Tuesday, April 28, 2020

झर्रोवाद: हिजो र आज

झर्रोवाद: हिजो र आज
कान्तिपुर, फाल्गुन १८, २०७५ बालकृष्ण पोखरेल
काठमाडौँ — यसभन्दा अगाडि झर्रो शब्दलाई लिएर केवल छेत्रीहरू मात्रै घमण्ड गर्थे । मठ्याहा छेत्रीहरूबाट आफूलाई अलग राख्न एकथरी चोखा भनाउँदा छेत्रीहरू आफूलाई ॅझर्रो’ भन्ने गर्थे । ॅनौलो पाइलो’ र उपर्युक्त अन्य ६ पत्रिकाका लेखकहरूले हिन्दी र संस्कृतको उग्र प्रयोगको विरोधमा उभिएको आफ्नो शैलीलाई पनि यसै 'झर्रो' विशेषणले सिङारे। यसरी नेपाली भाषामा झर्रोवादको जन्म भयो
जब संवत् २०१३ मा बनारसका तन्नेरी नेपाली विद्यार्थीहरूले नेपाली भाषाको भविष्यतर्फ ध्यान दिए उनीहरूको सातोपुत्लो उड्यो। उनीहरूले नेपाली भाषा हिन्दीका शब्द, वाक्य एवं उच्चारण पद्धतिबाट झन्झन् धेर प्रभावित हुँदै गएको देखे। स्वदेशमा विश्वविद्यालय नभएकाले भारतका विश्वविद्यालयहरूमा पढ्न जाने नेपाली छात्रहरू भारतको समाजमा केही महिनाभित्रै कति साह्रो रतिन्थे भने तिनीहरूलाई भारत बसुन्जेल परदेशको न्यास्रोले कहिल्यै छुँदैनथ्यो
जब यी छात्रहरू पढलेख गरेर नेपाल फर्कन्थे यिनीहरूको रूप रङ अर्कै हुन्थ्यो। पोसाक र आनीबानीमा मात्रै होइन, बोली र भाषामा पनि यी भारतको रङमा रङ्गिएका हुन्थे। यसरी फर्केर नेपाल आउने ‘इन्डियारिटर्न’ हरूको पारम्परिक हित्यारी–मित्यारी त प्रायः हिन्दीमै चल्थ्यो, तर जब यी नेता अथवा लेखक भएर समाजमा प्रसिद्ध हुन चाहन्थे, यिनीहरू लाजैगालै नेपाली भाषामा बोल्न र लेख्न बाध्य हुन्थे र नेपाली भाषाले एउटा अड्बाङ्गे रूप पाउन लाग्यो, जो झन्डै यस प्रकारको हुन्थ्यो— ‘अगर हामी नेपालीहरूले आफ्नो देशको तकाजामा ध्यान दिंदैनौं र देशको मागको बाबजुद हामी चल्छौं त यो जोरसँग ऐलान गर्न सकिन्छ कि हामी आदमी होइनौं बल्कि हेवान हौं।’

अर्कोतर्फ फेरि बनारसबाट विद्या कमाएर घर फर्किएका पण्डितहरू झन्डै यसो लेख्थे— ‘उतुङ्ग हिमशैलको धबल प्रांगणमा निवास गर्दै पतितपावनी कल्मष प्रक्षालन कार्य सुसम्पन्ना सरिता वाग्वतीको पवित्रोदक पान गर्दै पर्वत चूडामणि चन्द्रागिरिको नैकट्य पाएका काष्टमण्डप निवासीहरू धन्य हुन्
।’ बनारसै पढिरहेका भए पनि ती तन्नेरी छात्रहरूले विदेशी हिन्दी र पाण्डित्यपूर्ण संस्कृतको ज्यास्ती प्रयोगले नेपाली भाषाको आफ्नोपना थिचोमिचोमा परेको देखी सहेनन्। ‘इन्डियारिटर्न’ अंग्रेजीबाजहरूले अगर, मगर, बल्कि, चूँकि, बाबजुद, जरुरत, तकाजा, आदमी, हेवान। बीसवीं, बाईसवीं, एसियाईजस्ता असंख्य हिन्दी शब्दहरूलाई ल्याएर नेपालीलाई पाहाडी हिन्दी भनेर घोषणा गर्ने पण्डाहरूलाई सजिलो तुल्याइदिएका थिए भने सयकडा उनान्सय मात्रामा तत्सम शब्द मात्रै काचर्ने संस्कृतवादी बाजेहरूले पनि ती पण्डाहरूलाई नेपाली भाषाको स्वतन्त्र अस्तित्वमा आरोप लगाउन कम सजिलो पारिदिएका थिएनन्
संवत् २०१३ तिर बनारसमा पढिरहेका ती नेपाली छात्रहरूले यस विषादपूर्ण झ्याउलाई उखेलेर फाल्ने अठोट गरे। विश्वविद्यालयको अध्ययनतिर भन्दा धेर समय उनीहरूले नेपाली भाषा र साहित्यको समस्यामा लगाउन लागे। फलस्वरूप ‘नौलो पाइलो’, ‘छात्र’, ‘छात्रदूत’, ‘उदय’, ‘दीपक’ र ‘सन्देश’ नाउँका सात पत्रिकाहरूमा ती छात्रहरूका असन्तोषपूर्ण आवाजहरू प्रकाशित हुन लागे। यी पत्रिकाहरूमध्ये ‘नौलो पाइलो’ त ती छात्रहरूको एक प्रकारको मुखपत्र नै थियो, किनभने यसमा लेखिएको थियो, ‘झर्रो नेपाली संस्कृति र साहित्यको नमुना।’ यसभन्दा अगाडि झर्रो शब्दलाई लिएर केवल छेत्रीहरू मात्रै घमण्ड गर्थे। मठ्याहा छेत्रीहरूबाट आफूलाई अलग राख्न एकथरी चोखा भनाउँदा छेत्रीहरू आफूलाई ‘झर्रो’ भन्ने गर्थे। ‘नौलो पाइलो’ र उपर्युक्त अन्य ६ पत्रिकाका लेखकहरूले हिन्दी र संस्कृतको उग्र प्रयोगको विरोधमा उभिएको आफ्नो शैलीलाई पनि यसै ‘झर्रो’ विशेषणले सिङारे। यसरी नेपाली भाषामा झर्रोवादको जन्म भयो। ‘इन्डियारिटर्न’ बाज र ‘बनारसरिटर्न’ बाजेहरू झर्रोवादको जन्मले गर्दा चिन्तित भए। उनीहरूले झर्रोवादलाई अपरिपक्व मथिङ्गलको तुजुक ठहर्‍याउने चेष्टा गरे। के कुरो यहाँ भनिरहनु नपर्ला भने, बाज र बाजे दुवैथरीलाई आक्रमण गरेबापत झर्रोवादले समर्थन कसैबाट पाएन। बरु यसले भर्त्सना र गाली मात्रै सुन्नुपर्‍यो। झर्रोवादले बाज र बाजे श्रेणीमध्ये कुनैमा नपर्ने केही नेपाली साहित्यिकहरूका दोषहरूलाई लिएर पनि आलोचना गरेको थियो। यसैले ती पनि झर्रोवादका विरोधी नै भए
यसरी ठूलाबडाको उपेक्षाको पात्र भएर पनि झर्रोवाद ओइलाएन। यसले साहित्यिक समाजमा हाहाकार ल्याइपुर्‍यायो। नेपाली भाषाको समस्यामा सोच्न यसले धेरैलाई हुटहुटी लगायो। भाषाको नाउँमा ‘भ’ पनि नजान्नेहरू पनि आफूलाई समाल्न नसकी यस कोलाहलमा भाग लिन जुर्मुराए। नेपाली भाषा–संसारमा चिन्तनको सूत्रपात भयो। तर्कका लागि पेस गर्नेहरू पनि कम थिएनन्। तैपनि ‘नहुनुभन्दा कानु मामा जाती’ भन्ने उखान चरितार्थ हुँदो थियो। समाजमा धेरै कुरा यस्ता हुन्छन् जो विद्वतवर्गबाट सर्दै शिक्षक–मण्डलीमा पुग्छन् र त्यसपछि मात्रै छात्र–संसारमा पुग्छन्। तर झर्रोवादचाहिं छात्र–संसारमा नै जन्म्यो, पछिबाट मात्रै यसलाई शिक्षक र विद्वान्हरूले चिने। सम्भतः छात्रहरूको मथिङ्गलको उप्जा भएकाले नै झर्रोवादले यसरी लाञ्छित र अपमानित हुनुपरेको होला
हुन त परिवर्तनशील संसारको वस्तुको नाताले भाषा पनि सधैं एकै अवस्थामा रहिरहन सक्दैन। यसले बेलाबखतमा काँचुली नफेरी धरै पाउन्न। तर, संवत् २०१३ भन्दा पहिलेको नेपाली भाषा र आजको नेपाली भाषालाई कसैले दाँज्यो भने ऊ के निर्क्योलमा पुग्नेछ भने यी सात वर्षहरूमा जे–जति परिवर्तन नेपाली भाषामा आयो त्यसको मात्रालाई लर्तरो ढकले जोख्न सकिने छैन। सात वर्षपहिलेको रोगी नेपाली भाषालाई आज हामी एकदम सारसौंदो हालतमा देख्दैछौं। सात वर्षअगाडि पराईको मुखमा परेर पच्नपच्न आँटिसकेको नेपाली भाषा आज कतिसम्म बलियो भइसकेको छ भने पराईको मुखको गाँस हुने परिस्थिति अब अतीतको वस्तु भइसकेको छ। हुन पनि आज नेपाली भाषा ‘इन्डिया–रिटर्न’ बाज र ‘बनारस–रिटर्न’ बाजेहरूको चटक हेर्न गुजुम्म उभिने मूर्खहरूको भाषा मात्र नभएर आफ्नै माटोमा शिक्षित भएका चेतनशील हिमालीहरूको भाषा हुन पुगेको छ। हुन सक्छ, यस परिवर्तनको प्रमुख कारण शिक्षाको प्रचार हो, तर के कुरालाई पनि लुकाउन उचित नहोला भने यस परिवर्तनलाई यति चाँडै सार्थकता प्रदान गर्न झर्रोवादको पनि चानचुने योगदान छैन। यस सत्यलाई अरूले भन्दा एकेडेमीका उपकुलपति बालचन्द्र शर्माले मानेझैं छ

झर्रोवादले नेपाली भाषालाई बरालिन नदिएर जोगाएको हो तापनि परम्परागत बाजे–शैली र सात सालपछि ढुसी पलाएझैं पलाएको बाज–शैलीका अनुयायीहरूले यसलाई उल्लीबिल्ली मात्रै गरे
। आफ्नो भाषाको सेवा गरेबापत झर्राहरूले ‘टर्रो’ को संज्ञा पाए। कहाँसम्म भने एउटा पत्रिकामा व्यंग्यस्तम्भको नाउँ नै ‘झर्रोटर्रो’ राखियो। पहिले यस स्तम्भको उद्देश्य थियो— झर्रोवादलाई टर्रो घोषित गर्नु। आज दुई जना झर्रोवादीहरू यस पत्रिकाको सल्लाहकारमण्डलमा छन्। तापनि ‘झर्रोटर्रो’ भन्ने उक्त स्तम्भले झर्रोवादप्रति काठमाडौंका मानिसको प्रतिक्रियाको सम्झना दिन्छ। आज निक्लने अधिकांश पत्रपक्रिकाहरू बाज र बाजे–शैलीदेखि मुत्त भइसकेका छन्। हुन त बिग्रनु जति सजिलो हुन्छ त्यति सजिलो सप्रनुहुन्न, र त यी पत्रपत्रिकाहरूमा पनि एकरूपता कायम हुन सकेको छैन। तैपनि झट्टै नै हाम्रा लेखकहरू आफ्नो भाषाको स्वभावलाई चिन्न बानी पार्नेछन् भन्ने कुरामा केही शंका छैन

झर्रोवाद आजभन्दा सात वर्ष पहिले उरालिइरहेका बाजे र बाजहरूलाई तहमा ल्याउन ज्यादै उपयोगी ‘वाद’ थियो
। नेपाली भाषाका शब्दहरू गाउँले शब्द हुन् र तिनको साटो संस्कृत र हिन्दीबाट सापट लिए मात्र उच्च भावको अभिव्यञ्जना हुन सक्छ भन्नेहरूलाई मुखभरिको जवाफ दिनलाई झर्रोवादले पनि बाध्य भएर एउटा उग्र बाटो पक्रिनुपरेको थियो। यसबाट जाहेर हुन्छ— बाजवाद र बाजेवादसरह झर्रोवाद पनि एउटा उग्रवाद नै थियो। उग्र नभईकन कट्टर बाज र बाजेहरूलाई तह लगाउन नसकिने देखिएबाट नै झर्रोवादले उग्र काम जिम्मा लिएको हो। हुन त झर्रोवादीहरूले विभिन्न स्रोतबाट शब्द सापट लिने कुरालाई सैद्धान्तिक दृष्टिले विरोध गरेका छैनन्, केवल आफूसँग भएका शब्दहरूलाई पनि साहित्यमा प्रयोग गर्न थालौं भन्ने मात्रै उनीहरूले भनेको पाइन्छ, तैपनि उनीहरूले लेखेका कथा, कविता र निबन्धमा चाहिँ तत्समविरोधी भावना अनि विदेशी स्रोतबाट आएका शब्दहरूका विरोधमा चिम्टे नीति पाइन्छ। उदाहरणार्थ, ‘मानव सभ्यताप्रेमी प्राणी हो’ भनेर लेख्नुपरे कुनै झर्रोवादी यसो लेख्थ्यो, ‘मानिस साभालुपनारोजुवा जनावर हो।’ हुन त आज छर्लङ्ग्याउनु, छर्लङ्ग्याइ, गहकजस्ता शब्दहरू ज्यादै लोकप्रिय भइसकेका छन् तर ‘छर्लङ्ग, अव्यय र ‘गहकिलो’ विशेषणबाट कुँदिएका कृत्रिम शब्द हुन् भन्ने कुरा हामीमध्ये कमैलाई थाहा होला। वास्तवमा स्पष्ट गर्नु, स्पष्टकरण र वजनजस्ता शब्दहरूलाई हुन्याउने उद्देश्यले यिनको निर्माण झर्रोवादअन्तर्गत भएको हो
झर्रोवादको आरम्भ निम्नलिखित सिद्धान्तको थियो–

१. ग्रामीण अथवा सदरिया भन्ने भेद ल्याएर गाउँमा प्रचलित शब्दहरूलाई घृणा गर्नुको मतलब नेपाली भाषालाई आफ्नो खुट्टामा उभिन नदिनु हो। नेपालीझैं शततः गाउँलेहरूको काखका हुर्किएको भाषाले ग्राम्य–दोष एवं ग्रामीणता भनेर गजक्क पर्न सुहाउन्न
२. सापट लिनु अनुचित होइन तर ज्यास्ति सापट लिनुचाहिं राम्रो होइन

३. नेपालीकी जननी संस्कृत हो भन्दैमा शब्दकोशका जम्मै शब्दहरूलाई नेपाली भाषामा प्रयोग गर्न हुन्छ भन्ने धारणा अनुचित हो

४. देशमा अनेक नागरिक हुन्छन्
। त्यसैगरी भाषामा पनि अनेक शब्द हुन्छन्। यी शब्द हुन् भाषा–संसारका नागरिक। चाहे विश्वको कुनै कुनाबाट आएको मानिस होस्, नेपालको नागरिक भएपछि त्यसले नेपाली ऐन मान्नैपर्छ, त्यसैगरी चाहे संस्कृतबाट आएको शब्द होस् चाहे अंग्रेजीबाट, त्यसको ‘स्पेलिङ’ अन्य नेपाली शब्दहरूको आधारमा ढालिनुपर्छ
५. कुनै छिमेकमा एकभन्दा धेरै भाषा बोलिन्छन् भने तिनको बीचमा अनेकौं समानता औ साझा बेहोराहरू हुनु अवश्यम्भावी छ
। यस्ता साझा बेहोराहरूको महत्त्व मनग्गे बेसी हुन पनि सक्छ, तापनि यी साझा बेहोरालाई लिएर छिमेकको कुनै पनि भाषाले पेवापन अनुभव गर्न सक्दैन। उदाहरणार्थ, हामी संस्कृतबाट लिइएका तत्सम शब्द, अरबेली–फार्सेलीबाट अनि अंग्रेजीबाट आएका सापट शब्दहरूलाई लिन सक्छौं। यी शब्द नेपाली, हिन्दी, बंगाली, मराठी इत्यादि सबै भाषाका साझा शब्द हुन्। यी साझा शब्दहरूको आफ्नै प्रकारको महत्त्व हुन्छ तापनि यिनले भाषाको अंग पूरा गर्दैनन्। भाषाको अंग त्यस बेला मात्रै पूरा हुन्छ जब त्यसको वैयक्तिकताको पनि कदर हुन्छ। कुनै भाषाको पेवा बेहोरा नै त्यस भाषाको व्यक्तित्व हो। त्यसैले पेवा बेहोरालौ पाखे र गाउँलेको संज्ञा दिनु उचित होइन

यिनै थिए झर्रोवादका केही गन्थन
। यी गन्थनलाई कार्यरूपमा ल्याउन झर्राहरूले तलका उपायहरू अङालेका थिए ः–
(क) इतिहासका पानाबाट मृतप्रायः शब्दहरूलाई लिनु अनि तिनलाई लोकप्रियता दिने चेष्टा गर्नु

(ख) पूर्व र पश्चिमका स्थानीय नेपाली भाषिकाहरूबाट शब्द बटुलेर अभावको पूर्ति गर्नु

(ग) नेपाली शब्दहरूको आधारमा कृत्रिम पद्धतिबाट शब्द निर्माण गरेर अभावको पूर्ति गर्नु

(घ) संस्कृतबाटै हिन्दी इत्यादिसित नमिल्ने किसिमले शब्द निर्माण गरेर अभाव टार्नु

(ङ) स्पेलिङलाई सकेसम्म सजिलो पार्नु

(च) नेपाली तद्धितपुछ्रे र कृत्पपुछ्रे प्रत्ययहरूको चलन बढाउनु


झर्रोवादले अङालेका यी उपायहरूमध्ये पहिलो (क) र चौथो (घ) ठीकठीकैका भएकाले तिनलाई लिएर हल्ला मच्चिएन तर बाँकी चारलाई लिएर चाहिँ ठूलो हल्ला मच्चियो
। यिनमध्ये तेस्रो (ग) को त अति नै निन्दा भयो। हुन त यस उपायअन्तर्गत जन्माइएका थुप्रै शब्दहरू नेपाली भाषामा प्रचलित पनि भए (जस्तै ः छर्लङ्ग्याउनु, गहक इत्यादि), तर आज झर्रोवादीहरूले गाली सुन्नुपरेको सबैभन्दा ठूलो कारण हो— यही तेस्रो (ग) उपाय
दोस्रो उपाय (ख) लाई धेरैले समर्थन गर्दै आएका छन्
। तापनि कसैकसैले चाहिँ यसलाई साहित्यमा पाखेपन ल्याउने उपाय पनि भनेका छन्। हालै एक जना अर्थशास्त्री गोविन्दप्रसाद लोहोनीले पनि यस प्रकारको विचार व्यक्त गरेको पाइयो। हुन पनि अर्थशास्त्र र यस्तै अन्य असम्बन्धित विषयका विशेषज्ञहरू नै झर्रोवादको यस उपायका विरोध भई आएका छन्। तर ज्ञातव्यचाहिँ के हो भने यो उपाय झर्रोवादको सबैभन्दा राम्रो उपाय थियो
पाँचौं उपाय (ङ) झर्रोवादको मौलिक खोजी होइन
। झर्रोवाद जन्मनुभन्दा अगावै महानन्द सापकोटाज्यूले यतातिर औंलो तेर्साइसक्नुभएको थियो। आज सबैभन्दा ठूलो सफलता यसै उपायले पाएको छ

झर्रोवाद एउटा उग्रवाद थियो भनेर भनिसकिएको छ
। यी उपायहरू अभाव–पूर्तिका साधन मात्रै थिए, नयाँ भाषा जन्माउने मूलमन्त्रचाहिँ थिएनन्, तापनि आफ्ना उग्र प्रतिद्वन्द्वी बाज र बाजेहरूलाई परास्त पार्नका लागि व्यक्त झर्रोवादीहरूले यस कुरालाई बिर्से। यसैले उनीहरू यी पाँच उपायहरूलाई मूलमन्त्रझैं मान्न लागे। तत्सम भएको अपराधमा या विदेशी स्रोतबाट आएको अपराधमा उपयोगीभन्दा उपयोगी शब्दहरूले पनि झर्रोवादीहरूका रचनामा प्रवेश पाउन छोडे। यस्तै अरू पनि त्रुटि झर्रोवादका समर्थकहरूले गरे। यसैले अब नेपाली भाषाका प्रेमीहरूले भाषालाई लिएर कोलाहल सुने उनीहरूले बाज र बाजेका साथै झर्रोवादीहरूलाई पनि दोषी पाए। त्यसैले आजभोलि हामी झर्रोवादलाई लिएर कम कानेखुसी सुन्दैनौं

आज कार्यरूपमा सबै सप्रिसकेका छैनन् तापनि के कुरोचाहिं सबैछेउ जाहेर भइसकेको छ भने बाज र बाजे दुवैथरी नेपाली भाषाका हितु होइनन्
। किनभने यिनले गर्दा हाम्रो भाषाको स्वाभिमान खल्बलिएको थियो। यिनको विरोधमा जन्मिएको उग्रवादी झर्रोवादलाई आज भलै जस्ताको तस्तो अनुकरण गर्न नसकियोस्, भलै यसमा समयजनित केही विरामहरू टुप्लुकिऊन् तर यसको जगमा आफ्नोपनाप्रति प्रेम र अभिमान भएकाले यसको इतिहासलाई ठट्टामा उडाउन निस्स्यै सकिन्न। अर्को भाषामा, यो जतिसुकै उग्र होस्, यसलाई बाजे र बाजहरूको हाराहारी राख्न सकिन्न। बाजे र बाजहरू प्रतिवादी हुन् भने झर्रोवाद वादी हो, बाजे र बाजहरू आक्रामक तत्त्व हुन् भने झर्रोवाद प्रतिरक्षात्मक तत्त्व हो। झर्रोवाद र बाजे–बाजवादमा यही अन्तर छ

आज हामीहरूले आफ्नो भाषाको समस्या प्रायः बुझिसकेका छौं
। कुन बाटो हिँड्दा सप्रिने सम्भावना छ र कुन बाटो हिँड्दा बिग्रने सम्भावना छ— हामीले बुझिसकेका छौं। अब हामीलाई बराल्न बाजे र बाजहरूको संयुक्त हमलाले पनि सक्ने छैन। यस हालतमा अब झर्रोवादझैं उग्रवादी स्कुलको चासो छ–छैन यसतर्फ हामीले सोच्नु असल छ। नभन्दै हाम्रा दुस्मन बाज र बाजेहरूको अस्तित्व अर्थहीन भइसकेकाले अब हामीलाई कुनै पनि उग्र नीति चासोपर्दो छैन। म आफैं पनि झर्रोंवादी परिपाटीको एक जना विद्यार्थी हुँ तापनि म अब के कुरो स्वीकार गर्न चाहन्छु भने सात वर्षसम्म लगातार बाज र बाजेहरूसँग लाप्पा खेलेर झर्रोवादले आफ्नो लक्ष्य पूरा गरिसकेको छ। उसले नेपाली लेखकहरूलाई कुनै पनि आक्रामक तत्त्वहरूदेखि सतर्क रहनुपर्छ भनेर जनाउ दिइसकेको छ। यसकारण अब उसले अझै पनि आफ्नो उग्रवादी बेहोरालाई कायम राख्नु नकारात्मक बाटोमा हिंड्नु हो। अब पनि झर्रोवादले आफ्नो उग्र स्वभाव अङालिरहन्छ भने त्यो उसको ढिपी मानिनेछ

तर जो अझै झर्रोवादलाई नचिनीकनै र त्यसको अध्ययन नगरीकनै त्यसलाई ठट्टाको विषय तुल्याउँछन्, तिनको मूर्खतामा अझै पनि झर्रोवाद हाँस्न सक्छ
। झर्रोवादको आङबाट ‘उग्र’ विशेषण हटाइदिने हो भने यसका सिद्धान्त र उपाय अझै पनि उत्कृष्ट ठहरिन सक्छन्। भलै ‘उग्र’ विशेषणले विहीन भएपछि झर्रोवादको नाममा टाँसिएको ‘झर्रो’ शब्दको उपयोगिता नरहला, तापनि यसका सिद्धान्त र उपायहरूको उपादेयता कत्ति कम हुने छैन। ज्ञातव्य के छ भने झर्रोवाद केवल कार्यनीतिमा मात्र उग्र थियो, सिद्धान्त र उपायमा उग्र थिएन। यसका सिद्धान्त र उपायहरू अझै उपादेय किन हुन सक्छन् भने तिनको निर्माण भुइँफुट्टा काइदाले भएको नभएर पुष्करशमशेर, बालकृष्ण सम र महानन्द सापकोटाका वाणीहरूलाई आधार मानेर भएको हो। यिनमा पनि पुष्करशमशेर र महानन्दलाई त झर्रोवाद आदिगुरु नै मान्छ। के पनि यहाँनिर प्रस्ट हुनुपरेको छ भने यो त्रुटिपक्षलाई लिएर चाहिँ कसैको समर्थन गर्दैन। यसले आफ्नै त्रुटिलाई पनि लाजवश लुकाउन मन पराउन्न

अन्तमा म दुई सुझाउ दिन चाहन्छु
। भलै झर्रोवाद भन्ने संज्ञाको अस्तित्वमा बाधा परोस्, झर्रोवादीहरूले ‘आफ्नो उग्र बाटो त्याग्नैपर्छ। ‘उग्र’ विशेषणलाई आफलेर बाँकी झर्रोवादलाई अरूले पनि अङाल्नैपर्छ
(गद्य साहित्यतर्फ २०२१ सालमा मदन पुरस्कार प्राप्त कृति ‘नेपाली भाषा र साहित्य’ बाट साभार गरिएको हो
। यो कृति २०२१ साल भदौमा ‘पहिलो बाजी’ रत्न पुस्तक भण्डारबाट प्रकाशित भएको थियो।)प्रकाशित : फाल्गुन १८, २०७५ १२:५९


Lecture to WDO. Jan 1, 2013 (Pus 17, 2069 B.S.)

  Lecture to WDO.   Jan 1, 2013 (Pus 17, 2069 B.S.) I lectured newly appointed Women Development Officers (WDO) at the Women Training Cen...