राष्ट्रको
गहना
संस्मरण
काठमाडौँ — स्रष्टा भइसकेपछि उसका
एकेक कृति व्यक्तित्वमै जोडिंदै जान्छ । समाजले एउटा स्रष्टालाई यसैगरी मान्यता दिइरहेको हुन्छ ।
किनभने जबसम्म कुनै स्रष्टालाई समाजले मान्यता दिंदैन, कुनै संस्थाले मान्यता दिंदैमा वा कुनै समूहले मान्यता दिंदैमा र कुनै
सरोकारले मान्यता दिंदैमा त्यो व्यक्तिले सामाजिक मान्यता पाउँदैन। यसैले सम्पूर्ण
व्यक्तित्वको मूल्यांकन गरी समाजले मान्यता दिएका स्रष्टा हुनुहुन्छ घिमिरे।पातलो र ऊर्जाशील ज्यान, गोरो रंग, मसिनो तर सुनिरहूँ लाग्ने बोली, अरूलाई ध्यान दिने स्वभाव, अचम्मलाग्दो सौन्दर्यबोध, जस्तोसुकै समाज/परिवेशमा घुलमिल हुन सक्ने बानी । यी सबै पक्ष हरेक मान्छेमा जोडिएको हुँदैन । मैले पहिलो भेटमै यस्तो विशेषता पाएको माधव घिमिरेलाई आजपर्यन्त उस्तै बुझेको छु ।
उहाँसँग पहिलो पटक करिब ६६ वर्षअघि मेरो भेट भएको थियो । २००९ सालतिरको कुरा हुनुपर्छ । त्यसबेला कवि शिरोमणि लेखनाथ पौडयालको ‘दर्शन गर्न’ काठमाडौं गएको थिएँ । उहाँसँग भेट गर्ने र कुरा सुन्ने धेरैको इच्छा हुन्थ्यो । त्यसै बेला कविवर घिमिरे पनि जानुभएको रहेछ ।
जाडो महिना थियो । दुब्लो पातलो मान्छे । हेरिरहुँ जस्तो राम्रो अनुहार । मसिनो स्वर तर उहाँले बोलेको निकै सुहाउँदो लाग्थ्यो । कविशिरोमणिले नै हामीबीच चिनजान गराइदिनुभयो ।
त्यसैबेला चिनजान भयो तर पहिलेदेखिकै गहिरो चिनजान रहेको अनुभव भइरहेको थियो । उसै पनि उहाँको सिर्जनाबाट मग्न म भेटै हुँदा झनै प्रफुल्लित भएँ । त्यो पहिलो भेटदेखि आजका दिनसम्म कविवर मेरो मनमा गहिरो गरी बसिरहनुभएको छ । पहिलो भेटदेखि नै उहाँले मलाई पनि मन पराउनुभएको थियो । म त उहाँलाई देउतासरह मान्छु । नेपाली काव्य जगत्मा अतुलनीय र धेरै ठूलो प्रतिभा हो— माधवप्रसाद घिमिरे ।
........
सुरुका भेटहरूमा साहित्य सिर्जनाकै सेरोफेरोमा कुराकानी हुन्थ्यो । साहित्य समाजको गहना भएको हुनाले गहना लगाउने समाजका बारेमा पनि चर्चा हुन्थ्यो । समाजका गहना भनेको इतिहास पनि हो । भूगोल पनि हो । संस्कृति, धर्म र राजनीति नै पनि हो भन्ने सन्दर्भहरूमा कुराकानी हुन्थ्यो । साहित्य सिर्जनामा यिनै समाजका अनेक पाटाहरूले पनि प्रभाव पारेका हुन्छन् भन्ने प्रसंग पनि निस्कन्थ्यो ।
अरू सर्जकहरूसँग पनि भेटघाट र छलफल हुने गथ्र्यो । तर, उहाँको सामीप्यमा हुने कुराकानीले बेग्लै अर्थ राख्थ्यो । हरेकजसो भेटमा एक किसिमको प्रेरणा पाएजस्तो अनुभव गरेको थिएँ । बेग्लै ऊर्जा मिल्थ्यो ।
......
पहिल्यैदेखि अति लोकप्रिय उहाँका रचना र काव्य भविष्यमा अझ बढी लोकप्रिय भएर जानेछन् भन्ने मलाई विश्वास छ । नेपाली संस्कृति, वाङमय र समाजमा गौरवबोध गर्नेगरी स्मरणमा आउने एक शीर्षक हुन्— माधव घिमिरे । उनको देनको मूल्यांकन झन्झन् घनीभूत हुँदै जानेछ भन्ने मलाई लाग्छ । जसरी महाकवि लक्ष्मीप्रसाद देवकोटालाई ‘मुनामदन’ ले अमर बनायो, यो मानिन्छ । तर यसो भन्दैमा उनका अरू कृतिहरूको कुनै प्रयोजन छैन भन्ने कुरा स्थापित हुन सक्दैन । अरू कृतिको पनि आ–आफ्नै स्थानमा उत्तिकै महत्त्व छ । केन्द्रविन्दु ‘मुनामदन’ भएता पनि सिङ्गो कलेबरचाहिँ उनको स्रष्टा पक्ष नै हो । विभिन्न कृतिहरू भनेका त्यसैका एकाइहरू हुन् ।
ठीक त्यसैगरी राष्ट्रकविको कलेबरको एउटा मुख्य अंगका रूपमा ‘गौरी’ लाई लिन सक्छौं । तर, नेपाली साहित्यमा उहाका अन्य कृतिको पनि असाध्यै महत्त्व छ । जसरी एउटा इँटा निकाल्दा सिङ्गो पर्खाललाई प्रभाव पर्छ, उसैगरी एउटा सिङ्गो व्यक्तित्वबाट कुनै एउटा कृतित्व निकालिदिने हो भन्देखि त्यो व्यक्तित्वमा त्यस्तै गर्त बन्न सक्दछ । त्यो गर्तलाई पूरा गर्नलाई फेरि त्यो कृतित्वलाई सर्जकसँग राखेर पूर्णता दिनुपर्छ ।
स्रष्टा भइसकेपछि उसका एकेक कृति व्यक्तित्वमै जोडिंदै जान्छ । समाजले एउटा स्रष्टालाई यसैगरी मान्यता दिइरहेको हुन्छ । किनभने जबसम्म कुनै स्रष्टालाई समाजले मान्यता दिंदैन, कुनै संस्थाले मान्यता दिंदैमा वा कुनै समूहले मान्यता दिंदैमा र कुनै सरोकारले मान्यता दिंदैमा त्यो व्यक्तिले सामाजिक मान्यता पाउँदैन । यसैले सम्पूर्ण व्यक्तित्वको मूल्यांकन गरी समाजले मान्यता दिएका स्रष्टा हुनुहुन्छ घिमिरे ।
.......
म त्यसबेलाको राजकीय प्रज्ञा प्रतिष्ठानमा गइसकेपछि उहाँसँग बढी नजिक भएको हुँ । त्यसबेला राजाले विशेष आग्रह गरेपछि म प्रतिष्ठानको सदस्य बनेको थिएँ । मलाई प्रतिष्ठानमा बस्ने आग्रह भयो । मैले एउटा सर्त राखें । त्यो के भने– ५ वर्ष काम गरेपछि त्यो अवधि पुगेकै दिन मलाई विदा दिइनुपर्छ । र, त्यो अवधिमा म कुनै एउटा ठोस काम गर्न चाहन्छु भनें । यो राजा धनकुटा आएको बेला, २०३५ सालतिरको कुरा हो । म पनि गएको थिएँ । कविता पाठ गरें । त्यसैबेला मलाई प्रतिष्ठानमा बस्न आग्रह भएको हो । मेरो कुरा मानिएपछि त्यसैअनुसार प्रतिष्ठान सदस्य बनें । त्यसबेला कुलपति लैनसिंह वाङदेल हुनुहुन्थ्यो । उपकुलपति माधव घिमिरे ।
प्रतिष्ठानमा गएर मैले गर्ने सोचेको काम थियो— बृहत् नेपाली शब्दकोश बनाउने । त्यो पाँच वर्षभित्रै बनाइसकेर आफू बिदा हुन्छु भन्ने मेरो भनाइ थियो । र, यो काम गरिछाडियो । मेरै नेतृत्वमा शब्दकोश बनेको हो । यो बनाउने क्रममा धेरै पटक राष्ट्रकविसँग छलफल भएको छ । मसहितको टोलीले गरेको काममा उहाँले धेरै भरथेग गर्नुभयो । प्रेरक रूपमा सल्लाह पाएका थियौं ।
........
प्रतिष्ठानमा काम गर्ने सिलसिलामै घनिष्ठता झन् बढेको हो । कतिपय बेला उहाँले लेख्नुभएको नयाँ कविताको पहिलो स्रोता मै हुन्थें । पछिपछि त उहाँको नाटक तयारी क्रममा पनि मलाई अनिवार्य उपस्थित गराउनुहुन्थ्यो । कहिलेकाहिँ २ बजे रातिसम्म नाटक रिहर्सल हुन्थ्यो । मलाई ‘पोखरेलजी, तपाईं एउटा दर्शकको रूपमा यो नाटक हेर्नुहोस््’ भन्नुहुन्थ्यो । र, कतै केही खोट भयो भने त्यसलाई सच्याउन सम्झाउनुहोस् भन्नुहुन्थ्यो । म आफूलाई लागेको कुरा तत्कालै भनिदिन्थें । कुनै कुनै सुझाव सुनेर उहाँले भन्नुहुन्थ्यो, ‘तपाईं नाटककार त होइन तर कसरी थाहा पाउनुभयो नाटकमा यो कमजोरी ?’ मेरो सुझावअनुसार नाटकमा सुधार गरिएको निकै दृष्टान्त छन् ।
सबैभन्दा बढी यसरी म ‘मालती मंगले’ नाटकमा खटिएको थिएँ । प्रतिष्ठानले गर्ने अरू नाटकमा पनि मेरो त्यस्तै भूमिका हुन्थ्यो । मेरो यो नियमित कामजस्तै बनेको थियो । यसबाट उहाँ झन् प्रभावित हुनुभएको थियो ।
कामका बेला मात्र होइन, भेटघाट हुने होइन । म उहाँको घर पनि अनेक पटक गएको छु । खानाका लागि बोलाइरहनुहुन्थ्यो । परिवारकै एउटा सदस्यजस्तो बनिसकेको थिएँ । कहिलेकाहीँ केही समस्या पर्दा पनि मलाई सम्झेर बोलाउनुहुन्थ्यो ।एक पटक उहाँको घरमा भाडामा बसेकाहरूप्रति उहाँलाई शंका लागेछ । तिनीहरूले अरूभन्दा बढी नै भाडा दिने गरेका थिए । उनीहरूले प्रशासनलाई पनि नटेर्ने र अन्तर्राष्ट्रिय जगत्मा गएर नेपालका कतिपय कुरा बेच्ने खालका शंकास्पद गतिविधि गरेको जस्तो उहाँलाई लागेछ । यो विषयमा मलाई चिन्ता व्यक्त गर्नुभयो । खाँचो टार्न भाडामा त दिइयो तर बस्ने मान्छे उचित भएनन् के गरौं (?) भनेर सोध्नुभयो । भाडामा बस्ने भनेको अवधि पूरा हुनुभन्दा दुई महिनाअघि नै जानकारी दिएर हटाइदिन सुझाव दिएँ । चिठी नै दिएर घर परिवारलाई नै चाहिएको हुनाले खाली गरिदिन सूचना दिन मैले दिएको सुझावअनुसार त्यसै गर्नुभएको थियो । उनीहरू कहाँका को हुन् भन्ने जिज्ञासा भए पनि तर सोध्नु उति उपयुक्त मानिनँ मैले ।
उहाँको कविशुलभ बानीमा सबभन्दा महँगो कुरा के थियो भने अकबरी सुन हुनका लागि त्यसको कसी एक प्रतिशत पनि नरहेर अब्बल भएपछि अकबरी हुन्छ । उहाँमा कसी लागेको स्वभाव भएको हुनाले जुन परिवारमा पनि, बर्मेली समाजमा पनि, उहाँ जन्मेको लमजुङको पुस्तैनी राई गाउँमा पनि र अन्त जतासुकै पनि समाजमा मिल्न सक्ने स्वभाव हो । खुल्न मिल्ने ठाउँमा खुल्न जान्ने । खुल्न नहुने ठाउँमा ढप्किन पनि जान्ने । त्यसैले पनि विशिष्ट व्यक्तिका पहिचान बन्न सकेको हो । पूरै खुल्नु वा पूरै बन्द भइरहने स्वभाव ठूलो कमजोरी हो । यो उहाँमा पटक्कै छँदैछैन ।
......
चाहे गीत भनौं, चाहे कविता भनौं— ती एउटै सत्यका आयाम मात्र हुन् । कानले जब सुन्दछ, त्यो गीत कहलाउँछ, हृदयले जब सुन्दछ त्यो कविता कहलाउँछ । उहाँका यस्तै कविता छन् । उहाँको कुन कविता कुन गीत भन्ने प्रश्नै उठ्दैन । उहाँ गद्य शैलीमा लेख्ने भएको भए कुनै कविता गीत भएको छैन भन्न मिल्थ्यो । त्यसैले उहाँका कुनै एक कृतिलाई छेउ लगाएर यी–यी राम्रा हुन् भन्न सक्ने अवस्था छैन । सबै उत्तिकै सुन्दर र महत्त्वपूर्ण छ ।
उहाँमा सौन्दर्यबोध चाहिँ ज्यादै मार्मिक छ । एक पटक म काठमाडौं नै भएका बेलामा उहाँको फोन आयो । ‘पोखरेलजी तपाईंले सत्तरी नाघेपछि जसलाई सुगर (मधुमेह) भएन, त्यसलाई कहिले पनि हुँदैन भन्नुभएको थियो’ उहाँले भन्नुभयो, ‘म बर्मा गएँ यसपालि, त्यहाँ नाच्दै र गाना गाउँदै त्यहाँका नेपालीसँग पगितो आँप खाएँ, तर बर्माको त्यो कोसेलीले त मलाई सुगर पो भयो । तपाईंले त्यसो नभनेको भए म त्यो गर्दिनथिएँ होला, एक दुई दाना मात्र खाने थिएँ ।’
यो थाहा पाएपछि उहाँकोमा गएँ । बागबजारमा रहेको अञ्जनीकुमार डाक्टरको क्लिनिक लिएर गएँ आफैंले । अनि जाँच र उपचार सुरु भएको थियो । उहाँसँग लामै संगत र सान्निध्य भएकाले धेरै प्रसंग होलान् । तर म आफू ८७ वर्ष लाग्ने तरखरमा छु । यतिबेला सबै कुरा त सम्झन सकिंदो पनि रहेनछ । तर, जति सम्झन्छु रोमाञ्चित हुन्छु ।
.....
राष्ट्रले उहाँको महत्त्व बुझेरै राष्ट्रकविको उपाधि दिएको हो । हुन त पहिलेदेखि नै मेरा र अरू कतिपयका लागि ज्यादै नै अभ्यन्तर एउटा ग्रन्थजस्तो श्रद्धेय व्यक्ति भएकाले उहाँको छाप नै बेग्लै थियो । राष्ट्रले योगदानको कदर गर्दै त्यस्तो सम्मान दिनु धेरै राम्रो हो । यसमा अत्यधिक खुसी हुनेहरूमध्ये म पनि एक हुँ । उहाँ राष्ट्रको गहना भइसक्नुभयो । यो अवस्थामा एकथरीलाई राम्रो र अर्काथरीलाई नराम्रो भन्ने अधिकारै खोसियो । किनभने राष्ट्रका लागि दुवैथरी विचार राख्ने आफ्नै हुन्छन् । पक्ष पनि आफ्नै । विपक्ष पनि आफ्नै ।
(विराटनगरवासी भाषाशास्त्री पोखरेलसँग कान्तिपुरकर्मी माधव घिमिरेले गरेको कुराकानी आधारित)
प्रकाशित : आश्विन ६, २०७५ ०९:४३