Monday, October 19, 2020

मगर जातिका संस्कार र संस्कृतिहरु

  मगर जातिका संस्कार र संस्कृतिहरु

रुद्र सन्देश मगर
असाेज १५, २०७६

https://www.eadarsha.com

नेपालमा बसोबास गर्ने जात जातिहरु मध्ये तेस्रो स्थानमा र आदिवासी जनजातिहरु मध्ये सबै भन्दा बढी जनसंख्यामा रहेको जाति मगर हो। राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार मगर जातिको जनसंख्या १८ लाख ८७ हजार ७३३ रहेकोछ। मगर जातिले बोल्ने मातृभाषाका आधारमा अठार मगरांत र बाह्र मगरांत गरी दुई ओटा समूहमा आफनो अस्तित्वमा रहेको देखिन्छ। नेपालका पश्चिमी भेकहरु जस्तै : रुकुम, रोल्पा, डोल्पा, बाग्लुङ्ग आदि जिल्लाहरुमा बसोबास गर्ने मगरहरु खाम र काईके मगर भाषा बोल्दछन। जसलाई अठार मगरांत भनेर भनिन्छ।

त्यस्तै गरी नवलपरासी, चितवन, तनहुं, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी आदि जिल्लाहरुमा बसोबास गर्ने मगरहरु ढुट भाषा बोल्दछन। जसलाई बाह्र मगरांत भनेर भनिन्छ। यस आलेखमा विशेषत : बाह्र मगरांत क्षेत्रमा बसोबास गर्ने मगरहरुले अबलम्बन गर्दै आईरहेका मगर जातिका संस्कार र संस्कृतिहरु क्रमश : विलय हुने अवस्थामा पुगेको कुरालाई औल्याउन खोजिएकोछ।

नवलपरासी, चितवन, तनहुं, कास्की, स्याङ्जा, पाल्पा, गुल्मी आदि जिल्लाहरुमा बसोबास गर्ने मगरहरुले अबलम्बन गर्ने गरेका केही संस्कार, संस्कृतिहरुलाई यहां निम्न अनुसार उल्लेख गर्ने प्रयास गरिएकोछ।

१. विवाह संस्कार :

मगर जातिमा दुई प्रकारको विवाह संस्कार प्रचलनमा रहेको देखिन्छ। ति हुन : मागी विवाह र भागी विवाह।

क) मागी विवाह : मगर जातिमा मामाको छोरी र फुपुको छोरा बिच विवाह हुने प्रचलन रहेको छ। “गुन्द्रुकलाई पकाउनु पदैर्न, सालीलाई फकाउनु पर्दैन भनेझैं मामाको छोरीलाई फुपुको छोराले विवाह गर्न पाउने पहिलो हक लाग्दछ। मगर जातिमा मातृसत्तात्मक पारिवारिक व्यवस्था रहेकोले केटाले विवाह गर्नका लागी केटीको घरमा माग्न जानु पर्दछ।

ख) भागी विवाह : मगर जातिमा केटाले आफुलाई मन पर्ने केटीलाई घरमा माग्न नगई भगाएर लैजाने प्रचलन रहेकोछ। केटाले केटीलाई भगाएर घरमा लगेपछि दुलहीलाई घरभित्र भित्र्याउने गरिन्छ। यस क्रममा दुलाहाको घरमा कुटुम्बले घरको दैलो लिपपोत गरी कुखुराको भाले काटेर दुलही भित्र्याउने गरिन्छ। उक्त दिन ईष्टमित्र बोलाई दुलाहा दुलहीलाई टीका लगाई आशिर्वाद दिने र भोज खाने गरिन्छ। यसरी भगाएर लगेको ३ दिन भित्र केटाको घरबाट रोटी, रक्सी, भातीको जांड र दही सहितको सगुन लिएर केटीको घरमा सोधनी (गीनक्हे) जानु पर्ने हुन्छ।

यदि ३ दिन भित्र केटीको घरमा सोध्नी (गीनक्हे) नगएको खण्डमा केटीको माईती पक्षले आफनो छोरी हराएको आरोपमा संबन्धित निकायमा उजुरी समेत दायर गर्न सक्ने संभावना रहेको हुन्छ। सोधनी (गीनक्हे) जाने दिनमा केटा पक्षका अनुभवी, चलाख र बोल्न सक्ने ब्यक्तिहरु केटीको घरमा गएर केटी पक्षसंग केटीमा आफुहरुले बुहारी बनाउन लगेको ब्यहोरा अति नै नम्र भएर जाहेर गर्नु पर्ने हुन्छ। केटा पक्षले आफना कुराहरु राखी सकेपछी केटी पक्षका राजी खुशी भएको खण्डमा केटा पक्षकाले लगेको रोटी, रक्सी, भातीको जांड र दहि उनीहरुले स्वीकार गर्दछन। यसरी कोशेली स्वीकार गरी सकेपछी विवाह पक्को भएको मानिन्छ।

ग) विवाहमा मातृसत्तात्मक प्रभाव : मगर जातिको पारिवारिक ब्यवस्थापनमा महिलाहरुको स्थान महत्वपूर्ण रहेको हुन्छ। घरायसी कार्य विभाजन तथा निर्णय प्रकृयामा महिलाहरुको भूमिका अपरिहार्य रहेको हुन्छ। त्यस्तै गरी विवाह संस्कारमा पनि महिलाहरुको स्थानलाई सवोर्परि रुपमा लिईएको हुन्छ। केटा पक्ष र केटी पक्ष बिच विवाह गर्ने दिन निश्चित भएपछि उक्त दिनमा जन्ती तथा निम्तालुहरुलाई भोज खुवाउनका लागी विवाहको अघिल्लो दिन केटी पक्षले मागे अनुसार चामल, मासु, रोटी, रक्सी तथा आवश्यक सरसामानहरु केटाको घरबाट पुर्याउनु पर्ने हुन्छ। विवाहको दिन केटीको घरमा संपूर्ण वैवाहिक कार्यक्रमहरु सम्पन्न गर्ने गरिन्छ। अरु जातिमा झैं मगर जातिमा केटीको घरबाट दाईजो दिनु पर्ने कुरा अनिवार्य रहंदैन।

घ) मावलीहरुको महत्वपर्ण स्थान : विवाहको दिन दुलहीको घरमा केटीको मामा मावलीहरुको स्थान अत्यन्त महत्वपुर्ण रहेको हुन्छ। दुलाहा सहितको जन्ती केटीको घरमा पुग्ने बेलामा स्वागत द्धारमा माईती पक्षले चिरागले स्वागत गरी सकेपछि मावली खलकले अक्षताले जन्ती पर्सिए पछि मात्र जन्तीहरुले विवाह घरमा प्रवेश पाउंदछन। उक्त दिन दुलहीको घरमा पाक्ने खानाका परिकारहरु मध्ये मावली खलकका लागी विशेष प्रकारले तयारी गरी खुवाउनु पर्ने हुन्छ, यसलाई मावली खुवाउने भनिन्छ। दुलाहाको घरबाट पनि मावलीहरुका लागी खशी, रोटी, रक्सी, भातीको जांड र दही आदि कोशेलीको रुपमा लैजानु पर्ने हुन्छ।

ङ) वर्नौली दिने चलन : विवाहको दिन जन्तीहरुलाई खाना सत्कारका लागी व्यवस्थित ढंगले बस्ने व्यवस्था गरिन्छ। यस कक्रममा माईती पक्षका केटीहरुले जन्तीहरुलाई हात धुलाई दिने गर्दछन। त्यस पछि सगुनका रुपमा रोटी, मासु भातीको जांड र रक्सीले स्वागत गरि सकेपछि खाना खान दिईन्छ। खाना खाई सकेपछि माईती पक्षले सालको पातबाट तयार पारेको आकर्षक टपरी वर्नौली, नाच गान र हाउभाउ सहित जन्ती पक्षलाई हस्तान्तरण गरिन्छ। त्यस्तै गरी दुलाहाको बाबा, दुलाहा र लोकन्तेलाई मूल्य अंकित सालको पातको झोला हस्तान्तरण गरिन्छ। त्यस पछि उनीहरुले नाच गान र हाउ भाउ सहित उक्त झोलामा अंकित मूल्य सहितको पैसा सोही झोला राखेर माईती पक्षलाई फिर्ता गर्नु पर्ने हुन्छ।

त्यस पछी लोकन्ते वा जन्ती पक्षले तोकेको कुनै व्यक्तिले वर्नौलीमा राखिएको संगुरको दाह्रा मुखमा च्यापेर बाघको अभिनय गर्दै भान्सामा गई त्यहां यही प्रयोजनका लागी राखिएको विशेष प्रकारको खाना खोजेर खाने प्रयत्न गर्नु पर्दछ भने माईती पक्षबाट एक जनाले कुकुरको अभिनय गर्दै उक्त बाघलाई भान्सा भित्र छिर्न दिनु हुंदैन। यस प्रकारको अभिनय र नाच गान सहित वैवाहिक कार्यक्रम सकिए पछि माईती पक्षबाट बिदा पाए पछि दुलही लिएर जन्ती दुलाहाको घर फर्किने गरिन्छ।

२) जन्म संस्कार

मगर समुदायमा घरमा बच्चाहरु जन्मिदा हर्ष बढाई गर्ने गरिन्छ। बच्चा जन्मि सकेपछि कतै ७ दिन त कतै ११ दिन सुत्केरो बार्ने चलन रहेकोछ। न्वारनका दिन कोहीले बाहुन पण्डित त कोहीले वापा वा भूषाल मगर पण्डित राखेर चोखिने गरिन्छ। यस क्रममा जुन सुकै पण्डित राखेर चोखिने गरिए पनि कुटुम्बको महत्वपर्ण भूमिका रहेको हुन्छ।

३) मृत्यु संस्कार

मगर समुदायमा कुनै व्यक्तिको मृत्यु भयो भने मृतकको दाह संस्कार गरिन्छ र ७ वा १३ दिन सम्म मृतकको छोरा, बुहारी र छोरीहरु किरिया बसी मृतकको आत्माको चिर शान्तिका लागी धुप, दियो बालेर दिनमा एक पटक मात्र अलिनो खाना खाएर बस्ने गर्दछन। १३औं दिनका दिन चोखिने क्रममा बाहुन पण्डित वा वापा वा भुषाल राखेर पुजा गरी चोखिने गरिन्छ।

४) चाड पर्वहरु

मगर जातिले आफनो मुख्य चांडको रुपमा माघे संक्रान्तिलाई मान्दै आई रहेकोछ। माघे संक्रान्तिका दिन आफना पितृहरुको पूजा गर्ने गरिन्छ। उक्त दिन विहान बाबा आमा नभएका व्यक्तिहरु खोला, पंधेरो, नदी आदि पानी भएका स्थानहरुमा गई पितृहरुको नाममा पूजा गर्ने गरिन्छ। यसलाई डी डाके भनिन्छ। उक्त दिन खोला, पंधेरामा गई नुहाई धुवाई गरी मास, चामल, बेसार, अदुवा र फलफूल पितृहरुलाई चढाईन्छ। त्यस पछि आफना कुटुम्बहरुलाई घरमा बोलाई टीका लगाई दिने र खाना खुवाउने गरिन्छ। त्यस्तै गरी मगरहरुले पन्ध्र पुष, फागु पूर्णिमा, दशैं र तिहार आदि चाड पर्वहरु पनि स्थान विशेष अनुसार फरक फरक ढंगले मनाउंदछन।

५) फरक फरक धार्मिक आस्था

प्रकृति पूजक मगर जातिमा हिन्दु धर्मको प्रभाव पर्दै गएपछि अधिकांश मगरहरु हिन्दु धर्मका अनुयायी भए। परापूर्व कालमा रुख, ढुंगा, खोलानाला तथा हावालाई आफनो देवता मानेर पूजा गर्ने मगर जाति पछि मूर्ति पूजा गर्ने र मन्दिर जाने भए। अर्थात प्रकृति पूजक मगर समुदाय माथि हिन्दु धर्मको प्रभाव पर्यो। यति बेला मगरहरु कोही प्रकृति पूजक, कोही बौद्ध धर्म, कोही हिन्दु त कोही क्रिश्चियन धर्ममा आस्था राख्ने भएका छन। यसरी मगर समुदायमा धार्मिक विचलन अत्यन्त जल्दो बल्दो रुपमा देखिन थालेकोछ। यी माथि उल्लिखित कारणहरुले गर्दा एउटै मगर गाउंमा पनि मर्दा पर्दा गाउंलेहरुको उपस्थितिलाई फरक फरक ढंगले बुझने र व्याख्या गर्ने गरिएकोछ।

६) ढोगभेट स्वागत गर्ने संस्कार

मगर समुदायमा ढोग भेट र स्वागत गर्ने संस्कार अति नै महत्वपूर्ण रहेको छ। मगर समुदायमा सगोलमा खाना खाने बेलामा लौ, खांउं है ! भनेर खाने चलन रहेकोछ। आपसमा केही लिंदा र दिंदा सम्मान साथ हातमा लिएर दिएर आफनो हत्केला निधारतिर लगेर सम्मान गर्ने चलन रहेकोछ। आपसमा भेट हुंदा महिलाहरुले आफनो पछ्यौराको मध्य भाग शिरमा राखेर दुबै हातले पछ्यौराको छेउ समाएर टाउको र शरीर आधा झुकाएर टाढैबाट ढोग गर्ने चलन रहेकोछ। त्यस्तै पुरुषहरुले पनि दुबै हत्केला आपसमा जोडेर टाढैबाट ढोग्ने वा स्वागत गर्ने प्रचलन रहेकोछ।

७) मगर भाषामा रहेका स्थान नामहरु

नेपालका विभिन्न ठाउंहरु, खोला, पहाड, धार्मिक स्थलहरु तथा पर्यटकीय स्थानहरुको नाम मगर भाषाबाट नामाकरण भएको प्रशस्त भेटिन्छ। तर ती सक्कली नामहरु समय क्रम संगै अपभ्रंश भई मेटिने क्रममा रहेकाछन। स्याङ्जा जिल्ला स्थित गल्याङ आसपासका मगर भाषामा नामाकरण भएका र पछी अपभ्रंश भई परिवर्तन भएका स्थानका नामहरु : मुल्दी (मूलको पानी) – मतिचौर, डुंडी (डुनच्ह डी) – दुधेचौर, पनाका – पडकाङ, राम्दी (राम्हो डी) – राम नदी, छाङ्गछाङ्गदी (छङ्गङ्गछ झाल्च डी) – छायांक्षेत्र, ढोलडी – पाखापानी, बोगाङ्ग – बम भञ्ज्याङ्ग, आरल्हाम डांडा – बरन डांडा, ल्हा डांडा – लोक डांडा, गडाम डी – हिले पानी, ग्वैराक्च डांडा – कुखुरा बास्ने डांडा, मटाहा खोला – मान्के खोला, आङदी खोला – आंधीखोला, रिडी – रुरु क्षेत्रर वालिमटै – वालिङ्ग, आदि उदाहरणका रुपमा रहेका छन्।

८) संस्कार तथा कर्म काण्ड गर्ने संबन्धमा बनेका धारहरु

मगर समुदायमा गरिने जन्म, विवाह, मृत्यु लगायतका अन्य संस्कारहरु गर्नका लागि अरुको मुख ताक्न नपरोस भनी आफनै समुदायमा कर्म काण्ड तथा संस्कार गर्ने मानवीय श्रोत उत्पादन गरी आफै कर्म काण्ड तथा संस्काहरु गर्ने क्रम भयो र क्रमशः हिन्दु धार्मिक विधि अनुसार गरिने संस्कार तथा कर्म काण्डलाई परित्याग गर्दै गएको देखियो। पछि यसमा पनि प्रकृति पूजक विधि र बौद्ध धर्म विधि गरी दुई ओटा धारका संस्कार तथा कर्मकाण्डीय धारहरुको विकाश भईरहेकोछ। जसले गर्दा मगर समुदायमा अन्यौलको अवस्था रहेको देखिन्छ। यसर्थ, फरक फरक अस्तित्वमा रहेका नेपाल भूषाल संघ र मगर बौद्ध सेवा समाज बीच कर्म काण्ड विधिमा एकरुपता कायम गर्नका लागि छलफल हुनु आवश्यक छ।

९) मगर समुदायको कौह्रा नृत्य

मगर समुदायमा थुप्रै सांस्कृतिक अवयवहरु जीवन्त रहेका छन्। मगर गाउंहरुमा विशेष गरी सोरठी, नचरी, झोरा, सुनिमायां, यानिमायां, मुच भाखा, ठाडो भाखा, झयाउरे, सालैजो, जीउ मामै र कौह्रा आदि नृत्यहरु नचाउने गरिन्छ। यी नृत्यहरु मध्ये कौह्रालाई मगर जातिको मौलिक नृत्यको रुपमा लिने गरिएकोछ। कौह्रा शब्द, मगर भाषामा कान राहा (हामी आयौं) शव्दबाट कौह्रा भएको भनिएको छ। यस नृत्यमा पुरुषहरु एउटै समूहमा बसी खैंजडी र झयाली बजाउंदै गीत गाउंदछन भने केटीहरु लस्करै खैंजडीको तालमा नाच्ने गर्दछन।

१०) भेजा, गुठी : मगर जातिको बसोबास रहेको गाउंहरुमा समुदायको आर्थिक गतिविधिमा एकरुपता ल्याउनका लागि गाउं पिच्छे आर्थिक गतिविधि सञ्चालन गर्ने आआफनै नीति नियमहरु तय गरिएको हुन्छ, त्यसलाई भेजा वा गुठी भनिन्छ। यस अन्तर्गत गाउंमा मासुको मूल्य निर्धारण, कामको ज्याला तथा पारिश्रमिक निर्धारण, बनमा दाउरा काट्नका लागी मूल्य तोक्ने तथा सामूहिक बचत संकल गर्न र लगानी आदिको लागि भेजा, गुठीहरु सञ्चालन गरिएको हुन्छ।

११) मगर जातिको पोशाक : मगर जातिको पहिचानको रुपमा आफनै पोशाक रहेकोछ। परापूर्व कालदेखि आफना पुर्खाहरुले पहिरिँदै आएको पोशाकलाई केही सकारात्मक परिमार्जन सहित मगर समुदायका मानिसहरुले आफनै पोशाक लगाउने गर्दछन। पुरुषहरुले लगाउने पोशाकका रुपमा भोटो, इस्टकोट, कछाड, पेटी, भाङग्रा, टोपी र खुपेर्टो आदि रहेकोछ भने महिलाहरुले लगाउने पोशाकमा मखमलको चोली, छिटको गुन्यु, पंहेलो पटुकी, घलेक, टिकीस, पछ्यौरी र खुपेर्टो आदि रहेकाछन।

मगर जातिका यी संस्कार र संस्कृति समय क्रम अनुसार सकारात्मक सुधार सहित अवलम्बन गर्नु पर्ने देखिन्छ। संस्कार धान्ने नाममा समुदायका लागि हानी हुने खालका कार्यहरु गर्नु हुंदैन। वर्तमान समयमा मगर समुदायमा जीवन्त संस्कार र संस्कृतिहरुलाई समुदायको उन्नति र प्रगतिका लागि अनुसरण गर्नु आवश्यक छ। न कि संस्कार र संस्कृति अबलम्बन गर्ने नाउंमा सिंगो समुदायलाई उंधो गति तर्फ डोर्याउने गल्ती भने गर्नु हुंदैन।

नेपालमा जातजाति

 नेपालमा जातजाति

October 10, 2019

नेपाली बृहत शब्दकोषका अनुसार वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ भने शारीरिक बनावट आकार, प्रकार गुण, स्वभाव आदिका आधारमा छुट्टीने वा चिनिने जातीय विभाग, समूह वा वर्गलाई जाति भनिन्छ । यस्ता जात जातिले आफ्नै विशेष प्रकारका धर्म, नियम, संस्कारको पालना गरेका हुन्छन् । सामान्यतया यस्ता जातजातिको छुट्टै भाषा, भेषभुषा हुन्छ । वैवाहिक सम्बन्ध एउटै जातजाति भित्र हुने गर्दछ । नेपालमा विभिन्न प्रकारका जातजातिहरूको बसोवास भएको छ । त्यसैले नेपाली समाजलाई वहुल समाजको रूपमा चिनिन्छ । नेपालमा भएका जातजातिहरूलाई ब्राह्मण, क्षेत्री, वैश्य र सुद्र गरी ४ भागमा वर्गीकरण गरेको छ  । 

 आदिवासी/जनजाति 

आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार “आदिबासी जनजाति भन्नाले आफ्नो मातृभाषा र परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्दछ  ।” जनजातिका विशेषताहरूलाई बुँदागत रूपमा भन्दाः 

जसको छुट्टै आफ्नै सामूहिक सांस्कृतिक पहिचान छ  ।

जसको परम्परागत भाषा, धर्म, रीतिरिवाज र संस्कृति छ  । 

जसको परम्परागत सामाजिक संरचना समानतामा आधारित छ  ।

जसको आफ्नो परम्परागत भौगोलिक क्षेत्र छ । 

जसको आफ्नो लिखित वा अलिखित इतिहास छ । 

जो नेपालका आदिवासी हुन्  । जसले आफूलाई जनजाति भन्छन्  । 

नेपाल सरकारले वि.सं. २०५८ माघ २५ गते आदिवासी/जनजाति उत्थान प्रतिष्ठान ऐन २०५८ जारी गरी ५९ जनजातिलाई आदिवासी/जनजाति भित्र समेटेको छ ।

 आदिवासी जनजातिहरूको वर्गीकरण 

आदिवासी जनजाति महासंघले अनुकुल रणनीति तथा राष्ट्रिय संसाधनमा पहुँच, सुविधा बन्चनको अवस्था, विघटन, विस्थापन, विभेदको ऐतिहासिक अनुभव, राज्यको शक्ति संरचनामा वा राज्य संचालनमा पहुच, सामाजिक प्रतिष्ठा मानव विकासको स्तर आदिका आधारमा आदिवासी जनजातिहरूलाई निम्न ५ भागमा वर्गीकरण गरिएको पाइन्छ

क)  लोपोन्मुख (संकटापन्न) आदिवासी जनजातिहरू 

ख)  सुविधावञ्चित आदिवासी जनजातिहरू 

ग)  अग्रवर्ति उन्नतिशील आदिवासी जनजातिहरू 

घ)  सीमान्तकृत आदिवासी जनजातिहरू 

ङ)  अति सीमान्तकृत आदिवासी जनजातिहरू 

नेपालका सूचीकृत आदिवासी जनजाति (आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५९ अनुसार) 

बाँकी पढनका लागी तलकाे लिंक क्लिक गर्नुहाेस

https://amrenss.blogspot.com/2019/10/blog-post_53.html

गुरुङ धर्म- झाँक्री प्रथा, बोन संस्कृति र बौद्ध मार्ग?

 गुरुङ धर्म- झाँक्री प्रथा, बोन संस्कृति र बौद्ध मार्ग?

देउता बाजे·THURSDAY, JUNE 18, 2015

गुरुङ धर्म- झाँक्री प्रथा, बोन संस्कृति र बौद्ध मार्ग?

जब हामीले "गुरुङ धर्म" अन्तर्गत गुरुङको मौलिक झाँक्री प्रथा, मौलिक बोन संस्कृति र गुरुङको मौलिक बौद्ध मार्ग ओदान को तिन पाई जसरी एक धार्मिक संस्कृति हो भनेर उल्लेख गर्यौ केहि एकांकी बोन बादी मित्रहरुले (यसको अर्थ म चाही बोन नमान्नि बौद्ध बादी भनेको होइन, यसको अर्थ म कुनै बादि होइन, तटस्थ ब्यक्ति हो भनेको हो), उहाँहरुले बौद्ध मार्ग चाही गुरुङको मौलिक धार्मिक संस्कार कसरि भयो भनेर प्रस्न गर्नु भयो। उहाहरुले के होला यो जो डाक्टर हर्क गुरुङ देखि प्राज्ञ डाक्टर जगमान गुरुङ सम्म, ठेकन टु घ्याब्री देखि बाल नरसिंग गुरुङ सम्म, बेर्नार्ड पिग्नेड देखि डोनाल्ड सम्म सबैले आधार मानेको कुरा बुझ्न कोसिश गर्नु को सट्टा तिब्बती बौद्ध धर्म (Tibetan Buddhism) कै कुरा गरेको होला भनेर तेस्लाई तुक रहितको खण्डन गर्न अग्रसर हुनु भयो। जब एउटा कुरालाई अर्को कुरा को अर्थमा बुजेर तेस्को खण्डन गरिन्छ एस्लाई वर्ग त्रुटी (category error) भनिन्छ जुन हास्यास्पद हुन्छ।

अब गुरुङ को मौलिक बौद्ध धर्म को कुरा जब गरिन्छ यहाँ पौराणिक (Mythological) कुरा र एतिहासिक (Historical) तथ्य को भिन्नता पनि बुज्न जरुरि हुन्छ। पौराणिक हिसाबमा सबै धर्मले आफुलाई आदि काल देखिनै आएको या तेही कुरा नै उजागर गरेको भन्छन तर एतिहासिक रूपमा त्यो सत्य नहुन सक्छ जस्तै तिब्बतको बोन नै पुरानो धर्म हो भनेर भनिएता पनि बास्तवमा बोन नया धर्म हो भनेर भ्यान सायक (Van schaik) जस्ता विद्वान हरुले प्रस्ट पार्नु भयो, तिब्बतमा बौद्ध धर्म पुग्नु अगाडी बोन धर्मको रूपमा नभएको कुरा दर्शाउनु भयो (Van Schaik, Sam. Tibet: A History. Yale University Press 2011)। यसै सिल सिलामा यो पनि बुझ्न जरुरि छ जसरि बौद्ध धर्म तिब्बतमा पुगी तेहा भएको बोन संस्कृति (धर्म होइन, संस्कृति) सित भिज्यो तेहा तिब्बती बौद्ध धर्म (Tibetan Buddhism) को बिकाश भयो, जब नेपाल मण्डलमा नेवारहरुको आफ्नो संस्कृति सित बौद्ध धर्म को बिकाश भएको थियो तेहा अतुलनीय नेवार बौद्ध धर्म (Newar Buddhism) को उजागार भएको थियो (Gellner, D. Monk, Householder, and Tantric Priest: Newar Buddhism and its Hierarchy of Ritual. Cambridge University Press 1992)। यसै गरि गुरुङ बौद्ध धर्म पनि गुरुङ्को संस्कृतिमा हुर्केको बौद्ध धर्म हो। यसको लागि हामीले हाम्रो गुरुङ को मौलिक लम (लामा) लाई हेर्नु पर्नी हुन्छ। कसैले मौलिक गुरुङ तमु लामा लाई बोन्पो लम (लामा) भनेर १०/१२ वर्ष बाट पर्चार गर्दैमा इतिहास आफैमा मेटिदैन। सबैलाई थाहा भएकै कुरा हो गुरुङ को मौलिक तमु लम (लामा) गुरु कृष्ण लम गुरुङ (जो मेरो लामा विद्याको गुरु पनि हुनुहुन्छ) उहाँ नार परम्परा अन्तर्गतको अहिलेको लम चिबा (मूल लामा) हुनुहुन्छ यदि उहालाई भेटेर उहाको किताब अध्यन गर्नु भयो भने छर्लंग हुन्छ जुन ठेली किताब नार बाट आएको हो त्यो बौद्ध धर्म को वज्रयानको निङ्ग्मा सम्प्रदाय अन्तर्गत को "तेँ छोई" हो (कृपया यो पनि ध्यानमा होस् ८ औ शताब्दीमा तिब्बतमा यो सम्प्रदाय सुरु हुनु भन्दा अगाडिनै तर तेही समयमा नेपालको मुस्तांग मा निङ्ग्मा वज्रयान बौद्ध धर्म सुरु भैसकेको इतिहास छ-यसको लागि लो-गेकर गुम्बा को इतिहास हेर्नुस (Dhungel, R. The Kingdom of Lo (Mustang): A Historical Study. Tashi Gephel Foundation, 2002), हुन त बुद्ध धर्म पनि आफैमा नेपालको हो तिब्बतमा त नेपाल बाटै गएको हो, एस दृस्टी कोण बाट पनि बौद्ध धर्म नेपाल को हो भने बोन तिब्बतको-अज पहिला त बोन शांग शूङ्गको)। अनि फेरी नेपालको सन्दर्भमा कुरा गर्दा "नार" निङ्ग्मा सम्प्रदायको गढ हो जसरि न्येश्यांग कग्यु को, बोन को त लुप्रा हो तेसैले गुरु कृष्ण लामा लाइ नार परम्परा अन्तर्गत को लामा भन्दा त सहि हुन्छ तर नारको बोन्पो लामा भन्दा गुरुङको इतिहास, आख्यान सित न मेल खान्छ न कुनै आधार बाट नै पुस्टि हुन्छ। हुन पनि १०/१५ वर्ष अगाडी सम्म उहाहरुलाई बोन्पो लामा भनेर कसैले भन्दैन थिए, सिर्फ लामा। तेसो त घ्याब्री र झाँक्री (पच्यु) लाइ पनि लामा भन्नि अधिकांश मान्छे भेटिन्छन किन भने लामा सब्द सार्विक नाम हो ! जब म झाक्री गुरु पच्यु पैंड़ी चिबा कुल प्रसाद गुरुङ ज्यू लाइ पहिलो चोटी भेट्न गएको थिए फुलबारी-पोखरामा, CTEVT को अफिस नजिक पुगे पछि तेहा एकजना व्यक्तिलाइ "गुरुङ झाक्री पच्यु कुल प्रसाद गुरुङ हुनुहुन्छ, उहाको घर थाहा होला हजुरलाई?" भन्दा, "खोइ त्यो त थाहा भएन तर फुक फाक गर्नी गुरुङ लामा को घर चाइ उ त्यो हो" भनेर भन्नु भयो र तेहा जादा कुल प्रसाद पच्युकै घर थियो। तेसैले लामा पनि नेपाली जनजिब्रोमा सार्विक हिसाबमा प्रयोग हुनी नाम हो तर जब के खालको लामा भनेर विशेषांक बर्गिकरण गर्न खोजिन्छ तेस्मा उसको शास्त्र, उसको भाषा, उसको पद्दति, उसको औजार हरुको अध्यन गर्न जरुरि हुन्छ। हो गुरुङ जातिमा बोन (प्हैंबो ल्हु) संस्कृति छ र कृष्ण लामा निङ्ग्मा ङागपा लामा भएपनि कतिपय कुरामा बोन संस्कृति झल्किन्छ तर सबै कर्मकाण्डमा जन्म देखि मृतु सम्मको कार्यमा (अर्घुमै पनि) मुख्यगरी नार बाट ल्याइएको निङ्ग्मा वज्रयान बौद्ध धर्म अन्तर्गतको ग्रन्थ नै पढिन्छ ! गुरुङको मौलिक लामाले मौलिक गुरुङको अर्घु गर्दा पनि बुद्धका चित्र हरु तथा किलखोरमा गुरु रिम्पोछे को चित्र,बुद्ध को चित्र, चेंरेजिग को चित्र (सिक्लेसमा भने मन्जुश्रीको, यांग्जाकोटमा भने सम्बरको), र महाकाल को चित्र चारै पट्टि क्रमस राखी अर्घु गरिन्छ र बौद्ध धर्मकै वज्रयानको "महाकाल तन्त्र" शास्त्र पढिन्छ। यसरि सिक्लेसमा नारको "त्हें क्षोई" अन्तर्गत मौलिक गुरुङ बौद्ध धर्म (Gurung Buddhism) को पूर्ण बिकाश भएको देखिन्छ तर अहिले यो परम्परागत मौलिक गुरुङ बौद्ध धर्म जसमा बोन्पो संस्कार (गुरुङ को परम्परागत संस्कार संस्कृति - छ्या) पनि आलिङ्गन भएको छ एसको लोप हुनी संघारमा सिक्लेस छ। यसरि गुरुङ बौद्ध धर्म (Gurung Buddhism) चाही वज्रयान बौद्ध धर्म, बोन संस्कृति, र गुरुङ रिति-रिवाज को उपज हो। तसर्थ बोन संस्कृति का झलकहरु भेटिदैमा बौद्ध धर्मका आयाम हरुलाइ नकार्न सकिन्न। बोन्पो संस्कृति त गुरु कृष्ण लामाकोमा मात्रै होइन एक जना साधारण गुरुङको क्रिया कलापमा पनि गाउँ घरमा प्रसस्तै भेट्न सकिन्छ। अब गाउँ घरमा कुनै बखत कोइ गुरुङ इसाई धर्ममा लागेर इसाई पादरी भएर बाइबल को कार्य गर्दा उसको कार्यमा बोन्पो संस्कृतिका केहि झलक देखियो भने उसलाई यो त इसाई होइन बोन्पो हो, किन इसाई भनेको भनेर प्रस्न गर्दा कति न्यायोचित होला! कुरा के भने बोन शब्द गुरुङ भाषामा नभएपनि बोन्पो संस्कृति (प्हैंबो ल्हु) गुरुङ को अभिन्न अंग हो। अनि बोन को कार्य झाक्रीमा देखिए पनि, लामा मा देखिए पनि, बोन को मुख्य गुरु पुरोहित त घ्याब्री नै हो तेसैले त घ्याब्रिलाई प्हैंबो (बोन्पो) भनेर गुरुङ भाषामा भनिन्छ तर पच्यु र लामालाइ भनिदैन। तेसैले यदि बोन्पो लामा (प्हैंबोलम/प्हैंबो गुरु) भनेर भन्नि नै हो भने बास्तवमा घ्याब्री नै हो। यहि मान्नेता प्हैंबो गुरु सिक्लेस गाउँकै घ्याब्री चिबा यम ब. टु घ्याब्री गुरुङज्यूको छ। तेसै गरि नम-निमित्य्हू (झाँक्री विद्या) प्हैंबो (बोन्पो) गुरुले प्रयोग गरेपनि, लामाले उपयोग गरेपनि मुलत झाँक्री (shaman) गुरु पुरोहित भनेको गुरुङहरुमा पच्यु नै हो र एतिहासिक हिसाब्मै पच्यु गुरु गुरुङको मूल आदि गुरु पुरोहित हो,पौराणिक हिसाबमा पनि प्हैंबो हुनु भन्दा अगाडिको प्हैं पनि पच्यु नै हो भनेर पच्यु पैंडी चिबा होमन गुरुङ्ज्यू प्ये बाट प्रस्ट पार्नु हुन्छ। तेसै गरि लामाको विद्या पच्युले प्रयोग गरे पनि, घ्याब्रिले गरेपनि मुलत "लन मेपहि लम्" (अनुत्तर मार्ग/बौद्ध धर्म मार्ग) भएको गुरु लामा नै हो।

तर क्होलामा झाक्री प्रथाको पच्यु गुरु, बोन संस्कृतिका घ्याब्री गुरु र बौद्ध मार्गका लामा गुरु (किन भने लामा नार बाट क्होला गएको इतिहास छ, क्होला बाट नार मा होइन र नार बाट आएको किताबको ठेली वज्रयान बौद्ध धर्म अन्तर्गत को निङ्ग्मा सम्प्रदायको हो भनेर अघिनै भनियो) र तिन जना गुरुहरु मिलेर गुरुङ धर्म (तमु चो) को समन्वय रूपको बिकाश भएको जोलन्त उदारहण छ क्होलामा । तेसैले गुरुङ धर्म (तमु चो) गुरुङको आफ्नै मौलिक झाक्री प्रथा (Gurung Shamanism), आफ्नै मौलिक बोन संस्कृति (Gurung Bonpoism) र आफ्नै मौलिक बौद्ध मार्ग (Gurung Buddhism-यो Tibetan Buddhism भन्न खोजेको होइन) को समन्वय रुप हो। यदि तपाई यी कुराहरुको समन्वय र अरु धर्म पर्ति पनि समभाव हुनु पर्छ भन्नि विश्वास गर्नु हुन्छ भने "Gurung Dharma गुरुङ धर्म" भन्नि फेसबुक पेज छ तेस्लाई लाइक गर्न सक्नु हुन्छ! होइन एकांकी दृस्टी कोण छ भने अलग अलग पेज Gurung Shamanism, Gurung Bonpoism Gurung Buddhism भन्नि छ तेस मध्ये तपाइको मान्नेता के छ तेही पेजलाई लाइक गर्न सक्नु हुन्छ र अरुलाई बहिस्कार। तपाई भन्न सक्नु हुन्छ "बोन त तिब्बती शब्द हो, तिब्बती धर्म हो, यस्लाई कसले मान्छ, बोन भन्दा पनि अगि हामी त पच्यु को नम-निमीत्यु (झाँक्री/Shamanism and Animism) प्रथा मानेको हो तेसैले यहि नै हाम्रो मन्नेता छ", ठिक छ तपाइको लागि Gurung Shamanism भन्नि पेज नै उपयुक्त हुन्छ। यति तपाई "बोन शब्द तिब्बती हुन सक्छ तर हाम्रो गुरुङमा प्हैंबो संस्कार भनेर बोन जनाउनि हाम्रो मौलिक आफ्नै संस्कृति हामी भित्रै हाम्रै पनको जग जग र रस रसमा छ" भन्नु हुन्छ भने Gurung Bonpoism भन्नि पेज नै उपयुक्त हुन्छ (अंग्रेजीमा बोन लाई कि त Bon नै भनिन्छ कि Bonpoism तर Bonism चाही भनिदैन, Bonism is a wrong rendering of Bon), अनि तपाई "होइन मुक्ति र निर्वाण जस्ता बौद्ध धर्मका उच्च दार्शनिक अवधारणा तथा शिक्षाहरु वज्रयानको माध्यमबाट सरलीकरण भएको त राम्रो हो र हाम्रो आफ्नै मौलिक आफ्नै पहिचान बोकेको बौद्ध धर्म रहिछ" भनेर महसुस गर्न सक्नु हुन्छ भने Gurung Buddhism पेज तपाइको लागि उपयुक्त हो ! तर यी तिनै धार्मिक संस्कृति सुरुमा भनेको जस्तै एउटै ओदानको तिन टेक हरु हुन् र येही नै गुरुङ धर्म "तमु चो" हो र एसको पेज चाही "Gurung Dharma गुरुङ धर्म" हो जहाँ आफ्नो मौलिक धर्म संस्कृतिको जगेर्ना गरिन्छ भने अरुको धर्म आस्था प्रति पनि समभाव राखिन्छ।

सबैको राम्रो होस् !

प्ये ताँ ल्हु ताँ।

देउता बाजे,
१७ जुन २०१५।
Gurung Dharma
(Photo Courtesy: Bernard Pignede Foundation for Gurung Cultural Research)

 

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...