Friday, June 14, 2019

'तान्ने प्रथा' अझै

'तान्ने प्रथा' अझै
शिव उप्रेतीसमाज
०४ बैशाख २०७६ ०५:५०:००
कानुन छ, गाउँमा छैन
बिही (गोरखा)  : ‘केही दिनअघिको घटना हो, राति साढे ९ जति बजेको थियो होला । बहिनी र म गफ गर्दै सुतिरहेका थियौं । एक्कासि कसैले ढोका ढक्ढक्यायो । हामी आत्तियौं । मैले डराई–डराई ‘को हो’ भनें । बाहिरबाट केटा मान्छेले ‘म हो, रक्सी खान आएको’ भन्यो । ‘हाम्रो त रक्सी बेच्ने घर होइन’, भनें । ‘माथिल्लो घरको दाइ हो क्या म, ढोका खोल्’ भन्यो । अनि मैले बिस्तारै ढोका खोलेर हेरेको मात्र थिएँ, क्य्राक गाउँको केटा रहेछ । घरभित्र छिर्‍यो र मेरी बहिनीलाई जबरजस्ती तानेर बाहिर लग्यो । बाहिर उसको गाउँका केटा टन्नै रहेछन् । त्यसपछि मैले आमा र भाइलाई बोलाएँ । हामीले यतातिर, उनीहरूले उतातिर, एकछिनसम्म बहिनीलाई तानातान भयो । भर्खरसम्म सँगै सुतिरहेकी बहिनीलाई उनीहरूले तानेर लगे । आमा र भाइ धेरै टाढासम्म पछिपछि गएर केके समझदारी गरेर बहिनीलाई छुटाएर ल्याए । अहिले बहिनी भागेर काठमाडौं गएकी छ । उतै काम खोज्दै होली ।’
ह्यास ट्याग मीटु प्रयोग गर्ने दुनियाँलाई यो एकादेशको कथा जस्तो लाग्न सक्छ । तर, यो राजधानीबाट १४२ किलोमिटर पर गोरखाका ५० देखि ५५ कोस टाढा रहेका हिमाली गाउँको ताजा घटना हो ।
लामो समय लेबनान बसेर फर्केकी सोही ठाउँकी अर्की किशोरीलाई पनि केही समयअघि यसैगरी स्थानीय एक युवाले तानेर लगे । उनी उम्केर भाग्न सकिनन् । केही दिनसम्म घरभित्रै थुनिएर बस्नुपर्‍यो । अनि दाजुभाइको साझा दुलही भइन् । घरबाट भाग्ने मौका पाएपछि काठमाडौं गइन् । उतैबाट विदेश लागिन् ।
उनीहरूको मात्र पनि होइन, उत्तरी गोरखाका दुई दर्जन गाउँबस्तीका चेलीसँग यस्ता दर्दनाक कथाव्यथा छन् । चुमनुब्री गाउँपालिकाअन्तर्गत साबिकका बिही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिबास क्षेत्रमा जबरजस्ती तानेर बिहे गर्ने परम्परा पुस्तौंदेखि कायम छ । चिनेको होस् वा नचिनेको होस्, मन परेको होस् वा नपरेको होस्, केटाले मन पराएपछि जबरजस्ती तानेर दुलही बनाउने चलन रहेको वडा नम्बर ४ का अध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् । ‘यस्तो चलन बिहीमा अल्लि बढी छ । प्रोकमा पनि छ । अलिअलि त ल्हो, सामागाउँ र सिर्दिबासमा पनि छ’, उनले भने, ‘यो राम्रो चलन होइन, हटाउनुपर्छ ।’ यसबारे आफूले जनचेतना जगाउने उनको भनाइ छ ।
००
किशोरी असुरक्षित
युवाहरूले तानेर जबरजस्ती दुलही बनाउने (कु) प्रथाका कारण यस भेगका किशोरी असुरक्षित महसुस गर्छन् । मञ्जुरीबिना जबरजस्ती तानेर लाने र त्यसलाई ‘मौलिक परम्परा’ ठानेर नयाँ पुस्ताले पनि चुपचाप सहिदिँदा महिलाहरू आफ्नै घर, बाटो, पानीघट्ट, खेतबारीलगायत जहाँतहीं असुरक्षित रहेको शिक्षिका छिरिङ याङ्जोम बताउँछिन् । ‘घरमा बसिरहेको बेला होस् वा खेतबारीमा काममा जाँदा, पानीघट्टमा जाँदा, गुम्बामा जाँदा, मेलाजात्रातिर जाँदा जहाँबाट, जतिबेला पनि तान्न सक्छन्’, उनी भन्छिन्, ‘देशको नियमकानुन पनि लाग्दैन । त्यसैले हाम्रो गाउँका छोरीचेलीलाई कहीं पनि सुरक्षा छैन ।’
तल्लो (सहरी) भेगमा जस्तो महिला अधिकारको कुरा गाउँमा नरहेको किशोरी कुन्साङ ल्हामुको भनाइ छ । ‘यो तान्ने चलनचाहिँ पहिलेदेखि चलिआएको हो, तोड्न मिल्दैन भनेर बुवाआमाले पनि भन्नुहुन्छ । केटीहरूले पनि मान्नैपर्ने हुन्छ’, उनी भन्छिन्, ‘आमाबुवाले जबरजस्ती गरेर पनि तान्ने केटासँगै पठाइदिन्छन् । यहाँ त मानवअधिकार, महिला अधिकारको कुरा कहाँ छ र ? ’ केटाको र पुरानो चलनको फन्दामा परेका युवती बेस्सरी रुने उनी बताउँछिन् ।
जाडो महिनाभरि आरुघाट गाउँपालिकाको आर्खेतमा सञ्चालन भएको स्याला आधारभूत विद्यालयमा वार्षिक परीक्षा सकिएपछि एक महिना छुट्टी भयो । कक्षा पाँचको परीक्षा दिएकी सोनाम आङ्मो आफ्नो लामो छुट्टी मनाउन घर ड्याङ जान तयार भइन् । तर, उनलाई कोही तान्न आउँछन् कि भनेर कताकता डर लाग्यो । उनी भन्छिन्, ‘विद्यालय एक महिनालाई छुट्टी भएको छ । बिदामा घर जाऔं भने कोही नचिनेको मान्छे आएर तान्छ कि भन्ने डर लाग्छ । स्कुल पनि आर्खेतबाट स्यालामा सर्‍यो । सबै जना घरघरमा गएका छन् । म पनि घरमा आएको छु । भित्रभित्रै डर लागिरहन्छ ।’
०००
संस्कृति पनि विकृति पनि
तानेर विवाह गर्ने चलनलाई संस्कृतिका रूपमा पनि लिन सकिने यस क्षेत्रका पढेलेखेका युवाको भनाइ छ । ‘हाम्रो गाउँमा कि मागी विवाह हुन्छ, कि तानी विवाह हुन्छ’, प्रोकका निमा लामा भन्छन्, ‘प्रेम विवाह गर्ने चलन छैन । त्यसैले मिलेमतोमै केटाले ताने जस्तो गर्ने, केटीले नमानेको जस्तो गर्ने चलन छ ।’ तानेर बिहे गर्ने चलन कायम राख्न पनि तानेको अभिनय गर्ने गरेको उनको भनाइ छ । ‘केटा र केटीको माया प्रेम बसेको हुन्छ । बाआमासँग कुरा गर्दा मिल्दैन अनि केटाले तानेर लगे जस्तो गर्ने चलन पनि छ’, उनी भन्छन्, ‘यस्तो अवस्थामा देख्नेलाई चाहिँ जबरजस्ती गर्‍यो जस्तो पर्छ । तर, सहमतिमै भएको हुन्छ ।’
परापूर्वकालदेखि मान्दै आएको परम्परालाई सिरानी हालेर कतिपयले जबरजस्ती तान्ने गरेको उनी स्वीकार गर्छन् । ‘कतिपय केटाहरूले चाहिँ परम्पराको बद्नाम पनि गरेका छन्’, निमा भन्छन्, ‘कुनै केटी आफूलाई मन पर्‍यो भने उसले आफूलाई मन नपराएको भए पनि तान्दिने चलन छ । योचाहिँ विकृति हो ।’
कतिपयले कुनै युवती आफूसँग हाँसेर बोलिन् भने मन पराएको भन्ने भ्रममा परेर तान्ने गरेको उनी बताउँछन् । ‘तल्लो भेगमा जस्तो केटाकेटी मज्जाले हाँसेर बोल्ने चलन छैन । कोही केटी कोही केटासँग हाँसेर बोलिन् भने मन परायो अब ताने पनि हुन्छ भन्ने भ्रममा परेर केटाहरूले तान्ने गर्छन्’, उनले भने, ‘तानिसकेपछि मन नपराए पनि प्रायः विद्रोह गर्ने चलन छैन । मिलेर बस्न अभिभावकको पनि दबाब हुन्छ, साथीसंगीले पनि दबाब दिन्छन् । अचम्म त के भने, जो महिला यसअघि नै जबरजस्ती तानेर बिहेको फन्दामा परेका छन्, तिनले पनि मिलेर बस्न दबाब दिन्छन् ।’
आधाजसोले सहमतिमै तानेर बिहे गर्छन् भने आधाजसोले जबरजस्ती तान्ने गरेको सिर्दिबास न्याकका दीपेश गुरुङको तर्क छ । ‘५० प्रतिशत त सहमतिमै तान्ने चलन छ । बाँकी ५० प्रतिशतचाहिँ मन्जुरीबिना जबरजस्ती तान्ने चलन छ’, उनले भने ।
००
चौंरीको घिउले भित्र्याउने
तानेर लगेपछि साइत हेरेर चौंरीको घिउ र खादा लगाएर औपचारिक रूपमा बुहारी भिœयाउने चलन छ । ‘तान्नुअघि नै कुन दिन तान्ने, कुन दिन भिœयाउने भन्ने योजना बनिसकेको हुन्छ’, निमा भन्छन्, ‘केटीलाई थाहा नहुन सक्छ, केटाले भोलिपल्ट लगन जुरेको छ भने अघिल्लो दिनमा तानेर लान्छ । रातभरि केटी भाग्ने दाउ हेरिरहेकी हुन्छे । केटाहरू जसरी पनि छेक्ने भनेर घर घेरेर बसिरहेका हुन्छन् । भोलिपल्ट साइत हेरेर चौंरीको घिउ र खादा लगाएपछि औपचारिकता पूरा हुन्छ अनि भिœयाउने चलन छ ।’
केटी भित्रिन नमाने माइती पक्ष र उसका साथीसंगीलाई बोलाएर सगुन खुवाएर फकाउने चलन छ । अझै नमाने केही दिन थुनेर भए पनि मान्न बाध्य बनाउने स्थानीयको भनाइ छ । ‘तानिसकेपछि प्रायः स्थानीय केटाको पक्षमा हुन्छन् । केटीको पक्षमा कोही हुन्नन्’, निमा भन्छन्, ‘फेरि फर्काएर माइतमा लग्यो भने बेइज्जत हुन्छ भन्ने डरले पनि माइती पक्ष र साथीसंगीले बस्न बाध्य पार्छन् । दुई–तीन दिन थुनिसकेपछि बाध्य हुन्छन् ।’ त्यसपछि साइत हेरेर भिœयाउने उनले बताए ।
००
विद्रोह छैन
जबरजस्ती तानेर बिहे गर्नुलाई नयाँ पुस्ताले विकृति भनेर बुझेका छन् तर हटाउने प्रयास भएको छैन । काठमाडौंलगायत सहरतिर बस्नेहरूले यस्तो नगर्ने, गाउँतिर विरोध गर्ने तागत नहुने भएकाले परम्परा कायम रहेको निमा बताउँछन् । ‘काठमाडौं, गोरखातिर बस्नेहरूमा यस्तो हुँदै हुँदैन । त्यसैले उनीहरूलाई मतलबै भएन । गाउँमा बस्नेले विद्रोह गर्नै सक्दैनन्’, उनी भन्छन्, ‘सहमतिमा तान्ने परम्परा कायम राखेर जबरजस्ती तान्ने परम्परा तोड्नुपर्छ ।’
००
वडाध्यक्षको प्रतिबद्धता
शिक्षा र चेतनाको विकाससँगै साविक सामागाउँ, ल्हो, प्रोक र सिर्दिबास गाविसमा क्रमशः हट्दै गएको छ । तानेर विवाह हुने गरे पनि त्यहाँका अगुवाहरू ‘त्यस्तो चलन हटिसक्यो’ भन्न रुचाउँछन् । तर बिहीमा भने अधिकांश विवाह तानेरै हुने गरेको छ ।
‘यस्तो चलन राम्रो होइन’, वडाध्यक्ष सोनाम ग्याल्जेन भन्छन्, ‘तर अहिल्यै हटाइहाल भनेर आदेश दिन पनि गाह्रो छ । म अब छिट्टै आम भेला राखेर तानेर जबरजस्ती विवाह गर्ने नियम बन्द गर्न आग्रह गर्छु ।’ जबरजस्ती गरेको विषयमा प्रशासनमा उजुरी गर्ने चलन नभएको उनले बताए । ‘गाउँमा राम्रोसँग छलफल गरेर चलन हटाउन सकिएन भने कानुनी कारबाही गर्न बाटो खुला गर्छु । कानुन पल्टायो भने त धेरै ठूलो कारबाही छ ।’
००
कानुनमा के छ ?
मञ्जुरीबिना विवाह गर्ने–गराउनेलाई कानुनले दण्डजरिबानाको व्यवस्था गरेको छ । मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ७२ मा महिला वा पुरुष जो कसैको मञ्जुरी नभई भएको विवाह बदर गर्न सक्ने उल्लेख छ । त्यस्तै मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७२ ले मञ्जुरीबिना विवाह गर्न नहुने र कसैले गरे–गराएको छ भने त्यो व्यक्तिलाई दुई वर्षसम्म कैद र २० हजार रुपैयाँसम्म जरिबाना हुन सक्ने व्यवस्था छ । मुलुकी अपराध संहिता ऐन २०७४ कै दफा ३२ ले मञ्जुरीबिना विाह गरेमा क्षतिपूर्तिको व्यवस्थासमेत गरेको छ ।

नयाँ वर्ष जात्रामय

नयाँ वर्ष जात्रामय
वैशाख २, २०७६कान्तिपुर संवाददाता
भक्तपुर — नयाँ वर्षको अवसरमा जिल्ला जात्रामय बनेको छ । मध्यपुर थिमिमा प्रसिद्ध बिस्का जात्राको रौनक छ । अन्य ठाउँमा पनि जात्रा चलिरहेको छ ।
बिस्काको पाँचौं दिन अर्थात् नयाँ वर्षको पहिलो दिन वैशाख १ गते अघिल्लो दिन उभ्याइएको लिंगो ढालिएको छ । चैत मसान्तको दिन राति भेलुखेलमा बाजागाजासहित तान्त्रिक विधिपूर्वक उभ्याइएको ५५ हात लामो लिंगो दिनभर पूजाआजा गरी आइतबार साँझ ढालिएको हो ।
तान्त्रिक विधिपूर्वक दसकर्म विधान गरी लिंगोको कोखा (टुप्पो) मा नाग र नागिनीको प्रतीक स्वरूप दुईवटा ध्वजा बाँधी अष्टमातृकाको प्रतीक आठवटा डोरीले बाँधी उभ्याइने प्रचलन छ । लिंगोको कोखामा झुन्ड्याइएका दुईवटा ध्वजालाई वीरध्वजा, विश्वध्वजा, र आकाश भैरवका ध्वजासमेत भनिन्छ । भक्तपुरको प्रसिद्घ बिस्केट (बिस्का) को लिंगो जात्रा हेर्नाले सुख, समृद्घि, सहकाल आउनुका साथै शत्रु नास हन्छ भन्ने धार्मिक मान्यता रहेको स्थानीयको भनाइ छ ।
अष्टमात्रिकाको प्रतीक मानिने लिंगोमा नागनागिनाको प्रतीकस्वरूप हलिपतका ध्वजा बाँधेर फहराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालीको रथलाई एकापसमा जुधाइने परम्परा छ । लिंगो ढालिसकेपछि भेलुखेलबाट भैरवनाथ र भद्रकालीको रथ गःहिटी पुर्‍याएको छ ।
जात्राको आठौं दिन भक्तपुरमा रहेका सम्पूर्ण देवीदेवताको सगुन पूजा गरिन्छ । यसलाई स्थानीय नेवारी भाषामा द्यो सगं बिइगु भनिन्छ । जात्राको नवौं दिन वैशाख ५ गते बिहान तालाक्वस्थित उभ्याइएको ज्याठा गणेशको ‘ल्हा मरुम्ह यसीं’ हात नभएको लिंगो ढालिन्छ र बेलुका जात्राकोपहिलो दिनजस्तै भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सम्पन्न गरिने परम्परा छ ।
नेपाल संवत् २६८ अर्थात् लिच्छविकालभन्दा अगाडिदेखि राजा जगतज्योति मल्लले विशेष रूपमा मनाउने व्यवस्था गरेको इतिहासमा उल्लेख छ । त्यसपछि नेपाल संवत् ८२७ मा राजा भूपतिन्द्र मल्ल बिस्केट जात्रालाई थप व्यवस्थित गरीआठ रात र नौ दिनसम्म मनाउने प्रचलन बसाएको उल्लेख गरिन्छ ।
विक्रम संवतअनुसार सौर्य मासको आधारमा मनाइने बिस्केट जात्रा बिःसित अर्थात् नागनागिन मर्‍यो भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको बताइन्छ भने विश्व केतुको पछिल्लो रूपान्तरणका रूपमा समेत विश्वनाथ एवं भैरवनाथ तथा शिवशक्तिको प्रतीकका रूपमा जात्रा मनाउने प्रचलन रहेको इतिहास एवं संस्कृतिकर्मीहरू बताउँछन् । बिस्केटलाई सहकालको देवताको प्रतीकका रूपमा समेत लिइने इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् ।
त्यसैगरी, सूर्यविनायक नगरपालिका सिरुटार र दधिकोटको संगमस्थल चरखण्डी मन्दिरमा आइतबार स्नान गरी जात्रा मनाएको छ । चरखण्डी महादेव मन्दिरको कुण्डमा नुहाएर महादेवको पूजा गरे शरीरका सबै रोग नाश भई पुण्य प्राप्त हुने जनविश्वास रहेको स्थानीय बताउँछन् । प्रत्येक वर्ष वैशाख १ गते मनाइने चरखण्डी मन्दिर परिसरमा शरीरमा बत्ती बाल्ने प्रचलन छ । शरीरमा बत्ती बालेर बसेमा पाप नष्ट हुने एवम् पुण्य प्राप्त हुने जनविश्वास छ ।
चरखण्डी मन्दिरमा आइतबार बिहान सबेरैदेखि तीनवटा खटसहितको खटजात्रा मनाइएको छ । दधिकोटको विभिन्न क्षेत्र परिक्रमा गराई खट पुनः मन्दिर परिसरमा राखेर पूजा गर्ने गरिन्छ । सूर्यविनायक नगरपालिकाका चित्रपुर, ललितपुरको टीकाथलीस्थित गुप्तेश्वर महादेव, चाँगुनारायण नगरपालिका सुडाललगायत स्थानहरूमा खटसहितको जात्रा मनाएको छ ।
त्यस्तै, मध्यपुर थिमि विष्णुवीर, सिद्धिकाली, बालकुमारी, दक्षिण बाराहीलगायतको जात्रा मनाएको जनाएको छ । बिस्काकै अवसरमा सोमबार बिहान मध्यपुर थिमिमा ३२ खटसहित सिन्दुरजात्रा र दिउँसो बोडेमा जिब्रो छेड्ने जात्रा मनाउने परम्परा छ ।प्रकाशित : वैशाख २, २०७६ ०७:४८

कान्छा कपालीको सनई

कान्छा कपालीको सनई
प्रशान्त माली
एक दशकअघि रातो मत्स्येन्द्रनाथ जात्रामा म्वाली (सनई) बजेको सुनिन्थ्यो । पाटनका तत्कालीन राजा सिद्धिनरसिंह मल्लका ऐतिहासिक राजखड्गअगाडि बजाइन्थ्यो यो बाजा । संस्कृविदहरूका अनुसार लाखे नचाउँदा पनि अनिवार्य बजाउनुपर्थ्यो ।
अहिले यो सनईको धुन हराउँदै गएको छ । पाटन दुपा टोलका ७६ बर्षिय कान्छा कपाली नै अन्तिम सनईवादक बनेका छन् । ‘छोरा नातीले चासो देखाउन छाडे’, हालैको भेटमा कान्छाले गुनासो गरे, ‘अरुलाई के भन्नु ।’
कान्छाले १२ वर्ष उमेरमा म्वाली (सनई) बजाउन सिके । त्यति बेला उनको परिवारको गुजारा म्वाली बजाएरै हुन्थ्यो, घरमा बाली भित्रिन्थ्यो । त्यसैले उनलाई बुबाले बाजा सिक्न प्रस्ताव राख्नेबित्तिकै नाइँनास्ति गरेनन् । बुबाले जस्तै उनले पनि ३४ वर्षअघि छोरा रत्नलाललाई बाजा सिक्न आग्रह गरे । समय फेरियो, छोराले मानेनन् । ‘नगर प्रहरीमा जागिरे बन्नतिर पो लागे’, ७६ वर्षीय कान्छाले भने, ‘अब सनई बजाउने मान्छे नै छैनन् ।’
उनका अनुसार शंखमूलस्थित नारायण मन्दिर, मसानघाट र पाटन दरबार क्षेत्रस्थित तलेजु, भीमसेन मन्दिरमा पनि कुनैबेला दैनिक बिहान र साँझ सनई बजाउनु पर्थ्यो । अहिले यो चलन हराइसकेको छ । कात्तिक नाच मञ्चन गर्दा र सिंह जात्रा मनाउँदा मात्रै बजाउने चलन बाँकी छ । कान्छाका अनुसार मन्दिरमा बाजामार्फत विभिन्न देवीदेवताका नेपाल भाषामा लेखिएका गीत बाह्रै महिना फरकफरक गाउनुपर्थ्यो । ‘अहिले बाजासँगै गीत पनि हराउँदै गएको छ,’ उनले भने ‘यस बाजाको छुट्टै गुठी नभएकाले पनि जर्गेना गर्न गाह्रो परेको हो ।’
गार्‍हो त कान्छा स्वयंलाई पनि छ । उनी ढाड, घुँडा दुख्ने समस्याका कारणले मुस्किलले घर भित्र–बाहिर गर्छन् । स्थानीयवासी भने जसरी भए पनि उनले अरूलाई बाजा सिकाउनुपर्ने पक्षमा छन् । ‘छोरालाई त बाजा बजाउनुपर्छ, संस्कृति मास्नु हुँदैन भनेर सिकाउन सकिनँ’, उनले भने, ‘अरूको त कुरै छाडौं ।’ उनले पुराना समय सम्झे । तिनताक पाटनका कपाली समुदायका प्रत्येक घरका एक जना सदस्यले अनिवार्य बाजा बजाउन जानेका हुन्थे ।
पाटनमा कपाली समुदायको संख्या दुई सयको हाराहारीमा छन् । ०३८ मा ५ खलकमा सीमित भए । अहिले उनीसँगै बाजा बजाउन सिकेकामध्ये बाँचेकाहरू अशक्त छन् । ‘मैलेपनि जेनतेन चलाइरहेको छु । कहिले छोड्छु थाहा छैन’, उनले भने ।
उनका अनुसार ०४० सम्म बाजा बजाएबापत बाली भित्रिन्थ्यो । गुठी संस्थानबाट वार्षिक ५ मुरी धान दिन्थे । पछि जग्गा धनीले संस्थानमा केही रकम जम्मा गरी जग्गा रैतानीमा परिणत गरे । त्यसयता न गुठीले रकम दिए न त जग्गाधनीले बाली नै दिए ।प्रकाशित : वैशाख २, २०७६ ०८:२४

सिरुवा पर्व मनाइँदै

सिरुवा पर्व मनाइँदै
राजवंशी जातिले बैशाख १, २ र ३ गते सिरुवा पर्व मनाउने
वैशाख २, २०७६अर्जुन राजवंशी
बिर्तामोड — नयाँ वर्षसँगै राजवंशी समुदायको ‘सिरुवा पर्व’ सुरु भएको छ । तीन दिनसम्म मनाइने सिरुवाको पहिलो दिन वैशाख १ गते आइतबार झापाका राजवंशीहरूले उत्साहसाथ ‘पानी सिरुवा’ मनाएका छन् ।
राजवंशी जातिले वैशाख १, २ र ३ गते सिरुवा पर्व मनाउने गर्छन् । सिरुवा राजवंशीको प्रमुख चाड हो । पर्वकाअवसरमा ठाकुर–ब्र≈माणी, घाटोसरीसहित कुल देवीदेवताको पूजा गर्ने चलन छ । यो जातिले सिरुवाको पहिलो दिन बैशाख १ गते ‘पानी सिरुवा’, २ गते ‘काद सिरुवा’ र ३ गते ‘रंग सिरुवा’ खेलेर मनाउने गर्छन् । वर्षभरी शितलता प्राप्त होस् भन्ने कामना गर्दै आपसमा पानी छ्यापा–छ्याप गरेर परापूर्वकालदेखि पानी सिरुवा मनाउने चलन रहदै आएको ७७ वर्षीया नुकानी राजवंशीले बताइन् ।
सिरुवामा राजवंशी जातिले पर्वभरी दैनिक घर–आँगन लिप–पोत गरी सफासुग्घर राख्ने, लुगा–कपडा धुइपखाली गर्ने, कुल देवता, ग्रामथानको नियमित पूजा गर्ने, मीठा–मीठा परिकार बनाएर खाने तथा सिरुवा खेल्न छिमेकी गाउँ र मेला बजार जाने चलन छ । महिलाहरू सिरुवा पर्व सुरु हुनु एक हप्तादेखि परिवारका सदस्यहरूको शरीरमा घाउँ, खटिरा नओस्, वर्षभरि घरपरिवारमा सुख–शान्ति होस् भन्ने कामना गर्दै गाउँगाउँ घुमेर घाटोसरी गाउने चलन पनि छ ।
पानी सिरुवा कनकाई नगरपालिकाको घैलाडुब्बा, बाह्रदशी गाउँपालिका, गौरीगञ्ज गाउँपालिका १ कुञ्जिबारीलगायतका स्थानमा सामूहिक मनाइएको छ । पानी सिरुवा राजवंशी जातिका सबैले मनाउने गर्छन् । उनीहरूले पानी सिरुवा खेल्नुअघि बिहान खानाको सट्टा ‘गाजी–मुरी’ (चना–भुजा) र खेसरी दालको ‘बरी’ (चप) परिकार बनाएर खाने गर्छन् ।
घैलाडुब्बाको टेकनारायणबारीमा बिहान राजवंशी पुरुष तथा महिलाहरू जातीय पोसाक लगाएर पानी सिरुवा खेलेका थिए । कोचिला गाभूर फ्रन्टको आयोजनामा सामूहिक रूपमा गाजी–मुरी र दालको बरी खाएर जातीय सांस्कृतिक कार्यक्रमसाथ उनीहरूले पानी छ्यापा–छ्याप गरेर पानी सिरुवा खेले ।
पर्वका अवसरमा जिल्लाका आदिवासी गाउँहरूमा सिरुवा मेलाहरू समेत सुरु भएका छन् । चैत २९ गते गौरादह नगरफालिका ७ ग्वालडुब्बामा सामूहिक सिरुवा सांस्कृतिक कार्यक्रम गरियो । कार्यत्रममा स्थानीय राजवंशी महिलाहरूले नयाँ वर्षमा गरिने घाटोसरी पूजा समेत गरेका थिए । पछिल्लो समय सिरुवा सामूहिक रूपमा मनाउने चलन बढेको छ । ‘युवा पुस्तालाई पर्वबारे आकर्षित गर्न तथा जानकारी पस्किन सामूहिक रूपमा पानी सिरुवा खेल्ने कार्यक्रम आयोजना गरेको’ फ्रन्टका अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।
‘पहिला हामी गाउँगाउँ डुलेर पानी सिरुवा खेल्ने गर्दथ्यौं । तर, अहिले त्यो चलन हराएर गएको छ,’ ६० वर्षीया सावित्रा राजवंशीले भनिन्, ‘तर अहिले सामूहिक रूपमा पानी सिरुवा खेल्न पाउँदा निकै खुसी लागेको छ ।’
प्रकाशित : kantipur, वैशाख २, २०७६ ०९:२१

सुथः सिया बिस्का जात्रा

सुथः सिया बिस्का जात्रा
वैशाख २, २०७६तस्बिर : अंगद ढकाल
काठमाडौँ — बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले सोमबार बिहानैदेखि सिन्दुर खेलेर सुथः सिया जात्रा मनाएका छन् । बिहानैदेखि मध्यपुरथिमिको टोल टोलबाट विभिन्न देवताहरुको मूर्तिलाई खटमा विराजमान गराई खट बोकेर सिन्दुर खेल्दै पूजाआजाका साथ यो जात्रा मनाइएको हो ।
थिमिमा मात्र मनाइने यो जात्रामा एकअर्कामा सिन्दुर दलेर धिमे लगायतका स्थानीय बाजामा नाच्दै हातहातमा चिराग बालेर खट बोकी बालकुमारीमा ३२ खट ल्याएर भव्य रुपमा मनाउने परम्परा छ । यो जात्रा आज बिहानै बालकुमारी र कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालेको थियो । हिजोदेखि विष्णुवीर र दक्षिण बाराहीको खट समेत मन्दिरमा राखिएको थियो । विहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरु सहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।

जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ति लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोल स्थित देवता घर परिक्रमा गराइएको थियो । यसैगरि बिष्णुवीर, सिद्धिकाली लगायतका देवदेवीहरुको खट ल्याएर यो जात्रा मनाइएको छ ।
kantipur

रूपाकोट भरिभराउ

रूपाकोट भरिभराउ
हिमशृंखला, जडिबुटी, वन्यजन्तु र चराचुरुंगी देख्न पाइने भएकाले पर्यटकको घुइँचो
वैशाख २, २०७६डम्बरसिं राई
खोटाङ — वरिपरि हरियाली । गुराँस फुलेर ढकमक । रूख र ढुंगाका पहराहरूमा सुनाखरी लगायतका फूलहरू उस्तै । लहरै हिमालको दृश्यले झनै रमाइलो । यसैको मजा लिँदै युवा–युवतीदेखि पाकासम्मले भरिभराउ थियो रूपाकोट । नयाँ वर्षका अवसरमा आइतबार बिहानैदेखि पर्यापर्यटकीय रूपाकोट क्षेत्रमा रमाउनेहरू निक्कै नै उत्साहित देखिन्थे ।
विभिन्न हिमशृङखला, विभिन्न ठाउँको दृश्यावलोकन, जडिबुटी, वन्यजन्तु तथा विभिन्न पन्छी देख्न पाइने भएपछि यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
पर्यटकीयस्थल रूपाकोट क्षेत्रलाई पर्यावरणीय तथा धार्मिक केन्द्रबिन्दुका रूपमा चिनिन्छ । रूपाकोट मझुवागढी नगरपालिकामा पर्ने यो रमणीय रूपाकोटमा रमाइलो गर्न तन्नेरीहरू झुम्मिने गरेका छन् । प्राकृतिक मनोरम, जैविक विविधता, विभिन्न प्रजातिका चराचुरुङ्गी, लोपोन्मुख वन्यजन्तुका साथै महत्त्वपूर्ण जडिबुटी पाइने भएकाले यसक्षेत्रमा पर्यटक आउने गरेको स्थानीय सप्तमणि राईले बताए ।
सर्वोच्च शिखर सगरमाथाको चुचुरो तथा अन्य हिमालहरूको लस्कर देखिने सुखद् दृश्यले जो कोहीलाई लोभ्याउने रूपाकोट पुगेका पूर्वसांसद टंक राईले बताए । ‘यहाँबाट विभिन्न ठाउँको दृश्यावलोकन गर्नका साथै सयौं प्रजातिका चरा, वन्यजन्तु, जडिबुटी पाइन्छन् ।’ राईले थपे, ‘त्यसैले पनि रूपाकोट अति सुन्दर मनमोहक ठाउँ हो ।’
रूपाकोट पर्यापर्यटनको सुन्दर भविष्य बोकेको पर्यटकीय क्षेत्र भएकाले यसको प्रवर्द्धन गर्नुपर्ने दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं १२ का वडा अध्यक्ष विकास राईले बताए । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले भने रूपाकोट क्षेत्र पर्यापर्यटन विकासका लागि नगरपालिकाले योजनाबद्ध ढंगले काम सुरु गरेको बताए । यसका लागि पहिलो चरणमा भ्युटावर निर्माण सुरु गरिएको छ । उक्त भ्युटावरका लागि २७ लाख बजेट विनियोजन गरेर काम थालनी गरिएको हो ।
रूपाकोट जिल्लाकै पानीको स्रोत भएकाले पनि यसको संरक्षण समेत सुरु गरिएको छ । गत दुई वर्षदेखि विभिन्न ठाउँमा पोखरी निर्माण थालिएको छ । रूपाकोट क्षेत्रमा तत्कालीन जिल्ला वन कार्यालयले विभिनन पोखरी समेत निर्माण गरेको हो । पोखरीमा जमिने पानीले मुहान सुक्न नदिनुका साथै कालान्तरमा पानीको मुहान फुट्न भएकाले पोखरी निर्माण गरिएको हो ।
प्राकृतिक सौन्दर्यसँगै रूपाकोट क्षेत्रमै पर्ने सिद्धबाबाले बास गरेको गुफाको दर्शनका लागि उत्तिकै प्रशिद्ध मानिन्छ । मनोकांक्षा पूरा हुने विश्वासमा सिद्धबाबाको पूजा आराधना गर्ने चलन छ । घर–परिवारमा भव्य–तव्य नपरोस्, सुखशान्ति मिलोस, खेतीबाली सप्रियोस् तथा गाउँ समाज र पशुचौपाय दैविक प्रकोपमा नपरोस् भन्ने कामनासाथ सिद्ध बाबाको पूजाआराधना गर्ने चलन रहेको मुढेका बिचारी तामाङले बताए ।
यहाँ सिद्ध बाबाले तपस्या गरेको क्षेत्र भएकाले रूपाकोट क्षेत्र अत्यन्तै पवित्रा मानिन्छ । रूपाकोटको सिद्धथानमाथिको भ्युप्वाइन्टबाट हिमाललाई हेरेर मायालुलाई सम्झिए चिताएको पूरा हुने विश्वास गरिन्छ ।
स्थानीयका अनुसार रूपाकोटबाट देखिने हिमालहरूमध्ये नुम्बुर र कारेलुङ हिमालको बीचमा रहेको हिमालको नाम नभएकाले आफ्नो प्रियतमको नामबाट नामाङकन गरे अटल र अमर माया रहन्छ भन्ने जनविश्वास रहेको पूर्वसांसद टंक राईले सुनाए । ‘रूपाकोट घुम्न आउने हरेक जोडीले आफ्नो प्रियतमको नाममा उक्त हिमालको नाम राखिन्छ ।’ राईले भने, ‘यसो गर्दा प्रियजन बीचको नाता र मायाँ अटल र अमर हुन्छ भन्ने चलन छ ।
प्रकाशित : kantipur, वैशाख २, २०७६ ०९:२५

जंगलैजंगल बाघको पाल्की


जंगलैजंगल बाघको पाल्की
बूढानीलकण्ठ तौलुङका तामाङ बस्तीमा बाघद्वारको पानी र मेलाको ठूलो महत्व
वैशाख २, २०७६कान्तिपुर संवाददाता
काठमाडौँ — सिंगारिएको काठको पाल्की, भित्रचाहिँ ढलौटमा कुँधिएको बाघको मुकुट । यो अहिलेको हैन, रणबहादुर शाहकै पालाको मूर्ति हो । यही मूर्ति पाल्कीमा बोकेर बाघद्वारमा जोडेपछि सुरु हुन्छ मेला । चैत मसान्तको दिन सुरु भएर नयाँ वर्षको पहिलो दिन सकिने बाघद्वार मेलाको रौनक यस पटक भिन्न थियो ।
बूढाबूढीदेखि युवायुवतीहरू तीन घण्टा उकालो शिवपुरी जंगल हुँदै बाघद्वार पुगे । त्यहाँबाट टोखाको सपनतीर्थ आइपुगेर मेला सकाए । बूढानीलकण्ठ महानगरपालिका–१ तौलुङस्थित तामाङ बस्तीबाट सुरु हुने मेलाको रोचक इतिहास छ ।
बाघद्वार गुठी समितिका अध्यक्ष बमबहादुर लामाका अनुसार १६ औँ शताब्दीमा नुवाकोटबाट आएका आफ्ना पुर्खाले यो जात्रा सुरु गरेका हुन् । उनका पुर्खाको नाम लयुर च्यान थियो । तामाङ भाषामा ‘च्यान’ को अर्थ बाघ हुन्छ । उनकै सम्झनामा सुरु गरिएको यो मेला शाहवंशीय राजा रणबहादुर शाहले विधिवत् रूप दिए । ‘कथाअनुसार त्यति बेला काठमाडौं उपत्यकामा कुष्ठरोगको महामारी चलेको थियो । महारानीलाई कुष्ठरोगको लक्षण देखापर्‍यो,’ लामाले भने, ‘एक दिन घोडा सवारको क्रममा बाघद्वार पुगेर नुहाउँदा कुष्ठरोग निको भई हातखुट्टा राम्रो भएको कारण राजाले यो मेलालाई विधिवत् रूप दिएको मानिन्छ ।’
बौद्घ धर्मावलम्बीमाझ पनि अर्को किंवदन्ती प्रचलित रहेको उनले बताए । बुद्घ र उनका चेला शिवपुरी जंगल घुम्दाघुम्दै चेलाको कपाल लामो भयो । जंगलमा पानीको अभाव थियो । ‘अहिलेको बाघद्वारमा बुद्घले चेलाहरूलाई तिमीहरूको भाग्यमा भए पानी अवश्य आउनेछ भनी औँलाले खोप्दा पानी निस्केको किंवदन्ती छ,’ उनले भने ।
यस अर्थमा पनि बूढानीलकण्ठ तौलुङका तामाङ बस्तीमा बाघद्वारको पानी र मेलाको निकै ठूलो महत्त्व रहेको उनले बताए । हिन्दु धर्ममा पनि यो मेलाबारे किंवदन्ती प्रचलित छ । स्थानीय सुभद्रा खत्रीका अनुसार भक्त प्रह्लादको तपस्याबाट प्रशन्न भई शिव भगवान् हाँस्दा हाँसोको गुञ्जनले पहाड फुटेर पानी बग्न थालेको पौराणिक विश्वास छ ।
यो मेलाको सबैभन्दा महत्त्वपूर्ण सांस्कृतिक प्रतीक बाघको मुकुटलाई मानिन्छ । मल्लकालमै बनेको गुठीका अध्यक्ष लामाले दाबी गरे । स्थानीय अशोक लामाका अनुसार पाल्कीमा हालेर बाघको मुकुट बाघद्वारमा नपुर्‍याएसम्म मेलाले वैधानिकता पाउँदैन । तौलुङका तामाङ जातिले पुर्खासँग जोडेर भगवान् शिवप्रतिको आस्था भावको पूजा धार्मिक सहिष्णुताको हिसाबले अर्थपूर्ण रहेको उनी बताउँछन् ।
शिवपुरी राष्ट्रिय निकुञ्जभित्र बाघद्वारमा बूढानीलकण्ठ मन्दिरबाट करिब ३ घण्टा जतिको उकालो चढेपछि पुगिन्छ । मेलामा अवलोकन गर्न यहाँ हरेक वर्ष सबै जाति तथा समुदायका भक्तजनहरू आइपुग्छन् । मेला अवलोकनकै क्रममा भेटिएकी ७१ वर्षीया रुक्मिणी खनाल शंखमूलदेखि वाग्मतीको शिरमा रहेको बाघद्वारमा हिँडेरै आइपुगेकी थिइन् ।
स्थानीयका अनुसार एकै दिनमा शिवपुरी जंगलको शिव मन्दिर, बागद्वार, टोखाको सपनतीर्थ र भक्तपुरको बिस्केट जात्राको दर्शन गरेमा आँटेको पूरा हुने जनविश्वास छ । अघिल्लो दिन गएर शिवपुरीको जंगलको शिव मन्दिर भएको स्थानमा रातको बास बसी भोलिपल्ट बागद्वारमा स्नान गरेर सपनको तीर्थ र बिस्केट जात्राको दर्शन गर्ने चलन पछिल्लो समय भने संकटमा छ ।
राष्ट्रिय निकुञ्जभित्र रहेकाले रात्रिकालीन समयमा समस्या पर्ने र त्यसप्रति नेपाल सरकारले उचित ध्यान नदिएकोले गुठी समितिको गुनासो छ । ‘द्वन्द्वकालपछि त झन ठुलो समस्या आइलाग्यो’, अध्यक्ष लामाले भने, ‘हाल मेलामा भक्तजन आउने क्रम नै घटेको छ ।’ राति गएर बस्ने भक्तजनका लागि कुनै सुविधाको व्यवस्थापन नभएको कारण पानी असिना आउँदा समस्या हुने भएकाले अहिले मसान्तकै दिन भक्तजनहरू आउने क्रम घटेको हो ।
मेलामा काठमाडौं उपत्यकासँगै नुवाकोट, काभ्रेपलाञ्चोक, धादिङलगायत आसपासका जिल्लाका भक्तजनहरू पनि आउने उनले बताए । ‘५० हजारभन्दा बढी मानिसले यहाँ मेला भर्ने’ लामाले बताए, ‘सरकारको कम चासो र प्रचार प्रसारको पनि कमिले यो मेला ओझेलमा परेको हो ।’
– सुशीला तामाङ र सम्राज्ञी भण्डारी(प्रशिक्षार्थी)
प्रकाशित : वैशाख २, २०७६ ०८:२६

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...