Sunday, October 27, 2019

उज्यालो पर्व तिहार


उज्यालो पर्व तिहार
कार्तिक ९, २०७६डा. गोविन्द टन्डन
दसैंको रमझम सकिएपछि उल्लास र उज्यालोको पर्व तिहार आउँछ कात्तिक कृष्ण त्रयोदशीदेखि प्रारम्भ भई द्वितीया अर्थात् भाइटीका गरेर समापन हुने यो पर्वको आफ्नै महत्त्व यो पर्व यमपञ्चकको नामले पनि प्रसिद्ध घर-घरमा दीप बालेर सजाइने हुनाले केही समययता यो पर्वलाई दीपावली भनिन्छ तिहारको प्राचीनताबारे पौराणिक आख्यानहरूदेखि हाम्रो संस्कृतिमा तिनले पाएको निरन्तरताले केही केही इतिहास बताइरहेको
तिहारको रौनक पशुपन्क्षीहरूदेखि दाजुभाइ-दिदीबहिनीहरूबीच एकआपसमा तथा आफूले आफैलाई ‘म्ह:पूजा’को रूपमा आत्मसम्मान गर्नुमा पनि छ यो फूलैफूलले घरबारी, बगैंचा र आँगनमात्र होइन, दाजुभाइलाई मखमली, दुबो, सयपत्री र गोदावरी फूलका सुन्दर मालाहरू लगाइदिएर आशिर्वाद र स्नेहले भरिपूर्ण तुल्याइदिने पर्व हो

तिहार राजसी, तामसीभन्दा पनि बढी सात्विक पर्व हो भन्दा फरक पर्दैन यस पर्वमा के केटाकेटी, के वृद्धवृद्धा, सबैजसो फलफूल र थरीथरीका मिठाइमा रमाएका हुन्छन् सेल, अनर्साजस्ता परम्परागत मिठाइहरू घर-घरमा बनाएर ताजा खाने परम्परा नेपालभरि नै छ लक्ष्मीपूजाको दिन घरमै बनाएको विभिन्न प्रकारका मिठाइ एवं सेलरोटी लक्ष्मीलाई चढाउने चलन

तिहारको पहिलो दिन कागको पूजा गरी दुनाबोतामा दालभात, तरकारीसहितका पक्वान्न खान दिने चलन छ कागलाई किन पूजा गरेको होला? काग कुनै बखत समाचारको संवाहक मानिन्थ्यो उसको बसाइ, बोलीको शैली, हाउभाउले हाम्रा पुर्खाहरू शुभ र अशुभ कुराको लख काटेर समय कटाउँथे, आफन्त नआउन्जेलसम्म हिजोआज यस्ता कुरालाई रुढीबुढी अन्धविश्वास भनिन्छ यस्ता चलन हराउँदै जानथालेका छन् कागलाई वर्षमा एकदिन सम्झिने चलन भने अझै कागले कतिपय रोगका कारक तत्त्वहरू मानिएका फोहोरलाई खाएर वरपरको वातावरण सफासुग्घर तुल्याइदिन्छ मानिसको भलो गरिरहेको हुन्छ

कागको पूजा गरेपछि दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोबर्धनपूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्ह:पूजा एवं तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका सम्पन्न गरिन्छ

कात्तिक कृष्ण त्रयोदेशीदेखि कात्तिक शुक्ल द्वितीयासम्मको पाँच दिनको आफ्नै प्रकारको आख्यान पाइन्छ मृत्युका अधिपति यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुनाकहाँ यो पाँच दिन अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक’ भन्ने गरिएको माहात्म्य पाइन्छ भाइटीकाको दिनको पूजा तिनै यमराज यमुनाको नाममा समर्पित त्यस दिन दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइहरूलाई असमयमैनडाकुन् भन्ने चाहना अभिव्यक्त भएको हुन्छ, प्रकारान्तरले कुकुर पूजाकै दिनदेखि यमदीप दान गर्नाले यमयातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ

चौथो दिन गाईपूजा गर्ने प्रचलन छ, यसलाई गोबर्धनपूजा पनि भन्छन् उहिल्यै मानिसको सम्पत्ति भन्नु नै कसको घरमा कति गाई , त्यसबाट अडकल काटिन्थ्यो दुहुना गाईलाई समृद्धिको प्रतीक मान्ने चलन थियो गाईवस्तुलाई ‘गोधन’ भनिन्थ्यो अहिले समय परिवर्तन भएको गाईवस्तुले जति सम्मान पाउनुपर्थ्यो, त्यसबाट समाज विचलित हुँदैछ

गाईपूजाका दिन गोबर्धन पर्वत तथा बलिराजाको पनि पूजा हुन्छ गोबर्धन पर्वत पूजाको प्रसङ्ग भगवान् कृष्णसित जोडिएको ोपालहरूका लागि घाँसपात उपलब्ध गराएर सहयोग पुर्‍याउने भएकाले पर्वतको प्रतिनिधिस्वरूप गोबर्धन पर्वतको पूजा हुन्छ गाईको गोबरको पर्वत तथा कुण्ड बनाएर अनेक तरहले सिंगारेर गोबर्धन पूजा गरिन्छ

समयको अन्तरालमा विस्तारै सम्पत्ति भनेको अरू धनदौलत आउन थाले एकातिर गाईलाई लक्ष्मीको स्वरूप मान्ने प्रचलन अर्कोतिर गाईको दूध, दही, घियु, गहुँत, गोबरसमेतको शास्त्रीय महत्त्व र मान्यताको कारण पनि गाईलाई नेपाली संस्कृतिमा धेरै महत्त्व दिइएको छ

गाईलाई गरेको सेवाले वैतरणी नदी तर्न सहयोग पुर्‍याउँछ भन्ने पनि शास्त्रीय मान्यता छ गाईको सेवाले मानिसलाई रोगव्याधिदेखि मुक्त राख्न दूध, दही, घियुले मद्दत पुर्‍याउँछ त्यसैले गाईलाई लक्ष्मीजस्तो ठान आमा बराबर सेवा गर भनेको संकेत बुझ्न नसक्दा हिजोआज गाईलाई व्यावसायिक रूपले कसरी दोहन गरिरहेका छन् अमृतमय हुनुपर्ने गोरस विषसमान बन्दै गइरहेको स्मरणीय छ जसको कारण भेगन आन्दोलन विश्वव्यापी बन्दै गइरहेको पनि सम्झनुपर्छ

धार्मिक, वैज्ञानिक एवं आयुर्वेदीय दृष्टिकोणले मानिसको आयु बढाउन गाईको दूध, दही, घियु, महीको ठूलो महत्त्व छ त्यत्तिमात्र होइन, गोबर र गहुँतसमेत उच्चकोटीको प्राङ्गारिक मलको रूपमा प्रसिद्ध मानिन्छ यसैले हाम्रो संस्कृतिमा गाईपूजनलाई स्थान दिइयो तर पूजनले मात्र पुग्दैन, गाईको वास्तविक सेवा गर्न सकियो भने राष्ट्रको सेवा पनि हुन्छ भन्ने संकेत संस्कृतिले दिइरहेको कुरालाई बुझ्न सकेनौं भने हामी पछि पर्छौं

दाजुभाइ र दिदीबहिनी बीचको आदरभाव र स्नेहाभावको अनुपम पर्व हो, तिहार दुबैले एकआपसमा श्रद्धाभक्ति एवं आदरपूर्वक सप्तरङ्गी टीका निधारमा लगाइदिएर, मखमली, दुबो, सयपत्री र गोदावरीको माला गलामा लगाइदिएर एकआपसमा आयु आरोग्य दीर्घायु होस्, रोगव्याधिले दु:ख नदेओस् भनेर कामना र प्रार्थना गर्ने गरिन्छ दाजुभाइ दिदीबहिनी बीचको सौहार्दता, सद्भाव र घनिष्ट सम्बन्धलाई अरू प्रगाढ बनाउन भाइटीका पर्वको ठूलो भूमिका छ

दिदीबहिनीले आफ्ना दाजुभाइहरूलाई गक्ष अनुसारको कटुस, ओखर लगायतको मरमसला, मिष्ठान्न एवं फलफूलहरू तथा दाजुभाइले दिदीबहिनीहरूलाई हातमा दक्षिणा राखेर खुट्टामा ढोग्ने चलन छ यस्तो संस्कृति विश्वमा दुर्लभमात्र होइन, छँदै छैन भने हुन्छ धेरै दाजुभाइहरू भाइटीकामा दिदीबहिनीहरू आउलान् निधारमा सप्तरङ्गी इन्द्रेणी टीकाले आफ्नो निधार सजाउन पाइएला भनेर पर्खेर बसेका हुन्छन् कतिको पर्खाइ काम लाग्छ, कति त्यसबेला भक्कानिन्छन्, दिदीबहिनीहरू आउन नसकेर निधार खाली भएकोमा आफूले सम्झेजस्तो समय, परिस्थिति कहाँ हुन्छ र?

काठमाडौंका दिदीबहिनीहरूले आआफ्ना दाजुभाइ नभएको रिक्ततामा भाइटीकाको दिन रानीपोखरीको बीचमा रहेको मन्दिरभित्रको बालगोपाल अर्थात् भगवान् श्रीकृष्णको बालस्वरूपलाई दर्शनपूजन गर्ने गर्छन् हिजोआज केही दिदीबहिनीहरूले ठाउँ-ठाउँमा सामूहिक भाइटीकाको माहोल सिर्जना गरेका छन् हनुमानढोका नजिकको काष्ठमण्डपबाट विगत बाह्र/तेह्र वर्षअघि सुरु भएको यो चलनले नेपालका विभिन्न ठाउँका दिदीबहिनीहरूलाई प्रेरित गरेको त्यस दिन दिदीबहिनी नभएका दाजुभाइहरू त्यसरी आयोजना हुने समारोहमा पुग्न भ्याई-नभ्याई गरिरहेको दृश्य देख्न सकिन्छ

तिहारको अर्को रौनकता भनेको दीपावली र देउसीभैलो हो घर-घर, मठमन्दिर र ठूलठूला भवन र कार्यालयहरूमा रङ्गीविरङ्गी बत्तीले झिलीमिली पारी आँगन सजाउने चलनले वातावरण नै मनमोहक बनेको हुन्छ पहिले-पहिले माटोले बनेको ‘पाला’मा काँचो धागोले बनाएको बत्तीमा तोरीको तेल हालेर बालेको दीयोबत्ती घर, आँगन, चोटाभरि ठाउँ-ठाउँमा लहरै बाल्ने चलन थियो अहिले गाउँघरमा कहीं कतै केही मात्रामा पालाको चलन भए पनि सुगम, दुर्गम सबैतिर लहरे बिजुलीका ससाना बल्बहरूको मालाले घर सिँगारपटार गर्ने चलनले व्यापकता पाइरहेको छ

लक्ष्मीपूजाका दिनमा भैलो र गोबर्धन पूजाका दिनमा देउसी खेल्ने परम्परा छ पहिले-पहिले भैलो महिलाले देउसी पुरुषले खेल्ने गरिन्थ्यो आजकाल यो बिर्से जस्तो अहिले महिला-पुरुष दुवैले देउसी-भैलो खेल्न थालेका छन् यसबेला भट्टयाइने गाथाहरू थरीथरीका हुन्छन् देउसी भैलीकै लागि केटाकेटीहरूले अनेक प्रकारका गीत, सङ्गीत र भाकाहरू तयार पारेका हुन्छन् र घर-घरमा गएर आफ्नो प्रतिभा देखाउन लामो समयदेखि तयारी गरिरहेका हुन्छन् देउसी-भैलीहरूले आशिर्वाद दिन्छन्

देउसी र भैलोको दक्षिणा संकलनबाट ठाउँ-ठाउँमा विद्यालय, चौतारा, ढुङ्गेधारा, पाटीपौवा लगायत उल्लेख्य सामाजिक कार्य गर्ने संस्थाहरू पनि बनाइएका छन्, बनाइन्छन् लक्ष्मीपूजाको दिन लक्ष्मीका अतिरिक्त अष्टसिद्धि, कुवेर, इन्द्र, ऐरावत तथा चन्द्रमाको पूजा हुन्छ चन्द्रमा लक्ष्मीका सहोदर भाइ मानिने भएकाले लक्ष्मीलाई खुसी पार्न चन्द्रमालाई पनि खुसी पार्नुपर्ने कुराको प्रसिद्धि छ

तिहारलाई आर्थिक-सामाजिक पक्षसँग पनि जोडेर हेर्न सकिन्छ जङ्गली कटुस, ओखर, निबुवाजस्तो अरू बेला कसैले वास्ता नगर्ने तर तिहारको बेला हारालुछ हुने फलले कुनै पनि उपलब्ध वस्तु निकम्माको छैन, त्यसलाई समय अनुसार सदुपयोग गर्‍यो भने अर्थोपार्जन हुनसक्छ भनेर सिकाइरहेको हुन्छ

तिहारलाई उज्यालोको पर्वका रूपमा समेत चिनिन्छ बाहिर मात्र उज्यालो ल्याउने बनाउने नभई अन्तर्हृदयमै उज्यालो ल्याउन हामी प्रयत्नरत हुनुपर्छ भनेर दीपावलीले संकेत गरिरहेको हुन्छ त्यसैले तिहार उज्यालोको पर्व होप्रकाशित : कार्तिक ९, २०७६ ०९:१५


Monday, October 21, 2019

र्गोखालीको छुटटी र भटटीवाल्नी

र्गोखालीको छुटटी र भटटीवाल्नी
सुनौलीबाट बटौली पुगेपछि लाहुरेहरुले घर लैजान लत्ताकपडा, तामाको गाग्री, टिनको बाल्टी, लाल्टिन, सिगरेट, साबुन, मिठाई, यस्तै यस्तै सरसामान किनमेल गर्थे । उता लाहुरबाट ल्याएको आफनो नाम, नम्बर लेखेको टिनको बाकसमा चियापत्ति। ीजरा धनिया, चक्लेट, वस्किुट र आफनो लुगाफाटाहरु हुन्थे । बाकसमा सामान टम्म मिलाई बाकसमाथि बेडिंग विस्तरा, दायाँ बायाँ बाल्टिन, लाल्टिन र गाग्री झुण्डयाई सामान अनुसार एउटा, दुइटा वा तिनटा कति चाहिन्छ ? भरिया खोजेर घरतिर लाग्ने परम्परा थियो । भरिया खोज्ने जिम्मा भने बास बसेको भटटीवाल्नीकै हुन्थ्यो । पछि सिद्धार्थ राजमार्ग खुलेपछि यो काम तानसेनदेखी हुन थाल्यो ।
बटौलीदेखि हिंडेपछि लाहुरेहरु आफनो फौजी डेस र बुट बजार्दै अघिअघि, भरियाहरु उकाली वराली, डाँडा काँडा र भञज्याँग देउराली गर्दै लाहुरेको पछि पछि लाग्थे । लाहुरेहरु थकाल्नीको भटटीमा आइपुग्नासाथ सिनित् पारेर लिपेको पोटाचोटा र पिढीमा एउटा खुटटा माथि राखेर अरे यार कान्छी क्या बात् छ ? लेकिन तिमी त क्या नाम उस्तै छ यार, भन्दै खल्तीबाट ओ कान्छी खै खै एक गिलास बहुत अच्छावाला रक्सी देउ न यार, भन्दै खल्तीबाट कटकटे नोट झिकेर चटनी थापने र रक्सी खाइसकेपछि भटटीवाल्नीको काखतिर फाल्ने गर्थे ।...भर्भराउँदो उमेरका तरुनी भटटीवाल्नीसंग जिस्किने, मस्किने र टन्न रक्सी खाएर पैसा हराएको सोर नपाउने लाहुरे हरु पनि बग्रेल्तै हुन्थे । यस्तै मौका छापेर लाहुरेहरुलाई ढुटने, लुटने, र उस्तै परे मार्नेसम्मको कर्तुत पनि हुन्थ्यो ।

चित्र बहादुर श्रीस, उपल्लो दबुङ, सिपाही, ३।४ जी.आर.को वृतान्त
हामी वार चलिराको लडाइँ मोर्चामा पुग्योँ । हाम्रो पल्टन र जापानी फौजको घमासान लडाइँ भैराथ्यो । प्लाटुन कमाण्डर र एक जना गोरा सापको कमाण्डमा हाम्रो प्लाटुनले जापानीसंगको लडाइँ मोर्चा सम्हाल्ने जिम्मा लियो । गोरा सापले मुभ भन्यो । हुकुमको जवाफ छैन । हामी अघि बढयौँ । घमासान लडाइँ भयो । आफुसंगै गएका दायाँबायाँका साथीभाइहरु गेली लागी भकाभक ढल्दै गए । अब हामी जम्मा ५ जना र एक जना गोरा साप मात्र थियौं । हामी बचेकाहरु फायर गर्दै अघि बढयौँ । जापानीहरु प्छि हटदै गए । म कोर्लिङ गर्दै घिस्रिदै ट्रेन्चतिर बढदै थिएँ । एक्कासी दुश्मनले फालेको हेन्ड ग्रिनेट मेरै छेउमा आईकन खस्यो । त्यो बम पडकिन नपाउँदै मैले हत्त न पत्त टयाप्प टिपेर उतै दुश्मन भइतिर फाल्दिएँ । बम गुडुम्म गर्दै ठुलो आवाजले पडक्यो । ट्रेन्चमा भएका सबै दुश्मनहरु ठहरै भएछन् ।
यता हाम्रोतिरको गोरा सापले मैले गरेको एक्सन हेरिरा रैछ । गोर्खा, भेरि गुड भन्यो । यसो फर्केर हेरेको त गोरा सापले आफनो डायरीमा के लेख्दै थियो कुन्नी उताबाट अर्को जापानी दुश्मनले सापलाई फायर खोलेर ठोकिहाल्यो । साप त ठाउँ को ठाउँ पङलङै ढल्यो । म ट्रेन्चमै थिएँ । फेरी मैले नि ट्रेन्चमा आड लिइकन त्यो जापानीलाई फायर खोलेँ । ऊ पनि पकलक्कै ढल्यो । मैले ब्रस फायर खोल्दै ट्रेन्चबाट निस्केर अगाडी बढें । बचेखुचेका जापानीहरु पोस्ट छाडेर भागिसकेछन् । हामी ५ जनाले दुश्मनको पोस्ट कब्जा गरयौं । के गर्ने ? किस्मतले बाँचियो । गोरा सापले मेरो बहादुरी देखेर होला, डायरीमा के के लेख्दै थियो कुन्नि । त्यो गोरा साप बाँचेको भए त मैले नि ठुलै दर्जाको तक्मा झुन्डाउने थिएँ कि ? भाग्यले दिएन ।
बाँकी कुरा पुस्तकमा पढनु होला । पुस्तकमा यस्ता धेरै फौजी लडाईका कथा हरु छन् । धन्यवाद ।

Saturday, October 19, 2019

महापातकी विरूपाक्ष?




महापातकी विरूपाक्ष?
माधवप्रसाद पोखरेल, (नयाँ पत्रिका, २०७६ कात्तिक २ गते शनिबार)
[काठमाडौँमा पशुपति मन्दिरको पूर्वी ढोकाबाट वाग्मती किनारमा ओर्लिँदा दाहिने तिर ब्रह्मनाल नजिकै एउटा सानो मन्दिरमा एउटा उदेक लाग्दो मूर्ति छ । त्यस मूर्तिले सबै तीर्थ यात्रीको ध्यान आफु तिर तान्छ । धेरैजसो मानिसहरु त्यस मूर्तिलाई कलि (युग) को मूर्ति भनेर चिन्दछन् । मूर्ति पुरै तिघ्रा छोपिने गरी भुइँमा गाडिएको छ । त्यस मूर्तिका खुट्टा छन् कि छैनन् भन्ने कुराको भेउ पाइँदैन । मूर्तिको नाक नेप्टो छ, ओठ मोटो छ, टाउको बाटुलो छ, त्यसैले इतिहासकारहरुले त्यसलाई किरात कालको मूर्ति ठानेका छन् । नेपालमा भेटिएका सबभन्दा पुराना ढुङ्गाका मूर्तिमा यही कलिको मूर्ति र त्यसको पर तिर सिंहासनमा बसेको पुरुष मूर्ति समेत पर्दछन् (सत्यमोहन जोशी, २०१९, ‘पुरातत्त्व एक रोचक कथा’) । कलि युग जति जति छिप्पिन्छ, त्यति त्यति त्यो मूर्ति माथि माथि आउँछ भन्ने लोक विश्वास पनि पाइन्छ । जान्ने मान्छेहरु त्यस मूर्तिलाई विरूपाक्षको मूर्ति पनि भन्दछन् । संस्कृत कोशका आधारमा बिटुङ्गामा आँखो भएकाले यस मूर्तिलाई ‘विरूपाक्ष’ भनिएको रहेछ, किन भने शिवजीको जस्तै यस मूर्तिको पनि एउटा आँखो निधारमा छ, तर काठमाडौँ उपत्यकामा प्रचलित लोक कथाले ‘विरूपाक्ष’ अथवा ‘कलि’ को जस्तो परिचय दिन्छ, त्यस्तो अन्यत्र कतै पनि पाइँदैन।
काठमाडौँ उपत्यकामा प्रचलित लोक कथा अनुसार ‘विरूपाक्ष’ एउटा किराँती केटाको नाउँ हो । त्यो केटो सानै हुँदा घरमा सम्पत्ति नभएर केटाको बाबु धन कमाउन परदेश गयो, तर छोरो सात वर्षको हुँदा सम्म पनि बाबु चाहिँ घर नफर्के पछि हत्ते गरेर छोरो चाहिँ आमासित बिदा मागेर बाबु खोज्न निस्क्यो । जति ठाउँमा खोज्दा पनि आफु सत्र वर्षको भई सक्ता समेत बाबु कतै पनि नभेटिए पछि एक दिन छोरो चाहिँ जङ्गलमा भौँतारिई रहेका वेलामा रात पर्‍यो अनि उसले नजिकैको ओढारमा रात बिताउने निश्चय गर्‍यो । बाबुछोरै हराएको धेरै वर्ष बिते पछि आमा चाहिँ पनि बाबुछोरा खोज्न हिँडी । संयोगले आमाछोरा नै त्यसै ओढारमा वास बस्न पुगे । आमा तरुनी नै देखिन्थी । आमाछोराले एक अर्कालाई चिनेनन्, त्यसैले तिनीहरुको सहवास भयो । बिहान उठेर बाटो लाग्ने वेलामा चिनापर्ची गर्दा पो, तिनीहरु त आफ्नै आमाछोरा भएको थाहा भयो ।
विरूपाक्षको मातृगमन त्यो महापातक पछि नै कलि युगको सुरुवात भएको अरे । अहिले पनि विरूपाक्षका कलि नेपालमै छ अरे । आमा चाहिँको कथा लोक कथाले के भन्छ, मलाई थाहा छैन, तर छोरो चाहिँ पश्चात्तापले हुरुक्क भयो । मातृगमनको पातकीले कस्तो प्रायश्चित्त गर्ने भनेर उसले भगवान पशुपति नाथलाई सोधेछ । पशुपति नाथ विष, भाङ, धतुराले लट्ठ भएको वेला परेछ, त्यसैले तिनले केटालाई १२ धार्नी तामा पगालेर खाए पछि मात्रै मातृगमनको पाप छुट्छ भनी दिएछन् । केटाले तामा पघाल्न भाँडामा पकाएछ । धेरै समय सम्म आगामा तताए पछि तामा पग्ल्यो कि भनेर हेर्दा तामा त पग्लेनछ, तर भाँडा भित्र डढेको तामाको धुवाँले केटाको रूपै कालो, मैलो र विरूप भएछ । त्यस पछि केटाको नाम ‘विरूपाक्ष’ भयो अरे (लोक कथाले ‘विरूपाक्ष’ नामको ‘विरूप’ भन्ने अर्थ मात्र बुझेछ, ‘अक्ष’ भनेको ‘आँखो’ भन्ने चाहिँ बुझेको देखिँदैन) ।
भगवान पशुपतिले त आफुलाई ठगेछन् भन्ने लागेर त्यस पछि विरूपाक्ष शिवजीलाई मनपरी गाली गर्दै र उनका मूर्तिमा लात्ताले हान्दै पशुपति क्षेत्रमा भौँतारिन्छ अनि उ भगवान बुद्धको शरणमा जान्छ । बुद्धले उसलाई बोधिचित्तको एउटा जपमाला दिन्छन् र त्यो माला नखुइलिउन्जेल घुमाउनु भन्ने उपदेश दिन्छन् । माला खुइलिए पछि तेरो पापमोचन हुन्छ भन्ने बुद्धको उपदेश थियो । विरूपाक्षले अहिले उसको मूर्ति जहाँ छ, त्यहीँ बसेर माला धेरै घुमायो, तर माला खुइलिएन । हताश भएको विरूपाक्षले एउटा फलामको पातो मरुन्जेल ढुङ्गामा घोटी रहेको एउटा केटालाई देखेर के गरेको भनेर सोध्यो । केटाले भन्यो, ‘हेर्नु होस् न, मेरो लुगा फाट्यो, त्यसैले फलाम घोटेर सियो बनाउन खोजेको ! त्यही सियाले यो लुगा तुन्छु भनेर यो फलाम घोटेको ।’ विरूपाक्षलाई कडा मेहनत गर्ने प्रेरणा दिन त्यो केटाको भेस लिएर आएका ती भगवान बुद्ध नै रहेछन् । त्यस केटाबाट ज्ञान पाए पछि विरूपाक्षको माला पनि खुइलियो, तर पशुपतिका भक्तहरुले शिवजीलाई तथानाम गाली गरेर उनका मूर्तिमा लात्ताले हान्दै हिँड्ने विरूपाक्षलाई पकडेर वाग्मती किनारमै भुइँमा गाढी दिए । आफुलाई धोका दिने भगवान र आफुलाई भुइँमा गाड्ने भक्तहरुसँग बदला लिन विरूपाक्ष भुइँबाट उखेलिन बल गरी रहेको छ । कलि युगको अन्तमा विरूपाक्ष पुरै बाहिर निस्किन्छ भन्ने लोक विश्वास छ । पशुपतिमा विरूपाक्षको मूर्ति नजिकैकी एउटी महिलाको मूर्ति विरूपाक्षकी आमा (किराँतिनी हो कि यक्षिणी) को हो भन्ने विश्वास पाइन्छ ।
काठमाडौँको ‘विरूपाक्ष’ को यो लोक कथा बौद्धहरुले बनाए जस्तो छ, किन भने (१) यस कथामा विरूपाक्षसँग डराएर महादेव भागेर बुद्धको शरणमा गएको वर्णन छ, (२) बुद्धले शरण दिएर स्वयम्भूमा महादेव ‘पञ्चबुद्ध’ का रूपमा लुकेको कुरो पनि यसै कथामा पाइन्छ, (३) शिवजीले ठगेको कुरो छ, बुद्धले सद्बुद्धि दिएको कुरो कथामा छ, (४) सद्बुद्धि दिन बुद्ध गरिब केटाको भेसमा पनि आउँछन्, (५) शिवजीको नराम्रो कुरो मात्र छ, बुद्धको राम्रो कुरो मात्र छ, (६) विरूपाक्षले शिवजीलाई मनपरी गाली गरेको र लात्तले हानेको कुरो छ, अनि (७) विरूपाक्ष भगवान शिवकै एउटा नाउँ हो, तर यस कथाले विरूपाक्षलाई मातृगामी, महापातकी र कलि युगको साक्षात् मूर्तिका रूपमा यस्तो कथा रचेको छ, जसको छेउभेउ शिव पुराणमा कतै पनि आउँदैन । यी प्रमाणहरुका आधारमा के बुझिन्छ भने, कुनै वेला काठमाडौँ उपत्यकामा शैव र बौद्धहरुका बिचमा धार्मिक होड भएका वेलामा यहाँको बौद्ध परम्पराले महादेवलाई खसाल्न र बुद्धलाई शिवजी भन्दा ठुला र महान प्रमाणित गर्न यो कथा रचेको बुझिन्छ ।
पौराणिक (‘पुरानिक’) इन्साइक्लोपिडिया (वेत्तम मणि, २०७५ इ०) अनुसार विभिन्न पुराणमा विरूपाक्ष नामका आठ थरी पात्र पाइन्छन् । तिनीहरु मध्ये भगवान् शिवका एघार ओटा रुद्र रूप मध्ये एउटा रुद्रको नाम पनि विरूपाक्ष छ भने, विरूपाक्ष नाम भएका धेरैजसो पात्र चाहिँ दैत्य, दानव र राक्षस नै छन् (काठमाडौँ उपत्यकाको लोक कथा चाहिँ कुनै पुराणमा पनि छैन), जस्तै, (१) यो पृथ्वी आठ ओटा हात्ती (दिग्गज) ले आठ दिशाबाट उचालेर थामिएको पौराणिक विश्वास छ । विरूपाक्ष तिनीहरु मध्ये एउटा हात्तीको नाउँ हो । (२) महाभारत, आदि पर्व (अध्याय ६७) अनुसार कश्यप प्रजापति र दनुको एउटा दानव सन्तानको नाम पनि विरूपाक्ष थियो । (३) महाभारत, सभा पर्व (दाक्षिणात्य पाठ, अध्याय ३८) अनुसार (मिथिलाबाट प्राग्ज्योतिषमा राज्य गर्न गएको) नरकासुरको एउटा असुर सेवकको नाम पनि विरूपाक्ष थियो, जसलाई लोहितगङ्गा (ब्रह्मपुत्र) किनारमा मारियो । (४) महाभारत, द्रोण पर्व (अध्याय १७५) अनुसार घटोत्कचको एउटा राक्षस मित्रको नाउँ पनि विरूपाक्ष थियो । (५) महाभारत, शान्ति पर्व (अध्याय १७०) अनुसार एउटा दैत्यको नाउ पनि विरूपाक्ष थियो । (६) वाल्मीकि रामायण (युद्ध काण्ड) अनुसार रावण पट्टि लागेर राम लक्ष्मणसित लडाइँ गर्ने एउटा राक्षसको नाम पनि विरूपाक्ष थियो । (७) अग्नि पुराण (अध्याय १०) अनुसार लक्ष्मणका हातबाट कुम्भकर्ण मरे पछि रावणका अनेक प्रमुख सेनापति मध्ये विरूपाक्ष पनि थियो । सुग्रीवले रावणको सेना तहसनहस पारेका वेलामा विरूपाक्ष हात्तीमा चढेर धनुर्वाणले युद्ध गर्न आयो र सबैलाई तर्सायो । अन्तमा सुग्रीवले विरूपाक्षलाई मारे । उत्तर वैदिक कालदेखि नै शिवजीलाई वैदिक साहित्यले खसालेकै पाइन्छ अनि जब जब देउता र दानवहरुका बिचमा युद्ध हुन्छ, त्यति वेला पुराणहरुमा भगवान विष्णुले चाहिँ देउताको ओर गरेको शिवजीले चाहिँ राक्षस, दानव, असुर र दैत्यहरुकै ओर गरी रहेको देखिन्छ । वैदिक साहित्य र पुराणहरुले ‘गतिछाडा’ ठहराएका शिवजी अवैदिकहरुका चाहिँ देउता रहेछन् भन्ने बुझिन्छ, त्यसैले विरूपाक्ष नाउँ भएका अनेक दैत्य, दानव, राक्षस र असुरहरु हुनु स्वाभाविक छ, किन भने शिवजी जसका देउता थिए, उनीहरुका हातमा कलम थिएन होला ।
विरूपाक्षको काठमाडौँ उपत्यकामा चलेको कथानक चाहिँ इपू० पाँचौँ शताब्दीका ग्रिसेली नाटककार सोफोक्लिजको ‘इडिपस रेक्स’ (राजा इडिपस) भन्ने नाटकको ग्रिसेली मिथकको कथानक (इन्साइक्लोपिडिया अफ ग्रिक एन्ड रोमन मिथोलोजी, २०१० इ०) सित मिल्छ । थेब्सका राजाको एउटा छोरो जन्मिने बितिक्कै के भविष्य वाणी भयो अरे भने, त्यस बालखले आफ्नै बाबुलाई मार्छ र आफ्नै आमालाई बिहे गर्छ । त्यस्तो अलच्छिनी बालखलाई जङ्गलमा मारेर फाल्न राजाले पठाए पनि सेवकले त्यसलाई जङ्गलमा त्यसै छोडी दिएछ । बालखलाई एउटा किसानले भेट्यो र कोरिन्थको निःसन्तान राजालाई दियो । राजा रानीले बालखको नाउँ ‘इडिपस’ राखे अनि त्यसलाई धर्म पुत्र बनाएर पाले । कतैबाट केटो यिनीहरु आफ्ना बाबु आमा होइन रहेनछन् भन्ने थाहा पाएर घर छोडेर हिँड्यो । बाटामा एउटा मान्छेसँग झगडा पर्‍यो । इडिपसले त्यसलाई मारी दियो र थेब्स गएर उसकी रानीलाई बिहे गर्‍यो र त्यसबाट सन्तान जन्मायो, तर डेल्फीको जोखाना अनुसार उसले आफ्नै बाबुलाई मारेछ र नचिनेर आफ्नै आमालाई बिहे गरेछ अनि आफ्नै भाइ बहिनी हो कि छोराछोरी जन्माएछ भन्ने थाहा पायो । त्यो अत्यन्त घृणित र पीडादायक महापातक चाल पाएर इडिपस, उसकी आमा हो कि रानी अनि उसका भाइ बहिनी हो कि छोराछोरी सबै आत्महत्या गरेर मरे ।
उदेक लाग्दो कुरो के छ भने, विरूपाक्षको किंवदन्ति मात्र ग्रिसेली मिथकको इडिपससित मिल्ने होइन, पशुपति आर्य घाटको विरूपाक्षको मूर्ति कला समेत ग्रिसेली शैलीमा बनेको छ (सत्यमोहन जोशी, २०१९, पुरातत्त्व एक रोचक कथा)।
भारतमा भगवान शिवका विरूपाक्ष मन्दिरहरु पाँच छ ठाउँमा छन् । कर्णाटक (हाम्पी, चारे, बङ्गलुरु, आदिहल्ली) मा मात्रै पनि विरूपाक्ष मन्दिर चार ओटा छन् । ती बाहेक ओडिशाको फुलबानीमा र मध्य प्रदेशको रतलाममा पनि विरूपाक्षका प्रसिद्ध मन्दिर छन् । भारत विरूपाक्ष मन्दिर भएको कुनै ठाउँमा पनि विरूपाक्षलाई दैत्य, राक्षस, दानव, कलि र पातकी ठानिँदैन । विरूपाक्षलाई मातृगामी पातकी कलि ठान्ने ठाउँ संसारभरमा काठमाडौँ उपत्यकामा मात्र हो, त्यसैले कलि युग अहिले कतै छ भने, नेपालमै छ भन्ने यस उपत्यकाको लोक विश्वास ठिकै हो कि जस्तो लाग्छ, किन भने भगवान शिवको पावन विरूपाक्ष मूर्तिलाई यस उपत्यकामा जस्तो अपमान, लाञ्छना र कलङ्क अन्यत्र कतै पनि लगाएको पाइँदैन ।
डा० जगमान गुरुङको ‘विरूपाक्ष र विराटकको मूर्ति’ भन्ने लेखमा उनले हरिणेश्वर नजिकै आर्यघाटमा रहेको विरूपाक्षको त्यही मूर्तिको शैली आन्ध्र प्रदेशको तिरुपति नजिकै गुडिमल्लमको परशुरामेश्वर लिङ्गमा कुँदिएको विरूपाक्षको मूर्तिसंग मिल्दछ भन्ने लेखेका छन् ।
गुडिमल्लममा ‘परशुरामेश्वर’ को पूर्ण कदको मूर्ति कालो कालो रछाहा रङको शिलामा सक्कली जस्तो देखिने विशाल लिङ्गको अग्र भागमा कुँदिएको छ । डा० गुरुङले भने झैँ परशुरामेश्वरको त्यो मूर्तिको लट्टा परेको कपाल झन्डै पशुपतिको विरूपाक्षको कपालको लट्टा जस्तै देखिन्छ, तर विरूपाक्षको मूर्ति कम्मर मुन्तिर भुइँमा छोपिएको छ भने, परशुरामेश्वरको मूर्ति शिरदेखि पाउ सम्म पुरै देखिन्छ । परशुरामेश्वरको नाक नेप्टो छैन, थेप्चो चाहिँ छ भने, पशुपतिका विरूपाक्षको नाक नेप्टो छ । गुडिमल्लमको शिव मूर्तिको देब्रे काँधमा परशुरामको जस्तो बन्चरो भएकाले हो कि किन हो, त्यस मूर्तिको नाम ‘परशुरामेश्वर’ रहेको छ । शिवजीको दाहिने हातमा चाहिँ एउटा भेडो (सिकार?) लत्रिएको छ । शिवजीको काँधमा त्यहाँ पनि जनै छैन । काठमाडौँ र आन्ध्र प्रदेशका दुइटै मूर्तिमा शिवजीका हात दुइटै छन् । परशुरामेश्वरको पारदर्शी धोती बाहिरबाटै लिङ्ग चाहिँ छ्याङ्छ्याङ्ती देखिएको छ (एन.विकिपिडिया.ओआरजी)।
माथि उल्लेख गरिएका भारतको कर्णाटक, ओडिशा र मध्य प्रदेशका ‘विरूपाक्ष’ नै नाम भएका शिवजीको स्वरूप र आन्ध्र प्रदेशको ‘परशुरामेश्वर’ मा पाइने शिवजीको स्वरूप मध्ये नेपालको विरूपाक्षको अनुहारसित धेरै मिल्ने त परशुरामेश्वरकै स्वरूप हो, तर नेपालको विरूपाक्षको स्वरूपसँग काटिकुटी मिल्ने भगवान विरूपाक्षको स्वरूप चाहिँ कतै पनि छैन । भगवान विरूपाक्षको मानवाकृतिक रूप हाम्पीमा छन त छ, तर त्यसको स्वरूप नेपालका विरूपाक्षको स्वरूपसित मिल्दैन । सक्कली जस्तो देखिने पाँच फिट अग्लो शिव लिङ्गमा कुँदिएको परशुरामेश्वरको मूर्ति चाहिँ मानवाकृतिक छ, त्यसमा शिवजीको अनुहार त धेरैजसो नेपालका विरूपाक्षको अनुहारसित मिल्छ, तर त्यस मूर्तिलाई विरूपाक्षको भन्ने चलन छैन । अर्का तिर ‘विरूपाक्ष’ कै नाउँ भएका शिवजीको अर्को कुनै मूर्ति पनि नेपालको विरूपाक्षको मूर्तिसँग मिल्दैन । परशुरामेश्वरको जनै नलगाएको थ्याप्चो नाक र बाटुलो अनुहार भएको मूर्ति पहिलोदेखि तेस्रो शताब्दीको मानिए अनुसार डा० जगमान गुरुङले नेपालको सबभन्दा पुरानो त्यो विरूपाक्षको मूर्ति पनि उत्तिकै पुरानो हुनु पर्छ भन्ने अड्कल गरेका छन् । यहाँ सम्म गरिएको विरूपाक्षको स्वरूपको विवरणका आधारमा नेपालको विरूपाक्षको मूर्ति कुनै महापातकी र कलि युगको मूर्ति नभएर किरातेश्वर महादेवको मूर्ति हो भन्ने कुरो माथिका प्रसङ्गबाट बुझ्नु पर्छ ।
हाम्पीको विरूपाक्षको मूर्तिमा भने, तन्त्रको प्रभाव अलिक बढ्ता देखिन्छ । भारतीय उपमहाद्वीप भरि शैव र शाक्त परम्पराका सबैजसो देवीदेवताको स्वरूप र मन्दिरहरु तान्त्रिक आडमै बनेका छन् । यस उपमहाद्वीपमा तन्त्रको परम्परा सबै भन्दा पुरानो हो । सिन्धु बेँसीको सभ्यतामा नै तन्त्रको प्रभाव पाइन्छ । उपमहाद्वीपमा वैदिक सभ्यता (इपू १३००-१२००) विकसित हुनु भन्दा अगाडिदेखि नै त्यस (सिन्ध र पञ्जाब) देखि दक्षिण (इजिप्ट, मेसोपोटामिया र सिन्धु बेँसी) का प्राचीन सभ्यतामा तान्त्रिक संस्कृति चलेको देखिन्छ ।
तन्त्रका केही आधारभूत विशेषता मध्ये एउटा हो पुरुषलाई भन्दा महिलालाई बढ्ता सम्मान गर्नु, दोस्रो विशेषता हो यौन (पुरुष र नारीको लैङ्गिक सम्बन्ध) लाई चर्चा गर्नै नहुने, लुकाउनु पर्ने, जीवनमा कामै नलाग्ने जस्तो, असभ्य, छाडा, पापी र अपवित्र कुरो नठानेर कला र जीवनको महत्त्वपूर्ण विषय बनाउने, अनि तेस्रो विशेषता चाहिँ दम्पती मध्ये पुरुषले नारीलाई साक्षात् भगवती पार्वती ठान्ने, नारीले पुरुषलाई साक्षात् महादेव ठान्ने अनि उनीहरुको रति क्रीडालाई शिव पार्वतीकै आराधना ठानेर आनन्दमय भक्तिमा लीन हुनु र चौथो विशेषता हो पञ्चमकार (मद्य, मांस, मीन, मिथुन, र मुद्रा) लाई त्यागेर होइन, सेवन गरेरै विस्तारित ज्ञान र चेतनाको मार्गबाट मोक्ष प्राप्ति गर्ने हो (स्वामी आनन्दकल्पित सरस्वती, २००२ इ०, ‘एक्स्ट्यासी थ्रु तन्त्र’) । भारतीय उपमहाद्वीपमा प्रचलित त्यस तान्त्रिक दर्शन र तज्जन्य संस्कृतिलाई पहिले वैदिक आर्यहरुले र पछि बौद्धहरुले गतिछाडा र असभ्यहरुको आचरण ठाने ।
वैदिक धर्म (इपू० १२००-७००) र त्यसको उत्तराधिकारी सनातन हिन्दु धर्म (चौथो-छैटौँ शताब्दी) को प्रभाव कम भएका ठाउँ (हिमाली लेक, नेपाल, असम, दक्षिण भारत) मा चाहिँ अहिले पनि तान्त्रिक लोकाचार कायमै छ । शिव लिङ्ग, योनिर्लिङ्ग, जलहरी, मन्दिरका टुँडाल र भित्ताहरुको रतासन, थानकोट र भक्तपुरको गाई जात्रा, भीमसेन, घण्टाकर्ण र उग्रचण्डीको महोत्सव, असमको कामाख्या मन्दिर, उर्ध्वरेता विरूपाक्ष, छत्रचण्डेश्वर (भैरव) को नग्नमूर्ति, मध्य प्रदेशको खजुराहोको मन्दिरका कामकला अनि हाम्पीमा शिव पार्वतीको यौन विलास जस्ता सांस्कृतिक कुरा नेपाल भारतमा देखिनु तान्त्रिक दर्शन र संस्कृतिकै प्रभाव हो । दक्षिण भारत बाहिर मेसोपोटामिया र इजिप्टमा ओसिरिस र इसिसको अनि ग्रिसमा डायोनिससका उर्वरता सम्बन्धी महोत्सवले दक्षिणमा तन्त्रको व्यापकता सिद्ध गर्छ । प्राग्वैदिक, वैदिक र उत्तर वैदिक साहित्यमा पनि अश्वमेध यज्ञ, राजसूय यज्ञ, वाजपेय यज्ञ, व्रात्यस्तोम र महाव्रतका अनुष्ठानहरु (अस्को पर्पोला, २०१५ इ०, ‘रुट्स अफ हिन्दुइज्म’) मा यौन लोकाचारले जुन सांस्कृतिक स्वरूप पाएको छ, त्यो चाहिँ तान्त्रिक लोकाचार होइन ।
यौनलाई भारतीय उपमहाद्वीपमा तन्त्रले जति उदार दृष्टिले आफ्नो जीवन दर्शन बनाएको थियो, त्यति उदार युरोप र पश्चिमले सिग्मन्ड फ्रायड (२००५ इ०, ‘इडिपस कम्प्लेक्स’) ले मनोविश्लेषणको सिद्धान्त र उपचार विधि नै विकास गरी सके पछि पनि बनाउन सकेको छैन ।
भारतका ६-७ ठाउँका विरूपाक्ष मन्दिरहरुमा भगवान शिवको मात्र श्रद्धा र भक्तिपूर्वक पूजा गरिएको कुरो हेर्दा माथिको विश्लेषणबाट के निष्कर्ष आउँछ भने, पशुपति आर्यघाटको विरूपाक्षको मूर्ति भगवान शिवकै किरातेश्वर मूर्ति रहेछ । विरूपाक्षका जस्ता शिवका जनै नलगाएका मूर्तिहरु जनै लगाएका शिव मूर्ति भन्दा पुराना रहेछन् । शैव धर्म र तन्त्र आज भन्दा झन्डै ६ हजार वर्षदेखि सिन्धु बेँसीको हडप्पा र मोहेन्जोदडोको प्राग्वैदिक सभ्यतामा प्रचलित थियो, तर वैदिक धर्म आज भन्दा दुई अढाई वर्ष भन्दा अगाडिको होइन । पछि आएका धर्मको लोकाचारले अनादि कालदेखि चली रहेका स्थानीय धर्मको लोकाचारलाई कलङ्कित गर्ने रहेछ । पुराना देउताहरु पनि कलङ्कित, गतिछाडा र महापातकी प्रमाणित गरेर लोक धर्मबाट विमुख पार्ने कथाहरु पछि आउनेले बनाउने रहेछन् । त्यसै गरी वैदिक धर्म र हिन्दु धर्मले वैष्णव धर्मको उत्थान गर्दै शिवजीलाई गतिछाडा ठहराई रहेकै थिए, पछि (छैटौँ शताब्दी) विकसित भएको बौद्ध धर्मले पनि भगवान विरूपाक्षलाई कलङ्कित र महापातकी प्रमाणित गर्ने लोक कथा बनाएछ भन्ने कुरो नेपाल खाल्डामा प्रचलित विरूपाक्षको उपाख्यानबाट बुझिन्छ ।

Wednesday, October 16, 2019

लिच्छविकालीन अनन्तलिङ्गेश्वरको पुनर्निर्माण सकियो


लिच्छविकालीन अनन्तलिङ्गेश्वरको पुनर्निर्माण सकियो
भाद्र २६, २०७६कान्तिपुर संवाददाता
भक्तपुर — भूकम्पका कारण क्षतिग्रस्त लिच्छविकालीन अनन्तलिङ्गेश्वर महादेव मन्दिर पुनर्निर्माण सकिएको छ सातौं शताब्दीमा नरेन्द्रदेवले प्यागोडा शैलीमा बनाएको लिच्छविकालीन मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो 
लिच्छविकालन प्यागोडा शैलीको मन्दिर १९९० सालको भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण गर्दा गुम्बज शैलीमा बनाइएको थियो सोही गुम्बज शैलीको मन्दिर पनि ०७२ वैशाखको भूकम्पले क्षतिग्रस्त भएको थियो

क्षतिग्रस्त मन्दिरलाई १९९० सालअघिकै शैलीमा पुनर्निर्माण गरिएको मन्दिर संरक्षण तथा विकास समिति अध्यक्ष शालिकराम न्यौपानेले बताए इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठको ‘अनन्तलिङ्गेश्वर’ पुस्तकमा १९९० सालको भूकम्प अघि अनन्तलिङ्गेश्वर मन्दिर नेपाली शैलीमा बनेको तीनतले थियो

स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) भक्तपुरका अनुसार यो पल्ट १ करोड ६३ लाख २९ हजार ६ सय ८८ लागतमा मान्दिर पुननिर्माण गरिएको हो करिब दुई वर्ष खर्चेर बनाइएको अनन्तलिङ्गेश्वर महादेव मन्दिरको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेत र पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले संयुक्त रूपमा उद्घाटन गरे

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विकास निर्माणको नाममा पुरातात्त्विक संरचनाको विनाश हुन नहुने बताए पूर्व पर्यटन मन्त्री आनन्दप्रसाद पोखरेलले लिच्छविकालीन मन्दिर मन्दिरवरपर निर्माण गर्न लागिएको गुरुयोजना सम्पन्न गर्न समन्वय, ऐक्यबद्धता आवश्यक भएको बताए

अर्का पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य महेश बस्नेतले भक्तपुरका धेरै क्षेत्रहरू विश्व सम्पदामा सूचीकृत भएका र यहाँका महत्त्वपूर्ण धार्मिक स्थल भएकाले भक्तपुरलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गरी विकास गर्नुपर्ने बताएप्रकाशित : भाद्र २६, २०७६ ०७:३०


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...