Monday, June 10, 2019

गणतन्त्रको जग : माघ १९

गणतन्त्रको जग : माघ १९
सामयिकी
माघ १९, २०७५
किशोर नेपाल
काठमाडौँ — माघ १९ ले सिर्जना गरेको आतंक अब हामी नेपालीले भोग्नु नपर्ला । अथवा हामीले त्योभन्दा ठूलो आतंकको सामना गर्नुपर्ला । अहिलेका लागि यो अनुमानबाहिरको कुरा हो । राजनीतिकर्मी र राजनीतिक दलहरूले माघ १९ को सम्झना गर्नु नराम्रो होइन । माघ १९ का दिन नेपालमा गणतन्त्रको जग हालियो । त्यो जग खन्ने काम दुर्भाग्यवश राजा आफैंले गरे । माघको महिनामा जाडोको अनुभूति कम हुन्छ । चिसोको दबाब कम भएको हुँदैन । चिसो बढी नै भए पनि त्यो दिन देशको प्रमुख आध्यात्मिक थलो स्वर्गद्वारी प्रवेशद्वारको रूपमा रहेको प्यूठान जिल्लाको भृंगृ बजारको बिहान निकै उज्यालो र सुमधुर थियो । पश्चिमबाट पूर्वतिर बगिरहेको माण्डवी नदीको आवाजले वातावरणलाई अझै रमाइलो बनाएको थियो ।
प्यूठान र रोल्पाको सिमानामा रहेको, सानो र सुन्दर भृंगृ बजारले यस भेगका करिब साठी हजार जनसङ्ख्यालाई व्यापारिक सेवा पुर्‍याउँदै आएको थियो । सरकारले माओवादी विद्रोहीलाई निरुत्साहित गर्न व्यापारमा कठोर नियन्त्रण लगाएकाले उपभोक्ताको सेवाको अवस्था थिएन । सरकारी कारबाहीले प्यूठान र रोल्याका झन्डै बाह्रवटा गाउँहरू व्यापारविमुख बनेका थिए । चामल यहाँका जनताको मुख्य आवश्यकता हो । तर, प्रशासनले यो क्षेत्रमा चामलको व्यापार सीमित गरेको थियो । व्यापारीले चालीस क्विन्टल चामल ल्याउने अनुमति पाए पनि सुरक्षाले त्यो अनुमतिलाई मान्यता दिंदैनथ्यो । त्यतिबेला व्यापारीहरूले सरकारले दिने पीडा मात्र होइन, विद्रोहीले दिने पीडा पनि समान रूपले भोगेका थिए । यतिबेला ती व्यापारीहरू त्यो पीडालाई सम्झन चाहँदैनन् ।
२०६१ माघ १९ गते बिहान भृंगृका सामान्य नागरिक, राजनीतिकर्मी, पर्यटन व्यवसायी र व्यापारीहरू चन्द्रेश्वर प्राथमिक शिक्षालयको आँगनमा जम्मा भएका थिए । म उनीहरूसँग जनताले दिनहुँ भोग्नुपरेका हिंसात्मक द्वन्द्वका समस्या र विकासका सम्भावनावारे छलफल गर्दै थिएँ । बजारबाट उपभोग्य वस्तुहरूको ओसार–पसारमा सुरक्षाफौजले गर्ने रूखो हस्तक्षेप त्यतिबेला जनताले भोगिरहेको मुख्य समस्या थियो । उनीहरू यो समस्यालाई सोझै र स्पष्ट शब्दमा सुरक्षाफौजसँग जोडेर प्रस्तुत गर्न हिच्किचाइरहेका थिए । सुरक्षाको ज्यादतीको कुरा गर्दा सरकारी पक्षले माओवादीको आरोप लगाउने त्रास सबैको अनुहारमा स्पष्ट देखिन्थ्यो । त्यो त्रासलाई लुकाउन खोज्दै, घुमाउरो भाषामा, अड्किई–
अड्किई समस्याको गाँठो फुकाउन खोज्थे व्यापारीहरू :
चार पोका चाउचाउ र चार किलो चिनी ल्याउन पनि पाएका छैनौं हामी व्यापारीले औषधिको नाममा सिटामोलको गोली सामान्य उपभोगका सामान ल्याउँदा पनि प्रशासनको सिफारिस चाहिन्छ त्यो सिफारिसका लागि हामीले बेग्लै कष्ट खेप्नुपर्दछ यस्तो अवस्थामा के उन्नति हुन्छ?फौजी ब्यारेकमा बस्ने अल्लारे र उरन्ठेउला सिपाहीहरूका कारण आफ्नो सामाजिक प्रतिष्ठा छिन्नभिन्न हुने चिन्ता र आशंकामा डुबेका थिए बजार क्षेत्रका भलाद्मीहरू । उनीहरू साँझ–बिहान लामाटारको बाटो हिंड्ने छोरी– बुहारीहरूको इज्जत सुरक्षित नभएको गुनासो गर्दै थिए : हाँस्ने–बोल्नेसम्मको कुरासँग उनीहरूको परहेज थिएन । तर, खानतलासीका नाममा गरिने अभद्र व्यवहारका कारण समस्या उत्पन्न हुने डरले सबै तर्सिएका थिए । असुरक्षित खालको सुरक्षा व्यवस्थाले सबैलाई चिन्तामा पारेको थियो । चिन्ताको अर्को पाटोमा विद्रोहीहरू थिए । मानिसको हैसियत नै नहेरी दस हजारदेखि पचास हजारसम्म चन्दा तोक्ने, चन्दा नदिए हात–गोडा भाँचेर अपांग बनाइदिने, अपहरण गर्ने र घरबास नै छाडेर हिंड्नुपर्ने अवस्थामा पुर्‍याइदिने †
बाटो–घाटो, टेलिफोन, नहर–कुलो र विकासका अन्य विषयहरूमा विद्रोहीहरूको निरन्तर हस्तक्षेप र अवरोध कसैलाई पनि मन परेको थिएन । विकासका काममा आएको रकमको हिस्सा खोज्ने र हिस्सा नपाए काम रोक्ने † उनीहरूको व्यवहारसँग मानिसहरू आजित भएका थिए । यो पनि खुलेर बोल्न सक्ने विषय थिएन । विद्रोहीको चर्चा गर्दा सुराकीको आरोप लाग्ने पीर †
बिहान ढल्किन थालेपछि छलफललाई निष्कर्षमा पुर्‍याउँदै सहभागीहरू भन्दै थिए,
बल प्रयोग गरेर माओवादी समस्या समाधानको छेउ– टुप्पो केही फेला पर्दैन यसका लागि दुवै पक्षले वार्तामा आउनैपर्छ वार्ता र सहमतिबाटै यो समस्यालाई टुंग्याउनुपर्दछ दुईथरी बन्दुकको चेपमा चेपिएर हामी कति दिनसम्म बाँच्न सक्दछौं ?
छलफलको अन्त्यमा टुप्लुक्क आइपुगे, जनमोर्चाका स्थानीय नेता थम्मन बुढामगर । उनले भने,
अहिले भर्खर रेडियोबाट शाही घोषणा भएको छ राजाको रोडम्याप आएको अब २०४६ को जनआन्दोलनको उपलब्धि बहुदलीय प्रजातान्त्रिक पद्धति पनि गएजस्तो
सुनेर म झसंग भएँ । थम्मन आफैंले शाही घोषणाका केही अंश मात्र सुनेका थिए । त्यत्तिकै भरमा कुनै निष्कर्ष निकाल्न सकिने थिएन । यता भेलाका सहभागीले शाही घोषणाको बारे खासै उत्साह देखाएर सोधखोज पनि गरेनन् । कार्यक्रममा शाही घोषणाको उल्लेख हुनेबित्तिकै उनीहरूको अनुहार चकमन्न बन्यो । थम्मनले विचार राखेपछि मैले छलफल कार्यक्रम टुंग्याएँ ।
म र मेरा साथीहरूमा शाही घोषणा सुन्ने उत्सुकता प्रबल थियो । हामीलाई थाहा थियो, सरकारी सञ्चार माध्यमहरूले शाही घोषणा अविरल प्रसारित गर्नेछन । भृंगृबाट फर्कंदा शाही घोषणा सुन्ने अवसर हामीलाई कतै मिलेन । हामीसँग भएको सानो एफएम रेडियोले रेडियो संकेत टिप्न सकिरहको थिएन । हामीले एफएम प्रसारणमा रोक लागेको अनुमान नै गरेनछौं । लामाटार ब्यारेकबाट केही पर रहेको एउटा पसलमा रेडियो घन्किरहेको थियो । हामी केही बेर पर्खेर भए पनि रेडियो सुन्ने नियतले त्यहाँ रोकियौं । हामीलाई देख्नेबित्तिकै पसलेले रेडियो र पसल एकसाथ बन्द गरे । उनको व्यवहार हामीलाई अनौठो लाग्यो । हामीले उनीसँग रेडियो सुन्न दिने आग्रह गर्दा नगर्दै उनी माण्डवी नदी किनारको ओरालो ओर्लिसकेका थिए । पहाडमा मानिस देख्नेबित्तिकै पसल बन्द गरेको हाम्रा लागि यो पहिलो अनुुभव थियो । हामी चकमन्न बजार, वस्ती र सडक काटेर भालुबाङतिर लाग्यौ । झिमरुकदेखि भालुबाङसम्मको बाटो पूरै सुनसान थियो । त्यतिखेर प्यूठानको यो भागमा माओवादीहरूको बन्द चलिरहेको थियो । बन्दका कारण बजारहरू खुलेका थिएनन् । जनताले बन्दलाई सदाझैं सहज रूपमा लिएका थिए । जीवन सामान्य थिएन । सार्वजानिक यातायात पूरै बन्द थियो ।शाही घोषणाबारे हाम्रो उत्सुकता भालुबाङमा पनि मेटिन सकेन ।
हामी निर्धारित कार्यक्रम छोट्याएर भालुबाङबाट बुटवलतिर लाग्यौं । परिवर्तित सन्दर्भमा शाही घोषणाका प्रस्तावहरूका बारे थाहा नपाएसम्म यात्रा जारी राख्नु निरर्थक हुन्थ्यो भन्ने बोध हामीलाई छिट्टै भयो । गोरुसिंगे कटेपछि मोबाइल चल्ने आशा थियो । त्यहाँ पुगेपछि थाहा भयो, बिहानैदेखि सञ्चारका सबै मार्गहरू अवरुद्ध छन् । भालुबाङदेखि बुटवलसम्मको सडक लगभग सुनसान थियो । हामी झमक्क साँझ पर्दा बुटवल पुग्यौं । बल्ल हामीलाई राजाको सम्बोधन सुन्ने अवसर प्राप्त भयो ।
सम्बोधन सुन्यौं । त्यसलाई भावुक शब्दहरूले सिंगार्ने कोसिस गरिएको थियो । विद्रोहका कारण उब्जिएका सबै समस्याहरूलाई शब्दमा समेटिएका थिए । तर, ती शब्दहरूले कतै पनि सम्बोधनको अभिप्राय स्पष्ट पार्न सकेका थिएनन् । माओवादी विद्रोहको परिस्थितिप्रति देखाएको निरपेक्षताका कारण राजनीतिक दलहरूसँग जनताले गर्ने गरेका गुनासा र असन्तुष्टिहरूलाई राजाको सम्बोधनले सकेसम्म बढी समेट्ने प्रयास गरेको थियो । सम्बोधनले यिनै गुनासा र अस्न्तुष्टिहरूलाई अभियोग बनाएर दलहरूको चर्को आलोचना गरेको थियो । राजाको सम्बोधन बहुदलीय व्यवस्थाप्रति पूर्ण असहमतिको अभिव्यक्ति थियो ।
घोषणाको परिणाम
लगत्तै नागरिक अधिकारहरू निलम्बित भए । जनता सञ्चार सम्बन्धबाट अलग गरिए । सूचनाको अधिकार धराशायी भयो । संगठित क्षेत्रका रूपमा विकासका शृङ्खलाहरू उक्लिंदै गरेका सञ्चार–माध्यमसँग सम्बन्धित सबै संस्था घेराउमा परे । मोबाइल फोनमा रोक, छापामा सेन्सरसिप, एफएम रेडियोहरूको सूचनामूलक प्रसारणमा सुरक्षाकर्मीहरूको ठाडो हस्तक्षेप शाही घोषणाका तात्कालिक परिणाम थिए । सुरक्षा निकायका साना–ठूला अधिकारीहरू आफ्नो हातमा शासनको जिम्मेवारी आएको दाबी गर्न थाले । नागरिक प्रशासन प्रभावशून्य भयो ।
प्रारम्भमा माओवादी विद्रोहबाट आजित भएको दाबी गर्ने सहरियाले राजाको कदमप्रति खासै असन्तोष व्यक्त गरेको पाइएन । शाही घोषणापछि गिरफ्तार भएका दलका साना–ठूला नेताहरूप्रति पनि जनताको खासै सहानूभूति देख्न पाइएन । नागरिक अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने व्यावसायिक र गैरव्यावसायिक संघ–संस्थाहरूले तत्काल स्वत:स्फूर्त विरोधको संयोजन गर्न सकेनन् । प्रजातान्त्रिक शासन पद्धतिप्रति जनताको विमति थिएन । राजाबाट हिंसात्मक द्वन्द्वको समाधान निस्किहाल्छ कि ? झिनो आशाले सबैलाई अल्झाएको थियो ।
शाही घोषणाको लगत्तैपछि विभिन्न शहरमा दिपावली भए भने देशकाअसंख्य बजार र बस्ती अँध्यारै रहे । शाही घोषणाको प्रतिरक्षाका लागि देशमा संकटकाल घोषणा भयो । यसले माओबादी बिद्रोहीले आह्वान गरेको फागुन १ गतेदेखिको अनिश्चितकालीन नेपाल बन्दलाई निष्प्रभावी तुल्याउन सकेन । माओबादीहरूले लेउती खोलाछेउको सडकमा पर्खाल उठाएर अवरोध खडा गरेकाले धनकुटा जाने यात्रुहरू भेडेटारबाट तल ओर्लिन सकेनन् । महेन्द्र राजमार्गको कानेपोखरी–दमक खण्डमा राखिएका धराप र दुई पक्षको झडपका कारण झापा पहुँचबाहिर पर्‍यो । चितवनबाट पश्चिम बुटवलसम्म राजमार्गमा सयौं क्विन्टल गोलभँेडा फालिए । यातायात अवरोधका कारण बजार पुर्‍याउन नसकेपछि कुहिन थालेका गोलभेँडा सडकमा फाल्नुको विकल्प किसानहरूसँग थिएन । बुटवलबाट पश्चिम, महेन्द्र नगरसम्म अवस्था अझै कष्टकर थियो । मेचीदेखि महाकालीसम्म, राजमार्गको सुरक्षा व्यवस्था सचेत र सजग भएको शाही सरकारले दाबी गरे पनि यातायात सेवा ठप्प रह्यो । राजमार्ग छेउका बजारहरू फाटफुट खुलेका थिए । मानिसको चहलपहल भने शून्य थियो । बन्दको बेलामा राजमार्गमा चलाइने सवारी साधनलाई सुरक्षा दिइने व्यवस्था भएपनि व्यवसायीहरू जोखिम उठाउन तयार थिएनन् । राज्य आफैँ युद्धरत रहेका बेला राज्यको सुरक्षा घेराभित्र रहेर यात्रा गर्दा आइपर्ने खतराका सामना गर्न कोही तयार थिएन । नारायणघाटमा एक जना यात्रु भन्दै थिए,
सुरक्षा घेराभित्रको यात्रा झन् खतरनाक हुन्छ भर्खर शाही घोषणा भएको विद्रोहीहरूले यतिबेला झन धेरै धराप थापेका होलान् यस्तो अवस्थामा कतिबेला के हुने हो पत्तै हुँदैन
माथिका विवरणहरू काल्पनिक कथा होइनन् । यो हाम्रो जीवनको यथार्थ हो । अहिले यस्तो लाग्दछ, मात्र चौध वर्षअघिका यी कठोर अनुभव हामीले बिर्सिइसकेका छौं । संसारभर इतिहासकार, सिनेकर्मी, कलाकार, साहित्यकार आ–आफ्नो देशले भोगेका अमानवीय परिस्थितिको अभिलेख पुस्तक, सिनेमा, नाटक, कविताजस्ता प्रभावकारी माध्यम मार्फत तयार पारिरहेका छन् । हामी भने ती कालखण्डलाई बिर्सिइरहेका छौं । हामी सामान्य कुरामा रमाइरहेका छौ । यो नै हाम्रो दुर्गतिको कारण हो । गति भनेको चेतना हो । हामीमा यो चेतनाको सर्वथा अभाव छ ।
माघ १९ राजाको इन्कार थियो, संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रप्रति । २०४६ को राष्ट्रिय जन–आन्दोलन मार्फत जनताले अभिव्यक्त गरेका विधिका शासनविरुध्द प्रहार थियो । माघ १९ का दिन नेपालमा गणतन्त्रको जग हालियो । त्यो जग खन्ने काम दुर्भाग्यवश राजा आफैंले गरे ।
अहिलेका लागि यो अनुमानबाहिरको कुरा हो । राजनीतिकर्मी र राजनीतिक दलहरूले माघ १९ को सम्झना गर्नु नराम्रो होइन । तर, माघ १९ को रचनात्मक विरोध हुनुपर्दछ जसले जुनसुकै प्रकारको एकाधिकारवादी, तानाशाही शासन प्रणालीप्रति जनतालाई सजग बनाओस् ।
देशको राजधानी शहरका अँध्यारा कोठाहरूमा गणतन्त्रविरुद्धका खेलको प्रायोजन भइरहेको छ । यस्तोमा, देश राजनीतिक खतराबाट मुक्त छ भन्न मिल्दैन । नेपालमा राजनीतिक संस्कार छैन । यस्तोमा भन्न सकिन्न सत्ताको मोहमा परेका मानिसले कस्तो षड्यन्त्र रच्नेछन् ? राजनीतिक दलहरू पनि कतै यो षड्यन्त्रको वृत्तमा त छैनन् ? प्रश्न जायज हो । सत्ताका लागि दल टुक्य्राउने परम्परा छ देशमा । यति भन्न सकिन्छ सबै कुरा शत–प्रतिशत प्रमाणित छैनन् । यस्तो अवस्थामा जनता सचेत रहने हो भने कुनै पनि षड्यन्त्र सफल हुन सक्दैन।
Kantipur प्रकाशित : माघ १९, २०७५ १२:००

चेलीलाई कोसेली

चेलीलाई कोसेली
अटवारी पर्व
आश्विन १, २०७५
गणेश चौधरीकान्तिपुर संवाददाता
टीकापुर/बाँके —  पश्चिम तराई दाङ, सुर्खेत, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारू समुदायमा यति बेला उल्लास छ । आइतबार दाजुभाइ व्रत मात्रै बसेनन्, उनीहरूले दिदीबहिनीलाई दिने अग्रासन (कोसेली) पनि छुट्याए। सोमबार दिदीबहिनीले माइतबाट आउने दाजुभाइको माया भरिएको अग्रासन ग्रहण गर्नेछन् । थारू समुदायको महत्त्वपूर्ण पर्व ‘अटवारी’ को परम्परा यस्तै छ। टीकापुर नगरपालिका–१, वनगाउँका बडघर जितबहादुर चौधरीका अनुसार, खासगरी यो पर्वमा थारू समुदायले अग्निलाई देवता मानेर पूजा गर्ने चलन छ । थारू राजा दंगीशरणका पक्षमा पाँच पाण्डवमध्येका भीमले तावामा पकाउन राखेको रोटी नखाई लडेकाले यो चाडमा थरीथरीका रोटी पकाएर अग्निदेवतालाई अर्पण गर्ने अनि खाने/खुवाउने चलन रहेको हो । यो पर्वमा दिनभरि व्रत बसेका थारू पुरुषले पकाएका थरीथरीका रोटी अनि दही र फलफूल लगायत अग्निदेवतालाई चढाइसकेपछि आफ्ना दिदीबहिनीका नाममा अग्रासन (खानेकुराको कोसेली) छुट्याउँछन्।
भोलिपल्ट बिहान भात पकाएर फेरि अग्निदेवतालाई चढाउने गरिन्छ । पकाएको खानासमेत अग्रासनका रूपमा छुट्याइसकेपछि चेलीलाई खुवाउने चलन छ । ‘सिद्रा (सुकाएका माछा), गेडागुडी र साग अनिवार्य हुनुपर्छ,’ बडघर चौधरीले भने, ‘तरकारी पाँच वा सात थरीको पकाउनुपर्ने मान्यता छ ।’दिदीबहिनीका लागि छुट्याएको अग्रासन लिएर दाजुभाइ भोलिपल्ट (सोमबार) चेलीबेटीलाई भेट्न जाने र दिदीबहिनीले पनि आफ्ना दाजुभाइलाई मीठोमसिनो खुवाएर पठाउने चलन छ । यो दिन विवाहिता दिदीबहिनीहरू आफ्ना दाजुभाइ आउने आशमा प्रतीक्षारत रहन्छन् । दाजुभाइ पनि चाँडोभन्दा चाँडो दिदीबहिनीका घरमा अग्रासन पुर्‍याउन आतुर रहन्छन् । यसले दाजुभाइ र दिदीबहिनीबीच स्नेह र आत्मीयता बढाउने गरेको छ ।
चौधरीका अनुसार, कृष्ण जन्माष्टमी मनाइसकेपछि दोस्रो आइतबारका दिन यो पर्व मनाउने चलन छ । किंवदन्ती अनुसार, पाँच पाण्डव र दाङका थारू राजा दंगीशरणबीच घनिष्ठ सम्बन्ध थियो । पाँच पाण्डव र द्रौपदी सबै जना सुर्खेतको काँक्रेविहारमा आएका बेला दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरेका थिए । यो खबर पाउनेबित्तिकै तावामा पकाउन राखेको रोटी छाडेर पानीसमेत नपिई भीम दंगीशरण राजाका पक्षमा लड्न हिँडेका थिए । शत्रुलाई हराएपछि विजयोत्सवका रूपमा थारू समुदायले अटवारी पर्व मनाएको थियो । त्यही धार्मिक मान्यतामा आधारित यो पर्व पश्चिम तराईका जिल्लामा भव्यसाथ मनाउने गरिन्छ । यो घटना आइतबार भएको विश्वास छ । त्यही दिनको सम्झनामा यो पर्व मनाउने चलन रहेको थारू अगुवा चौधरीले बताए ।
अटवारी पर्वका व्रतालुले रोटी पकाउँदा भीमका नाममा एउटा ठूलो रोटी नफर्काई पकाउँछन् । र त्यो रोटी भीमका नाममा चढाउँछन् । त्यो रोटीलाई थारूहरू ‘भ्यावाँ’ भन्छन् । थारू राजा दंगीशरणका पक्षमा लडाइँ लडेर विजय प्राप्त गरेको भनेर यो समुदायमा भीम निकै पूज्य मानिन्छन् । थारू संस्कृतिका जानकार सुशील चौधरीले भने, ‘अटवारीमा पाँच वा सात वर्ष नियमित व्रत बसेर पूजा गरे मागेको पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।’ उनका अनुसार, यो पर्वको मौलिकता पछिल्लो समय हराउँदै गएको छ । केही ठाउँमा मनाउनै छाडिसके । कतै फरक तरिकाले मनाउने गरिन्छ ।
‘पहिले दर खाँदा माछा, गँगटा र सागसब्जी खाइन्थ्यो,’ सञ्चारकर्मी सबि थारूले भने, ‘तर, अहिले त्यो मौलिकता हराइसक्यो ।’ पहाडबाट बसाइँ सरेर आउनेहरूका कारण समाज मिश्रित भएकाले थारूहरू आफ्नोभन्दा अरू समुदायको चाडपर्वमा रमाउन थालेकाले मौलिकता हराएको उनले बताए । नयाँ पुस्तालाई यसको महत्त्वबारे जानकारी छैन ।
अटवारी पर्वको अवसरमा रोटी पकाउँदै युवाहरू 
पढाइ, जागिर, व्यवसाय वा अरू कुनै सिलसिलामा घरबाहिर हुँदा पनि अटवारी र यस्तै अरू पर्व मनाउन पाउँदैनन् । ‘बच्चा नभएका र गरिबले व्रत बसेर माग्यो भने पूरा हुन्छ भन्ने विश्वास छ,’ कोहलपुर–६, रझेनाका रामकिसन थारूले भने, ‘अहिले त त्यस्तो मान्यता हराइसक्यो !’
प्रकाशित : आश्विन १, २०७५ ०८:२१

अलमल्ल भाषा आयोग

अलमल्ल भाषा आयोग
माघ २२, २०७५
भीमलाल गौतम
काठमाडौँ — पाँच वर्षको समयसीमा रहेको भाषा आयोगले आधा समय गुजारिसकेको छ । आयोगमा अध्यक्ष र एक महिला सदस्यको मात्र नियुक्ति भएको छ । नेपालको भाषिक योजना तथा नीति निर्माण गर्ने जिम्मेवारी पाएको भाषा आयोग अलमलमा परेको देखिन्छ । आयोगले निम्न काम गर्न जरुरी छ :
भाषिक जनगणना : भाषाहरूको स्थिति २०६८ को राष्ट्रिय जनगणनालाई आधार मानेर मूल्यांकन गरेको पाइन्छ जुन अपुरो र अपरिपक्व हो । कम्तीमा दुई वर्ष लगाएर नेपालका सम्पूर्ण भाषाको छुट्टै जनगणना गर्नु आवश्यक छ । यसले स्पष्ट चित्र देखाउन सक्छ ।
भाषिक योजना तथा नीति : नेपालमा स्पष्ट भाषिक योजना तथा नीति कहिल्यै बनेन । पञ्चायती संविधानले एकभाषी नीति अंगीकार गर्‍यो । २०४७ को संविधानले बहुभाषी नेपाल स्वीकार गरेको थियो । काठमाडांै महानगरपालिकामा नेवार र सिरहा जिल्लामा मैथिली भाषा लागू गर्ने स्थानीय अधिकारलाई सर्वोच्च अदालतको विवादास्पद निर्णयले यसको कार्यान्वयनमा गाह्रो बनायो । नयाँ संविधानमा नेपालको भाषा नीतिबारे स्पष्ट खुलाइएको छ । कार्यान्वयनका सन्दर्भमा सरोकारवालासँग समन्वय गरेर योजना तयार पार्नुपर्छ ।
अध्ययन–अनुसन्धानमा जोड : संसारमा जति पनि भाषिक नीति तथा योजना बनेका छन्, ती सबै गहन अध्ययन र अनुसन्धानमा आधारित छन् । बोल्सेभिक क्रान्तिपछि स्टालिनको भाषिक योजना होस् वा इजरायलको हिब्रु भाषाको पुनरागमन इतिहास वा भारत स्वतन्त्र भइसकेपछि सन् १९६८ मा स्थापित भारतीय भाषा संस्थान, सबैले आफ्नो मुलुकमा भएका भाषाको गहिरो अध्ययन र अनुसन्धानपछि मात्र भाषिक योजना तर्जुमा गरेका थिए । यहाँ पनि पुराना अध्ययन–अनुसन्धान अभिलेखीकरण गर्दै नयाँ अध्ययनमा जोड दिन जरुरी छ ।
भाषिक निकायमा सहबयोग र सम्बन्ध : नेपालका भाषिक क्षेत्रमा काम गर्ने विभिन्न सरकारी र गैरसरकारी संघसंस्था भए पनि समन्वय अभाव छ । एउटै प्रकृतिको काम पटकपटक दोहोरिएको देखिन्छ ।
त्रिभुवन विश्वविद्यालयको भाषा विज्ञान केन्द्रीय विभागले जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान र केही विदेशी संस्थाहरू (एसआईएल, फोक्सवागन फाउन्डेसन, सोआस र विभिन्न युरोपियन विश्वविद्यालय) सँग समन्वय गरेर अनुसन्धान गरेको थियो । ती भाषिक अभिलेखीकरण मूल्यांकन नगरी फेरि उही प्रकृतिका काम दोहोरिएको देखिन्छ । नेपाल प्रज्ञा प्रतिष्ठान, युनेस्को, विश्वविद्यालय अनुदान आयोग, त्रिवि शिक्षाशास्त्र संकाय र अनुसन्धान गर्ने विभिन्न संस्थामा समन्वय र सम्बन्ध बढाउन आवश्यक छ ।
भाषिक अध्ययन भ्रमण र विचार आदानप्रदान : भाषा आयोगले बाहिरी मुलुकमा भएका भाषिक योजना र कार्यान्वयनसम्बन्धी पनि जानकारी लिन अध्ययन भ्रमण गर्दै विचार आदानप्रदान गर्नुपर्छ । युनेस्कोले सञ्चालन गरेका विभिन्न मुलुकको भाषिक तथा बहुभाषिक योजना र नीति, छिमेकी देश भारत, चीन, पाकिस्तान, बंगलादेश आदिमा भएका भाषिक अभियान मूल्यांकन गर्न सकिन्छ । सम्बन्धित क्षेत्रका ख्यातिप्राप्त अन्तर्राष्ट्रिय विज्ञहरूलाई निमन्त्रणा गरेर नेपालमै भाषिक सम्मेलन गर्न सकिन्छ ।
भाषिक प्रयोगशाला र प्रकाशन : नेपालमा एउटा व्यवस्थित भाषिक प्रयोगशाला बनेको छैन, जसमा हामीले गरेका अध्ययन अनुसन्धानलाई स्थायी रूपमा प्रयोग, परीक्षण र व्यवस्थित रूपमा अभिलेखीकरण गर्न सकियोस् । विकसित मुलुकमा यस्ता भाषिक प्रयोगशाला हरेक विश्वविद्यालय र भाषिक निकायमा हुन्छन् । थोरै रकममा पनि यस्ता प्रयोगशाला बनाउन सकिन्छ । भाषिक सामग्री प्रकाशन र त्यसलाई स्थानीयकरणका साथै अन्तर्राष्ट्रियकरण गर्नुपर्ने देखिन्छ । यसो गर्नसके हाम्रा नीति तथा कार्यक्रम स्थानीय तथा विश्व बजारमा प्रयोग र बिकाउ हुन सक्छन् ।
भाषासंस्कृति जस्तो मौलिक सम्पत्तिलाई नजरअन्दाज गर्नु हुँदैन । नेपालको भाषिक विविधतालाई पर्यटकीय रूपबाट पनि फाइदा लिन सकिन्छ । यति सानो भूगोलमा १ सय २३ भन्दा बढी भाषाभाषी छन् । हरेक प्रदेशमा कम्तीमा एउटा भाषिक संग्रहालय र जानकारी केन्द्र राख्न जरुरी छ ।
लेखक भाषाविज्ञान केन्द्रीय विभाग, त्रिविका उपप्राध्यापक हुन्
प्रकाशित : kantipur, माघ २२, २०७५ ०८:०२

संस्कृतको सागर

संस्कृतको सागर
महर्षि पाणिनिको व्याकरण ‘अष्टाध्यायी’ अत्यन्त गहन र संस्कृत वाङमय अथाह विषय छ यो गहिरो सागरमा डुबुल्की मार्नेहरूले कुन–कुन मोती हात पार्न सक्छन्— यो वैयक्तिक क्षमतामा निर्भर गर्दछ यस्तो दिन नआओस् जुन दिन विदेशीहरूले हामीलाई संस्कृत सिकाउन परोस् !
माघ १९, २०७५डा. कमल रौनियार
काठमाडौँ — साविद्या या विमुक्तये’ अर्थात् विद्या त्यो हो जसले बन्धनबाट मुक्त गराउँछ ।
यस्ता र यो जस्ता अगण्य ज्ञानको निधि ‘संस्कृत’ को बारेमा केही समययता अनेक चर्चा–परिचर्चा सुरु भएका छन् । हाम्रा पूर्वजहरूले हामीलाई धरोहरमा दिएको ज्ञानको भण्डार हो संस्कृत । तर यसबारेमा अनभिज्ञ छन् अथवा विदेशीको हातमा बिकेका छन् अथवा दुवै । यिनीहरूबाट देशलाई बचाउन अत्यावश्यक छ अन्यथा हाम्रो संस्कृति नै डुब्नेछ किनकि : संस्कृत —श्र संस्कार —श्र संस्कृति —श्र सुसंस्कृत । अर्थात् संस्कृत हाम्रो संस्कृति, परम्परा, धर्म, जीवन–दर्शन र अन्ततोगत्वा संसारको अति प्राचीन हाम्रो सभ्यताको साँचो हो । यो साँचो हराइदिएमा हामी फेरि नै अन्धकारको गर्तमा डुब्नेछौं कि विदेशी हस्तक्षेपबाट दक्षिण अमेरिकी इन्का, माया, आत्चेक आदि सभ्यता हराएझैं हुनेछ । भाषा–संस्कृति एक अर्काका पूरक हुन् । यदि हामीले भाषा हरायौं भने हामीले त्यसमा गर्भित संस्कृति पनि हराउने छौं । हामीले त्यस भाषामा गर्भित सम्पूर्ण ज्ञान पनि हराउनेछौं ।
हाम्रो सभ्यता अहिलेसम्म कसरी, के कारणले बच्न सक्यो, यति समर्थ (रेजिलिएन्ट) कसरी रह्यो र यसमा संस्कृत भाषाको के देन छ यस कुराको विश्लेषण जरुरी छ । संस्कृत हिन्दु अथवा वैदिक धर्मको केन्द्रविन्दु हो । हाम्रो संस्कृतिका सम्पूर्ण कुराहरू यसैमा गाभिएका छन् अथवा भन्न सकिन्छ कि यसैबाट उत्पन्न भएका छन् । वैदिक धर्मका सम्पूर्ण मौलिक ग्रन्थहरू वेद–वेदांग, आयुर्वेद, उपनिषद्, महाभारत, रामायण, गीता अष्टाध्यायी इत्यादि सबै संस्कृत भाषामै लेखिएका छन् । हजारौं वर्ष पूर्व रचित ‘महाभारत’ आजसम्म पनि संसारको सबभन्दा लामो, १ लाखभन्दा बढी श्लोक भएको पद्यको रूपमा विश्वमै कीर्तिमानी छ । यहाँसम्म कि प्राचीन ग्रीक रचनाकार होमरको सुप्रसिद्ध बृहत् कृति ‘इलियाड’ र ‘ओडिसी’ दुवैलाई सँंगै जोडे पनि महाभारतसंग टक्कर सम्भव छैन ।
सर्वप्रथम संस्कृत भाषाको वर्णमाला जसलाई ‘अक्षर’ अर्थात् कहिल्यै नास नहुने (अ–क्षर) भनिन्छ, शंकर भगवान्को डमरुबाट १४ सूत्रको रूपमा उत्पन्न भएको शास्त्रहरूको सम्मति छ । यी १४ सूत्र ‘माहेश्वर सूत्र’ को नामले विख्यात छन् र यी हुन्— अइउण् (१) । ऋलृक् (२) । एओङ् (३) । ऐऔच् (४) । हयवरट् (५) । लण् (६) । ञमङणनम् (७) । झभञ् (८) । घढधष् (९) । जबगडदश् (१०) । खफछठथचटतव् (११) । कपय् (१२) । शषसर् (१३) । हल् (१४) ।
यसमा खुट्टा काटेको सूत्रको अन्तिम अक्षरले त्यस सूत्रको अन्त दर्साउँछ । इनलाई ‘इत्’ भनिन्छ र इनको अरू प्रयोजन छैन । पहिलो चार सूत्रले ‘स्वर’, पाँचौंले ‘अर्ध–स्वर’ र बाँकीले ‘व्यञ्जन’ को परिभाषा दिन्छन् । सूत्रमा यी अक्षरको अनौठो जोडको वर्णन महर्षि पाणिनिले विश्वको सबैभन्दा प्राचीन र अद्वितीय विश्वविख्यात व्याकरण–शास्त्र ‘अष्टाध्यायी’ मा गरेका छन् । संसारका सबै भाषाविद्ले पनि पाणिनिको अष्टाध्यायीलाई व्याकरण शास्त्रको ‘महत्तम कृति’ (म्याग्नम् ओपस) को रूपमा स्वीकार गरेका छन् । यहीकारण महर्षि पाणिनिलाई विश्वभर नै ‘आदि सफ्टवेयर अभियन्ता’ (विश्वको पहिलो सफ्टवेयर इन्जिनीयर) भनिन्छ ।
संस्कृत शब्दको अर्थ हो— परिमार्जित अथवा परिष्कृत । संस्कृत भाषा यथार्थमा अति वैज्ञानिक, तार्किक, तथा सुसज्जित (सिस्टमेटिक) छ । यो यस्तो भाषा हो जसले हाम्रो मस्तिष्कको दुइटै— कलात्मक तथा तार्किक भागलाई सम्बोधन गर्दछ । यस विषयमा स्नायु–वैज्ञानिकले (न्युरोसाइन्टिस्ट) अनुसन्धान गरेर एउटा नयाँ शब्द ‘संस्कृत–प्रभाव’ प्रचलनमा ल्याएका छन् । यसबारे एक जर्मन स्नायु वैज्ञानिक जेम्स हार्चेलको अतीव रोचक नवीनतम् रिपोर्ट जो कि यूटयूबमा उपलब्ध छ, पठनीय तथा ज्ञाननीय छ ।
नाद–ब्रह्म ‘ॐ’ बाट विश्वको कुनै पनि भाषालाई चाहिने तीन मूलभूत स्वरहरू ‘अ’, ‘इ’ र ‘उ’ को उत्पत्ति भएको छ । (चित्रपटल हेर्नुहोस्) यसमध्ये ‘अ’ को स्थान सर्वोपरि छ जस्तो कि ल्याटिन भाषाको ‘ए’ वा ग्रीक भाषाको ‘अल्फा’ । भगवान् श्रीकृष्णले गीताको श्लोक १०.३३ मा व्यक्त गरेका छन् :
अक्षराणामकारोऽस्मि द्वन्द: समासिकस्य च ।
अहमेवाक्षय: कालोधाताहं विश्वतोमुख: ।।
अर्थात् ‘अक्षरहरूमा म अकार हुँ, समासहरूमा म द्वन्द समास हुँ, म अक्षय (शाश्वत) समय पनि हुँ र सृष्टिकर्ताहरूमा ब्रह्मा पनि मै हुँ’ ।
‘अ’ कार संस्कृत वर्णमालाको पहिलो अक्षर हो । यसैबाट वैदिक साहित्यको प्रारम्भ हुन्छ । अकार बिना कुनै कुरा ध्वनित हुँदैन, त्यसैले यो आदि स्वर हो, प्रथम ध्वनि हो । त्रिस्वरको लामो रूप ‘आ’, ‘ई’ र ‘ऊ’ हो । ‘अ’ र ‘इ’ लाई जोडेर अर्थात् सन्धि गरेर संयुक्त वा मिश्रित स्वर ‘ए’ र त्यसैगरी ‘अ’ र ‘उ’ को सन्धिबाट ‘ओ’ को उत्पत्ति भयो । अमिश्रित स्वरहरू ‘ऐ’ र ‘औ’, (अ+इ) र (अ+उ) बाट क्रमश: बने । अनुस्वार ‘ं’ र विसर्ग ‘स्’ ले ‘स्वर–वर्ण’ पूर्ण गर्छन् । बाल्यकालमा अ, आदेखि अं अ:को उच्चारण गर्न सिक्दा अनजानमै प्राणायामको ‘अनुलोम’ ‘विलोम’ को एक क्रिया पूर्ण गर्दै गरेको ज्ञान नै थिएन किनकि ‘अ’ देखि ‘ऊ’ सम्म उच्चारण गर्दा सासभित्र लिइन्छ र ‘ए’ देखि ‘अ:’ सम्म उच्चारण गर्दा सास बाहिर फ्याँकिन्छ ।
स्वरहरूको सहायताले व्यञ्जनहरूको उत्पत्ति भयो । ‘ऋ’, ‘ऋृ’ र ‘लृ’ ‘लृ’ लाई ‘नपुंसक स्वर’ पनि भनिएको छ किनकि यी चार स्वर अरू व्यञ्जन जन्माउन असमर्थ छन् । स्वर र व्यञ्जन मिलेर शब्द र त्यसपछि वाक्यहरू बन्दै जान्छन् । अंग्रेजीमा शब्दहरू बनाउँदा स्वर र व्यञ्जनका बेग्लाबेग्लै अक्षर लेख्नुको साटो संस्कृतमा व्यञ्जनमा स्वरको ‘मात्रा’ मात्रै जोडेर इत्यादि बने । अति आश्चर्यको कुरो यो छ कि आजको डिजिटल युगभन्दा हजारौं वर्षअघि संस्कृत भाषामा ध्वनिको डिजिटलकरण पूर्ण भइसकेको थियो † यो पनि उल्लेखनीय छ कि संस्कृत ‘ध्वन्यात्मक’ (फोनेटिक) भाषा हो अर्थात् हामीले जे लेख्छौं त्यही बोल्छौं र यसकारणले संस्कृतमा हिज्जे गर्न स्पेलिङ सिक्ने आवश्यकतै छैन । यसले गर्दा संस्कृतलाई कम्प्युटरका लागि सर्वाधिक उपयुक्त मध्यवर्ती भाषा मानिएको छ ।
ऋ, ऋृ र लृ, लृ जोडेरै संस्कृतमा जम्मा १६ वटा स्वरहरू छन् र भनिन्छ कि यी १६ स्वरले ईश्वरको १६ वटा विभूति (गुणहरू) जनाउँछ । स्वरहरूको बारेमा महर्षि पतञ्जलिले भनेका छन्, ‘स्वयं राजते इति स्वर:’ अर्थात् जो आफ्नै शक्तिले विद्यमान छन् वा चम्कन्छन्— ती स्वर हुन् ।
हाम्रो शास्त्रीय संगीतको सप्तक ‘सारेगमपधनी’को उद्गमस्थल पनि संस्कृत स्वरहरू नै हुन् । क्रमशै: ‘अ’ बाट ‘षड्ज’ जसको आवाज संकेत यसै गरी क्रमशै ‘सा–स्वर’ हो, ‘इ’ बाट ‘ऋषभ’–रे, ‘उ’ बाट ‘गान्धार’–ग, ‘ए’ बाट ‘मध्यम’–म, ‘ओ’ बाट ‘पंचम’–प, ‘ऐ’ बाट ‘धैवत’–ध र ‘औ’ बाट ‘निशाद’–नी उत्पन्न भएका हुन् । तर कति जनालाई यसको जानकारी छ ? यस उप्रान्त शास्त्रीय संगीतको अकल्पनीय विकास सम्भव भयो । मानसिक तनाव (डिप्रेसन) भएको बेलामा शास्त्रीय संगीतले रामवाणको काम गर्दछ ।
अब व्यञ्जन वर्णको विश्लेषण गरौं । सर्वप्रथम (५ह५) कोष्ठक (म्याट्रिक्स) को वैज्ञानिकतामा ध्यान देऔं । यी ५ तेर्सो पंक्तिहरूका (होरिजेन्टल रोज) अक्षरहरूमा प्रथम पंक्ति कण्ठबाट उच्चारित ‘क अथवा कण्ठ्य वर्ग’ दोस्रो पंक्ति तालुबाट उच्चारित ‘तालव्य–वर्ग’, तेस्रो पंक्ति जिभ्रोलाई पछाडि पल्टाई उच्चारित ‘मूर्धन्य–वर्ग’ चौथो जिभ्रोले दाँतलाई छोएर उच्चारित ‘दन्त्य–वर्ग’ तथा अन्त्यमा, दुइटै ओठ जोरेर उच्चारित ‘ओष्ठ्य–वर्ग’ मा विभाजित गरिएको छ । यसैगरी (५ह५) कोष्ठकको प्रथम तथा तृतीय ठाडो पंक्ति (भर्टिकल कोलम) का अक्षरहरूलाई उच्चारण गर्दा सासमा जोड नपर्ने हुनाले ‘अघोष’ (अल्प प्राण) (अनएसपिरेटेड) र द्वितीय तथा चतुर्थ स्तम्भका अक्षरहरूलाई उच्चारण गर्दा सासमा जोड पर्ने हुनाले ‘घोष’ (महाप्राण) (एसपिरेटेड) ध्वनि भनिएको छ । यी ५ वर्गका अन्तिम अक्षरहरू ‘ङञणनम’ लाई ‘नासिक स्वर’ (नेजल) भनिन्छ किनकि प्रत्येक वर्गको ध्वनि मुखको अग्रभागबाट सुरु गरेर घाँटीतिर गुड्दै अन्तिम ध्वनि नाकबाट निस्कन्छ । हाम्रो ध्वनि ग्रन्थि (भोकल अर्गान) बाट निस्केका ध्वनिहरूको यति सूक्ष्म विश्लेषण विश्वको अर्को कुनै भाषामा पाइन्न । यसका लागि हाम्रा पूर्वजमा हजारौं वर्षअघिदेखि नै मनुष्यका प्रत्येक अंगहरूको (एनाटोमी) कति विस्तृत ज्ञान होला, यो अति विचारणीय छ ।
अब बाँकी रहेका ८ अक्षरमध्ये ‘य’, ‘र’, ‘ल’, ‘व’ ‘अर्ध–स्वर’ (सेमी–भवेल्स) र ‘श’, ‘ष’, ‘स’, ‘ह’ ‘उष्म’ ध्वनि हुन् । यसरी जम्मा ३३ अक्षरलाई व्यञ्जन भनिन्छ । यी ३३ अक्षरको प्रत्येक कोठा ३३ कोटि देवताको निवासस्थान वा नगर मानिएको छ । यसैकारणले संस्कृत अक्षरलाई ‘देवनागरी’ पनि भनिन्छ । यहाँ संस्कृतको शब्द ‘कोटि:’ को शब्दार्थमा भएको यौटा प्रचलित भ्रमको पनि निवारण गरिहालौं । कोटि शब्दको दुईवटा अर्थ छन् — करोड र प्रकार † ३३ कोटि देवताभन्दा मानिसहरूले ३३ करोड देवता भनेको ठान्छन् । यो यौटा ठूलो भ्रम हो । यहाँ कोटिको अर्थ प्रकार हो । गीताको ११ अध्यायको छैटौं श्लोकमा भगवान् श्रीकृष्णले यो कुरा स्पष्ट पार्नुभएको छ :
पश्यादित्यान्वसून्रुद्रानश्विनौ मरुतस्तथा
बहून्यदृष्टपूर्वाणि पश्याश्चर्याणि भारत।।
यसअनुसार १२ आदित्य, ८ बसु, ११ रुद्र तथा २ अश्विनीकुमार गरेर जम्मा ३३ थरीका देवता छन् । जसै नेपालमा सुरुसुरुमा सानातिना राजारजौटाका प्रत्येकमा आराध्य ‘शक्ति–देवी’ स्थित हुन्थिन्, त्यसैगरी देवनागरी वर्णमालाको सम्पूर्ण ‘अ–वर्ग’ की देवी ‘योगीश्वरी’, ‘क–वर्ग’ की ‘ब्राह्मी’, ‘च–वर्ग’ की ‘माहेश्वरी’, ‘ट–वर्ग’ की ‘कौमारी’, ‘त–वर्ग’ की ‘वैष्णवी’ ‘य–वर्ग’ की ‘इन्द्राणी’ तथा ‘श–वर्ग’ की देवी ‘चामुण्डा’ देवी स्थित छन् । व्यञ्जन वर्गका यी सात देवीहरूलाई ‘सप्त मातृका’ भनिन्छ ।
अन्त्यमा, बाँकी ३ अक्षरहरू ‘क्ष’, ‘त्र’, ‘ज्ञ’ चाहिं संयुक्त व्यञ्जन हुन् र यी व्यञ्जनहरू क्रमश: ‘क्+ष्+अ’, ‘त्+र्+अ’ र ‘ज+ञ्+अ’ को मिश्रणबाट बनेका हुनाले कहिलेकाहीं देवनागरीका जम्मा अक्षरहरू १६ स्वर + ३३ व्यञ्जन अर्थात् ४९ वटा मानिन्छ तर ‘क्ष’, ‘त्र’, ‘ज्ञ’ जोड्यो भने जम्मा ५२ अक्षरहरू हुन जान्छन् । ‘य’ ‘र’ ‘ल’ ‘व’ ‘ह’ को प्रयोग ‘कुण्डलिनी–चक्र’ मा गरीएको छ । यसको आधार चक्र ‘मूलाधार चक्र’ बाट सुरु गरेर कुण्डलिनीको ७ चक्रमा पहिलो ५ ‘शक्ति–चक्र’ (इनर्जी सेन्टर) को ‘बीज–मन्त्र’ को रूपमा गरिएको छ । मन्त्र विद्यामा केन्द्रीय ध्वनिलाई ‘बीज’ अर्थात् बीउ भनिन्छ । जस्तो कि ‘मूलाधार चक्र’ को बीज मन्त्र ‘लं’ हो । त्यसैगरी क्रमश: ‘स्वाधिष्ठान चक्र’ को ‘वं’, ‘मणिपुर चक्र’ को ‘रं’, ‘अनहत चक्र’ को ‘हं’ तथा ‘विशुद्धि चक्र’ को बीज मन्त्र ‘यं’ हुन् । यसैगरी ‘स’ र ‘ह’ लाई ‘संहार बीज’ पनि मानिएको छ । किन ? अलि ध्यान दिएर हेर्नुस, सास भित्र तान्दा (इन्पेरिएसन) अनायास ‘स’ को ध्वनि निस्कन्छ । त्यसैगरी सासलाई बाहिर छोड्दा (एक्पेरिएसन) ‘ह’ को ध्वनि निस्कन्छ । यसर्थ श्वास–प्रश्वासको प्रक्रियालाई ‘हंस’ मन्त्र पनि भनिएको छ । अन्ततोगत्वा मानव जीवन यी नै दुई सासको बीचको खेल हो †
वैदिक सभ्यताको सारांश निम्न गायत्री मन्त्रका २४ अक्षरहरूमा समावेश छ— ‘ॐ भूर्भुव:स्व तत्सवितुर्वरेण्यं भर्गोदेवस्य धीमहि धियोयोन: प्रचोदयात् ।’ अर्थात् हामी ती परमपुज्यनीय सृष्टिकर्ताको उपासना गरौं जसले यो जगत्को रचना गरें, जसको दिव्य प्रकाशले समस्त विश्वलाईनै देदिप्यमान गरेको छ, ती नै देवीले हाम्रो बुद्धिलाई पनि आफ्नो प्रकाशले आच्छादित गरुन् । देवनागरी लिपिको विश्लेषणले यो स्पष्ट गर्दछ कि संस्कृत कुनै साधारण भाषा होइन । यसका एक–एक अक्षर यति सारगर्भित छन् कि भनेर साध्यै छैन । यसलाई अकारण ‘देव–भाषा’ भनिएको होइन । संस्कृत हाम्रो डीएनएमा छ । तसर्थ यसको संरक्षण, पठन–पाठन र विकास गर्नु हाम्रो नैतिक कर्तव्य मात्र होइन कि बरु हाम्रो सभ्यतालाई जोगाउने ढाल हो ।
संस्कृतको उपरोक्त अनुसन्धान त केवल संस्कृत वर्णमालालाई कोरेको मात्र हो । महर्षि पाणिनिको व्याकरण ‘अष्टाध्यायी’ अत्यन्त गहन र संस्कृत वाङमय अथाह विषय छ । यस गहिरो सागरमा डुबुल्की मार्नेहरूले कुन–कुन मोतीहरूको उपलब्धि गर्न सक्छन्— यो वैयक्तिक क्षमतामा निर्भर गर्छ । कहिलेकाहीं यस्तो लाग्छ कि परमेश्वरले गल्तीले ‘संस्कृत’ निर्बुद्धिहरूको हातमा सुम्पिदिए । यस्तो दिन नआओस् जुन दिन विदेशीहरूले हामीलाई संस्कृत सिकाउन परोस् †
प्रकाशित : कान्तिपुर, माघ १९, २०७५ १२:२३

छोराको पढाइ खर्च उठाउन दाइजो !

छोराको पढाइ खर्च उठाउन दाइजो !
छोराको पढाइ खर्च छोरीका बाबुबाट उठाउनुपर्छ भने त्यत्ति नै खर्च गरेर पढाएकी छोरीको मूल्य के ?
माघ १३, २०७५, kantipur
लीला लुइँटेल
काठमाडौँ — एक जना छिमेकीकी डाक्टर छोरीका लागि तय गरिएको वरको मूल्य साठी लाख रुपैयाँ भन्ने सुनेपछि र जिन्सी सामानको लिस्ट देखेपछि मैले ‘यत्रो पैसा कहाँबाट ल्याउनु ?’ भनेर सोधेँ । केटाका बाबुले ‘अझ हामीले निकै कम भनिरहेका छौं, हाम्रा छोरालाई डाक्टर बनाउन त्यतिले पुगेको छैन’ भनेको सुन्दा म आश्चर्यचकित भएँ । ‘हाम्री छोरी पनि डाक्टर हुन्, उनलाई पढाउन पनि त्यत्तिकै खर्च लागेको तपाईंहरूलाई थाहै होला अनि त्यसको मूल्य नि ?’ भनेर मैले जिज्ञासा राखेँ । केटाका बाबु क्रुद्ध भएर ‘यो पहाडी लोग हाम्रो परम्परामा किन बढ्ता हुन आएको’ भने । केटीका बाबुले मतिर पुलुक्क हेरे । त्यहाँ बस्न उचित नलागेर म जुरुक्क उठेर हिँडेँ । अहिले पुगिसरी हुने अभिभावकले आफ्नो शक्ति र सामथ्र्यले भेटेसम्म शिक्षा प्रदान गर्ने कुरामा छोरा र छोरी भनी विभेद गरेको प्राय: भेटिँदैन । यति हुँदाहुँदै पनि अधिकांश नेपाली अभिभावकका लागि छोराको भन्दा छोरीको विवाह आतङ्ककै रूपमा रहेको पाइन्छ । यस्तो आतङ्कले सिर्जना गरेको त्रासदी पहाडमा भन्दा बढी मधेसमा देखा परेको छ । मधेसमा छोरी बढ्दै जाँदा अभिभावकमा आतङ्कको पारो चढ्दै जान्छ ।
यसखाले क्रियाकलापलाई कुनै परिवारको आन्तरिक मामला भनेर पन्छिने स्थिति छैन । तिलक र दाइजो आतङ्क नभोगेको मधेसी परिवार पाउन हम्मे पर्छ । दाइजो एवं तिलक आतङ्ककै कारण कतिपय चेलीले आत्महत्या गरेका पनि छन् । आर्थिक अवस्था कमजोर भएको तथा धेरै दिदीबहिनी भएको परिवार बढी पीडित छ । आमाबाबु घरजग्गा बेचेर वा ऋण गरेरै भए पनि लोभी एवं द्रव्यपिशाच वरपक्षका माग पूरा गर्न बाध्य छन् । मधेसका छोरीलाई बालविवाह गरिदिने तथा उच्चशिक्षाबाट वञ्चित गरिने कटु यथार्थ हामीले देखेभोगेकै हो । वर पक्षबाट तिलक एवं दाइजो माग्नु कानुनी रूपमा अवैध भनिए पनि सामाजिक अभ्यासमा यो घटेको छैन । उल्टै यसले विकराल रूप लिँदै छ । मधेसमा छोरीको विवाह गर्ने सबै कुरा मिलेपछि तिलक एवं दाइजो विवाद र छलफल विषय बन्ने गरेको छ । त्यो पनि छोरीका बाबुको स्वेच्छा हुँदैन । छोराका तर्फबाट व्यापारिक तरिकाले तय गरिन्छ । तिलक एवं दाइजोको परिमाणमा केटाको कुलघरान तथा शिक्षाले ठूलो भूमिका खेलेको हुन्छ । अहिलेको व्यावहारिक अभ्यासअनुसार डाक्टर, इन्जिनियर, वकिल तथा उच्चपदस्थ सरकारी अधिकारी वरका लागि ठूलै मोलमोलाइ हुन्छ । वरपक्षको मागअनुरूप दाइजो ल्याउन नसके गृहलक्ष्मी मानेर आफैँले भित्र्याएकी बुहारीलाई यातना दिने, घरनिकाला गर्नेजस्ता घटना बारम्बार घटिरहेका छन् ।
मधेसमा शिक्षित, बौद्धिक एवं चेतनशील वर्ग नभएको होइन । यस्ता व्यक्तिहरूले पनि तिलक एवं दाइजो प्रथाविरुद्ध सामाजिक जागरणका लागि भूमिका खेल्न सकेका छैनन् या उनीहरू यसबारे टीकाटिप्पणी गर्न चाहँदैनन् । सबभन्दा हास्यास्पद एवं लज्जास्पद त छोराको पढाइ खर्च छोरीका बाबुबाट उठाउनुपर्ने दरिद्र मानसिकता छ । छोरी चाहे डाक्टर, इन्जिनियर तथा कामकाजी नै किन नहुन्, दाइजो नदिई तिनीहरूको पनि विवाह हुँदैन । यही दाइजो एवं तिलक प्रथाका कारण अधिकांश परिवारमा भू्रणको लिङ्ग पहिचान गरेर छोरी भए भ्रूण नष्ट गरिदिनेजस्ता मानवताविरोधी कार्य धेरै क्षेत्रमा महामारीकै रूपमा फैलिसकेको छ । यसखाले जघन्य अपराधले जनसंख्याको सन्तुलनमा नकारात्मक असर पर्न सक्छ । यस्तो विकराल अवस्थाविरुद्ध सीमित मानव अधिकारीवादी, महिलावादी व्यक्ति एवं संघसंस्थाले बेलाबखत आवाज उठाएजस्तो देखिए पनि यसखाले दुष्कर्म उन्मूलनतर्फ कसैले सक्रियता देखाएको पाइँदैन । अहिले राजनीतिक रूपले मधेसमा परिवर्तन आएको र मधेसका जनता आफ्नो अधिकारका लागि सचेत भएको सुनिन्छ तर चेलीबेटीका नाममा गरिने यसखाले अमानवीय क्रूर क्रियाकलाप नियन्त्रण गर्नेतर्फ व्यक्ति, समाज एवं राज्यको ध्यान प्रभावकारी पाइँदैन । अझ मधेसी जनताको अधिकारको सुरक्षाका लागि समाज सेवा गरेको, राजनीति गरेको हवाला दिनेहरूले पनि यसतर्फ ध्यान दिएको पाइँदैन । कि जनसंख्याकोआधा हिस्सा मधेसी चेलिबेटीचाहिँ उनीहरूका दृष्टिमा जनता होइनन् ?
मानवीय मूल्यकै उपहास गर्ने यस्ता क्रियाकलाप शिक्षित तथा सभ्य कहलिएकाहरूको समाजमा परम्परा एवं संस्कारका नाममा जरो गाडेर बसिरहेका छन् । यस्ता क्रियाकलाप न्यून गराउँदै मधेसका चेलीबेटी एवं तिनका अभिभावकलाई सिंगो मानवका रूपमा जीवनयापन गर्ने वातावरण सिर्जना गर्नेतर्फ यस क्षेत्रका परिवार, समाज तथा प्रशासन कसैको पनि ध्यान पुगेको देखिँदैन । उच्च शिक्षित विवाहयोग्य कतिपय युवकलाई यसबारे जिज्ञासा राख्दा सामाजिक तथा पारम्परिक संस्कार भनेर तिनको संरक्षणमा जोड दिने मानसिकता लाजै पचाएर मसँग उनीहरूले अभिव्यक्त गरेका छन् । मानवीय मूल्यकै उपहास गर्ने यस्ता क्रियाकलापलाई अझै परम्परा भनिरहने कि सामाजिक क्यान्सर मानेर तिनको उपचार खोज्ने ? यहाँ प्रश्न उठ्छ, छोराको पढाइखर्च छोरीका बाबुबाट उठाउनुपर्छ भने त्यत्ति नै खर्च गरेर पढाएकी छोरीको मूल्य के ? के छोरी पाएर उचित शिक्षादीक्षा दिई उसलाई योग्य बनाउनु नै छोरीका बाबुको सबभन्दा ठूलो अपराध हो ? अनि तिलकका नाममा देशको शिक्षित एवं एउटा सुयोग्य नागरिकको मोलमोलाइ बोकोसरह गर्ने र यसको कमी हँुदा आफ्नी गृहलक्ष्मीलाई जिउँदै जलाउनेहरूमा आफूलाई एक्काइसौँ शताब्दीको मानव भन्न भनाउन लज्जा हुनुपर्ने होइन र ? प्रकाशित : माघ १३, २०७५ ०८:२२

मार्सलको बुई चढेर विधेयक

मार्सलको बुई चढेर विधेयक
माघ १३, २०७५ kantipur
सम्पादकीय
काठमाडौँ — संसदीय परिपाटी भनेकै संवाद हो । संवादका अनेक तह र रूपद्वारा संसद्लाई गतिशील र जीवन्त बनाइन्छ । वार्ताद्वारा समस्याको समाधान खोज्ने विधिका रूपमा संसदीय व्यवस्था विकास भएको हो । शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्दा जे गरियो, त्यसले संसद्लाई संवाद होइन, शक्ति प्रयोगस्थल बनाएको छ ।
सरकारले प्रतिनिधिसभालाई आफ्नो छायाको साम्राज्य बनाउने हठ गर्दा सभामुखले सम्झाइबुझाइ गर्नुपर्ने हुन्छ । उनले त उल्टै मन्त्रीलाई मार्सलको बुई चढाएरै रोस्ट्रम पुग्न दिए । प्रतिपक्षी सांसदहरूले वेल घेरेका बेलासमेत विधेयक प्रस्तुत गर्ने/गराउने अभ्यासले हाम्रो संसद्लाई विश्वासभन्दा अविश्वासको केन्द्रतर्फ घचेटेको छ । सभामुखको भूमिका अभिभावकीय हुनुपर्छ । सरकार र प्रतिपक्ष एकअर्काबाट तर्केर वार्तामा बसेनन् भने त्यसका लागि उनले अग्रसरता लिनुपर्छ । उनले आफ्नो कार्यकक्षमा आएका र वार्ताका लागि तयार प्रतिपक्षलाई विश्वासमा लिएर जे समझदारीको भान पारेका थिए, प्रतिपक्षले त्यसमा कुठाराघात महसुस गरेको छ । यसले सभामुखको साखमा सन्देह सिर्जना गरिदिएको छ । सभामुख सरकारको सहयोगी देखिए भन्ने प्रतिपक्षी आरोपले संसद्प्रतिको जनआस्थामा चोट पुर्‍याएको छ ।
संसद् जालझेल गर्ने र झुक्याउने थलो हुनु हुँदैन । एकैछिन अघि प्रतिपक्षसित भएको सहमतिबेगर सभामुखले बैठक चलाउँदा संसद्को गरिमा खण्डित हुन्छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाबीच अत्तालिएर विधेयक पारित गर्नुपर्ने अवस्था थिएन । दुई तिहाइ मत भएको सरकारले यस्तो अशोभनीय व्यवहार गर्नै पर्दैन । यसले सरकारमा आत्मविश्वासको कमी देखाउँछ । विधेयक पारित गर्नु ठूलो कुरा होइन, मार्सलको बुई चढेर आएको विधेयकले जनविश्वास पाउन कठिन हुन्छ । शुक्रबार प्रतिनिधिसभाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक–२०७५ पारित गर्दा शिक्षण अस्पताल, महाराजगन्जमा डा. गोविन्द केसी १६ औँ चरणको १७ औँ दिनको आमरण अनशनमा थिए । प्रधानमन्त्री केपी शर्मा ओलीकै सरकारले नै डा. केसीसँग १५ औँ अनशनमा सम्झौता गरेको थियो । सम्झौता सत्यनिरूपण होइन भने प्रधानमन्त्री स्वयम्ले हालसालै प्रतिनिधिसभामा हाकाहाकी भनिदिए । वार्ता र संवादद्वारा हासिल भएको सम्झौताप्रति त्यस स्तरमा अविश्वास प्रकट गर्दै प्रधानमन्त्रीले संसद्को मानमर्दन गरिदिए । सभामुख कृष्णबहादुर महराले त्यतिबेलै सरकारलाई पूर्ववत् सम्झौता, समझदारीप्रति विश्वास जनाउन र इमानदारी कायम गर्न सम्झाउन सक्नुपथ्र्यो ।
कुनै पनि नेपाली नागरिकसँग गरिएको सम्झौताप्रति इमानदारी नराखी, त्यसप्रति चालबाजी गर्ने सरकारको रवैया, त्यो पनि यति शक्तिशाली सत्ताले गर्नु अन्याय हो । व्यक्तिको सर्वोच्चतामाथि प्रहार हुनु र त्यसको स्थल संसद् बन्न नदिनु वर्तमान संवैधानिक परिपाटीप्रति नै लाञ्छना हो । राज्यले भयको वातावरण बनाउने होइन, नागरिक अधिकारको संरक्षण गर्ने हो । प्रतिपक्षी नेपाली कांग्रेसले पनि डा. केसीसँगको सम्झौताभन्दा आफ्ना दुई दिवंगत नेताका नामका अस्पतालबारे बढी प्राथमिकता दिनु राजनीतिक स्वार्थप्रेरित भयो । ती अस्पताललाई संघीय सरकारमातहत राख भन्नेमा केन्द्रित हुँदा प्रदेश सरकार र त्यस अर्थमा संघीयता आत्मसात् गर्न नसकेको प्रतीत भयो । उसले सभामुखलाई सार्वजनिक रूपमा बढी लाञ्छित गर्दा भविष्यमा आफैँलाई घाटा हुने पनि बुझ्न सकेको देखिएन । सभामुखलाई जसरी हुन्छ तटस्थ रहन प्रेरित गर्ने, प्रोत्साहित गर्ने हो, न कि हरेकपल्ट उदांग पार्दै झन्झन् सरकारतिरै घचेटिरहने ।
दुई सदनात्मक संसदीय संरचनामा राष्ट्रिय सभालाई परिपक्व सदन मानिन्छ । प्रतिनिभिसभामा कहिलेकाहीँ यस्तै जोरजुलुम भयो भने उपल्लो सदनले गम्भीरतासाथ आफ्नो जिम्मेवारी बुझी, बहस र विमर्श गरी विधेयक फर्काइदिन सक्छ । अनशनरत डा. केसीको अवस्था बुझेर मात्र होइन, तल्लो सभामा भएको बलमिच्याइँ देखेर पनि उसले होसियारी कायम गर्नु र आफ्नो अस्तित्वको औचित्य साबित गर्ने यो एउटा महत्त्वपूर्ण अवसर पनि हो । डावोसमा विश्व आर्थिक मञ्चको वार्षिक बैठकबाट फर्केका प्रधानमन्त्री ओलीले अब आफ्नो विश्वसनीयता बढाउन पनि यसलाई गम्भीरतासाथ लिन जरुरी छ । विश्वमा नेपालको नाम राख्ने भनेको आन्तरिक संवैधानिक प्रक्रिया र नागरिकहरूसँग गरेका वाचाबन्धनप्रति विश्वासको मान कायम गर्ने हो । तसर्थ उनले तत्काल डा. केसीसँग वार्ता गर्ने र राष्ट्रिय सभाबाट समस्या समाधान गर्ने पहल गर्नु बुद्धिमानी हुनेछ ।
प्रकाशित : माघ १३, २०७५ ०८:३२

तेम्बाथानको जात्रा




तेम्बाथानको जात्रा
माघ ५, २०७५शब्द/तस्बिर : विमल खतिवडाअनिश तिवारी
काठमाडौँ — सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ स्थित तेम्बाथान पुग्न सदरमुकाम चौताराबाट दुई दिन लाग्छ । क्याङसिङसम्म जिप/ट्रक चढेर एक दिनमा पुगिन्छ । त्यहाँबाट थप एक दिनको पैदल यात्रा छिचोलेपछि गाउँ पुगिन्छ 
गाउँमा शेर्पा समुदायको बसोबास बाक्लो छ । १ सय ६० घरधुरी मध्य ५ घर मात्र तामाङको छ । त्यसोत त यो गाउँमा प्रत्येक माघ १ गते जात्रा लाग्छ । आफ्नै पोसाकमा ठाँटिएर देवीथानमा गोलाकार भई स्याप्रु नाच नाच्न व्यस्त हुन्छन् । जुगल हिमाल नेपेमासल तेम्बाथान ग्रामीण विकास समाजका सदस्य एवं सल्लाहकार साइँला शेर्पाका अनुसार पुर्खादेखि जात्रा देखाउने चलन रही आएको छ । जात्राको अघिल्लो दिन काठमाडौँ लगायत रोजगारीको सिलसिलामा विभिन्न जिल्ला पुगेकाहरू समेत जम्मा हुन्छन् ।



रातभर झाँक्री जप/ध्यान गरेर बस्छन् । बिहान नजिकैको देवीथानमा पूजा गर्छन् । पूजामा आउनेलाई प्रसाद बाँड्छन् । जात्रा हेर्न आउनेको भिड लाग्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म जम्मा हुन्छन् ।
प्रत्येक घरले पालो गरेर जात्रा गर्ने चलन छ । जात्राको अघिल्लो दिन जसको पालो हो, उसले घरमा झाँक्री राख्ने व्यवस्था गर्नु पर्छ । घण्ट झुण्ड्याएका झाँक्री रातभर जागै बसेर ढ्याङग्रो बजाउँदै मन्त्र पढेर रात कटाउँछन् ।
जसको घरमा झाँक्री बसेका हुन्छन्, उसले जम्मा भएर नाचगान गर्ने पाहुना, छरछिमेकलाई चिया, छ्याङको व्यवस्था गर्नुपर्छ । लागेको खर्च सबै गाउँलेले जम्मा गरेर दिन्छन् ।प्रकाशित : माघ ५, २०७५ ११:३६














धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...