Showing posts with label दलित. Show all posts
Showing posts with label दलित. Show all posts

Monday, September 02, 2024

दलितलाई खै ?

 दलितलाई खै ?

सञ्जीव कार्की

भदौ १६, २०८१ आइतबार ९:२५:५१

माइतीघर मण्डलमा एक जना व्यक्ति २३ दिनदेखि उभिरहेको छ। ओसोको माला लगाएको, दारी पालेको यामानको भीमकाय शरीर भएको एउटा मान्छे संन्यासी जस्तो पनि देखिन्छ। उसले जिउभरी फलामे सिक्रीले हातखुट्टा र शरीर बाँधेर प्रदर्शन गरिरहेको छ। एउटा ब्यानरमा लेखिएको हुन्छ, ‘दलितलाई खै ?’

कहिलेकाहीँ ऊ भिडले घेरिन्छ। कहिले एक्लै पनि उभिइ रहेको हुन्छ एउटा प्रश्न बोकेर दलितलाई खै ? ऊ धेरै आक्रोशित पनि बन्दैन जति बन्नुपर्ने हो ? उसले कहिल्यै संविधानभन्दा बाहिरको कुरा गरेको छैन। संविधान मान्दिन र च्यात्छु भनेको पनि छैन। कसैलाई अपशब्द बोलेर ललकारेको पनि छैन तर ऊ निरन्तर बोलिरहेछ दलितलाई खै ? प्रश्नको झटारो हानिरहेको छ। दलितलाई खै

 प्रायः विद्रोहहरू र विद्रोहीहरूको भाषा अलि खरो र रूखो हुन्छ। दलितको भाषालाई पनि आममान्छेले आवेग र विद्रोहको भाषाको रूपमा विश्लेषण र मूल्यांकन गर्ने गर्छन्। दलित चेतना विश्लेषणको मापदण्डको रूपमा दलितले प्रयोग गर्ने भाषालाई तीतो तीखो, सोझो झर्रा हुन्छ भनेर कलेज र विश्वविद्यालयतिर पढाइन्छ। यसको कारण हो दलित जे बोल्छ जे भन्छ जे लेख्छ त्यो उसको अनुभूतिले गर्छ। निषेध, बञ्चितीकरण पीडा अपमान, अवरोधका बीच बाँच्न अभ्यस्त मान्छेहरूको सामूहिक र सामुदयिक विशेषता हो ठेट भाषामा ठेट प्रस्तुति। तर, खगेन्द्र सुनार त्यस्तो विद्रोही हो जसको भाषामा खरोपनभन्दा भद्रपन बढी छ, आवेगभन्दा विवेकको कुरा ज्यादा छ, निराशाभन्दा आशाका कुरा धेरै छ। खगेन्द्र आजसम्म आँधीको रूपमा देखिएको छैन तर उस भित्रको चेतनाले कतै यो आँधी अगाडिको सन्नाटा हो कि भन्ने भान पनि दिन थालेको छ।

खगेन्द्र दलितको एउटा बिम्ब बनेर उभिएको कुरालाई आम मान्छेले विशेषगरी दलितले र मानवता पक्षधरले चासोपूर्वक देशविदेशबाट हेरिरहेका छन्, जसको पुष्टि पर्खन आजको डिजिटल दुनियाँमा हप्तौं, महिनौं र वर्षौं पर्खिनु पर्दैन। खगेन्द्रको साङ्लो बेरिएको तस्बिरमा देखिने। लाइक, क्रियाप्रतिक्रियाको बाढीले पलभरमा नै प्रतिबिम्बित गरिरहेको छ। 

आजको दुनियाँ डाइरेक्ट डेमोक्रेसीमा विश्वास गर्छ त्यो भनेको सामाजिक सञ्जाल र मिडियाहरू हुन्।

सामाजिक सञ्जाल कसैको मुठी र पञ्जाभित्र नभएको कारण त्यहाँ अभिव्यन्जित यथार्थले समाजको ऐना प्रस्तुत गर्दछ। सो ऐनाबाट हेर्दा खगेन्द्रको प्रश्न ‘दलितलाई खै ? ले सामाजिक वैद्यता क्रमशः फराकिलो बनाउँदै गैरहेको छ। गैरदलितहरू पनि दलितमाथिको विगतदेखिको लामो अत्याचार, अन्याय, निषेध र प्रतिशोध अब गर्न नहुने पक्षमा छन्। विगतका भूल र त्रुटि सच्याएर मानवताको प्रबद्र्धनको पक्षमा देखिएका छन्। जसको उदाहरण साउन २५ मा पशुपति परिसरमा भएको कोटीहोममा धार्मिक सत्ताले कृष्ण दमाईको व्यासान र डा. मित्र परियारको २८ गतेको कोटीहोम याग्यशालामा वैचारिक प्रत्याक्रमणलाई सहजै पचाएको दृष्टान्तबाट बुझ्न सकिन्छ।

खगेन्द्र सुनारले लगाएको चार पाँच केजी फलामको साङ्लोको बोझभन्दा धेरै बोझ सरकार र दलित मैत्री नबन्ने पार्टी संस्था र व्यक्तिहरूलाई भएको छ। तथापि आजसम्म सरकार उनको माग र मुद्दाबारे मुखर भएर बोलेको सुनिएको छैन। उनको आन्दोलनलाई लिएर व्यक्ति केन्द्रित र एउटा व्यक्तिको हिरोइज्म भनेर पनि सुनिन आएको छ। खगेन्द्रले बोकेको मुद्दा मानवताको मुद्दा हो कि होइन ? खगेन्द्रले बोकेको मुद्दामा ६० लाख दलितको आत्मसम्मान, पहुँच, प्रतिनिधित्व र राज्यमा सबैको हिस्सेदारीको माग छ कि छैन ? खगेन्द्रले बोकेको मुद्दामा अन्तर्राष्ट्रिय मानवअधिकारको विश्वव्यापी घोषणा पत्र सन् १९४८ आकर्षित हुन्छ कि हुँदैन ? आमदलितको उत्पीडन मुक्ति रक्षा र संरक्षणको भाव छ कि छैन ? यदि छ भने को व्यक्ति र कसको अगुवाइभन्दा पनि विषय, मुद्दा र सरोकार विशेष पक्ष हुन्। खगेन्द्रले चलाएको शान्तिपूर्ण र भद्र आन्दोलन आम न्यायप्रेमी सामाजिक र नैतिक समतामूलक न्यायका हितैषी सबैको सरोकारको मुद्दा हो। सबैभन्दा ठूलो कुरा मानवताको मुद्दा हो। मानवताको मुद्दामा पक्षधरता मात्रै हुन्छ। सानो स्वार्थ नीहित उद्देश्य छुद्र तरिका र विषय मात्र त्याज्य हुन्छन्। अन्य विषयमा आन्दोलनका लागि निमन्त्रणा र विशेष आग्रह आवश्यक हुन्न सार्वजनिक अपिल र जानकारी काफी हुन्छ। उनी आफ्ना लागि होइन, मानव मर्यादाको माग लिएर उभिएका हुन्।

मानव मर्यादा आम मान्छेको विषय हो। दलितको विषय, दलितमा पनि खगेन्द्रको विषय, कुनै एक अमुक समूहको भनेर यसलाई अन्डरस्टिमेट गर्नु कदाचित राम्रो होइन। गैरदलित समुदायका लागि आफ्ना पूर्वजले जानअन्जानमा गरेका अपराध र पापको प्रायश्चित गरेर सच्चिने र गलत प्रथा, संस्कार र परम्परा इरेज गरेर मानवीय मर्यादा र मानवाधिकारको पक्षमा उभिएर उत्पीडक वर्ग हुनुको कलंक पुछ्ने अवसर हो। यसर्थ यो आन्दोलन गैरदलितको झन् धेरै हो।

दलित गैरदलित सबै मिलेर खगेन्द्रले माग गरेको संविधान प्रद्धत अधिकार प्राप्तिको लडाइँलाई साथ दिन कन्जुस्याइँ गरेर षड्यन्त्र गरेर बस्ने छैनन्। मुद्दा व्यक्तिको पार्टीको र प्रायोजित होइन समुदायको हो। दलित समुदायको सम्मान पहुँच, मर्यादा, समता स्वतन्त्रता र अधिकारको पक्षकै माग छन्। राम्रो काम जसले गरे नि हुन्छ। असल कामको अनुशरण जसको गरे पनि हुन्छ। राम्रो वृक्ष जसले रोपे पनि त्यसको फल सबैको लागि हो।

आरनबाट फर्केपछि गाईको गहुँत र सुनपानीले छर्केर चोख्खिने चेतनाले कसरी लेख्छ : आरनको इतिहास, मान्छेको मर्यादा ? कसरी बुझ्छ ः सीपको अर्थ र सामथ्र्यको सीमा ? तपाईको दृष्टिकोणमै खोट छ, महोदय! कतिपल्ट उधार्नुहुन्छ यो छाती कति चलाउनुहुन्छ छुरा हाम्रो मुटुमा, हाम्रो संवेदनामा! डा. नवराज लम्सालका यी हरफमा प्रतिबिम्बित भए जस्तै दलितको संवेदना र मर्ममा छुरा चलाउनेहरूलाई एउटा कालो ब्यानरमा दलितलाई खै ? भन्ने प्रश्नले पत्थरमा घन बजारे झैं भएको छ। यामानको घनले खगेन्द्रले केन्द्रको मुटुमा ठोकिरहेका छन्। शान्तिपूर्ण तरिकाले प्रश्न गर्नु नजायज हो ? कमजोरी हो

६० लाख मान्छेको आत्मसम्मान र अधिकार प्रतिस्थापन गर भन्नु खगेन्द्रको अपराध हो ? संविधानले प्रत्याभूत गरेका अधिकार देऊ भन्नु खगेन्द्रको पाप हो ? संविधान रूपी चेक बाउन्स गरेर दलितलाई भुलाउनु छक्याउनु र धोका दिनु राज्य सत्ताको चरित्र भएको छ। त्यसविरुद्ध दलित आन्दोलन फेरि जुर्मुराएको छ। जोसमनी सन्त परम्पराका प्रभावकारी व्यक्ति सन्त शशिधरको समय पृथ्वीनारायणकालीन समयमा विशेष रूपमा उठेको जोसमनी सम्प्रदायको वैचारिक आधार अत्यन्तै प्रगतिशील देखिन्छ।

जातपात, छुवाछूत र मूर्तिपूजा नमान्ने, महिलालाई पनि दीक्षित गरिने, आदि यस सम्प्रदायका विशेषता हुन्। साथै रक्सीमासु खानेलाई निषेध नगर्ने। गुरुङ, मगर, राई, लिम्बु, बाहुन, क्षेत्रीमात्र नभएर कथित तल्लो जातका व्यक्तिसमेत यस सम्प्रदायमा दीक्षित भएका थिए। सोही आन्दोलनको विरासत अनेकन दलित नेताहरूले बोक्दै आए र अनेक राजनैतिक आन्दोलनमा दलित समुदायको सहभागिता रह्यो। दलित समस्या बहुआयामिक छ यसको समस्या समाधानका उपाय एक छैनन् अनेक छन् तसर्थ अनेक कोण र आयामबाट यसको समाधानमा लाग्नु उपयुक्त देखिन्छ।

पछिल्लो चरणको राजनीतिक आन्दोलन २०५२ को जनयुद्ध सुरु भएदेखि २०६२/६३ को परिवर्तनसम्म आइपुग्दा झन्डै १४ सय दलितले जीवन उत्सर्ग गरेर आफ्नो हकको ग्यारेन्टी संविधानमा गराउन सफल भएका हुन्। अहिले हलचल मच्चिने गरी राजनीतिक नेतृत्व गर्न खगेन्द्र तम्सिएका छन्। यद्यपि खगेन्द्र यो संविधानलाई मानेर नै यहीं भित्रबाट सामधान खोज्ने पक्षमा छन्। 

 

Friday, June 25, 2021

जातप्रथाको जरा

 जातप्रथाको जरा


तारालाल श्रेष्ठ

नयाँ पत्रिका, २०७८ असार ९ बुधबार ०९:३०:००

बाहुन नेता त बाहुनवादी भइगए, जनजाति, दलित तथा मधेसी नेता पनि पूरै बाहुनवादीझैँ देखिन्छन् 

मलाई ईश्वरको डर लाग्दैन, किनकि ईश्वर छँदैछैन, मलाई केवल ईश्वर मान्नेहरूसँग डर लाग्छ’ भन्ने स्टेफन हकिङ्ग्सको अभिव्यक्ति मननीय छ । रूपा सुनारका अनुसार उनलाई पहिले अति राम्रो व्यवहार गरेकी सरस्वती प्रधानले सबै ठीकठाक हुँदाहुँदै कामीकी छोरी पहिचानले सबै बेठीक बनायो । मिठो व्यवहार जात जोडिएपछि नमिठो भयो । उनले जात बताएपछि घरबेटी आमै (ला...भन्दै) आत्तिइन् । यहाँ रूपा सुनारको दोष देखिन्न । कामीकी छोरी उनको स्थायी पहिचान हो, इतिहासदेखि सबैभन्दा धेरै हिंसा बेहोर्ने नारीभित्र पनि ‘इन्टरसेक्सनालिटी’को केन्द्रबिन्दुमा उभिने प्रतिनिधि पात्र । निर्धक्क उनले आफ्नो पहिचान पेस गरिन् । घरबेटी आमैले अन्ततः मालाई अलि मिल्दैन भनेकी रहिछन् । ‘अनकन्डिसनल’ आमा–छोरीझैँ बनिसकेको सुनार छोरीले प्रधान आमालाई हिरासत पुर्‍याइन् (भलै प्रधान परिवारले विभेद नगरेको बताउँदै आएका छन्) ।

कोठा–कोटा काण्ड : प्रतिगामी राजनीति र प्राकृतिक प्रकोपले आक्रान्त समयमा ‘कोठा–कोटा काण्ड’ भाइरल बनेको छ । ‘दलितलाई धेरै सुविधा दिएर मात्तिएको’ अभिव्यक्ति उर्लिएको छ । तिमीले कोठा पाएनौ । हामीले कोटा पाएनौँ । तिमीलाई कोठा पनि चाहिने, कोटा पनि चाहिने ? जस्ता अभिव्यक्ति छ्यापछ्याप्ती उम्रिएका छन् । जनप्रतिनिधिहरूसमेत ‘दलितको कोटा काटिदिनुपर्छ’ भनेर सामाजिक सञ्जालमा उत्रिएको देखिन्छ । ‘के पायौ रूपा तिमीले, आलु ?’ जस्ता अराजक अभिव्यक्ति अनगिन्ती गुञ्जिरहेको छ । ‘सरस्वती प्रधानलाई विनासर्त रिहा गर’ भन्ने एकातिर । पीडक प्रधानलाई कसुरअनुसार ‘हदैसम्मको कारबाही गर’ भन्ने अर्कोतिर । ‘कोठा खोज्ने कामी, कोठा नदिने नेवार, गाली खाने बाहुन’ भन्ने अझ अर्कोतिर । सामाजिक सञ्जालदेखि दिक्क भएर यसो बाहिर निस्कन्छु । झुन्डझुन्ड समूह मुन्डमुन्ड सत्यझैँ झुटहरू भट्याइरहेका भेटिन्छन् । ‘यी दलितहरू जात जनाइहाल्छन्, जति दियो उति टाउकामा टेक्न खोज्छन्, बरु मलाई मारोस्, दलितलाई दिन्न’ यस्ता अभिव्यक्ति छ्यापछ्याप्ती सुनिन्छन् । विवाद यस्तरी उर्लिएको छ कि आरोप–प्रत्यारोप ‘कोठा–कोटा काण्ड’ बनिसक्यो । ‘कोठा चाहिए कोटा छोड’ भन्नसम्म भ्याइसके । 

मापसे परीक्षणझैँ सबैको जाँच गर्ने हो भने जातीय कसुरबाट मुक्त पवित्र मानव हिन्दू समाजमा सायदै भेटिन्छन् । राजादेखि रैतीसम्म, जनजातिदेखि दलितसम्म जातव्यवस्था मान्ने छन् । कथित उच्चले जातव्यवस्थाको संरचनात्मक लाभ लिन्छन् । नेता अगुवा उस्तै छन् ।

एन्टोनियो ग्राम्सीको मान्यतामा ‘कमन सेन्स’ निकै खतरनाक हैकमको स्वरूप हो । सत्यझैँ देखिने झुट आममान्यता बनेपछि झुट नै सत्यको स्वरूपमा स्थापित बन्छ । जसलाई आमसमाजले स्विकार्छ, कसैले आफ्नो घरमा भाडा लगाउँदा जसलाई मन पर्छ, उसलाई राख्ने हो, मेरो घरभित्र दलितलाई पसाउँदिनँ, बसाउँदिनँ भन्न किन नपाउने ? बाउबाजेदेखि मान्दै आएको रीतिलाई मान्न किन नपाइने ? नयाँ संविधानले पनि धर्मनिरपेक्षता सनातनदेखि चलिआएको परम्परालाई स्वतन्त्र छाडेरै अवलम्बन गर्नु भनेको छ । यी तर्क सत्यझैँ देखिने सफेद झुट हुन् । कानुनले जातीय विभेदलाई कसुर मानेको छ । अभियन्ताका आँखामा यी अझ कसुर मात्रै होइनन्, मानवलाई असमान मान्नु अपराध हो । आममानिसको ‘कमन सेन्स’ले वर्णव्यवस्था अपराध मान्दैन, ईश्वरले अह्राएको सनातनदेखि चलिआएको धर्मकर्म ठान्छ । समाजमा व्याप्त ‘कमन सेन्स’ले प्रधान आमाले जे गरिन्, ठीक गरिन् भन्ने छ । कानुन पालना गर्ने निकाय यही ‘कमन सेन्स’वाला संस्कारबाटै हुर्केर आएका हुन् । तिनको ‘कमन सेन्स’ले पनि यसलाई खास मुद्दा मान्दैन । खोजी गर्दै जाँदा उपल्ला ओहदाकै कोही होलान्, विभेद नगर्ने मनुवा । 

रूपा सुनार मीडियाकर्मी हुन् । आफ्नो आवाज आफैँ कसरी मुखरित गर्नुपर्छ, उनलाई ज्ञान थियो । एक अभियन्ता पनि भएकीले उनले जातव्यवस्था बुझेकी छन् । विभेदविरुद्ध लड्ने साहस बटुलिबसेकी छन् । विभेदविरुद्ध उनी बोलिन् । विभेद गर्ने अभियुक्तलाई कानुनको कठघरामा पुर्‍याइन् । उनकै शब्दमा– उनी कार्यरत मिडिया हाउसले भने एउटा सामान्य विज्ञप्तिसमेत निकालेन । सहकर्मी कलाकारले साथ दिने प्रतिबद्धता गरेनन्, अपवादबाहेक । एउटा ठूलो तप्काको ‘कमन सेन्स’ले भन्छ, रूपाले बेठीक गरिन् । तर, मलाई लाग्छ रूपाले ठीक गरिन् ! यस्तो साहस अघिल्ला पुस्तामा भइदिएको भए, यो समाज अर्कै भइसक्थ्यो । धेरैको मानसिक विचलन तथा आत्महत्या टर्थ्यो, सायद । गाउँ नै विस्थापित हुनबाट बच्थ्यो । अजित मिजार, नवराज विकहरू मारिन्नथे । बीभत्स घटनापछि पनि ‘उसो भए कामी–दमैले हुल बाँधेर छोरी लिन आउँदा हात बाँधेर बस्नुपथ्र्याे’ भन्ने साहस गर्दैनथे । सबाल्टर्नको विद्रोह गर्ने हुती हुँदैन भन्ने मान्यता स्थापित हुन्नथ्यो । धेरै दलित अभियन्ताले जात ढाँट्नु अनि जात उत्खनन भएर वियोगान्त बेर्होनुपर्दैनथ्यो । एउटा उदाहरण, एकजना ठूलै कदका दलित नेता कथित उपल्ला जातको घरमा जात ढाँटेर बसेका थिए । सधैँ घरबेटीसँगै मर्निङवाक जान्थे । त्यस दिन पनि बिहान हिँडेर दुवै घर आए । अखबार हेर्दा उनै डेरावाल मित्रको फोटो छापिएको रहेछ । नाम उही छ, जात फरक । राजनीतिक नियुक्तिबाट सम्मानित खबर छापिएको थियो । नियुक्तिले उनको वास्तविक जात पनि बाहिर ल्यायो । असल मित्र, घरबेटी झस्किए । तुरुन्तै घरबेटीले भनेछन्, ‘यदि जात नढाँटेको भए म मेरो घरमा राख्थेँ, अब राख्दिनँ ।’ जात ढाँट्दा पनि सधैँ संकटमा, जात नढाँट्दा पनि यस्तो हबिगत । 

मार्मिक जाहेरी : रूपा सुनारले महानगरीय प्रहरी वृत्त सिंहदरबारमा दिएको जाहेरीअनुसार प्रधान आमाले भाडामा बस्नेलाई हेप्न हुँदैन, एउटै घरपरिवारजस्तै मिलेर बस्नुपर्छ भनेकी थिइन् । तपाईं छोरीजस्तै भन्दै अत्यन्तै राम्रो व्यवहार देखाइन् । सुनार प्रधान आमाको व्यवहारबाट अत्यन्तै प्रभावित भइन् । जब जातको कुरा आयो, केही बेरअघि छोरीजस्तै भन्ने व्यक्तिको व्यवहारमा एक्कासि ठूलो परिवर्तन भयो । एक हिसाबले उनी छाँगाबाट खसे जस्तै भइन् । सुनार पनि खिस्रिक्क भइन् । अन्ततः अरू भए हुन्छ, दलितलाई हुन्न भन्ने सन्देश दिइयो । पुनः कुरा गर्दा पनि घरमा बूढी आमा, पूजाआजाको कारण देखाएर कोठा नदिने जवाफ आयो । सुनारले लेखेकी छन्, ‘मेरो मानवीय भावना, मर्यादामा अत्यन्त पीडाजनक आघात परेकाले...निजहरूले गरेको कसुरअनुसार हदैसम्मको सजाय गरी पाऊँ’ । जाहेरी मार्मिक देखिन्छ । सरस्वती प्रधानलाई रूपा सुनार छोरीजस्तै लागेकै हो । निकै राम्रो व्यवहार पनि देखाएकै रहिछन् । तर, सनातनदेखि चलिआएको आस्था (कमन सेन्स)ले रूपाको जातलाई स्विकार्न सकेन । उनको ‘कमन सेन्स’अनुसार रूपालाई कोठा दिनु अधर्मी हुनु हो । छोरीझैँ बोध गरेकी रूपाको दिल दुखाउनु सामान्य बन्यो । ईश्वरप्रतिको आस्थामा आघात अस्वीकार्य भयो । अन्ततः सुनार छोरीले राम्रो व्यवहार गरेकी प्रधान आमालाई कठघरामा उभ्याइन् ।

जयस्थिति मल्लले मैथिल र पहाडे बाहुनको सहयोगमा सबैभन्दा पहिले नेवार समुदायलाई ५६ जातमा विभाजन गरेका थिए । जातप्रथा ईश्वरले रचना गरेको होइन, कुटिल शासकको प्रदूषित परिकल्पनाको उपज हो । शासकको निकटतम छहारीको सेपले प्रभावित नेवार समुदाय जातव्यवस्थाको सिकार भए । झापामा अनुसन्धानका क्रममा एक हुल दलित शिक्षक अभियन्तासँग जातव्यवस्थाबारे बहस गर्दै थिएँ । खस–आर्यभन्दा बढी नेवारले आफूहरूलाई जातीय विभेद गर्ने गरेको सुनाउँदा खिस्रिक्क भएको थिएँ । काठमाडौंमा बहस गर्दैगर्दा बिबिसी नेपाली सेवामा कार्यरत सबिता विकले तपाईं पनि जातीय विभेद गरिरहनुभएको छ भन्दा भुतुक्कै भएको थिएँ । दलित समुदायसँग सम्बन्धित पुस्तकका लागि भेटघाट, छलफल गर्दैगर्दा पटक–पटक विभेदपूर्ण अभिव्यक्ति दिइसक्दो रहेछु । रूपा सुनारसँग कुराकानी गर्ने पत्रकार मित्रहरू पनि उनलाई ‘तल्लो जात’ र अन्यलाई ‘उच्च जात’ भन्दै सम्बोधन गर्दै थिए । हामी यस्तो सामाजिक पृष्ठभूमिबाट हुर्किरहेका छौँ, जहाँ हाम्रा बाआमा, आफन्त, पुरेत–पुजारी, शिक्षक सबै जातव्यवस्था मान्छन् । जातको जरा खोतल्दैनौँ । ‘कास्टिस्ट’का सन्तान, शिष्य हौँ, हामी । मापसे परीक्षणझैँ सबैको जाँच गर्ने हो भने जातीय कसुरबाट मुक्त पवित्र मानव हिन्दू समाजमा सायदै भेटिन्छन् । राजादेखि रैतीसम्म, जनजातिदेखि दलितसम्म जातव्यवस्था मान्ने छन् । कथित उच्चले जातव्यवस्थाको संरचनात्मक लाभ लिन्छन् । नेता अगुवा उस्तै छन् । बाहुन नेता त बाहुनवादी भइगए । जनजाति, दलित तथा मधेसी नेता पनि पूरै बाहुनवादीझैँ देखिन्छन् । बाहुनवाद जहाँतहीँ फैलिसकेको छ, प्रवाससम्म । वर्ग उत्थान हुनेबित्तिकै उच्च जातीय अहंकार शिरोपर गरिहाल्छन् । 

जातीय विभेदको प्रधान अभियुक्त वर्णव्यवस्था हो । सरस्वती प्रधान आफैँ उत्पीडित अस्तित्व हुन् । उत्पीडितको अगुवाइमा अब विद्रोह गरौँ : बाहुनविरुद्ध होइन, बाहुनवादविरुद्ध । खास–आर्य, जनजाति, दलित, मधेसी, महिला सबै समुदायमा बाहुनवाद जब्बर भाइरस भएर पसेको छ । अमरझैँ भएर बसेको छ । 

अग्रणी अभियन्ता भगत सर्वजित विश्वकर्माले दलित मुक्ति आन्दोलन छेडे । धेरै आन्दोलनकर्मीले चरम यातना भोगे । उनले नेतृत्व गरेको दलित मुक्ति आन्दोलनको प्रमुख मुद्दामध्ये विश्वकर्माले पनि कर्मकाण्ड र जनै धारण गर्न पाउनुपर्ने माग थियो । उक्त आन्दोलनलाई दबाइयो, उनी विस्थापित भए । अहिले उनको वंशकै ठेगान छैन । कामीलाई दलितको बाहुन भन्नेहरू भेटिन्छन् । दलितभित्रै आन्तरिक छुवाछुत छ्यापछ्याप्ती छ । वर्णव्यवस्थाबाहिरका जनजातिमा उस्तै गरी छुवाछुत फैलिसकेको छ । नेवारभित्र पनि आन्तरिक छुवाछुत विद्यमान छ । नेवार शक्तिशाली जनजाति समुदाय हुन् । वर्ण नै वर्ग बनिसकेको नेवार समुदायले जातव्यवस्थाको जरो उखेल्ने आन्दोलन हाँकेमा धेरै सुध्रिन सक्छ । कीर्तिपुरमा शुक्रसागर श्रेष्ठ जस्तो प्रबुद्ध व्यक्तिलाई महर्जन समुदायले अति अनादर गर्दारहेछन् । बुझ्दै जाँदा उनमा उच्च जातीय अहंकार थियो भन्छन् । सबैैजसो जनजाति नेतामा बाहुनवाद हावी देखिन्छ । राजालाई हिन्दू सम्राट मान्ने पूर्वपञ्च बाहुनवादी भैगए । वर्चस्वशील वर्तमान जनजाति नेता शेरधन राई, सुवास नेवाङ, पृथ्वीसुब्बा गुरुङ, रामबहादुर थापा पनि बाहुनवादी बन्दै छन् । मधेसीमा बाहुनवाद उस्तै कहालीलाग्दो छँदैछ । आजसम्म दलहरूले जातव्यवस्था उन्मूलनका लागि प्रशिक्षण दिएको देखिन्न । अहिले आहुति जातव्यवस्था ढालेर वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्दै मैदानमा उभिएका छन् । रूपा सुनारको मार्मिक जाहेरी बाहुनवादी ऐतिहासिकतासँग जोडिन्छ ।

जातप्रथाको जरा : सन् १८२७ देखि राममोहन रोयले ब्राह्मो समाज गठन गरे । दयानन्द सरस्वतीको आर्य समाज अस्तित्वमा आयो । रामकृष्ण परमहंस र स्वामी विवेकानन्द सुधार आन्दोलनमा लागे । ज्योतिराव फुलेहरू आन्दोलनमा उत्रिए । अम्बेडकरले मनुस्मृतिको दहन गर्दै बौद्धिक, राजनीतिक, आध्यात्मिक अझ सशक्त आन्दोलन छेडे । दशौँ हजार समर्थक लिएर मन्दिर प्रवेश गर्दै हिँडे । अन्ततः बौद्ध भिक्षु बनेर बितिगए । बाहुनवादीको बिगबिगी बढ्यो, घटेन । गान्धी नै वर्णवादी थिए । बालकृष्ण समले गान्धीलाई समयअनुसार तजबिज मिलाएर फाइदा लुट्न खप्पिस भन्थे । डोनाल्ड ट्रम्पदेखि नरेन्द्र मोदी हँुदै केपी ओलीसम्म तजबिजवादी बाहुनकै स्वरूपमा देखा परेका छन् । शशांक कोइराला उस्तै छन् । मोदनाथ प्रश्रित मार्काका अनगिन्ती बाहुनवादी बढ्दो छ । एउटी प्रधानलाई जेलमा कोच्दैमा कसरी जातव्यवस्था निर्मूल होला ? नेवाः समुदायलाई सबैभन्दा पहिले हिन्दूकरण गर्ने जयस्थितिभन्दा अघिदेखिको बाहुनवादको जरा देश–विदेशसम्म फैलिसकेको छ ।

भुटानमा ठाकुरसिंह पौडेल (विश्वकर्मा) शिक्षामन्त्री भए । तर, उनी तोकिएकै स्थानमा बस्ने, कथित उपल्ला जातका घरभित्र नपस्ने गरी आफ्नो धर्म निर्वाह गर्थे अरे । भुटानी शरणार्थी शिविरतिर उनको तारिफ हुन्थ्यो । जब ठाकुरसिंह शिक्षामन्त्री भए ‘अब यो कामीले सबैको टाउकामा टेक्ने भो, यिनका सन्तान सबै विष्ट–बराजुका अघि नझुक्ने भए’ भन्ने भय थियो । तर, ठाकुरले जातीय लक्ष्मणरेखा पार गरेर बितण्डा मच्चाउने आँट गरेनन् । स्वयं शिक्षामन्त्री गाउँगाउँ घुम्दा घरबाहिरै बसेर धर्म पालना गरेको भन्दै तारिफ हुन्थ्यो, शिविरमा । भुटानी शरणार्थी देशविहीन बने, जातव्यवस्थाविहीन बनेनन् । प्रवासमा पुनर्वासी भुटानी शरणार्थी मित्रहरूको घरघर वास बस्दै हिँडेँ । जहाँ पुग्यो, त्यहीँ सोधिन्थ्यो, बाबु के थरी हो ? मलाई झोँक चल्थ्यो, विश्वकर्मा भनिदिन्थेँ । कतिपय बुबाआमा झसंग हुन्थे । यो कुरा मैले आहुतिलाई सुनाएँ । आहुतिले त्यस्तो झुट नबोल्नुस् भने । 

प्रवासमा पनि दलितहरू पीडाका घटना सुनाउँथे । म्यानहटन महाबजारमा एक पठित दलित मित्रले आँखाभरि आँसु बनाएर विभेदको कुरा सुनाउँदा खिस्रिक्क बनाएको थियो । सिड्नी विश्वविद्यालयमा विद्यावारिधि गर्दैगर्दा मोम विश्वकर्माले अस्ट्रेलियामा आफूमाथि भएको जातीय विभेदलाई औँल्याएर लेखेका छन् । अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलियालगायत युरोपेली मुलुकहरूमा छुवाछुत र भेदभाव भोगेर उनी आत्तिए । थोरै नेपालीमा पनि थोरै दलित परदेश पुगेका छन् । परदेशमा पनि नेपाली भेट हुँदा सबैभन्दा पहिले जात सोधिहाल्छन्, दलितको थर बताएमा तपाईंबाट तिमी सम्बोधन गर्ने, पश्चिमा देशमा कसरी दलित आइपुग्यो भनी आश्चर्यात्मक दृष्टिले अनावश्यक सोधखोज गर्ने, सम्बन्ध विस्तार गर्नतिर खासै ध्यान नदिने...थ्री–डी (डर्टी, डेन्जर, डिमिनल÷डिफिकल्ट) काममा पनि असहयोग...कानुनी उपचार पनि असजिलो...रंगविभेदको कानुनले जातपातभेदलाई समेट्न नसक्दोरहेछ भन्थे, मोम विश्वकर्मा । परदेशमा त्यस्तै छ, स्वदेशमा यस्तै छ ।

अब के गर्ने त ? : जातीय विभेदको प्रधान अभियुक्त वर्णव्यवस्था हो । सरस्वती प्रधान आफैँ उत्पीडित अस्तित्व हुन् । उत्पीडितको अगुवाईमा अब विद्रोह गरौँ : बाहुनविरुद्ध होइन, बाहुनवादविरुद्ध । खास–आर्य, जनजाति, दलित, मधेसी, महिला सबै समुदायमा बाहुनवाद जब्बर भाइरस भएर पसेको छ । अमरझैँ भएर बसेको छ । जबकि, यो अस्थायी छ, रणनीतिक रूपले टिकाइरहेको छ । जातव्यवस्थाविरुद्ध व्यापक प्रशिक्षण गरौँ । जातीय विभेदसँग जोडिएका साहित्यको पनि आलोचनात्मक भञ्जन गरौँ । समकै ‘चिसो चुह्लो’ले अन्तरजातीय प्रेमीको कन्तबिजोग देखाएको छ । यशकुमारकै कलाले अन्तरजातीय प्रेमीलाई तर्साउँछ । अन्तरघुलन प्रयास असम्भवझैँ वियोगान्तमा टुंगिन्छन् । माओवादी जनयुद्धले उर्लाएको अन्तरघुलन उस्तै वियोगान्त बन्न पुगेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्म, कक्षाकोठादेखि पाठ्यक्रमसम्म, सडकदेखि सदनसम्म व्यापक प्रशिक्षण गरौँ । बरु दलितकै अगुवाईमा उत्पीडित सबै एकत्रित बनौँ । हामी कास्टिस्ट हौँ भन्ने स्विकारौँ र परिवर्तन गरौँ । नेल्सन मन्डेलाले भनेझैँ ‘फर्गिभ बट नट फर्गेट’ सिद्धान्तलाई शिरोपर गरौँ । जातव्यवस्थाको जरोलाई उखेलौँ । धर्म बाधक भए ‘एगनस्टिक’ बनौँ बरु । अनि सम्भव हुन्छ, असलीमा अन्तरघुलित समाज निर्माण । जहाँ सबै जातजातिका सन्तती स्वतन्त्र प्रेमी बन्नेछन् । जातव्यवस्थाको केवल इतिहास भन्नेछन् । 

 

दलित हामी हिन्दू हौँ, तर हिन्दू बन्न पाएका छैनौँ

 

दलित हामी हिन्दू हौँ, तर हिन्दू बन्न पाएका छैनौँ

डा. मित्र परियार

नयाँ पत्रिका, २०७८ असार १० बिहीबार ०७:४६:००

हामी पनि हिन्दू नै हौँ भने बाहुनक्षेत्री सरह सम्मान र स्थान चाहियो, कुनै पनि संस्कारगत विभेद हुनुभएन

खेम सेन्चुरीको संगीत, नेत्र अर्यालको शब्द, अनि खेम आफैँ र समीक्षा अधिकारीको स्वर । यी प्रतिभाहरूको उत्कृष्ट लोकदोहोरी ‘सुर्ती माड्दै–माड्दै गयो जोवन’ले विगत एक महिनामा लोकसंगीतको क्षेत्रमा निकै तहल्का मच्चाएको छ । टिकटकमा हजारौँ युवायुवती यही गीतमा रमाएर नाचेको, रमाइलो गरेको, लकडाउनको कहर काटेको देखिन्छ । यो सुन्दर रचनाको पहिलो र दोस्रो लाइन सापटी लिएर मैले हिन्दू समाजलाई, त्यसमा पनि विशेषतः ब्राह्मण समुदायलाई, प्रश्न गर्न चाहेँ, ‘कि म तिम्रै हो भन, कि मायाले भो भन ।’ अझ प्यारोडी पनि थपौँ होला, ‘पीडा सहँदै–सहँदै गयो जीवन, घृणा खप्दै–खप्दै गयो जीवन, हिंसा झेल्दै–झेल्दै गयो जीवन ।’ 

विगतका दशकमा थारू, मधेसी, आदिवासी तथा जनजातिको र अन्य धेरै पीडित पक्षको निकै सशक्त आन्दोलन भए । सम्बन्धित आन्दोलन, संघर्ष र विद्रोहहरूले एक हदसम्म आफ्नो अधिकार सुनिश्चित गर्न सके । आफ्नो पहिचान र गौरव निर्माण गर्न पनि सफल भए । तर, तिनले समेत छिःछि दूरदूर गर्ने दलितको आन्दोलन आजसम्म पनि किन उठ्न सकिरहेको छैन ? किन उनीहरू पहिचानविहीन बनेका छन् ? अधिकारबाट विमुख छन्

मलाई लाग्छ, दलित आन्दोलन थला पर्नुमा राजनीतिक, आर्थिक, शैक्षिक, भौगोलिक, पेसागतलगायत थुप्रै कारण छन् । त्यसमा पनि धार्मिक र सांस्कृतिक पक्ष प्रधान छ । अरू उत्पीडित समुदायको अलग भाषा छ, संस्कार छ, संस्कृति छ, भेष छ, धार्मिक परम्परा र इतिहास छ । भलै गुरुङ, मगर, थारू, धिमाल, राई, लिम्बूका भाषा र संस्कृतिहरू हराउँदै गएका हुन सक्छन् । ती कतिपय कमजोर बन्दै गएका पनि होलान्, विभक्त होलान् । तैपनि तिनको एकजुट हुने सांस्कृतिक आधार छन् । धार्मिक परम्परा छन्, हामी दलितको त्यस्तो अलग्गै पहिचान छैन ।

जोसँग सांस्कृतिक रूपमा नजिक छौँ, उनै हामीलाई नजिक पर्नै दिन्न । हाम्रो भाषा, संस्कृति, लवाइ, खवाइ सम्पूर्ण चिज पीडक (जाति) सँग मिल्छ । नश्ल, शारीरिक बनोट, नाकको आकार सबै उस्तै छ । कामी, दमाईं, सार्की, गाइने र बादी पहिला खस समुदायका थिए भन्ने पनि बलियो आधार छ । हरेक हिसाबले हामी सर्लक्कै बाहुनक्षेत्री हौँ । तर, पानी नचल्ने जातका रूपमा विदेशीभन्दा पनि परकोजस्तो व्यवहार हामीलाई गरिएको छ । 

ब्राह्मणवादले हामी दलितलाई यसरी फसाएको छ– वर्ण–व्यवस्थाले थिचिएका दलितको वर्ण नै छैन । हामीलाई अवर्ण भनिन्छ । हामी आफूलाई हिन्दू नै ठान्छौँ, तर हिन्दू बन्न दिइएको छैन ।

राज्यले अझै पनि यो व्यवस्था स्विकार्नु झनै दुःखद हो । कुनै तल्ला भनिएका जातिले पनि उच्च स्थान दाबी गर्ने दुस्साहस गर्ला भन्ने खतरा देखेरै होला ०७२ सालको संविधानले नै खसआर्य भन्नाले बाहुन, क्षेत्री, दसनामी आदि जातहरू मात्र हुन् भनेर किटानी गरेको । संविधानबाट नै जातीय तहगत विभेद संरक्षण गर्दै उस्तै अनुहारका, एकै देउता पुज्ने, एकै भाषा बोल्ने दलितले खसआर्यको सम्मानित स्थान खोज्न पाइँदैन भनिएको प्रस्ट छ ।

ब्राह्मणवादले हामी दलितलाई यसरी फसाएको छ– वर्ण–व्यवस्थाले थिचिएका दलितको वर्ण नै छैन । हामीलाई अवर्ण भनिन्छ । हामी आफूलाई हिन्दू नै ठान्छाैँ, तर हिन्दू बन्न दिइएको छैन । गाउँका देवीदेउता पुज्न भेटी–अक्षता दलितबाट पनि उठाइन्छ, तिनकै बाजा, धजा, पाला, त्रिशूल, गजुर नभई पूजा सम्पन्न हुँदैन । तर, फेरि तिनै दलित मन्दिर पसेर अरूले जस्तै पूजापाठ गर्न पाउँदैनन् । तिनको घरमा नाग टाँस्न, संस्कार र अनुष्ठान गर्न पुरोहित घिन मान्छन् । तँ हिन्दू होस् भनिन्छ । क्रिस्चियन बनेकाहरूमाथि आफ्नो सनातन धर्म बेचेको आरोप लाग्छ । कतै जान्नँ भन्ने दलित अझै धेरै छौँ, तर पवित्र वेद पढ्न त के छुन पनि पाइँदैन । हिन्दू भएर हिन्दूको घर पस्यो, धाराकुवा छोयो भने, मान्छे छोयो भने गालीगलोज र हिंसाको सिकार भइन्छ । जहाँ पनि देवीदेउताको, कुलकुलाइनको, बाईको, पितृको डर देखाएर हामीमाथि अपमान र हिंसा हुन्छ । यसरी धार्मिक रूपमा, सांस्कृतिक रूपमा हामी दलित घरको न घाटको बनाइएका छौँ । न यताको, न उताको । न वारि, न पारि । न भित्र, न बाहिर । न आफन्ती, न पराई । न पक्का मित्र, न परम शत्रु । न शुद्ध, न त पूरै अशुद्ध । यो स्थितिलाई अंग्रेजीमा ‘लिमिनल स्पेस’ वा ‘लिम्बो’ भनिन्छ । मुक्ति चाहने दलितले यो हदसम्मको ‘लिमिनालिटी’बाट छुटकारा खोज्नुपर्छ ।

खेम सेन्चुरीको गीतकै शैलीमा हामीले एलिट जातिलाई, समुदायलाई सोध्नैपर्छ अब कि म तिम्रै हो भन, कि मायाले भो भन । अर्थात्, हामी पनि हिन्दू नै हौँ भने बाहुनक्षेत्रीसरह सम्मान र स्थान चाहियो । कुनै पनि संस्कारगत विभेद हुनुभएन । हामीले पनि उपनयन गर्न पाउनुपर्‍या । बाइबलझैँ बेद सबै कामी, दमै, सार्की, बादी, डोम, चमार, मुसहरको हातहातमा पुग्नुपर्‍यो । सबैसँग रोटीबेटी चल्नुपर्‍यो । कुनै मन्दिरमा, पूजामा, अनुष्ठानमा, चुलाचौकामा रोकतोक हुनुभएन ।

यदि यस्ता सवालमा भो भनिन्छ भने, संस्कारगत समानता सम्भव हुँदैन भने, मान्छे भएर मान्छेझैँ बाँच्न पाइँदैन भने, विकल्प खोज्नैपर्ने बाध्यता हुनेछ । सधैँ बाँधेर पिटिरहे गाईवस्तुले समेत दाम्लो चुडाएर उम्किने कोसिस गर्छन् । कुकुरभन्दा तल्लो व्यवहार गरे पनि आखिर हामी मान्छे नै हौँ । हरकोणबाट कथित उपल्ला जातिभन्दा फरक छैनौँ । समानताको प्रयासमा जे–जे त्याग्न पर्छ त्याग्छौँ । आशा गरौँ कि मुक्तिका खातिर धर्म परिवर्तनको बाटो रोज्नु नपरोस् ।

 

Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...