वँ वँ गचि तितिये
राजनीतिक विषयमा कति कलम चलाउने भनेर यसो
साहित्यमा जान खोजेको त यहाँ पनि भ्रष्टाचारसँग जम्काभेट भयो । के भ्रष्टाचार बेइमानी, दुराचरण, चोरीचकारी, बदमासी, कुकृत्य, छलकपट, लालसा, ठगी, फटाइँ, दुष्कर्म, धोकेबाजी, दुष्टता आदिबाट कुनै त्राण छैन त ?
हेर्नोस्, कुरो के हो भने आजको खबरकागतमा एक सुप्रसिद्ध
साहित्यकारको नाम भ्रष्टाचार काण्डमा नराम्ररी मुछिएर आएको छ । त्यसकारण एक साहित्यप्रेमी भएको नाताले म ज्यास्ती नै मर्माहत भएको छु ।
यद्यपि साहित्यको
क्षेत्रमा पहिलेदेखि भ्रष्टाचार नभएको भन्ने होइन । यसले उसको कविता
चोर्यो र उसले मेरो कथाको प्लट पुरै उडायो टाइपका ससाना आरोप–प्रत्यारोप बरोबर
चलिनै रहेको छ । यो कुन नयाँ कुरो हो र ? हिजै
एक समसामयिक पत्रिकामा एक लेखकले अर्को लेखकको रचनाको भावनात्मक दोहन गर्यो भनी
पढेको थिएँ । अर्थात् इनडाइरेक्ट चोरी । यस्ता खबरहरू आइनै रहन्छन् । तर यी विलकुलै साहित्यिक परिधिमा सीमित घटना अथवा दुर्घटना हुन् । हो, एकपटक
साहित्यिक चोरीलाई लिएर ठूलै मुद्दा–मामिला हुनलागेको थियो । वास्तवमा कुरो के हो भने नेपाली साहित्यको एक कथाकारले अर्को कथाकारको कथा पुरै सारेर कुनै साहित्यिक पत्रिकामा छाप्यो । यसले ओरीजनल कथाकार क्षुब्ध हुनु स्वाभाविकै थियो । अतः क्रोधको आवेगमा उसले तुरुन्तै अदालतमा जाने निर्णय गर्यो ।
‘यसो
नगर्नोस् तपाईं ।’ एक शुभचिन्तक पाठकले सल्लाह दियो ।
‘के
नगरुँ म ?’ कथाकारको क्रोध जारी थियो ।
‘तपाई
अदालतमा नजानोस् ।’ पाठकले जोड दिएर
भन्यो ।
‘किन
नजाउँ म ?’ कथाकारले गर्जन गर्यो, ‘म जरुरी अदालतमा जानेछु ।’
‘तपाईंको
कथा पनि मौलिक होइन । ’शुभचिन्तक पाठकले विस्तारै भन्यो, ‘यो एक विदेशी कथाको ठाडो नक्कल हो ।’
त्यसपछि ओरीजनल कथाकार
चुपो लाग्यो । र गम्भीर भावमा चिन्तन–मनन गर्न थाल्यो । यही कुनै पनि साहित्यकारको चलनचल्तीको मुद्दा हो । चाहे त्यो नक्कलबाज साहित्यकार नै किन नहोस् ।
तर यहाँ सवाल कुनै पनि
नक्कली अथवा असली साहित्यकारको नभएर मेरा मित्र ख्यातनाम कथाकार महेशविक्रम शाहको
हो । यसको कारण के हो भने उनीमाथि नेपाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको केसमा मुद्दा चलाउने भएको छ । र यो मामिला चाँडै नै न्यायालयमा चल्ने भन्ने सुनिन्छ । अथवा त्यहाँ चलिनै सक्यो कि ? अब जेसुकै भए पनि एउटा कुराचाहिंँ स्पष्ट भएको
छ । र त्यो के भने भ्रष्टाचार साहित्यिक कथा, कविता र उपन्यासको सीमित घेराबाट एकाएक मुक्त
भएर यथार्थको ठोस भूमिमा पछारिएको छ । मेरा मित्र महेशविक्रम शाह पक्का यथार्थवादी कथाकार हुन् । तर उनको निजी यथार्थ यस रूपमा प्रकट हुनेछ भनी मलाई लागेको थिएन ।
केही समयअघि मेरा कवि
मित्र दिनेश अधिकारीको नाम पनि बहुचर्चित बालुवाटार ललिता निवास जग्गाजमिन काण्डमा
आएको थियो । एकछिन त आएको नाम दिनेशहरि अधिकारी भएकोले कोही अर्कैजस्तो लाग्यो । तर मलाई व्यक्तिगत तवरले केही लाग्दैमा के हुन्छ ? मेरो भन्नुको अभिप्राय के हो भने दुवै दिनेश
अशंकास्पद रूपले एउटै हो । याने दिनेश अधिकारीमा एकथान हरि थप्दैमा के फरक पर्छ ? मेरा मित्र दिनेश (हरि) अधिकारी एक वरिष्ठ
गीतकार पनि हुन् । उनको धरतीको गीत नामक कविता संग्रह बहुतै प्रशंसित पनि रहेको छ । यसका साथसाथै आफ्नो सम्भवतः एकमात्र खण्डकाव्य इन्द्रजात्रा निम्ति कविजीले मदन पुरस्कार पनि प्राप्त गरिसकेका छन् ।
मेरा मित्र कवि दिनेश अधिकारी यस्तै कथात्मक
काव्यका लागि नित्य नूतन प्लटको खोजी गरिरहन्छन् । तर साहित्यिक प्लटको खोज गर्दागर्दै उनी एक्कासी बालुवाटार, ललिता निवासको जमिनी प्लट अर्थात् सरकारी
धरतीमा पुग्नेछन् भन्नेचाहिँ पटक्कै लागेको थिएन । कतै उनको कविता संग्रह धरतीको गीत यसैको (बालुवाटार ललिता निवास) साहित्यिक भूमिका त
होइन ? जे होस्, नेपाली साहित्यका उत्साही विद्यार्थीहरूका लागि
यो अनुसन्धानको चाखलाग्दो विषय हुनसक्छ ।
मेरा साहित्यकार
मित्रद्वय कथाकार महेशविक्रम शाह र कवि दिनेश अधिकारीको भ्रष्टाचारले मन सारै नै
विचलित भएकोले म पुनः राजनीतिमै फर्कन्छु । अहिले नेपालको राजनीतिक वातावरण असाध्यै राम्रो छ । र भ्रष्टाचारको कतै पनि कुनै नामोनिसान छैन । कहाँसम्म भने ‘सत्तरी करोड कमिसन काण्ड’ का नायक भूतपूर्व सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटासमेत इमानदारी तथा सदाचारको अन्तर्वार्ता दिइरहेका छन् । यसमा प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीले मौखिक क्लिनचिट दिइसकेकोले अब कमरेड बाँस्कोटालाई भ्रष्टाचारी भन्न मिल्दैन । अर्थात् सबथोक ठिकठाक छ । र प्रधानमन्त्री कमरेड ओली पनि अप्रेसनपश्चात आराम गरिरहेका छन् । म उनलाई
सद्यः किड्नीका लागि बधाई दिन्छु ।
अन्त्यमा,
कोरोना भाइरसको आतंक
हामीकहाँ पनि पुगिसकेको छ । तर नेपालीहरूलाई यसबाट कुनै पनि प्रकारको खतरा छैन । खास गरेर नेपालका साहित्यकारहरू कोरोना भाइरसबाट सम्पूर्णतः मुक्त रहेका छन् । अझ हाम्रा प्रगतिशील कवि, कथाकार, समालोचक, निबन्धकार, उपन्यासकार आदिलाई त यसले अलिकति पनि स्पर्श
गर्न सक्दैन । किनभने वर्तमान कम्युनिस्ट नामधारी सरकारबाट प्राज्ञमा डाइरेक्ट नियुक्त नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले यसको विशेष मान्त्रिक उपाय सुझाएका छन् । र सोसल मिडियामा भाइरल कोरोनाद्रोही मन्त्र यस्तो छ ।
‘ओम
किच वँ वँ
गच तितिये स्वाहा
गच वँ वँ गचि
तितिये स्वाहा थ...।’
प्रकाशित : कान्तिपुर, चैत्र १, २०७६ ०९:३७