Tuesday, February 19, 2019

छोरीलाई सुरक्षा


छोरीलाई सुरक्षा

सम्पादकीय, अन्नपूर्ण
 ०६ फागुन २०७५ ०६:४७:००
नेपाली समाजमा छोरी पूजनीय छन्। छोरीहरू देवीका रूपमा पुजिन्छन्। वर्षभरिका मुख्य चाडपर्वहरूमा दुर्गा, सरस्वती, लक्ष्मी, पार्वतीजस्ता अनेकन नामले छोरीको पूजा हुन्छ। दुर्भाग्य ! सृृष्टिका जननी छोरी आधुनिक समाजमा असुरक्षित छन्। निर्मला पन्त हुँदै पछिल्लोपटक धनुषाको मिथिला नगरपालिका– ३ हरिहरपुरस्थित मगरटोलकी नौ वर्षीया अबोध बालिका रेशमा रसाइलीको निर्मम हत्या यसका उदाहरण हुन्। यस्ता घटना अचेल दैनिकजसो हुन थालेका छन्।
छिमेकमा बिहेको उत्सवमा नाचिरहेकी रेशमालाई राक्षसरूपी मनुष्यले नियन्त्रणमा लिई बलात्कारपश्चात् जलाएर वीभत्स हत्या गरेका छन्। यो कारुणिक निर्दयताले सिंगै गाउँ त्रस्त छ। अघिल्लो दिनसम्म घरआँगनमा नाच्दै रमाइलो गरेकी छोरी अहिले संसारमै नरहेको अपत्यार लाग्छ उनको परिवारलाई। रेशमाको हत्या भएको पाँच दिन बित्यो, न हत्याराको सुइँको पाएका छन् प्रहरीले, न त अनुसन्धानमा भरपर्दो उपलब्धि नै छ। छोरीका अभिभावकलाई यस घटनाले फेरि चसक्क बनाएको छ। कन्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको महिनौं बित्यो तर त्यसका अपराधी कानुनी दायराभन्दा बाहिरै छन्। पहिचानसम्म भएका छैनन्।
रेश्मा र निर्मला पन्तजस्ता कैयन् छोरीहरू फुल्न नपाउँदै निमोठिन्छन्। दिनहुँ छोरीहरूले समाजमा बर्बर यातना भोगिरहेका छन्। उनीहरूको बाँच्ने अधिकार पनि खोसिएको छ। कतिपय घरैदेखि असुरक्षित छोरीहरूले समाजसम्म आउँदा कहिले बलात्कृत, कहिले जल्नुपर्ने त कहिले यो संसारै छाड्नुपर्ने दुःखद अवस्था भोग्नु परिरहेको छ। छोरीहरू नरपिशाचको सिकार बनिरहँदा पनि राज्यले सुरक्षामा ठोस कदम चाल्न सकेको छैन। कानुन छ, कार्यान्वयन गर्ने निकाय छन्। तर प्रभावकारिता छैन। दण्डहीनता मौलाएको छ। अपराधी आँखैअगाडि हिँड्ने तर सुरक्षाकर्मीको दुर्बिनले नदेख्ने अचम्मको परिस्थिति यहीं छ। यिनै कारण छोरीका जीवन समाप्त पार्ने पापीहरूको मनोबल बढेको छ।
समाजमा छोरीलाई ‘सभ्य’ हुनुपर्ने, लाज मान्नुपर्ने, कुलको इज्जत राख्नुपर्ने, मर्यादामा बस्नुपर्नेजस्ता नियमहरू सानैदेखि सिकाइन्छ। तर यही समाज छोरालाई नैतिकताको पाठ पढाउनुपर्ने आवश्यकता कहिल्यै देख्दैन। छोरा भएपछि स्वच्छन्द हुने र मनलागी गर्न पाउने प्र श्रय घरबाटै पाउँछन्। असमानताको खाडल पनि यो अपराधको जड हो। अभिभावकले आफ्ना छोराहरू महिलाप्रति कस्ता विचार राख्छन्, के–कस्ता व्यवहार गर्छन् वा कसरी प्रस्तुत हुन्छन् भन्नेमा हेक्का राख्नु जरुरी छ। तर त्यसको अनुभूत भएको देखिँदैन। त्यसैले यो अवस्था आउनुमा समाज र परिवार पनि दोषी छन्।
आजको चेतनशील समाजका उन्नत भनिएकाहरूबाट दिनप्रतिदिन छोरीहरू बढी मात्रामा प्रताडित बनेका छन्। गरिबी असुरक्षाको अर्को कारण हो। सानो चकलेटबाट लोभिनुपर्ने मनोवैज्ञानिक बाध्यता यस्ता घटनाका मुख्य कारक हुन्। अतः बालिका बलात्कार, हत्याजस्ता घटना देशको आर्थिक–सामाजिक समस्याका उपज पनि हुन्। यसको न्यूनीकरण तिनको सम्बोधनबाट पनि सम्भव हुन्छ। अर्कोतिर छोरीहरू समाजमा तिरस्कृत मात्र होइन, आफन्तबाट समेत असुरक्षित बन्नुपरेको छ। न्यायको ढोकामा तिनका लागि ताला लागेको हुन्छ। अनेक बाध्यताले तिनले उल्टै मुन्टो निहु¥याएर हिँड्नुपर्ने हुन्छ।
समाज जतिजति आधुनिक बन्दैछ, त्यतित्यति जंगली चरित्र धारण गर्दैछ। जतिजति सभ्यताका आधुनिक रूप ओगट्दै छ, त्यतित्यति असभ्य पशुतुल्य बन्दैछ। किन मान्छे सामान्य मानवीय सचेतनाबाट टाढा हुँदैछ ? नैतिकता र इमानदारीको पथबाट क्रमशः किन च्युत बन्दै छ मान्छे ? समाजका लागि यो प्रश्न तेर्सिएको छ। सरकार र सुरक्षाका निकायका लागि त यो झन् कडा चुनौती बनेर उभिएको छ। कतिपय अवस्थामा सुरक्षा दिनेबाटै असुरक्षा हुनु थप दुःखद मानिन्छ। समाज हिंस्रक बन्दैछ। मान्छे पशुतुल्य हुँदैछ। हरेक व्यक्तिले आआफ्ना ठाउँबाट छोरीलाई सम्मान गर्ने र स्वतन्त्रतापूर्वक जन्मन र जिउन पाउने अवस्था सुरक्षित गरिदिने हो भने समुन्नत समाज निर्माण हुन समय लाग्ने थिएन। छोरी सुरक्षित हुने थिए। राज्य इज्जतिलो बन्ने थियो। सम्बन्धित सबैले सोचून्।

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...