Monday, April 27, 2020

भाषा नाश हुने बाटो


भाषा नाश हुने बाटो
नागरिक, मङ्गलबार, १७ पुष २०७५, ०८ : ४४ |  प्रा. डा. दानराज रेग्मी
नेपाली भाषा विविध सामाजिक र भौगोलिक परिवेशमा बोलिन्छ। त्यसैले बोलाइमा स्वाभाविक रूपमा सामाजिक तथा भौगोलिक भेदहरू रहेका छन्। त्यसैले बोलाइमा एकरूपता कायम गर्न सकिने अवस्था छैन। बोलाइमा विविधता नै नेपाली भाषाको विशेषता हो र भाषाको जीवन रस पनि हो। लेख्य परम्परामा भरखरै बामे सर्न लागेका तामाङ, शेर्पा, भुजेल र राई–किराती भाषाहरूमा लेखाइमा एकरूपता नदेखिनु कुनै अनौठो कुरा होइन। लेखनशैली निर्देशिकाका आधारमा यस्ता भाषाहरूमा पनि एकरूपता ल्याउने प्रयास जारी नै छ। शिक्षा, आमसञ्चार र सरकारी अभिलेखका लागि प्रयोग हुने भाषाको लेखाइमा एकरूपता हुनैपर्छ। नेपाली जस्तो लेखाइको लामो इतिहास बोकेको भाषामा पनि लेखनशैलीका विषयमा ठूलो मतान्तरण रहेको छ। यो भने अनौठो र दुःखलाग्दो कुरा हो। 
पहिले पहिले जसरी बोलिन्थ्यो लगभग त्यसरी नै नेपाली लेखिन्थ्यो। नेपालीको प्रयोग क्षेत्र बढ्दै गएपछि लेखाइमा एकरूपता हुनुपर्ने आवश्यकता महसुस भयो। नेपालीको लेखाइमा एकरूपता ल्याउने पहिलो प्रयास लेख्ने रीति नामक लेखनशैली निर्देशिकाले गरेको थियो। बृहत् नेपाली शब्दकोशले सन्दर्भको काम गर्दै गयो। लेख्य नेपालीको मानकीकरण निरन्तर चल्दै गयो। सुरुका दिनमा नेपाली विद्वान्हरूका बीचमा यस विषयमा खासै मतभिन्नता देखिएन। लेखाइमा एकरूपताका लागि संस्थागत मात्र होइन, समूहगत तहबाट पनि निरन्तर प्रयासहरू हुँदै गए। विशेषतः विगत दश वर्षको बीचमा लेख्य नेपालीलाई मानकीकरण गर्ने केही चर्चित तर विवादास्पद प्रयास भए। २०६६ सालमा अनिवार्य नेपाली शिक्षण निर्देशिका आयो। यसको लगत्तै नेपाली वर्णविन्याससम्बन्धी चन्द्रगढी घोषणापत्र जारी गरियो। 
यसै क्रममा २०६७ मा सबैको नेपाली नामक लेखनशैली निर्देशिका आयो। यसको लगत्तै २०६७ सालमै नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषा सङ्गोष्ठी आयोजना गर्न पुग्यो। नेपाली भाषा र साहित्यका मूर्धन्य विद्वान्हरूले २०६८ सालमा ललितपुर घोषणापत्र जारी गर्न पुगे। २०६९ सालमा नेपाली कसरी शुद्ध लेख्ने (नेकशुले) प्रकाशित भयो। 

लामो लेख्य इतिहास बोकेको भाषामा अहिले लेखनशैलीका विषयमा ठूलो मतान्तरण देखिनु भाषा नाश हुने बाटो हो।
यो क्रम तीव्ररूपमा चल्दै गयो। २०६९ सालमा शिक्षा मन्त्रालयले पाठ्यक्रम विकास केन्द्रका नाममा परिपत्र नै जारी गर्न पुग्यो। २०७० सालमा प्रकाशन शैली प्रकाशित भयो। नेपालीका विद्वान्हरू मतान्तरणको दलदलमा भासिँदै गए। २०७२ सालमा आयोजना गरिएको अन्तर्राष्ट्रिय नेपालीभाषा सङ्गोष्ठी र सोही सालमा प्रकाशित नेपाली बृहत् शब्दकोशले त नेपाली भाषा र साहित्यका विद्वान्हरूलाई दुई खेमामा नै विभाजित गरिदियो। 
केही नेपाली विद्वान्हरू विकल्परहितको बृहत् नेपाली शब्दकोशको विरोधमा उभिए भने केहीले यसको प्रतिरक्षामा लागे। दुई खेमाका बीचमा वाक्युद्ध नै चल्यो। दुवै सुधारका पक्षमा नै थिए। पहिलो पक्षले लेखाइमा तात्विक सुधार गर्न चाह्यो भने दोस्रो चाहिँ सम्झौताका आधारमा क्रमिक सुधारमा अडिग रह्यो। नेपालका वरिष्ठ भाषाविज्ञहरू पनि ढलपलिए। नेपाली भाषाको लेखन परम्पराको विकासक्रम, अध्ययनको तह र समाजभाषा वैज्ञानिक आधारमा स्पष्ट धारणा राख्न सकेनन् र सकेका पनि छैनन्। यो पनि कम दुःखलाग्दो कुरा होइन।    
नेपालीको लेखाइमा तात्विक सुधार नै किन चाहियो भन्ने प्रश्नको सर्वस्वीकार्य र भाषाविज्ञानसम्मत उत्तर आउन सकेको छैन। क्रमिक सुधार नै किन राम्रो भन्ने कुरामा सबैलाई चित्तबुझ्दो तर्क पनि आउन सकेको छैन। क्रमिक सुधारका पक्षधर बलियो मोर्चाबन्दीमै लागे। उनीहरूकै दबाबमा प्रज्ञा–प्रतिष्ठान विकल्परहितको नेपाली शब्दकोशलाई नै परिमार्जन गर्न सहमत भयो। केही समय युद्धशान्ति नै देखियो। तर आशा गरेअनुसार लेखाइमा एकरूपता देखापर्न सकेन। शैक्षणिक प्रयोजनका लागि नेपाली लेखाइमा सुधार गर्नैपर्ने तर्कलाई तात्विक सुधारका पक्षले अझै छाडेका छैनन्। क्रमिक सुधारका पक्षधरहरू पनि सतर्क स्थितिमा रहेको अवस्था छ। लगभग शीतयुद्धको स्थति नै छ। 

घोषणापत्र र सरकारी तवरबाट भएका निर्णयले दीर्घकालीन समाधानको बाटो लिन मद्दत गर्न सक्दैनन्। मतान्तरणलाई न्यूनीकरण गरी सर्वमान्य र व्यावहारिक मानकीकरणका लागि केही रणनीतिहरू तुरुन्त लिनु आवश्यक छ। 
लेखाइमा सुधारका विषयमा नेपाली विद्वान्हरूबीच मतान्तरण किन देखापर्‍यो ? यो प्रश्नको उत्तर खोज्न सजिलो छैन। समयले देखाउँदै जाला। सुधारका प्रयासको सैद्धान्तिक र व्यावहारिक रूपमा पुष्टि हुनु नितान्त आवश्यक छ। भाषा सामाजिक वस्तु हो र समाजमा लेखाइको बहुआयामिक प्रभाव हुन्छ भन्ने कुरामा दुईमत छैन। लेखाइमा भाषाका स्वनिमहरूको अधिकतम प्रतिनिधित्व हुन नसकेमा पनि मतान्तरण देखापर्न सक्छ। मातृभाषी र सरकार दुवैको सहमति नभएमा लेखाइमा गरिने सुधार जति वैज्ञानिक भए पनि सर्वस्वीकार्य हुन सक्दैन। अर्कोतर्फ सिद्धान्तविहीन परिवर्तनलाई समाजले सजिलै मान्दैन। भाषाको प्रमुख प्रयोग शिक्षण–सिकाइ हो। लेखाइका सुधारले सिकाइमा अधिकतम सरलता ल्याउन नसकेमा पनि मतान्तरण स्वाभाविकै रूपमा देखापर्छ। लेख्य नेपालीको मानकीकरणका पक्षमा भने यी कुनै कारणले खासै भूमिका खेलेको प्रतीत हुँदैन।  
तात्विक परिवर्तनका पक्षधर भने मातृभाषी तथा बेमातृभाषी दुवै खालका बालबालिकाहरूलाई पढाइ र लेखाइमा एकरूपता र सरलता कायम गरी गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि लेखाइमा मानकीकरण गर्नुपर्ने तर्क राख्दै आएका छन्। पढाइ (उच्चारण) र लेखाइमा सरलताका लागि संयुक्त वर्णलाई छुट्याउने, जोड्दा र नजोड्दा अर्थमा भिन्नता नहुने नामयोगी र सन्दर्भबाट अर्थ बुझिने लामा समस्त शब्द छुट्याउने, संख्यावाचक शब्द तद्भव भएकाले सुरु र माझमा ह्रस्व लेख्ने, तद्भव र आगन्तुक शब्दको उच्चारणमा ‘स’को मात्र उच्चारण हुने हुँदा ‘स’को मात्र प्रयोग गर्ने र सिकाइमा सरलताका लागि अपवाद र विकल्प न्यूनीकरणलाई प्रोत्साहन गर्ने कुरामा मूल रूपमा जोड दिँदै आएका छन्। प्रायोगिक भाषावैज्ञानिक आधारमा सरसर्ती हेर्ने हो भने उनीहरूको तर्क व्यावहारिक देखिन्छ। संसारमा यस्ता प्रयासहरू भई नै रहेका छन्। तर सुधार नभएको अवस्थामा बालबालिकाले भोग्नुपरेको जटिलताको तथ्यपरक र बृहत् अध्ययनको आवश्यकता छ। शिक्षण पद्धति प्रभावकारी र अभिप्रेरणा सबल नहुँदा पनि सिकाइमा जटिलता आएको हुन सक्ने प्रबल सम्भावना भने छ।  
क्रमिक परिवर्तनका पक्षधरहरू तात्विक परिवर्तनका पक्षधरले दिएका तर्कलाई मान्य पक्षमा देखिँदैनन्। संयुक्त वर्ण छुट्याउँदा कुरूप देखिने हुँदा छुट्याउन नहुने, एकै झोँकामा उच्चारण हुने सिङ्गा नामलाई छुट्याउँदा अर्थमा भिन्नता आउनेलाई छुट्याउन नहुने, श्रुतिसमभिन्नार्थक शब्दहरूलाई प्रचलानुसार नै लेख्नु राम्रो हुने, श्रुतिसमभिन्नार्थक शब्दहरूलाई प्रचलानुसार लेख्दा उपयुक्त हुने र लेख्य परम्परालाई मनन गरी शब्दकोशबाट नै विकल्पलाई हटाउन नहुने तर्क क्रमिक परिवर्तनकारीले राखेको पाइन्छ। उनीहरूका यी तर्कहरू समाज मनोविज्ञानमा आधारित रहेको पाइन्छ। मानिस परम्परालाई सजिलै त्याग्न सक्दैन। नेपालीमा दीर्घता नभएकाले ‘फूल’ र ‘फुल’ जुन लेखे पनि हुन्छ।  विद्यालयलाई ‘विद्यालय’ लेख्दा पनि भाषावैज्ञानिक दृष्टिले फरक पर्दैन। पहिले लेखिँदै आएको फरक पर्दा नराम्रो देखिने मात्र हो। दुवै पक्षका तर्कलाई तत्कालै सैद्धान्तिक र व्यावहारिक तराजुमा जोखेर केही बोली हाले पनि दुवै पक्ष मान्न त परै जाओस् सुन्न पनि तयार छैनन्। तैपनि प्राज्ञिक व्यक्तिहरूले निष्पक्ष भएर सैद्धान्तिक र व्यावहारिक आधारमा केही बोल्नुपर्ने नै हुन्छ। अपवाद र विकल्पलाई न्यूनीकरण गर्दा पढाइ र लेखाइमा सरलता पक्कै आउँछ। परम्परागत लेखाइमा परिमार्जन गर्दा पढाइ र लेखाइमा थप जटिलता आउन सक्दैन भन्ने पुष्टि गर्न भने निकै गाह्रो छ। 
बोलाइ र लेखाइमा नेपालीमा निकै ठूलो अन्तर भएको कुरा सबैले महसुस गरेकै कुरा हो। लेख्ने अभ्यास नभएमा मातृभाषीले बोलाइका आधारमा लेख्ने हो भने पचास प्रतिशत पनि शुद्ध लेख्न सकिन्न। मातृभाषीले पनि शब्दको हिज्जेको राम्रो अभ्यास नै गर्नुपर्ने अवस्था छ। नेपालका लेखन प्रणालीको विकास नभएका भाषाहरूका लागि वर्णविन्यासका नियम बनाउँदा वर्णवैज्ञानिक तथा समाजभाषिक अवधारणाजस्ता दुई महत्वपूर्ण सैद्धान्तिक आधारलाई ध्यान दिने चलन आएको छ। यो राम्रो उपाय हो। तर नेपाली जस्तो लामो लेखनको इतिहास भएको भाषाका लागि हाल बोलिने नेपालीको वर्ण व्यवस्थालाई आधार मान्दा पुरानो परम्परामा लेखिएका कृतिहरू केही पछिका बालबालिकाले बुझ्नै नसक्ने हुन सक्छन्। समयानुकूल परिवर्तन नहुँदा भाषाको जीवन्तता खतरामा पर्न सक्छ। यसबारे सबैले सोच्नु आवश्यक छ। 
नेपाली जस्तो भाषामा मानकीकरण वा सरलीकरण अति नै आवश्यक छ। नेपालका मैथिली, भोजपुरी, अवधी जस्ता अरू थुप्रै भारोपेली भाषामा संस्कृतका तत्सम शब्दहरूको प्रयोग भई नै रहेको अवस्था छ। बालकको सिकाइलाई सहजीकरण गर्न नेपाली भाषाको वर्णविन्यासलाई अति सरलीकरण गर्दा त्यस्ता भाषाका बालबालिकाहरूलाई उनीहरूको भाषा सिक्न गाह्रो हुन जान्छ। यसतर्फ पनि विचार गर्नुपर्छ।  सरलीकरण गर्नु नै हुन्न भन्न पनि हुन्न। किनकि अहिलेको लेख्य नेपाली मातृभाषी बालबालिकाहरूलाई पनि सिक्न निकै गाह्रो छ। नेपाली भाषाइतरका बालबालिकाहरूलाई कति गाह्रो होला, सजिलै अनुमान लगाउन सकिन्छ। बोलाइमा जति छिटो परिवर्तन हुन्छ, त्यही गतिमा लेखाइमा हुँदैन र हुनु पनि हुँदैन। नेपाली लेखाइलाई अति जटिल पनि बनाउनु भएन। मतान्तरणका कारणले लेख्य नेपालीको मानकीकरणलाई जकडबन्दमा राख्नु हुँदैन। 
कठोर मानकीकरणका कारणले नवयुवाले फ्रेन्च भाषामा लेख्न हिचकिचाउँछन्। लेखाइ सरल भएकाले अंग्रेजीतिरको मोह उनीहरूमा बढेको छ। नेपाली भाषा र साहित्यका विद्वान्हरूको लेखाइमा एकरूपता छैन। नेपालीमा लेखिएका विद्यालय तहका पाठ्यपुस्तकमा लेखाइमा एकरूपता छैन। कानुनका किताबहरूमा लेखाइमा भिन्नता पाइन्छ। प्रकाशन गृहका पनि आफ्नै शैली पुस्तिका छन्। आजसम्म पनि एकरूपता कायम नहुनु वा नगराउनु उदेकलाग्दो कुरा होइन र
नेपाली संघीय सरकारको एक मात्र सरकारी कामकाजको भाषा हो। यो प्रदेश तथा स्थानीय सरकारको पनि कामकाजी भाषा हो। यस्तो भाषामा लेखाइमा एकरुपता मात्र होइन, शब्दको उच्चारणमा पनि एकरूपता ल्याउनु आवश्यक हुन सक्छ। लेखाइ र उच्चारणमा एकरूपता नल्याएसम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सकिन्न। लेखाइमा एकरूपता नभएमा अर्थमा अराजकता आउन सक्छ। यतिमात्र होइन, राष्ट्रिय महत्वका कागजात कुन खालको मानकीकृत नेपालीमा राख्ने भन्ने प्रश्न उठ्न सक्छ। ससाना मतान्तरणमा अल्झने यो बेला होइन। कुनै पनि बहानामा मानकीकरणको प्रक्रियालाई रोक्नु हुँदैन। मतान्तरणलाई कुनै बहानामा बढाउनु हुँदैन। 
घोषणापत्र र सरकारी तवरबाट भएका निर्णयले दीर्घकालीन समाधानको बाटो लिन मद्दत गर्न सक्दैनन्। मतान्तरणलाई न्यूनीकरण गरी सर्वमान्य र व्यावहारिक मानकीकरणका लागि केही रणनीतिहरू लिनु आवश्यक छ। पहिलो, नेपाली वर्णविन्यासमा एकरूपताका लागि मानकीकरण गर्नुभन्दा अगाडि यसका प्रमुख भाषिकाहरूमा प्रयुक्त शब्दहरू र तिनीहरूको मानक उच्चारण निर्धारण गर्नुपर्छ। दोस्रो, मानक उच्चारण निर्धारण गर्नका लागि हरेक भाषिकामा पर्याप्त मात्रामा कथ्य पाठसंग्रह तयार गर्नुपर्छ। यसबाट कुनै पनि शब्दको उच्चारण आवृत्ति मापनबाट सबैभन्दा बढी वक्ताले प्रयोग गर्ने उच्चारणलाई मानक मान्न सकिन्छ। यस्तो वैज्ञानिक विधिबाट तय गरेको मानकलाई मात्र वक्ता तथा सरकारले स्वीकार गर्न सक्छ। तेस्रो, लेखाइ वर्णविज्ञानमा मात्र आधारित नहुने हुँदा वाक्यमा प्रयुक्त शब्दको आन्तरिक संरचनाको मानक रूप निर्धारण गर्नका लागि भाषामा पर्याप्त मात्रामा लेख्य पाठसंग्रह गर्नुपर्छ। यसबाट कुनै पनि शब्दको प्रयोग अवस्थाको आवृत्ति मापन गरी सबैभन्दा बढी प्रयोग भएको अवस्थालाई मानक मान्न सकिन्छ। चौथो, मानक नेपाली र यसका सबै भाषिकाहरूको विस्तृतरूपमा ध्वनि तथा वर्णव्यवस्थाको अध्ययन हुनुपर्छ। मानक नेपाली र यसका सबै भाषिकाहरूको विस्तृतरूपमा रूपवाक्यको पनि अध्ययन हुनुपर्छ। पाँचौँ, वर्णविन्यास सामाजिक विषयवस्तु भएकाले सर्वप्रथम नमुना छनोट विधिको आधारमा परिमार्जन गर्नुपर्ने कारणबारे प्रयोक्ताका बीचमा सर्वेक्षण गर्नुपर्छ। त्यसपछि पनि नमुना छनोट विधिको आधारमा परिमार्जन प्रस्तावको बारेमा प्रयोक्ताको के कस्तो प्रतिक्रिया छ, त्यसको पनि सर्वेक्षण गर्नुपर्छ। त्यसपछि परिमार्जित वर्णविन्यासको लेखाइ–सिकाइमा हुने सक्ने प्रभावकारिताको जानकारीका लागि क्षेत्र–परीक्षण गर्नुपर्छ। छैटौँ, विभिन्न क्षेत्र र केन्द्रमा गोष्ठीको आयोजना हुनुपर्छ। यस विषयमा प्राज्ञिक छलफल चलाउनु पर्छ। वक्ता र सरकारको स्वीकृति बेगर कुनै पनि क्षेत्रमा लागू गर्ने चेष्टा गर्नु हुँदैन।
मानक वर्णविन्यासका साथै वैकल्पिक वर्णविन्यासलाई मानक शब्दकोशमा समावेश गर्नुपर्छ। सातौँ, यी सबै कुरा गर्नका लागि नेपाली वर्णविशेषज्ञ, समाजभाषाविशेषज्ञ, शिक्षाविद्, मनोविशेषज्ञ र प्रयोक्ता रहेको विज्ञ टोलीको गठन तुरुन्तै गरी समस्याको समाधानतर्फ लाग्नु पर्छ। बृहत् छलफल र समझदारीका आधारमा मात्र नेपाली वर्णविन्यासका वर्तमान समस्याहरूको समाधान गर्न सकिन्छ। नेपाली भाषालाई मतान्तरणको जकडबन्दमा राखी लेखाइ वा अभिलेखीकरणमा अंग्रे्रेजी वा अन्य विदेशी भाषालाई प्रोत्साहन हुने अवस्था सृजना गर्नु हुँदैन। यसले राष्ट्रिय एकतामा आँच आउन सक्छ। (भाषाविज्ञान केन्द्रीय विभाग, त्रिवि)


राष्ट्रको गहना


राष्ट्रको गहना
संस्मरण
आश्विन ६, २०७५बालकृष्ण पोखरेल
काठमाडौँ — स्रष्टा भइसकेपछि उसका एकेक कृति व्यक्तित्वमै जोडिंदै जान्छ । समाजले एउटा स्रष्टालाई यसैगरी मान्यता दिइरहेको हुन्छ 
किनभने जबसम्म कुनै स्रष्टालाई समाजले मान्यता दिंदैन, कुनै संस्थाले मान्यता दिंदैमा वा कुनै समूहले मान्यता दिंदैमा र कुनै सरोकारले मान्यता दिंदैमा त्यो व्यक्तिले सामाजिक मान्यता पाउँदैन। यसैले सम्पूर्ण व्यक्तित्वको मूल्यांकन गरी समाजले मान्यता दिएका स्रष्टा हुनुहुन्छ घिमिरे।

पातलो र ऊर्जाशील ज्यान, गोरो रंग, मसिनो तर सुनिरहूँ लाग्ने बोली, अरूलाई ध्यान दिने स्वभाव, अचम्मलाग्दो सौन्दर्यबोध, जस्तोसुकै समाज/परिवेशमा घुलमिल हुन सक्ने बानी
। यी सबै पक्ष हरेक मान्छेमा जोडिएको हुँदैन। मैले पहिलो भेटमै यस्तो विशेषता पाएको माधव घिमिरेलाई आजपर्यन्त उस्तै बुझेको छु
उहाँसँग पहिलो पटक करिब ६६ वर्षअघि मेरो भेट भएको थियो
। २००९ सालतिरको कुरा हुनुपर्छ। त्यसबेला कवि शिरोमणि लेखनाथ पौडयालको ‘दर्शन गर्न’ काठमाडौं गएको थिएँ। उहाँसँग भेट गर्ने र कुरा सुन्ने धेरैको इच्छा हुन्थ्यो। त्यसै बेला कविवर घिमिरे पनि जानुभएको रहेछ
जाडो महिना थियो
। दुब्लो पातलो मान्छे। हेरिरहुँ जस्तो राम्रो अनुहार। मसिनो स्वर तर उहाँले बोलेको निकै सुहाउँदो लाग्थ्यो। कविशिरोमणिले नै हामीबीच चिनजान गराइदिनुभयो
त्यसैबेला चिनजान भयो तर पहिलेदेखिकै गहिरो चिनजान रहेको अनुभव भइरहेको थियो
। उसै पनि उहाँको सिर्जनाबाट मग्न म भेटै हुँदा झनै प्रफुल्लित भएँ। त्यो पहिलो भेटदेखि आजका दिनसम्म कविवर मेरो मनमा गहिरो गरी बसिरहनुभएको छ। पहिलो भेटदेखि नै उहाँले मलाई पनि मन पराउनुभएको थियो। म त उहाँलाई देउतासरह मान्छु। नेपाली काव्य जगत्मा अतुलनीय र धेरै ठूलो प्रतिभा हो— माधवप्रसाद घिमिरे
........

सुरुका भेटहरूमा साहित्य सिर्जनाकै सेरोफेरोमा कुराकानी हुन्थ्यो। साहित्य समाजको गहना भएको हुनाले गहना लगाउने समाजका बारेमा पनि चर्चा हुन्थ्यो। समाजका गहना भनेको इतिहास पनि हो। भूगोल पनि हो। संस्कृति, धर्म र राजनीति नै पनि हो भन्ने सन्दर्भहरूमा कुराकानी हुन्थ्यो। साहित्य सिर्जनामा यिनै समाजका अनेक पाटाहरूले पनि प्रभाव पारेका हुन्छन् भन्ने प्रसंग पनि निस्कन्थ्यो
अरू सर्जकहरूसँग पनि भेटघाट र छलफल हुने गथ्र्यो
। तर, उहाँको सामीप्यमा हुने कुराकानीले बेग्लै अर्थ राख्थ्यो। हरेकजसो भेटमा एक किसिमको प्रेरणा पाएजस्तो अनुभव गरेको थिएँ। बेग्लै ऊर्जा मिल्थ्यो
......

पहिल्यैदेखि अति लोकप्रिय उहाँका रचना र काव्य भविष्यमा अझ बढी लोकप्रिय भएर जानेछन् भन्ने मलाई विश्वास छ। नेपाली संस्कृति, वाङमय र समाजमा गौरवबोध गर्नेगरी स्मरणमा आउने एक शीर्षक हुन्— माधव घिमिरे। उनको देनको मूल्यांकन झन्झन् घनीभूत हुँदै जानेछ भन्ने मलाई लाग्छ। जसरी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई ‘मुनामदन’ ले अमर बनायो, यो मानिन्छ। तर यसो भन्दैमा उनका अरू कृतिहरूको कुनै प्रयोजन छैन भन्ने कुरा स्थापित हुन सक्दैन। अरू कृतिको पनि आ–आफ्नै स्थानमा उत्तिकै महत्त्व छ। केन्द्रविन्दु ‘मुनामदन’ भएता पनि सिङ्गो कलेबरचाहिँ उनको स्रष्टा पक्ष नै हो। विभिन्न कृतिहरू भनेका त्यसैका एकाइहरू हुन्

ठीक त्यसैगरी राष्ट्रकविको कलेबरको एउटा मुख्य अंगका रूपमा ‘गौरी’ लाई लिन सक्छौं
। तर, नेपाली साहित्यमा उहाका अन्य कृतिको पनि असाध्यै महत्त्व छ। जसरी एउटा इँटा निकाल्दा सिङ्गो पर्खाललाई प्रभाव पर्छ, उसैगरी एउटा सिङ्गो व्यक्तित्वबाट कुनै एउटा कृतित्व निकालिदिने हो भन्देखि त्यो व्यक्तित्वमा त्यस्तै गर्त बन्न सक्दछ। त्यो गर्तलाई पूरा गर्नलाई फेरि त्यो कृतित्वलाई सर्जकसँग राखेर पूर्णता दिनुपर्छ

स्रष्टा भइसकेपछि उसका एकेक कृति व्यक्तित्वमै जोडिंदै जान्छ
। समाजले एउटा स्रष्टालाई यसैगरी मान्यता दिइरहेको हुन्छ। किनभने जबसम्म कुनै स्रष्टालाई समाजले मान्यता दिंदैन, कुनै संस्थाले मान्यता दिंदैमा वा कुनै समूहले मान्यता दिंदैमा र कुनै सरोकारले मान्यता दिंदैमा त्यो व्यक्तिले सामाजिक मान्यता पाउँदैन। यसैले सम्पूर्ण व्यक्तित्वको मूल्यांकन गरी समाजले मान्यता दिएका स्रष्टा हुनुहुन्छ घिमिरे
.......

म त्यसबेलाको राजकीय प्रज्ञा प्रतिष्ठानमा गइसकेपछि उहाँसँग बढी नजिक भएको हुँ। त्यसबेला राजाले विशेष आग्रह गरेपछि म प्रतिष्ठानको सदस्य बनेको थिएँ। मलाई प्रतिष्ठानमा बस्ने आग्रह भयो। मैले एउटा सर्त राखें। त्यो के भने– ५ वर्ष काम गरेपछि त्यो अवधि पुगेकै दिन मलाई विदा दिइनुपर्छ। र, त्यो अवधिमा म कुनै एउटा ठोस काम गर्न चाहन्छु भनें। यो राजा धनकुटा आएको बेला, २०३५ सालतिरको कुरा हो। म पनि गएको थिएँ। कविता पाठ गरें। त्यसैबेला मलाई प्रतिष्ठानमा बस्न आग्रह भएको हो। मेरो कुरा मानिएपछि त्यसैअनुसार प्रतिष्ठान सदस्य बनें। त्यसबेला कुलपति लैनसिंह वाङदेल हुनुहुन्थ्यो। उपकुलपति माधव घिमिरे

प्रतिष्ठानमा गएर मैले गर्ने सोचेको काम थियो— बृहत् नेपाली शब्दकोश बनाउने
। त्यो पाँच वर्षभित्रै बनाइसकेर आफू बिदा हुन्छु भन्ने मेरो भनाइ थियो। र, यो काम गरिछाडियो। मेरै नेतृत्वमा शब्दकोश बनेको हो। यो बनाउने क्रममा धेरै पटक राष्ट्रकविसँग छलफल भएको छ। मसहितको टोलीले गरेको काममा उहाँले धेरै भरथेग गर्नुभयो। प्रेरक रूपमा सल्लाह पाएका थियौं
........

प्रतिष्ठानमा काम गर्ने सिलसिलामै घनिष्ठता झन् बढेको हो। कतिपय बेला उहाँले लेख्नुभएको नयाँ कविताको पहिलो स्रोता मै हुन्थें। पछिपछि त उहाँको नाटक तयारी क्रममा पनि मलाई अनिवार्य उपस्थित गराउनुहुन्थ्यो। कहिलेकाहिँ २ बजे रातिसम्म नाटक रिहर्सल हुन्थ्यो। मलाई ‘पोखरेलजी, तपाईं एउटा दर्शकको रूपमा यो नाटक हेर्नुहोस््’ भन्नुहुन्थ्यो। र, कतै केही खोट भयो भने त्यसलाई सच्याउन सम्झाउनुहोस् भन्नुहुन्थ्यो। म आफूलाई लागेको कुरा तत्कालै भनिदिन्थें। कुनै कुनै सुझाव सुनेर उहाँले भन्नुहुन्थ्यो, ‘तपाईं नाटककार त होइन तर कसरी थाहा पाउनुभयो नाटकमा यो कमजोरी?’ मेरो सुझावअनुसार नाटकमा सुधार गरिएको निकै दृष्टान्त छन्

सबैभन्दा बढी यसरी म ‘मालती मंगले’ नाटकमा खटिएको थिएँ
। प्रतिष्ठानले गर्ने अरू नाटकमा पनि मेरो त्यस्तै भूमिका हुन्थ्यो। मेरो यो नियमित कामजस्तै बनेको थियो। यसबाट उहाँ झन् प्रभावित हुनुभएको थियो
कामका बेला मात्र होइन, भेटघाट हुने होइन। म उहाँको घर पनि अनेक पटक गएको छु। खानाका लागि बोलाइरहनुहुन्थ्यो। परिवारकै एउटा सदस्यजस्तो बनिसकेको थिएँ। कहिलेकाहीँ केही समस्या पर्दा पनि मलाई सम्झेर बोलाउनुहुन्थ्यो।एक पटक उहाँको घरमा भाडामा बसेकाहरूप्रति उहाँलाई शंका लागेछ। तिनीहरूले अरूभन्दा बढी नै भाडा दिने गरेका थिए। उनीहरूले प्रशासनलाई पनि नटेर्ने र अन्तर्राष्ट्रिय जगत्मा गएर नेपालका कतिपय कुरा बेच्ने खालका शंकास्पद गतिविधि गरेको जस्तो उहाँलाई लागेछ। यो विषयमा मलाई चिन्ता व्यक्त गर्नुभयो। खाँचो टार्न भाडामा त दिइयो तर बस्ने मान्छे उचित भएनन् के गरौं (?) भनेर सोध्नुभयो। भाडामा बस्ने भनेको अवधि पूरा हुनुभन्दा दुई महिनाअघि नै जानकारी दिएर हटाइदिन सुझाव दिएँ। चिठी नै दिएर घर परिवारलाई नै चाहिएको हुनाले खाली गरिदिन सूचना दिन मैले दिएको सुझावअनुसार त्यसै गर्नुभएको थियो। उनीहरू कहाँका को हुन् भन्ने जिज्ञासा भए पनि तर सोध्नु उति उपयुक्त मानिनँ मैले

उहाँको कविशुलभ बानीमा सबभन्दा महँगो कुरा के थियो भने अकबरी सुन हुनका लागि त्यसको कसी एक प्रतिशत पनि नरहेर अब्बल भएपछि अकबरी हुन्छ
। उहाँमा कसी लागेको स्वभाव भएको हुनाले जुन परिवारमा पनि, बर्मेली समाजमा पनि, उहाँ जन्मेको लमजुङको पुस्तैनी राई गाउँमा पनि र अन्त जतासुकै पनि समाजमा मिल्न सक्ने स्वभाव हो। खुल्न मिल्ने ठाउँमा खुल्न जान्ने। खुल्न नहुने ठाउँमा ढप्किन पनि जान्ने। त्यसैले पनि विशिष्ट व्यक्तिका पहिचान बन्न सकेको हो। पूरै खुल्नु वा पूरै बन्द भइरहने स्वभाव ठूलो कमजोरी हो। यो उहाँमा पटक्कै छँदैछैन
......

चाहे गीत भनौं, चाहे कविता भनौं— ती एउटै सत्यका आयाम मात्र हुन्। कानले जब सुन्दछ, त्यो गीत कहलाउँछ, हृदयले जब सुन्दछ त्यो कविता कहलाउँछ। उहाँका यस्तै कविता छन्। उहाँको कुन कविता कुन गीत भन्ने प्रश्नै उठ्दैन। उहाँ गद्य शैलीमा लेख्ने भएको भए कुनै कविता गीत भएको छैन भन्न मिल्थ्यो। त्यसैले उहाँका कुनै एक कृतिलाई छेउ लगाएर यी–यी राम्रा हुन् भन्न सक्ने अवस्था छैन। सबै उत्तिकै सुन्दर र महत्त्वपूर्ण छ

उहाँमा सौन्दर्यबोध चाहिँ ज्यादै मार्मिक छ
। एक पटक म काठमाडौं नै भएका बेलामा उहाँको फोन आयो। ‘पोखरेलजी तपाईंले सत्तरी नाघेपछि जसलाई सुगर (मधुमेह) भएन, त्यसलाई कहिले पनि हुँदैन भन्नुभएको थियो’ उहाँले भन्नुभयो, ‘म बर्मा गएँ यसपालि, त्यहाँ नाच्दै र गाना गाउँदै त्यहाँका नेपालीसँग पगितो आँप खाएँ, तर बर्माको त्यो कोसेलीले त मलाई सुगर पो भयो। तपाईंले त्यसो नभनेको भए म त्यो गर्दिनथिएँ होला, एक दुई दाना मात्र खाने थिएँ।’

यो थाहा पाएपछि उहाँकोमा गएँ
। बागबजारमा रहेको अञ्जनीकुमार डाक्टरको क्लिनिक लिएर गएँ आफैंले। अनि जाँच र उपचार सुरु भएको थियो। उहाँसँग लामै संगत र सान्निध्य भएकाले धेरै प्रसंग होलान्। तर म आफू ८७ वर्ष लाग्ने तरखरमा छु। यतिबेला सबै कुरा त सम्झन सकिंदो पनि रहेनछ। तर, जति सम्झन्छु रोमाञ्चित हुन्छु
.....

राष्ट्रले उहाँको महत्त्व बुझेरै राष्ट्रकविको उपाधि दिएको हो। हुन त पहिलेदेखि नै मेरा र अरू कतिपयका लागि ज्यादै नै अभ्यन्तर एउटा ग्रन्थजस्तो श्रद्धेय व्यक्ति भएकाले उहाँको छाप नै बेग्लै थियो। राष्ट्रले योगदानको कदर गर्दै त्यस्तो सम्मान दिनु धेरै राम्रो हो। यसमा अत्यधिक खुसी हुनेहरूमध्ये म पनि एक हुँ। उहाँ राष्ट्रको गहना भइसक्नुभयो। यो अवस्थामा एकथरीलाई राम्रो र अर्काथरीलाई नराम्रो भन्ने अधिकारै खोसियो। किनभने राष्ट्रका लागि दुवैथरी विचार राख्ने आफ्नै हुन्छन्। पक्ष पनि आफ्नै। विपक्ष पनि आफ्नै
(विराटनगरवासी भाषाशास्त्री पोखरेलसँग कान्तिपुरकर्मी माधव घिमिरेले गरेको कुराकानी आधारित)
प्रकाशित : आश्विन ६, २०७५ ०९:४३



चिउरी, चेपाङ र चमेरा

चिउरी, चेपाङ र चमेरा
समाज
मंसिर १, २०७५देवराज गुरुङ
काजी चेपाङ बाटोमा भेटिए एकाबिहानै। अनिदोले आँखा राता थिए। चमेराको सिकार गर्न हिँडेको हप्ता दिनका अन्तिम दुई दिन भने ‘हात लाग्यो शून्य’ भएछ। गण्डकी गाउँपालिका–६ भुम्लीचोकका काजीको हातको जाल भने रित्तो थिएन। सिकारले होइन, निराशैनिराशाले भरिएको देखिन्थ्यो। काजीले दुखेसो पोखे, ‘दुई दिनको निद्रा त्यसै खेर गयो।’
चेपाङले सुनाए, ‘आज भोलि चमेरै थोरै आउँछ रूखमा। ती आउँदैन। चिउरी नि मासिँदै गाछ। हामी भुरा हुँदा हाम्रो बाउले बेस्सरी चमेरा माथ्र्यो, मलाई नि बाउले नै सिकाको हो सिकार गर्न। सिकार गर्न बेस्सरी चनाखो हुनुपर्छ, आँखा तेजिलो चाहिन्छ। चमेरा उडेर आको देख्नुपर्‍यो।’ चमेरा उडेर जालमा ठोकिन आएपछि जाल बटार्न छिटो हात चलाउनुपर्ने र त्यसका लागि कला चाहिने उनको भनाइ थियो। नत्रभने चमेरा जाल परे पनि फुत्किने रहेछ। काइँला चेपाङलाई बुढयौलीले छोएपछि बाबुको पेसा काजीले धानेका छन्
काजीले सम्झिए, ‘भुरा हुँदा म पनि बाउसँगै सिकार गर्न जान्थेँ। बाउले चमेरा जालमा पाथ्र्यो, मचाहिँ चमेरा मार्दै झोलामा हाल्थेँ। तर, आजभोलि रातमा दुई, चारवटा चमेरा पनि पाउन मुस्किल छ।’ उनले रित्तो जाल मात्रै देखाएनन्, केही दिनअगाडि मारेको चमेरा र सुकुटी पनि देखाए
काजीको उमेर ठयाक्कै ३० वर्ष। अक्षर पनि राम्ररी चिन्दैनन् उनी। उनका बाबुले घरअघि पनि चिउरीको रूख पालेका छन्। चेपाङ समुदायले बिहेमा छोरीलाई चिउरीको रूख दाइजो दिने गर्छन्। घरअघिको चिउरीको रूखचाहिं बुबाले विवाहमा दाइजो दिएका रहेछन् आफ्नी छोरी अर्थात् काजीकी दिदीलाई। चेपाङको संस्कारअनुसार चिउरीको रूख चेलीबेटीलाई दाइजोस्वरूप दिएपछि माइती पक्षले भोगचलन गर्न मिल्दैन। दाइजो दिएको चिउरीको रूखमा चमेराको सिकार गरेमा उक्त सिकार आफ्ना चेलीबेटीको घरसम्म पुर्‍याउँछन्
तर, दिदीको घर माइतीदेखि टाढा भएकाले दिदीलाई दाइजो दिएको चिउरीको रूखमा चमेराको सिकार नै गर्दैनन् काजी। रातको समयमा गाउँघरका अन्य चेपाङहरूले पनि चमेराको सिकार गर्ने काजीले बताए। दिनमा भन्दा रातको समयमा चिउरीको रस खान चमेरा बढी आउने आउँछन्। त्यसैले रातमै सिकार गर्छन् उनीहरू
तोमनडाँडा आधारभूत निम्नमाध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका कुलबहादुर चेपाङ भने बिदाको दिन चमेराको सिकार गर्न जाने बताउँछन्। पुर्खौँदेखि चमेरा सिकार गर्दै आएको उनको भनाइ थियो। ‘सुरुसुरुमा त लाज पनि लागेथ्यो,’ उनले भने, ‘आफ्नो संस्कार–संस्कृति रहेछ भनेर थाहा भएपछि चमेरा सिकारलाई संस्कारको रूपमा विकास गर्न लागेँ।’
कुलबहादुरको कथनअनुसार पछिल्लो समय चेपाङ समुदायको वनलाई चिउरी बगैँचा बनाउन उनीहरू लागिपरेका छन्। चेपाङ समुदायले चमेराको मासुलाई औषधिको रूपमा समेत प्रयोग गर्ने बताइन्छ। मुखको हर्सालगाएत विभिन्न रोगको औषधिको रूपमा चेपाङहरूले चमेराको मासुलाई लिने गर्छन्
चिउरीको फूल फुलेको समयमा चमेरा रस खान आउने भएकाले रूखको नजिक जाल थापेर चमेरा मार्ने प्रचलन निकै पुरानो हो। चिउरीको रस खाने समयमा चमेराको मासु अन्य समयमा भन्दा मीठो हुने भएकाले चोपाङ समुदायले चिउरीको फूल खेल्ने समयमा चमेराको सिकार गर्ने गर्छन्। तर, पछिल्लो समय चमेरा लोप हुँदै गएको उनीहरूको चिन्ता छ। कुलबहादुरले भने, ‘ग्लोबल वार्मिङको कारणले होला पछिल्लो समय चिउरीको रसमा पहिलेको तुलनामा निकै कम चमेरा आउँछन्।’ चमेरा सिकार गर्न आआफ्नो स्थान हुन्छ। एकले अर्काको स्थानमा गएर चमेरा सिकार गर्न पाउँदैनन्, जसलाई उनीहरूकै भाषामा ‘खेवा’ भनिन्छ

चिउरी, चमेरा र चेपाङको सम्बन्ध विशेष रहेको छ। सांस्कृतिक रूपमा पनि यी तीन तत्त्वहरू एकअर्काको परिपूरक हुन्। चेपाङहरू गोरखा, चितवन, धादिङ र मकवानपुरमा उल्लेख्य बसोबास छ। चेपाङहरू विशेषगरेर सिकार गर्न र भीरपाखामा बस्न रुचाउँछन्
शंखदेवी माविका अङ्ग्रेजी शिक्षक तिलक चेपाङले अर्थ खुलाए, ‘चेपाङहरू सिकार गर्न जाँदा कुकुर र धनुषकाण सँगै लिएर जाने गर्थे। चेपाङ भाषामा ‘चे’ भनेको कुकुर र ‘पाङ’ भनेको धनुषकाण हो। चे र पाङ अर्थात् सिकार गर्न जाँदा कुकुर र धनुकाणसँगै लाने हुँदा चेपाङ रहन गएको हो।’
च्यो भनेको पहाडको टुप्पो र वाङ भनेको ढुङ्गा हो,’ उनले थप प्रस्ट पारे, ‘चट्टानले बनेको पहाडको टुप्पोमा बस्ने जाति अर्थात् चोबाङ भन्दाभन्दै भाषाको अपभ्रंश भएर चेपाङ हुन गएको पनि भनिन्छ।’
चेपाङहरू खास भीरभाखामा बस्नुको कारण सिकार गर्न र जङ्गली कन्दमूल खान हो। एकथरी मानिसहरूका अनुसार कुनै समय शासकहरूसँग चेपाङहरूले अंशबन्डा गर्ने समयमा भीरको टुप्पोमा बसेर फर्सीको डल्लो लडाउने र जहाँ गएर फर्सीको डल्लो अड्किन्छ त्यहींदेख माथिको भूभागचाहिं आफ्नो र समथर भूभागचाहिं अरू अर्थात् शासकहरूको हुने किंवदन्ती छ
चिउरीको फल पाकेपछि रस खान मिल्ने र दानाचाहिं वनस्पति घ्यू बनाउन मिल्ने हुँदा चेपाङ समुदायले चिउरीलाई दुहुनो भैँसीको रूपमा लिन्छन्। चेपाङ समुदायमा अझै पनि चिउरीको रूख काट्नुलाई पाप मानिन्छ। चिउरीको रस खान आउने चमेरा मार्ने प्रचलनसँगै सबैभन्दा ठूलो चमेरा मार्न सक्ने व्यक्तिलाई नै ‘राजा’ को पदवी मिल्छ
प्रकाशित : मंसिर १, २०७५ ०९:०९




प्रहरी संगठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछ

  प्रहरी संगठन सुदृढ गर्न नयाँ ऐनको मस्यौदा तयार गरिँदैछ : गृहमन्त्री लेखक   आश्विन ३० , २०८१ रासस काठमाडौँ — गृहमन्त्री रमेश लेखकले न...