Saturday, August 10, 2019

नेपाली भाषाको हारगुहार


नेपाली भाषाको हारगुहार

गणेश तिमिल्सिना
फुर्सद,  ०४ साउन २०७६ ०८:४४:००
भाषा
विचार-विनिमयका तीन तरिका (स्पर्श, सङ्केत र आवाज) मध्ये सबैभन्दा प्रभावकारी मानिएको आवाजभित्र पनि मानिसको बोलीसँग सम्बन्धित माध्यम हो, भाषा। पत्रपत्रिका सूचना प्राप्त गर्ने सशक्त माध्यम हो र यो पाठ्यसामग्री पनि हो। सञ्चार माध्यमले भाषालाई कसरी बिगारिरहेका छन् त ?
काडमाण्डौं, काठमाडौं, अंक, रुप लेखेको देखिन्छ। काठमाडौँ, अङ्क÷अङ्क, रूप लेखेको पाइँदैन। एफएम रेडियोहरूमा नेपाली भाषामै सञ्चालित कार्यक्रम तथा विज्ञापनलगायतमा अङ्ग्रेजी शब्दको बाहुल्य देखिन्छ। कार्यक्रम प्रस्तोता आफैंमा सन्देशको संवाहक भए पनि अङ्गे्रजी शब्दहरू, वाक्य एवम् संवादको बेसी प्रयोग गरेर आफूलाई आधुनिक साबित गर्न खोजेका हुन् कि भन्ने भान पर्न जान्छ। यिनमा एउटै कुरा पहिला अङ्ग्रेजीमा भनेर नेपालीमा अनुवाद गर्ने प्रवृत्ति पनि देखिन्छ। त्यति मात्र नभई विदेशी सामान धेरै पैसामा किनेर गुणस्तरीय र आकर्षक पहिरन लगाएँ भनेर गर्व गर्ने नेपाली समाजको झल्को स्तरीयता निर्धारणका लागि अङ्ग्रेजीमा दिइने विज्ञापनमा महसुस हुन्छ। विज्ञापन त झन् सबैले बुझ्नुपर्ने सरल र मौलिक भाषामा हुँदा पो प्रभावकारी हुन्थ्यो कि !
सकेसम्म आफ्नै भाषालाई बढावा दिऊँ। अन्य भाषाबाट नेपाली प्रचलनमा आएका रुढ शब्दलाई समेत हटाई अरू शब्द खोजी गरेर प्रचलनमा नल्याऊँ। केही उदाहरण : लाइभ कन्भर्सेसन, लाइक, लिटरल्ली, बट देन, टेक्निकल सपोर्ट, लास्ट गीत, सो अहिलेको टाइम, एउटा साइड एडभान्टेज अर्को साइड डिसएडभान्टेज। यस्ता पद-पदावलीका नेपाली रूप छैनन् र ?
टेलिभिजनमा नमस्कार भन्ने तर हात नजोड्ने किन हो ? उतातिर नलागौं, भाषामै केन्द्रित हुन्छु। हतारमा छिटो खबर सम्प्रेषण गर्ने क्रममा त्रुटिपूर्ण भाषाको प्रयोग धेरै देखिन्छ। परिक्षण प्रशारण, कम्युनिष्ट पार्टी, श्रृंखला, फलानोको भनाई, व्यवसायीक, संगीत, छायांकन, द्धन्द, आवेदनसंगै। यिनलाई लेखौं- परीक्षण प्रसारण, कम्युनिस्ट पार्टी, शृङ्खला, फलानोको भनाइ, व्यावसायिक, सङ्गीत, छायाङ्कन, द्वन्द्व, आवेदनसँगै।       
विज्ञापन÷सन्देशमा त्रुटि पनि धेरै हुन्छ। गति सिमित, स्टील, निर्माण सामाग्री बिक्री केन्द्र, दोहोरी साझँ, ध्वनी प्रदुषण कम गरौँ। यिनलाई लेखौं- गति सीमित, स्टिल, निर्माण सामग्री बिक्री केन्द्र, दोहोरी साँझ, काठमाडौँ, ध्वनि प्रदूषण कम गरौँ।
बस÷ट्रकका पछाडि सायरी, मुक्तक तथा भनाइ धेरै देखिन्छ, तर अशुद्धै। अत्याधिक, व्याक्ति, पिरेम÷पिरिम, बेनि, आमाको आर्शिवाद, फेरी भेटौँला, जिबनभरी साथ दिने एउटै साथी रोजेको छु झुठो होईन भगवान कसम तिमीलाई नै खोजेको छु, नयाँ गाडी किनेर ड्राईभर लाई जिम्मा दिनु र भरखरै बिहे गरेर विदेश जानु उस्ता उस्तै हो, जिन्दगीले छिचोल्नुछ अभैm थुप्रै गल्छिहरू आकाश छुने कुरा गर्छन धर्तिका अल्छिहरू। मानक रूप : अत्यधिक, व्यक्ति, प्रेम, बेनी, आमाको आशीर्वाद, फेरि भेटौँला, जीवनभरि साथ दिने एउटै साथी रोजेको छु झुटो होइन भगवान् कसम तिमीलाई नै खोजेको छु, नयाँ गाडी किनेर ड्राइभरलाई जिम्मा दिनु र भर्खरै बिहे गरेर विदेश जानु उस्ताउस्तै हुन्, जिन्दगीले छिचोल्नु छ अझै थुप्रै गल्छीहरू, आकाश छुने कुरा गर्छन् धर्तीका अल्छीहरू।
इन्टरनेट आजको विश्वको अपरिहार्य साधन बनेको छ। नेपालमा पनि इन्टरनेट अधिकांश मानिसको दैनिकी बनिसकेको छ। नेपालका दूरसञ्चार कम्पनीहरूले दिएको इन्टरनेट सुविधाका कारण मोबाइलमा नै इन्टरनेट चल्ने भएकाले प्रयोक्ताको सहजतालाई ध्यानमा राखी अनलाइन साइटहरू, त्यसमा पनि न्युज साइटहरू बढी खुलेका छन्। तर बढी लाइक र भ्यु पाउने हिसाबमा भाषिक पक्षलाई भने बेवास्तै।
भाषाप्रति उदासीन बनेका यस्ता न्युज साइटहरूले हिज्जे विचार नगरीकन समाचार छाप्ने गर्छन्। वर्णगत रूपसाम्यका कारणले केही वर्णहरू एउटाको सट्टा अर्कै छापिएका हुन्छन्। जस्तै : ब-व, द्य-ध, य-ए, श-ष-स, द्व-द्ध, रु-रू, चन्द्रविन्दु-शिरविन्दु आदि।
गरेरमात्र, मिल्नेगरी, हुनसकेको। लेखिनुपर्ने : गरेर मात्र, मिल्ने गरी, हुन सकेको। पौडेल समेत, कार्यक्रम अन्तर्गत। लेखिनुपर्ने : पौडेलसमेत, कार्यक्रमअन्तर्गत। सम्बन्धी, लगायत आदि नामयोगीहरूको प्रयोगमा पनि पदवियोग गरिएका धेरै उदाहरण भेटिन्छन्।
प्रयोगमा आएका अशुद्ध रूप : आतंकारी, फरी, नियंत्रण, कन्सट्रक्सन, सकिदा, आखडा, बताउदै, सोमबारदेखी, बिहिन, भउको, संयुत्त, प्रापत, शितल, महत्वकाङाी, एकिन, भनाई (भन्+आइ), शिलन्यास, बिस्थापित, द्धारा, केन्द्रिय। शुद्ध रूप : आतङ्ककारी, परी, नियन्त्रण, कन्स्ट्रक्सन, सकिँदा, अखडा, बताउँदै, सोमबारदेखि, विहीन, भएको, संयुक्त, प्राप्त, शीतल, महत्वाकाङाी, यकिन, भनाइ, शिलान्यास, विस्थापित, द्वारा, केन्द्रीय। एउटै लेखमा राजस्ज-राजश्व पनि देखिन्छ।
विश्वविद्यालय, प्रज्ञा-प्रतिष्ठानजस्ता निकायबाटै भाषा बिगार्ने कामको नेतृत्व लिइएको छ। भाषामा देखिएको भद्रगोलले नेपाली भाषालाई झन् विकृत बनाएको छ। बालकृष्ण सम लेख्छन् :
भाषा हो सभ्यता हाम्रो सारा उदय उन्नति।
जीत वैभव भाषामै बाँच्दछन् पछिसम्म यी।।       


Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...