Tuesday, February 19, 2019

छोरीलाई सुरक्षा


छोरीलाई सुरक्षा

सम्पादकीय, अन्नपूर्ण
 ०६ फागुन २०७५ ०६:४७:००
नेपाली समाजमा छोरी पूजनीय छन्। छोरीहरू देवीका रूपमा पुजिन्छन्। वर्षभरिका मुख्य चाडपर्वहरूमा दुर्गा, सरस्वती, लक्ष्मी, पार्वतीजस्ता अनेकन नामले छोरीको पूजा हुन्छ। दुर्भाग्य ! सृृष्टिका जननी छोरी आधुनिक समाजमा असुरक्षित छन्। निर्मला पन्त हुँदै पछिल्लोपटक धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरस्थित मगरटोलकी नौ वर्षीया अबोध बालिका रेशमा रसाइलीको निर्मम हत्या यसका उदाहरण हुन्। यस्ता घटना अचेल दैनिकजसो हुन थालेका छन्।
छिमेकमा बिहेको उत्सवमा नाचिरहेकी रेशमालाई राक्षसरूपी मनुष्यले नियन्त्रणमा लिई बलात्कारपश्चात् जलाएर वीभत्स हत्या गरेका छन्। यो कारुणिक निर्दयताले सिंगै गाउँ त्रस्त छ। अघिल्लो दिनसम्म घरआँगनमा नाच्दै रमाइलो गरेकी छोरी अहिले संसारमै नरहेको अपत्यार लाग्छ उनको परिवारलाई। रेशमाको हत्या भएको पाँच दिन बित्यो, न हत्याराको सुइँको पाएका छन् प्रहरीले, न त अनुसन्धानमा भरपर्दो उपलब्धि नै छ। छोरीका अभिभावकलाई यस घटनाले फेरि चसक्क बनाएको छ। कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको महिनौं बित्यो तर त्यसका अपराधी कानुनी दायराभन्दा बाहिरै छन्। पहिचानसम्म भएका छैनन्।
रेश्मा र निर्मला पन्तजस्ता कैयन् छोरीहरू फुल्न नपाउँदै निमोठिन्छन्। दिनहुँ छोरीहरूले समाजमा बर्बर यातना भोगिरहेका छन्। उनीहरूको बाँच्ने अधिकार पनि खोसिएको छ। कतिपय घरैदेखि असुरक्षित छोरीहरूले समाजसम्म आउँदा कहिले बलात्कृत, कहिले जल्नुपर्ने त कहिले यो संसारै छाड्नुपर्ने दुःखद अवस्था भोग्नु परिरहेको छ। छोरीहरू नरपिशाचको सिकार बनिरहँदा पनि राज्यले सुरक्षामा ठोस कदम चाल्न सकेको छैन। कानुन छ, कार्यान्वयन गर्ने निकाय छन्। तर प्रभावकारिता छैन। दण्डहीनता मौलाएको छ। अपराधी आँखैअगाडि हिँड्ने तर सुरक्षाकर्मीको दुर्बिनले नदेख्ने अचम्मको परिस्थिति यहीं छ। यिनै कारण छोरीका जीवन समाप्त पार्ने पापीहरूको मनोबल बढेको छ।
समाजमा छोरीलाई ‘सभ्य’ हुनुपर्ने, लाज मान्नुपर्ने, कुलको इज्जत राख्नुपर्ने, मर्यादामा बस्नुपर्नेजस्ता नियमहरू सानैदेखि सिकाइन्छ। तर यही समाज छोरालाई नैतिकताको पाठ पढाउनुपर्ने आवश्यकता कहिल्यै देख्दैन। छोरा भएपछि स्वच्छन्द हुने र मनलागी गर्न पाउने प्र श्रय घरबाटै पाउँछन्। असमानताको खाडल पनि यो अपराधको जड हो। अभिभावकले आफ्ना छोराहरू महिलाप्रति कस्ता विचार राख्छन्, के–कस्ता व्यवहार गर्छन् वा कसरी प्रस्तुत हुन्छन् भन्नेमा हेक्का राख्नु जरुरी छ। तर त्यसको अनुभूत भएको देखिँदैन। त्यसैले यो अवस्था आउनुमा समाज र परिवार पनि दोषी छन्।
आजको चेतनशील समाजका उन्नत भनिएकाहरूबाट दिनप्रतिदिन छोरीहरू बढी मात्रामा प्रताडित बनेका छन्। गरिबी असुरक्षाको अर्को कारण हो। सानो चकलेटबाट लोभिनुपर्ने मनोवैज्ञानिक बाध्यता यस्ता घटनाका मुख्य कारक हुन्। अतः बालिका बलात्कार, हत्याजस्ता घटना देशको आर्थिक–सामाजिक समस्याका उपज पनि हुन्। यसको न्यूनीकरण तिनको सम्बोधनबाट पनि सम्भव हुन्छ। अर्कोतिर छोरीहरू समाजमा तिरस्कृत मात्र होइन, आफन्तबाट समेत असुरक्षित बन्नुपरेको छ। न्यायको ढोकामा तिनका लागि ताला लागेको हुन्छ। अनेक बाध्यताले तिनले उल्टै मुन्टो निहु¥याएर हिँड्नुपर्ने हुन्छ।
समाज जतिजति आधुनिक बन्दैछ, त्यतित्यति जंगली चरित्र धारण गर्दैछ। जतिजति सभ्यताका आधुनिक रूप ओगट्दै छ, त्यतित्यति असभ्य पशुतुल्य बन्दैछ। किन मान्छे सामान्य मानवीय सचेतनाबाट टाढा हुँदैछ ? नैतिकता र इमानदारीको पथबाट क्रमशः किन च्युत बन्दै छ मान्छे ? समाजका लागि यो प्रश्न तेर्सिएको छ। सरकार र सुरक्षाका निकायका लागि त यो झन् कडा चुनौती बनेर उभिएको छ। कतिपय अवस्थामा सुरक्षा दिनेबाटै असुरक्षा हुनु थप दुःखद मानिन्छ। समाज हिंस्रक बन्दैछ। मान्छे पशुतुल्य हुँदैछ। हरेक व्यक्तिले आआफ्ना ठाउँबाट छोरीलाई सम्मान गर्ने र स्वतन्त्रतापूर्वक जन्मन र जिउन पाउने अवस्था सुरक्षित गरिदिने हो भने समुन्नत समाज निर्माण हुन समय लाग्ने थिएन। छोरी सुरक्षित हुने थिए। राज्य इज्जतिलो बन्ने थियो। सम्बन्धित सबैले सोचून्।

किरात राई प्राज्ञिक गोष्ठी


किरात राई प्राज्ञिक गोष्ठी
फाल्गुन ३, २०७५कान्तिपुर संवाददाता
काठमाडौँकिरात राई भाषा, संस्कृति र इतिहासलाई पुस्ता हस्तान्तरण तथा संरक्षण गर्न प्राज्ञिक गोष्ठी आयोजना गरिएको छ । नलेखिएका सभ्यता र संस्कृतिको खोज तथा अनुसन्धान गरेर लिखित रुपमा नयाँ पुस्तामाझ कसरी पस्कने भन्ने सन्दर्भमा किरात राई प्रज्ञा परिषद्ले गोष्ठी आयोजना गरेको हो  
खासगरी वल्लो किरात, माझकिरात तथा पल्लो किरात भएर बसेका किरातीहरुका इतिहास र अस्तित्वबारे चर्चामा आएपनि लिखित प्रमाणहरु कमै छन्। मुन्दुम, मातृभाषा र मिथकका आधारमा किरातीहरुका बारे गरिने व्याख्याहरु पटक पटक विरोधाभाष भइरहेका छन्। यसले गर्दा उपलब्ध स्रोत तथा साधनलाई फिल्टर गरेर अनुसन्धानमा आधारित किराती इतिहास लेख्नलाई सुझाव, सल्लाह तथा अन्तरक्रियाका लागि गोष्ठी गरेको किरात राई प्रज्ञा परिषद्का कुलपति जयकुमार राईले बताए। किरात राई प्रज्ञा परिषद्ले किरात राई यायोक्खाको अन्तरथङट्यागका रुपमा किराती भाषा संस्कृति संरक्षणमा काम गर्छ।

गोष्ठीमा प्राडा नोबलकिशोर राई, किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष तिलक राई, पूर्वकुलपति बैरागी काइँला, कुलपति गंगाप्रसाद उप्रेतीलगायतका थुप्रै प्राज्ञिक व्यक्तित्वहरु उपस्थित छन्। भाषाशास्त्री, समाजशास्त्री, संस्कृतिविद्, सरोकारवालासहित झण्डै १५० जनाको सहभागिता छ। किरात समुदायको संस्कार र संस्कृतिप्रति चासो राख्ने, अध्ययन तथा अनुसन्धान गरेका गैरकिरात प्राज्ञहरु पनि सहभागी छन्।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा शुक्रबार र शनिबार हुने गोष्ठीमा किराती इतिहास, समाज, खम्बुवानबाट हराएका सन्तानहरु, मुन्दुम दर्शन, भाषा, संस्कार तथा संस्कृतिका बारेमा छलफल तथा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ  यसअघि किरात संस्कृतिका बारेमा २०३९ मा झापामा प्राज्ञिक गोष्ठी भएको थियो। प्रकाशित : kantipur, फाल्गुन ३, २०७५ १६:१५

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...