भुमेको भूमिमा सांस्कृतिक उत्सव
कुलदीप न्योपाने, २०७५, असार ११, दाङ ।
भूमे खामभाषी मगरहरुको मुख्य चाड हो ।
स्थानीय खाम भाषामा यसलाई ‘नाकोवाङे’ पनि भन्ने गरिन्छ । परापूर्व कालदेखि हरेक
वर्ष असार १ गतेदेखि हप्ता १० दिनसम्म यो पर्व मनाउने चलन छ ।
त्यसको तयारी भने १ महिना अघिदेखि नै
हुन्छ । जेठ १ गते बाजा फुकाएर सुरु हुने यो पर्वमा मुख्यगरी प्रकृतिको पूजा
गरिन्छ । एकातर्फ हिउँदे बाली भित्रिएको खुशीयाली र अर्कोतर्फ वर्षे बाली सप्रियोस
भनेर भूमि पूजा गर्ने यो पर्वको विशेषता हो । बाजागाजा बजाउन शुरु भयो भने
प्रकृतिमा भएकाका चराचुरुङी किरा फट्यांग्रा संगीत सुन्न बाहिर निस्कन्छन् र
बालीनालीलाई असर हुँदैन भन्ने जनविश्वास रहिआएकोे छ
मगर जाति मध्यपहाडी भेगमा बसोबास
गर्ने बासिन्दा हुन् । यिनीहरुको आफ्नै कला संस्कृति, रहनसहन र भाषा छ । मगर क्षेत्र
भाषिक हिसाबले तीन क्षेत्रमा बिभाजित छ । कालीगण्डकी पूर्वलाई बाह्र मगरात भन्ने
गरिन्छ भने त्योभन्दा पश्चिम अठार मगरात तथा डोल्पा क्षेत्रलाई काइके मगरात
क्षेत्रको रुपमा चिनिने गर्दछ ।
यिनीहरु परापूर्वकालदेखि नै अग्ला भीर
काल्नामा बस्ने कृषिकर्म गर्ने चलन थियो । वर्षातको समयमा ती भीरपाखा पखेरामा
बाढीपहिरो जाने र धनजनको क्षति हुने हुँदा यस्तो दैवी प्रकोप नहोस् र बालीनाली
सप्रियोस् भनेर भूमे पूजा गर्दै आएको मगर समुदायका अगुवाहरु बताउँछन् ।
मगर जातिले कुनै देवी देवताको
पूजाआजामा भन्दा पनि बढी आफ्नै पूर्खा र प्रकृतिको पूजामा विश्वास गर्दछन् ।
मगरहरु खासमा प्रकृति धर्म मान्छन् ।
भूमे गाउँपालिका वडानम्बर ६ का
देवबहादुर बुढामगर भूमे आदिवासी जनजातिको वार्षिक पर्व भएको बताउँछन् । ‘हामी अरु
धर्म संस्कृतिमा भन्दा प्रकृतिमा भर पर्ने हुँदा यही समयदेखि भन्ने यकिन नभए पनि
परापूर्वकालदेखि नै भुमे पर्व मनाउँदै आएका छौं ।’
मगर बस्तीहरुमा भूमि बाराह, सिद्ध बाराह आदिको पूजा गरेको
समेत देख्न सकिन्छ । यो दिनमा मगर समुदाय बसोबास गर्ने बस्तीहरुमा सानोतिनो मेला
नै लाग्ने गर्दछ । यसैले यस भूमे पर्वलाई गाउँघरमा भूमे मेला पनि भन्ने गरिन्छ ।
यो पूजा अठार मगरात क्षेत्रमा असार १
गते एकैदिन गर्ने गरे पनि गाउँअनुसार भूमे पूजा गर्ने आआफ्नै चलन छ । गाउँठाउँ
अनुसारको विशेषता र कथा पनि हुने गर्दछ भुमेको ।
भूमेमा फूलको महिमा
भुमे शुरु हुनुभन्दा दुई दिनअघि नै
नजिकैको पहाडमा बुकीमध्यको दुर्लभ मानिने रथबिरथ फूल टिप्न जाने गरिन्छ । यो फूलको
पनि आफ्नै महत्व छ । यो फूल लामो समयसम्म ओइलाउँदैन । यो फूल टिप्न प्राय गरेर मगर
समुदायका युवायुवती जाने गर्दछन् ।
दुई दिनअघि फूल टिप्न गएकाहरु असार १
गते बिहान आफ्नो भेषभुषामा सजिएर उतैबाट नाचगान गर्दै फर्किन्छन् । एक लाइनमा यसरी
आउँदै गरेको दृश्य साँच्चिकै हेर्नलायक देखिन्छ ।
यता भूमेथानमा सम्पूर्ण तयारी
गरिसकिएको हुन्छ । सम्पूर्ण गाउँलेहरु आफ्नो मौलिक पहिरनमा भूमे थानमा जम्मा भएका
हुन्छन् । यसपछि भूमेथानमा पूजापाठ गर्नुका साथै भेंडाको बली दिने गरिन्छ । जम्मा
भएका सबैले मान्यजनबाट बुकीपाटनदेखि लिएर आएको रथबिरथ फूल लगाउने र अशिर्वाद लिने
चलन छ । यसरी फूल लगाउँदा आपसी सदभाव, सामाजिक, भाइचारा सम्बन्ध पनि फूल जस्तै
नओइलाओस् भन्ने कामना गरिन्छ ।
आशिर्वाद लिइसकेपछि भूमे थानलाई बीचमा
पारेर सबै गोलो घेरा बनाएर नाचगान गर्दछन् ।
लोप हुँदै नाचका ताल
मगर समुदयमा यो नाच भूमे नाचको नामले
प्रख्यात छ । मगर समुदायको मुख्य पर्व भूमेको अवसरमा युवायुवती, बालबालिकादेखि बृद्धबृद्धासम्म
नाचगान गरेर रमाइलो गर्ने गर्दछन् । दमाह झ्यालीसहित पञ्चेबाजा बजाएर त्यसैको
तालमा नाचिने यो नाचमा भूमे गीत पनि गाउने गरिन्छ ।
यो नाचको २२ ताल हुने भए तापनि अहिले
केही तालहरू लोप भइसकेका छन् । त्यसैले थबाङका युवा समाजसेवी उदय मगर भन्छन्, ‘यसको जगेर्नाका लागि युवा
वर्गलाई अग्रपंक्तिमा आउन जरुरी छ ।’
पर्वबाट गाउँपालिकाको नामाकरण
भूमिको पूजा, सामूहिक जीवनशैली र अग्रजको
सम्मान यो पर्वको प्रमुख विशेषता हो । रुकुमका हुकाम, मैकोट, तकसेरा, राङ्सी, जाङ, लुकुम, काँक्री, क्याङ्सी, मोराबाङ, महत, काँडा, रोल्पाका थवाङ, मिरुल, जेलवाङ, कुरेली, उवालगायतका मगर समुदायको सघन
बसोबास रहेका वस्तीहरुमा यो पर्व भब्यरुपमा मनाउने गरिन्छ ।
मगरजातिहरु विशेष गरी धार्मिक
संस्कृतिका हिसाबले प्राकृतिक पूजक हुन्, जसमा भूमिलाई पूज्ने गरिन्छ । यस
भेगमा मगर जातिको बाहुल्यता र अन्य जाति मिश्रित रुपमा रहेका छन् । ‘हाम्रो
पहिचानको लागि यो गाउँपालिकाको नामकरण गर्दा भूमे गाउँपालिका राखेका हौं,’ भूमे गाउँपालिका अध्यक्ष रामसुर
बुढामगरले भने, ‘स्थानीय भाषा संस्कृतिको सरक्षणको लागि पनि हामीले हाम्रा पर्वहरु
धुमधामका साथ मनाउने गरेका छौं ।’
यो संस्कृति आफैमा पहिचानको आधार
बनेको छ । त्यसैले त मगर समुदाय मगर हुनुमा गौरव गर्छन् ।
https://www.onlinekhabar.com/2018/06/688268