Monday, June 10, 2019

ढल्दै छ मकवानपुर गढी

ढल्दै छ मकवानपुर गढी  
कान्तिपुर, चन्द्रशेखर कार्की
पाल्पाका राजा मुकुन्द सेनले आफ्ना चार छोरालाई राज्य बाँडेका थिए, मकवानपुरचाहिँ कान्छा छोरा लुहाङ् सेनको भागमा परेको थियो । आफ्नो राज्यलाई सुरक्षित गराउन उनै लुहाङ्ले संवत् १६२२ मा मकवानपुरमा ‘गढी’ बनाएको भन्ने भनाइ रहिआएको छ ।
नुवाकोटमा विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले संवत् १८१९ मा मकवानपुरलाई पनि आफ्नो राज्यमा गाभ्न सफल भए । त्यसबेला मकवानपुरमा दिग्बन्धन सेनले राज गरिरहेका थिए । युद्ध हारेको झोँकमा पृथ्वीनारायण शाहसँग बदला लिन राजा दिगबन्धन सेन आफ्नो मन्त्री कनकसिंह बानियाँलाई लिएर बंगालका नबाब मीर कासिम अलीसँग सहयोग माग्न पुगेका थिए । नबाब अलीको सहयोगमा २ हजार लडाकु र १ हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा १८१९ (माघ १०) मा आक्रमण भएको थियो । गढी उक्लने क्रममा सिकरकटेरीमा रातभर लडाइँ भएपछि नबाब फौज पराजित भएको थियो ।
मकवानपुर गढी हेटौंडाबाट १७ किमि उत्तर–पूर्वमा पर्छ । नेपाल एकीकरणको इतिहासमा जोडिएको मकवानपुर गढी अहिले पनि संरक्षण–संवद्र्धन कुरेर बसिरहेको अवस्थामा छ । सेन इतिहासको महत्त्वपूर्ण कालखण्डलाई आफ्नो गर्भमा राखेर बसेको मूलगढी र सानो गढी नेपालमा भएका गढीमध्ये सम्भवत: सबैभन्दा ठूलो हो । गढी सुरक्षाका लागि वरिपरि २५ फिट अग्लो र ७ फिट चौडाइ भएको पर्खाल लगाइएको छ, गढीभित्र १० फिट गहिरो खाडल बनाइएको छ । गढीभित्र भगवान् श्रीकृष्णको वत्सगोपाल मन्दिर छ भने अर्को सानो शिव मन्दिर पनि छ । दरबारहरूको बाँकी ठडिएको पर्खाल पनि जीर्णकाय छ । मकवानपुर गढी भोलिका सन्ततिका लागि नेपालको इतिहास र संस्कृति पढ्ने मात्रै होइन, हेरेर इतिहासमा गौरवबोध गर्न सकिने थलो समेत हो । यो इतिहासको संरक्षण–संवद्र्धन गर्न र सरोकार राख्नमा निकै ढिलाइ भइसकेको छ ।
प्रकाशित : पुस २८, २०७५ ०८:२८

मधेसको मागियाहा

मधेसको मागियाहा

समाज

मौगियाहाको अर्थ घरमा महिलाको वर्चस्व हो। खाना बनाउने, लुगा धुने, बच्चा स्याहार्ने, श्रीमतीलाई कुनै पुरुषले सहयोग गरेको देख्दा उसलाई मौगियाहा भनिन्छ।
पितृसत्ता मानवशास्त्रमा प्रयोग हुने निकै पुरानो शब्द हो। पुरुषप्रधान समाजको स्वरूप नै पितृसत्ता हो। कमला भासिनका अनुसार यो एक सामाजिक व्यवस्था हो, यस व्यवस्थामा पुरुषलाई अब्बल र महिलालाई दोयम मानिन्छ। यो व्यवस्था जातिवाद र रंगभेदजस्तै हो। पितृसत्ताले सिर्जना गरेको मूल्य, मान्यता र परम्पराहरूबाट समाज, परिवार, समुदाय तथा राष्ट्र सञ्चालित छन्। पितृसत्तात्मक संरचनामा पुरुषको वंश परम्परामा आधारित हुन्छ भने महिलाहरू पुरुषको इशारा, आज्ञा, आदर्श र निर्देशनमा चल्छन्। समाजका विभिन्न एकाइहरूले पितृसत्तात्मक प्रणालीको आधारस्तम्भका रूपमा काम गरिरहेका छन्। उक्त एकाइहरूद्वारा पितृसत्तात्मक मूल्यमान्यताको सामाजिकीकरण हुँदै आएको छ।
पितृसत्तालाई कतिपयले भगवान्ले बनाएको मान्दछन् तर यो समाजले नै बनाएको इतिहास छ। यो लगभग तीन हजारदेखि पाँच हजार वर्ष पुरानो व्यवस्था रहेको मानिन्छ। जब सम्पत्तिमा अधिकारको अवधारणाको विकास भयो, अनि पितृसत्तात्मक संरचनाको पनि विकास भएको मानिन्छ। पितृसत्तात्मक संरचना विश्वभरि नै रहेको देखिन्छ। तर, दक्षिण एसियाका देशहरूमा बढी नै जरा गाडेको छ।
पितृसत्तात्मक संरचनालाई पुरुषले मात्र होइन कि महिलाले पनि मान्दछन्। जस्तो कि छोराछोरीलाई कसरी हुर्काउने, तिनका लुगा छनोटदेखि लिएर पढाइलेखाइ लगायतका काम महिलाले नै गर्छन्। यसले गर्दा कतिपयले भन्ने गर्छन्, महिलाले नै महिलालाई विभेद गर्छन्। झट्ट हेर्दा यो सहीजस्तो लागे पनि यसको दोषी कुनै महिला वा पुरुष हुँदै होइन। यो वर्षौंदेखि जरा गाडेर रहेको भनौं या अभ्यास गर्दै आएको प्रणाली हो, जसलाई जानिँदो वा नजानिँदो तरिकाले हामी व्यवहारमा उतार्छौं। नेपालमा पितृसत्तात्मक संरचना मधेसी समाजमा अझ बढी छ। यो लेख यसैको वरिपरि केन्द्रित छ।
महिलालाई नियन्त्रण
पितृसत्ताले सर्वप्रथम महिलाको श्रमशक्तिमा नियन्त्रण गर्छ। महिलाले के पढ्ने, कुन जागिर गर्नेजस्ता सवालको छिनोफानो पुरुषले गर्छ। दोस्रो प्रजनन शक्तिमा, एउटै घरमा छोराछोरी छ भने छोराले आफ्नै मनले बिहे गरे पनि अधिकांश घरमा छोरीको बिहेको निर्णय उसको बुवाआमाले नै लिन्छन्। कोसँग बिहे गर्ने, कहिले बिहे गर्नेमा छोरीको स्वीकृति लिनु जरुरी ठान्दैनन्। बिहेपछि कहिले बच्चा पाउने, कतिवटा बच्चा पाउने, छोरी भएपछि त्यसलाई राख्ने कि फाल्ने र परिवार नियोजनको कुन साधन अपनाउने र कहिलेसम्म अपनाउने लगायतका विषयमा पुरुषको निर्णय चल्छ।
तेस्रो, सेक्सुवालिटी, महिलाले कोसँग सम्बन्ध राख्ने, कति वर्षमा राख्ने, यो सबैको नियन्त्रण पुरुषले गरिरहेको हुन्छ। चौथो, नीतिनिर्माण तहमा पुरुषको नियन्त्रण हुन्छ। चाहे त्यो राजनीति होस् वा राज्यको अन्य संरचना, अधिकांश ठाउँमा पुरुषको वर्चस्व हुन्छ। पाँचौं स्रोतसाधनमा, राज्य वा घरको स्रोतसाधन होस् महिलाको पहुँच कमै हुन्छ। राज्यको स्रोतसाधनको परिचालन पुरुषले गर्छ भने घरको सम्पत्ति पनि पुरुषकै नाममा रहन्छ। महिलाको नाममा सम्पत्ति रहे पनि त्यसलाई कहाँ, कसरी खर्च गर्ने निर्णय पुरुषले नै गर्छ।
पितृसत्ताको जरा
पितृसत्ताले परिवार, समाज, राज्य, बजार, धर्म, संस्कृति र न्यायिक संरचना जस्ता सबैतिर जरा गाडेको छ। यसको प्रारम्भिक सुरुआत घरबाट हुन्छ। बच्चा जन्मेदेखि उसको पालनपोषण हरेक क्रियाकलापमा पितृसत्तात्मक सोच हावी हुन्छ। कतिपय अवस्थामा बच्चा जन्मिनुअघि नै छोरा हो भने जन्मन दिने होइन भने भ्रूणमै हत्या हुन्छ। छोरी जन्मिहाले पनि उसलाई छोराको तुलनामा कम पोसिलो खान दिने, घरको काम बढी गराउने, कतै एक्लै जान नहुने, जोडले हाँस्न नहुने, लजालु स्वभावको हुनुपर्ने लगायतका तालिमको सुरुआत घरबाटै गरिन्छ।
जसरी घर पितृसत्तात्मक संरचनामा आधारित छ, त्यसरी नै समाज पनि छ। गाउँघरमा रहेको जातीय संगठन, पञ्चायत लगायतको अगुवाइ पुरुषले गर्छ। यस्ता संस्थामा महिलालाई नेतृत्व लिनबाट अघोषित रूपले वञ्चित गरिन्छ। समाजले महिलाका लागि गर्नुपर्ने काम र पुरुषले गर्नुपर्ने कामको छुट्टै मापदण्ड बनाइएको हुन्छ। महिलाले बच्चा जन्माउने, खाना बनाउने, घरको रेखदेख गर्ने काम गर्नुपर्ने हुन्छ भने पुरुषले घरबाहिरको काम गर्नुपर्ने, परिवारलाई पाल्नुपर्ने लगायतका काम हुन्छ।
जस्तो खालको समाज हुन्छ, त्यसको प्रतिविम्ब राज्यमा पनि हुन्छ अर्थात् राज्य पनि पितृसत्तात्मक छ। नेपाली राज्यले विगत लामो समयदेखि लिंगको आधारमा विभेद गर्दै आएको छ। अहिले पछिल्लो समयमा यस्ता सोचमा केही परिवर्तन आए पनि अझै महिलाका लागि सहज वातावरण बनिसकेको छैन।
सबै धर्मले पितृसत्तालाई नै बढावा दिन्छन्। अधिकांश धर्मगुरुहरू पुरुष नै हुन्छन्, चाहे हिन्दू धर्मको धर्मगुरु÷पण्डित, क्रिस्चियनको पोप या इस्लामका मौलाना। सबै धर्मले महिलालाई दोस्रो दर्जाको हो भनेका छन्। वेदमा उल्लेख छ, शुद्र र नारीलाई वेद सुन्न मनाही छ। सुनेको खण्डमा सिसा तताएर कानमा हालेर दण्ड दिने परम्परा थियो। धर्मले पुरुषलाई स्वामी र महिलालाई सेवक भनेर व्याख्या गर्छ। जति पनि व्रत छ, सबै महिलाकै लागि छ, चाहे पतिको लामो आयुका लागि तीज होस् वा छोराको लामो आयुका लागि हुने जितिया वा महिनावारीको पाप पखाल्ने पञ्चमी। धर्मको नाममा अहिले पनि सबै डराउँछन्। यसविरुद्ध जाने आँट गर्दैनन् र यसलाई स्वीकार्न बाध्य हुन्छन्।
संस्कृति र परम्परा पनि पितृसत्तात्मक छ। वैवाहिक परम्परामा छोरीलाई हामी दान गर्छौं। विवाह गरेपछि महिलाको थर बदलिन्छ, घर बदलिन्छ, पहिरन बदलिन्छ तर पुरुषको केही पनि बदलिँदैन। ऊ बिहेअघि जस्तो हुन्छ, पछि पनि त्यस्तै रहन्छ। पुरुषलाई ऊ विवाहित रहेको प्रमाण देखाउनु पर्दैन तर महिलालाई देखाउनु पर्छ। सिउँदोमा सिन्दूर र गलामा पोते लगाउनुपर्छ। शिक्षा पनि पितृसत्तात्मक छ। अहिले पनि छोरीलाई सरकारी स्कुल, छोरालाई बोर्डिङ स्कुल पढाउने, छोरीले अलि–अलि पढे पनि हुनेजस्तो पितृसत्तात्मक मनोविज्ञान यथावत् छ।
मधेसमा पितृसत्ता
पितृसत्तात्मक संरचना र सोचले देशैभरि प्रभाव रहे पनि मधेसी समाजमा अझ फरक खालको रहेको देखिन्छ। केही महिनाअघिको प्रसंग हो। म र एक चिरपरिचित शिक्षित महिला सँगै काठमाडौंबाहिर जानुपर्ने भयो। हामी भेट्ने निधो भएको ठाउँ तीन तला माथिको एक अफिसमा थियो। मेरो ब्याग अलिक हलुको तर साथी अलिक भारी थियो, एक्लैले बोक्न गाह्रो हुने। साथीले सकीनसकी ब्याग एक्लैले बोकेर ट्याक्सीसम्म ल्याइन्। उनको श्रीमान् खाली हात हल्लाउँदै सँगसँगै तल आए। अरू बेला महिलाको हकहित र मानसम्मानको वकालत गर्ने व्यक्तिले त्यसो गरेको देख्दा अनौठो लाग्यो। मनमा प्रश्न जाग्यो। यस्तो किन गरेको होला ?
सायद स्वास्नीको ब्याग कसरी बोक्ने भन्ने मानसिकताले काम गरेको थियो होला। एक दिन मैले उहाँलाई सोधेँ, ‘तपाईंले किन सधैं सारी मात्र लगाउनुहुन्छ ? ’ उनले भनिन्, ‘मेरो श्रीमान् भन्नुहुन्छ, तिमी कुर्तामा पनि राम्री देखिन्छौ तर सारी त गजबै सुहाउँछ।’ उल्लिखित दुई उदाहरण एकजना सहरमा बस्ने शिक्षित महिलाको हो। तर गाउँघरमा बस्नेले कसरी पितृसत्तालाई सम्वद्र्धन गर्छन्, त्यसका अनेकांै घटना देख्न पाइन्छ।
मधेसी समाजमा अझै पनि छोरीलाई घरको इज्जतसँग जोडेर हेरिन्छ। छोरा घरबाहिर रातिसम्म बसे पनि छुट हुन्छ तर छोरी कहाँ जान्छे, कोसँग जान्छे, कति बेला घर फर्किन्छे, सबै मापदण्ड परिवारले नै तय गरेको हुन्छ। छोरीलाई घरव्यवहारमा पोख्त हुनुपर्ने सोचको कारण जति पढे पनि बिहे गरेपछि घरव्यवहार गर्नुपर्ने भन्दै सबै काम बिहेअगाडि नै तालिम दिइन्छ। यस्तो तालिम छोरालाई पर्दैन। छोरालाई कुलको दीपक, वंश वृद्धि गर्ने, कुलको रक्षा गर्ने भन्दै मनोबल बढाइन्छ। अझै पनि मधेसी समुदायमा युवतीले बिहेको निर्णय स्वयं लिन सक्दैन। प्रेम गर्नु त पाप गरेसरह मानिन्छ। कसैले आफ्नो इच्छाले कुनै युवालाई मन पराएर बिहे गरे भने घरको इज्जत प्रतिष्ठामा आँच आएको मानिन्छ। अन्तरजातीय बिहे गरेछ भने जातीय द्वन्द्वदेखि धार्मिक द्वन्द्व हुनुका साथै हत्यासम्मको घटना हुन बेर लाग्दैन।
गाउँघरमा कसैको मृत्यु भएमा मलामी जानबाट महिलालाई वञ्चित गरिन्छ। आमाबुवाको शेषपछि दागबत्ती छोरीले दिन पाउँदैनन्। एउटै कोखबाट जन्मेको दुई सन्तानबीचको भेदभाव कति गहिरो जरा गाडेको छ। मधेसी समाजमा अहिले पनि महिला घरबाहिर गयो भने असुरक्षित हुने भयले घरभित्र राख्ने मनोविज्ञान कायमै छ।
पञ्चायतमा महिलाको उपस्थितिलाई राम्रो मानिँदैन। कथंकदाचित् कुनै महिला यस्तो पञ्चायतमा उपस्थित भएमा सबैले गिज्याउँछन्। यसको एउटा अनुभव म अझै सम्झिन्छु। मेरो बुवा र काका छुट्टिने बेलामा गाउँमा पञ्चायत बसेको थियो। पञ्चायतमा बुवासँग आमा पनि जानुभएको थियो। किनभने बुवा धेरै सोझो हुनुहुन्थ्यो भने काका धेरै चलाख। आमा पञ्चायतमा गएको कारण केही पञ्चले बुवालाई मौगियाहा भन्दै अपमान गरेका थिए। मौगियाहाको अर्थ घरमा महिलाको वर्चस्व रहेको लाग्छ। खाना बनाउने, लुगा धुने, बच्चा स्याहार्ने, श्रीमतीलाई कुनै पुरुषले सहयोग गरेको देख्दा उसलाई पनि मौगियाहा भनिन्छ।
अहिले पनि महिलाका विषयमा बनाइएका उखानटुक्का छन् जसले महिलालाई अपमानित गर्छ। ‘शुद्र, पशु और नारी, यी तिनो ताजन के हारी’ अर्थात् महिला, पशु र दलितलाई पिटेर मात्रै तह लगाउनुपर्छ। ‘जसको कपाल लामो हुन्छ, उसको दिमाग सानो हुन्छ’ अर्थात् महिला बुद्धिहीन हुन्छन् रे। ‘तिरिया चरित्र देवो न जाने’ अर्थात् महिला चारित्रिक हिसााबले साह्रै कमजोर हुन्छन्, देउताले पनि तिनका चरित्र थाहा पाउन सक्दैन। यस्ता थुप्रै कथन निर्माण गरेर महिलाको चरित्र तथा क्षमतामाथि घुमाउरो पाराले तल देखाइन्छ।
पितृसत्ताको असर
पितृसत्तात्मक संरचनाले बाहिरबाट पुरुषलाई फाइदा भएजस्तो देखिए पनि यसको असर महिला पुरुष दुवैलाई हुन्छ। पितृसत्तात्मक सोचको कारण महिलालाई शैक्षिक, राजनीतिक र सामाजिक रूपले पछाडि पारिएका छन्। महिला हिंसाको जड पनि पितृसत्ता नै हो। महिला पुरुषको अधीनमा बस्ने हो, उसलाई जे गरे पनि हुने सोचले हिंसा निम्त्याउँछ। आज विश्वमा प्रत्येक तीन महिलामध्ये एक महिलामाथि कुनै न कुनै रूपले हिंसा हुन्छ। नेपालमा पनि प्रत्येक वर्ष हजारौंको संख्यामा महिला हिंसाका घटना हुन्छन्। यस्ता अधिकांश हिंसा आफ्नै परिवारले नै गर्छन्। प्रत्येक वर्ष हजारौंको संख्यामा भ्रूण हत्या हुन्छ। यसको मूल कारण पितृसत्तात्मक सोच नै हो।
मधेसमा हुने बालविवाह र दाइजो प्रथा पनि यसैको उपज हो। महिलाले कमाएर खान सक्दैन, उसलाई जीवनभर पाल्नुपर्ने भन्दै केटा पक्षले बिहेअघि दहेज माग्छ र केटी पक्षले पनि छोरीलाई पराया धन भन्दै धनसम्पत्ति दिएर भए पनि जिम्मेवारीबाट मुक्त हुन्छ। यस्ता जिम्मेवारी बाबुआमाले धेरै बेहोर्नु नपरोस् भन्दै गर्भमै हत्या गरिदिन्छन्। कतिपयले त जन्मिसकेको छोरीलाई पानीमा बगाउने, खेतमा फाल्ने गर्छन्।
पितृसत्ताले महिलालाई हिंसा सहन सिकाउँछ भने पुरुषलाई हिंसा गर्न उक्साउँछ, जसको प्रभाव कालान्तरमा परिवार, समाज र पूरै देशमै पर्न जान्छ। आज दिनदिनै हुने यौनहिंसाका घटना यसैको उपज हो। महिलाको शरीरमाथि जसरी पनि नियन्त्रण गर्नुपर्ने, आफ्नो चाहना पूरा गर्न हिंसाको सहारा लिने मनोविज्ञानको विकास हुन्छ। महिला सुन्दर र कमजोर हुन्छन्। उसलाई भोग्नुपर्ने सोच विकास भएको हुन्छ। परिणामतः महिला असुरक्षित हुन पुगेको छन् भने पुरुष अपराधी। आज हजारौं पुरुष महिला हिंसाको घटनामा जेलमा छन्।
पछिल्लो समयमा महिला प्रयोग गर्ने वस्तुको रूपमा किनबेच हुन थालेका छन्। महिला एक बजार हुन पुगेको छ। महिलालाई विज्ञापन, ब्युटी कन्टेस्ट, फिल्ममा राखिएको आइटम गीतदेखि पोर्न बजारमा प्रयोग गर्ने गरिन्छ। महिलाको यौन र सुन्दरता अरबौंको बजार व्यवसाय बनेको छ। अहिले इन्टरनेटको पहुँचको कारण यो बजार विश्वभरि फैलिएको छ। यसले युवा पुस्तामा नकारात्मक प्रभाव परेको देखिन्छ। यसले व्यक्तिको सोचलाई मात्रै होइन कि परिवार र समाजलाई नै दूषित बनाउछ।
अबको बाटो
वर्षौंदेखि जरा गाडेको संरचना र सोचलाई परिवर्तन गर्न एक तह र एकै प्रकारले गर्न असम्भवप्रायः छ। तर, सबै पक्षको प्रयासबाट यसलाई उन्मूलन गर्न नसकिए पनि न्यून भने अवश्य गर्न सकिन्छ। यसका लागि चौतर्फी प्रयासको खाँचो छ। समाजले बनाएको महिलाप्रतिको मनोविज्ञानलाई चिर्नुपर्छ। महिला कमजोर हुन्छन् भन्ने सोचमा परिवर्तन ल्याउनुपर्छ। यसको सुरुआत घरबाट, आफैंबाट गर्नुपर्छ। छोराछोरीबीच विभेद हटाउन शिक्षा, रोजगारी, पैत्रिक सम्पत्तिमा पहुँच बढाउनुपर्छ। महिलाका लागि संविधानमा गरिएको व्यवस्था प्रजनन अधिकार, वंशीय अधिकार, अंशको अधिकार, राज्यको निकायमा प्रतिनिधित्व गर्ने अधिकारलाई पूर्ण रूपमा लागू गर्नुपर्छ। महिला हिंसासम्बन्धी बनेको ऐन कानुन सशक्त रूपमा लागू गर्नुपर्छ। साथै यस्ता ऐन कानुनबारे जनचेतना जगाउनु आवश्यक छ।
मधेसमा विद्यमान दाइजो, बालविवाह लगायतका सामाजिक कुरीति हटाउन सामाजिक अभियानको खाँचो छ। महिलाले पनि समाजले निर्माण गरेको मनोविज्ञान तोड्ने आँट गर्नुपर्छ। जस्तै आफूलाई सुन्दरताभन्दा माथि उठाउनुपर्छ। पितृसत्ताले निर्माण गरेका धार्मिक, सांस्कृतिक तथा परम्परागत चलनहरूलाई क्रमिक रूपमा तोड्ने आँट गर्नुपर्छ। पुरुषहरूले पनि समानताको पक्षधर हो भनेर हुँदैन, यसलाई व्यवहारमा उतार्न सक्नुपर्छ। श्रीमतीलाई घरको काममा सघाउने, बालबालिकाको पालनपोषणमा सहयोग गर्ने, छोराछोरीबीच भेदभाव नगर्ने, छोरासरह छोरीलाई पनि पैत्रिक सम्पत्तिमा अधिकार दिने लगायतका कामको सुरुआत गर्नुपर्छ।
अन्नपुर्ण, पुष २८, २०७५

संस्कृत हिँडेको बाटो

संस्कृत हिँडेको बाटो
संस्कृत विरोधीहरूले संस्कृतविरुद्ध गहिरो विश्लेषणात्मक तर्क दिन सकेनन् । जात सम्बन्धित नारा दिएर पन्छिए, जुन पूर्ण पाठ हुन सक्दैन ।
पुस २१, २०७५प्रमोद मिश्र
काठमाडौँ — संस्कृतको महत्त्व र यसको उपेक्षाबारे नेपाल र भारत दुबै देशमा विलौना हुँदै आएको छ । नेपाली मिडियामा यसको चर्चा–परिचर्चा जारी छ । कतै संस्कृत आधारित कर्मकाण्डको शिक्षा दिई पण्डित तयार पारिँदै गरेको सुखद समाचार उल्लेख हुन्छ ।
कतै काठमाडौं समाजका जानेमाने व्यक्तिलाई प्रख्यात संस्कृतविदबाट संस्कृत ज्ञानको ‘ट्युटोरियल’ र संस्कृत लोपको विलौना पाठ गराइन्छ । संस्कृतबारे चर्चा हुनु स्वाभाविकमात्रै नभई आवश्यक पनि छ, नेपाली भाषा र साहित्य(वाङ्मय) र हिन्दु संस्कृतिको आदिस्रोत संस्कृत भएकाले ।
दक्षिण एसियामा रविन्द्रनाथ टेगोरका रचना कसरी विश्व प्रसिद्ध भए ? किनभने विधा जुनसुकै भए पनि तिनको साहित्य दृष्टि पाश्चात्य, लोकभाकाका समसामयिक तत्त्वहरू संस्कृतजनित ज्ञान परम्पराद्वारा सिञ्चित थियो । क्यारिबियन कवि नाटककार डेरेक वालकाट विश्वविख्यात कसरी भए ? किनभने तिनका क्यारिबियन समुद्री गाथा ल्याटिन र प्राचीन ग्रिक महाकाव्य र मिथकबाट पुष्टित थिए ।
तर अहिलेको गणतन्त्रमा पनि संस्कृतबारे एकपक्षीय अलापमात्र पाइन्छ । गणतन्त्रपछि संस्कृत विरोधीहरूले चर्को नारा लगाए । जुन स्वाभाविकै थियो । फलस्वरूप संस्कृतको पठन–पाठनमा कमी भयो । यसलाई अनिवार्य विषय बनाइएन । तर संस्कृत विरोधीहरूले संस्कृत विरुद्ध गहिरो विश्लेषणात्मक तर्क दिन सकेनन् । जात सम्बन्धित नारा दिएर पन्छिए, जो पूर्ण पाठ हुन सक्दैन ।
संस्कृतलाई यसरी तर्क–वितर्क नगरी फाल्नु बच्चालाई ‘बाथ वाटर’संँगै मिल्काउनु हो, भुससँगै चामल पनि फाल्नु हो । तर संस्कृतको वर्चस्व ज्यौंकात्यौं स्वीकार्नु पनि हिन्दु जातीय व्यवस्थाको हैकम र यसको पदानुक्रम सोपानलाई निरन्तरता दिनु हो ।
हिन्दु राज्यव्यवस्थामा सदियौंदेखि संस्कृतमाथि ब्राह्मणको एकाधिकार रह्यो र अरूलाई यसबाट वञ्चित गराइयो । जहाँ हिन्दु राज्यव्यवस्था थिएन, जस्तै अंग्रेज शासित भारत, त्यहाँ पनि समाजले संस्कृतलाई ब्राह्मणकै एकाधिकारमा राख्यो, पूजापाठ, भागवत–पुराण वाचनमा । हिन्दु राज्यव्यवस्थामा तथाकथित तल्लो जातलाई संस्कृत पठन–पाठन निषेध नै थियो । संस्कृत शिक्षा या त गुरु परम्परा अनुसार गुरुको सान्निध्यमा गुरुकुलमा हुन्थ्यो या संस्कृत विद्यापीठ अन्तर्गत । यी दुबै राज्य सम्पोषित हुन्थे वा सम्पन्न जातीय समाजले यिनको भरणपोषण गथ्र्यो, जहाँ जातीय सनातनी रूढीबाट बच्ने कुनै उपाय नै थिएन ।
नेपालकै संस्कृत अध्ययन–अध्यापनको इतिहासलाई हेरौं । राणाशासनमा त पूजापाठका लागि मात्रै कर्मकाण्डी ब्राह्मणले संस्कृत पढ्न पाउँथे । आम जनताका लागि शिक्षा नै निषेध भएकाले संस्कृतको कुरै के गर्ने † तर राणा शासनपछि पनि गुठी सञ्चालित, राज्य सम्पोषित संस्कृत पाठशालामा ब्राह्मणका छोराले मात्र भर्ना पाउँथे । हुन त यो आरक्षण हिन्दु कर्मकाण्ड सम्पादनका लागि भनेर गरिएको थियो । तर तीनधारा पाठशालाबाट उत्पादित छात्रमध्ये कति कर्मकाण्डी पण्डित भए ? कति सीडीओ र मन्त्रालयका सचिव भए ? पञ्चायतको शेषकालमा पचहत्तर जिल्लामध्ये चालीसमा तीनधाराका विद्यार्थी सीडीओ थिए भनिन्छ । सचिव त कति हो कति । संस्कृत पठन–पाठनमा यो आरक्षण अहिले पनि अनौपचारिक रूपमा यथावत छ भन्दा अतिशयोक्ति नहोला ।
सन् २००७ मा मैले अमेरिकी कलेजका पच्चीसजति विद्यार्थीलाई एक सेमेस्टर भारतभरि घुमी–घुमी साहित्य, संस्कृति, समाज र पर्यावरण पढाएँ । त्यसक्रममा हामी दस दिनका लागि वाराणसी पुग्यौं । ‘गंगा मैली है’ भन्ने विषयमा संकटमोचन मन्दिरका महन्थबाट र बनारसको प्राचीन र आधुनिक महिमाबारे बनारस हिन्दु विश्वविद्यालयका विद्वानहरूबाट प्रवचनपछि एकदिन हामीलाई पण्डित तयार गर्ने पाठशाला लगियो । दस–पन्ध्र जनाजति किशोरले वेद पाठ गरिरहेका थिए ।
घिमिरे थरका नेपाली पण्डित तिनका शिक्षक थिए । ‘यी मेरा छात्र भारतका विभिन्न राज्यबाट आएका छन्,’ तिनले भने । मेरा एक छात्रले प्याच्च सोधिहाले, ‘यी विद्यार्थी कुन जातबाट आएका हुन्, महाशय ? भर्खरै डा. मिश्रले हामीलाई जाति व्यवस्थाबारे पढाउनुभएको छ । यहाँ कोही दलित वा अरू कुनै समुदायबाट आएका छन् ?’ यी सबै विभिन्न थरका ब्राह्मण जातिबाटै आएका हुन् भनेर तिनले भने । उत्तर सुनेपछि मेरा छात्रछात्रा एकछिन पनि त्यहाँ बस्न मानेनन् । मलाई लाजमर्दो भयो । हालै नेपाल साप्ताहिकमा प्रकाशित नेपालका यस्तै पुरोहित उत्पादन गर्ने पाठशालाबारे पढ्दा संस्कृत शिक्षाको जातीय समीकरणमा परिवर्तन आएजस्तो लागेन ।
संस्कृतमा विद्रोही विचारै नभएको होइन । दक्षिण एसिया विशेषज्ञ डेविड सुलमनका अनुसार उपनिषदमै पनि ब्राह्मण वर्चस्वको विरोध र यस विरुद्ध विद्रोह पाइन्छ । वैदिक कर्मकाण्ड समेतको विरोध पाइन्छ । समानताका पक्षमा, संस्थापन विरोधी, विद्रोही विचार शास्त्रीय परम्परामा सधैं रहँदै आएको छ । दक्षिण भारतमा वीरसैव विचारकहरूले संस्कृतमा असमान ढाँचा, पदानुक्रम सोपान, कर्मकाण्ड र मन्दिर विरुद्ध पुरै आन्दोल चलाए ।
तिनीहरूको ग्रन्थ श्रीकरभाष्यमा यसको प्रमाण प्रशस्त पाइन्छ । कन्नौजमा अभिनान्द र तिनका समकालीनहरूका संस्कृत श्लोकहरूमा दलित जीवनबारे सहानुभूतिपूर्ण वास्तविक चित्रण गरिएको छ ।तर यी सब हुँदाहुँदै पनि संस्कृत पठन–पाठन र यसका विद्यार्थी भर्नामा ढाँचागत परिवर्तन किन हुनसकेन ? अहिले पनि नेपाल र भारतमा यी संस्कृत गरुकुल र विद्यापीठहरूमा औपचारिक या अनौपचारिक तवरमा ब्राह्मणेतर जात, खासगरी दलित समुदायका विद्यार्थीमाथि बन्देज किन छ ? यसका राजनीतिक र सामाजिक कारण छन् ।
भारतमा मुसलमान र अंग्रेज शासनका बेला संस्कृत ज्ञान ब्राह्मणका जिम्मा रह्यो र तिनैले यसलाई जोगाएर राखे । तर जब भारत स्वतन्त्र हुनलाग्यो र भयो, संस्कृत ज्ञानका हिसाबले तीन धारबाट बेवारिसेमा पर्‍यो । तीनमध्ये मुख्य धारलाई नेहरू–गान्धी र तिनका पाश्चात्य उदारवादले प्रतिनिधित्व गरेको थियो । गान्धी र नेहरू दुवै संस्कृत जान्दैनथे र तिनीहरूको शिक्षादीक्षा र अभिमुखीकरण अंग्रेजी माध्यममा पाश्चात्य प्रणालीबाट भएको थियो ।
लङ्गोटी–धोती लगाए पनि, खेतमा शौच गरी मल तयार पार्ने कुरा गरे पनि, गुजरातीमा लेखे पनि, भारतलाई औद्योगिक हैन, ग्रामीण लघु र चर्खा क्रान्तिद्वारा विकास गर्ने कुरा गरे पनि, नजानेकाले वा संस्कृत ब्राह्मणमा आश्रित भएकाले, संस्कृतप्रति गान्धीको अनुराग थिएन ।
आफ्ना किताबहरूमा प्राचीन भारतको जतिसुकै गुनगान गरे पनि अंग्रेजीपरस्त नेहरूले संस्कृतको संरक्षण गर्ने कुरै भएन । न्युयोर्क र लन्डनमा पढेका दलित विचारक अम्बेदकर ब्राह्मणाश्रित संस्कृतका सोझै विरोधी हुने नै भए । बाँकी रहे सावरकर र गोलवाकर नितृत्वका हिन्दुवादीहरू । संस्कृत साहित्य र दर्शनभन्दा पनि तिनीहरूको ध्याउन्न हिन्दुवादी शासन र गैरहिन्दु, खासगरी मुसलमान विरोधी क्रियाकलाप र विचार प्रतिपादनमै केन्द्रित रह्यो ।
तर यीमध्ये कसैले चाहेको भए पनि पहिले हिन्दु जाति व्यवस्थामाथि मौलिक आधारभूत प्रहार नगरी संस्कृतको उद्धार गर्न सम्भव थिएन । नेपालमा भने राणाहरू त निरक्षर नै थिए भन्दा पनि हुन्छ र तिनले निरक्षरता नैआफ्ना रैतीमाथि थोपरे । र २००७ सालपछि लोहिया समाजवादी वा कम्युनिस्ट भएकाले बीपी लगायतका नेताहरूमा संस्कृतजनित ज्ञान थिएन । र भए पनि कतिपय सनातनी ब्राह्मण कांग्रेसीजन भएकाले जाति व्यवस्थाको संस्थागत र ढाँचागत विरोध र संस्कृतबाट जातीय वर्चस्व उन्मूलन गर्न सक्दैनथे ।
त्यसैले आजपर्यन्त पनि राज्य र समाज सम्पोषित संस्कृत शैक्षिक संस्थाहरूमा ब्राह्मणलाई नै भर्ना लिइन्छ वाग्राह्यता दिइन्छ । अनि संस्कृत सर्वस्वीकार्य कसरी होओस् र यसको अरू जाति–समुदायद्वारा विरोध किन नहोस् ?
संस्कृतलाई सर्वस्वीकार्य बनाउन दुइटा कार्य गर्नु अनिवार्य छ । एक, सबै संस्कृत पाठशालामा सबै जात वर्गलाई प्रलोभन र आरक्षणसहित भर्ना दिनुपर्छ । दुई, कर्मकाण्डी पण्डित जुनसुकै जातिको योग्य व्यक्ति पनि हुने व्यवस्था हुनुपर्छ । यी काम सामाजिक र संस्थागत रूपमा हुने बित्तिकै ब्राह्मणेतर समुदायमा संस्कृत विरुद्ध सहस्राब्दियौंदेखिको विरोध र पूर्वाग्रह हराएर जान्छ । र अर्को कुरा संस्कृत पठन–पाठनमा भाषा सिक्नमा बढी र व्याकरण घोक्नमा कम जोड दिनुपर्छ ।
यसका लागि अमेरिका, युरोपमा जसरी भाषाशास्त्रीय आधारमा संस्कृत पढाइन्छ, त्यसरी नै पढाउनुपर्छ । किनभने संस्कृतको घोकन्ते प्रणाली अरू विषयमा पनि सरेकाले दक्षिण एसियाकै शिक्षा प्रणाली सोचनशीलभन्दा पनि आँखा चिम्लेर पछिलाग्ने भिड उत्पादन गर्ने कारखाना बन्न पुगेको छ । नेपाल र भारतका स्कुल, कलेजमा मैले दस वर्ष संस्कृत पढेंँ । व्याकरण घोक्नु र साहित्य अनुवाद गर्नुबाहेक मैले केही गरिन । फलस्वरूप दस वर्षपछि पनि श्लोक र शब्द र धातुरूप त मलाई निकै कण्ठस्त भए, तर मैले संस्कृत बोल्न–लेख्न भने जानिन ।
तर आजका दिनमा संस्कृतविद र संस्कृत पक्षधरहरू संस्कृत पतनको विलौनाले नपुगेर हिन्दुत्ववादी पनि बन्नपुगेका छन् । तिनीहरूको हिन्दुत्ववादको त आम जनसमुदायले विरोध गर्ने नै भए । त्यही विरोधमा तिनको संस्कृत जगेर्ना गर्ने दलील पनि पानीको फोका बनेको छ । वास्तवमा यो अवस्था साहित्य, कला, समाज, दर्शन, र वैचारिक गहनताका लागि बडा उदेकलाग्दो हो । किनभने संस्कृत यी सबैको स्थानीय अथाह स्रोत हो, जोबिना महान साहित्य र दर्शन नेपाल र भारतमा जन्मिन गाह्रै छ ।
मिश्र संयुक्त राज्य अमेरिकास्थित लुइस विश्वविद्यालयमा अंग्रेजीको विभागाध्यक्ष हुन् प्रकाशित : पुस २१, २०७५ ०७:५९

सेल्फ सेन्सरसिपको सन्त्रास

सेल्फ सेन्सरसिपको सन्त्रास
फाल्गुन ७, २०७५सम्पादकीय
काठमाडौँ — सत्तारूढ दल नेकपाको भ्रातृ संगठन युवासंघको धम्कीपछि गायक पशुपति शर्माले आफ्नो एक गीत युट्युबबाट हटाए । धेरैले भने– पञ्चायतकालको झल्को आयो । अझ कतिले टिप्पणी गरे– पञ्चायतलाई पनि बिर्सायो ।
उसबेला हास्य कार्यक्रमहरूमा राजाकै सामु सार्वजनिक पदाधिकारीविरुद्ध व्यंग्यवाण हानिन्थ्यो । एकपटक तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाकै अगाडि प्रज्ञा प्रष्तिष्ठानमा आयोजित कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘मह’ जोडीले व्यंग्य कस्यो, ‘सूर्यको रापले डढाउने भो ।’ त्यतिबेलाको बन्द समाजका शासकहरू पनि यस्ता व्यंग्य पचाउँथे वा पचाएजस्तो गर्थे । पछिल्ला वर्षहरूमा पनि नेताहरूले सिस्नुपानी नेपालका कडा व्यंग्य पचाउँदै आइरहेकै थिए ।
यस्तो समुन्नत हास्यव्यंग्य परम्परामा गायक शर्माको घटनाले अचानक एउटा बेमोज थपेको छ । अभिव्यक्ति स्वतन्त्रताको प्रयोग उचाइमा पुगिसकेका बेला एउटा कलाकारले आफ्नो सिर्जना ‘फिर्ता लिने’ अवस्था आउनु दुर्भाग्यपूर्ण मात्र होइन, निन्दनीयसमेत छ । यसले हाम्रो लोकतान्त्रिक गणतन्त्रको चेतनामै प्रहार गरेको छ । स्वतन्त्रता उपभोगमा हामीले छोएको उचाइलाई बिटुलो बनाइदिएको छ । वाक् तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित तुल्याएको छ । सर्जकहरूमा ‘सेल्फ सेन्सरसिप’ को सन्त्रास थपेको छ ।
सरकार, राजनीतिज्ञ र सार्वजनिक पदाधिकारीको आलोचना गर्ने र तार्किक खिल्ली उडाउने हक जोकोही नागरिकलाई छ । अझ, व्यंग्य कलाकारको त धर्मै विकृति, विसंगति र भ्रष्टाचारविरुद्ध तीर उठाउनु हो । शर्माले पनि मुलुकमा मौलाएको भ्रष्टाचारविरुद्ध गीत गाएका थिए । तर युवासंघले सामाजिक सञ्जाल फेसबुकमार्फत चेतावनी दियो । आफ्ना ‘ज्ञात–अज्ञात त्रुटिहरू सच्याउन’ भन्यो । ‘अन्यथा...करिअरमा असर पर्न सक्ने कडा कदमका लागि बाध्य हुन नपरोस्’ भनेर धम्की नै दियो । यो घटनाले गायक शर्मामाथि मात्र ‘अन्याय’ भएको छैन, आम सर्वसाधारणमा समेत संविधानप्रदत्त अधिकारको निर्बाध उपभोगमा भय पैदा गरेको छ ।
यस प्रकरणमा अहिलेसम्म सरकारको प्रत्यक्ष संलग्नता देखिएको छैन । तर यत्तिकैमा ऊप्रतिका प्रश्नहरू निस्तेज हुँदैनन् । कुनै दलको भ्रातृ संगठनले एक कलाकारलाई ‘करिअरै सकिदिने’ धम्की कसरी दिन सक्छ ? उसको यस्तो दस्साहसको स्रोत के हो ? यसले मुलुकको प्रशासन कसको हातमा छ भन्ने सन्देश दिन्छ ? यसरी कसैलाई धम्क्याउनु आपराधिक क्रियाकलाप हो । सरकारले यसबारे अनुसन्धान गर्नुपर्छ । र, आम नागरिकलाई संवैधानिक हकको प्रत्याभूति दिलाउनुपर्छ ।
शर्माका गीतका शब्दहरू व्यक्तिभन्दा पनि संस्था लक्षित छन् । तिनलेवर्तमान सरकारको मात्र नभई सत्तामा बस्दै आएका जोकोहीलाई व्यंग्यगरेका छन् । गीतले उठाएका सवाल यसअघि सार्वजनिक वृत्तहरूमा नउठेका विषय पनि होइनन् । संसद्मा समेत छलफल भएका विषय हुन् । सरकारी निर्णयहरू हुन् । यस्तोमा विषयमा आपत्ति जनाएर खोंचे थाप्नु भद्दा मजाकबाहेक केही हुन सक्दैन ।
सर्जकको सिर्जना जस्ताको तस्तै सुन्न/देख्न पाउनु श्रोता/दर्शकको अधिकार हो । शर्माले युट्युबबाट गीत हटाएपछि उनको स्वतन्त्रता कुण्ठित पार्न चाहनेहरूलाई सुखानुभूति भयो होला । तर यो डिजिटल युगमा कुनै सामग्री सजिलै कसरी नामेट होला र ! हिजो युट्युब नहुँदै पनि भूमिगत दलका क्रान्तिका गीत सञ्चारित भएकै थिए ।
अर्को, ‘पब्लिक डोमेन’ मा दसथरी विषय छन् । गीतसंगीत पनि अनेकथरी छन् । के हेर्ने, के सुन्ने नागरिक स्वतन्त्रताको विषय हो । सामाजिक रूपमा पाच्य नहुने सिर्जनाले त्यसै पनि आम चासो पाउँदैन । सिर्जनाको स्तर जाँच्ने न्यायाधीश भनेकै श्रोता/दर्शक हुन् । कुनै यो वा त्यो संगठनलाई स्रष्टाका सिर्जनामथि अंकुश लगाउने हक हुनै सक्दैन । कसैलाई व्यक्तिगत चोट पुगेको छ भने कानुनी उपचार खोज्ने विधिसम्मत बाटो छँदैछ । धम्की विधिको शासनविरुद्धमा छ ।
यो घटना यत्तिमै सीमित नरही भोलिका दिनमा प्रवृत्ति नै बन्ने त होइन भन्ने संशय बढेको छ । निर्बाध प्रश्नहरू गर्नकै निम्ति हाम्रा दुई–तीन पुस्ताले संघर्ष गरेर लोकतन्त्र ल्याएका हुन्, जसको मेरुदण्ड भनेकै वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हो । यो अधिकार कुण्ठित गर्ने कुनै पनि हर्कत सचेत समाजमा स्वीकार्य छैन । सार्वजनिक पदाधिकारीमा जवाफदेहिता खोज्नु कलाकारको मात्र नभई, जोकोहीको कर्तव्य हो । उनीहरूबाट हुने गलत गतिविधि बन्द गराउनुको बदला ढाकछोप गर्नपट्टि लाग्नु आफैंमा अझ ठूलो गल्ती हो । कसैबाट यस्तो गल्ती नहोस् । सरकार आफ्नो जिम्मेवारीबाट नपन्छियोस् । प्रकाशित : kantipur, फाल्गुन ७, २०७५ ०८:३५

हिन्दू दर्शनको प्रयोगशाला

हिन्दू दर्शनको प्रयोगशाला
शनिबार, २८ पुष २०७५, ०८ : ५९ |  नागरिक
रेखा कोइराला
तीनपुस्ता अघि देखि हामी चाबहिलमा बसोबास गर्दै आएका छौं। धार्मिक–आध्यात्मिक परिवार भएको हुँदा हजुरबुवाले पशुपतिनाथको सेरोफेरोमैं बस्न रुचाउनुभएको रहेछ। मलाई सम्झना छ– कलेज जाने क्रममा पशुपतिनाथको पश्चिम ढोका दर्शन नगरी अघि बढ्दिन थिएँ। साथीसंगी पनि त्यसै गर्थे। हामी कुरा पनि गथ्र्यों–हाम्रो देशलाई विश्वमा चिनाउने पशुपतिनाथलाई फोहरले चारै तर्फबाट छोपेको छ ! हामी भगवानलाई पुकार गथ्र्योंं–हे भगवान् ! कमसेकम एक जनालाई त पठाईदेऊ जसले वनकालीदेखि भगवानको मूल मन्दिर हँुदै आर्यघाटसम्म हेर्न लायक बनाईदेओस्।
पशुपतिनाथ  दर्शन गर्न गौशालाको प्रहरी प्रभागबाट बायाँ पट्टीको बाटो हिँड्यो भने दाहिनेपट्टि करीब १५० रोपनी जती वनक्षेत्र छ जसलाई वनकाली पनि भनिन्छ। पशुपतिनाथ आउने आगन्तुकले वनकाली क्षेत्र   अवलोकन नगरी अघि बढ्नै सक्दैन। त्यस्तो महत्वपूर्ण क्षेत्र दशकौं अघिदेखि असरल्ल छाडिएकाले त्यहाँ असामाजिक क्रियाकलाप हुन्थ्यो। नाङ्लो पसलसमेतले गाँजा, भाँङ बिक्री गर्दै गरेको दृश्य सामान्य थिए। दर्शनार्थीले मुख छोप्दै दायाँ बायाँ नहेरी सोझै मन्दिरतर्फ हानिनु पथ्र्यो। फोहरको त कुरै नगरौं, चिल र गिद्धहरुले सीनो झम्टिरहेका हुन्थे।
तीनवर्ष यता परिस्थिति बदलिएको छ। यो क्षेत्र पुरै सफा छ। पुरै क्षेत्रमा पर्खालको निर्माण गरी त्यसमा ठूल्ठूला रेलिङ्गहरु लगाईएका छन्। पहिला फोहर सफा गरियो। अनि बोट बिरुवा रोपिएको देखियो। फुटपाथ बन्दै गए। दुबो रोपियो। फूलका बोटले वासना छर्न थाले। एक प्रकारको दिव्यताको आभास संचारित हुन थाल्यो। हेर्दाहेर्दै यो स्थान एउटा बृहद् उद्यान बन्यो।
मर्निङवाकको समयमा पनि टक्क रोकिएर उद्यान निर्माता प्रति अनायासै कृतज्ञता व्यक्त गर्दै भन्छन्– ‘गरे पछि न हुने के रहेछ र ?’ धन्य छन् यसका निर्माताहरु !
सुन्दरताले सबैलाई लोभ्याउँछ। सुन्दरता भित्र लुकेर बसेको रहष्य उजागर गर्न पाइयो भने मानवीय गुणले भरिएको मानिस रून थाल्छ। त्यो रुवाई नै आनन्दको पराकाष्ठा हो। हामी दुई दिदीबहिनीले पनि त्यस्तै अनुभव गर्‍यौं। त्यो उद्यान भित्र प्रवेश नगरी हामीलाई हुँदै भएन। उद्यान अझै पनि निर्माणधीन छ।  ठाउँ ठाउँमा लेखिएका पनि छन्– ‘प्रवेश निषेध। फोटो खिच्न मनाही छ।’तर के गर्ने यो मन छ नि ! अर्धैय भइसक्यो–सुन्दरताको रसास्वादन गर्न। हामी उद्यानका प्रबन्धकज्यूसँग हामीले आग्रह गर्‍यौं। ति सज्जनले भने– तपाईंहरु जस्ता मुमुक्षुहरुकै निम्ति त स्वामी श्रीहरिदासजीले यो बनाई दिनु भएको हो। एक छिनको भ्रमणले तपाईंहरुको प्यास मेटिन्छ भने, आउनुहोस् भ्रमण गर्नुहोस्। दुवोमा चाँही न टेक्नु होला।’
निज सज्जनको नाम रहेछ–गोविन्द पौडेल। उहाँले हाम्रो भ्रमणको प्रारम्भमै भन्नुभयो–हेर्नुहोस् यो उद्यान केवल ढुङ्गा माटोले वा अन्य निर्माण सामाग्रीले बनेको आम पार्क मात्र होइन। यसको भौतिक सुन्दरताले तपाईंहरुलाई सन्तुष्ट त पार्ने नै छ साथै तपाईंहरुले एक घण्टा मलाई दिन सक्नुभयो भने म यसको आध्यात्मिक ‘थिम’ पनि बताउँला। त्यसपछि बल्ल भौतिक र आध्यात्मिक दुबै लाभ प्राप्त गर्नु हुने छ।’
भगवानसम्म पुग्ने कसरी ? त्यहाँसम्म पुग्ने उपयुक्त बाटो कुन हो ? भक्ति के हो ? भगवानले रासलीला कहाँ, कहिले गरेथे ? महारासमा को को संलग्न भएका थिए जस्ता प्रश्नहरुको रहस्योद्घाटन मार्मिक ढंगले यो उद्यानमा गरिएको छ।
म पत्रकारिता र संस्कृतिको विद्यार्थी भएकाले साथमा क्यामरा र रेकर्डर हुन्छ। यस पटक पनि मौका पाउनासाथ अवसरलाई उम्कन दिईन। गोविन्दजीले सिंढी माथि उभिएर भन्नुभयो, –‘यो उद्यान विश्वको पहिलो आध्यात्मिक थिम पार्क हो। यसका लागि पशुपति क्षेत्र विकास कोषले करीब एक सय रोपनी जमिन श्री राधा माधव समितिलाई उपलब्ध गराएको हुँदा यस स्थानमा श्रीहरिदासजीले आफ्ना गुरु जगद्गुरु श्री कृपालुजी महाराजको स्मृतिमा उद्यान निर्माण गरी भगवान पशुपतिनाथमा समर्पित गर्नु भएको छ।
स्वभावैले यो देवपत्तन पशुपति क्षेत्र भएको हुँदा यो उद्यान पनि शिवस्वःनै हो। यहाँ भौतिक रुपले जे जति निर्मित छन् ति सबै सनातन धर्मसंग तादात्म्य राख्ने गरी हिन्दू दर्शनमा आधारित छन्। जुन ‘थिम’ मा यो निर्मित छ त्यस्तो आध्यात्मिक ‘थिम पार्क’ विश्वमा अन्यत्र कतै बनेका छैनन्। त्यसकारण यो उद्यान नेपालको गौरव पनि हो।
उद्यान थुप्रै वाग, वगैंचा, वाटिका र कुञ्जहरुको एकीकृतरुप हो। यहाँ मूलतः भगवान शिव र पार्वतीको लीलासंग तादात्म्यता राख्दै राधाकृष्ण र सीताराम अनी देवीहरुको व्याख्या गरिएको छ। हिन्दू दर्शन बारे अनभिज्ञ देशी–विदेशी जनलाई यो उद्यानको आद्योपान्त अध्ययन भ्रमण गरेपछि आफूले हिन्दू दर्शनबारे मनज्ञ बुझेको अनुभूति गर्ने छन् भन्ने विश्वास लिएको ति सज्जनले बताए।
भ्रमण क्रममा हामीलाई करिव २ घण्टामा जे जति बताइए ति सबै कथा यो छोटो आलेखमा समेट्न सकिँदैन। सनातन धर्ममा राम, कृष्ण र शिव सबैलाई भगवान भनिन्छ। यि भगवानमा भिन्नता छैन भन्ने शास्त्रीय प्रमाण प्रस्तुत गर्दै उद्यानमा भनिएको रहेछ –यी तीनै भगवानहरु प्रयोजन भेदका कारण मात्र अलग अलग नामले पुकारिने हुन्, मुलतः यी एकै हुन् भन्दै सबैको समन्वय यहाँ गरिएको छ।
भगवानसम्म पुग्ने कसरी ? त्यहाँसम्म पुग्ने कति बाटा छन् ? उपयुक्त बाटो कुन हो ? भक्ति के हो ? विश्वमा कति प्रकारका भक्ति छन् ? भगवान शंकरका विभिन्न नामका अर्थ के के हुन् ? भगवानले रासलीला कहाँ, कहिले गरेथे ? महारासमा को को संलग्न भएका थिए जस्ता प्रश्नहरुको रहस्योद्घाटन मार्मिक ढंगले यहाँ गरिएको छ। कूशल शिक्षकले शिष्यहरुलाई जसरी प्रयोगशालामा राखेर विषय वस्तुको केस्राकेस्रा केलाउँदै संझाउँछ, त्यसैगरी यो उद्यानलाई पनि हिन्दू दर्शनको प्रयोगशाला नै भनिदिए फरक पर्दैन।
ब्रम्ह, जीव र माया भनेको के हो ? गाडी चालकलाई समेत ‘गुरु’ भन्ने गरेको हाम्रो समाजलाई गुरुतत्वको महत्ता सम्झाउनकै निम्ति निर्मित ‘महापुरुष चौतारी’ र ‘सद्गुरु सेतु’ को कथा कल्पनातीतझै लाग्दछन्।
स्कन्द पुराणमा उल्लिखित प्रमाण प्रस्तुत गर्दै ६४ वटा ज्योतिलिङ्गहरु काठमाडौँ उपत्यकाको सेरोफेरोका जिल्लामा भग्नावशेष अवस्थामै भए पनि छन्। तिनले स्वयं पशुपतिनाथलाई सशक्तिकृत गरिराखेका छन् भन्ने उद्यानमा पुगेपछि मात्र थाहा पाइयो। भारतमा भएका १२ ज्योतिलिङ्गहरुनै आधिकारिक हुन भन्ने ‘अफवाह’ फैलाएका भारतीयहरुको षड्यन्त्रको ‘पर्दाफास’ पनि उद्यानले गरिदिएको छ।
भगवान कृष्णलाई मार्न कंसले अनेकौं कुकृत्यहरु कहाँकहाँ गर्‍यो ? राम र सीताको पहिलो भेट कहाँ भएथ्यो ? श्री कृष्णले यो ब्रम्हाण्डका जीवलाई इन्द्रको कोपबाट कसरी र कहाँ उद्धार गर्नुभयो ? भन्ने बडो मार्मिक ढंगले यहाँ संझाइएको छ। सीताले गौरी (पार्वती) को आराधना कहाँ गर्थिन् ? शिवधनुष भनेको के हो ? यसलाई कहाँ राखिन्थ्यो, जस्ता कुराहरु जसरी निर्माण कार्यहरुसँग जोडेर वर्णन गरियो, त्यो अद्भुत नै छ।
उद्यानले आध्यात्मिकताका अतिरिक्त भौतिक कुरालाई पनि त्यत्तिकै महत्व दिएको पाइयो। सदियौंदेखि वर्षातका समयमा चावहिलदेखि बग्दै आएको पानीले वनकाली क्षेत्रका डाँडा ध्वस्त बनाइदिएका थिए। अब त्यस्तो पानी उद्यानमा आइपुगेपछि नियन्त्रित हुने व्यवस्था यहाँ गरिएको छ। गौरी कुण्ड लगायत अनेकौ पोखरी र इनारहरु जो यहाँ देखिन्छन्, तिनले आगन्तुकहरुलाई पृथ्वी माताको ऋणबाट मुक्त हुने जुक्ति सिकाई रहेका छन्। आध्यात्मिक शिक्षाको हवाला दिँदै पर्यावरण संरक्षण, भूक्षय नियन्त्रण र बाढी पहिरोको रोकथाम कसरी गर्ने ? भन्ने कुराको समाधान यहाँ जसरी गरेरै देखाइएको छ, त्यस्तो कर्म बडेबडे नामचलेका इन्जिनियरिङ्ग अध्ययन संस्थानले समेत आजसम्म गरेका छैनन्।
मरेको जनावरका सिनो र फोहर टिप्न छिनाझपट गर्ने गरेका गिद्द र चिलहरुलाई सुगा, ढुकुर र चमेरो अनि परेवाहरुले विस्थापित गरी उद्यानमा घर गरेको देख्न पाउँदा स्वयं शिव र पार्वती कति प्रशन्न भए होलान् ! अन्त्यमा, हामीले भारत लगायत युरोप, अमेरिका अनि क्यानडा समेतका धेरै बगैंचा देखेका छौं। तर विश्व सम्पदामा सूचीकृत भगवान पशुपतिनाथ परिसरमा यस्तो उद्यान बनेको छ। यो हाम्रो गौरब हो। यो कृपालु उद्यान भ्रमण गरिसके पछि आत्मविश्वास बढेकाले हामी फेरी भन्छौं–गरेपछि नहुने के रहेछ र ?

चार घण्टा घमासान

चार घण्टा घमासान
पुस २३, २०७५
मोहन शाही
डोटी — दिउँसो २ बजेको थियो। दुई गाउँको युद्ध हेर्न दर्शक ओइरिए। मल्लो सानागाउँका बिरु नेपालीले लडाइँ सुरु हुन लागेको संकेत दिन नरसिंहा फुके । हात–हातमा धारिलो तरबार र ढाल बोकेका ४० जवानलाई कप्तान खड्कसिंह खड्काले युद्धका लागि तयार हुन आदेश दिए।
लगत्तै तल्लो सानागाउँका हर्कबहादुर भूलले पनि नरसिंहा फुके। प्रतिकारमा उत्रन ५३ वर्षीय कप्तान बमबहादुर खड्काले जोसिँदै आफ्नो फौजलाई मैदानमा आउन निर्देशन दिए। डोटीको पूर्वीचौकी गाउँपालिकाको सानागाउँस्थित देवलगणि गाउँमा दुवै फौजबीच झन्डै ४ घण्टा युद्ध चल्यो। टाउकोमा सेतो पगडी र झकुलो लगाएका सैनिकहरूबीचको लडाइँले खेत रणमैदान बन्यो।

निरन्तरको लडाइँमा मल्लो सानागाउँको फौज पराजित भयोरु। लडाइँका लागि १५ दिनअघिदेखि तालिम लिँदै आए पनि सैन्य चन्द्र नेपालीको शिरबाट टोपी खसेपछि विपक्षीसँग हार व्यहोर्नुपर्‍यो। अन्तत: तल्लो सानागाउँको टोलीले जितको खुसियाली मनायो। गाउँभरकाले सेनालाई धन्यवाद र आशीर्वाद दिए। दुई गाउँबीच यसरी नै घमासान युद्ध हुन थालेको वर्षौं भयो।
बर्सेनि एक पटक देवलगणि खेत रणमैदान बन्ने यो लडाइँ वास्तविक भने होइनरु। सानागाउँवासीले पुर्खौंदेखि मनाउँदै आएको सांस्कृतिक पर्व भुवोको प्रदर्शन हो। सुदूर पहाडका बाजुरा र अछामसमेतको मौलिक चाड भुवो डोटीको सानागाउँमा भने युद्धकै झल्को दिने गरी मनाइन्छ।
विगतका राजा रजौटाका सेनाको युद्ध झल्काउने संस्कृति पुर्खौंदेखि उल्लासका साथ मनाउने गरिएको स्थानीय रघु कठायतले बताए। सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा मनाइने भए पनि युद्धकै झल्को दिने गरी सानागाउँमा मात्रै देख्न पाइने स्थानीय कप्तान बमबहादुरखड्काले बताए। ‘युवा पुस्ताले इतिहास पढेर वा कुनै काल्पनिक फोटो, भिडियो हेरेर राजा रजौटाका सेनाहरूको लडाइँबारे जाने/बुझेका होलान्,’ उनले भने, ‘तर सानागाउँमा हरेक वर्ष विगतको यथार्थ लडाईं झल्काउने गरी मौलिक संस्कृतिलाई जीवन्त बनाइँदै आएको छ।’
सानागाउँमा मनाइँदै आएको यो पर्वमा दुई गाउँबीच ३ विधामा युद्ध हुन्छ।युद्धको सुरुवात उनीहरू आफ्नो सामथ्र्य देखाउने एउटा विधाबाट गर्छन्। करिब ५० मिटर दूरीमा बसेर मल्लो सानागाउँको टोलीले अग्लो भागमा किल्ला बनाएर आक्रमण गर्छ। तल्लो सानागाउँको टोली तल्लो भागबाट प्रतिकार गर्छ।
दुबै सेनाले आफ्नो किल्लाबाट एक वा दुईभन्दा बढी सैनिकलाई प्रतिनिधिका रूपमा पठाएर एक/एक गरी विभिन्न कला, धनसम्पत्ति, घरपालुवा जनावर, विशेषज्ञ सेवा तथा क्षमताहरू विपक्षीसामु प्रदर्शन गर्छन्रु। ‘पहिले तल्लो सानागाउँको फौजबाट प्रदर्शन हुन्छ, त्यसपछि मल्लो सानागाउँको पालो पाउँछ,’ वयोवृद्ध दीर्घ खड्काले भने, ‘कम्तीमा २० भन्दा माथि यसरी एउटा समूहले प्रदर्शन गर्छ। यसमा विपक्षीलाई हतोत्साहित पार्न विभिन्न आक्रोश, ठटयौली, माया पिरतीजस्ता रस पनि देख्न पाइने भएकाले दर्शकहरू हेर्नका लागि झुम्मिन्छन्।’ यस्तो प्रदर्शन गर्ने क्रममा सेनाले चाल, लुगाकपडा तथा जुत्ता चप्पल केही पनि सामान शरीरबाट खसायो भने उसको समूहले हार स्विकार्नुपर्ने उनी बताउँछन्।
दोस्रो विधा हो कवाज प्रदर्शनरु। स्थानीयले कवाजलाई चाली खेल भन्ने गरेको ६७ वर्षीय गोपी नेपालीले बताएरु। यसमा सेनाले सामूहिक रूपमा तरबार नचाउने, पैंताला मिलाउने, ढालले विपक्षीको प्रहार छेक्ने जस्ता ५२ प्रकारका कवाजहरू प्रदर्शन गरिने प्रचलन रहेको डोटी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नरेन्द्र खड्का बताउँछन्।
भुवो खेलका ८ खुट्टा, १६ चाल छन्रु। पछिल्लो समय १ देखि ९ नम्बरसम्मका चाली खेलिने गरिन्छ। सबै चाली बाजा वा तालमा निर्देशित हुन्छरु। खेल्दाखेल्दै थाकिने भएकाले हरेक चालीको अन्तमा विश्राम गर्ने चाली आउँछ। विश्रामको चाली खेलभर १८ पटक आउने गर्छरु। जसलाई ठाडी वा रटक भनिने गरेको १२ वर्षदेखि भुवो खेल्दै आएका चन्द्रसिंह नेपाली बताउँछन्।
तेस्रो विधा हो घाईरु। यो विधाअन्तर्गत फौजका कुशल सेनाहरू लडाइँमा उत्रन्छन्रु। एकआपसमा तरबार र ढालले प्रहार गर्छन्रु। लडाइँ हुँदा अन्य सैनिकले आफ्नो प्रतिनिधिलाई होहल्ला गरेर वा ताली पिटेर प्रोत्साहन गर्छन्। यस विधामा सेनाहरू एक/एक गरी तथा ५ वटासम्म जोडी बनाएर पनि एकअर्कामाथि प्रहार गर्छन्। दुइटा फौज लड्दा गाउँलेले पनि आ–आफ्ना सेनालाई लड्न प्रेरित गर्ने स्थानीय नेता देवबहादुर खड्काले बताए।
डोट×याली संस्कृतिका जानकार सुरतबहादुर शाहको पुस्तक ‘अछामका चाडपर्वहरू’ मा भुवा नाच प्राचीनकालदेखि चल्दै आएको उल्लेख छ। शाहका अनुसार प्राचीनकालमा राजकाज चलाउने क्रममा युद्ध भइरहने भएकाले क्षत्रीलाई लडाइँका लागि तयार बनाइराख्न हातहतियारको युद्धकला तालिम दिइन्थ्यो।
हिउँदमा खासै कामकाज नहुने भएकाले सैनिकहरू मुढाको आगो ताप्दै युद्धकलाको अभ्यास गर्थे। गोली, बारुद तथा बम गोलाजस्ता हातहतियार नभएको अवस्थामा बाइसे–चौबिसे राज्यकालमा समेत सेना तरबार र ढालका भरमा लडाइँ गर्ने गरेको इतिहासकारहरू बताउँछन्। पछि त्यही युद्धकला संस्कृतिका रूपमा परिणत भएको साहित्यकार प्राध्यापक बद्री बिनाडीले बताए। प्रकाशित : पुस २३, २०७५ ११:१४

गोरखा नामको वृत्तान्त

गोरखा नामको वृत्तान्त

अन्नपुर्ण, इतिहास
गोरखा’को नामको सन्दर्भमा विभिन्न वंशावली र त्यसलाई उद्धरण र नक्कल गर्दै लेखिएका पुस्तकहरूमा एकनास भेटिने एउटै खाले धारणाहरूमा ‘गोरखनाथ’बाट ‘गोरखा’ नाम रहन गएको हो भन्ने पाइन्छ। गोरखामा राम शाहको समयदेखि पुस्तक, शिलालेख, देवमूर्ति लेखिन, कुँदिन थालेको देखिन्छ।
सास्ती
कहिले जुम्लाका खसहरूको रजाइँस्थल। कहिले काठमाडौंका शासकहरूको मैदान त कहिले पाल्पाली सेनहरूको। केन्द्रका शासकहरूले तोकिदिएका या तिनलाई खुसी बनाएर कजाई हात पारेका डाँडैपिच्छेका फरकफरक रैथाने रजौटा या सामन्तहरू। स्वतन्त्र मुद्रा र स्थायी सेना नभएका। राज्यको स्थिर सिमाना र स्थायित्व नभएका। राजाको नाममा बल र हूल हुनेहरूले कजाई गर्ने।
यस्तै प्रवृत्ति र छिनाझम्टीका बीच काठमाडौंबाट ९१ किमि पश्चिमको आजको गोरखा विक्रमको अठारौं शताब्दीको मध्यसम्म पनि डाँडैपिच्छे कोट र कोटैपिच्छे ‘राजा’को दुःखबाट आजित थियो। एउटालाई राजा थापेर सुतेका जनता उठ्दा अर्कैलाई राजाको पगरी चढाउन विवश हुन्थे र साँझ नपर्दै अर्कै राजाको रूपमा उपस्थित भइसक्थे। यस्तो दुःखको पोखरी आजको गोरखामा मात्रै थिएन, हरेक थुम र बस्तीहरू यस्तैखाले सास्तीको पोखरीमा प्रातः र सन्ध्या स्नानको धपेडीमा थियो।
आरम्भ
यस्तो अवस्थामा अलिक बलियो र स्थिर राज्य हुनु, राज्यको साँधसीमा तैविसेक फराकिलो र घोषित हुनु, स्थिर प्रकारको शासक हुनु आफैंमा प्रगतिशील परिघटना हुने अवस्था थियो। त्यस्तो परिवेशमा गोरखा माझकोटमा विसं १६१६ भदौ २६ गते द्रव्य शाहले विजय हासिल गरेपछिको राजनीतिक गोरेटोले फरक आकार ग्रहणमात्रै गरेन, कालान्तरमा लिगलिग हुँदै माझकोटबाट विस्तार सुरु भएको माझकोटको मुकामले सुरुमा दरौंदी, भुसुण्डी, चेपे, बूढीगण्डकी र त्रिशूली प्रस्रवण क्षेत्रका रैथाने सामन्ती इलाकालाई आफूमा समाहित गर्‍यो र सग्लो गोरखा राज्यको आकार ग्रहण गर्‍यो। त्यही गोरखा राज्यले कालान्तरमा आफूलाई विस्तारित गर्दै जाँदा परिणाममा जुन आकार ग्रहण गर्‍यो, त्यो आजको नेपालको रूपमा हाम्रोसामु परिचित छ। यसरी आजको नेपालको कुनै समयको मूलधुरी गोरखाको परिचय भने आजसम्म प्रस्ट हुन सकेको छैन। गोरखा नाम कसरी रह्यो भन्नेमै जति काल्पनिक कथा र त्यसमा अनेकन दैवी उपकथाहरूको संक्रमण पाइन्छ उति तथ्य र सभ्यता विकासका अनुक्रमहरूको सिलसिला भेटिँदैन।
भूगोलको नाम, त्यहाँको सभ्यता विकासमा स्वाभाविक मानवीय संघर्ष र यत्नहरूको जून भूमिका र स्थान हुन्छ भन्ने मानक बनेको छ, त्यसको ठाउँ अनेकन दैवी चमत्कार, जादुयी प्रार्दुभाव र तिनको कृपामा सभ्यता विकास भएका काल्पनिक कथाहरूले हडपेकोे छ। जब इतिहासमा स्वाभाविक मानव विकासका सिलसिला, उत्पादक शक्ति र आर्थिक परिस्थितिबीचको संघर्षको अनिवार्य परिणामबाट पैदा हुने नयाँ अवस्थाको ठाउँ चमत्कार, ईश्वर, धर्म र आस्थाले लिन्छ, त्यहाँ कुनै बहस, विमर्श र प्रश्नहरूलाई स्थान हुँदैन। किन पनि भने आस्था, धर्म, ईश्वरमाथिको बहस निषेधित छ– संसारभर नै। ‘गोरखा’ नाम प्रारम्भमा कहिलेबाट कसरी रहन गयो भन्नेमा उसै पनि प्रस्ट तथ्य पाउन सकिएको छैन। जहाँ तथ्यहरू गायब छ, स्वाभाविक रूपमा त्यहाँ कथ्यहरू दैवी अवतार धारण गरेर किंवन्दन्तीको रूपमा प्रकट हुने गर्छन्। किंवन्दन्तीको सिरानी हालेपछि प्रमाण नै त्यही हो भन्ने स्तरको बुझाइ हाम्रो राष्ट्रिय मूलशिक्षा भइदिएको छ।
बेनामी भूगोल
विक्रमको झन्डै सत्रौं शताब्दीको अन्त्यसम्म गोरखाको नाम उल्लेख भएको कागजपत्रहरू प्राप्त हुन सकेको छैन। राम शाहको समयमा लेखाइएका वंशावलीमा भने ‘गोरखा’ शब्द रुढ भएर आएको छ। यद्यपि काठमाडौं उपत्यका, खस राज्य र पाल्पा राज्यका शासकहरूले लेखे, लेखाएको विभिन्न शिलालेख, अर्जी, उर्दीपत्रहरूबाट घुमाउरो तवरले गोरखाबारे केही सूचना भने अवश्य नै मिल्छ।
मानदेवको विसं ५२२ को चाँगुको अभिलेख हुँदै द्वितीय शिवदेवको कैलाशकुट भवनबाट जारी भई गोरखाको गोरखनाथ गुफाभित्र रहेको विसं ७५५/५६ को अभिलेखले तत्कालीन गोरखा काठमाडौंको मातहत रहेछ भन्ने जनाए पनि त्यसबखत आजको गोरखा कुन नामले परिचित थियो भन्ने भने खुल्न सकेको छैन। हालको गोरखा दरबारको पूर्वपट्टि रहेको हनुमान भन्ज्याङको सरस्वतीको मूर्तिनेरको मिति नखुलेको कैलाशकुट भवनबाट जारी भएको द्वितीय जयदेवको शिलालेखले हालको गोरखा भेगका जनतालाई ‘जनपद लोकान्’ भनिएको पाइन्छ (पन्त, दिनेशराज–गोरखाको इतिहास, भाग १, पृ. ८)। जनलोकान् या जनपद भन्नाले सामन्ती इलाका नभई केन्द्रबाट शासित इलाका भनेर चिनिन्छ (सूचना विभाग, मेची–महाकाली, पृ. ७०)।
मानदेवको चाँगुको अभिलेखमा मानदेवले उनको पिताको निधनपछि स्वतन्त्र हुन खोजेर काठमाडौंको अधीनस्थ हुन अस्वीकार गरेका गण्डकी पारि मल्लपुरी (हालको पर्वतको मल्लाज ? ) सम्मका स्थानीय सामन्तलाई जितेर फर्किएको वर्णन परेको हुनाले काठमाडौं र गण्डकीपारिको मल्लपुरीबीचको गोरखा तत्कालीन काठमाडौं अधीनस्थ थिएछ भन्ने देखाउँछ (वज्राचार्य, धनवज्र–लिच्छविकालका अभिलेख, पृ. १३–१६) भने द्वितीय शिवदेव र जयदेवको अभिलेख गोरखामा पाइनुले त्यसबखतसम्म गोरखा काठमाडौं अधीनस्थ नै रहिरहेको देखाउँछ।
भोटको सक्यमठमा रहेको विसं १०५५ मा गण्डीगुल्म निवासी सुवर्णकार श्रीराणकले सारेको अष्टसाहस्रिका प्रज्ञापारमितामा श्री नरेन्द्रदेव भट्टारक र  श्री उदयदेव भट्टारकको उभयराज्यमा सारिएको उल्लेख हुनुले तत्कालीन काठमाडौं गण्डीगुल्म अर्थात् अहिलेको गुल्मी इलाकासम्म फैलिएको देखिनाले तत्कालीन समयमा गोरखाको भूगोल काठमाडौंकै अधीनस्थ थिएछ भन्ने देखाउँछ (पूर्णिमा, अंक ३०, पृ. १३७)। भोटको ङोरमठमा रहेको लमजुङमा बस्ने गंगा राणकले विसं ११२६ मा सारेको अष्टसाहस्रिका प्रज्ञापारमितामा राजा शंकरदेवको उल्लेख भएको (पूर्णिमा, २४, पृ ४४) र विसं ११५० मा गण्डीगुल्म निवासी जीवधरसिंह कायस्थले सारेको र भोटको सक्यमठमा रहेको अष्टसाहस्रिका प्रज्ञापारमितामा ‘ श्री हर्षदेवराजे’ उल्लेख भएको (लुसियानो पेटेच–मेडिइभल हिस्ट्री अफ नेपाल, पृ. ५०) ले त्यसबखतसम्म गोरखाभन्दा निकै परको गुल्मी र लमजुङसम्म काठमाडौंको रजाइँ कायमै रहेको देखाउँछ।
सिँजाका राजा जितारी मल्ले विसं १३४४, १३४५, १३४६ मा बर्सेनि नेपाल खाल्डोमा आक्रमण गरी उत्पात मच्चाएको र उनका छोरा आदित्य मल्लले विसं १३८४ मा नेपाल खाल्डोमा हमला गर्दा पहिले नुवाकोट हमला गरेको उल्लेख हुनुले यो समयमा सिँजा र नेपाल खाल्डोको बीचमा पर्ने गोर्खा सिँजा अधीनस्थ थियो भन्ने देखिन्छ। विसं १३७८ मा आदित्य मल्लले गोर्खाको अठार सय खोलाको साम्दुको ताघवाई गुम्बामा बस्ने लामाहरूको रक्षा र मान गर्न तथा विसं १३९४ को आदित्य मल्लले ताघवाई गुम्बा र त्यहाँ बस्नेहरूको सुरक्षाका लागि आफ्ना भारदारहरूलाई आदेशपत्र लेखेबाट यसबेलासम्म पनि गोर्खा सिँजा (खस) राज्यकै अधीनमा रहेको देखिन्छ।
जितारी मल्लले खसतिर पारेको गोर्खालाई विसं १५२४ तिर यक्ष मल्ल (भक्तपुर) ले नेपाल खाल्डोको अधीनमा लगेको देखिन्छ। यक्ष मल्लपछि नेपाल खाल्डोमा मल्ल राज्य विभाजित भयो र कमजोर भयो। यही मौकामा विसं १५८१/८२ मा दुई पटकसम्म पाल्पाली राजा मुकुन्द सेनले काठमाडौं उपत्यकामा हमला गरी हाहाकार मच्चाएका थिए। विसं १६०३ मा समेत उनले काठमाडौंमा आक्रमण गरेको र विसं १६०५ मा काठमाडौं खाल्डोका राजाहरूले आपसमा पाल्पाली सेनहरूको हमलाको त्रास व्यक्त भएकोले कम्तीमा विसं १६०३ सम्म गोर्खा पाल्पाको अधीनमा रहेको देखिन्छ (पन्त, दिनेशराज–गोरखाको इतिहास, भाग १, पृ. २०,२२ )।
मुकुन्द सेनपछि उनको ठूलो राज्य टुक्रियो (फ्रान्सिस बुचनान ह्यामिल्टन–एन अकाउन्ट अफ दी किङडम अफ नेपाल, पृ. १३१)। उनका छोराहरूले आफ्नो सबै राज्य थाम्न नसकेपछि गोर्खासहितका भू–भाग सेनहरूबाट छुट्टिई स्थानीय शासकको अधिकारमा आएको देखिन्छ (पन्त, उही, पृ. २४)। पाल्पाली राज्य कमजोर भएपछि रैथाने रजौटाहरूले आफूलाई स्वतन्त्र राज्यको रूपमा व्यवहार गर्ने प्रयास सुरु गरेपछि गण्डकी  प्रस्रवण क्षेत्रमा अनेकन टुक्रे राज्यहरू अस्तित्वमा आएको अनुमान गर्न सकिन्छ। त्यसैक्रममा लिगलिग र माझकोटमा फरक थरका मगरहरूको राज्य चलेको र त्यसलाई द्रव्य शाहले विसं १६१५ र १६ मा क्रमशः दक्खल गरेको देखिन्छ। त्यसबखतसम्म गोरखामा लेखपढ या शिलालेख, घटनावलीहरूको टिपोटको व्यवस्थित प्रचलन नभएकैले हुन सक्छ, अहिलेसम्म द्रव्य शाहकालीन लेखोटहरू भेटिएको छैन।
अपव्याख्या
ऐतिहासिक बाबुराम आचार्य भने द्रव्य शाहले माझकोट, तल्लोकोट र उपल्लोकोट जितेपछि मात्रै त्यस स्थानमा आवाद गुल्जार गराएर बसाएको बस्तीको नाम गोरखा राखिएको उल्लेख गर्छन्। श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनीमा उनी लेख्छन्– ‘लिच्छविकालमा आवाद गुल्जार भएको बस्ती उजाड भएर केही शताब्दीपछि नाथ सम्प्रदायका योगीहरूले एक ‘नाथ’को मूर्ति बनाई शिलापत्रसमेत स्थापना गरेका थिए।...यस डाँडाका दक्षिण र उत्तर दुवैपट्टि खेत भएका र पश्चिमपट्टि दरौंदीको धनोहर ब्याँसीसमेत भएको हुनाले स्थान बहुत उपयोगी थियो। यसकारण द्रव्य शाहले त्यस डाँडामा रजस्थल बनाउने विचार गरी नयाँ बस्ती बसाए। यिनताक काली–पश्चिमका प्रदेशमा आवादी बढेर बसाईंको खोज गर्दै अनेक परिवार पूर्वतिर लाग्दै थिए। तिनैमध्येका इश्माका नारायणदास अज्र्याल, अर्घाका सर्वेश्वर खनाल, कुमाउँका गणेश पाँडे र भगीरथ पन्थलाई द्रव्य शाहले यसै डाँडामा बसाई आफू रहने कच्ची छाना भएको पत्थरको घर बनाई त्यो ‘नाथ’को मूर्तिलाई ‘गोरखनाथ’को मूर्ति मानेर नयाँ बसाएको बस्तीको नाम पनि ‘गोर्खा’ राखे’ (पृ. ७)।
तर, आचार्यको माथिको तर्क चाहिँ किन पनि खण्डित हुन्छ भने द्रव्य शाहले नजित्दै माझकोटमा खड्का राजाको राज्य रहेको र द्रव्य शाहले लिगलिगबाट आई माझकोटमाथि हमला गर्दा १५ दिनसम्मको भीडन्तमा द्रव्य शाह विजयी हुन नसकेको उनै आचार्यले उल्लेख गरेका छन् (नेपालको संक्षिप्त वृत्तान्त, पृ. ९२)। द्रव्य शाह र गोरखाली खड्का राजाबीच १५ दिनसम्म लडाइँ चलेको अन्य वंशावली र इतिहासकारले पनि उल्लेख गरेका छन्। बालचन्द्र शर्मा लेख्छन्, ‘गोर्खाका खड्का राजाले द्रव्य शाहको वीरतापूर्वक सामना गरेकाले दुवै थरीमा १५ दिनसम्म युद्ध भयो र अन्तमा द्रव्य शाह गोरखाको घेरा उठाई लिगलिग फर्कन बाध्य हुनुपर्‍यो’ (नेपालको ऐतिहासिक रूपरेखा, पृ.२१०)।
पन्ध्र दिनसम्म द्रव्य शाहको फौजको डटेर सामना गर्न सक्ने खड्का राजाको फौज अवश्य सानो संख्यामा थिएन भन्ने बुझिन्छ। त्यत्रो संख्याको फौज भएका खड्का राजा एउटा झुपडी पनि नहाली, आवाद गुल्जारसमेत नगराई बसेको कुरा पत्याउन सकिन्न। अवश्य नै माझकोटको वरपर मगर र दलितहरूको उल्लेख्य आवाद थियो भन्ने देखिन्छ। बरु मगर आवादी रहेको स्थानमा द्रव्य शाहले जितेपछि मगरहरूलाई बेदखल गराई अर्याल, खनाल, पाँडे, पन्थका अलवा द्रव्य शाहका पक्षधर सल्यानका केशव बोहरा र उनलाई लिगलिग र माझकोट जिताउन फौज जुटाउने रैथाने गंगाराम राना (मगर) समेतलाई दरबार आसपास बसाएको देखिन्छ। यिनै ६ थरी परिवार द्रव्य शाहले जितेपछि एकाएक आएर बस्ती बसाएर गोरखा नाम रहेको कुरा शाह सत्ताको प्रशस्तीको स्तरबाट माथि उठ्न सक्ने अवस्थै देखिन्न।
बरु द्रव्य शाहले जित्नुअगावै मानिसहरूको बसोबास भइरहेको ठाउँको नाम अवश्य केही न केही थियो नै। त्यसको प्रस्ट प्रकाश हामीले पाउन सकेनौं भन्दैमा काल्पनिक आवाद गराएर स्थानको न्वारन गराउने कुराले इतिहासलाई काल्पनिक निबन्धको स्तरबाट माथि उठ्न दिँदैन भन्ने ख्याल राख्नु जरुरी छ। यहाँनेर कृष्णप्रसाद श्रेष्ठको स्थाननाम सन्दर्भका धारणा उदधृत गर्नु मनासिवै हुनेछ, ‘जनता जनार्दन नै स्थाननामको स्रष्टा हो। जुनसुकै भौगोलिक नाम पनि कुनै न कुनै जनजातिको रचनात्मक सिर्जनाको परिचायक हो। स्थाननामहरू विभिन्न युगमा विभिन्न जनभाषाहरूबाट प्रार्दुभाव हुन्छन्। कतिपय स्थाननामको व्युत्पत्ति सहजै पत्ता लगाउन सकिन्छ भने अधिकांश स्थाननामहरू यस्ता हुन्छन् जसलाई सहजै अथ्र्याउन सकिँदैन। ...त्यो नाउँ जुन भाषामा राखिएको थियो, त्यो भाषा नै लोप भएर गइसकेको हुन्छ। कालक्रमअनुसार उच्चारण भेदले गर्दा पनि स्थाननामहरू नचिनिने किसिमबाट अपभ्रंश हुँदै जान्छन् र तिनको व्युत्पत्तिको भेउसमेत पाउन मुस्किल हुन्छ’ (स्थाननाम–कोश, पृ. घ)।
भ्रमको शृंखला
गोरखाको नामको सन्दर्भमा विभिन्न वंशावली र त्यसलाई उद्धरण र नक्कल गर्दै लेखिएका पुस्तकहरूमा एकनास भेटिने एउटै खाले धारणाहरूमा ‘गोरखनाथ’बाट ‘गोरखा’ नाम रहन गएको हो भन्ने पाइन्छ। गोरखामा राम शाहको समयदेखि पुस्तक, शिलालेख, देवमूर्ति लेखिन, कुँदिन थालेको देखिन्छ। गोरखनाथकै मूर्ति पनि पृथ्वीपति शाहको पालामा राखिएको देखिन्छ।
द्वितीय शिवदेवले राखेको शिलालेखलाई गोरखनाथको मूर्तिले च्यापेको देखिनाले शिलालेखभन्दा मूर्ति पछि राखिएको बुझ्न सकिन्छ। द्रव्य र राम शाहलाई दर्शन दिई कार्यनिर्देश गर्ने सिद्ध गोरखनाथको सपनामा भएको आज्ञाबमोजिम पृथ्वीपति शाहले गुफामा उनको प्रतीक बनाई नित्यनैमित्तिक पूजा चलाएको हो भन्ने जन श्रुतिलाई गोरखमा सत्य र तथ्य घटनाझैं भन्ने गरिन्छ (भट्टराई, लोकप्रसाद शर्मा–गोरखादरबार क्षेत्रको सांस्कृतिक पक्षःयसको उद्भव र विकास, पृ. २७)।
०००
राम शाहको पालामा चित्रविलासलाई लेख्न लगाइएको सात पद्यको ‘राजवंशावली’ (योगी, नरहरिनाथ–इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, पृ. ५७२–५७३) र सम्भवतः उनकै पालामा त्यसलाई संशोधन गरी धरणीधर शर्मा लिखित ‘गोरक्षराजवंशावली’ (योगी, उही, पृ. ५७३–५७५)ले द्रव्य शाहको वंशावली देखाउँछ। रणबहादुर शाहको समयपछि लेखाइएका विभिन्न वंशावली (गोरक्षाधीस चम्पु, गोर्खा वंशावली, भाषा वंशावली, प्रशस्ती–रत्नावली)हरूले गोर्खाको नामकरणका सन्दर्भमा गोरखाको गुफामा गोरखनाथ प्रार्दुभाव भएको र उनकै नामबाट त्यस भेगको नाम गोरखा रहन गएको उल्लेख गरेको पाइन्छ।
विदेशीहरूले पनि त्यही वंशावलीलाई साभार र त्यसको पनि उपसाभार गरेर त्यही कुरा दोहोर्‍याएका छन्। जर्ज वेस्टन ब्रिग्ग्स् लेख्छन्, ‘गुफा र नजिकको बजारको नाम त्यहीँ बसेका गोरखनाथको नामबाट रहन गएको पाइन्छ। चौधौं शताब्दीमा गोरखा सहरको निर्माण भएको र नामकरण भएको मानिन्छ’ (गोरखनाथ एन्ड कनफट्टा योगिज, पृ. ७९,८६)। ब्राह्मण सिद्धान्तमा अभ्यस्त भूमि गोरखनाथको नामबाट गोर्खा रहन गएको हो (भन्सिट्राट, इडेन–नोट्स अन नेपाल, पृ. ३१)। यस्ता वंशावली र पुस्तकहरूमा गोरखनाथ गोरखाको डाँडाको गुफामा उत्पत्ति भएका भन्ने कथा हालेको देखिन्छ।
०००
मानव उत्पति, विकासका आजसम्म भएका खोजहरूले मानिसको उत्पत्ति कुनै गुफाबाट भएको नपाए पनि हामीकहाँका दैवीकथाहरूमा जमिन फटाएर, गोबरबाट, पानीबाट, गुफाबाट अनेकन पात्रहरूको जन्म गराइएको पाइन्छ। आश्चर्यको कुरा त्यसरी जन्मिएका जादुयी पात्रहरूको झन्डै एक हजार वर्ष आयु पनि हामीकहाँ मात्रै पाइन्छ। गोरखनाथको समयलाई विद्वानहरूले आठौं शताब्दीदेखि बाह्रौं शताब्दीको अन्त्यको बीचभन्दा अघिपछिको हुन नसक्ने भनेर प्रमाणहरूको आधारमा विश्लेषण गरेका छन्। गोरखनाथ र मत्स्येन्द्रनाथको काठमाडौं आगमनको जन श्रुतिको समय द्वितीय नरेन्द्रदेवको राज्यकाल (हेनरी एम्ब्रेज ओल्डफिल्ड–स्केचेज फ्रम नेपाल–भाग दुई, पृ.३२६) को समयसमेत बाह्रौं शताब्दीको अन्तिमको दशक देखिएको छ।
तर, गोरखनाथको कथाको प्रभाव त्यस समयका लेखकमा कुन हदसम्म देखिन्छ भने इतिहासको उल्लेख गर्दा समेत गोरखनाथलाई सत्रौं शताब्दीको सुरुमा द्रव्य शाहलाई निर्देशन दिन र अठारौं शताब्दीको आखिरीतिर पृथ्वीनारायण शाहलाई दही छादिदिनसमेत गोरखनाथको काल्पनिक जन्म भइरहन्छ। गोरखाली शासकहरूलाई चाहिनासाथ इतिहासका कथाहरूमा हाजिरी जनाउनकै खातिर सबैभन्दा लामो समय बाँचिदिनुपर्ने दुःखबाट गोरखनाथलाई        श्रापित गराएका छन् हाम्रा काल्पनिक इतिहासका स्रेस्तेदारहरूले।
निफन नाफन
गोरखनाथ समान तवरले हिन्दु, बौद्ध र मुसलमानहरूका गुरुका रूपमा दाबी गरिएका छन्। केहीले उनी झेलुमको टिलामा जन्मिएको त केहीले पञ्जाबमा जन्मिएको उल्लेख गरेको पाइन्छ भने केहीले पेसावर, रावलपिण्डीमा जन्मिएको उल्लेख गरेका छन्। रावलपिण्डीमा गोरखपुर जिल्ला पनि छ (सिंह, मोहन–गोरखनाथ एन्ड मेडिइभल हिन्दु मिस्टिसिज्म, पृ. २२)। बाह्रौं शताब्दीको अन्त्यमा (इसं ११९९) उनको निधन भएको केही अनुसन्धाताहरूले उल्लेख गरेका छन् (सिंह, उही, पृ. २१)। सम्भोग र क्रोधलाई नियन्त्रण गर्ने सक्ने उनी हिन्दुहरूमा गोरख श्रीनाथका नामले चिनिन्छन् भने त्यसअघि उनी अनङ्ग वज्रका नामले चिनिन्थे (सिंह, उही, पृ. ३)।
नाथ सम्प्रदायका नौ नाथ एवं चौरासी सिद्धमध्ये मत्स्येन्द्रनाथ र उनका चेला गोरखनाथ पहिले वज्रयानी बौद्ध साधक थिए र पछि शैव मतमा परिवर्तित भई उनीहरूले नाथ सम्प्रदाय प्रवर्तन गरेका हुन् भन्ने मानिएको छ। ....तिब्बती विद्वान लामा तारानाथले गोरखनाथको वज्रयानी नाम अनङ्गवज्र थियो भनेका छन्। हरप्रसाद शास्त्रीले गोरखनाथको वज्रयानी नाम अनङ्गवज्र नभएर रमणवज्र मानेका छन् (गुरुङ, जगमान–गण्डकी प्रस्रवण क्षेत्रको सांस्कृतिक सम्पदा, पृ. ९०)। योगी नरहरिनाथले इतिहास प्रकाश अंक २ भाग ३ को पृष्ठ ३२ मा वज्रसिद्धि, वज्रगुरु पद्यसम्भवको मूर्तिलाई गोरक्षनाथको प्राचीन मूर्ति लेखेर पद्यसम्भवलाई गोरखनाथ मानेका छन्।
गोरखाको गोरखनाथ गुफामा स्थित द्वितीय शिवदेव र जयदेवको अभिलेखमा वज्रभैरव भट्टारकको पूजा र त्यसको लागि गुठी राखिदिएको उल्लेख छ। त्यहाँ गोरखनाथबारे कुनै उल्लेख भएको पाइन्न बरु सर्वदेवको उल्लेख पाइन्छ। गोरखाका विभिन्न भागमा प्रचलित जन श्रुतिअनुसार गोरखा पहिले ‘स्वर्णगिरी’का नामले चिनिन्थ्यो। मनकामनाको परम्परागत गुठी पूजा गर्ने वज्राचार्यहरूले संकल्प वाक्यमा उक्त क्षेत्रलाई ‘विशाखा प्रदेश’ भनेर पुज्ने गरेको पाइन्छ (भट्टराई, उही, पृ. २)। पंक्तिकारले गोरखाका विभिन्न स्थानबाट संकलन गरेको प्रचलित जन श्रुति अनुसार पहिले दरौंदी व्याँसी मनोहर खर्कका रूपमा परिचित थियो।
अठार सय खोलामाथिका मात्रै नभई मनौं (मनाङ)बाट समेत हिउँदको जाडो छल्न मानिसहरू गाईबस्तु, भेडा, च्याँग्रा, घोडा, बाख्रा चराउन यतैका खर्कमा ओइरिन्थे। त्यही प्राचिन खर्क रहेको स्थान पछि उच्चरण भेदले ‘गर्ख’, ‘गर्खा’ हुँदै त्यस इलाका ‘गोर्खा’को रूपमा उच्चारित हुन थालेकोमा त्यसलाई गोरक्षा अर्थात् गोरखनाथसँग जोडेर अथ्र्याउने प्रयास गरेको पाइन्छ। ‘गर्खा’ शब्द अहिले पनि इलाका जनाउन प्रयोग गरिन्छ। नभन्दै, सुदूरपश्चिमको बैतडी, दार्चुला, डँडेलधुरातिर विभिन्न इलाकाहरूलाई अहिले पनि ‘गर्खा’ नै भनिन्छ। जस्तै– मार्मागर्खा, लेकमगर्खा, स्वराडगर्खा, दुहुँगर्खा आदि (        श्रेष्ठ, उही, पृ. ट)। खर्क या गर्ख शब्दले रैथाने मगर बोलीको स्वाभाविक प्रतिनिधित्व गर्छ पनि।
थप जन श्रुतिका अनुसार, दूधपोखरीदेखि धर्मवती इलाका गौ वध निषेधित क्षेत्रका रूपमा अर्थात् गौ रक्षा स्थलका रूपमा परिचित भएको थियो र यहाँको स्थानलाई टाढाका मानिसहरू गौरक्ष स्थलका रूपमा परिचय लिनेदिने गर्थे। अनङ्गवज्रका रूपमा चिनिएका एक बौद्ध तान्त्रिक दरौंदी प्रस्रवण क्षेत्रको टाकुरामा रहेको गुफामा आई ध्यानमा बसेको र मानिसले उनलाई उक्त गुफामा बसेका कारण गौरक्षनाथ नाम दिएका थिए। त्यही गौरक्षनाथ पछि गोरक्षनाथ हुँदै गोरखनाथ भएको देखिन्छ। यसरी अनङ्गवज्र गोरक्ष क्षेत्रको गुफामा बसेकै कारण गोरक्ष नाथ भएको स्थानीय जन श्रुति पाइन्छ। गोरक्ष शब्दले गाई रक्षक र नाथ शब्दले गुरु अर्थ जनाउँछ। गोरखनाथ प्रारम्भिक समयमा वज्रयानी बौद्धमार्गी थिए। पछि उनी तिब्बतबाट मुक्तिनाथ हुँदै आएको मानिन्छ (गोरखनाथ एन्ड द कनफट्टा योगिज, पृ. २३३)।
०००
वज्रयानी बौद्धहरू महाकाललाई वज्रभैरव मान्छन्। तिब्बती लामा बौद्धहरूको गेलुकपा बौद्धहरू वज्रभैरवलाई आफ्नो इष्टदेवता मान्छन्। गोरखाको गोरखनाथ गुफा परिसरमा लिच्छविकालिक बौद्ध चैत्यका अवशेषहरू पाइएका छन् र गोरखा उपल्लोकोटमा केही ढुंगाहरू थुपारिएको ठाउँलाई वज्रभैरवको स्थान मानिन्छ र त्यहाँ गोरखनाथका पुजारी कनफट्टा योगीद्वारा पूजा गरिन्छ। वज्रगुरु पद्यसम्भवको स्तुतिमा उनले फर्पिङको ऋषितर गुफामा तपस्या गरेका उल्लेख छ। अहिले उक्त गुफालाई गोरखनाथ गुफा पनि भनिन्छ। त्यहाँ गोरखानाथको पादुका स्थापना गरिएको छ (गुरुङ, उही, पृ. ९०)।
खोटाङस्थित हलेसी गुफालाई पनि वज्रगुरु पद्यसम्भवले साधना गरेको स्थल मानिन्छ (नेपाल, ज्ञानमणि–नेपाल निरक्त, पृ. ३३५)। हलेसीमा हरिश्वर (कालान्तरमा हलेसी ?) महादेवको मन्दिर छ र हलेसी महादेवको नित्यपूजा गृहस्थ सन्न्यासी पुजारीद्वारा हुन्छ (नेपाल, उही, पृ. ३३१)। यसले वज्रयानी बौद्ध मतसँग नाथ सम्प्रदायको सम्बन्धको निरन्तरताको कसी गुजुल्टिएको देखिन्छ।
०००
विभिन्न समयमा चलेको नेपालको राष्ट्रिय छापमा गोरखनाथको चरण अंकित भएको र सिक्कामा ‘ श्री श्री श्री गोरख’ लेख्ने गरेको पाइन्छ। गोरखाली वंशावलीहरूमा गोरखनाथलाई श्री ५ लगाइएको पाइन्छ। त्यस्ता वंशावली लेख्नेबखत नेपालमा गोरखनाथी सम्प्रदायको दबदबा निकै बलियो रहेको देखिन्छ र त्यस्तो प्रभाव सत्तासीनहरूमा पनि रुढ भएको पाइन्छ। त्यस्तै वंशावलीमध्ये एकमा गोरखनाथको यसरी प्रशस्ती गरिएको छ– गोरखनाथलाई कोटि कोटि फेरा, दण्डवत् गर्दछु . तिमि ईश्वर हौै.भगवान् पनि तिमि हौ. सृष्टि गन्र्या पनि तिमि हौ...साना राजालाई समुद्रका टापु र हिन्दुस्थानभरको बादशाह तुल्याउन पनि तिमि सक्त छौ.....तिम्रा श्री नामले श्री गोर्खा कहायाको हो (योगी, नरहरिनाथ–इतिहास प्रकाशमा सन्धिपत्र संग्रह, पृ. ६७६/६७७)।
हाराहारीको समयमा गोरखा मात्रै होइन, काठमाडौं पनि नाथ सम्प्रदायको चरम प्रभावमा थियो। बीसौं शताब्दीको अन्त्यसम्म नाथहरू सबैभन्दा शक्तिशाली समुदायका रूपमा सत्तासम्म प्रभाव जमाउन सफल थिए। भारतका सारा हिन्दुस्थल र मन्दिरहरू मुसलमानी आक्रमणमा परेर ध्वस्त हुँदा र नाम परिवर्तन हुँदासमेत गोरखपुर र त्यहाँको गोरखनाथ मन्दिर आफ्नो परिचय र अस्तित्व रक्षामा सफल भएको देखिन्छ। काठमाडौंका तत्कालिक मुख्य सहरको केही मिनेटको दूरीभित्र रहेका स्थानमण्डप (बाङ्गेमूढा), असनमण्डप (असन), केलमण्डप (केलटोल), गोरखनाथ मन्दिर (इन्द्रचोक), गोरखपन्थी पाटी, मखनमण्डप (मखनटोल), काष्ठमण्डप गरी सात गोरखपन्थी मण्डप रहेको देखिन्छ (पन्त, महेशराज–जनैपूर्णिमादेखि रानीपोखरीसम्म, पृ. ९२/९३)। गोरखनाथका प्रभावबाट पशुपति पनि ‘नाथ’ कहलिन लागेका थिए। पशुपति महादेव मात्र होइनन्, ‘स्यंगु’ कहलाइरहेको मध्ययुगको ‘सम् ये गूं’ विहार पनि ‘स्वयम्भूनाथ’ कहलिन लागेको थियो (आचार्य, बाबुराम–       श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ. २८६)।
०००
कतिपयले गोरखा जिल्लामा रहेको गाईखुरबाट गोरखा नाम रहन गएको उल्लेख गरेको पाइन्छ। अहिले सामान्यत जुन स्थानलाई ‘गोर्खा’को नाममा परिचय गरिन्छ त्यो पहिले ‘गाईखुर’को रूपमा बरोडाका महाराजबाट परिचित गराइएको थियो (ल्याडन, पर्सिवल–नेपाल, भाग २, पृ. २३)। तर यो पश्चिमाहरूले नेपाली शब्द उच्चारणको सही भेउ नपाइकनै दिइएको अनुमानभन्दा माथि उठ्न सक्ने गरी प्रमाणहरू जोड्न सकेको देखिन्न।
मूलमर्म
यसरी सभ्यता र संस्कृतिमा समेत चरम प्रभाव रहेको बखत वंशावली लेख्नेहरूमा समेत गोरखनाथ सम्प्रदायको चरम प्रभाव रहेको देखिन्छ। वेद, पुराणजस्ता अति महत्त्वपूर्ण रचनाहरूमा समेत पछिल्ला समयमा लेखकहरूमा रहेको धार्मिक विश्वासअनुसार सम्पादन र उतारका क्रममा देवीदेवताका तिलस्मी कथा भरिएको पाइन्छ। सृष्टिवर्णन, सामयिक विनाश र पुनःसृष्टिको नालीवेली;देवता, पितृ र मनुको वंशविस्तार; मन्वन्तरका रूपमा समयचक्रको व्याख्या र विविध राजवंशका विशेष पुरुषहरूका चरित्रको लेखाजोखा प्रारम्भिक समयका पुराणहरूमा हुन्थे।
समयक्रममा विष्णु, शिव आदि देवतामा आधारित धर्मको उद्भव र विस्तार भयो। त्यसपछि पुराणमा धर्मकथा थपिँदै गए। यसरी पुराणका मूल विषयवस्तु धर्मकथाका रासमुनि ओझेल परे (आचार्य, दिवाकर–निपजन र नेपाल, पृ. ४०)। त्यस्तै धार्मिक मतको प्रभावले गोरखाको नाममा गोरखनाथलाई जोड्न खोजिए पनि गोरखनाथको नामबाट गोर्खा नाम रहेको नभई बरु खर्क, गर्ख, गर्खा या गौरक्ष भूमिबाटै गोरखनाथ नाम रहन गएको हो भन्ने देखिन्छ।
Twitter:@gaunkomanchhey

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...