । उनीहरू ११ देखि १४ वर्षसम्मका छन् । गु्रपमा सबैभन्दा साना ११ वर्षका क्रिस कक्षा ६ मा पढ्छन् । उनले नेवारी परम्परागत बाँसुरी बजाउनसमेत सिकेका छन् ।
प्रकाशित : कान्तिपुर, श्रावण २७, २०७४ ०९:०९