Sunday, May 01, 2022

२२ सय वर्ष पुरानो इतिहासको साक्षी बनेको पेन्टिङ


मौर्य सम्राट अशोकले करिब २२ सय वर्षअघि लुम्बिनी आएर आफ्नो नाउँको स्तम्भ ठड्याउँदै यो ठाउँलाई गौतम बुद्धको जन्मस्थलका रूपमा चिनाएका थिए। चित्रकार हरिप्रसाद शर्माले बनाएको योसहित अन्य पेन्टिङहरू हामीले यहाँ उनकै अनुमतिमा प्रकाश

२२ सय वर्ष पुरानो इतिहासको साक्षी बनेको पेन्टिङ


सेतो पाटी, आइतबार, वैशाख १८, २०७९

आजभन्दा २२ सय वर्षअघि कुनै एक खास दिनमा तपाईं लुम्बिनी पुग्नु हुन्थ्यो भने एउटा यस्तो इतिहासको साक्षी बन्नु हुन्थ्यो, जसले आजपर्यन्त संसारको ध्यान खिच्दै आएको छ।

त्यो खास दिन वैशाख पूर्णिमा पनि हुन सक्छ! अर्थात्, आजकै दिन!

तपाईंले त्यस दिन बिहानैदेखि लुम्बिनीको घना जंगलमा बौद्ध भिक्षुहरूको मन्त्रोचरण सुन्नु हुन्थ्यो। पहेँलो चिवर धारण गरेका भिक्षुहरूको चहलपहल देखेर उत्साहित हुँदै नजिक जान खोज्नु हुन्थ्यो।

जसै तपाईंका पाइला भिक्षुहरूको जमघटतिर बढ्थ्यो, एक शाही सुरक्षा गार्ड तपाईंको बाटो छेक्न आइपुग्थ्यो। अनि बल्ल तपाईं चाल पाउनु हुन्थ्यो, त्यो जमघटमा कुनै भारतीय साम्राज्यको विशाल सैनिक फौजले पहरा दिइरहेको छ।

तपाईं मुख बिगार्दै दुई–चार पाइला पछाडि सार्नु हुन्थ्यो। तर, मनको कौतूहल थाम्न नसकेर बाँदरझैं घना वृक्षको लहराभित्र लुसुक्क लुक्नु हुन्थ्यो। वा, सर्पझैं हाँगाभित्र हराएर त्यहाँको गतिविधि नियाल्न थाल्नु हुन्थ्यो।

एकछिन त डराउनु पनि हुन्थ्यो होला — कतै कपिलवस्तुमा धावा बोलिएको त होइन! कतै म झुक्किएर लडाइँको मैदानमा त आइपुगिनँ!

फेरि आफ्नै मन थुम्थुम्याउनु हुन्थ्यो — लडाइँ त हुनै सक्दैन! रणभूमिमा भिक्षुहरूको के काम!

तपाईं रूखको हाँगामा हात गाँठो पारेर आफ्नो व्यग्र मन बेस्कन बाँध्नु हुन्थ्यो।

मध्याह्नसम्म गुप्त–दर्शक बनेर बसेपछि दर्जनौं बग्गी एकसाथ दौडिएजस्तो घडक–घडक आवाजले रूखका हाँगाबिँगा, झाडी–बुट्टयान, फूलपात थरथर थर्कन थाले।

आवाज नजिक आएपछि थाहा भयो, ती बग्गी होइन रहेछन्। ती त राँगो–गाडाहरू पो रहेछन्।

दर्जनौं राँगाको लश्कर तपाईं अचम्म मान्दै क्वारक्वार्ती हेर्नु हुन्थ्यो। गाडामा लादिएको अजंग स्तम्भ देखेर त तपाईंको मनै कहालिन्थ्यो।

के हो यो स्तम्भ? को हुन् यिनीहरू? के गर्न आएका हुन्?

यस्ता–यस्तै प्रश्न सोच्दासोच्दै जंगलका रूखहरू फेरि किटकिट काम्न थाले। तपाईंले समातेका हाँगाहरू भुइँचालो गएझैं फट्याक–फट्याक हल्लिए। लावालश्कर हात्तीको धमधम आवाजले चकमन्न जंगल थर्कियो। अघिसम्म झाडीको आडमा चुइँक्क नबोली बसेका जनावर र पन्छीहरू डरले भागाभाग गरे।

त्यसैबीच आगमन भयो, वायुपंखी घोडाहरूको धकडक–धकडक वेगमा शाही बग्गीहरूको।

एउटा बग्गीमा भारतका मौर्यसम्राट अशोक सवार थिए, अर्कोमा उनकी महारानी — सायद पहिलो पत्नी देवी नै हुन् कि! तेस्रो र चौथो बग्गीमा भारदार र सुसारेहरू होलान्।

तपाईं यी राजा–रानीलाई सायदै चिन्नुहुन्थ्यो। सिपाहीहरूले आकाश हल्लिने गरी जयजयकार गरेर पो!

लामो रक्तपातपूर्ण युद्धपछि बौद्ध धर्मको अनुयायी बनेका चक्रवर्ती सम्राट अशोकलाई आफ्नै आँखाअगाडि देख्दा तपाईं एकछिन त हावा लागेको पातझैं फिरफिर हल्लिनुभयो होला!

ढलपल ज्यानको सन्तुलन मिलाउन खोज्दा रूखका लहरामा गोडा दधारिए होलान्! आफ्नै दाँतले किटिक्क टोकिएर ओठ रगतले लाल भयो कि!

तपाईंलाई यता आश्चर्यमा छाडेर सम्राट अशोक र महारानी देवी बग्गीबाट ओर्ले।

राजकीय पूजा–अनुष्ठान प्रारम्भ भयो। बौद्ध भिक्षुहरूले सामूहिक मन्त्रोचरण गरे। त्यही मन्त्रको भुनभुनमा शाही कामदारहरूले राँगो–गाडाबाट लगभग ५० टन वजन र ५० फिट अग्लो स्तम्भ होस्टे हैंसे गर्दै नजिकको पोखरीनिर ल्याइपुर्‍याए।

त्यहाँ पहिल्यै एउटा खाल्डो तयार थियो। कामदारहरूले स्तम्भलाई चारैतिरबाट मोटो डोरीले कसेर खुइखुइ खाल्डोमा खसाले र एकापट्टिको डोरी तिनिक्क तन्काएर स्तम्भ ठड्याए। भुइँमा माटो पुरपार पारेर बलियो गरी गाडे।

त्यसपछि स्तम्भको सिरानसम्म पुग्ने गरी काठको भर्‍याङ हालियो। अनि सुरू भयो मुख्य विधि, जसको निम्ति सम्राट अशोक स्वयं यहाँ आएका हुन्।

कामदारहरूले आफूसँगै ल्याएको घोडाको मूर्ति जुरुक्क उचालेर स्तम्भको सिरानमा प्रतिस्थापन गरे।

बौद्ध भिक्षुहरूको मन्त्रोचरणले जंगल शान्तिमय भयो। त्यसमा सम्राट अशोकको जयजयकारले शाही शान पनि थप्यो।

झन्डै २२ सय वर्षअघि कुनै एक खास दिन लुम्बिनी पुग्नु भएको भए तपाईंकै आँखासामुन्ने ठडिने त्यो स्तम्भ आजपर्यन्त ‘अशोक स्तम्भ’ का नाउँले चिनिँदै आएको छ। र, यो ठाउँलाई ‘गौतम बुद्धको जन्मस्थल’ का रूपमा संसारभरि चिनाउँदै आएको छ।

त्यस दिन इतिहासको त्यो घडीलाई रूखको लहरामा लुसुक्क लुकेर, हाँगोमा हात गाँठो पारेर आफैंले हेरेझैं क्यानभासमा उतार्ने कलाकार हुन्, हरिप्रसाद शर्मा।

 

 

 

No comments:

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...