Friday, March 20, 2020

वँ वँ गचि तितिये


वँ वँ गचि तितिये
चैत्र १, २०७६विमल निभा
राजनीतिक विषयमा कति कलम चलाउने भनेर यसो साहित्यमा जान खोजेको त यहाँ पनि भ्रष्टाचारसँग जम्काभेट भयो के भ्रष्टाचार बेइमानी, दुराचरण, चोरीचकारी, बदमासी, कुकृत्य, छलकपट, लालसा, ठगी, फटाइँ, दुष्कर्म, धोकेबाजी, दुष्टता आदिबाट कुनै त्राण छैन त?
हेर्नोस्, कुरो के हो भने आजको खबरकागतमा एक सुप्रसिद्ध साहित्यकारको नाम भ्रष्टाचार काण्डमा नराम्ररी मुछिएर आएको छ त्यसकारण एक साहित्यप्रेमी भएको नाताले ज्यास्ती नै मर्माहत भएको छु

यद्यपि साहित्यको क्षेत्रमा पहिलेदेखि भ्रष्टाचार नभएको भन्ने होइन यसले उसको कविता चोर्‍यो र उसले मेरो कथाको प्लट पुरै उडायो टाइपका ससाना आरोप–प्रत्यारोप बरोबर चलिनै रहेको छ यो कुन नयाँ कुरो हो ? हिजै एक समसामयिक पत्रिकामा एक लेखकले अर्को लेखकको रचनाको भावनात्मक दोहन गर्‍यो भनी पढेको थिएँ अर्थात् इनडाइरेक्ट चोरी यस्ता खबरहरू आइनै रहन्छन् तर यी विलकुलै साहित्यिक परिधिमा सीमित घटना अथवा दुर्घटना हुन् हो, एकपटक साहित्यिक चोरीलाई लिएर ठूलै मुद्दा–मामिला हुनलागेको थियो वास्तवमा कुरो के हो भने नेपाली साहित्यको एक कथाकारले अर्को कथाकारको कथा पुरै सारेर कुनै साहित्यिक पत्रिकामा छाप्यो यसले ओरीजनल कथाकार क्षुब्ध हुनु स्वाभाविकै थियो अतः क्रोधको आवेगमा उसले तुरुन्तै अदालतमा जाने निर्णय गर्‍यो

यसो नगर्नोस् तपाईं।’ एक शुभचिन्तक पाठकले सल्लाह दियो
के नगरुँ म?’ कथाकारको क्रोध जारी थियो
तपाई अदालतमा नजानोस्।’ पाठकले जोड दिएर भन्यो
किन नजाउँ म?’ कथाकारले गर्जन गर्‍यो, ‘म जरुरी अदालतमा जानेछु।’
तपाईंको कथा पनि मौलिक होइन ’शुभचिन्तक पाठकले विस्तारै भन्यो, ‘यो एक विदेशी कथाको ठाडो नक्कल हो।’

त्यसपछि ओरीजनल कथाकार चुपो लाग्यो गम्भीर भावमा चिन्तन–मनन गर्न थाल्यो। यही कुनै पनि साहित्यकारको चलनचल्तीको मुद्दा हो चाहे त्यो नक्कलबाज साहित्यकार नै किन नहोस्

तर यहाँ सवाल कुनै पनि नक्कली अथवा असली साहित्यकारको नभएर मेरा मित्र ख्यातनाम कथाकार महेशविक्रम शाहको हो यसको कारण के हो भने उनीमाथि नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको केसमा मुद्दा चलाउने भएको छ यो मामिला चाँडै नै न्यायालयमा चल्ने भन्ने सुनिन्छ अथवा त्यहाँ चलिनै सक्यो कि? अब जेसुकै भए पनि एउटा कुराचाहिंँ स्पष्ट भएको छ त्यो के भने भ्रष्टाचार साहित्यिक कथा, कविता र उपन्यासको सीमित घेराबाट एकाएक मुक्त भएर यथार्थको ठोस भूमिमा पछारिएको छ मेरा मित्र महेशविक्रम शाह पक्का यथार्थवादी कथाकार हुन् तर उनको निजी यथार्थ यस रूपमा प्रकट हुनेछ भनी मलाई लागेको थिएन

केही समयअघि मेरा कवि मित्र दिनेश अधिकारीको नाम पनि बहुचर्चित बालुवाटार ललिता निवास जग्गाजमिन काण्डमा आएको थियो एकछिन आएको नाम दिनेशहरि अधिकारी भएकोले कोही अर्कैजस्तो लाग्यो तर मलाई व्यक्तिगत तवरले केही लाग्दैमा के हुन्छ? मेरो भन्नुको अभिप्राय के हो भने दुवै दिनेश अशंकास्पद रूपले एउटै हो याने दिनेश अधिकारीमा एकथान हरि थप्दैमा के फरक पर्छ? मेरा मित्र दिनेश (हरि) अधिकारी एक वरिष्ठ गीतकार पनि हुन् उनको धरतीको गीत नामक कविता संग्रह बहुतै प्रशंसित पनि रहेको यसका साथसाथै आफ्नो सम्भवतः एकमात्र खण्डकाव्य इन्द्रजात्रा निम्ति कविजीले मदन पुरस्कार पनि प्राप्त गरिसकेका छन्

मेरा मित्र कवि दिनेश अधिकारी यस्तै कथात्मक काव्यका लागि नित्य नूतन प्लटको खोजी गरिरहन्छन् तर साहित्यिक प्लटको खोज गर्दागर्दै उनी एक्कासी बालुवाटार, ललिता निवासको जमिनी प्लट अर्थात् सरकारी धरतीमा पुग्नेछन् भन्नेचाहिँ पटक्कै लागेको थिएन कतै उनको कविता संग्रह धरतीको गीत यसैको (बालुवाटार ललिता निवास) साहित्यिक भूमिका त होइन? जे होस्, नेपाली साहित्यका उत्साही विद्यार्थीहरूका लागि यो अनुसन्धानको चाखलाग्दो विषय हुनसक्छ

मेरा साहित्यकार मित्रद्वय कथाकार महेशविक्रम शाह र कवि दिनेश अधिकारीको भ्रष्टाचारले मन सारै नै विचलित भएकोले म पुनः राजनीतिमै फर्कन्छु अहिले नेपालको राजनीतिक वातावरण असाध्यै राम्रो भ्रष्टाचारको कतै पनि कुनै नामोनिसान छैन कहाँसम्म भने ‘सत्तरी करोड कमिसन काण्ड’ का नायक भूतपूर्व सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटासमेत इमानदारी तथा सदाचारको अन्तर्वार्ता दिइरहेका छन् यसमा प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीले मौखिक क्लिनचिट दिइसकेकोले अब कमरेड बाँस्कोटालाई भ्रष्टाचारी भन्न मिल्दैन अर्थात् सबथोक ठिकठाक प्रधानमन्त्री कमरेड ओली पनि अप्रेसनपश्चात आराम गरिरहेका छन् उनलाई सद्यः किड्नीका लागि बधाई दिन्छु

अन्त्यमा,
कोरोना भाइरसको आतंक हामीकहाँ पनि पुगिसकेको छ तर नेपालीहरूलाई यसबाट कुनै पनि प्रकारको खतरा छैन खास गरेर नेपालका साहित्यकारहरू कोरोना भाइरसबाट सम्पूर्णतः मुक्त रहेका छन् अझ हाम्रा प्रगतिशील कवि, कथाकार, समालोचक, निबन्धकार, उपन्यासकार आदिलाई त यसले अलिकति पनि स्पर्श गर्न सक्दैन किनभने वर्तमान कम्युनिस्ट नामधारी सरकारबाट प्राज्ञमा डाइरेक्ट नियुक्त नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले यसको विशेष मान्त्रिक उपाय सुझाएका छन् सोसल मिडियामा भाइरल कोरोनाद्रोही मन्त्र यस्तो छ
ओम किच वँ वँ
गच तितिये स्वाहा
गच वँ वँ गचि
तितिये स्वाहा थ...।’
प्रकाशित : कान्तिपुर, चैत्र १, २०७६ ०९:३७


Wednesday, March 18, 2020

पेरुङ्गोमा जीवनदृष्टि


पेरुङ्गोमा जीवनदृष्टि
शनिबार, चैत १, २०७६

पेरुङ्गो संस्करण (पाँच कृतिको सँगालो) लेखक: गणेश रसिक, प्रकाशक: सांग्रिला बुक्स, मूल्य: रु.२२५० 
लेखकहरुका चर्चित वा सबै कृतिलाई एउटै समुच्च संग्रहमा प्रकाशन गर्ने चलन नयाँ होइन । गणेश रसिकले आफ्ना चर्चित पाँच पुस्तकको संग्रहलाई नयाँ नाम दिएका छन्, ‘पेरुङ्गो संस्करण’ । पेरुङ्गो बाँसको चोयाले बनेको सामग्री हो । पूर्वका राई र लिम्बूले वैवाहिक लगायत अन्य सांस्कृतिक कार्यमा कुखुरा, सुँगुरका पाठा र अन्य सौगात राख्न प्रयोग गर्छन् 
पेरुङ्गोमा रसिकका ‘दशगजामा उभिएर’, ‘छपक्कै मनमा बसेकाहरू’, ‘आकाशगङ्गाको ओतमुनि’, ‘मुनिया र उसको छोरो’ र ‘ताराभन्दा सपना धेरै’ पुस्तक संग्रहित छन् । पाँचै पुस्तक फरक विधाका छन् । ‘दशगजामा उभिएर’ मा १८ वटा संस्मरणात्मक निबन्ध छन् । यो कृतिले २०६३ सालको पद्मश्री पुरस्कार पाएको थियो 
पुस्तकमा रसिकले नजिकका मान्छे गुमाउँदाको पीडालाई उतारेका छन् । दशगजालाई जन्म र मृत्युको सीमारेखाका रुपमा अर्थ्याएका छन् । “मान्छेको भाग्यमा जन्म कसरी र मरण कहा“ हुन्छ भन्ने जन्मिएको दिन र मरेको दिन मात्र थाहा हुँदोरहेछ”, जीवन दर्शनमा उनी यस्तो निचोड निकाल्छन् ।
पेरुङ्गोको अर्को कृति ‘छपक्कै मनमा बसेकाहरू’ मा रसिकले आफूले सङ्गत गरेका साहित्य र सङ्गीत क्षेत्रका १९ व्यक्तिबारे व्यक्तिचित्र उतारेका छन् । कृति पढेपछि थाहा हुन्छ, रसिकले अक्षर र गीत–सङ्गीतको खेती गर्नेलाई साथी बनाउँदै हिंडे 
आकर्षक भाषाशैलीमा लेखिएका संस्मरणले पाठकलाई बाँधेर त राख्छन् नै चर्चित व्यक्तिबारे नयाँ जानकारी पनि दिन्छन् । बालकृष्ण सम, तारादेवी, शान्ति ठटाल, कृष्णभूषण वल, रामेश, मञ्जुल लगायतसँग उनले विताएको समयले तत्कालीन परिस्थितिको व्याख्या गरेको छ 
अर्को पुस्तक ‘आकाशगङ्गाको ओतमुनि’ लाहुरेको कथामा बुनिएको उपन्यास हो । आफ्नो देश, गाउँ र घर–परिवारको मायाले आहत भएको लाहुरे मनलाई उनले शब्द मार्फत प्रतिबिम्बित गरेका छन् । आफू परदेश भएका कारण आमाबुवालाई अन्तिम घडीमा भेट्न नपाएकोमा मुख्यपात्र सर्वजित राई छट्पटिएको छ।
उपन्यासमा पूर्वी तराईमा झोडा फाँडेर बस्ती बस्दै गरेको समय छ । त्यो समय २०२० देखि २०३५ सालबीचको हो भनेर अनुमान लगाउन सकिन्छ । सरकारी जग्गा हडपेको भन्दै सर्वजितलाई कुटपिट मात्र गरिंदैन, जेल नै पठाइन्छ । तर, उसले हार मान्दैन र झोडामा बस्ने संघर्ष गरिरहन्छ । उपन्यासले राजनीतिक उद्देश्य प्राप्तिका लागि संघर्षमै जीवन बिताएको एउटा पुस्ताको कथा भन्छ 
रसिकको साहित्यिक यात्रा कथा लेखनबाट शुरु भएको हो । पेरुङ्गोमा पनि उनको एउटा कथासङ्ग्रह ‘मुनिया र उसको छोरो’ समावेश छ । संग्रहमा १३ वटा कथा छन् । सामाजिक यथार्थतामा आधारित कथामा पूर्वी भेगको जनजीवन छ 
पुस्तकको शीर्ष कथाले आफ्नो श्रीमान्बाट बच्चा नजन्मिएपछि परपुरुषसँग सम्बन्ध राखेर आमा बनेको घटनालाई विषय बनाइएको छ । रसिकले आफ्ना कथामा सबै वर्गका मानिसलाई पात्र बनाएका छन्, गाउँ र शहर दुवैका परिस्थिति उतारेका छन् 
रसिकलाई अझै पनि धेरैले गीतकार र गायकका रुपमा चिन्छन् । उनी राल्फाली समूहमा पनि आबद्ध थिए । उनै रसिकको गीत संग्रह ‘ताराभन्दा सपना धेरै’ मा १०० वटा गीत समेटिएका छन् । ती गीतमा मायापिरती, देशप्रेम, मानवताको भावना छ । किताबको शीर्षकले नै मान्छेको सपनाको अनन्तता प्रतिविम्बित गरेको छ 
समग्रमा गणेश रसिक बुझ्न चाहनेले उनको ‘पेरुङ्गो संस्करण’ पढ्नैपर्छ । उनको कल्पनाशीलता मात्र होइन उनी बाँचेको जीवनको कालखण्ड बुझ्न पनि पेरुङ्गो पढिनुपर्छ, यस्तो कालखण्ड, जुन आजका सहस्राब्दी पुस्ताका लागि इतिहास बनिसकेको छ।
बालिका थपलिया


दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ लोकार्पण


दिक्पालको ‘आदिवासी विद्रोहको इतिहास’ लोकार्पण

शनिबार, पुस १२, २०७६
पत्रकार, लेखक राजकुमार दिक्पालको पुस्तक ‘आदिवासी विद्रोहको इतिहास’ शनिबार लोकार्पण भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तिलविक्रम नेम्वाङ (बैरागी काइँला), लेखककी आमा चन्द्रमाया मुदेनछोङ साँवालगायत उपस्थित अतिथिहरूले पुस्तकको सामूहिक लोकार्पण गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बैरागी काइँलाले हरेक आदिवासीका लागि यो पुस्तक प्रकाशनले उदाहरणीय काम भएको बताए । हरेक आदिवासीका आआफ्नै इतिहास भएको र यसको खोजी ढिलो भइसकेको बताउँदै उनले भने, “विद्रोहका मात्र होइन, अन्य संस्कार, संस्कृतिका कुरा पनि इतिहास हुन्छ, व्यक्तिको पनि इतिहास हुन्छ, अब त्यतातिर ध्यान पुग्नुपर्छ ।”
पुस्तकबारे टिप्पणी गर्दै डा.कृष्ण भट्टचनले नेपालमा आदिवासी विद्रोहका इतिहास खोतल्ने प्रयास गरेर लेखकले सम्पूर्ण आदिवासी समुदायमा गुन लगाएको बताए । “अब इतिहासकारहरू आदिवासी समुदायको कथ्य इतिहास लेखनतर्फ ध्यान दिनुपर्ने देखिन्छ”, उनले भने ।
समारोहमा प्राज्ञ इतिहासकार दिनेशराज पन्त, डा. चैतन्य सुब्बा, मञ्जरी प्रकाशनका अध्यक्ष लक्ष्मण गाम्नागे लगायत वक्ताले पुस्तकको प्रशंसा गर्दै यो कर्म आदिवासी विद्रोह इतिहासबारे लेखनको शुरुवात भएको र पूरा गर्ने काम सबैको भएकोमा जोड दिएका थिए ।
नेपाल वाङ्मय परिषद् र मञ्जरी प्रकाशनद्वारा आयोजित समारोहमा लेखक दिक्पालले आदिवासी विद्रोहको गर्विलो इतिहासलाई केलाउने आफ्नो सानो प्रयत्नले आदिवासी समुदाय र भावी पुस्तालाई समेत प्रेरित गर्न सके सार्थक ठान्ने बताए । “परिवारवृत्तिका लागि परदेशमा रहेका बेला लेखिएको पाण्डुलिपिमा धेरै अनुसन्धानकर्मी, सहयोगी, शुभेच्छुक र परिवारजनको अमूल्य सहयोग छ, सबैलाई धन्यवाद दिन चाहन्छु”, उनले भने ।


भक्तपुरमा गोर्खाली हमलाः गरुडनारायण गोंगलको सम्झना

भक्तपुरमा गोर्खाली हमलाः गरुडनारायण गोंगलको सम्झना,
ग्रन्थकार– देविचन्द्र श्रेष्ठ, प्रकाशक– जगदम्बा प्रकाशन, पृष्ठ ९०+२, मूल्य– रु.२५०
पृथ्वीनारायण शाहको वि.सं. १८२६ को भक्तपुर हमलाका प्रत्यक्षदर्शी गरुडनारायण गोंगलको चौध पृष्ठ लामो हस्तलिपि संस्मरणमा आफ्नो ऐतिहासिक अध्ययन प्रयोग गर्दै देविचन्द्र श्रेष्ठले नवीन कृति बाहिर ल्याएका छन्– भक्तपुरमा गोर्खाली हमलाः गरुडनारायण गोंगलको सम्झना 
आफूलाई लेखक नभई ग्रन्थकारको परिचय दिएका देविचन्द्रले पुस्तकमा ऐतिहासिक छलफल, लेखन समय, अन्तरिमकाल, संस्मरणको ऐतिहासिक विशेषता, हमलाको खास वर्णन, परिणाम, रणजित मल्लका विवाहित रानी तथा अनेक उपरानीहरूका सन्तति, भाषा वंशावली, राजकुल भक्तपुरको भौतिक स्वरूपः संक्षिप्त चर्चा, संस्मरण विधामा जेठो कृति, गरुडनारायणको वंश परिचय जस्ता उपशीर्षक चयन गरेका छन् । यस्ता छोटाछोटा उपशीर्षकले कृति बुझ्न सजिलो छ 
गरुडनारायणले हस्तलिपिको एकठाउँमा युद्धको मिति ने.सं. ९०९ लेखेका छन् । तर, यो युद्धको मिति नभई लेखनीको समय हो भन्ने संकेत मिल्छ । हमलाको मिति त ने.सं. ८९० अर्थात् १ मार्ग १८२६ हो । देविचन्द्रले यसमा तथ्य स्थापित गरेका छन् 
यस हिसाबमा भक्तपुरको पतनको २० वर्षपछि गरुडनारायणले यो संस्मरण लेखेको थाहा हुन्छ । यसरी हेर्दा यो दस्तावेज नेपालको संस्मरणात्मक निबन्धकै जेठो कृति हुनसक्ने देखिन्छ । किनकि पृथ्वीनारायणको ‘दिव्योपदेश’ (यसलाई संस्मरण मात्र भन्न नसकिने लेखकको तर्क छ) वि.सं. १८३१ तिरको भएको दाबी छ 
हमलाको समय बारे पछिल्लो युगका इतिहासकार सहमत छन् । “साइत हेरी वि.सं. १८२६ को कात्तिक महीनाको शुक्लपक्षको ठूलो एकादशीका दिन राजा पृथ्वीनारायण शाहले दुईतिर मुख गरी भक्तपुर शहरमाथि जोडदार आक्रमण गर्ने भनी काजी वंशराज पाँडेको प्रमुख नेतृत्वमा गोरखा राज्यका सैनिकहरूलाई भक्तपुर शहरभित्र बलपूर्वक प्रवेश गर्ने आदेश जारी गरिदिए (कात्तिक २९ गते, तदनुसार १० नोभेम्बर इ.सं. १७६९)”— श्रीकृष्ण आचार्यको पुस्तक ‘अन्तःकलह’ मा लेखिएको छ 
कान्तिपुर र ललितपुरको विजयपछिको लगभग एक वर्षसम्म केही नलेखिए पनि त्यसबीचमा आत्मसमर्पण गराउने प्रयास पृथ्वीनारायणले गरेका हुनसक्ने सम्भावना देखिन्छ । “यहाँबाट हामीले खेदेर पठाएका दुईवटा मृगहरू त्यहाँ तपाईंकहाँ पसिरहेका छन्, तिनीहरूलाई पक्रिई यहाँ हामीकहाँ यथाशीघ्र सुम्पिदिनुहोस्” भन्ने मीतछोरा पृथ्वीनारायणको पत्रको जवाफमा रणजितले प्रजासँग सल्लाह गरी– २४ वटै टोलमा प्रबुद्ध नागरिकहरूबाट रायसुझावहरू संकलन गर्न छरिदारहरू पनि खटाई जवाफमा– ‘शरण पर्न आएकाहरूको मरण गराउनमा मेरो सहमति रहेको छैन’ भन्ने जवाफ दिएका थिए 
लडाइँको स्थिति हेर्दा रणजितका छोरा धनसिंह मल्ललाई पृथ्वीनारायणले आफ्नो मतमा लिएका हुनसक्ने सम्भावना देविचन्द्रको पुस्तकबाट सूचित हुन आउँछ । त्यस्तै जयप्रकाश मल्लले सुगठनमा लिएका नगरकोटी सैन्यको प्रसङ्ग रहन्छ, जसले तोपलाई घिसार्दै ल्याएर मूल सडकमा राखी सञ्चालन गरेपछि गोर्खाली सैनिकले घरका छानामा चढेर गोली चलाउन थालेको बताइन्छ । त्यसै वेला जयप्रकाशको गोडामा गोली लाग्छ 
भक्तपुर विजयपछि पृथ्वीनारायण शाहले आफ्ना सभासद् पण्डित ललितावल्लभलाई ‘भक्त विजय’ काव्य लेखाएका थिए । तर, यो कृति गरुडनारायणको प्रत्यक्षदर्शीको अनुभूति दिलाउन नसक्ने ग्रन्थकारको तर्क छ 
जयप्रकाश घाइते भएपछि नै रणजितलाई आत्मसमर्पण गर्ने काम भएको बुझिन्छ । परन्तु त्यसदिन त्रयोदशी टुट भएर चतुर्दशी लागेको कुरा ज्योतिष गणनाबाट सिद्ध भएको ग्रन्थकारको व्याख्याबाट प्रष्ट हुन्छ । संशोधन मण्डलको गणना अनुसार, उक्त दिन ने.सं.८९० कात्तिक शुक्लचतुर्दशी आइतवार (सं.१८२६ मार्ग १ गते) परेको थियो 
पुस्तकाकारमा समावेश लिखतपत्रमा जम्मा २०३ हरफका छविचित्र छन्, त्यस पुरानो लिपिलाई देविचन्द्रले सक्दो सचेततापूर्वक उतार गर्ने प्रयास गरेर पाठकलाई सजिलो पारिदिएका छन् । केही नेपाल भाषा (नेवारी भाषा) का शब्द र तिनका अर्थ प्रदान गर्ने प्रयास भएको छ  
गरुडनारायणको संस्मरणमा युद्धमा गोली लागेर मर्नेहरूको सूची सही ठहर्छ । मारिएका भनिएका तीन जनामा एकजना क्वाछे टोलका धंजु त्यो वेलासम्मै जीवित रहेको प्रमाण पनि प्रस्तुत गरिएको छ । पृथ्वीनारायणका मीतको भने चाँडै मृत्यु भयो 
मढ्या, धनजुजु, डाटिम्ह जुजु, मेल डाटी लगायतका नाम स्मरणमा उल्लेख छ । छुटेको एउटा चाहिं अवधूत सिंहको प्रसङ्ग हो, उनी रणजितका मठ्या कान्छा छोरा थिए । उनी ‘बाबुसँगै काशी गएका थिए र पछि गोर्खा बागी भएर असफल जीवन बाँचे’ भनिन्छ 
रणजित अतिदयालु थिए भन्ने प्रमाण धेरैतिरबाट जुटेका छन् । जयप्रकाश मल्ल र तेजनरसिंह मल्ललाई शरण दिंदा, जनताको जमीन कर्मचारीले हडप्दा उनी जनताका पक्षपाती थिए; कवि, नाटककार थिए । “शासनका अन्तिम समयतिर यिनी बढी प्रजातान्त्रिक देखिन्छन्”, इतिहासका अध्येता श्रीरामप्रसाद उपाध्यायको तर्क छ । अर्का इतिहासकार डा.बलराम कायस्थको भनाइमा रणजितका पालामा कलाकृति एवं साहित्यका क्षेत्रमा उल्लेख्य काम भएको थियो 
भक्तपुर विजयपछि पृथ्वीनारायण शाहले आफ्ना सभासद् पण्डित ललितावल्लभलाई ‘भक्त विजय’ काव्य लेखाएका थिए । तर, यो कृति गरुडनारायणको प्रत्यक्षदर्शीको अनुभूति दिलाउन नसक्ने ग्रन्थकारको तर्क छ 
गरुडनारायणको अति दुर्लभ सांस्कृतिक सम्पदाको संरक्षण, लेखन र प्रकाशन मार्फत देविचन्द्र र प्रकाशक जगदम्बा प्रकाशनलाई धन्यवाद नदिइरहन सकिंदैन ।
प्रा.डा. खेम दाहाल



सम्झनाहरूको झरिलो मौसम

सम्झनाहरूको झरिलो मौसम किशोर नेपाल , नयाँ पत्रिका, जेठ १४, २०७९ सहरको मौसममा बिस्तारै परिवर्तन आउँदै छ   । समयका यी क्षणमा सम्झनाहर...