Wednesday, December 22, 2021

पानी, छिमेकी र द्वन्द्व

 पानी, छिमेकी र द्वन्द्व

पानीबारे कूटनीतिमा, ठूलो राष्ट्रको ठूलै पहिचान र सार्वभौमिकता अनि सानो राष्ट्रको सानै भन्ने सोच अघि ल्याएर नै चीन, अमेरिका, भारतले छिमेकी राष्ट्रहरुलाई आघात पुर्‍याए र तनावको मार्गमा हिँडाए

मंसिर २१, २०७८महेन्द्र पी‍. लामा

पानीको वितरण, खपत र प्राप्यताले स्थानीय, प्रान्तीय, अन्तर्राष्ट्रिय र विश्वव्यापी द्वन्द्व अघि ल्याएको छ गाउँघर–समाजमा पिउने पानीको हाहाकार, राष्ट्रभित्र नै प्रान्त–प्रान्तबीचको पानी वितरणमाथि खिचातानी र दुई छिमेकी राष्ट्रहरूबीच बहने नदीमाथि वादविवाद चुलिँदै गएको छ एकातिर मौसम परिवर्तनले सधैं सललल बग्ने नदीमाथि आघात पुर्‍याउँदै , अर्कातिर जनसंख्या वृद्धि, पानीकेन्द्रित कृषि व्यवस्था आदिले जमिनमुनिको जलस्तर अझै तलतिर घचेटेको छ

पहाड–पर्वतमा धारा–पँधेरो सुकेनास भएको पनि छर्लंग देख्न थालियो बर्खा लागेपछि मुल फुट्थ्यो, सफा पानी आउँथ्यो धेरै महिनासम्म पिउने पानी पाउँथ्यौं, सरकार नै कहिल्यै नपुगेका गाउँ–घरमा भारतमा हरेक व्यक्तिलाई पानी प्राप्यता सन् १९५२ मा ५१७७ क्युबिक िटर प्रतिवर्ष थियो, बिस्तारै घटेर आज १४०० पुग्यो, जो सन् २०५० मा अति नै तल ११०० क्युबिक मिटर पुग्ने सम्भावना देखाइएको छ अर्कोपट्टि एक किलो धान उमार्न २८५० लिटर, एक किलो कपास १८६९४ लिटर र एककिलो दूध उत्पादन गर्न १३६९ लिटर पानीको खपत गरिएको नापजोख निकालिएको छ अर्थात् खेतीपानीमा पानीको प्रयोग अति नै अदक्षतापूर्ण हुन्छ राष्ट्रभरि नै कृषकहरूलाई बिजुली मुफ्त दिइँदा कतिपय क्षेत्रमा जमिनमुनिको पानी यति निकालियो कि पन्जाबमा पानी पाउन लगभग १४० देखि १९० फिटसम्म खन्नु नै पर्ने भो

भारत–नेपालवरिपरिका क्षेत्रहरूमा चार प्रकारका पानीमाथिको द्वन्द्व अघि आएका छन् देशभित्रको झैझगडा दक्षिण भारतको काभेरी नदीमाथि पन्जाब–हरियाणाको रवि वियाजमाथि सर्वोच्च न्यायालयले हस्तक्षेप गरेर द्वन्द्वलाई रोकथाम गर्ने प्रयास गरे पनि हिंस्रक घटनाहरूले यी क्षेत्रहरू रुमलिँदै आएका छन छिमेकी राष्ट्रसँगको खिचातानी अझै प्रबल रूपमा अघि आएको नेपाल–भारतबीच कैयन् दशकदेखि चलिआएको कोसी–गण्डक, भारत–पाकिस्तानबीच सिन्धु नदी, भारत बंगलादेशबीच गंगा–टिस्टा अनि फेरि भारत–चीनबीच ब्रह्मपुत्र नदीमाथिको वादविवाद स्थानीय जिल्ला–गाउँमा अर्कै प्रकारको खिचातानी— राष्ट्रभरि नै आर्थिक उदारवादी नीति अपनाएपछि पानीलाई पनि बिजुली उत्पादन वितरणजस्तै निजीकरणको डोकोमा हालेपछि प्रकृतिले दिएको निःशुल्क सुविधालाई पनि लगभग किन्नु नै पर्दा तनाव बढ्दै गएको देखेका छौं

अझै अर्को स्तरमा पाकिस्तानमा बासा र कालाबाग जलविद्युत् परियोजनाले पन्जाब–सिन्ध र अन्य प्रान्तहरूबीच ल्याएको तनाव धेरै दशकदेखि चुलिँदै गएको छ भारतमा तेहरी अनि सरदार सरोवरदेखि अझै टाढा उत्तरपूर्वी क्षेत्रमा तिपाइमुख आदिलाई गैरपारम्परिक पानीमाथिको द्वन्द्वका रूपमा सबैले औंल्याउँदै आएका छन्

भारतको चिन्ता तीनपक्षीय छ प्रथमतः राष्ट्रभित्र नै बढ्दो पानीको अभाव कसरी समेट्ने भन्नेमा अनेकन प्रयास जारी छन् नदीको बहावलाई बंग्याएर अर्को नदीसँग जोड्ने प्रयास (उत्तरप्रदेश–मध्यप्रदेशका केन नदी आदि), विभिन्न नयाँ जल वितरण एवं खपत कार्यक्रम (जलजीवन मिसन आदि) अनि विभिन्न बाँधहरूबाट सहर आदिमा पानी वितरण (तेहरी परियोजना आदि) योबाहेक पानीलाई ठीकसँगले प्रयोग गरून् भनेर विभिन्न प्रकारका करहरू लगाइँदै यी प्रयासहरू हुँदाहुँदै राष्ट्रव्यापी पानीको अभाव हाहाकार एउटा ठूलो राजनीतिक एवं सामाजिक मुद्दा हुँदै दोस्रो, भारतमा प्रवेश गर्ने नदीहरू प्रायः हिमालय क्षेत्रबाट आउँछन्, नेपालबाट गंगा, कोसी, महाकाली, गण्डक आदि चीनबाट सिन्धु, ब्रह्मपुत्र आदि अनि भोटाङबाट सुनकोस आदि यदि भोटाङ, चीन र नेपालसँग नदीको पानी वितरणबारे खिचातानी गहिरिएको खण्डमा के होला, त्यस्तो स्थिति कसरी सम्हाल्ने?

अर्कातिर भारतमा बगिसकेर यी नदीहरू छिमेकी राष्ट्र बंगलादेश र पाकिस्तानमा पस्दा र यी राष्ट्रहरूले पानीमाथिको आफ्नो अडानलाई अझ तीव्र बनाई आआफ्ना राष्ट्रवाद र राष्ट्रिय सुरक्षासँग जोड्दा के होला? अनि तेस्रो चिन्ता मौसम परिवर्तनले हिमशिखरहरूमा परेका आघातसँगसँगै सिमानावारिपारि नदीले ल्याएका प्रकोपहरू कसरी सम्हाल्ने? चीन, नेपाल र भोटाङमा नै नदीको बहाव बर्खा झरीदेखि अरू रहेका महिनाहरूमा सुकेर गए भारतमा पानीको अभाव अझ गहिरिँदै जाने नै छ जलविद्युत्, खेतीपाती, जलसिँचाइ, पेय जल, जलमार्ग आदिमा प्रभाव पर्ने छ, तब फेरि के गर्ने? छिमेकी राष्ट्रसँग एउटा नयाँ प्रकारको टकराव हुने नै भयो चोखो पानी संस्कृति, पानी र जीवनयापन, पानी र उद्योगधन्दा अनि पानी र खेतीपाती, आफैंभित्र एउटा कहिल्यै नदेखेको द्वन्द्व र विरोधाभास देखा पर्नेछ

तसर्थ भारत, नेपाल सबै छिमेकी राष्ट्रहरूले नयाँ सोच सग्लो रणनीति, वैज्ञानिक सांख्यिकी, आधुनिक संस्था एवं सामूहिक गतिविधिको मार्ग अपनाउनैपर्ने भएको छ पानीको साँघुरो परिभाषा त्यागेर मौसम परिवर्तनले ल्याउँदै गरेको आघातसँग सामूहिक ढंगमा जुझ्ने रणनीति, विश्वका कुना हाम्रा कन्दरा, प्रयोगशालामा रहेको सूचना सांख्यिकीको लोककेन्द्रित आदानप्रदान र विज्ञान–ज्ञान प्राविधिकीकेन्द्रित संस्थाहरूको निर्माण भए मात्रै यस भीषण समस्यासँग जुझ्न सकौंला राजनीतिक सोचाइमा नै हेरफेर आउनुपर्छ किनकि यो पानीको महामारीले कोभिडले ल्याएको महामारीभन्दा अझै विकराल रूप धारण गर्न सक्छ यस सन्दर्भमा चीन धेरै अघि बढेको राष्ट्र हो माथि बसेर मेकोङ, ब्रह्मपुत्र, सिन्धु, यांङ्जे, ह्वाङ होजस्ता विशाल नदीका उद्गमस्थल रहेर पनि पानीमाथि अन्वेषण, नदीलाई कज्याउने उपायहरू, बाँध–बिजुली परियोजना र जल वितरण आदिमा चीनमा निकै अघि रहेको प्रवृत्ति र यन्त्र तन्त्रहरू देखिएका छन्

भारतले विश्व बैंकको मध्यस्थतामा सन् १९६० मा पाकिस्तानसँग गरेको सिन्धु (इन्डस) नदी र भारत–बंगलादेशबीचको सन् १९९६ मा भएको गंगा नदीको सम्झौतालाई सफल र दूरगामी दुईदेशीय पानीको व्यवस्थापन मानिन्छ भारत–पाकिस्तानबीचको तीनवटा घमासान युद्धपछि र भारतका प्रधानमन्त्रीले पाकिस्तानी आतंकवादीको हमलापछि ‘पानी र रगत सँगै बग्दैन’ भनेपश्चात् पनि सिन्धु नदीको पानीको वितरण गत ६० वर्षमा लगभग सुमधुर एवं सुचारु ढंगमा सञ्चालन भयो भारतले जन्मु–कश्मीरमा यसै सिन्धु नदीमाथि विभिन्न बिजुली परियोजनाका निम्ति बाँधहरू बनाउँदा पाकिस्तानले विरोध गरेपछि अन्तर्राष्ट्रिय आयोगहरू गठन गरिए र समाधानका मार्गहरू अघि ल्याइए अहिलेसम्म पनि दुई देशीय इन्डस जल आयोग नियमित रूपमा भेटघाट गर्छन्

बंगलादेशसँग भारतको गंगा–ब्रह्मपुत्र–टिस्टा आदि नदीहरूबारे निकै मतभेद हुँदाहुँदै पनि सन् १९९६ मा गंगा नदी सम्झौता भएपछि मैत्रीभाव अझै अघि बढ्यो भारतका तर्फबाट तिनताकका बंगालका मुख्यमन्त्री ज्योति बसुले अति नै सराहनीय भूमिका निर्वाह गरे बंगालभित्रै रहिआएको व्यापक विरोधलाई बसुले अति नै परिपक्व ढंगमा सुल्झाए बंगलादेशका प्रधानमन्त्री शेख हसिनासम्मलाई यो सम्झौताबारे सम्झाए, बुझाए यो सम्झौता आजसम्म पनि बिनाहिचकिचाहट तनावरहित उभिएको कारणमध्ये सबैभन्दा प्रमुख खाँबो हो— यस सम्झौता गर्दा हालिएका गुथिएका वैज्ञानिक–सांख्यिक अन्य प्रमाणहरू अति नै वैज्ञानिक ढंगमा यस सम्झौतामा गंगा नदीको प्रवाहलाई ऐतिहासिक ढंगमा नापजोख गरियो र त्यस्तै प्रकारले पानी वितरणको फर्मुलाहरू अघि राखियो सन् १९४९ देखि सन् १९८८ सम्मको नदीमा पानीको बहावको सांख्यिकी सूचनासँगसँगै यस सम्झौतामा पहिलो पटक समानता, चोखो खेल र एकार्कालाई कहीँ पनि आघात–चोट नपुर्‍याउने प्रतिबद्धता संलग्न गरियो

आजसम्म पनि पानीको कम्ती बहावको समय (मार्च–मई) मा दुई राष्ट्रका अधिकारीहरूले दुवै हार्डिन्ज र फरक्का पुलमा पानी बहावको हरेक दस दिनमा नापजोख गरेपछि वितरणमा तलमाथिको व्यवस्थापन गर्छन् सन् २०२६ मा यस सम्झौतालाई पुनरवलोकन गरिने व्यवस्था पनि छ यस सम्झौताअन्तर्गत एउटा प्रमुख धाराको चाहिँ अहिलेसम्म कार्यान्वयन भएन, एउटा प्रशासनिक कारणले अर्को पर्यावरण–पारिस्थितिकीका कारणले यस सम्झौताअनुसार गंगामा पानीको बहाव बढाउनका निम्ति अबउसो गंगानदी अवस्थित माथितिरका राज्यहरू विहार र उत्तरप्रदेशले कुनै नयाँ पानी खिच्ने कार्यहरू गर्ने छैनन् अर्को भोटाङको सुनकोस नदीलाई उत्तर बंगाल हुँदै बंग्याएर फरक्का बाँध पुर्‍याइनेछ दुइटै हुनै नसक्ने प्रबन्ध थिए उत्तरप्रदेश विहारका गंगा नदीस्थित समुदायलाई गंगाको पानी अझै चलाउनमा प्रतिबन्ध लगाउनु असम्भव नै थियो अनि सुनकोसलाई बंग्याएर बग्न दिँदा उत्तर बंगाल आसामबीचको पशुप्राणी मार्ग मात्रै छताछुल्ल नभएर त्यहाको पर्यावरण नै भताभुङ्ग हुने वैज्ञानिक–विशेषज्ञहरूले राय दिएपछि त्यो कथा त्यही टुंगियो

भारत–नेपालबीचको पानी बहाव र भागबन्डा भने ऐतिहासिक रूपमा नै खिचातानीमा मुछियो कोसी बाँधमाथिको सन् १९५४, गण्डक बाँधमाथिको सन् १९५९ र महाकाली नदी बारेको सन् १९९६ को सम्झौता जहिल्यै पनि वाद–विवाद र द्वन्द्वमा नै अल्झिरह्यो धेरै मुद्दामा भारत नेपाल सहमत हुनै सकेनन् कहिल्यै पनि उदाहरणार्थ नेपाल पक्षले अघि राखेको रेकर्डअनुसार कोसी बाँधको सर्वोच्च क्षमता ९.५० लाख क्युसेक पानी हो पूर्वीय नहर जो सम्पूर्ण रूपमा भारतीय क्षेत्रमा , त्यसले ६.१२५ लाख हेक्टर जमिन सिँचाइ गर्छ अर्कातिर पश्चिमी नहर प्रायः ३५ किलोमिटर नेपाल क्षेत्रमा बग्छ त्यसपछि भारतभित्र पस्छ

यस पश्चिमी नहरले नेपालका केवल ११.३ हजार हेक्टर जमिन सिँचाइ गर्छ र भारततिर भने ३.५६६ लाख हेक्टर सिँचाइ गर्छ जमिन सिँचाइमा मात्रै पनि भारतले यति व्यापक–बृहत् रूपमा भारतले फाइदा पाएको नेपालले केही नपाएको बारेमा धेरै चर्चा–परिचर्चा हुँदै आएको छ नेपालको अडानअनुसार यस सम्झौतामा हस्ताक्षर गरिँदा नेपालमा कुनै विशेषज्ञ वैज्ञानिक तकनिकी संस्थाहरू नभएका कारणले भारतले चाहेअनुसार नै सम्झौतामा हस्ताक्षर गरियो भारतको भने आफ्नै सांख्यिकीमा आधारित अडान

यस्तै वादविवादले राप्ति, पञ्चेश्वर, कर्णाली कुनै नदीबारे सम्झौता गर्न सकिएन बिजुली कल–कारखाना उत्पादनमा नेपालको गहकिलो क्षमता हुँदाहुँदै पनि अघि बढ्नै सकेन अर्कातिर भारतले अब जल परिवहनको सुविधा नेपालसामु अघि राखेको , जसले नेपालको यातायात एवं व्यापार वाणिज्यमा सघाउ पुर्‍याउने नै छ

बंगलादेशसँग टिस्टा नदीको पानीबारे निकै चर्किंदो वादविवाद जारी नै छ बंगलादेशमा भारतका लगभग ५४ नदी प्रवेश गर्छन् टिस्टा नदीमा बंगालका मुख्यमन्त्री ममता बनर्जी अघि बढ्नै मान्दिनन् यस नदीमा सम्झौता भएको खण्डमा उत्तर बंगालका जिल्ला गाउँहरूले पानी पाउँदैन भन्ने अडान उनको छ अप्ठ्यारै कुरो, भारत सरकार पश्चिम बंगाल सरकारबीचमा नै घरेलु स्तरमा मतभेद छ भारत सम्झौतातिर लाग्नासाथ बंगालले लम्की थाप्छ धेरैले भन्छन्, ‘यस सम्झौता नभएको मूल कारणचाहिँ टिस्टामा बर्सेनि बहने पानीको सांख्यिकी नै वैज्ञानिक रूपमा कसैसँग छैन।’

अर्कातिर सिक्किममा यही टिस्टा नदीमाथि नै बीभत्स रूपमा निर्माण गरिँदै गरेका २०–३० वटा जलविद्युत् परियोजनाचाहिँ फेरि कुन आधारमा बन्दै छन् पानी बहावको सांख्यिकी नै नभए, फेरि कुन आधारमा बाँधको उचाइ, गहिराइ, चौडाइ आदि तय गरियो? प्रश्नैप्रश्न छन् अर्कातिर यदि भारत–बंगलादेशबीच टिस्टा नदीबारे सम्झौता गरिँदा बंगाल सरकारलाई सामेल गरिन्छ भने सिक्किम सरकारलाई किन संलग्न गरिँदैन? सिक्किम नै टिस्टा नदीको उद्गमस्थल हो अनि ८० प्रतिशत टिस्टाको प्रवाह नदी सिक्किमभित्र बग्छ यी दुई राष्ट्रको सम्झौतामा सिक्किमलाई संलग्न गरिएको खण्डमा, कूटनीति नै अर्थपूर्ण हुन्छ

पानी केवल खोला–नदीमा बग्दैन नदीको आफ्नै जलाशय (बेसन) हुन्छ भारत एवं छिमेकी राष्ट्रहरूले नदीको कुरो नगरेर गंगा–सिन्धु–ब्रह्मपुत्र जलाशयको मार्ग अपनाए, क्षेत्रलाई नै फाइदा पुग्ने हुन्छ चीन दक्षिण–पूर्व एसियाका राष्ट्रहरू थाइल्यान्ड, भियतनाम, कम्बोडिया, लाओस र बर्माबीच मेकोङ नदीको जलाशयमाथि नै चर्चा–परिचर्चा हुँदै छ चीनले बाँधहरूको लस्कर नै तिब्बतमा लगाउँदा, तलतिर रहेका भारत–बंगलादेशमा ब्रह्मपुत्र जलाशयको आधारमा गरिएको पानीमाथिको छलफल उपयोगी एवं प्रभावशाली हुनेछ कारण जलाशयले मौसम परिवर्तनका आघातहरूलाई मात्रै नसमेटेर, पर्यावरणमाथिको चोटले जन्माएका शरणार्थीहरूका ताँतीलाई पनि केही न केही समाधान अघि राख्नेछ

पानीबारे कूटनीतिमा, ठूलो राष्ट्रको ठूलै पहिचान र सार्वभौमिकता अनि सानै राष्ट्रको सानै भन्ने सोच अघि ल्याएर नै चीन, अमेरिका, भारतले छिमेकी राष्ट्रहरूलाई आघात पुर्‍याए र तनावको मार्गमा हिँडाए ठूलै नदीको मात्रै कुरा गरे ससाना नदीहरूले कसरी सीमानाका वल्लो पल्लोपट्टिका दुई राष्ट्रका नागरिक–समुदायलाई सौहार्दपूर्ण ढंगमा एकत्रित बनाए भन्ने सुमधुर मीठो अनुभवको कथा–व्यथालाई बाड्नै दिएनन् अबोप्रान्त फेदको कूटनीति गर्न जरुरी , टप्पोको होइन

प्रकाशित : Kantipur, मंसिर २१, २०७८ ०८:३९

 

Saturday, December 11, 2021

अतितको सम्झना, सत्य घटनामा आधारित विर्सिनसक्नु मेरो जीवनको घटना

 

अतितको सम्झना M सत्य घटनामा धारित विर्सिनसक्नु मेरो जीवनको घटना

लेखक प्रहरी उपरीक्षक नुर बहादुर थापा

 मेरो बुबा महाबीर थापा पश्चिम नेपालको स्याङजा जिल्लाको आँधीखोला बेनीमा जन्मेर बर्माको मचीना, होरी लायन् (अकचीन भिलेज)मा घरजम गरी बस्नुहुन्थ्यो । त्यसताका नोकरीको खोजीमा आफनो जन्मस्थल छाडी दार्जीलिङ्ग, घुम जलपहाडको बृटिश डिपुमा सिपाहीमा भर्ना भई बर्मा पुगेर बृटिश आर्मीको सुबदार तह (दर्जा) मा रिटायर्ड हुनुभएको कुरा मेरा दाजु, दिदिहरुबाट थाहा भयो भने मेरी आमा जानकी देवी थापा खर्साङ्ग (Kurseung) को हुनुहुन्थ्यो । उहाँहरुबाट जन्म भएका सन्तानहरुमा हामी सात बहिनी छोरी र चार भाई छोराहरु थियौं । बर्मामा हाम्रो जग्गा जमीन गाईवस्तु धेरै नै थियो त्यसैले कुनै कुराको दुख भने छंदै थिएन । सुबदार महाबीरको सन्तान भने पछि सबैले चिन्दथे । सबै सुखशान्ति मंगलमय, खुशीयालीको साथमा बसेका थियौं । हरेक वर्षको चाडपर्वहरुमा सबै दिदीदाजुहरु मूलघरमा जम्मा भेला भई बडो हर्ष र उल्लासको साथ खुशीयाली मनाउथ्यौं । हाम्रो घरमा नरिवल, सुपारी, आँप, अनार, चाँप, पानका रुखहरु थिए साथै दगेंजी भन्ने एउटा फलको बोट पनि थियो । बर्मिजहरुले असाध्यै मिठो मान्थे र किनेर लान्थे । घरको पछाडीको करेसाबारी धेरै ठुलो थियो । बाँसको झयाँङ्ग, खरको घारी प्रशस्त थियो । केरा र अनरस प्रशस्त हुन्थ्यो ।

जेठा र माइला दाजुहरु पल्टनमा भर्ना भई सक्नु भएको थियो । म र साइँला दाजु आर्या स्कूलमा पढथ्यौं । पछि खाल्सा स्कूलमा पढन थाल्यौं । यो स्कूल घरबाट नजीक पथ्र्यो । साइँला दाजुले स्कूल जाँदा आउँदा मेरो हात समातेर लाने गर्नु हुन्थ्यो । साईला दाजुले मलाई धेरै माया गर्नु हुन्थ्यो । स्क्ुलबाट घर आए पछि आमाले विभिन्न किसिमका खाजा बनाई दिनु हुन्थ्यो । आमाको माया जति मिठो र ठुलो हुन्छ त्यति ठुलो कुनै वस्तु हुँदैन । सधै साईला दाजुले मलाई भात खाइ सके पछि स्कूल लाने गर्नु हुन्थ्यो । एक दिन सधैं झैं विहान स्कूल जाँदै थियौं अचानक हवाईजहाज आकाशमा उडेको आवाज सुनियो, हामी छक्क परयौं र कता होला भनि आकाश तिर हेर्दै थियौं । एकै छिनमा हाम्रै टाउकाे माथि उडेको देख्यौं र हामी सबै हवाईजहाज उडेको तिर हेर्दै कुदन थाल्यौं । त्यो दिन स्कूल जान ढिला भएकोले स्कूल पनि नगई घर तिरै फर्केर आयौं ।

मेरी आमा अति धर्मकर्म गर्नु हुन्थ्यो । घरको छेवैमा पूजापाठ गर्न एउटा तुलसीमठ बनाइएको थियो । गुलाफ चमेली जस्ता राम्रा फूल रोपेको थियो । साह्रै रमरणीय थियो । आमाले सधैं तुलसीको मठमा पूजा गर्नु हुन्थ्यो । मेरी आमा सधैं स्नान गर्न घर देखी केही टाडा ईरावदी नदीमा जानु हुन्थ्यो । के वर्षा के ठण्डी, के गर्मी सधैं नै आमा विहानै ईरावदी नदीमा जानु हुन्थ्यो । म एक्लै हुने हुँदा आमाले मलाई पनि संगै लानु हुन्थ्यो । जाडो महिनामा आमाले मलाइ बाबुकोट लगाई लानु हुन्थ्यो ।

हाम्रो घरको अगाडी एउटा ठुलो रबरको रुख थियो । यो मचनी भरमा सबै भन्दा ठुलो रबरको रुख थियो । हाम्रो घरको पहिचान गर्न ठुलो रबरको रुख भने पछि सबैले चिन्दथे । घर अगाडी केही परबाट मोटर गाडी चल्ने ठुलो बाटो थियो । त्यो बाटोको अझै अगाडी रेलको लिक थियो । केही दिन पछि फेरी एउटा हवाइ जहाज आइ धेरै बेर सम्म माथि आकाशमा उडी पूरा मचीनको चक्कर लागाएर गयो । अब यहाँ धेरै हल्ला चल्न थाल्यो । बृटिश र जापानको लडाइ हुन्छ र । त्यसैले यो हवाइजहाजले सिआइडी (रेकी) गरेर गएको हो । सबैमा डरत्रास हुन थाल्यो । केही दिन पछि मोटरगाडीहरु पनि थरी थरीका गुडन थाल्यो । हामीले चार पाँगे्र मोटरमात्र देखेका थियौं, लडाइको हल्ला चले पछि त ट पाँग्रे, दश पाँग्रे मोटर र ठुलठुला ट्रक चल्न थाले । हवाईजहाज पनि थरिथरि रंग भएका उडन थाले । मान्छेमा धेरै डर हुन थनल्यो अब के गर्ने । कसो गर्ने भन्ने विचार उठ्न थाल्यो ।

यस्तैमा बृटिश सरकारले वर्मावासीलाई अब लडाई हुन्छ त्यसैले आआफनो बचाउको लागी घर अगाडी ट्रेन्च खन्ने, बालुवा थुपारी राख्न भन्ने आह्वान गर्न थाल्यो । फेरी अर्को आह्वान के गरे भने ट्रेन्चलाई माथिबाट छोप्ने, ट्रेन्च बाँसको झयाँग मुनी खन्ने र माथिबाट हरियो स्याउला, घाँसले छोपने । यसो गरे माथिबाट हवाईजहाजले देख्दैन, थाहा पाउदैन भन्ने प्रचार गरे । हामीले पनि त्यसरी नै गरयौं र अरुहरुले पनि यस्तै गरे । सबैमा झन धेरै डर हुन थाल्यो । केही दिन पछि लडाई भइहाले पछि बचाउनको लागी के गर्नु पर्छ भन्नेबारे सबै वर्मा वासीहरुलाई यस्तो आव्हन गरयो । अलार्म साइरन बजेपछि घरमा भएको सबैजना खनेको ट्रेन्चमा छिटोछिटो पस्ने र बाटोघाटोमा हिडदै गरेको भए तिनीहरु रुखमुनि, झयाँगमुनि, खाल्डोहरुमा लुक्ने । यसको लागि अभ्यास गरिने छ भन्ने अह्वान भयो । केहि दिनमै यो अभ्यास शुरु भयो । पहिलो साइरन बजे सबै लुक्ने, अर्को साइरनमा बाहिर आउने । अब यो अभ्यास प्राय दिनमा एक पटक सधैं गराउन थाल्यो ।

यस्तैमा वृटिश सरकारले के पनि अह्वान गरयो भने, जो जो वर्मा छाडी बाहिर जहाँ जहाँ जान मन छ जान सक्छ । हवाइजहाजबाट जानेले आफुलाई चाहिने सामान मात्र लिएर जान सक्छ र बढी भएको सामानको जिम्मेवार हुने छैन भन्ने आदेश पनि भयो । मान्छेको चापले गर्दा धेरै मान्छेहरु हवाईजहाजबाट जान सक्दैनथे । यस्तै हल्ला डर त्रास भएकै बेला माथि रंगून, माल्डेलेमा बम, गोलीले घाइते भएका मानिसहरुलाइ रेलले ल्याई हाम्रो घरको अगाडीको लिकमा रोकी सबैलाई उतारी रेल स्टेशनतिर गयो । यी घाइतेहरु कोही टाउकोमा पटिट बाँधेको, कसैको खुटटा, कसैको हातमा पटटी बाँधेको घाइतेहरु सबै हाम्रो घर र अरुहरुको घरमा आई रुदै कराउदै बच्चाबच्चीहरु समेत लिई बस्न आए । यो अवस्थादेखी आमा, दाजु, दिदी, भेनाहरु सबै सल्लाह गरे र अब हामी पनि यहाँ बस्न हुदैन चाँडै हिडनु पर्छ नत्र हाम्रो पनि यस्तै हालत हुन्छ । सबैको सल्लाह हिडनेनै भयो र के के सामान लाने नलाने छुटटाउन सुरु भयो । दुई दिन पछि, विहानै हिडने भनी सबैको सल्लाह भयो र आआफनो गोरुगाडामा चाहिने सामानहरु राखी हिडयौं । घरमा पालेको सुँगुर थियो त्यो पनि रातीनै बनाई लग्यौं । हिडने बेलामा आमाले घरको सन्ध्याकालमा बाल्ने दियो जलाउनु भयो । यसरी नै तुलसीको मठ, ईनार, कुवाँ, ठुलो रबरको रुखमा बत्ति दियो जलाई सधैं सधैंकालागी त्यो घर छाडी हिडयौं । सबै दाजुदिदी, भेनाहरु, भाञ्जा भाञ्जीहरु रुदै हिडन थाल्यौं । कहाँ जाने केही थाहा छैन । एकमात्र लक्ष्य नेपाल जाने तर नेपाल कुन बाटो जाने केही थाहा छैन । एकमात्र भरोसा भगवान थियो । सबैले घर तिर हेरेर नमस्कार गरी सधैं सधैंको लागी मचिना होरीलाइनलाई पछि छाडी अगाडी बढयौं । एघार जनालाई जन्म दिई अझै पनि छोरा बुहारी, नाती, नातिनी, ज्वाइ छोरीहरुलाई हिडन लाग्नु भएकोमा धन्य छ मेरो आमा तिमीलाई, कोटी कोटी साष्टाँग दण्डवत ढोग छ ।

जति जति अगाडी बढदै जान्थ्यौं त्यतिनै बाटो भरी कागज, कपडा हरु छरिएको देखिन्थ्यो । अधि बढने क्रम चलिनै रहेको थियो । यस्तैमा विहानको करीब १० बजेको समय हुँदो हो आकाशमा तिनवटा हवाइजहाज गुडुङ गुडुङ गर्दै हाम्रै टाउको माथिबाट गयो । सबै मानिसहरु कोही जंगलभित्र पसे, कोही खाल्डोतिर लुके भने कोही बाटोमै हिडिरहे । यो हवाई जहाज सिधै मचिनामा गइ बम खसाल्न थालेछन् । मचिना होरीलाइनको पुरै घरहरु ध्वस्त बनाइ त्यहाँ भएको एयरपोर्ट समेत बम खसाली हवाई जहाज बस्नै नसक्ने गरी ध्वस्त बनाइदिएछ । अझै हाम्रो हिडने क्रम जारी नै थियो । घाम चर्को लागेकोले ज्यादै गर्र्मी थियो । केहीबेर गर्र्मी छल्न जंगलको छायामा बसी पुनः हिडने क्रम शुरु भयो । करीब पाँच छ बजेको समयमा हामी बाह्र माइलको पडावमा पुग्यौं । त्यहाँ हामी भन्दा अघि हिडने थुप्रै मान्छे हरु पुगी सकेका रहेछन् । त्यहाँ सबैै संग भेट भयो । खुशी माने पनि डरत्रास सबैमा थियो । सबै मिलेर खानासाना बनाइ खाइ सुते र भोलीपल्ट विहान चार बजे पुनः हिडने क्रम शुरु भयो ।

हामीले यस पडावलाइ छाडी गएको दसएघार बजे यहाँ पनि हवाईजहाजले बम खसालेछ । मानिसहरु बम लागी धेरै मरे । हिडने क्रममा हामी अर्को पडावमा साँझ पख आईपुग्यौं र खाना खाइखाइ सके पछि सबै जना सुतेर भोली पल्ट फेरी विहान चार बजे उठी हिडने क्रम शुरु भयो । यहाँ पनि उही दसएघार बजेको समयमा बम खसाले र यहाँ पनि धेरै मानिस बमको छर्राले लागी मरे । यसरी तिन ठाउँ बाट बाँची हामी अर्को पडावमा आइपुग्यौं । यतिवेरसम्म हामी सबै सकुशल थियौं । भालिपल्ट यसै ठाउँमा खाना खाइ हिडने भनी सल्लाह भयो र विहानको खाना बनाइरहेको बेलामा कताबाट आएका एँग्लो इण्डिएनहरुले हाम्रोबानाइरहेको खाना लुटी लगे । हामी हेरेको हेरै भयौं । फेरी खाना छिटो छिटो बनाएर खाइ हिडयौं । यहाँबाट केही पर हिडिसकेपछि १०२ माइल खुटटीमा (mile pillar) आइपुग्यौं । यहाँबाट मूल बाटो गयौं भने सुप्राबुङ्ग भन्ने ठाउँमा पुग्छ र त्यहाँ बाट एयरपोर्ट पनि छ भन्ने सुनेको तर यो एयरपोर्ट पनि जापानले बम खसाली ध्वस्त बनाइदिएको छ हवाइजहाज आउँदैन भन्ने सुन्यौं । अब के गर्ने भन्ने सल्लाह गर्न थाल्यौं र अन्तमा अब पैदल बाटो जाने भन्ने भयो र सामान हरु के के लाने र के के फेक्ने (छाडने) भनी छुटयायौं र सबैले आफुले बोक्न सक्ने सामान बोकी हिडन शुरु गरयौं ।

चामल दाल हरु घरबाट ल्याएको गोरुको जिउमाथि राख्न खोज्दा गोरु न्मान्ने भएकाले मुस्किलले माने पछि हामीले राखी हिडन शुरु गरयौं । यो ठाउँमा ठुलो खाल्डो थियो । अगाडी आउने सबैले आफनो मोटर, मोटरसाइकल, साइकल, बैलगाडा यही खाल्डामा खसालेका रहेछन३ र हामीले पनि हाम्रो गाडा यही खाल्डोमा खसालीदियौं । मलाई पनि आमाले एउटा सानो झोलामा केही कपडाहरु राखी बोक भनेर दिनु भयो । अब हाम्रो संकट र कष्टदायी यात्रा यो १०२ माइलको खुटटी बाट शुरु हुन्छ । चार दिनको हिडाई पछि यो १०२ माइलको खुटटी भेट भएकोमा मेरो लागी चीरस्मरणीय छ किन भने यसै ठाउँबाट हाम्रो नेपाल जाने यात्रा शुरु हुन्छ । सबैले आफनो सामान बोकी हिडन प्रारम्भ भयो । गोरुलाइ धपाउँदै हिडाउने काम माइला भेनाले गर्नु भयो ।

आमाले मेरो हात समाति हिड भनेर हिडाउनुभयो । मेरो कान्छी दिदीको भर्खर जन्मेका राम लक्षमण भान्जाहरुलाइ कान्छा भेनाले बोक्नु भयो । दिदीहरुले सामान बोके । जन्तरी दिदीको पनि एकजना मात्र छोरा थियो । उनि सानै भए पनि हिडन सक्थे । यसरी हामी सबैको पैदल यात्रा अघि बढदै गयो । कोही अगाडी कोही पछाडी जंगल र पहाडको बाटो हिडदै गयौं । केही पर पुगे पछि बाटोको जंगल छेउमा झिंगा भन्केको आवाज आयो । के हो भनि हेर्दा एक जना साधु कमण्डलु रुखमा झुण्डाइ त्रिशुल गाडेको र रुद्राक्ष माला लगाएको जिउ पुरै ढाडिएको डुङ्गडुङ्ग गनाउने थालेको देखियो । यहाँ बाट हिडदै जाँदा कहाँ बास बस्ने केही थाहा थिएन । जंगलै जंगल हिडदै जाँदा साँझ पनि पर्न लागेकोले त्यहाँ सानो खोला जस्तो बगी रहेको पानी थियो । आमाले आज यही वास बस्ने भनेपछि सबै जना थकाइ मार्न थाल्यौं । केही बेर थकाइ मारीसकेपछि खाना बनाउन शुरु भयो र भेना र दाजुहरुले स्याउला काटी छाप्रो बनाउन भयो र यही छाप्रोमा रात वितायौं ।

भोली फेरी विहानै हिडन थाल्यौं । जाँदा जाँदा कहाँ पुग्ने कहाँ बस्ने केही थाहा छैन । बाटो सानो गोरेटो जंगलै जंगल, कुनै मान्छै संग भेटघाट छैन । यो हिंडदै गरेको बाटो कचीनहिल रहेछ । ठाउँ ठाउँमा अघि आएका मान्छेहरु मरेका लासहरु देख्यौं । कुनै स्वास्नी मान्छे, कुनै लोग्ने मान्छे र कुनै बच्चा । स्वास्नी मान्छेको गला, कान, र नाकमा सुन लगाएको र लोग्ने मान्छेको हातमा औंठीहरु देखिन्थे । यस्तै प्रकारको लास हरु थुप्रै भेटियो । हाम्रो यात्रा बढी रहयो । कहिले बास बस्दै सात आठ दिन डाँडाकाँडा जंगलको बाटो हिडदै एउटा कचीन गाउँमा आइपुग्यो । यहाँका कचीन हरु पनि लडाइ हुन्छ भन्ने डरले सबै घर छाडी जंगल पसेका रहेछन् । कता बाट एकजना त्यही बस्ने कचीन आइपुग्यो र उनीसंग भेनाले कुरा गर्दा त्यो ठाउँको नाम भैखुङ्ग रहेछ । यो कचीन घरको हेरविचार गर्न आएको रहेछ । फेरी पछि उतै जंगल तिर गयो । यहाँ पातलो घरहरु रहेछ र हामीहरु यिनै घरहरुमा बस्यौं । यो भैखुङ्गमा बृटिश सरकारले रिफयुजीहरुका लागी रासन गोदाम राखेको रहेछ । यहाँ चामलको डंगुर थुपारेको रहेछ । चामल जति लगे पनि रोकतोक थिएन । कचीनहरुले यो गोदामबाट चामल, सुकेको माछा, डब्बाको दुध, अरु टिनका डब्बामा राखेको मासु सबै कचीन हरुले लगिसकेको रहेछ । चामल मात्र डंगुर थियो । यो चामल पनि भित्र पसेर लिनु पथ्र्यो किनभने छेउछेउको चामल सबै हिलो माटो लागेको फोहर थियो । यस भैखुङ्गमा हामी सबै धेरै दिन बस्न परयो किनभने धेरै जना थाकेकोले विरामी पर्न थाले । केही दिन पछि फेरी अघि बढयौं ।

यस गाउँबाट करिब एक माइल दुरीमा एउटा अस्पताल पनि रहेछ । यो बृटिशहरुले बनाएको रहेछ । तर हामी यहाँ आउँदा विल्कुल खाली थियो । कुनै दवाई, स्टाफहरु थिएनन् । यहाँ आइ पुग्दा फेरी हिडन नसक्ने भई यसै अस्पतालमा बस्यौं । यहाँ धेरै जना विरामी परे । कान्छी दिदीका जुम्ल्या छोरा राम लक्षमण विरामी परेर यही परलोक भए । हाम्रो परिवारको संख्यामा सबैभन्दा पहिले परलोक भएको यहि हो । यहाँबाट फेरी केही दिन पछि अघि बढयौं । अब हाम्रो हिडाई धेरै विस्तारै हुदै गयो । सबैजना कमजोर हुँदै गए । अब त कहाँ सम्म हुन थाल्यो भने जहाँ पानी खोलानाला भेटिन्छ त्यहाँ बास बस्न थालियो । बाटोमा धेरै मानिसहरु मरेको भेटियो । यहा एउटा बडो अचम्म लाग्ने कुरा के भने यत्रो घंघोर जंगलमा कुनै हिंसक जनावर, सर्पहरु केही देखिएन, भेटिएन, कुनै मानिसहरु पनि भटिएन र डरत्रास केही थिएन । यति सम्म हुन थाल्यो कि आआफनो परिवारमा माया ममता हराउँदै गयो । यो सबै उनै दयालु भगवानको लिला होला भन्नुमा अतिशयोक्ति नहोला । यसै ठाउँमा (भैखुङ्ग) आकाश कालो भएर आयो । केही छिन मै ठुलो पानी पर्न थाल्यो । पानीको भल आउन थाल्यो । जताततै माछाहरु देखिन थाले । रातो खाले माछा थुप्रै देखियो । हामीले यि माछा पक्रेर पोलेर खायौं । यसरी जंगलै जंगलको बाटो गर्दै, जता पायो तेतै बास बस्दै हिडने गरयौं । मच्छर अति लाग्ने, दिसापिसाब गर्न पनि मच्छरले गर्दा गाह्रो पथ्र्याे । अब धेरै जना विरामी परेकोले हिडनै नसक्ने अवस्थामा पुगे । खानलाई चामल पनि सकिदै गयो । अब विस्तार गर्दै परिवारहरु पनि छुट्टिन थाले । कचीनहिल मै धेरै दिन लाग्यो ।

यसरी हिडने क्रम चल्दै गयो । आमाले मलाई हातमा समातेर अघि हिडाउँदै लानु भयो । अरुहरु पनि पछि पछि विस्तारै आउँदै गर्थे । यसरी आमाले मलाई जहाँ पानी भेटिन्थ्यो त्यहाँ बसी घरबाट ल्याएको मह र पानी खुवाउनुहुन्थ्यो र अरुहरुलाई पर्खेर बस्थ्यौं । जो जो आएपुग्थे विस्तारै विस्तारै हिडायर लान्थ्यौं । जहाँ पानीको कलकल आवाज सुनिन्थ्यो त्यही बास बस्ने भनी हिडथ्यौं । पानी बगेको आवाज नजिक सुनेपनि त्यो खोला सम्म पुग्न चै अति गाह्रो पर्थ्यो ।

बाटोमा पानी परिरहन्थ्यो । परे पनि विस्तारै हिडने क्रम चै चली नै रहन्थ्यो । घर छाप्रो केही छैन, रुखको मुनी बसी रात काटथ्यौं । मच्छरले सुत्नै दिदैनथ्यो । विहान भए पछि फेरी हिडन थाल्थ्यौं । यसरी एक दुइ महिना हिडि सके पछि बल्ल बल्ल अर्को गोदाम भएको ठाउँ सुम्विथाङ्गमा आइपुग्यों । यहाँ पनि बुटिश सरकारले राशन पनीको व्यवस्था गरेको रहेछ र उहाँ बृटिश हरु दुई तिन जना रिफयुजीहरुको हेरविचारको लागी बसेको रहेछ । यहाँ एउटा ठुलो चौर थियो । हवाइरुजहाजले राशन, चामल, दुध, डब्बाको मासु, दवाईहरु पनि प्यारासुटबाट झार्दो रहेछ । बृटिशको यो छाप्रो देखि अलि पर चिनीया फौजको कैम्प रहेछ । चिनीयाहरुकोपनि राशन पानी उनीहरुकै जवाइजहाजले झारेको रहेछ । यसरी राशन झारेको वेलामा सबै रिफयुजीहरुको घरै पिच्छे एकजनाले राशन बोक्न जानु पर्दो रहेछ । नगएमा लठठीले पिटने रहेछ । एक दिन सिमसिम पानी परिरहेकोबेलामा बृटिशको हवाईजहाज राशन झार्न आयो र एक जना हरेक घरबाट राशन बोक्न जान परयो । यतिखेर दाजु, दिदी, भेना सबै नै जनानै विरामी भएका थिए । सबै विरामी परेकाले मलाई जान परयो । राशनको बोरा ठुलो ठुलो भएकोले हेर्दै जाँदा एउटा सानो बोरा देखें र त्यसैलाई बोक्न सकीनसकी टाउकोमा राखि बोकें । पानी परेको र बोरा भिजेको हुँदा पानी तरकेर मुखमा आयो र कसो गर्दा चाटन प्गें । चाटदा गुलियो लागेकोले चीनीको बोरा रहेछ भन्ने थाहा पाएँ । यो राशन झारेको ठाउँबाट करिब आधा घंटाको बाटो बोकी गोदाममा पुरयाउनु परयो । त्यहाँ राशन बोकीलाने लाई दुधको बडब्बा, सुकेको फलहरु दिने गर्दथे । बोरा टाउकोमा बोकेकाले केही बेर टाउको हल्लाउँनै सकिन । ठाडैको ठाडै भयो । केहिबेर पछि ठीक भयो ।

एक दिन यहाँको प्रमुख एकजना गोरा घुम्दै रिफयुजीक्याम्पमा आउँदा दाजुले अंग्रेजी बोल्ने भएकोले गोरा संग कुरा गरी राम्रो खाले औषधि दियो । यो आषधिले दाजुलाई धेरै नै राम्रो गरयो । केही दिन पछि मलाई पनि ज्वरो आयो । पेट दुख्ने भयो । यस ठाउँमा कलेराको प्रकोप बढयो । धेरै मानिसहरु मरे । मरेकालाई बृटिशको का मगर्ने मानिसहरुले मरेका मानिसहरुको घाँठीमा डोरीले बाँधी मचान बाट झाथ्र्यौ र एउटै खाल्डोमा गाडी दिन्थ्यो । जनतरी दिदीको छोराको पनि यहाँ नै स्वर्गे भयो । यस ठाउँमा करिब एक महिना जति बसे पछि अलिअलि ठीक भएपछि फेरी अघि हिडन थाल्यौं । कहिले कहाँ कहीले कहाँ बास बस्दै दिडदै गयौं । बाटोमा पानी दिन दिनै जसो पर्न थाले पनि यताउति ओत लाग्दै हिडयौं । आमाले मलाई हरेक समय सहारा दिदै हिडाउनु हुन्थ्योे । यतिखेर मेरो आमा सिवाय हरु कोही थिएन । जहाँ पानी भेटथ्यौं त्यहाँ आमाले मलाई पाउरोटी, मह र पानी खुवाउनु हुन्थ्यो । आमाले कहिले जंगलमा उम्रेको सानो रुखको बोट भाँची त्यसको वीचको गुदी खुवाउनु हुन्थ्यो । गुलियो स्वाद हुन्थ्यो । बाटोमा छुटेका दिदी, भेना संग वास बसेको ठाउँमा भेट हुन्थ्यो । एक दिन कान्छा भेनालाई एकलै देख्दा दिदी खै भनि सोधदा बाटैमा परलोक भयो भन्नु भएको थियो । यस्तै किसिमबाट कसले कसलाई कसले कसलाई बाटोमा उछिन्दै हिडन थाल्यौं । विरामी परेकाहरुलाई विस्तारै आउ भन्दै अघि बढयौं । यसरी हिडदा हिडदै कचीनहिल काटिएछ र अब नागा हिल चढने बाटो आयो ।

नागा हिल असाध्धै अग्लो र अपठयारो थियो । पानी परेकोले घुँडा घुँडा सम्म गाडेर हिडनु पथ्र्यो । जुगा असाध्य लाग्ने, जुगाले टोकेर घाउै घाउ भयो । मच्छर त्यत्तिकै बाक्लो लाग्थ्यो । पानी परेकोले अग्लो डाँडामा हिडन गाह्रो थियो । यस्तैमा एउटा तारे गोरु, जस्ले चामल ढाडमा बोकेको थियो, चिप्लेर कता हो कता छाङ्गामा खस्यो । हामी अक्क न बक्क भयौं । अब अर्को विजुले भन्ने गोरु र घरै बाट आएको एउटा कुकुर चैं संगै हिडदै आएको छ । रात पर्न थाले पनि बास बस्ने ठाउँमा पानी कतै भेटिदैन । खोला बगेको सुनिन्छ तर भेटिदैन । निकै बेर हिडे पछि एउटा सानो खोल्सी जस्तोमा पानी बगेको रहेछ । त्यही नै बास बस्यौं । अर्को दिन विहान फेरी हिडन शुरु भयो । अब त केही छिन हिडे पछि बास बस्नु पर्ने स्थिति आयो । शरीर ज्यादै शिथिल हुदै आयो । अब त चामल पनि सकियो । के खाने कुनै आशा छैन ।

यस्तैमा जेठा दाजुले म अघि जान्छु चामल खानेकुरा हरू पाएँ भनि लिएर आउँछु भनि अघि बढनु भयो । हामी हिडदै जाँदा एक ठाउँमा सानो खोला जस्तै भेटियो । सबै आलस्य भई कोही यता कोही उता पल्टन थाल्यौं । यस्तैमा आमाले पटुकीमा एक मुठी चामल राख्नुभएको रहेछ । त्यही ठाउँमा एउटा डब्बा भेटियो र त्यही डब्बामा एक मुठी चामल र सिस्नु पखालेर त्यसैमा हाली पकाउनु भयो । सबैले अलिअलि बाँडेर आयौं खायौं । यसले हामीलाइ ठुलो प्राण आयो । त्यसपछि हामी फेरी अघि बढयौं । केही पर पुगे पछि एक ठाउँमा एउटा पानी भएको सानो खाल्डो भरी माछा चलेको जस्तो देखियो र हेर्दा नभन्दै माछा नै रहेछ । हातले समाति झिक्यौं । निकै धेरै रहेछ । केही पर हिडे पछि नागाहरुको घर हरु भेटियो । यहाँ पनि कुनै नागाहरु थिएनन् । नागाहरुको चार पाँच वटा घर थियो । यहि बास बस्ने सुविधा भएकोले हामी सबै यही घर हरुमा बस्यौं र ति माछाहरुलाइ पोलेर खान थाल्यौं । कागती लटरम्म फलेको थियो । यो कागति टिपेर खायौं । यो खाए पछि मलाई अलिअलि ज्वरो आउने निको भयो र अरुहरुलाई पनि यसले ठीक गरयो । यहाँ पनि केहि समय बसेर फेरी अघि बढयौं ।

 

केही बेर हिडे पछि अर्को नागाको घर भेटियो । यस घरमा एक जना चिनीया सिपाही बन्दुक सहित मरेको देखियो । त्यस्तै एक जना महिलाको पनि शव देख्यौं । अघि बढदै जाँदा एउटा गोदाम घर भटियो तर त्यहाँ केही पनि थिएन । सबै चामल लगी सकेको रहेछ । हामीले ल्याएको सबै चामल सकि सकेको थियो । यहाँ भुईमा झरेको चामलहरु बटुल्यौं । दिन भरी हिडे पछि बास बस्ने बेला सम्म कतै पानी भेटिएन । बीच जंगलमा बास बस्नु परयो । आमाले मलाइ रुखका पातहरुबाट शीतको थोपा बटुलेर ल्याउन भने अनुसार एक घंटा जति थोपा थोपा शीत जम्मा गरेर एउटा भाँडामा भरेर आमालाई दिएँ । उहाँले त्यसमा विहान बटुलेका चामल पकाउनु भयो र सबैले अलि अलि खायौं । मेरो घाँटीमा भाट अडकेर झन्डै मरेको । अर्को दिन हिडने बेलामा जन्तरे भेनाले दिदीलाई डोकोमा बोकी ल्याउनु भयो । दिदीले सुकुटी खाने इच्छा गर्नु भएको रहेछ । भगवानको लिला अपरम्पार छ । त्यही बेलामा जंगलबाट एक जना नागा धनुषबाण लिएर आयो । भेनाले इशारा गरेर सुकुटी छ भनेर सोधनु भयो । नागाले के को हो सुकुटी देखायो । भेनाले coin दिएर किन्नु भयो । यो सुकुटी दिदीको मुखमा राख्नासाथ दिदीको प्राण गयो । भेनाले एउटा भातखाने सिलाभरको थाल झिकेर त्यसैले खाल्डो खनि दिदीलाई पुर्नु भयो । त्यस पछि हामी सबै अघि बढयौं ।

 

दिन भरी हिडे पछि साँझ बास बस्ने बेला भयो । एक ठाउँमा एउटा चिनीया सिपाहीले छाप्रो बनाइ सुतेको रहेछ । त्यो सिपाही मरेको धेरै दिन भइ सकेको थियो । त्यसको राइफल, गोली, साथैमा थियो । जिउको मासु कुहेर गली सकेको थियो । लाशलाइ सोरसार पारेर हामी त्यही छाप्रोमा बस्यौं । भोली पल्ट केही बेर हिडे पछि नागाको खोरीयामा पुग्यौं । त्यहाँ पिडालु रोपेको रहेछ । हामीले पिडालु निकालेर पोलेर खान थाल्यौं । कता बाट हो कुन्नि चिनीया सिपाही हरु ताँती लागी आएर अझ सम्म हामीले ल्याएको जिवितै रहेको एउटा विजुले गोरु र एउटा कुकुर थियो । यिनिहरुले गोरुलाइ मारेर तानी लैजान खोज्दा माइला भेनाले नलैजाउ भन्दा उनलाइ गालामा दुइ चडकन हानेर पिस्तोल देखाए । हामीले केही गर्न सकेनौ । एकै छिनमा पोलेर खान थाले । यहाँ हामी हिडन नसक्ने भएर केही दिन यही बस्यौं । एक दिन दुइ जना नागा हरु आए र हामीलाइ भात र साग पकाएर खुवाए । भोली पल्ट फेरी अघि बढयौं । धेरै दिन पछि नागाको गाउँमा आइ पुग्यौं । यहाँ पनि बृटिश सरकारले गोदाम राखेको रहेछ । यहाँ भात र सुकेको माछा खान पायौं । एउटा सानो घरमा आगो तापेर बसेको बेला अचानक आगोबाट पटाका पडकेको जस्तो लाग्यो र हामी पर पर भाग्यौं । पछि हेर्दा त बन्दुको गोली पो पडकेको रहेछ । हामी धन्यै बाँच्यौं । यसै ठाउँमा पछाडी छुटेका दिदी भेनाहरु संग भेट भयो । सबै विरामी परेर हिडनै नसक्ने अवस्थामा थिए । पानी परीरहेकाले हिडन गाह्रो थियो । यहाँ हामी सबै केही दिन बस्यौं । एक दिन हाम्रो कुकुर लाइ चिनीया हरुले मारेर लैजादै रहेछन् । हामीले केही भन्न सकेनौं । केही दिन पछि हामी सबै हिडन थाल्यौं ।

 

केही समय हिड पछि सालविन नदि भेटियो । हो बर्माको ठुलो नदि रहेछ । नागाहरुले डुँगामा हामीलाइ पैसा लिएर तारे । खोला पारी एउटा नागाको घरमा बस्यौं । पानी ठुलो परी रहेको थियो । यस घरको अगाडी केरा, मकैको थाँक्रो, र फर्सी रहेछ । पकायर खायौं । यस्तैमा एउटा जंगली हात्ती कता बाट आइ पुगेर केराको बोट खान आइ पुगेको थियो । केही दिन पछि त्यो हात्तीलाइ नागा हरुले मारेर डोकोमा हालेर लगे । यहाँ जेठी दिदीको र उनको परिवारको प्रायः सबै जनाको ज्वरो र पखाला बाट मृत्यु भयो । एक भान्जा र एक भान्जी मात्र बाँचे । यो सालवीन नदिले धेरै जनाको लाश बगाएर किनारामा थुपारेको थियो । यहाँबाटपनि हामी हरु अगाडी बढयौं । केही दिन हिडे पछि बास बसेको ठाउँमा जेठा दाजूले चामल लिएर आइ पुग्नु भयो । उनले चामल आफनो पतलुनको दुइ मोरीमा बाँधेर ल्याएका थिए । चामल ल्याएकोमा सबै जना खुशी भयौं । चामल सकिएपछि दाजुले फेरी चामल लिन जान्छु भन्दा मेलै म पनि जान्छु भने । आमाले जान्छस त भनि सोधनु भयो । मैले जान्छु भने पछि आमाले पनि हुन्छ जा भन्नु भयो । यहाँबाट आमा र मेरो विछोड भयो ।

यसरी केही दिन हिडे पछि बाटोमा बृटिस सरकारले पठाएका मानिसहरु भेटयौं । यिनिहरुले हामीलाइ फर्कन दिएनन् । जति पनि मान्छे आउँथे अघि पठाउँथे । अब दाजु र म लेडु आसाम भन्ने ठाउँमा आइपुग्यौं । यहाँ बृटिश सरकारले रिफयुजीका लागी खानाको रामरो बन्दोबस्त गरेको रहेछ । खाना पछि हामीलाइ ट्रममा चढाएर मारगेटा सप भन्ने ठाउँमा पुरयायो । त्यस पछि मारगेटा क्याम्पमा लगेर राख्यो । भोली पल्ट हामीलाइ गुहाटी मुकामघाटमा ल्यायो र यसै क्याम्पमा राख्यो । यस ठाउँमा सबै कुराको व्ययस्था राम्रो थियो । यहाँ दिन दिनै मान्छे हरु ल्याउँथ्यो । म चै दिन दिनै आमा कहिले आउनुहुन्छ भनेर ट्रकमा आएका मान्छे हरुलाइ हेर्थे । एक हप्तापछि आमालाइ सिकिस्त विरामी अवस्था ल्याइ पुरयाए । यसै ट्कमा दिदी हरु पनि साथै आएका थिए । आमा धेरै विरामी हुनु भएको रहेछ । औषधिले काम गरेन । आमाले कान्छा खै कान्छा मात्र भन्नु हुन्थ्यो । एक दिन धेरैनै सिकिस्त भएपछि मलाई दिदीहरुले अस्पताल लगि चमचामा पानी हाली आमालाई खुवाउन लगाउनु भयो । मैले खुवाएको पानी पनिखानु भयो र चमचा मुखले नै च्यापी प्राण त्यागनु भयो । सबै जना रुन थाल्यौ । भोली पल्ट आमालाइ दफनाउन ब्रहमपुत्र नदिमा लानु पर्ने भयो । आमाको शरिरमा ओढाउने कपडा थिएन । भाग्यवश यहाँ क्याम्पमा खाना खाइसकेपछि कपडा दिने गर्थ्यो । त्यही सेतो कपडा मेरो थियो । त्यही कपडा आमाको लाशमाथि ओडाउन काम लाग्यो । केही दिन पछि हामीसबैलाइ मुकामघाटबाट ब्रम्हपुत्र नदि जहाजमा हाली पारी पुरयायो । यहाँ हामीलाइ रेलबाट लग्ने व्यवस्था गरेको रहेछ । यो रेल विषेश गरी बर्मा बाट आउने रिफयुजीहरुहरुको लागी मात्र व्यवस्था गरेको रहेछ । यहाँ बाट हामीलाइ एक महिना पछि मोतिहारी भन्ने स्टेशनमा ल्याइ पुरायो । यहाँबाट हामीलाई ट्कमा राखी मोतिहारी बजारको बीचमा पर्ने मीना बजारमा ल्याइ पुरायो । यही नै हामीलाइ राख्यौ ।

 

यहाँ रिफयुजीका लागी राम्रो व्यवस्था गरेकाले लेखकले फुटबल लगायत अन्य खेलकुदमा भाग लिने गर्थे । पछि यहाँबाट उहाँ विभिन्न स्थानहरु हुँदै नेपालमा आएर प्रहरीका आइजीपी पहलसिंह लामालाइ भेटे पछि प्रहरीमा जागीरे हुनु भएको रहेछ । यो कथालार्इ अब यहीं नै वीट मार्दै छु । तपाइहामीले पढेर थाहा पायौ, दोस्रो विश्वयुद्धले लाखौ लाख परिवारको विचल्ली बनाएको कुरा । उनिहरुको रोदन, दुख, करुणा बारे कसैले कतै लेख्दैनन्, कतै पढिदैन ।

 

ओम शान्ति ।

 

 

 

 


धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...