Friday, June 14, 2019

मच्छिन्द्रनाथको रथ यात्रा सुरु

मच्छिन्द्रनाथको रथ यात्रा सुरु
रवीन्द्र गौतम, ११ बैशाख २०७६ ११:४९:००
दोलखा : करुणामय अवलोकितेश्वर रातो मच्छिन्द्रनाथको रथ तान्ने जात्रा सुरु भएको छ। पौराणिक रातो मच्छिन्द्रनाथको मुर्तिलाई दुधमा नुहाएर रथारोहण गरिए पछि आइतबारबाट रथजात्रा सुरु गरिएको हो। प्रत्येक बर्ष कृष्णपक्षदेखि प्रर्दशन गरिने मच्छिन्द्रनाथको रथ तान्ने जात्रा दोलखा सहरको बिभिन्न टोलमा पुर्‍याउने प्रचलन रहेको छ।
मल्लकालीन सभ्यताको रुपमा तत्कालिन मल्ल राजा जय वासुदेवले सुरु गरेको यो जात्रा हाल कालिञ्चोक युवा क्लबको सक्रियतामा प्रर्दशन हुँदै आएको क्लबका संयोजक सुरेश श्रेष्ठले बताए। एकहप्तासम्म चल्ने रथ जात्राको पहिलो दिन पिंगलदेखि नक्छेसम्म, ९ गते कोर्छेसम्म, १० गते टसिचासम्म, ११ गते माथिल्लो स्वयम्भुस्थान, १२ गते दुंगलसम्म, १३ गते पिंगलसम्म र अन्तिम दिन १४ गते डोकुलढुङ्गा टोलसम्म पुर्‍याएर समापन गरिने परम्परा छ।
यो जात्रा मनाउँदा रोग नलाग्ने, सुख्खा याममा पानी पर्ने आदी जनविश्वास छ। धार्मिक आस्थाका कारण जात्रा सुरु हुने बेला स्थानीय व्यक्तिहरु व्रत समेत बस्ने गर्छन। स्थानीय पर्शुराम जोशी रथ तान्ने बेलामा पानी पर्ने गरेकोले जात्राप्रति धेरैको विश्वास रहेको बताउँछन्।
मल्ल राजा जय वासुदेवले कुन मितिदेखि यो जात्रा सुरु गरे भन्ने प्रमाण नभेटिए पनि ने.स. ७०१ (वि.सं. १६३८) मा वंभु वहालका भिक्षु श्री जय जीवराज, जितपारज्यु, देवसिंह र केरंकुटुं रामसिंहले सुनको प्रभा र हृदयसिंह बाबुले सुनको छत्र दोलखाको अवलोकितेश्वर श्री ३ आर्यवलोकितेश्वर भट्टारक सम्बोधन गरी चढाएको प्रमाण भेटिएकोले यो जात्रा त्यो भन्दा अघिदेखिनै सुरु भएको अनुमान गर्न सकिन्छ।
राजा जय वासुदेवले हालको लापिलाङ गाउँस्थित पाखो जग्गा त्यहाँका थामी जातिलाई कमाउन दिएको र गुठीको समेत व्यवस्था गरेको उल्लेख छ। उक्त जग्गाको आय स्रोतबाट गुठीमार्फत थामीहरुले रथ तान्न चाहिने सामग्री, एउटा राँगो, एउटा भेडा, दुई पाथी तेल, दुई पाथी घ्यू, डोरी र काठहरु उपलब्ध गराउनु पर्ने व्यवस्था रहेकोमा थामीहरुले ती सामानहरु दिन छाडेका थिए।

  About The Culture of Magar MAGAR (SHORT INTRODUCTION) https://magarworld.wordpress.com/2014/02/17/about-magar/   Magar is one of th...