Wednesday, March 18, 2020

पेरुङ्गोमा जीवनदृष्टि


पेरुङ्गोमा जीवनदृष्टि
शनिबार, चैत १, २०७६

पेरुङ्गो संस्करण (पाँच कृतिको सँगालो) लेखक: गणेश रसिक, प्रकाशक: सांग्रिला बुक्स, मूल्य: रु.२२५० 
लेखकहरुका चर्चित वा सबै कृतिलाई एउटै समुच्च संग्रहमा प्रकाशन गर्ने चलन नयाँ होइन । गणेश रसिकले आफ्ना चर्चित पाँच पुस्तकको संग्रहलाई नयाँ नाम दिएका छन्, ‘पेरुङ्गो संस्करण’ । पेरुङ्गो बाँसको चोयाले बनेको सामग्री हो । पूर्वका राई र लिम्बूले वैवाहिक लगायत अन्य सांस्कृतिक कार्यमा कुखुरा, सुँगुरका पाठा र अन्य सौगात राख्न प्रयोग गर्छन् 
पेरुङ्गोमा रसिकका ‘दशगजामा उभिएर’, ‘छपक्कै मनमा बसेकाहरू’, ‘आकाशगङ्गाको ओतमुनि’, ‘मुनिया र उसको छोरो’ र ‘ताराभन्दा सपना धेरै’ पुस्तक संग्रहित छन् । पाँचै पुस्तक फरक विधाका छन् । ‘दशगजामा उभिएर’ मा १८ वटा संस्मरणात्मक निबन्ध छन् । यो कृतिले २०६३ सालको पद्मश्री पुरस्कार पाएको थियो 
पुस्तकमा रसिकले नजिकका मान्छे गुमाउँदाको पीडालाई उतारेका छन् । दशगजालाई जन्म र मृत्युको सीमारेखाका रुपमा अर्थ्याएका छन् । “मान्छेको भाग्यमा जन्म कसरी र मरण कहा“ हुन्छ भन्ने जन्मिएको दिन र मरेको दिन मात्र थाहा हुँदोरहेछ”, जीवन दर्शनमा उनी यस्तो निचोड निकाल्छन् ।
पेरुङ्गोको अर्को कृति ‘छपक्कै मनमा बसेकाहरू’ मा रसिकले आफूले सङ्गत गरेका साहित्य र सङ्गीत क्षेत्रका १९ व्यक्तिबारे व्यक्तिचित्र उतारेका छन् । कृति पढेपछि थाहा हुन्छ, रसिकले अक्षर र गीत–सङ्गीतको खेती गर्नेलाई साथी बनाउँदै हिंडे 
आकर्षक भाषाशैलीमा लेखिएका संस्मरणले पाठकलाई बाँधेर त राख्छन् नै चर्चित व्यक्तिबारे नयाँ जानकारी पनि दिन्छन् । बालकृष्ण सम, तारादेवी, शान्ति ठटाल, कृष्णभूषण वल, रामेश, मञ्जुल लगायतसँग उनले विताएको समयले तत्कालीन परिस्थितिको व्याख्या गरेको छ 
अर्को पुस्तक ‘आकाशगङ्गाको ओतमुनि’ लाहुरेको कथामा बुनिएको उपन्यास हो । आफ्नो देश, गाउँ र घर–परिवारको मायाले आहत भएको लाहुरे मनलाई उनले शब्द मार्फत प्रतिबिम्बित गरेका छन् । आफू परदेश भएका कारण आमाबुवालाई अन्तिम घडीमा भेट्न नपाएकोमा मुख्यपात्र सर्वजित राई छट्पटिएको छ।
उपन्यासमा पूर्वी तराईमा झोडा फाँडेर बस्ती बस्दै गरेको समय छ । त्यो समय २०२० देखि २०३५ सालबीचको हो भनेर अनुमान लगाउन सकिन्छ । सरकारी जग्गा हडपेको भन्दै सर्वजितलाई कुटपिट मात्र गरिंदैन, जेल नै पठाइन्छ । तर, उसले हार मान्दैन र झोडामा बस्ने संघर्ष गरिरहन्छ । उपन्यासले राजनीतिक उद्देश्य प्राप्तिका लागि संघर्षमै जीवन बिताएको एउटा पुस्ताको कथा भन्छ 
रसिकको साहित्यिक यात्रा कथा लेखनबाट शुरु भएको हो । पेरुङ्गोमा पनि उनको एउटा कथासङ्ग्रह ‘मुनिया र उसको छोरो’ समावेश छ । संग्रहमा १३ वटा कथा छन् । सामाजिक यथार्थतामा आधारित कथामा पूर्वी भेगको जनजीवन छ 
पुस्तकको शीर्ष कथाले आफ्नो श्रीमान्बाट बच्चा नजन्मिएपछि परपुरुषसँग सम्बन्ध राखेर आमा बनेको घटनालाई विषय बनाइएको छ । रसिकले आफ्ना कथामा सबै वर्गका मानिसलाई पात्र बनाएका छन्, गाउँ र शहर दुवैका परिस्थिति उतारेका छन् 
रसिकलाई अझै पनि धेरैले गीतकार र गायकका रुपमा चिन्छन् । उनी राल्फाली समूहमा पनि आबद्ध थिए । उनै रसिकको गीत संग्रह ‘ताराभन्दा सपना धेरै’ मा १०० वटा गीत समेटिएका छन् । ती गीतमा मायापिरती, देशप्रेम, मानवताको भावना छ । किताबको शीर्षकले नै मान्छेको सपनाको अनन्तता प्रतिविम्बित गरेको छ 
समग्रमा गणेश रसिक बुझ्न चाहनेले उनको ‘पेरुङ्गो संस्करण’ पढ्नैपर्छ । उनको कल्पनाशीलता मात्र होइन उनी बाँचेको जीवनको कालखण्ड बुझ्न पनि पेरुङ्गो पढिनुपर्छ, यस्तो कालखण्ड, जुन आजका सहस्राब्दी पुस्ताका लागि इतिहास बनिसकेको छ।
बालिका थपलिया


प्रहरी संगठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछ

  प्रहरी संगठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछ : गृहमन्त्री लेखक   आश्विन ३० , २०८१ रासस काठमाडौँ — गृहमन्त्री रमेश लेखकले न...