Showing posts with label अछुत जात. Show all posts
Showing posts with label अछुत जात. Show all posts

Friday, June 25, 2021

दलित हामी हिन्दू हौँ, तर हिन्दू बन्न पाएका छैनौँ

 

दलित हामी हिन्दू हौँ, तर हिन्दू बन्न पाएका छैनौँ

डा. मित्र परियार

नयाँ पत्रिका, २०७८ असार १० बिहीबार ०७:४६:००

हामी पनि हिन्दू नै हौँ भने बाहुनक्षेत्री सरह सम्मान र स्थान चाहियो, कुनै पनि संस्कारगत विभेद हुनुभएन

खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द, अनि खेम आफैँ र समीक्षा अधिकारीको स्वर । यी प्रतिभाहरूको उत्कृष्ट लोकदोहोरी ‘सुर्ती माड्दै–माड्दै गयो जोवन’ले विगत एक महिनामा लोकसंगीतको क्षेत्रमा निकै तहल्का मच्चाएको छ । टिकटकमा हजारौँ युवायुवती यही गीतमा रमाएर नाचेको, रमाइलो गरेको, लकडाउनको कहर काटेको देखिन्छ । यो सुन्दर रचनाको पहिलो र दोस्रो लाइन सापटी लिएर मैले हिन्दू समाजलाई, त्यसमा पनि विशेषतः ब्राह्मण समुदायलाई, प्रश्न गर्न चाहेँ, ‘कि म तिम्रै हो भन, कि मायाले भो भन ।’ अझ प्यारोडी पनि थपौँ होला, ‘पीडा सहँदै–सहँदै गयो जीवन, घृणा खप्दै–खप्दै गयो जीवन, हिंसा झेल्दै–झेल्दै गयो जीवन ।’ 

विगतका दशकमा थारू, मधेसी, आदिवासी तथा जनजातिको र अन्य धेरै पीडित पक्षको निकै सशक्त आन्दोलन भए । सम्बन्धित आन्दोलन, संघर्ष र विद्रोहहरूले एक हदसम्म आफ्नो अधिकार सुनिश्चित गर्न सके । आफ्नो पहिचान र गौरव निर्माण गर्न पनि सफल भए । तर, तिनले समेत छिःछि दूरदूर गर्ने दलितको आन्दोलन आजसम्म पनि किन उठ्न सकिरहेको छैन ? किन उनीहरू पहिचानविहीन बनेका छन् ? अधिकारबाट विमुख छन्

मलाई लाग्छ, दलित आन्दोलन थला पर्नुमा राजनीतिक, आर्थिक, शैक्षिक, भौगोलिक, पेसागतलगायत थुप्रै कारण छन् । त्यसमा पनि धार्मिक र सांस्कृतिक पक्ष प्रधान छ । अरू उत्पीडित समुदायको अलग भाषा छ, संस्कार छ, संस्कृति छ, भेष छ, धार्मिक परम्परा र इतिहास छ । भलै गुरुङ, मगर, थारू, धिमाल, राई, लिम्बूका भाषा र संस्कृतिहरू हराउँदै गएका हुन सक्छन् । ती कतिपय कमजोर बन्दै गएका पनि होलान्, विभक्त होलान् । तैपनि तिनको एकजुट हुने सांस्कृतिक आधार छन् । धार्मिक परम्परा छन्, हामी दलितको त्यस्तो अलग्गै पहिचान छैन ।

जोसँग सांस्कृतिक रूपमा नजिक छौँ, उनै हामीलाई नजिक पर्नै दिन्न । हाम्रो भाषा, संस्कृति, लवाइ, खवाइ सम्पूर्ण चिज पीडक (जाति) सँग मिल्छ । नश्ल, शारीरिक बनोट, नाकको आकार सबै उस्तै छ । कामी, दमाईं, सार्की, गाइने र बादी पहिला खस समुदायका थिए भन्ने पनि बलियो आधार छ । हरेक हिसाबले हामी सर्लक्कै बाहुनक्षेत्री हौँ । तर, पानी नचल्ने जातका रूपमा विदेशीभन्दा पनि परकोजस्तो व्यवहार हामीलाई गरिएको छ । 

ब्राह्मणवादले हामी दलितलाई यसरी फसाएको छ– वर्ण–व्यवस्थाले थिचिएका दलितको वर्ण नै छैन । हामीलाई अवर्ण भनिन्छ । हामी आफूलाई हिन्दू नै ठान्छौँ, तर हिन्दू बन्न दिइएको छैन ।

राज्यले अझै पनि यो व्यवस्था स्विकार्नु झनै दुःखद हो । कुनै तल्ला भनिएका जातिले पनि उच्च स्थान दाबी गर्ने दुस्साहस गर्ला भन्ने खतरा देखेरै होला ०७२ सालको संविधानले नै खसआर्य भन्नाले बाहुन, क्षेत्री, दसनामी आदि जातहरू मात्र हुन् भनेर किटानी गरेको । संविधानबाट नै जातीय तहगत विभेद संरक्षण गर्दै उस्तै अनुहारका, एकै देउता पुज्ने, एकै भाषा बोल्ने दलितले खसआर्यको सम्मानित स्थान खोज्न पाइँदैन भनिएको प्रस्ट छ ।

ब्राह्मणवादले हामी दलितलाई यसरी फसाएको छ– वर्ण–व्यवस्थाले थिचिएका दलितको वर्ण नै छैन । हामीलाई अवर्ण भनिन्छ । हामी आफूलाई हिन्दू नै ठान्छाैँ, तर हिन्दू बन्न दिइएको छैन । गाउँका देवीदेउता पुज्न भेटी–अक्षता दलितबाट पनि उठाइन्छ, तिनकै बाजा, धजा, पाला, त्रिशूल, गजुर नभई पूजा सम्पन्न हुँदैन । तर, फेरि तिनै दलित मन्दिर पसेर अरूले जस्तै पूजापाठ गर्न पाउँदैनन् । तिनको घरमा नाग टाँस्न, संस्कार र अनुष्ठान गर्न पुरोहित घिन मान्छन् । तँ हिन्दू होस् भनिन्छ । क्रिस्चियन बनेकाहरूमाथि आफ्नो सनातन धर्म बेचेको आरोप लाग्छ । कतै जान्नँ भन्ने दलित अझै धेरै छौँ, तर पवित्र वेद पढ्न त के छुन पनि पाइँदैन । हिन्दू भएर हिन्दूको घर पस्यो, धाराकुवा छोयो भने, मान्छे छोयो भने गालीगलोज र हिंसाको सिकार भइन्छ । जहाँ पनि देवीदेउताको, कुलकुलाइनको, बाईको, पितृको डर देखाएर हामीमाथि अपमान र हिंसा हुन्छ । यसरी धार्मिक रूपमा, सांस्कृतिक रूपमा हामी दलित घरको न घाटको बनाइएका छौँ । न यताको, न उताको । न वारि, न पारि । न भित्र, न बाहिर । न आफन्ती, न पराई । न पक्का मित्र, न परम शत्रु । न शुद्ध, न त पूरै अशुद्ध । यो स्थितिलाई अंग्रेजीमा ‘लिमिनल स्पेस’ वा ‘लिम्बो’ भनिन्छ । मुक्ति चाहने दलितले यो हदसम्मको ‘लिमिनालिटी’बाट छुटकारा खोज्नुपर्छ ।

खेम सेन्चुरीको गीतकै शैलीमा हामीले एलिट जातिलाई, समुदायलाई सोध्नैपर्छ अब कि म तिम्रै हो भन, कि मायाले भो भन । अर्थात्, हामी पनि हिन्दू नै हौँ भने बाहुनक्षेत्रीसरह सम्मान र स्थान चाहियो । कुनै पनि संस्कारगत विभेद हुनुभएन । हामीले पनि उपनयन गर्न पाउनुपर्‍या । बाइबलझैँ बेद सबै कामी, दमै, सार्की, बादी, डोम, चमार, मुसहरको हातहातमा पुग्नुपर्‍यो । सबैसँग रोटीबेटी चल्नुपर्‍यो । कुनै मन्दिरमा, पूजामा, अनुष्ठानमा, चुलाचौकामा रोकतोक हुनुभएन ।

यदि यस्ता सवालमा भो भनिन्छ भने, संस्कारगत समानता सम्भव हुँदैन भने, मान्छे भएर मान्छेझैँ बाँच्न पाइँदैन भने, विकल्प खोज्नैपर्ने बाध्यता हुनेछ । सधैँ बाँधेर पिटिरहे गाईवस्तुले समेत दाम्लो चुडाएर उम्किने कोसिस गर्छन् । कुकुरभन्दा तल्लो व्यवहार गरे पनि आखिर हामी मान्छे नै हौँ । हरकोणबाट कथित उपल्ला जातिभन्दा फरक छैनौँ । समानताको प्रयासमा जे–जे त्याग्न पर्छ त्याग्छौँ । आशा गरौँ कि मुक्तिका खातिर धर्म परिवर्तनको बाटो रोज्नु नपरोस् ।

 

  About The Culture of Magar MAGAR (SHORT INTRODUCTION) https://magarworld.wordpress.com/2014/02/17/about-magar/   Magar is one of th...