Monday, April 27, 2020

चिउरी, चेपाङ र चमेरा

चिउरी, चेपाङ र चमेरा
समाज
मंसिर १, २०७५देवराज गुरुङ
काजी चेपाङ बाटोमा भेटिए एकाबिहानै। अनिदोले आँखा राता थिए। चमेराको सिकार गर्न हिँडेको हप्ता दिनका अन्तिम दुई दिन भने ‘हात लाग्यो शून्य’ भएछ। गण्डकी गाउँपालिका–६ भुम्लीचोकका काजीको हातको जाल भने रित्तो थिएन। सिकारले होइन, निराशैनिराशाले भरिएको देखिन्थ्यो। काजीले दुखेसो पोखे, ‘दुई दिनको निद्रा त्यसै खेर गयो।’
चेपाङले सुनाए, ‘आज भोलि चमेरै थोरै आउँछ रूखमा। ती आउँदैन। चिउरी नि मासिँदै गाछ। हामी भुरा हुँदा हाम्रो बाउले बेस्सरी चमेरा माथ्र्यो, मलाई नि बाउले नै सिकाको हो सिकार गर्न। सिकार गर्न बेस्सरी चनाखो हुनुपर्छ, आँखा तेजिलो चाहिन्छ। चमेरा उडेर आको देख्नुपर्‍यो।’ चमेरा उडेर जालमा ठोकिन आएपछि जाल बटार्न छिटो हात चलाउनुपर्ने र त्यसका लागि कला चाहिने उनको भनाइ थियो। नत्रभने चमेरा जाल परे पनि फुत्किने रहेछ। काइँला चेपाङलाई बुढयौलीले छोएपछि बाबुको पेसा काजीले धानेका छन्
काजीले सम्झिए, ‘भुरा हुँदा म पनि बाउसँगै सिकार गर्न जान्थेँ। बाउले चमेरा जालमा पाथ्र्यो, मचाहिँ चमेरा मार्दै झोलामा हाल्थेँ। तर, आजभोलि रातमा दुई, चारवटा चमेरा पनि पाउन मुस्किल छ।’ उनले रित्तो जाल मात्रै देखाएनन्, केही दिनअगाडि मारेको चमेरा र सुकुटी पनि देखाए
काजीको उमेर ठयाक्कै ३० वर्ष। अक्षर पनि राम्ररी चिन्दैनन् उनी। उनका बाबुले घरअघि पनि चिउरीको रूख पालेका छन्। चेपाङ समुदायले बिहेमा छोरीलाई चिउरीको रूख दाइजो दिने गर्छन्। घरअघिको चिउरीको रूखचाहिं बुबाले विवाहमा दाइजो दिएका रहेछन् आफ्नी छोरी अर्थात् काजीकी दिदीलाई। चेपाङको संस्कारअनुसार चिउरीको रूख चेलीबेटीलाई दाइजोस्वरूप दिएपछि माइती पक्षले भोगचलन गर्न मिल्दैन। दाइजो दिएको चिउरीको रूखमा चमेराको सिकार गरेमा उक्त सिकार आफ्ना चेलीबेटीको घरसम्म पुर्‍याउँछन्
तर, दिदीको घर माइतीदेखि टाढा भएकाले दिदीलाई दाइजो दिएको चिउरीको रूखमा चमेराको सिकार नै गर्दैनन् काजी। रातको समयमा गाउँघरका अन्य चेपाङहरूले पनि चमेराको सिकार गर्ने काजीले बताए। दिनमा भन्दा रातको समयमा चिउरीको रस खान चमेरा बढी आउने आउँछन्। त्यसैले रातमै सिकार गर्छन् उनीहरू
तोमनडाँडा आधारभूत निम्नमाध्यामिक विद्यालयका प्रधानाध्यापकसमेत रहेका कुलबहादुर चेपाङ भने बिदाको दिन चमेराको सिकार गर्न जाने बताउँछन्। पुर्खौँदेखि चमेरा सिकार गर्दै आएको उनको भनाइ थियो। ‘सुरुसुरुमा त लाज पनि लागेथ्यो,’ उनले भने, ‘आफ्नो संस्कार–संस्कृति रहेछ भनेर थाहा भएपछि चमेरा सिकारलाई संस्कारको रूपमा विकास गर्न लागेँ।’
कुलबहादुरको कथनअनुसार पछिल्लो समय चेपाङ समुदायको वनलाई चिउरी बगैँचा बनाउन उनीहरू लागिपरेका छन्। चेपाङ समुदायले चमेराको मासुलाई औषधिको रूपमा समेत प्रयोग गर्ने बताइन्छ। मुखको हर्सालगाएत विभिन्न रोगको औषधिको रूपमा चेपाङहरूले चमेराको मासुलाई लिने गर्छन्
चिउरीको फूल फुलेको समयमा चमेरा रस खान आउने भएकाले रूखको नजिक जाल थापेर चमेरा मार्ने प्रचलन निकै पुरानो हो। चिउरीको रस खाने समयमा चमेराको मासु अन्य समयमा भन्दा मीठो हुने भएकाले चोपाङ समुदायले चिउरीको फूल खेल्ने समयमा चमेराको सिकार गर्ने गर्छन्। तर, पछिल्लो समय चमेरा लोप हुँदै गएको उनीहरूको चिन्ता छ। कुलबहादुरले भने, ‘ग्लोबल वार्मिङको कारणले होला पछिल्लो समय चिउरीको रसमा पहिलेको तुलनामा निकै कम चमेरा आउँछन्।’ चमेरा सिकार गर्न आआफ्नो स्थान हुन्छ। एकले अर्काको स्थानमा गएर चमेरा सिकार गर्न पाउँदैनन्, जसलाई उनीहरूकै भाषामा ‘खेवा’ भनिन्छ

चिउरी, चमेरा र चेपाङको सम्बन्ध विशेष रहेको छ। सांस्कृतिक रूपमा पनि यी तीन तत्त्वहरू एकअर्काको परिपूरक हुन्। चेपाङहरू गोरखा, चितवन, धादिङ र मकवानपुरमा उल्लेख्य बसोबास छ। चेपाङहरू विशेषगरेर सिकार गर्न र भीरपाखामा बस्न रुचाउँछन्
शंखदेवी माविका अङ्ग्रेजी शिक्षक तिलक चेपाङले अर्थ खुलाए, ‘चेपाङहरू सिकार गर्न जाँदा कुकुर र धनुषकाण सँगै लिएर जाने गर्थे। चेपाङ भाषामा ‘चे’ भनेको कुकुर र ‘पाङ’ भनेको धनुषकाण हो। चे र पाङ अर्थात् सिकार गर्न जाँदा कुकुर र धनुकाणसँगै लाने हुँदा चेपाङ रहन गएको हो।’
च्यो भनेको पहाडको टुप्पो र वाङ भनेको ढुङ्गा हो,’ उनले थप प्रस्ट पारे, ‘चट्टानले बनेको पहाडको टुप्पोमा बस्ने जाति अर्थात् चोबाङ भन्दाभन्दै भाषाको अपभ्रंश भएर चेपाङ हुन गएको पनि भनिन्छ।’
चेपाङहरू खास भीरभाखामा बस्नुको कारण सिकार गर्न र जङ्गली कन्दमूल खान हो। एकथरी मानिसहरूका अनुसार कुनै समय शासकहरूसँग चेपाङहरूले अंशबन्डा गर्ने समयमा भीरको टुप्पोमा बसेर फर्सीको डल्लो लडाउने र जहाँ गएर फर्सीको डल्लो अड्किन्छ त्यहींदेख माथिको भूभागचाहिं आफ्नो र समथर भूभागचाहिं अरू अर्थात् शासकहरूको हुने किंवदन्ती छ
चिउरीको फल पाकेपछि रस खान मिल्ने र दानाचाहिं वनस्पति घ्यू बनाउन मिल्ने हुँदा चेपाङ समुदायले चिउरीलाई दुहुनो भैँसीको रूपमा लिन्छन्। चेपाङ समुदायमा अझै पनि चिउरीको रूख काट्नुलाई पाप मानिन्छ। चिउरीको रस खान आउने चमेरा मार्ने प्रचलनसँगै सबैभन्दा ठूलो चमेरा मार्न सक्ने व्यक्तिलाई नै ‘राजा’ को पदवी मिल्छ
प्रकाशित : मंसिर १, २०७५ ०९:०९




Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...