Thursday, June 13, 2019

‘नाम्दर घोसुम’ अर्थात् तीनखापे झ्याल

नाम्दर घोसुम’ अर्थात् तीनखापे झ्याल
शनिबार, ०२ चैत २०७५, ०८ : ५८ |  ध्रुव दङ्गाल
आकर्षक बुट्टा। चिटिक्क ‘फिनिसिङ’। झट्ट हेर्दा उपत्यकाका प्राचीन दरबार र मन्दिरझैँ लाग्ने कलात्मक झ्याल। तस्बिरमा देखिएको यो झ्यालको नाम ह्योल्मो भाषामा ‘नाम्दर घोसुम’ हो। यसको अर्थ हुन्छ, तीनखापे झ्याल। पर्यटकीय गाउँ हेलम्बुको तेम्बाथाङमा निर्माणाधीन एकीकृत बस्तीको मुख्य आकर्षण नाम्दर घोसुम रहेको छ। नाम्दर घोसुम ह्योल्मो संस्कृतिको प्रतीक हो।
हरियाली हेलम्बुमा हरियै बनेर ठडिइरहेको एकीकृत बस्ती जति चिटिक्क देखिन्छ, उति नै सुन्दर लाग्छन्, घर–घरमा राखिएका नाम्दर घोसुम पनि। ‘नाम्दर घोसुम ह्योल्मो पहिचान हो,’ तेम्बाथाङ एकीकृत बस्ती विकास केन्द्रका अध्यक्ष साङ्गे लामा ह्योल्मो नागरिकसँग भन्छन्, ‘हामी लोप हुँदै गएको परम्परागत संस्कृति र पहिचान फर्काउँदै छौँ।’
एकीकृत बस्तीका ४४ घर निर्माणको अन्तिम चरणमा पुगेका छन्। सबै घरमा एउटाको दरले पहिचान झल्कने झ्याल अर्थात् नाम्दर घोसुम राखिएको छ। ‘घरका सबै झ्यालमा नाम्दर घोसुम राख्न चाहन्थ्यौँ,’ साङ्गले भने, ‘निकै महँगो पर्न जाने भएकाले पहिचान लोप हुन नदिन अनिवार्य एउटाका दरले नाम्दर घोसुम राख्ने निर्णयमा पुग्यौँ।’ पछिल्लो समय हेलम्बुबाट नाम्दर घोसुम हराउँदै जान थालेको थियो। पुराना घरमा भने नाम्दर घोसुम देख्न सकिन्थ्यो। तर, २०७२ वैशाख १२ को विनासकारी भूकम्पले घरहरू भत्काउँदा परम्परागत बुट्टेदार झ्याल पनि सँगै नासिए। भूकम्पसँगै अब नाम्दर घोसुम हराउने भयो भन्ने चिन्ता स्थानीयलाई लाग्न थालेको थियो।
यस्तैमा स्थानीयले एकीकृत बस्तीको अवधारणा अघि सारे। यसको सुइँको पायो, गैरसरकारी संस्था जनहित ग्रामीण सेवा समितिले। जनहित भूकम्पपछि एकीकृत बस्ती बराल्ने ठाउँको खोजीमा थियो। अक्सफामको सहयोगमा बन्ने बस्ती निर्माणको प्रस्ताव लिएर हेलम्बु गाउँपालिका पुग्दा अध्यक्ष निमाग्याल्जेन शेर्पाले शर्त राखे, ‘बस्तीका घरमा नाम्दर घोसुम राख्ने भए स्वीकृति दिन्छु।’ यसको सांस्कृतिक महŒव बुझेपछि दाता नाम्दर घोसुम राख्न राजी भएका थिए।
एक वर्षदेखि तेम्बाथाङ एकीकृत बस्ती निर्माण भइरहेको छ। पुराना घर नासिएसँगै नयाँ संरचना बन्दा मौलिकता झल्कने परम्परागत बुट्टेदार झ्याल लोप हुँदै गइरहेको अध्यक्ष शेर्पा बताउँछन्। ‘ह्योल्मो संस्कृति झल्काउने बस्ती बनाउन पाएकोमा खुसी छौँ,’ उनले भने, ‘यसलाई ह्योल्मो क्षेत्रभरि विस्तार गर्ने ध्येय छ।’ ऐतिहासिक महत्व बोकेको नाम्दर घोसुम बनाउन कठिन थियो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र हेलम्बु गाउँपालिकाले झ्याल बनाउने र बुट्टा कुँद्ने तालिम दियो। सुरुमा १५ र पछि १० दिनमा २५ युवाले तालिम लिए। झ्याल बनाउने बेलामा तालिम लिएका अधिकांश लाखापाखा लागिसकेका थिए। नुर्बु लामा, पेमाढिन्दु शेर्पा र ढुकग्याल्मु शेर्पा नाम्दर घोसुम बनाउन कस्सिए। यी नै तीन युवाले ४४ वटा नाम्दर घोसुम बनाएका हुन्।
‘झ्यालमा बुट्टा कुँदेर मौलिकता दिनु कठिन थियो,’ नुर्बु अनुभव सुनाउँछन्, ‘सुरुमा अलमलियौँ। आत्मविश्वासी भएर काम गर्दा अहिले पोख्त भएका छौँ।’ उनले भनेजस्तै नुर्बुसहितका तीन युवा नाम्दर घोसुम बनाउन निपूर्ण भएको अध्यक्ष साङ्गे बताउँछन्। उनका अनुसार स्थानीयले काठ उपलब्ध गराउँदा एउटा नाम्दर घोसुम बनाउन ८० हजार रूपैयाँ खर्च भएको छ।
एउटा नाम्दर घोसुम बनाउन एक जनालाई एक महिनासम्म समय लागेको थियो। एउटा झ्याल बनाएको ज्याला २५ हजार रूपैयाँ दिइएको थियो। अक्सफामले २० र एकीकृत बस्ती विकास केन्द्रले पाँच हजार रूपैयाँ ज्याला सहयोग उपलब्ध गराएका थिए। नाम्दर घोसुम बनाउने तीन युवाले एक वर्षमा ११ लाख रूपैयाँ कमाइ गरे। नाम्दर घोसुम राख्दा घरमा भूत–प्रेत नलाग्ने किंवदन्ती ह्योल्मो समुदायमा छ। ‘नाम्दर घोसुम राखेपछि घरमा सामान्य पूजाआजा नगरे पनि हुने भनाइ रहिआएको छ,’ अध्यक्ष साङ्ले भने। उनका अनुसार ह्योल्मो भाषामा नाम्दर भनेको झ्याल र घोसुमको अर्थ तीनवटा खापा भन्ने हुन्छ। नाम्दर घोसुमको अर्थझैँ एकीकृत बस्तीका घरमा तीन खापा भएका झ्याल राखिएका छन्।
ह्योल्मो क्षेत्रमा नाम्दर घोसुम कहिलेदेखि प्रचलनमा आयो भन्ने यकिन समय पत्ता नलागे पनि यसको प्रयोग निकै पुरानो भएको अनुमान गरिँदै आएको छ। साङ्गेका अनुसार कलाकार अरनिको चीन जाँदा तिब्बतमा विशेष आकर्षक बुट्टेदार झ्याल बनाएका थिए। तिब्बतसँग सीमा जोडिएका नेपालका हिमाली क्षेत्रमा अरनिकोले बनाएको तिनै बुट्टेदार झ्याल फैलिए। र, यो नेपालमा नाम्दर घोसुम नामले कहलियो। पहिचान झल्कने एकीकृत बस्ती निर्माणको नेतृत्व गरिरहेका साङ्गे थप्छन्, ‘तिब्बतमा बनेर पहिला उतै प्रचलनमा आए पनि नाम्दर घोसुम नेपालीको मौलिक सिर्जना हो।’

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...