Showing posts with label Crafts. Show all posts
Showing posts with label Crafts. Show all posts

Thursday, June 13, 2019

‘नाम्दर घोसुम’ अर्थात् तीनखापे झ्याल

नाम्दर घोसुम’ अर्थात् तीनखापे झ्याल
शनिबार, ०२ चैत २०७५, ०८ : ५८ |  ध्रुव दङ्गाल
आकर्षक बुट्टा। चिटिक्क ‘फिनिसिङ’। झट्ट हेर्दा उपत्यकाका प्राचीन दरबार र मन्दिरझैँ लाग्ने कलात्मक झ्याल। तस्बिरमा देखिएको यो झ्यालको नाम ह्योल्मो भाषामा ‘नाम्दर घोसुम’ हो। यसको अर्थ हुन्छ, तीनखापे झ्याल। पर्यटकीय गाउँ हेलम्बुको तेम्बाथाङमा निर्माणाधीन एकीकृत बस्तीको मुख्य आकर्षण नाम्दर घोसुम रहेको छ। नाम्दर घोसुम ह्योल्मो संस्कृतिको प्रतीक हो।
हरियाली हेलम्बुमा हरियै बनेर ठडिइरहेको एकीकृत बस्ती जति चिटिक्क देखिन्छ, उति नै सुन्दर लाग्छन्, घर–घरमा राखिएका नाम्दर घोसुम पनि। ‘नाम्दर घोसुम ह्योल्मो पहिचान हो,’ तेम्बाथाङ एकीकृत बस्ती विकास केन्द्रका अध्यक्ष साङ्गे लामा ह्योल्मो नागरिकसँग भन्छन्, ‘हामी लोप हुँदै गएको परम्परागत संस्कृति र पहिचान फर्काउँदै छौँ।’
एकीकृत बस्तीका ४४ घर निर्माणको अन्तिम चरणमा पुगेका छन्। सबै घरमा एउटाको दरले पहिचान झल्कने झ्याल अर्थात् नाम्दर घोसुम राखिएको छ। ‘घरका सबै झ्यालमा नाम्दर घोसुम राख्न चाहन्थ्यौँ,’ साङ्गले भने, ‘निकै महँगो पर्न जाने भएकाले पहिचान लोप हुन नदिन अनिवार्य एउटाका दरले नाम्दर घोसुम राख्ने निर्णयमा पुग्यौँ।’ पछिल्लो समय हेलम्बुबाट नाम्दर घोसुम हराउँदै जान थालेको थियो। पुराना घरमा भने नाम्दर घोसुम देख्न सकिन्थ्यो। तर, २०७२ वैशाख १२ को विनासकारी भूकम्पले घरहरू भत्काउँदा परम्परागत बुट्टेदार झ्याल पनि सँगै नासिए। भूकम्पसँगै अब नाम्दर घोसुम हराउने भयो भन्ने चिन्ता स्थानीयलाई लाग्न थालेको थियो।
यस्तैमा स्थानीयले एकीकृत बस्तीको अवधारणा अघि सारे। यसको सुइँको पायो, गैरसरकारी संस्था जनहित ग्रामीण सेवा समितिले। जनहित भूकम्पपछि एकीकृत बस्ती बराल्ने ठाउँको खोजीमा थियो। अक्सफामको सहयोगमा बन्ने बस्ती निर्माणको प्रस्ताव लिएर हेलम्बु गाउँपालिका पुग्दा अध्यक्ष निमाग्याल्जेन शेर्पाले शर्त राखे, ‘बस्तीका घरमा नाम्दर घोसुम राख्ने भए स्वीकृति दिन्छु।’ यसको सांस्कृतिक महŒव बुझेपछि दाता नाम्दर घोसुम राख्न राजी भएका थिए।
एक वर्षदेखि तेम्बाथाङ एकीकृत बस्ती निर्माण भइरहेको छ। पुराना घर नासिएसँगै नयाँ संरचना बन्दा मौलिकता झल्कने परम्परागत बुट्टेदार झ्याल लोप हुँदै गइरहेको अध्यक्ष शेर्पा बताउँछन्। ‘ह्योल्मो संस्कृति झल्काउने बस्ती बनाउन पाएकोमा खुसी छौँ,’ उनले भने, ‘यसलाई ह्योल्मो क्षेत्रभरि विस्तार गर्ने ध्येय छ।’ ऐतिहासिक महत्व बोकेको नाम्दर घोसुम बनाउन कठिन थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र हेलम्बु गाउँपालिकाले झ्याल बनाउने र बुट्टा कुँद्ने तालिम दियो। सुरुमा १५ र पछि १० दिनमा २५ युवाले तालिम लिए। झ्याल बनाउने बेलामा तालिम लिएका अधिकांश लाखापाखा लागिसकेका थिए। नुर्बु लामा, पेमाढिन्दु शेर्पा र ढुकग्याल्मु शेर्पा नाम्दर घोसुम बनाउन कस्सिए। यी नै तीन युवाले ४४ वटा नाम्दर घोसुम बनाएका हुन्।
‘झ्यालमा बुट्टा कुँदेर मौलिकता दिनु कठिन थियो,’ नुर्बु अनुभव सुनाउँछन्, ‘सुरुमा अलमलियौँ। आत्मविश्वासी भएर काम गर्दा अहिले पोख्त भएका छौँ।’ उनले भनेजस्तै नुर्बुसहितका तीन युवा नाम्दर घोसुम बनाउन निपूर्ण भएको अध्यक्ष साङ्गे बताउँछन्। उनका अनुसार स्थानीयले काठ उपलब्ध गराउँदा एउटा नाम्दर घोसुम बनाउन ८० हजार रूपैयाँ खर्च भएको छ।
एउटा नाम्दर घोसुम बनाउन एक जनालाई एक महिनासम्म समय लागेको थियो। एउटा झ्याल बनाएको ज्याला २५ हजार रूपैयाँ दिइएको थियो। अक्सफामले २० र एकीकृत बस्ती विकास केन्द्रले पाँच हजार रूपैयाँ ज्याला सहयोग उपलब्ध गराएका थिए। नाम्दर घोसुम बनाउने तीन युवाले एक वर्षमा ११ लाख रूपैयाँ कमाइ गरे। नाम्दर घोसुम राख्दा घरमा भूत–प्रेत नलाग्ने किंवदन्ती ह्योल्मो समुदायमा छ। ‘नाम्दर घोसुम राखेपछि घरमा सामान्य पूजाआजा नगरे पनि हुने भनाइ रहिआएको छ,’ अध्यक्ष साङ्ले भने। उनका अनुसार ह्योल्मो भाषामा नाम्दर भनेको झ्याल र घोसुमको अर्थ तीनवटा खापा भन्ने हुन्छ। नाम्दर घोसुमको अर्थझैँ एकीकृत बस्तीका घरमा तीन खापा भएका झ्याल राखिएका छन्।
ह्योल्मो क्षेत्रमा नाम्दर घोसुम कहिलेदेखि प्रचलनमा आयो भन्ने यकिन समय पत्ता नलागे पनि यसको प्रयोग निकै पुरानो भएको अनुमान गरिँदै आएको छ। साङ्गेका अनुसार कलाकार अरनिको चीन जाँदा तिब्बतमा विशेष आकर्षक बुट्टेदार झ्याल बनाएका थिए। तिब्बतसँग सीमा जोडिएका नेपालका हिमाली क्षेत्रमा अरनिकोले बनाएको तिनै बुट्टेदार झ्याल फैलिए। र, यो नेपालमा नाम्दर घोसुम नामले कहलियो। पहिचान झल्कने एकीकृत बस्ती निर्माणको नेतृत्व गरिरहेका साङ्गे थप्छन्, ‘तिब्बतमा बनेर पहिला उतै प्रचलनमा आए पनि नाम्दर घोसुम नेपालीको मौलिक सिर्जना हो।’

Wednesday, June 12, 2019

मेटिँदै जलद्रोणी अभिलेख

मेटिँदै जलद्रोणी अभिलेख
बटुवालाई पानी खुवाउन, देवीदेवतालाई जल चढाउन पहिलेपहिले जलद्रोणीको प्रयोग हुन्थ्यो र त्यहाँ अभिलेखसमेत कोरिएका थिए
फाल्गुन १५, २०७५लीला श्रेष्ठ
भक्तपुर — भक्तपुर दरबार स्क्वायर प्रवेशद्वारसँगै चारधाममध्येको जगन्नाथ मन्दिर अवस्थित छ  । जगन्नाथ मन्दिरको दक्षिण पेटीमा पेटी ढुंगाकै रूपमा ऐतिहासिक शिलालेख (अभिलेख) सहितको जलद्रोणी राखिएको छ  ।
इतिहासविद् डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार उक्त जलद्रोणीसहितको शिलालेख नेपाल सम्वत् ३४७ अर्थात् ७९२ वर्ष पुरानो अभिलेख हो । उक्त शिलालेखको कतिपय अक्षर मेटिइसकेको अवस्था छ । ‘मन्दिर र जलसँग सम्बन्धित वस्तु जीर्णोद्धार गरेको अभिलेख शिलालेखमा उल्लेख छ,’ उनले भने, ‘अभयमल्लको शासनकालमा महाभूकम्प गयो । अभयमल्लको पनि महाभूकम्पकै कारण मृत्यु भयो । सोही भूकम्पबाट क्षति भएको मन्दिर जीर्णोद्धार तथा पुनर्निर्माण भएको प्रमाण त्यही शिलालेख हुनपर्छ,’ उनले भने ।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वको इतिहास जान्ने महत्त्वपूर्ण अभिलेख संरक्षण गर्नुको सट्टा सम्पदा संरक्षणको जिम्मा लिएर बसेका निकायको बेवास्ताका कारण मासिँदै गएको इतिहासविद्हरू बताउँछन् । ‘७९२ वर्षअघिको अभिलेख पाउन ज्यादै दुर्लभ छ । त्यति बेलाको अभिलेख पाउनु ठूलो उपलब्धि हो,’ इतिहासविद् श्रेष्ठले भने, ‘सम्बन्धित संस्थाले संरक्षण गर्नुपर्छ, सम्पदा राष्ट्रको निधि हो ।’ १२ वर्षअघि नै पत्ता लागेको उक्त अभिलेख हालसम्म पनि पेटीकै रूपमा रहनु दुर्भाग्य भएको उनी बताउँछन् ।
संरक्षणको अभावमा शिलालेखको अभिलेख लोप हुने जोखिममा छ । त्यस्तै, भक्तपुर नगरपाकिलका खौमाटोल स्थित एक निर्माणाधीन घरको इनारसँगै जलद्रोणी संरक्षणविहीन अवस्थामा लडिरहेको छ । उक्त जलद्रोणीसँगै नेपाल सम्वत् २९५ मा लेखिएको मौलिक अक्षरहरू संकटमा छन् । इतिहासविद् श्रेष्ठका अनुसार जलद्रोणीमा मृगस्थली बस्ने एक भारदारनीले आफ्नो दिवंगत छोरा जयद्रव्यको मोक्ष (ब्रह्मत्व, विष्णुत्व र रुद्रत्व) प्राप्त होस् भन्ने इच्छा व्यक्त गरेको भनाइ जलद्रोणीको शिलालेखमा उल्लेख छ । मृतआत्मालाई शान्ति होस् भन्ने उद्देश्यले जलद्रोणी चढाएको पाइएको उनी बताउँछन् ।
खौमाटोलमा संकट अवस्थामा रहेको जलद्रोणीको अभिलेखले इतिहास बोल्ने इतिहासविद् श्रेष्ठ उल्लेख गर्छन् । ‘अमृतदेव पालो (पूर्व मध्यकाल) को दुर्लभ अभिलेख जलद्रोर्णीमा फेला परेको छ,’ उनले भने, ‘मठ, मन्दिरको जत्तिकै महत्त्व अभिलेखले बोकेको छ, पुरातात्त्विक सम्पदालाई संरक्षण गर्ने परिपाटी घटदै गयो ।’
त्यसैगरी, तौमढीस्थित विश्वनाथ भैरव मन्दिर दक्षिणतर्फको इनारमा पानी निकाल्दा टेक्ने खुटकलाको रूपमा १ हजार १४ वर्षअघिको शिलालेख प्रयोग भएको छ । निर्भय देवको पालामा नेपाल सम्वत् १२५ अर्थात् १ हजार १४ वर्षअघि लेखिएको उक्त शिलालेख मेटिइसकेको छ । संशोधन मण्डलद्वारा प्रकाशित अभिलेख संग्रह चौथो भागमा उल्लेख भएअनुसार उक्त शिलालेख नेपालभाषामा उल्लेख भएको पहिलो अभिलेख भएको इतिहासकारहरूको भनाइ छ ।
विश्वनाथ भैरवकै दक्षिणतर्फ पाइएको ढुंगेजलपात्र (शिलालेख) भूकम्पपछिको भग्नावशेषले पुरिएको छ । त्यसैगरी, भक्तपुर नगरपालिका ४ लाकुलाछेंस्थित आकाश भैरवका पुजारीले नेपाल सम्वत् ७७५ मा चढाएको जलद्रोणी अलपत्र अवस्थामा छ । उक्त जलद्रोणीसँगैको ढुंगेधारा पुरिएको छ । ढुंगेधारालाई पुरेर स्थानीय बासिन्दाले पाइपबाट सोही स्थानमा पानी ल्याएको छ । धार्मिक, सांस्कृतिक, ऐतिहासिक महत्त्वको जलद्रोणी, ढुंगाको अस्तित्व मेटिएसँगै खुल्ला संग्रहालय भक्तपुरको पहिचानमा प्रश्नचिह्न उठेको इतिहासकर्मीहरूको गुनासो छ ।
जलद्रोणी (जह्रुँ/जधुँ) लाई शैलद्रोणीसमेत भन्ने गरिन्छ । प्राचीनकालदेखि लिच्छविकालताका बटुवालाई पानी खुवाउन, देवी/देवतालाई जल चढाउन जलद्रोणीको प्रयोग थालिएको हो । ऐतिहासिक महत्त्वका जलद्रोणीहरू नेपाल मण्डलमा यत्रतत्र देख्न पाइन्छ । विभिन्न कालखण्डमा धातु, प्लास्टिकजन्य भाँडा, ट्यांकीको प्रयोगसँगै जलद्रोणीको प्रयोग घटदै गयो ।
जलद्रोणीको संरक्षण त पर को कुरा आजभोलि मान्छेहरू जलद्रोणीलाई डस्टबिनको रूपमा प्रयोग गर्न थालेको इतिहासविद् श्रेष्ठ बताउँछन् । सम्पदा संरक्षणको जिम्मा पाएको राष्ट्रियकला संग्रहालय, भक्तपुर नगरपालिका, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय (पुरातत्त्व विभाग) जलद्रोणी, जलद्रोणीमा कुँदिएका पुराना अभिलेखप्रति अनविज्ञ छन् । इतिहासको अभिलेख बोकेको शिलालेख, शिलापत्र जलद्रोणीसँगै संकटमा पुगेको राष्ट्रियकला संग्रहालय प्रमुख सरस्वती सिंह बताउँछिन् ।
नगरप्रमुख सुनील प्रजापतीले भने सम्पदा संरक्षणमा नगरपालिका अग्रसर भएको र पुरातत्त्व विभागको समन्वयमा नगरपालिकाले शिलालेखको संरक्षण गर्ने बताए । राष्ट्रिय कला संग्रहालय प्रमुख सिंह जलद्रोणी र जलद्रोणीमा कुँदिएको शिलालेखलाई यथास्थानमै संरक्षण गर्नुपर्ने बताउँछिन् ।
प्रकाशित : फाल्गुन १५, २०७५ ०९:०९

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...