Saturday, August 10, 2019

नेपाली भाषाको हारगुहार


नेपाली भाषाको हारगुहार

गणेश तिमिल्सिना
फुर्सद,  ०४ साउन २०७६ ०८:४४:००
भाषा
विचार-विनिमयका तीन तरिका (स्पर्श, सङ्केत र आवाज) मध्ये सबैभन्दा प्रभावकारी मानिएको आवाजभित्र पनि मानिसको बोलीसँग सम्बन्धित माध्यम हो, भाषा। पत्रपत्रिका सूचना प्राप्त गर्ने सशक्त माध्यम हो र यो पाठ्यसामग्री पनि हो। सञ्चार माध्यमले भाषालाई कसरी बिगारिरहेका छन् त ?
काडमाण्डौं, काठमाडौं, अंक, रुप लेखेको देखिन्छ। काठमाडौँ, अङ्क÷अङ्क, रूप लेखेको पाइँदैन। एफएम रेडियोहरूमा नेपाली भाषामै सञ्चालित कार्यक्रम तथा विज्ञापनलगायतमा अङ्ग्रेजी शब्दको बाहुल्य देखिन्छ। कार्यक्रम प्रस्तोता आफैंमा सन्देशको संवाहक भए पनि अङ्गे्रजी शब्दहरू, वाक्य एवम् संवादको बेसी प्रयोग गरेर आफूलाई आधुनिक साबित गर्न खोजेका हुन् कि भन्ने भान पर्न जान्छ। यिनमा एउटै कुरा पहिला अङ्ग्रेजीमा भनेर नेपालीमा अनुवाद गर्ने प्रवृत्ति पनि देखिन्छ। त्यति मात्र नभई विदेशी सामान धेरै पैसामा किनेर गुणस्तरीय र आकर्षक पहिरन लगाएँ भनेर गर्व गर्ने नेपाली समाजको झल्को स्तरीयता निर्धारणका लागि अङ्ग्रेजीमा दिइने विज्ञापनमा महसुस हुन्छ। विज्ञापन त झन् सबैले बुझ्नुपर्ने सरल र मौलिक भाषामा हुँदा पो प्रभावकारी हुन्थ्यो कि !
सकेसम्म आफ्नै भाषालाई बढावा दिऊँ। अन्य भाषाबाट नेपाली प्रचलनमा आएका रुढ शब्दलाई समेत हटाई अरू शब्द खोजी गरेर प्रचलनमा नल्याऊँ। केही उदाहरण : लाइभ कन्भर्सेसन, लाइक, लिटरल्ली, बट देन, टेक्निकल सपोर्ट, लास्ट गीत, सो अहिलेको टाइम, एउटा साइड एडभान्टेज अर्को साइड डिसएडभान्टेज। यस्ता पद-पदावलीका नेपाली रूप छैनन् र ?
टेलिभिजनमा नमस्कार भन्ने तर हात नजोड्ने किन हो ? उतातिर नलागौं, भाषामै केन्द्रित हुन्छु। हतारमा छिटो खबर सम्प्रेषण गर्ने क्रममा त्रुटिपूर्ण भाषाको प्रयोग धेरै देखिन्छ। परिक्षण प्रशारण, कम्युनिष्ट पार्टी, श्रृंखला, फलानोको भनाई, व्यवसायीक, संगीत, छायांकन, द्धन्द, आवेदनसंगै। यिनलाई लेखौं- परीक्षण प्रसारण, कम्युनिस्ट पार्टी, शृङ्खला, फलानोको भनाइ, व्यावसायिक, सङ्गीत, छायाङ्कन, द्वन्द्व, आवेदनसँगै।       
विज्ञापन÷सन्देशमा त्रुटि पनि धेरै हुन्छ। गति सिमित, स्टील, निर्माण सामाग्री बिक्री केन्द्र, दोहोरी साझँ, ध्वनी प्रदुषण कम गरौँ। यिनलाई लेखौं- गति सीमित, स्टिल, निर्माण सामग्री बिक्री केन्द्र, दोहोरी साँझ, काठमाडौँ, ध्वनि प्रदूषण कम गरौँ।
बस÷ट्रकका पछाडि सायरी, मुक्तक तथा भनाइ धेरै देखिन्छ, तर अशुद्धै। अत्याधिक, व्याक्ति, पिरेम÷पिरिम, बेनि, आमाको आर्शिवाद, फेरी भेटौँला, जिबनभरी साथ दिने एउटै साथी रोजेको छु झुठो होईन भगवान कसम तिमीलाई नै खोजेको छु, नयाँ गाडी किनेर ड्राईभर लाई जिम्मा दिनु र भरखरै बिहे गरेर विदेश जानु उस्ता उस्तै हो, जिन्दगीले छिचोल्नुछ अभैm थुप्रै गल्छिहरू आकाश छुने कुरा गर्छन धर्तिका अल्छिहरू। मानक रूप : अत्यधिक, व्यक्ति, प्रेम, बेनी, आमाको आशीर्वाद, फेरि भेटौँला, जीवनभरि साथ दिने एउटै साथी रोजेको छु झुटो होइन भगवान् कसम तिमीलाई नै खोजेको छु, नयाँ गाडी किनेर ड्राइभरलाई जिम्मा दिनु र भर्खरै बिहे गरेर विदेश जानु उस्ताउस्तै हुन्, जिन्दगीले छिचोल्नु छ अझै थुप्रै गल्छीहरू, आकाश छुने कुरा गर्छन् धर्तीका अल्छीहरू।
इन्टरनेट आजको विश्वको अपरिहार्य साधन बनेको छ। नेपालमा पनि इन्टरनेट अधिकांश मानिसको दैनिकी बनिसकेको छ। नेपालका दूरसञ्चार कम्पनीहरूले दिएको इन्टरनेट सुविधाका कारण मोबाइलमा नै इन्टरनेट चल्ने भएकाले प्रयोक्ताको सहजतालाई ध्यानमा राखी अनलाइन साइटहरू, त्यसमा पनि न्युज साइटहरू बढी खुलेका छन्। तर बढी लाइक र भ्यु पाउने हिसाबमा भाषिक पक्षलाई भने बेवास्तै।
भाषाप्रति उदासीन बनेका यस्ता न्युज साइटहरूले हिज्जे विचार नगरीकन समाचार छाप्ने गर्छन्। वर्णगत रूपसाम्यका कारणले केही वर्णहरू एउटाको सट्टा अर्कै छापिएका हुन्छन्। जस्तै : ब-व, द्य-ध, य-ए, श-ष-स, द्व-द्ध, रु-रू, चन्द्रविन्दु-शिरविन्दु आदि।
गरेरमात्र, मिल्नेगरी, हुनसकेको। लेखिनुपर्ने : गरेर मात्र, मिल्ने गरी, हुन सकेको। पौडेल समेत, कार्यक्रम अन्तर्गत। लेखिनुपर्ने : पौडेलसमेत, कार्यक्रमअन्तर्गत। सम्बन्धी, लगायत आदि नामयोगीहरूको प्रयोगमा पनि पदवियोग गरिएका धेरै उदाहरण भेटिन्छन्।
प्रयोगमा आएका अशुद्ध रूप : आतंकारी, फरी, नियंत्रण, कन्सट्रक्सन, सकिदा, आखडा, बताउदै, सोमबारदेखी, बिहिन, भउको, संयुत्त, प्रापत, शितल, महत्वकाङाी, एकिन, भनाई (भन्+आइ), शिलन्यास, बिस्थापित, द्धारा, केन्द्रिय। शुद्ध रूप : आतङ्ककारी, परी, नियन्त्रण, कन्स्ट्रक्सन, सकिँदा, अखडा, बताउँदै, सोमबारदेखि, विहीन, भएको, संयुक्त, प्राप्त, शीतल, महत्वाकाङाी, यकिन, भनाइ, शिलान्यास, विस्थापित, द्वारा, केन्द्रीय। एउटै लेखमा राजस्ज-राजश्व पनि देखिन्छ।
विश्वविद्यालय, प्रज्ञा-प्रतिष्ठानजस्ता निकायबाटै भाषा बिगार्ने कामको नेतृत्व लिइएको छ। भाषामा देखिएको भद्रगोलले नेपाली भाषालाई झन् विकृत बनाएको छ। बालकृष्ण सम लेख्छन् :
भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति।
जीत वैभव भाषामै बाँच्दछन् पछिसम्म यी।।       


नागपञ्चमी पर्वका फरक महिमा र प्रख्यात किंवदन्ती


नागपञ्चमी पर्वका फरक महिमा र प्रख्यात किंवदन्ती
रासस, समाज,  २० साउन २०७६ ०८:४५:००
पूर्णप्रसाद मिश्र
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज मनाइँदै छ।परम्पराअनुसार घरका मूलढोकामा नागको तस्बिर टाँसेर पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइँने गरिन्छ।यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
 
सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका लागि शुभ मानिने भएकाले सोमबार नागपञ्चमीको निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी बताए। नाग पूजाको प्रचलन वैदिक कालदेखि नै शुरु भएको हो। वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ। नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा बसेको हो । 
वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराजसँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नागपूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाएमा  घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासले रहँदै आएको छ ।
नागलाई विष्णु र शिवका रुपमा मान्ने प्रचलन वैदिक सनातनकालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शैय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई  नागका रुपमा मान्ने गरिएको हो। प्रथम पूजाको अधिकार पाएका भगवान गणेशको एक हातमा नाग छ।  विष्णुको अवतारका रुपमा जन्म लिनुका भगवान रामचन्द्रका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई पनि शेषनागको अवतारका रुपमा मानिन्छ । 
श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग पुराणमा वर्णन गरिएको छ। विष्णुको नवौँ अवतारकारुपमा जन्म लिएको भनी दाबी गरिएका बुद्धको मूर्तिको शीरमा मुकुटाकारका रुपमा सर्पको आकृति रहेको हुन्छ। मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला लगाइएको हुन्छ। जैन तीर्थङ्करहरुको शीरमा समेत सर्पाकार मुकुट हुन्छ। पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेको प्रसङ्ग धर्मशास्त्रमा उल्लेख गरिएको छ। लक्ष्मीको बास त्यो घरमा हुन्छ जुन घरमा नागको पूजा हुन्छ भन्ने मान्यता सनातनदेखि छ। 
किन मनाउँन थालियो नाग पञ्चमी ?
नागपञ्चमी कसरी र किन मनाउन थालियो भन्ने सम्बन्धमा विभिन्न  किंवदन्ती प्रचलित छन्। एउटा प्रख्यात किंवदन्ती छ ।
एक किसानले आफ्नो खेत खनिरहेका बेला नागका तीनवटा बच्चा भेट्टाए र मारिदिए, ती बच्चाकी आमा आहारा खोजेर आउँदा आफ्ना सबै बच्चा मरेको देखी किसानसँग क्रुद्ध भइन्, रिसले चुर भएकी नागिनीले तत्काल किसानलाई मार्दा पनि रिसबाट मुक्त नभएकीले किसानको घरमा गएर श्रीमती र दुई छोरालाई पनि मारिदिइन् ।
     
संयोगले किसानकी छोरी घरबाहिर रहेकाले बच्न सफल भइन्। नागिनीले किसानकी छोरीलाई पनि खोज्दै हिँडेपछि बाटामा फेला पारी मार्न खोजिन्। किसानकी छोरीले अनेक प्रकारले अनुनय विनय गरी नमार्नूस् म तपाईंको पूजाआजा गर्छु र दूध खान दिन्छु भनेर बिन्ती गरेपछि नागिनीले दया गरी किसानकी छोरीलाई छोडिन्। 
मृत्युको मुखबाट बची प्रसन्न भएकी किसानकी छोरीले नागिनीलाई शोडषोपचारले पूजाआजा गरी कचौरामा दूध पनि खान दिइन्। किसानकी छोरीको प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले तिम्रो भक्तिबाट म प्रसन्न भएँ वर माग भनेपछि उनले मौका छोपी मेरा मातापिता र भाइहरुलाई पनि जीवनदान दिनुहोस् भनी वर मागिन् ।
    
प्रसन्न भएकी नागिनीले तथास्तु भनी किसानका सपरिवारलाई बचाइदिइन्। यसरी नागिनीले किसान परिवारलाई बचाइदिएको दिन श्रावण शुक्ल पञ्चमी अर्थात् आजैका दिन भएकाले त्यही समयदेखि नागपूजा गरी घरमा टाँस्ने परम्परा बसेको विश्वास छ ।
 
गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गरेको र यसरी नागलाई थिचेर राख्दा पानी नपरेकाले गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई बोलाइयो। गुरु आएकोदेखि गोरखनाथ उठेपछि नाग मुक्त भएर पानी वर्षाएको प्रसङ्ग पनि धर्मशास्त्रमा उल्लेख छ ।
   
संसारमा सबैभन्दा मूल्यवान् रहेको मणिलाई नागले शीरमा धारण गरेका हुन्छन्। श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई खुब मनपर्छ। गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमी अर्थात् आजैको दिन वर्षातको शीतलताका कारण बाहिर निस्कने मान्यतासमेत छ । 
नागका बाह्र नाम भएपनि वैदिक सनातनकालदेखि आठ कूलका आठ वटा नागको पूजा गर्ने  परम्परा छ। अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ। आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता छ ।
  आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह,  कुण्ड र नाग स्थानमा मेला लाग्ने गर्छ ।नागको पूजाआजा गरी गाईको दूध, अक्षता, दुबो, खीर र रोटी लगायतका परिकार चढाउने गरिन्छ। वैज्ञानिक रुपमा प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानवलगायत अन्य जातिलाई विषालु पदार्थको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि गरेपछि ऋषिमुनिले नागजातिको पूजाआजा गर्ने रीत बसालेको विश्वास छ। रासस


तराईमा जगाइँदै मयूर नाच


तराईमा जगाइँदै मयूर नाच
शंकरप्रसाद खनाल, मनोरञ्जन,  ०५ साउन २०७६ १४:०९:००
नेपालगन्ज : रुकुमको साविक छिवाङ गाविस–७, लोरिवाङ (हाल खलंगा नगरपालिका)का हर्कबहादुर विष्ट १२ वर्षको उमेरदेखि मयूर नाच नाच्थे। उनी २०३५ सालमा बसाइँ सरेर बाँकेको साविक महादेवपुरी गाविसको ओभरी (हाल राप्ती सोनारी–८) आए। उनलाई गाउँघरमा मयूर नाच नाचेको झल्को आइरहन्थ्यो। २०४८ सालमा रुकुम र सल्यानमा मयूर नाच नाच्ने छिमेकीको समूह बनाएर नाच्न सुरु गरे। सशस्त्र द्वन्द्व सुरु भएपछि नाच्न छोडियो। २०७१ सालमा सामुदायिक वनले मयूर नाचको सामान किन्न सहयोग गरेपछि विष्ट अध्यक्ष रहेको संस्कृति संरक्षण समूह बनाएर फेरि नाच सुरु भयो।
त्रिशक्ति सामुदायिक वनले ६० हजार, जनशक्ति मध्यवर्ती सामुदायिक वनले ४० र तारादेवी मध्यवर्ती सामुदायिक वनले ३० हजार सहयोग गरे। हामीले झन्डै डेढ लाख रुपैयाँको सामान किनेर लोपोन्मुख नाच फेरि ब्यूँत्यायौं’, अध्यक्ष विष्टले अनुभव सुनाए। पहाडी जिल्लामा नाचिने मयूर नाचलाई यो समितिले बाँकेका महोत्सव, सांस्कृतिक कार्यक्रम र उत्सवमा प्रदर्शन गरिरहेको छ।
समूहमा ३० देखि ७० वर्षसम्मका २५ सदस्य छन्। अधिकांश रुकुमेली र सल्यानी हुन्। एक जना थारूलाई समेटिएको छ। प्रताप खत्री (६३) समूहका गुरु हुन्। यो नाचमा मादल बजाउनेलाई गुरु भन्छन्। खत्रीले भने, ‘सानैदेखि मादल बजाउँथे। पहिलेपहिले नाच्थे। अहिले मादल मात्र बजाउँछु।’
समूहको उद्देश्य नयाँ पुस्तालाई जिम्मेवारी दिने छ। युवा पुस्ता सिकेर पनि नाच्दैनन्। ‘धेरैलाई सिकायौं। कोही नाच्दैनन्’, टोपबहादुर खड्का (५७)ले दुःखेसो पोखे, ‘यो त रिटायर्डको नाचजस्तो भएको छ। जागिर नखानेले मात्र नाच्ने।’ पहाड घर रुकुमको खलंगा भएका खड्काले १३ वर्षको उमेरदेखि मयूर नाच नाच्न सिकेका हुन्।
मयूर सामूहिक नाच हो। एकै पटकमा १६ देखि ३२ जनाले नाच्छन्। कतै पुरुष मात्र त, कतै महिला र पुरुष मिलेर एक जना अगुवाको इशारामा सबैले एकनासले नाच्छन्। मादल, डौंरी र झ्याली बजाउने छुट्टै हुन्छन्। नाच्नेको कम्मरमा मयूरको प्वाँखबाट बनेको गर्रा हुन्छ, जुन मयूरको पुच्छरजस्तै बनाइएकोे हुन्छ। हरेकको दायाँ खुट्टामा पैंजन र बायाँ हातमा एउटा एउटा फरेक हुन्छ। नाच्नेले सेतो धरो (धोती), रातो रुमाल र सेतो कमिज लगाएका हुन्छन्। जाडोमा कालो ज्याकेट पनि लगाउँछन्। जुत्ता र मोजाको रङ पनि एउटै हुन्छ। शिरमा नेपाली टोपी अनिवार्य चाहिन्छ। हरेकसँग दुई÷दुईवटा साढे दुई फिटको प्रहरीले बोक्नेजस्तै लट्ठी हुन्छ। यो पहाडमा पाइने घँगारु काठको हुन्छ। नाच्ने बेलामा एकअर्काले लट्ठीमा बजारेर आवाज निकाल्छन्। घँगारुको काठ बलियो पनि हुन्छ। अरू काठ भए चाँडै फुट्ने उनीहरू बताउँछन्।
रुकुम, रोल्पा, सल्यान, जाजरकोट, सुर्खेतजस्ता पहाडी जिल्लामा मयूर नाच लोकप्रिय छ। मयूर नाचलाई स्यारिंगे नाच पनि भनिन्छ। गर्रा कम्मरमा लगाएर नाच्ने भएकाले यसलाई गर्रा नाच पनि भनिन्छ। खासगरी दसैं तिहारमा यो नाच नाचिन्छ। मेला, पर्व, दिवस, सांस्कृतिक कार्यक्रममा मयूर नाचको माग बढी हुन्छ। ‘हाम्रो मुख्य उद्देश्य हाम्रो पहिचान, हाम्रो संस्कृति मयूर नाच जोगाउने नै हो। पैसा कमाउने मात्र होइन’, समूहको सदस्यहरू भन्छन्। ‘यो नाचका २२ ताल र २२ चाल हुन्छन्। पूरा नाच कम्तीमा साढे दुई घण्टादेखि तीन घण्टा लाग्छ’, विष्टले पुर्खाले भनेको सम्झे, ‘मेघ गर्जिंदा जसरी मयूरले नाच्छ, त्यही कल्पना गरेर नाच्नुपर्छ।’
बाँकेमा मयूर नाच अधिकांश ४० वर्ष पार गरेकाले धानेका छन्। यसको लोकप्रियता र माग भने बढ्दै छ। यो समूह लाली चाउचाउको विज्ञापनका लागि पोखरा र चितवनसम्म पुगिसकेको छ। पारि श्रमिकबारे विष्ट भन्छन्, ‘पूजाआजामा पैसा तोक्दैनौं। हरेकलाई कम्तीमा एक दिनको ज्याला जति माग्छौं। अरू ठाउँमा जाँदा कम्तीमा पनि १० हजार लिन्छौं।’ समूहको खातामा दुई लाख रुपैयाँ जम्मा भइसकेको छ। यो रकम सामाजिक काममा खर्च हुन्छ। महादेवपुरीमा सर्पदंश उपचार केन्द्र बन्दा १५ हजार रुपैयाँ सहयोग गर्‍यौं।
मयूर नाचको मुख्य समस्या सामान नपाउनु हो। नाचको मुख्य आकर्षक मयूरको प्वाँखबाट बनाइने गर्रा भने यहाँ पाइँदैन। पहाडी नाच भएकाले रुकुम, सल्यान लगायतका जिल्लामा गर्रा व्यावसायिक रूपमै निर्माण गरिन्छ। एक जोर गर्रा किन्न कम्तीमा आठ हजार रुपैयाँ पर्छ। समूह नयाँ गर्रा किन्ने तयारीमा छ।
राप्ती सोनारी गाउँपालिकाले पनि मयूर नाच, पञ्चैबाजा र सोरेठी नाच प्रवद्र्धनका लागि सहयोग गरेको छ। ‘मयूर नाचका लागि गर्रा किन्न वडाको सिफारिसमा भर्खरै गाउँपालिकाले एक लाख रुपैयाँ सहयोग गरेको छ’, राप्ती सोनारी–८ का वडाध्यक्ष खुमबहादुर बस्नेतले भने, ‘बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएकाले हामी मयूर नाचलाई पर्यटन प्रवद्र्धनसँग जोड्न खोजिरहेका छौं।


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...