Monday, June 10, 2019

स्वस्थानीको सपाट समाजशास्त्र

स्वस्थानीको सपाट समाजशास्त्र
माघ २६, २०७५सीमा आभास
काठमाडौँ — म हिन्दु हुँ । हिन्दुदर्शन, हिन्दु देवदेवी, तीर्थ, व्रत र अनुष्ठानसँग श्रद्धा छ । साथै गहिरो रुचि र चासो छ ।
हिन्दु आस्थासँग जोडिएर आउने कतिपय कथा र मान्यताहरू समसामयिक अवस्थामा मान्य नहुने खालका छन् । म एक हिन्दु भएको हुनाले त्यस्ता कथा र विषयलाई समयसापेक्ष परिमार्जन गरिनुपर्छ भन्ने लाग्छ । जीवनसापेक्ष धर्म, आस्था र व्रतका विधिविधानलाई परिवर्तन गरेर सहज बनाउन पाइने हिन्दुशास्त्रको मान्यता पनि हो । त्यही मान्यताको जगमा टेकेर स्वस्थानी कथाका बारेमा टिप्पणी उठाएकी छु ।
‘स्वस्थानी कथा भन्न जानेपछि पढ्न जानिन्छ’ गाउँमा बूढापाकाहरूले यसै भन्थे । स्वस्थानी पढ्ने लय र यसको संगीत खुब मजा र आनन्द लाग्दो छ । लय मिलाएर पढ्दा स्वस्थानी पढ्न र सुन्न मजा आउँछ । यसको संगीतले आनन्द दिलाउँछ ।स्वस्थानीको पूजा गुराँस फुल्ने समयमा हुने हुनाले गुराँसको फूल पानी–डोकामा ल्याइन्थ्यो । माला उनिन्थ्यो । बडो गजब लाग्छ । सम्झँदा पनि । रातभरि जाग्राम बस्दा खान पाइने सयरोटीको जस्तो मीठो स्वाद अरू केहीको छैन । हुन त पूजापाठमा खान पाइने प्रसादको स्वाद बेग्दै मीठो हुन्छ । त्यसरी खानुको आनन्द अद्भुत लाग्छ यद्यपि । रातभरि जाग्राम बसेर गाउँभरिका मान्छे भेला भएर नाचगान गर्नु, कथा भन्न तँछाड–मछाड गर्नुको मजा अरूमा कहाँ थियो र । नटुटाई, नबिगारी कथा भन्न सक्ने भएपछि सान पनि अलिक अर्कै हुन्थ्यो । पढ्न जान्ने छे । निकै ट्यालेन्ट छे भनेर पढाइको मूल्याङ्कन गर्थे छिमेकीले । स्कुलको रिजल्टभन्दा स्वस्थानी पढ्न जानेपछि छिमेकीले दिएको प्रतिक्रिया लाख गुना ठीक लाग्थ्यो, जसको घरमा स्वस्थानीको किताब छ । पौषशुक्लपक्षभरि कम्तीमा एक पटक पढेर सक्नुपर्छ भन्ने मान्यता छ । यसरी हेर्दा किताब भएको घरमा वर्षमा एक पटक पूरै किताब अनिवार्य पढ्छन् ।
रामायण, महाभारतभन्दा पनि बढी सुनिएको र पढिएको पुस्तक स्वस्थानी नै होला । एक जना मेरी हजुरआमा हुनुहुन्थ्यो क–ख पनि नचिन्ने । उहाँ हरेक वर्ष स्वस्थानी व्रत लिनुहुन्थ्यो । हामीजस्ता भुरालाई किताब पढ्न दिनुहुन्थ्यो । ध्यानपूर्व सुन्नुहुन्थ्यो । कहीँ गल्ती भए थाहा पाइहाल्नुहुन्थ्यो । अनि सच्याइदिनुहुन्थ्यो । उहाँले पढेर, हेरेर कथा जानेको होइन । वर्षौंदेखि सुनेर कथाका शब्दशब्द कण्ठ भएको हो । निरक्षरहरूले पनि शब्दशब्द थाहा पाउने सरल र मिजासिलो शैलीमा कथा बुनिएको छ । व्रतको महिमासँगै स्वस्थानीका चाखलाग्दा कथाहरू यसका अर्का पाटा हुन् । कथा सुरु गर्नुअघि र कथा सकिएपछि पढिने शास्त्रीय छन्दमा भएका ती मन्त्र पढ्नुको अर्को आनन्द अद्भुत नै छ । आजभोलि त्यसको संगीत विधिविधानले मात्र ध्यान तान्दैन त्यसभित्रको कथाले पनि त्यतिकै ध्यान तानिरहेको हुन्छ । कथाभित्रका कथाका अन्तरभाव र कथाले राखेका अपेक्षाका बारेमा पनि सोच्न बाध्य बनाउँछ ।
मानिसको चेतनाको अवस्थासँगै धार्मिक आस्था र त्यसभित्रका कथाका विषय र दैनिक जीवनसँग जोडिएर आउने कथाका प्रसंगहरूमाथि जिज्ञासा, प्रश्न, मत र अभिमत रहनु स्वाभाविक कुरा हो । एक समयमा मान्य भएको कुरा अर्को समयमा असान्दर्भिक हुन्छ । सामाजिक मान्यतासँगै कथाले परिवर्तनको अपेक्षा गरेकै हुन्छ ।
स्वस्थानी कथा उवाच:
यो व्रत खासगरी नेपाली महिलाहरूको मौलिक व्रतको रूपमा लिइन्छ । स्वस्थानीका किताबहरू पनि व्यापारिक हिसाबले विभिन्न प्रकाशक र सम्पादन गरेर कथालाई तलमाथि पारेर छापिएका पुस्तकहरू बजारमा छन् । किताबैपिच्छे भाषा र शैली पनि फरक देखिन्छन् । सम्पादक र प्रकाशक फरक परेपछि भाषा शैली फरक पर्नु स्वाभाविक कुरा छ । यसबाट भन्न सकिन्छ स्वस्थानीको कथा समय काल सम्पादकको सोचअनुसार तोडमोड र फरक पार्न सकिने रहेछ ।
स्वस्थानी कथामा कतै न कतै शिवपार्वतीलाई पात्र बनाएर तयार पारिएका कथा छन् । केही पत्यार लाग्ने । केही पत्यार नलाग्ने कथा छन् । कथाका प्रसंगहरू टुटेका र कथामा उल्लिखित समय र काल नमिल्ने प्रसंग थुप्रै छन् । स्वस्थानी कथाको मुख्य थिम भनेको नारी जाति त्यागी, चरित्रवान, आफूलाई गौण ठानेर अरूको सेवामा लीन रहने हुनुपर्छ भन्ने नै हो ।कथा लेख्दाको मुख्य उद्देश्य हुन्छ, कुनै पनि काल्पनिक कुरालाई ‘हो’ जस्तो बनाएर मान्छेभित्र विश्वास जगाउनु । त्यो विश्वास जगाउन त्यस समाजमा रहेको जीवनशैलीभित्र पसेर कथालाई बुन्नुपर्ने हुन्छ । ती कथाहरूलाई जिउँदो जाग्दो पार्नका लागि मान्छेको आस्थासँग लगेर जोडिदिनुपर्छ । पुराण, स्वस्थानीजस्ता जेजति व्रतहरू छन्, ती सबै आस्था हुन् । ती आस्थालाई पनि बेलाबेलामा ब्युँझाउन र जिउँदो जाग्दो पार्नका लागि व्रतले मुख्य भूमिका खेलेको हुन्छ ।
कथालाई विश्वासयोग्य बनाउनका लागि ब्रह्माण्ड, तारामण्डल, नक्षत्र, सौरमण्डल, जीवन, जगत्, स्वर्ग, नर्क, मत्र्य, पाताल, नदीनाल, समुद्रजस्ता शाश्वत विषयसँग काल्पनिक कथालाई जोडिएको हुन्छ । कथाका पात्रहरूमा स्वयं भगवान्लाई पात्र बनाएर उभ्याएपछि जम्ल्याहा हात जोडेर सुन्ने र मनन गर्ने विषय बन्छन् ।स्वस्थानी कथाको पहिलो अध्यायमा सृष्टिको उत्पत्ति कसरी भयो भनेर व्याख्या गरिएको छ । यद्यपि विज्ञानलाई सृष्टि, ब्रह्माण्डको उत्पत्ति कसरी भयो भनेर टाउको दुखाइको विषय बनिरहेको छ । स्कन्द पुराणले सृष्टि उत्पत्तिको विषयमा विस्तृत रूपमा चर्चा गरेको छ । ब्रह्माको उत्पत्ति, ब्रह्माण्डको सृष्टि, त्रिदेवको उत्पत्ति, अहंकारको उत्पत्ति, जीवात्माको उत्पत्ति, रजो, तमो, सत्त्वगुणको उत्पत्ति, पञ्चमहाभूतको उत्पत्ति, पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियको उत्पत्ति, पञ्चतत्त्वको उत्पत्ति, जगत्को उत्पत्ति र संहारजस्ता विषयहरूको वर्णन आम मान्छेले बुझ्ने भाषा र शैलीमा तयार पारेको छ । भाषासँग सिर्जना जोडिएर आउँछ । सिर्जनाले धारणा निर्माण गर्न मद्दत गर्छ । बुझिने र सलिल भाषमा तयार पारिएका सामग्री धर्मसँग जाडिएर आएपछि बिनाआलोचना र बिनापूर्वाग्रह आम मान्छेको जीवनमा सत्य बनेर स्थापित हुन्छन् । आस्थासँग जोडिएर आएको स्थापित रूप स्वस्थानी कथा भएको देखिन्छ । स्वस्थानी व्रतकथा तिनै आममान्छेहरूका लागि तयार पारिएको मान्न सकिन्छ । यो कथा मानव सभ्यतासँगै नदीहरूको किनारबाट सुरु
भएको भनिन्छ । मानवसभ्यताभन्दा पनि पुरुषसत्ताले महिलामाथि शासन गर्ने परिपाटीको विकाससँगै यस्ता कथाहरूको विकास भएको पुष्टि यिनै कथाले गर्छन् ।
यी कथाहरू हिन्दु नेपाली समाजको विवाह परम्परालाई मजबुत ढंगले अगाडि बढाउनका लागि तयार पारिएको जस्तो देखिन्छ । हरेक कथा खण्डमा विवाहका प्रसंग आउँछन् । वैवाहिक सम्बन्धलाई निर्वाह गर्न हरेक नारीपात्रले बडो कठोर परिस्थितिको सामना गरेका छन् । सामना गर्नका लागि पापको डर देखाइन्छ । आज पनि नेपाली हिन्दु समाजमा विवाह संस्थाले स्त्रीजातिबाट सधैं त्याग, स्याहारसुसार, विवाह र त्यससँग जोडिएर आउने नातालाई निर्वाह गर्न कठोरभन्दा कठोर परिस्थितिको सामना गर्नुपर्ने, आफ्नो व्यक्तिगत जीवनको पर्वाह गर्नु नहुने, भक्तिभावयुक्त, आदर्शयुक्त स्त्रीको अपेक्षा गरेको हुन्छ । र, त्यही मनोविज्ञानलाई मजबुत बनाउने सामाजिक र धार्मिक नियमहरू प्रतिपादन गरेको छ । पुरुषको हकमा वैवाहिक सम्बन्ध निर्वाह गर्ने माध्यम हो । पुरुषले वंशपरम्परालाई, पराक्रमलाई र स्वयं आफूलाई केन्द्रमा राखेर कर्म गर्नुपर्ने मनोविज्ञान तयार पारेको छ ।
स्वस्थानी व्रत र कथा पनि त्यस्तै एउटा आस्था र विश्वासको संगमको रूपमा उभ्याइएको छ । हरेक समाजमा पौराणिक कथा, आस्था र व्रतका अनेकन असल कुराहरू छन् । असल मात्र छैनन्, समय असान्दर्भिक विषय पनि सँगसँगै हिँडेर आएका हुन्छन् । कथामा भनिन्छ— यो संसारको सृष्टि हुँदा परब्रह्मा शिवको इच्छाले ब्रह्मा, विष्णु, रुद्र प्रकट भए । यी त्रिगुणमयी पराशक्तिबाट भगवती, महामायाको उत्पत्ति भयो । ती महाशक्तिलाई कसैले पनि वशमा राख्न सक्तैन । ती आदिशक्तिको रूप स्वस्थानी हो । स्वस्थानी व्रतकथाको मूल सार स्कन्दपुराणको केदारखण्डअन्तर्गत स्कन्दकुमार र अगस्त्यमुनि ऋषिबीचमा भएको संवादको रूपमा लिइएको छ । ३१ वटा अध्यायमा रहेको यसका मूल कथाभित्रका अन्तर्कथाहरू, सृष्टि उत्पत्ति, दैत्य र देवताहरूका बीचमा भएको लडाइँ, महादेव र सतीदेवीको कथा, सतीदेवीको अंग पतन भएको स्थानमा शक्तिपीठहरूको उत्पत्ति, हिमालय पर्वत र मेनकाको गर्भबाट पार्वतीको जन्म र महादेवसँगको विवाह प्रसंग, स्वस्थानी व्रतको पूजाविधि, पार्वतीको कन्यादान, जालन्धरलाई मार्न विष्णुले वृन्दाको पतिधर्म नष्ट गरेको, वृन्दाले विष्णुलाई श्राप दिएको, स्वर्ग र पातालका कथाप्रसंग छन् ।
तेस्रो खण्डमा अष्टप्रजापति नाम गरेका आठ जना प्रजापति थिए । तिनीहरूमध्ये दक्षप्रजापति एक थिए । आदिशक्ति दुर्गादेवी सतीदेवीको रूपमा दक्षप्रजापति र विरणीबाट जन्मिन । त्यसपछि तेत्तीसकोटि कन्या जन्मिए । ती कन्याहरूलाई देवतासँग ‘कन्यादान’ गरिदिए । सतीदेवीलाई छोरा छैनन् भनेर विवाह नगरी राखे । पछिल्लो नेपाली समाजमा अनिवार्य छोरा चाहिने सोच बढ्दो छ । यदि छोरीछोरी जन्मिए भने बाउआमाको पालनपोषण गर्न र सम्पत्तिको सुरक्षा गर्न छोरीमध्येकी तेजस्वी प्रतापी छोरीको बिहे नगर्ने चलन थियो । त्यही चलनलाई मजबुत बनाउन यो कथा बुनिएको देखिन्छ । साथै ‘कन्यादान’ बालविवाह सँग जोडिएर आएको प्रचलन देखिन्छ । नेपालमा बालविवाहलाई संस्थागत गर्न यो कथाले टेवा दिएको छ । महाभारतकालसम्म कन्यादान दिएको प्रसंग छैन । पछिल्लो समयमा छोरीको विवाहमा कन्यादान अनिवार्य छ ।
यही कथासँग जोडिएर आउँछ । देवताले बिहे गरेको थाहा पाएर महादेव पनि बिहे गर्न चाहन्छन् । सतीदेवीको बिहे नभएको थाहा पाएपछि सतीदेवीलाई ‘माग्न’ जान्छन् । महाभारतकालसम्म पराक्रम देखाएर छोरी लान्थे । यो कथामा सतीदेवीलाई माग्न गएको प्रसंग छ । अहिले पनि छोरी माग्ने, केटी माग्ने प्रचलित भाषा छ । त्यही भाषा यहाँ प्रयोग गरिन्छ । मागिने भनेको चीजवस्तु हो, मान्छे होइन भनेर हामीले कतै सोचेनौँ । किनकि धार्मिक कथामा लेखिएको कुरा सत्य मान्नु हाम्रो धर्म ठान्छौँ ।सतीदेवीलाई माग्न आउँदा दक्षप्रजापतिले महादेवलाई अपमानपूर्वक फिर्ता गर्छन् । महादेवले दक्षको व्यवहार विष्णुलाई सुनाउँछन् । अनि विष्णु आफूलाई भनेर सतीदेवीलाई माग्छन् । कन्यादान दिने बेलामा भिक्षुरूपी महादेवको हातमा सतीदेवीको हात थमाइदिन्छन् ।
यो कथा पढ्दै गर्दा लाग्छ । सतीदेवीलाई आदिशक्ति दुर्गादेवी भनिन्छ एकातिर । आराधना गरिन्छ । अर्कातिर दक्ष सम्पत्ति रुँघ्न छोरीको विवाह नगर्ने निर्णय गर्छ । त्यही बेला विष्णुले छल गरेर महादेवलाई सतीदेवी पारिदिन्छन् । सामान्यभन्दा सामान्य पनि मानवीय संवेदना टुटाएर सतीदेवीको विवाह प्रसंगलाई कथामा बुनिएको छ । र, सतीदेवीलाई निरीह प्राणीको रूपमा चित्रण गरिन्छ । आदिशक्ति भनिएकी सतीदेवी त्यति निरीह देखाइनुको कारण उनी आदर्शपत्नी या आदेशपालक छोरी बनाउनकै लागि हो भन्न सकिन्छ ।
कथामै छ । वृद्ध भिक्षुसँग बिहे गर्न बाध्य सतीदेवी वृद्धको झुपडीमा पुगेपछि खाने कुरा केही हुँदैन । वृद्ध चार दिनसम्म निदाउँछ । ब्युँझिएपछि उल्टै ‘पापिनी मलाई एक्लै बाहिर सुताएर भित्र सुतिस् । मलाई भोकै राखेर एक्लै खाइस् ।’ भन्दै गाली गर्छ । सतीदेवी हँसिलो मुख लगाएर सिंगारिएर ‘हजुरकै पाउमा चार दिनदेखि छु’ भनेर जवाफ दिन्छिन् भनिएको छ । एकातिर भिक्षु, अर्कातिर चार दिनदेखि निदाएको, ब्युँझिनेबित्तिकै गाली गर्ने । त्यस्तो चरम यातनामा पनि स्त्रीले हाँसीखुसी रहनुपर्ने, शृङ्गारयुक्त हुनुपर्नेछ । अन्त्यमा त्यो भिक्षु महादेव हो भनेर सतीदेवीले थाहा पाउँछिन् । कोसँग विवाह गरेँ भनेर पनि थाहा नभएको अवस्था छ सतीको ।स्त्रीले हरेक पाइलामा परीक्षाको सामना गर्नुपर्ने हुन्छ । र, पास हुनैपर्ने अनिवार्य सर्तयुक्त सन्देश दिइएको छ । न्यूनतम मानवीय संवेदना पनि स्त्रीलाई जरुरी हुँदैन भन्ने मान्यताबाट यस्ता कथा बनेका छन् । तिनै कथाका चरित्र अहिलेको हाम्रो समाजमा स्वीकार्य र कार्यान्वयन भएका यद्यपि देखिन्छन् ।
उन्नाइस अध्यायतिर आइपुगेपछि मत्र्यमण्डलको कथाप्रसंग आउँछ । जसमा शिव भट्ट र सती नाम गरेका अति गरिब ब्राह्मण जोडीले सिद्धिविनायकको वरदान पाएर सम्पत्ति र गोमा नाम गरेकी छोरी प्राप्त गर्छन् । दान जपतपमा लिप्त ती ब्राह्मण दम्पतीदेखि डराएका विष्णु भगवान्ले शिवलाई भिक्षुको रूपमा उनीहरूको घरमा पठाउँछन् । चामल केलाइरहेकी छवर्षे बालिका गोमाले भिक्षा दिन ढिला गरेको निहुँ थापेर भिक्षुरूपी शिवले गोमालाई श्राप दिन्छन् । ‘तँ सात वर्षकी हुँदा सत्तरी वर्षको वृद्धसँग तेरो विवाह होस् ।’ छ वर्षकी बालिकामाथि किन यस्तो श्राप ? यो प्रश्न कहिल्यै गरिंदैन ।
नभन्दै गोमा सात वर्षकी हुँदा शिव शर्मा नाम गरेका सत्तरी वर्षका अत्यन्त कुरूप र वृद्ध ब्राह्मणसँग शिव भट्ट र सतीले विवाह गरिदिन्छन् । कथामा वर्णन गरिएअनुसार गोमा सात सूर्यजस्तो तेजस्वी, पूर्णिमाको चन्द्रमाजस्तो उज्याली, बाघको जस्तो कम्मर भएकी, हात्तीको सुँडजस्तो उरु भएकी पद्मपत्रजस्तो नेत्र भएकी, सावित्रीको जस्तो केश भएकी परम सुन्दरी थिइन् । उनी अत्यन्त भाग्यमानी पनि थिइन् । कथामा शिव शर्मा ब्राह्मणको वर्णन यसरी गरिन्छ सोह्र वर्षको उमेरदेखि कन्या खोज्दै हिँडेका र कन्या नपाएका । थकित भएर गंगाको किनारमा शिलासन गरी एक कुनामा बस्थे । उनी कुप्रा, कान नसुन्ने, डेरा, कैला आँखा भएका, आँखिभौँ जोडिएका, केश पाकेका, मुखदेखि र्‍याल चुहेका अत्यन्त कुरूप थिए ।
गोमाले शिव शर्मालाई पतिको रूपमा स्वीकार गर्दा कथामा प्रसंग जोडिएको छ । ‘दैवले जे चाहन्छन् त्यही हुन्छ । दैवभन्दा माथि कोही छैन । दैव लागेर रामचन्द्र वनबास गए, द्रौपदीको चीरहरण भयो, महादेवलाले कालकुट विष पिउनुपर्‍यो, दानी बली पाताल भासिनुपर्‍यो, कृष्णले यदुवंशको विनाश देख्नुपर्‍यो । भाग्यभन्दा माथि कोही छैन । ब्रह्माण्डमा सम्पूर्ण चीज नासवान छन् । पूर्वजन्मको फल भोग्नैपर्छ ।’ यसरी स्त्रीलाई भाग्यवादी बन्न कथाद्वारा प्रेरणा दिइन्छ । पूर्वजन्मको त्रास बालकैदेखि देखाइन्छ ।
जम्मा सात वर्षकी अबोध बच्ची गोमालाई सत्तरी वर्षको खुम्री परेको बूढो शिव शर्मासँग विवाह गरिदिए । अनमेल विवाह गरिदिएर भाग्यलाई दोष लगाई शिव शर्माप्रति पतिभक्तिका साथ रहेको कथा बुनिन्छ । व्रत लिने जो कोही महिलालाई पनि विवाहलाई भगवान्का पालामा त हुन्थ्यो । मान्छेका पालामा हुनु सामान्य हो भनेर स्वीकार गर्ने मनोविज्ञानको विकास गर्नलाई त्यस्ता कथा बुनिएको देखिन्छ । त्यस्तो कार्य अमानवीय हो भनेर उनीहरूले कहिल्यै जानेनन् । सिंगो समाज त्यही परिपाटीमा हुर्कियो । महिलाहरूले सिकेको भाषा नै यस्ता धार्मिक ग्रन्थबाट हो । जहाँ त्याग, आदर्श नैतिकताको एकपाटे आवाज सुनाइन्छ ।
कथाले भन्छ— शिव भट्ट र सतीलाई सन्तान नहुने श्राप थियो । विनायकले वरदान दिए पनि श्रापको कारणले छोरा (सन्तान) जन्माउने वरदान दिन नमिल्ने भएर गाईको गोबरबाट छोरी प्राप्त हुने वरदान दिए । गाईको गोवरबाट उत्पत्ति भएकी हुनाले गोमा नाम राखियो । तर, पूर्वजन्मको श्रापले गोमाले दु:ख भोग्नुपर्ने थियो । कथामा ती दु:खका भवसागरलाई भाग्यको रूपमा सहन र स्वीकार गर्न लगाइएको छ ।
एकातिर सन्तान भनेको छोरा हो । छोरी होइन भन्ने मान्यतालाई जोड दिन्छ । अर्कोतिर छोरी नै जन्मिए पनि गोमा श्रापको भागीदार हुन जन्मिएकी हुन् । हाम्रा हिन्दुशास्त्रमा छोरीलाई या त श्रापको भागीदार हुन् या कुनै निहित उद्देश्यपूर्तिका लागि जन्माइन्छन् । र, तिनीहरू आमाका कोखबाट जन्माइँदैनन् । जस्तै : गोमा गोबरबाट उत्पत्ति हुन्छिन् । सीता जमिनमुनिबाट, द्रौपदी आगोबाट उत्पत्ति हुन्छिन् । उनीहरूलाई उद्देश्यपूर्वक उत्पत्ति गराइएका छन् । चरम अपमान, चरम यातना, चरम आदर्शका कुरा उनीहरू मार्फत देखाइन्छ । र, यो समाजमा स्त्रीलाई कर्म र भाग्यअनुसार भोग्नेछौं भनेर धर्म र आस्थाको आडमा धम्काइन्छ । यसरी धम्क्याउँदा गालीको भाषा प्रयोग गरिंदैन । धर्मको भाषा प्रयोग गरिन्छ । धर्मको भाषाले मान्छेलाई श्रद्धा जगाउँछ । झुकाउँछ । त्यसभित्रको राजनीति खुट्याउनतिर लागिंदैन । त्यही राजनीति यस्ता कथा मार्फत प्रसारण गरिन्छ । अनि वर्षौंवर्षसम्म शासन गरिन्छ ।
कथा अघि बढ्छ— गर्भिणी गोमालाई घरैमा छोडी गर्भाधान कर्मका लागि भिक्षा माग्न जाँदा रूखबाट लडेर शिव शर्मा मर्छन् । गर्भिणी गोमा एक्लै हुन्छिन् । अब गोमाले भाग्यको फल भोग्नुपर्नेछ । बरु अघिपछि कहिल्यै नहोस् । तर, गर्भिणी हुँदा हरेक स्त्रीका पुरुष साथमा हुन् । गर्भिणी हुँदा एक्लै भएको कहालीलाग्दो समयमा गोमालाई उभ्याइन्छ । समय आएपछि गोमाले नवराज नाम गरेका छोरालाई जन्म दिन्छिन् । गोमाले कठोर दु:खका साथ नवराजलाई सम्पूर्ण शास्त्रको शिक्षादीक्षा दिएको प्रसंग छ । समय आएपछि बरुणपुरका अग्निस्वामीकी छोरी चन्द्रावतीसँग नवराजको विवाह हुन्छ । बाबुको खोजीमा निस्किएका नवराजले बाबु रूखबाट लडेर मरेको थाहा पाउँछन् । परम्पराअनुसार बाबुको क्रिया गरेर उतै काम खोजेर बस्छन् । यता चन्द्रावती माइत जान्छिन् ।गोमा फेरि एक्लै हुन्छिन । गोमाको दु:ख देखेर पार्वतीलाई दया जाग्छ । सप्तऋषिहरूलाई अनुरोध गरेर स्वस्थानीको व्रत लिएपछि बाबु खोज्न गएका छोरा नवराज पनि आउँछन् । गोमाका दु:खका दिन पनि सकिन्छन् । गंगामा स्नान गर्न जाँदा हरिहर प्रकट भएर नवराजलाई लावण्यदेशको राजा होलास् भनेर वरदान दिएका हुन्छन् । उता लावण्यदेशमा सुवर्ण कलश र फूलको माला दिई हात्तीलाई राजा खोज्न लगाइएको थियो । हरिहरको वरदानयुक्त नवराज ब्राह्मणलाई हात्तीले राजा बनाउन अभिषेक गर्‍यो । माता गोमा पनि लावण्यदेश आइन् । राजा नवराज र रानी लावण्यवतीलाई राज्याभिषेक गराए ।
चन्द्रनगरमा रहेकी चन्द्रावती लावण्यदेशमा आउँदा बाटामा अप्सराहरूले पूजा गरेको डोलेहरूले देख्छन् । त्यो पूजा स्वस्थानीको हुन्छ । चन्द्रावतीले प्रसाद छि:छि: र दूरदूर गर्दै फाल्छिन् । त्यही पापले चन्द्रावती शाली नदीमा खस्छिन् । शाली नदी बग्न छाड्छिन् । माझीहरूले नदी बग्न छाडेको कुरा राजालाई सुनाए । राजाले हुकुम दिए, ‘नदीमा जाल हालेर हेर्नू ।’ राजाले भने मुताविक माझीहरूले नदीमा जाल हाले । अर्धमृत अवस्थामा अर्धचेत भएकी एक स्त्री जालमा परिन् । शरीरमा कुष्ठरोग भएकी, हातपाउ खसेकी, होस नभएकी, हिलोले छोपिएको मुढोजस्तो भएकी । ती चन्द्रावती थिइन् । माझीहरूले चिनेनन् । अझै पनि नदी नबगेपछि नवराज राजा स्वयं गएर अघ्र्य दिएपछि नदी बग्न थालिन् । चन्द्रावतीको त्यो भयभीत र दर्दनाक कथा सुन्दा जो कोही स्त्री पनि आफूलाई उनको ठाउँमा राखेर हेर्छन् । अनि आतंकित हुन्छन् । यसरी आस्था र धर्मको नाममा नाममा स्त्री मनोविज्ञानलाई आतंकित बनाएर वशमा राख्ने सामथ्र्य राख्छन् यी कथाले । सत्ता र शासनको यो अर्को रूप हो ।
कथामा स्त्री पात्रले खेपेको दु:ख र भुक्तमानले आङ नै सिरिङ्ग हुन्छ । जति ठूलो अन्याय र अत्याचार गर्दा पनि पुरुष पात्रलाई पाप नलाग्ने । सानोसानो घटनाले पनि ठूलोठूलो अपराधको भागीदार नारी पात्रले हुनुपर्ने । उनीहरूले भोगेको यातनाको हिसाब नहुने । यातनाको चरम रूप देखाइन्छ । विष्णुले वृन्दालाई छल गरेर सतीत्व लुट्छन् । अहिलेको भाषामा भन्दा बलात्कार गर्छन् । त्यो बलात्कारको भागीदार विष्णु नभएर स्वयं वृन्दा नै हुनुपर्ने । यद्यपि बलात्कारजस्तो अपराधको भागीदार पुरुषभन्दा महिला बढी हुने गरेका छन् । यी कथाको नजानिदो प्रभाव यो पनि हो ।एकातिर स्वस्थानी देवी आदिशक्ति भनिन्छ । ती देवी स्त्री नै हुन् । अर्कातिर सतीदेवी, गोमा, वृन्दा, चन्द्रावती, सती, नागिनीले खेपेको चरम दु:ख र यातनालाई उनीहरूले हाँसीहाँसी स्विकार्नुपर्ने । अस्वीकार गरे एक जन्ममा नभएर अर्को जन्ममा पनि त्यसको भागीदार हुनुपर्ने । पाप पखाल्न व्रत लिनुपर्ने ।
एकातिर कथाहरूले स्त्रीलाई पूजा नै गरेको छ भन्ने भ्रम छर्ने काम गरेको छ । अर्कोतिर विभिन्न स्त्रीपात्र खडा गरेर मनोवैज्ञानिक रूपमा कमजोर बनाउने गर्छन् । त्यस्ता कथा सुनिरहँदा जो कोही स्त्रीको मनमा डरलाग्दो त्रास उत्पन्न हुन्छ । त्रासले मान्छेलाई केही सोच्न नसक्ने बनाउँछ । तिनै कथाहरू स्त्रीहरूका ज्ञानका स्रोत बनेका छन् । पुरुषहरूले पाप पखाल्न या केही प्राप्त गर्न व्रत लिनुपर्दैन । किनकि कथामा, व्रतमा उनीहरूलाई त्यसरी प्रेरित गरिंदैन । या त उनीहरूबाट पाप हुन्छ भन्ने धारण बनेकै छैन । महिलाहरूले लिने व्रतसँग जोडिएर आउने कथाहरूले जहिले पनि नारी मनोविज्ञानलाई त्रास उत्पन्न गराएका छन् । हेर्दा सामान्य लाग्ने तर भयावह र डरलाग्दो गरी मनलाई कमाउने कथा छन् । कथाको सुरुआतमा श्रीस्वस्थानी माता चार हातमा त्रिशूल, तरबार, चक्र, कमल लिएर अष्टदलमा अवस्थित अष्टमातृकाहरूको बीचमा स्वर्ण सिंहासनमा आदिशक्तिको रूपमा रहेकी छन् भनिन्छ ।
कथाको अन्त्यमा भनिन्छ— व्रतको समापनमा आठ रोटीलगायतका अन्य आठ–आठ प्रसाद फलफूल पतिलाई दिनु । पति नभए छोरालाई दिनु । छोरा नभए मित छोरालाई दिनु । मित छोरा पनि नभए गंगामा बगाइदिनु । छोरीलाई सन्तान मानेकी आमाले यो व्रत लिँदा आठरोटी के गर्नु ? मितछोरा खोज्नु कि ? गंगामा बगाउनु कि छोरीलाई दिनु ? मित छोरालाई सन्तानको स्थान दिइन्छ । तर छोरीलाई त्यति पनि स्थान दिइँदैन । हाम्रो समाजमा छोरीलाई भोग्या, भाग्यवादी, सेवक, सुसारेजस्ता रूपमा स्थापित गरिने मान्यता यस्ता कथाबाट विकास भएको देखिन्छ । त्यसैले त छोरीछोरी भए भने ‘हेर विचरा † एक पटक अझै कोसिस गर्नु । यत्रो टेक्नोलोजीको विकास भएको छ † नहेराएको ? ए छोराछोरा भएछन् । ढुक्क भयो ।’ जस्ता प्रतिक्रियाको सामना गरिरहेका छौँ ।
एकातिर स्त्रीहरू शक्तिशाली हुन्छन् भनेर प्रार्थना गर्ने देवीको रूपमा खडा गरिन्छ । अर्कोतिर सन्तानको रूपमा पनि स्वीकार नगर्ने देखिन्छ । त्यसो हुँदा महिलाहरू आजसम्म पनि भ्रममा नै छन् । साँच्चै स्त्रीहरू आदिशक्तियुक्त देवी हुन् कि सन्तान हुन पनि लायक नहुने प्राणी हुन् ? यस्ता कथाहरूलाई संशोधन गर्ने हो कि यत्तिकै चुप लागेर बसिरहने
हो ? विज्ञजनले केही बोल्ने कि ?
प्रकाशित : kantipur, माघ २६, २०७५ १२:०१

बौद्धिक जागरणको नेपाली तिर्खा

बौद्धिक जागरणको नेपाली तिर्खा
पञ्चायती
नेपाली समाज र जनता चंगा हुन् । शासकहरू चंगा उडाइरहेका छन् जसलाई चंगाको जीवन र मृत्युसँग सरोकार छैन, चासो केवल आफ्नो मनोरञ्जनको छ । यही चालामा पुँजीवादी व्यवस्था विनाशकारी लीलामा छ ।
नेपाली समाजमा एउटा नयाँ बौद्धिक जागरणको आवश्यकता टड्कारो बन्न पुगेको छ । त्यस्तो जागरणका निम्ति हिजोको जस्तो न कम्युनिस्ट क्रान्तिहरूको उत्प्रेरणा आज छ, न उपनिवेशवादविरोधी आन्दोलनको उत्प्रेरणा ।
माघ २७, २०७५
आहुति
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डले कार्यकर्ताबीच ‘धेरै पढ्ने मान्छे बहुलाउँछ’ भनेर प्रशिक्षित गरेको भिडियो सार्वजनिक भयो । प्रचण्डको भनाइ सुनेर गद्गद् हुँदै कार्यकर्ता हाँसेको र ताली बजाएको दृश्य पनि देखियो । धेरै पढ्ने भनेको कति र पढेर कति जना बहुलाए भन्ने तथ्य सार्वजनिक छैन ।
व्यवहारसँग पुस्तकको ज्ञान नजोड्ने बरु पुस्तकको लती भनेर सारसंग्रहमा हराउनेका सन्दर्भमा प्रतीकात्मक रूपमा कतिपयले त्यसो भनेको पाइन्छ । प्रचण्डले जजसलाई इंगित गरेर त्यसो भनेका थिए, तिनीहरू तिसौं वर्षदेखि संगठित रूपमा आन्दोलनमा रहिरहेका व्यक्ति हुन् । एक समय राम्रो पढ्ने र लेख्नेसहितको कार्य गर्दैनथे भने तत्कालीन शाही सेनाको जागिरेसम्म बन्न तम्सिएका छविलाल पुष्पकमल दाहाल हुँदै प्रचण्डसम्म हुन आइपुग्दैनथे । उनले यति ज्यादिविधि हावा बोल्दासमेत गद्गद् भएर हाँसो र ताली कार्यकर्ताले सजिलै दिए । किन होला ?
अर्को भिडियोमा त्यही पार्टीका अर्का अध्यक्ष तथा मुलुकका प्रधानमन्त्री केपी ओली आफ्नो पार्टीका केही वरिष्ठ नेतालाई दायाँबायाँ राखेर बोलिरहेको देखिन्छन्, ‘जुन देशमा गैंडा छैन, तिनीहरूले राइनो भन्ने ?’ जीवविज्ञानमा राइनोसोरस प्रजातिको होमियो र स्पेसिससम्मको सूक्ष्म अध्ययन दुनियाँमा कहाँ कहाँ भयो, धेरैलाई थाहा छ । ओलीको त्यस्तो पूर्वीया नयाँ शब्दमा भन्दा खोयाबिर्के खालको भाषण सुनेर अगलबगल ढसमस्स बसेका अरू नेता मात्र मुसुमुसु हाँसिरहेका देखिन्छन् । गजब छ !
स्थानीय तहको निर्वाचनमा नेत्रविक्रम चन्द तेतृत्वको नेकपाले चुनाव बहिस्कार गर्दा प्रहरीको गोली लागेर राप्रपा, नेपालका उम्मेदवारको मृत्यु भयो । केही घण्टापछि सो पार्टीले उनलाई सहिद घोषणा गर्‍यो । चुनावमा उठेको उम्मेदवार चुनाव बहिस्कार गर्नेको सहिद कसरी भयो भनी कुनै प्रश्न छैन । प्राविधिक रूपमा घोषणा गल्ती भए सच्याए भो, त्यो पनि छैन । त्यो पार्टीलाई मानौं हाइसन्चो छ । यसरी काम चल्दैन त !
नेपालका राणाहरूले नेतृत्व गरेको निरंकुश शासनविरुद्धको आन्दोलनदेखिका गणेशमान सिंह, भूविक्रम नेम्वाङ, जगन्नाथ आचार्य र कृष्णप्रसाद भट्टराईसम्मले नेपाली कांग्रेस पार्टी त्यागेको घोषण गरे । कम्युनिस्टहरूले पार्टी छाड्नेलाई कम्तीमा सैद्धान्तिक विचलनको आरोप लगाइदिएर कर्तव्य पूरा गर्छन् ।
कांग्रेसमा ती दिग्गजले किन त्यसो गरे भन्ने विषय कुनै बैठकको एजेन्डासमेत बनेको सुनिएन । जुन वैचारिकीमा त्यो पार्टी आज पनि छ भनेर देउवा र गगन थापाहरू कुर्लिन्छन्, त्यस वैचारिकीका मूल सहायक खाँबाहरूको निष्कर्षबारे मौनता छ । त्यस मौनताभित्र के होला ?
न दार्शनिक पुष्टि, न खास सिद्धान्तको जोगाड, बाबुराम भट्टराई कतै बोल्दिन्छन्, ‘अब वैज्ञानिक मानवतावाद जरुरी छ ।’ महाकालीपारि बस्तीको मेलामा हल्ला गरेझैं एक हुल कार्यकर्ता ‘सही हो, सही हो’ भन्छन् । संसदीय जोकर चुनावमा कोही नयाँ सिकारुले मञ्चबाट भट्याउँछ, ‘हामी कुनै वादको पाछाडि लाग्दैनौं ।’
वाद अर्थात विचारधाराबिनाको पशु र वनस्पतिको मात्रै जीवन सम्भव छ भनी समाजशास्त्र र राजनीतिशास्त्रमा प्रमाणित भएको आधा शताब्दीभन्दा बढी बितिसक्यो तर त्यस्तो पार्टीले पनि केही ताली त्यो पनि युवाको अनि एकाध सांसदको जोगाड गर्न थालेकै छ । यो पनि गजब !
र पूर्वी तराईका सीके राउत भन्छन्, ‘हाम्रो आफ्नै सेन राजा थियो तराईमा नेपाल देश बन्नुभन्दा पहिले ।’ काठमाडाैंको शासकीय धारलाई कन्पारो तताउन त यत्ति काफी हुन्छ तर यस्तो कमसल इतिहासबोधमा नतमस्तक हुन्छन् केही युवा र नेपाललाई टुक्रयाउँदा पनि फाइदा हुने ठान्छन् । सेन वंश न नेपालको तराईमा कहिल्यै रैथाने थियो, न अहिले त्यो वंशको अवशेष छ । बंगालको सेन वंश संकटले एउटा शाखा उछिट्टिएर पाल्पा पुग्यो । त्यहाँबाट पहाडिया सेन फैलिएर मकवानपुर, चौदण्डी र विजयपुर पुगेर मैदानलाई समेत कज्याउन पुगेको इतिहासतिर घोत्लिन फुर्सद नभएको कि रुचि नभएको कि या हाम्रो ऐतिहासिक बौद्धिकताको विरासतले उल्झनमा अल्झाएको ! भएको के होला ?
यहाँ प्रस्तुत उदाहरण प्रतिनिधि बन्न सक्ने सन्दर्भ हुन् जसले गम्भीर संकेतहरू गर्दै छन् । नि:सन्देह यो सिंगो समाज, मूलत: युवा पुस्तालाई गलत र भ्रान्त विचार एवं सूचनाद्वारा कठपुतली पुस्तामा रूपान्तरण गर्ने दुष्प्रयत्नको संकेत हो । यस्तो लाग्छ, सिर्जनशील बौद्धिकताको नेपाली समाजको यात्रा जिमिरगान्टे बन्दै छ र समाजमाथि हावी हुन बलात् खोज्दै छ– जीविकावाद ! सहज जीविकाको खोजी मानिस र सबै प्राणीको प्राकृतिक एवं सांस्कृतिक गुण हो, त्यो ठीक कुरा भइहाल्यो तर समाजको प्रगतिका बहुआयामबारे नसोच्ने बरु जीवनमा एक सूत्रीय एजेन्डा जीविकालाई बनाउने प्रवृत्ति जीविकावाद हो ।
विश्वका सबैजसो शासकले जति जनतालाई जीविकावादी बनाउन सके, त्यति लामो आफ्नो शासन टिकाए । पुँजीवादी व्यवस्थाले मानिसलाई झन् बढी जीविकावादी हुँदै जान बाध्य पारिरहेछ । पुँजीवादले भन्छ– आफ्नो कमाइबाट इन्सुरेन्स गर नत्र संकटमा दु:ख पाउँछौं । सामाजिक सुरक्षाका विभिन्न खोपामा आफ्नो कमाइ राख नत्र बुढेसकालमा दु:ख पाउँछौ । घर दिन्छु तर बीस/तीस वर्षसम्म किस्ता तिर्दै जाऊ नत्र बेघर हुन्छौ । आदि ।
पुँजीवादी व्यवस्थाले उपलब्ध गराउने झ्वाट्ट हेर्दाका सुविधा आम मानिसका निम्ति फाँसीको धराप हो, जुन कुनै पनि बेला उसको घाँटीमा कस्सिन सक्छ र उसको जीविका ध्वस्त हुन सक्छ । अनि आम मानिसलाई लाग्न थाल्छ किआफ्नो असुरक्षाको जिम्मेवार म आफैं हुनेछु । त्यसपछि ऊ रातदिन आफूलाई सुरक्षित गर्न जीविकालाई एक मात्र जीवन लक्ष्य बनाउन बाध्य हुन्छ ।
राज्यले कर खान्छ, शासकहरू करबाट सबै सुविधा लिन्छन् । शोषकवर्गको नाफाको हिस्सा बढ्दै जान्छ तर आम मानिस राज्य सञ्चालक र पुँजीपतिलाई भव्य जीवन दिएर आफू सधैं जीविका चलाउनमै अभ्यस्त हुँदाहुँदै जीवन बिसाउन बाध्य हुन्छ । राज्य सञ्चालक र पुँजीपतिवर्गले सामाजिक सुरक्षामा व्यक्तिगत लगानी नगरे पनि कसरी उनीहरू सुरक्षित हुन्छन् भन्नेसम्म सोच्ने बौद्धिकताका लागि पुँजीवादले आम मानिसलाई फुर्सद दिँदैन ।
नेपालमा पनि समृद्धि वा नयाँ युग सुरुवातको नारामुनि आम मानिसलाई जीविकावादको चक्रव्यूहमा धकेल्ने संगठित अभियान सुरु भइसकेको छ । सहज जीविका मानव समाजको आवश्यकता हो तर लक्ष्य होइन । मानव समाजको लक्ष्य त मानव समाजको सेवाका निम्ति सिर्जनात्मक आनन्द पो हो ।
मानव र पशुबीचको मूल अन्तर यही हो । पशुजगत्को जीवन लक्ष्य जीविका हो भने मानिसका निम्ति जीविका सिर्जनाका लागि भर्‍याङ हो । आजसम्मका शोषकवर्गीय व्यवस्थालाई अध्ययन गर्दा यस्तो चित्र देखिन्छ कि आम मानिसलाई जीविकामै संकटग्रस्त बनाएपछि उनीहरू नयाँ नयाँ कुरा सोच्न फुर्सद पाउँदैनन् । जीविकालाई थप सहज बनाउने पुँजीवादी व्यवस्थाले पनि त्यही परम्परालाई नयाँ रूपमा अभ्यास गरिरहेछ अर्थात् आम मानिसलाई जीविकामा सुविधा थप्ने तर सुविधाजनक जीविकाभन्दा अतिरिक्त चिन्तन गर्न नभ्याउने अवस्थाले घेराबन्दी गर्ने । समाजको जीविका सहज बनाउन लाग्नु र आम समाजलाई जीविकाका निम्ति मात्र बाँच्न बाध्य बनाउनु एउटै कुरा हैन ।
मानव इतिहासमा तिनै मानिसले समाजलाई गुणात्मक ढंगले अगाडि बनाउन सकेका छन्, जसले जीविकालाई मात्र जीवनको लक्ष्य बनाएनन् । जीविकालाई मात्र जीवनको लक्ष्य बनाउँथे भने वेदहरू रचना हुँदैनथ्यो, गौतम बुद्ध, जिसस क्राइस्ट, हजरत मोहम्मद, महावीर, माक्र्स, आइन्स्टाइन, गान्धी, योगमाया वा सहिद गंगालालहरू कोही पनि हुँदैनथे । यी सबै महास्त्री–पुरुषको प्रयत्न सारमा यही सत्य बुझाउन थियो कि जीविका मात्र जीवन होइन, अझ जीविकालाई समेत सहज बनाउन नवीन बौद्धिक सिर्जनात्मक अभ्यासमा लाग्नुपर्छ । त्यस अभ्यासमा अघि बढ्दा कष्ट किन नहोस् तर बेहोर्नुपर्छ ।
यसप्रकार मानव समाजको प्रत्येक युग र समाजमा जीविकावादमा आम जनतालाई लती बनाउनु शोषकवर्गको मुख्य हतियार रह्यो । त्यसविरुद्ध सबै कष्ट बेहोरेर विद्रोह गर्नु त्यस युग र समाजका मुठ्ठीभर बौद्धिकले विकृत यथास्थितिविरुद्ध चालेको क्रान्तिकारी कदम थियो । इतिहासमा धेरैजसो समाजका बौद्धिकहरू जीविकाको साधारण समस्याबाट मुक्त थिए । त्यो स्वाभाविक थियो ।
जीविकाको उल्झनमै किचिएर नयाँ अनुसन्धान र सिर्जन–तपस्या सजिलो थिएन, हुँदैन । जीविकाको समस्याले ग्रस्त हुनुपरेका बौद्धिकहरूले पनि असाधारण योगदानका निम्ति आफूलाई लगाइरहे । जीविकाको कठिनतम पीडादायी मोड बेहोरेर समेत लागिपरिरहने सिर्जनशील ‘पालगपन’ मानव समाजको आजसम्मको वास्तविक बौद्धिकको स्तुत्य बिम्ब हो । नेपाली समाजले आज फेरि एकपल्ट यस्तै सिर्जनशील ‘पागलपन’ भएका बौद्धिकहरूको आवश्यकता महसुस गरिरहेछ, अरण्य रोदनबीच उनीहरूलाई खोजिरहेछ ।
जब आम मानिसले बाध्यतावश जीविका नै जीवन लक्ष्य बेहोर्ने कष्टप्रद र आलस्यमय सिलसिला चल्छ अनि शासकहरू त्यसैमाथि चढेर तमाम सिर्जनाका द्वारलाई कुण्ठित गर्ने योजनामा अभ्यस्त हुन्छन् । त्यति बेला बौद्धिकहरूको जन्म हुन्छ र नयाँ बौद्धिक जागरणको अभियान सुरु हुन्छ । बौद्धिक जागरणबिना गलत यथास्थितिको विकल्प र परिवर्तनको व्यावहारिक प्रक्रिया प्रारम्भ हुन सक्दैन । नेपाली समाज आज ठीक यही कष्टकर चेरिनेटीमा अन्योलग्रस्त उभिएको छ ।
यस्तो कष्टकर चेरिनेटीबाट यात्रा प्रारम्भ गर्न एकपल्ट विगतको बौद्धिक जागरणको उत्प्रेरणालाई थोरै भए पनि नियाल्नु ठीक हुन्छ । आजको नेपाल सरहदभित्र धेरै ठूला साना राजनीतिक–सांस्कृतिक जागरणका बौद्धिक अभियान भएकै पाइन्छन् । गौतम बुद्धदेखि सहलेस, दिनाभद्री हुँदै श्रीजंगा, घण्टाकर्ण र महाकालीपारिका जंगबहादुर राणाकालीन बलदेव शाहीसम्म सयौं जागरणका बौद्धिक क्रियाकलाप श्रुति र इतिहासमा धेरथोर जीवित छन् ।
ती सबैबारे संवाद यस संक्षिप्त आलेखमा सम्भव छैन तर दक्षिण एसिया पुँजीवादी लोकतन्त्रको लडाइँको युगमा प्रवेश गरेपछि नेपालमा बौद्धिक जागरणको भने चर्चा गर्न सम्भव छ । त्यतिबेला दुई पात्र सबैभन्दा प्रखर रूपमा अगाडि आउँछन् । एक, पूर्वबाट योगमाया र पश्चिमबाट जयपृथ्वीबहादुर सिंह । योगमायाको उत्प्रेरणा स्रोत भारतमा विकसित भएको जोसमनी सन्त पन्थ वा उदार एक हिन्दु धार्मिक मत थियो भने जयपृथ्वीबहादुर सिंहको उत्प्रेणाचाहिं ब्रिटिसहरूले भारतमा ल्याइपुर्‍याएको सामन्तवाद विरोधी पुँजीवादी स्वतन्त्रता, समानता र भ्रातृत्वको अवधारणा ।
यी दुवै बौद्धिक अभियन्ता नेपालको शासकीय धारसँग जुध्दा पराजित भएर आआफ्नो ढंगले पलायन भए । योगमायाले जलसमाधि लिइन् । जयपृथ्वीबहादुर सिंह प्रवासिए । उनीहरू आधुनिक लोकतान्त्रिक युगका सखारै बास्ने पक्षी हुन् तर समाज जागरणका बौद्धिक अभियन्ताको स्तरमा आफूलाई निरन्तरता दिन उनीहरूले सकेनन् ।
राणा नेतृत्वको सामन्तवाद विरोधी अभियानदेखि लोकतान्त्रिक र कम्युनिस्ट दुवैखाले बौद्धिक अभियान ठोस योजनासहित अगाडि बढ्यो । विसं १९९०हाराहारीबाट नेपाली समाजमा अगाडि बढेको आधुनिक बौद्धिक जागरणको प्रेरणा स्रोत के थियो ? एक, भारतीय स्वतन्त्रता संग्राम । दुई, रूसी अक्टोबर क्रान्ति । भारतीय स्वतन्त्रता संग्रामको रणनीति उपनिवेशबाट आजाद हुने थियो । व्यवस्थागत राजनीतिक कार्यक्रमचाहिं ब्रिटिस मोडेलकै लोकतन्त्र अर्थात पुँजीवादी व्यवस्था स्थापना गर्नु थियो ।
गान्धी पन्थ दार्शनिक रूपमा त्यस संग्रामको संयोगमय गहना थियो । माधवराज जोशीदेखि विश्वेश्वरप्रसाद कोइराला आदि धेरैजसो भारतीय स्वतन्त्रता संग्राममा सशरीर भाग लिएका वा त्यहाँ पढ्न लगायत काममा जाँदा स्वतन्त्रता संग्राम देखेका व्यक्तिहरू नै आफ्नो देशमा पनि खराब शासन फाल्ने प्रेरणा लिएर आएका थिए ।
गलत सत्ताविरुद्ध सत्ताधारी वर्गकै प्रगतिशील हिस्सा सुरुमा लाग्ने यथार्थबाट हेर्दा वा त्यतिबेला भारत गएर पढ्न सत्ताधारी वर्गकै मान्छेबाट मात्र सम्भव हुने परिस्थितिका कारण भारतीय स्वतन्त्रता संग्रामबाट प्रभावित भएर नेपालमा क्रान्तिकारी बौद्धिक अभियान चलाउन आउने अधिकांशले राजनीति आफ्नै वर्गको अर्थात नयाँ शोषक पुँजीपति वर्गको रोजे । प्रजापरिषद्, राष्ट्रिय कांग्रेस र पछि नेपाली कांग्रेस सबैको राजनीतिक व्यवस्थासम्बन्धी कार्यक्रममा राणा परिवार नेतृत्वको सामन्तवादको विरोध छ र स्वतन्त्रताको आकांक्षा व्यक्त छ । सामन्तवादको कुण्ठनबाट केवल स्वतन्त्रताको आकांक्षा भनेको पुँजीवादी व्यवस्थाको आकांक्षा मात्र हो ।
भारतीय स्वतन्त्रता संग्रामको प्रेरणाबाट नेपालमा अघि बढेको यस बौद्धिक जागरणको धारले राणा नेतृत्वको सामन्तवादी राजनीतिलाई ध्वस्त बनाउन आम जनतामा जागरण ल्यायो । पछि २०१५ सालको आम निर्वाचनमार्फत दुई तिहाइ चुनावी जनमत प्राप्त गर्ने राजनीतिक अवस्थासम्म त्यो विकसित भयो । त्यस धारले सानदार ढंगले नेपालको सामन्तवादको एउटा मुख्य मेरुदण्ड ‘क’ वर्गको बिर्ता उन्मूलन गर्न साहसिक कानुन २०१६ सालमा पारित गर्‍यो ।
२०१७ सालपछि राजा नेतृत्वको पञ्चायत व्यवस्था हावी हुँदैनथ्यो भने बीपी नेतृत्वको यो धारले के के गथ्र्यो समाजलाई अगाडि बढाउन ? अहिले गरिने अन्दाजको खासै अर्थ छैन । यो धारको बौद्धिकीको केन्द्रमा बीपी रहँदासम्म उनी मात्र थिए । कम्युनिस्टहरूको तत्कालीन समाजवादको विकल्पमा टिटो हुँदै भारतकी इन्दिरा गान्धीसम्मले प्रचारमा ल्याएको प्रजातान्त्रिक समाजवाद यो धारको बौद्धिकीको राजनीतिक सपनाका रूपमा प्रचार भयो । भारत स्वतन्त्र भएसँगै उपनिवेशवादविरोधी चेतनाको खास व्यावहारिक अर्थ रहेन । गान्धी पन्थमा गान्धीनिकट राजनीतिज्ञसमेत हिँड्न चाहेनन्, नेपालीको कुरै भएन ।
गान्धी पन्थको सार अहिंसा थियो तर स्वतन्त्रतापछि भारतीय सत्ता मस्त हिंस्रक बन्नु यस तथ्यको ज्वलन्त प्रमाण हो । यस धारको बौद्धिकीको नाभि व्यक्तित्व बीपीको मृत्युसँगै त्यो धारको बौद्धिकी केवलआफ्नो वर्गको सत्तास्वार्थमा सीमित हुन पुग्यो । निष्कर्षमा भन्न सकिन्छ– भारतीय स्वतन्त्रता संग्रामबाट उत्प्रेरित बौद्धिक जागरणको सामन्तवादविरोधी पुँजीवादी नेपाली धार बीपीसँगै अस्तायो । त्यसपछिका यस धारसँग सम्बन्धित बौद्धिक खेलोफड्को कुनै नयाँ जागरणको विषय रहेन, बरु मात्र राजनीतिक सत्ता र भोगविलास प्राप्तिको साधारण नित्यकर्ममा सीमित रह्यो ।
अब चर्चा गरौँ सन् १९१७ को रूसी अक्टोबर कम्युनिस्ट क्रान्तिद्वारा उत्प्रेरित भई नेपालमा बौद्धिक जागरण ल्याउने धारको । पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालबाट अगाडि आएको यस बौद्धिक जागरणको गुदीमा विचारधारा थियो अर्थात् माक्र्सवादी विचारधारा । रूसी अक्टोबर क्रान्तिको उत्प्रेरणासँगै चीनको नयाँ जनवादी कम्युनिस्ट क्रान्तिले त्यस उत्प्रेरणालाई तीव्र गति दिएको थियो । मानव जाति पूर्ण रूपमा समता र समानतामा आधारित समाजमा पुर्‍याउने सपनाद्वारा ओतप्रोत यस धारमा विसं. २०२० पछि समाजको विचारधारा परिवर्तन गर्न चीनमा चलेको सर्वहारा सांस्कृतिक क्रान्तिले आगामा घिउजस्तै गरी दनदनी बल्ने युवा थप्दै लग्यो ।
युरोपतिर दिशाहीन भए पनि विद्रोही चरित्रका बिटल्स समूहको संगीत र हिप्पी हलचलको प्रभावबाट जन्मिएका नेपालका विद्रोही युवा जमात पनि मार्क्सवादी अभियानमा समाहित हुँदै जाने क्रम बढ्यो । यस बौद्धिक जागरणको धारले साहित्य, संगीत, जीवन आचरणदेखि धेरै क्षेत्रमा पृथक् अस्तित्व देखाउँदै गयो । कम्युनिस्ट पार्टीहरू फुट्दै गए तर त्यो फुट थप कम्युनिस्ट जमात बढाउने सक्रियताका रूपमा प्रकट भयो । विसं. २०३५/३६ सम्म पुग्दा पञ्चायत सत्ता र प्रजातान्त्रिक समाजवादी धारसँग टक्कर दिने अवस्थामा यो धार पुग्यो ।
रूसी अक्टोबर क्रान्ति, चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति हँुदै भारतीय नक्सलवादी विद्रोहजस्ता उत्प्रेरणाले यस धारलाई वेगवान् बनायो । जब त्यो उत्प्रेरणाको नाभि सोभियत समाजवाद ढल्यो, नेपालमा त्यसद्वारा निर्मित बौद्धिक जागरणको विरासत ढल्ने क्रम तीव्र भयो । तत्कालीन माले हुँदै बनेको एमालेले त्यसपछि पुँजीवादी संसदीय व्यवस्था अंगीकार गरेको प्रस्टै छ । विसं २०४६ पछि पनि चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको उत्प्रेरणासहित रूसी अक्टोवर क्रान्तिको उत्प्रेरणालाई ग्रहण गर्ने जमात थाकिसकेको थिएन ।
नेपाली समाजका आधारभूत समस्या र जनआकांक्षा पनि विस्फोट हुने चरणमा थिए जसलाई विसं ०४६ को परिवर्तनले सम्बोधन गर्न सकेको थिएन । त्यही पृष्ठभूमिमा सम्भव भयो, दस वर्षसम्मको माओवादी जनयुद्ध । दसवर्षे अल्पायुको दीर्घकालीन जनयुद्ध रूसी अक्टोबर क्रान्तिद्वारा उत्प्रेरित नेपालको माक्र्सवादी बौद्धिक जागरणको आधा शताब्दीभन्दा लामो यात्राको सांगे बन्न पुग्यो । माओवादी जनयुद्ध थप अगाडि बढेको भए वा त्यसको नेतृत्व डफ्फाले पुँजीवादी व्यवस्थासमक्ष आत्मसमर्पण नगरी नयाँ यात्रा जारी राखेको भए यो धारबारे थप चिन्तन जरुरी हुन्थ्यो तर माओवादी आन्दोलनको नेतृत्व डफ्फा पुँजीवादको अंग बन्न पुगेकाले सन् १९१७ को रूसी अक्टोबर कम्युनिस्ट क्रान्तिवाला उत्प्रेरणाको बौद्धिक जागरणको सीमा यतिमै सीमाधिस्थ हुन पुग्यो ।
आज सत्ताबाहिर रहेका कम्युनिस्ट समूह नयाँ जागरणको बाटो खोज्दै छन् । सत्ताधारी धारमा रमाएका कम्युनिस्ट नामका समूह बीपी कोइरालाको मृत्युपछिका कांग्रेसजनजस्तै वैचारिक लक्ष्यहीनताको हालतमा निरीह बन्न पुगेका छन् । यसबाट पनि यस धारको समाधिस्थ स्पष्टै हुन्छ । यसप्रकार नेपाली समाजमा असी वर्षदेखि बौद्धिक जागरण ल्याउने भारतीय स्वतन्त्रता संग्राम र विश्व कम्युनिस्ट क्रान्तिको उत्प्रेरणाको धकेल्ने क्षमता अन्त्य भइसकेको प्रमाणित हुन पुग्छ ।
मार्क्सवाद, गान्धी पन्थ वा अरू पनि दार्शनिक वा राजनीतिक सिद्धान्त र मतहरूको आयु अन्त्यको अर्थमा यो निष्कर्ष होइन, बरु ती विचारमा आधारित ठूला विद्रोहले नेपाली समाजमा ल्याएको बौद्धिक जागरणको उत्प्रेरक सामथ्र्यको सीमा मात्रै यहाँ आकलन गरिएको हो । आधुनिक लोकतान्त्रिक नेपाली समाजको बौद्धिक जागरणका सन्दर्भमा यी दुई धारबारे चर्चा देख्दा प्रश्न उठ्छ, के बौद्धिक जागरणका अरू आयाम नेपालमा विगत सत्तरी वर्षमा थिएनन् ? केही अपवाद बौद्धिक व्यक्तित्वका वैचारिक प्रयत्न थिए तर जागरणको स्तरमा हुन सकेनन् ।
पञ्चायत व्यवस्थाले हिन्दु उच्च जातीय पहाडिया पुरुषप्रधान सामन्तवादी बौद्धिकताबाट समाजलाई प्रशिक्षित गर्‍यो । राजा महेन्द्रको नेतृत्वमा त्यस व्यवस्थाले गहिरो मेहनत गर्‍यो र त्यसद्वारा नेपाली समाजमा भाषिक, क्षेत्रीय, लिंगीय, जातीय, धार्मिक र वर्गीय शोषण–उत्पीडनलाई निरन्तरता दिने वा नयाँ समयमा झन् गहिरो बनाउने काम गर्‍यो । त्यो बौद्धिक जागरण थिएन । यस धारमा योगी नरहरिनाथजस्ता उच्चस्तरीय चिन्तक पनि देखा परे । पुरानो खराब व्यवस्थालाई दीर्घजीवी बनाउन गरिने मेहनत जागरण कसरी हुन सक्थ्यो र ?
विविध सभ्यताका जनजाति समाज र तिनको ज्ञान परम्परामा आधारित भएर पनि नयाँ बौद्धिक जागरण हुन सम्भव थियो तर उनीहरूमाथि उपेक्षा, दमन र तिनी स्वयम्को कमजोर चेतनास्तरले त्यताबाट मौलिक वैकल्पिक बौद्धिक जागरण अभियान सम्भव हुन सकेन । आधुनिक विश्वमा विश्वविद्यालय पनि बौद्धिक जागरणको थलो भएका छन् । नेपाल यो सौभाग्यबाट पनि वञ्चित रह्यो ।
अमेरिकी साम्राज्यवादी बौद्धिकी र परम्परागत नेपालको डोरबहादुर विष्टको भाषामा भन्दा ‘बाहुनवादी’ शासकीय तजबिजको विश्वविद्यालय शिक्षा लेख्न र पढ्न जान्ने तर सामाजिक आवश्यकताका निम्ति धेरै गर्न नजान्ने जमातनिर्माणमा गिर्न पुग्यो । खास विचारधारामा आधारित राजनीतिमा समावेश नभएको व्यक्ति विश्वविद्यालयबाट प्राज्ञिक भएर निस्कँदा सिर्फ जीविकावादी भएर जीवन बिताउने दुर्भाग्य लामो समयसम्म र सायद अहिलेसम्म मूलत: जारी छ ।
पञ्चायत व्यवस्थाको विकट समयमा केही असाधारण बौद्धिक नेपालमा प्रकट भए जसले समाजलाई अघि बढाउन गम्भीर तथ्यसंगत निष्कर्ष अघि सारे । त्यतिबेलाको शासनले तिनको तथ्यसहितको निष्कर्षलाई बेवास्ता गर्‍यो, त्यो बेग्लै विषय हो । ती थिए महेश रेग्मी र डोरबहादुर विष्ट । रेग्मीले नेपाली समाजको मूल उत्पादन थलो भूमिको मुद्दालाई दरो उत्खनन गरेका थिए भने विष्टले समग्र नेपाली समाजको गतिहीनताको गुदी बाहुनवादलाई । यी दुई अप्रत्यासित बौद्धिकलाई पञ्चायतले मात्र होइन, तत्कालीन परिवर्तनकर्मीले समेत खासै ध्यान दिएको देखिँदैन ।
अहिले केहीले महेश रेग्मीको नाम उल्लेख गर्न थालेका छन् तर उनको भूमि मुद्दाको समय गुज्रिसकेको छ । डोरबहादुर विष्टको पनि सम्झना हुन थालेको छ, उनको निष्कर्षको औचित्य बाँकी छ तर त्यो निष्कर्षलाई बोक्ने जमात धुमिल छ ।
नेपाली समाजमा एउटा नयाँ बौद्धिक जागरणको आवश्यकता टड्कारो बन्न पुगेको यथार्थ स्पष्ट छ । त्यस्तो जागरणका निम्ति हिजोको जस्तो न कम्युनिस्ट क्रान्तिहरूको उत्प्रेरणा आज छ, न त उपनिवेशवादविरोधी आन्दोलनको उत्प्रेरणा । थाइल्यान्ड, भेनेजुयला, फ्रान्स, अमेरिकाको वाल स्ट्रिट आदि स्थानमा बेलाबेला प्रकट हुने जनप्रदर्शन नयाँ पुस्तालाई युगान्तकारी सपनातिर धकेल्ने स्तरका छैनन् । त्यसको एउटा मूल कारण तिनमा दूरगामी दर्शन, सिद्धान्त र राजनीतिक व्यवस्थाको बीउ नै छैन, असन्तुष्टि मात्र छन् । दुनियाँको यस्तो सुक्खा माहोलमा नेपालमा नयाँ बौद्धिक जागरण निकै कठिन हुने स्वत: सिद्ध छ तर नयाँ पुस्ता र न्यायप्रेमीका अगाडि त्यस दिशामा अघि बढ्नुको विकल्प पनि छैन ।
नेपालमा बौद्धिक, बुद्धिजीवी, चिन्तकजस्ता पदावलीले ओगट्ने अर्थहरूबारे बुझाइमा थुप्रै समस्या छन् । बुद्धिजीवी त्यो हो, जो बनिबनाउ ज्ञान अरूलाई बाँडेर वा त्यसका आधारमा जीविका गर्छ । चिन्तकले खास विषयमाथि नयाँ प्रश्न र नयाँ उत्तरहरूको संश्लेषण गर्छ, जीविकासँग उसको वैचारिक मन्थन प्रक्रियाले खास मतलव राख्दैन । चिन्तकले कुनै विषयमा निकालिएको निष्कर्षलाई लागू गर्ने कार्यभारको बोझ भने आफू बोक्दैन । बौद्धिकले मूलत: तीनवटा कार्यभार अनिवार्य पूरा गर्छ ।
एक, खास विषयमा नयाँ सिद्धान्त अनुसन्धान गर्छ, नयाँ निष्कर्षहरू प्रतिपादन गर्छ अर्थात् चिन्तकले गर्ने कार्य गर्छ । दुई, विद्यमान दर्शन र सिद्धान्तहरूमा समयानुकूल परिमार्जनका निम्ति सधैं आफूलाई जागरुक बनाइराख्छ र तीन, ती आविष्कारित वा परिमार्जित सिद्धान्तद्वारा समाज र प्रकृतिमा परिवर्तन ल्याउन संगठित रूपमा आवश्यकतानुसार जतिसक्दो बढी मानिसलाई परिचालित गर्न लागिपर्छ ।
केहीले भन्ने गर्छन्, ‘बौद्धिकहरूको संगठन हुन सक्दैन, उनीहरू संगठित भएर बाँधिन सक्दैनन् । बथान भेडाको हुन्छ, सिंहको हुँदैन । बौद्धिकहरू सिंह हुन् ।’ यो भनाइ प्रकृतिमा हुने सोझो क्रियाकलाप हेर्दा पनि गलत छ किनभने सिंहले संगठित रूपमा सिकार गर्छ । प्रतीकात्मक रूपमा पनि बौद्धिकहरूबारे यो प्रस्थापना गलत देखिन्छ । विगत तीन हजार वर्षको इतिहासलाई अध्ययन गर्दा पनि काफी हुन्छ । गौतम बुद्ध, शंकराचार्यहरू, महावीर, जिसस क्राइस्ट, हजरत मोहम्मद, नानक वा कार्ल माक्र्स यी सबै आफ्नो युग र समाजका महानतम बौद्धिक थिए । तिनीहरू आफ्नो समयमा संगठित थिए ।
आफ्नो निष्कर्षलाई संगठित रूपमा अगाडि नबढाएका भए उनीहरूको विचार आइपुग्नै सक्दैनथ्यो । संसारमा कुनै पनि परिवर्तन सम्भव भएको छ जब त्यस समयका सर्वोत्तम बौद्धिकहरू सबै प्रकारको कष्ट उठाएर आम मानिसलाई परिचालन गर्न तम्सिएका छन् । ठूलाठूला राजनीतिक वा अन्य सकारात्मक परिवर्तनका नेताहरू आधारभूत रूपमा बौद्धिकसमेत भएर मात्र त्यो सम्भव भएको भन्ने स्पष्ट छ । के सही हो भने कुनै आम मानिस जस्तै कुनै चिन्तक आफ्नो व्यक्तिगत वा तत्कालीन अन्य वातावरणका कारण संगठित नहुन सक्छ । संगठित रूपमा अघि नबढ्ने ज्ञानी व्यक्ति चिन्तकका रूपमा श्रद्धेय नै हुन्छ, चिन्तकहरू समाजका खराब तत्त्व हुँदैनन् । तर बौद्धिक हुनु भनेकै संगठित नहुनु हो भन्ने परिभाषा सही होइन ।
नेपालको शासकीय धार आज नेपाली समाज र नयाँ पुस्ताको भविष्यलाई दिशाहीन ढंगले उडाउन कम्मर कसेर लागेको छ । यस्तो लाग्छ, नेपाली समाज र जनता चंगा हुन् । शासकहरू चंगा उडाइरहेका छन् जसलाई चंगाको जीवन र मृत्युसँग सरोकार छैन, चासो केवल आफ्नो मनोरञ्जनको छ । यही चालामा विश्वव्यापी रूपमा पुँजीवादी व्यवस्था विनाशकारी लीलामा छ । यस्तो परिवेशमा जबरजस्त वैकल्पिक वैचारिक जागरणका निम्ति सबैभन्दा चिन्तन गर्ने मानिसले, चिन्तकहरूले आफूलाई ऐतिहासिक रूपमा बौद्धिकको स्तरमा उठाउने जोखिम मोल्नैपर्छ । यस समयको सबैभन्दा बढी बुद्धि विकास गर्ने अवसर पाएका र सबैभन्दा बढी संवेदनशील चिन्तकहरूले सबैभन्दा बढी बौद्धिक जागरणका निम्ति साहस गर्नुपर्ने हैन ? अनिवार्यत: नयाँ युगको नयाँ युगान्तकारी परिवर्तनका निम्ति नयाँ बौद्धिक जागरण सुरु हुनैपर्छ ।
प्रकाशित : kantipur, माघ २७, २०७५ ०७:४४

यसरी हट्यो कागती गाउँमा बालविवाह

यसरी हट्यो कागती गाउँमा बालविवाह
सन्दर्भ: श्रीपञ्चमी पर्व (जुन दिन नुवाकोट, ओखरपौवाको कागती गाउँमा सामूहिक बालविवाह हुन्थ्यो, अहिले कस्तो छ अवस्थाबारे तत्कालिन गाविस अध्यक्षसँग गरिएको कुराकानी)
माघ २६, २०७५कान्तिपुर संवाददाता
काठमाडौँ — २०५४ देखि २०५९ सम्म म तत्कालिन नुवाकोट, ओखरपौवा (हाल ककनी गाउँपालिका–१)को गाविस अध्यक्ष थिएँ । मेरो घर ओखरपौवाको कागती गाउँमै हो, जुन बालबिवाहको नामले बदनाम थियो । कतै गएर परिचय दिंदा घर ओखरपौवाको कागती गाउँ भन्दा अरुले सोध्ने गर्थे–‘ए तपाईँ त्यो बालबिवाह हुने गाउँको अध्यक्ष हो ?’ एक त आफ्नै घर समाजमा यस्तो कुरिती देखेर चिन्ता लाग्थो, अर्कोतिर बाहिरका मान्छेले बालविवाह हुने गाउँको अध्यक्ष भन्दा कम्ता पीर पर्दैनन्थ्यो । पीर र चिन्ता लागेर मात्र के गर्नु समस्या हल हुँदैनथ्यो ।
राजधानीसँग जोडिएको ठाउँमा बालबिवाह हुनु वास्तवमा लाजकै विषय थियो । अनी, हामीले यसलाई हटाउने अभियान चलाउन थाल्यौं । गाउँको महालक्ष्मी जनजागृति युवा क्लब, स्थानीय भवानी प्रावि (हाल मावि) र गाविसकै पदाधिकारी मिलेर बालविवाह विरुद्ध अभियान चलाउने निर्णय गर्‍यौं । तर यो सोचजस्तो सजिलो कहाँ थियो र ? मिडिया, विभिन्न संघ/संस्थाको मान्छे यहाँ बालबिवाह बारे बुझ्न आउँथे ।
उनीहरुलाई देखेपछि स्थानीय कैयौं अभिभावक रिसाउँदै भन्थे– ‘यिनीहरु हाम्रो गाउँको बेइज्जत गर्न आएका हुन् यिनलाई लखेट्नुपर्छ ।’ शिक्षित भएको भए यस्तो समस्या हुँदैनथ्यो । नबुझेपछि यस्तै हो । यतिसम्म की गाउँमा श्रीपञ्चमीको दिन आएका पत्रकारलाई हुलले अभद्र व्यवहार पनि गर्‍यो । क्यामरा फालिदिए । उनीहरुलाई लखेटे । कति पटक यस्तो हुन खोज्दा जोगाएका पनि थियौं । स्थानीयलाई सम्झाएका थियौँ । कुनै बेला झुक्काएर गर्थे । हाम्लाई बदनाम गराउन आउने भनेर उनीहरु बाहिरका मान्छेहरुसँग झोक्किन्थे । तर कुरिती छोड्न सक्दैनथे ।
समस्या हट्ला भन्दा झन् बढ्न थाल्यो । बालविवाह विरुद्ध अभियान जसले चाल्थे, उनीहरु विरुद्ध पनि अभिभावक खनिन थाले । चाँहिदो नचाँहिदो आरोप लगाउँथे । मलाई त कतिसम्म आरोप लगाए भने, ‘तैँले बालबिवाहका फोटा बेचेर खाएकोछस् ।’ कसरी गाउँको कलंक हटाउने भनेर लागेको छु तर आरोप हुँदै नभएका सुन्नुपर्छ । जति गर्दा पनि नहुने कहिले काँही आफैलाई पनि दिक्क लाग्थ्यो । शिक्षा र चेतनाको कमी भएपछि केही गरेपनि सुध्रिदैन भन्ने लागिरहन्थ्यो । तर हामीले हरेश खाएनौँ, जति सक्दौ गरिरह्यौं ।
हाम्रो गाउँमा बालविवाह कहिले सुरु भयो भन्ने थाह त छैन । म अध्यक्ष हुँदा र छोडिसकेपछि पनि व्यापकै थियो । तर अहिले हाम्रो गाउँमा ठ्याम्मै छैन । कोसेली प्रथा र बालविवाह, जुन एक आपासमा जोडिएका छन्, ४/५ वर्ष जति भो दुवै हटिसकेका छन् । पहिला ‘तिम्रो छोरी र मेरी छोराको विवाह गरिदिने भन्दै बावुआमाले निर्णय गर्थे ।’
प्रत्येक वर्ष रोपार्इँको पहिलो दिन केटाको घरबाट केटीको घरमा कोसेली लैजानै पथ्र्यो । बालविवाह गर्ने तय गरेपछि कोसेली प्रथा अनिवार्य हुन्थ्यो । कोसेली प्रथा भनेको बालविवाहको लागि ‘बैना’ हाले जस्तै हो । कोसेली बोकेको देख्दा ‘फलानाका छोराले फलानीका छोरीलाई कोसेली लिएर आएको छ, हेर–हेर’ भन्थे । ठूलोमा विवाह गरेर भेट गर्न जाँदा आफूखुसी सगुनको रुपमा कोसेली लैजान्छन्, जुन अहिले पनि छ तर बालविवाहलाई बैना गरेपछि कोसेली अनिवार्य हुन्थ्यो । राजीखुसीले त जुनसुकै बेला पनि कोसेली लिएर जाने भए । अब कागती गाउँमा बालविवाह र त्यसैको लागि लैजाने कोसेली प्रथा छैन ।
हाम्रो गाउँमा बावुआमाले सानैमा छोरा–छोरीको विवाह गरिदिने चलन अब छैन । तर, आफूखुसी उमेर नपुगी विवाह गर्ने केटाकेटीलाई भने रोक्न सकिएको छैन । यो अहिलेको चिन्ताको विषय हो । यो पनि विस्तारै बुझ्लान् । यसलाई हटाउने पनि मुख्यत: शिक्षा र चेतना नै हुनुपर्छ । अब यो अभियान थाल्नुपर्ने भएको छ । कागति गाउँमा करिब ४ हजार जनसंख्या र साढे छ परिवार छ बलामीको ।
पहिला बाल विवाह हुने बेला त बाहिर निस्कन पनि गाह्रो थियो– ‘बालाविवाह गर्ने ठाउँको मान्छे भन्थे ।’ अब कुरा काट्न पनि हट्यो । समाजमा सुधार भएको छ । अरु कुराको विकासमा सफल नभए पनि बाल विवाह हटाउन सफल भईयो । पहिलो वर्षको एक पटक गाउँकै महालक्ष्मी मन्दिरमा धुमधामले बालविवाह हुन्थ्यो । कति जोडी हुन्थे भन्न सँकिदैनथ्यो । अरु दिन बाल विवाह हुदैनथ्यो– सिर्फ एक दिन, त्यो पनि श्रीपञ्चमीमा मात्र । त्यो दिन त यहाँ मन्दिरमा ठूलो मेला हुन्थ्यो । अहिले भने श्रीपञ्चमीमा व्रतबन्ध, बेलाविवाह (इहिपा) वा अरु कार्जे हुन्छ तर बालविवाह हुँदैन । ६/७ वर्षको उमेर देखि १२/१५ उमेरमै बावुआमाले विवाह गरिदिन्थे ।
बालविवाह हटेपछि अरु विवाह श्रीपञ्चमीको दिनमै हुन्छ भन्ने छैन । भागी विवाह त जहिले पनि हुने भो । रितीरिवाजका विवाह भने साईत जुराएर गर्छन् । फागुन, वैशाख, मंसिर र माघमा लगन हेरेर गर्ने चलन छ । अहिले २०, २२, २५ वर्षको उमेर विवाह हुने गरेको छ । कुनै कुनैले १७, १८ मा पनि गरेका छन् । त्यो भन्दा सानोमा भएको छैन । हामीले त २० वर्ष भन्दा अघि गर्नु हुँदैन न है भन्दै आएका छौँ ।
अँ, बालविवाह त्यसै हटेको होईन, यसमा धेरैको योगदान छ । जस्तो तपार्इँहरु (मिडिया)ले प्रचार–प्रसार नगरेको भए यस्त दबाब पनि पर्दैनथ्यो, चेतना फैलिन पनि समय लाग्थ्यो । संघ संस्थाले पनि लागेका हुन् । गाउँ र स्कुलमा जनचेतनामूलक कार्यक्रम भइरहे । विद्यार्थीहरु पनि सचेत भए । अभिभावकहरुले बालविवाहका समस्या बुझ्न थाले । बालबिवाह गरेका पनि सफल भएनन् । कतिपय जोड टुटे । यो सबै अशिक्षा र कुरितीले हो भनेर बुझे । गाउँ शिक्षित भएको भए बालविवाह हटाउने अभियान चाल्नै पर्दैनथ्यो, उहाँहरु आफैले हटाउनुहुन्थ्यो । बालविवाह अन्त्य भएपछि उहाँहरु खुसी हुनुहुन्छ । कसै कसैले मलाई भन्नुहुन्छ, ‘बालविवाह पहिल्यै हटाउनुपथ्र्यो, अझै धैरै ढिला गरिएछ ।’
(कान्तिपुर संवाददाता दिनेश रेग्मीले गरेको कुराकानीमा आधारित )

यो पनि पढ्नुहोस्ः
सोह्र वर्षअघि र पछि प्रकाशित : माघ २६, २०७५ १४:१२

आखिर के छ वेदमा ?

आखिर के छ वेदमा?
म्याक्समुलरले भनेका छन्– ‘यस पृथ्वीमा वेदजति प्राचीन ग्रन्थ कुनै छैन । पर्वत र नदीहरू रहिरहेसम्म वेदको महिमा पनि रहिरहनेछ ।’
माघ २६, २०७५प्रदीप खतिवडा
काठमाडौँ — बुझाइ अनेक छन्– पुरातन शब्दहरूको छिचोल्नै नसकिने चारकोसे झाडी ।
धमिराले धुल्याइसकेका प्राचीन पानाहरूबाट चिहाइरहेको अन्धविश्वास । पूजापाठमा भट्टिने निरस मन्त्रहरू । जातीय अनि लैङ्गिक विभेदको स्रोत । समाजविकासको बाधक †
केही मानवशास्त्रीले हिन्दू धर्मव्यवस्थामा चलेकैले नेपाली समाज ‘पछि परेको’ लख काटे । यसै भनेर डोरबहादुर विष्ट ‘महान्’ बने । यो बुझाइ फगत अनुमान होला कि गहिरो अनुसन्धानपछिको निष्कर्ष ? विकृत अनि कमजोर चरित्रहरूमा टेकेर समग्र शास्त्रीय मान्यताहरूलाई टोकसिरहनु कत्तिको न्यायोचित ? विद्वान्हरूको यो कित्ताले वेदमा खोट मात्र देख्छ । दिमागमा ताला कसैले ठोकिदिन सक्दैन । सोच्दैमा कानुन पनि लाग्दैन । तर सही सोचे नै सही निष्कर्षमा पुग्न सकिन्छ । सोचेरभन्दा पढेर जानेको ज्ञान पक्का हुन्छ ।
एउटा अर्को कित्ता छ जो वेदमा कुनै खोट देख्दैन । यसको आलोचना सुन्नसम्म चाहँदैन । पूर्वीय मात्र होइन, पाश्चात्य विद्वान्समेत वेदका प्रशंसक छन् । महत्ता गाएका छन् । म्याक्समुलरले भनेका छन्– ‘यस पृथ्वीमा वेदजति प्राचीन ग्रन्थ कुनै छैन । पर्वत र नदीहरू रहिरहेसम्म वेदको महिमा पनि रहिरहनेछ ।’धर्मभीरुहरू वेदलाई ईश्वर ठान्छन् । ज्ञानीहरू यसलाई ज्ञान भन्छन् । अनि विश्लेषकहरू जीवन–जगत् र सृष्टि बुझाउने सबैभन्दा उन्नत दर्शन मान्छन् । उनीहरूका बुझाइमा विज्ञानले जति नै फड्को मारोस्, एक दिन नासिएरै सकिन्छ । अनन्त सुख दिने त ज्ञानले नै हो ।
कसका दृष्टिकोण सही होलान् ? डोरबहादुर कि म्याक्समुलर ? विज्ञापन गर्न सके विषसमेत बेच्ने छुट छ यहाँ । हरेक ज्ञानीका आआफ्नै स्वार्थ र मिसन छन् । आकर्षक तर प्रायोजित तर्कका चक्रव्यूह थापेर बसेका छन् उनीहरू । झ्वाट्टै पसिहाल्दा फसिने पो हो कि † त्योभन्दा त आफैंले पढ्नु बेस । आफैंले जाने तत्काल छुट्टिइहाल्छ– दूधका दूध, पानीका पानी । तर पढ्ने पो कसरी ? एक त संस्कृत, त्यो पनि वैदिक † डा. तुलसी भट्टराई र उद्धवदेव उपाध्यायले वेद नेपाली भाषामा अनुवाद गरेका छन् । चारै वेदका मुख्यमुख्य ऋचा टिपेर छरितो कृति तयार पारेका छन् । ‘चार वेद’ नामक पुस्तकमा ऋक्, यजु:, साम र अथर्ववेदको सार समेटिएको छ ।
अनुवादकद्वयले प्रत्येक ऋचाको अनुवादसहित तिनको बुझिने व्याख्या गरेका छन् । ती व्याख्यालाई सकेसम्म समयसापेक्ष बनाउने प्रयास देखिन्छ । उनीहरू ठान्दैनन्, यो एउटै पुस्तक वेदलाई सम्पूर्ण रूपमा बुझ्न पर्याप्त छ । यसलाई पढेर पाठकमा मूल कृतिप्रति रुचि जागोस्, यत्ति सदाशय छ । पुस्तकमा साहित्य–परम्पराकै अगुवा भनिएको छ— वैदिक साहित्यलाई । यसभन्दा प्राचीन साहित्य दोस्रो कसैले दाबी गर्न सकेको पनि छैन । न त रचनाकालकै अनुमान गर्न सकेको छ । लिपि आविष्कार हुनुभन्दा अघिदेखि थियो वेद । हजारौं वर्षसम्म यो श्रुतिपरम्परामै बाँचिरहयो । सुरुमा यसलाई ऋषिहरूले दिव्य तरङ्गबाट अनुभूत गरेको ठानिन्छ । उनीहरूले नै वाणीको रूप दिएर प्रसारित गरे । भनिएकै छ— ऋषयो मन्त्र द्रष्टार: । पुराण, उपनिषद् यसैबाट जन्मिए ।
वेदवेत्ताहरूका भनाइमा ज्ञान, कर्म, उपासना र विज्ञान चार वेदका विषय हुन् । यिनलाई धर्म, अर्थ, काम, मोक्षसँग पनि दाँजिएको छ । वेदमा सनातन समाजका हजारौं वर्षदेखिका संस्कार, चरित्र र आचरण सुरक्षित छन् । सृष्टि–उत्पत्तिसम्मका विषय किंवदन्तीमै भए पनि बाँचिरहेका छन् । संस्कृतको विद् धातुबाट बनेको वेदको शाब्दिक अर्थ जान्नु हो– जीवन, जगत् र सृष्टि जान्नु । पुस्तक दुई भागमा विभक्त छ । पहिलोमा चार वेदबाट छानिएका सूक्त एवं मन्त्र सङ्गृहीत छन् । दोस्रोमा ईश्वरभक्तिसम्बन्धी मन्त्रहरूको शब्दार्थ र भावार्थ । ऋग्वेदमा १०५५२ मन्त्र छन् । सामवेदमा १९७५, यजुर्वेदमा ३७५०, अथर्ववेदमा ७२६० मन्त्र । तर पुस्तकमा यी सबै छैनन् । प्रत्येक वेदका १०८ वटाका दरले प्रमुख ४३२ मन्त्र समेटिएका छन् ।
कर्मप्रधान ग्रन्थ हो, यजुर्वेद । यसले यज्ञसम्बन्धी परिचर्चा गर्दै मान्छेलाई उत्तम कर्मतर्फ जागृत गराउँछ । कर्मका माध्यमबाट सक्रिय र सार्थक जीवन बाँच्न प्रेरित गर्छ । एउटा मन्त्र छ– अस्थूरि णौ गार्हपत्यानि सन्तु शतं हिमा: । अर्थात्, हामी दुई पतिपत्नी गृहस्थसम्बन्धी कर्तव्य सय वर्षसम्म पूरा गर्न सकौं ।
यसले पतिपत्नीबीच विभेद होइन, समान भूमिकाको परिकल्पना गरेको छ । समान दायित्व र कर्तव्यबाट मात्रै गृहस्थी चल्न सक्ने औंल्याएको छ । अनि पहिलेका मान्छे हजार वर्ष बाँच्थे भनी सुनिँदै आएका कथा यहाँ आएर उडन्ते साबित हुन पुग्छन् । किनकि मन्त्रमै सयवर्षे आयु कामना गरिएको छ । वेदले यथार्थ बोलेको छ । अपव्याख्या त पछिकाले गरे ।सङ्गीतप्रधान मानिन्छ सामवेद । यसमा गायनयोग्य ऋचाहरूमार्फत सत्कामना गरिएको छ । पूर्वीय सङ्गीतको जननी यही वेद हो । सामवेद गायनमा सातै सुर प्रयोग हुन्छ । अहिले सुनिने जति पनि गीतसङ्गीत छन्, यसैका आधुनिक संस्करण हुन् । भलै यिनले बोक्ने सन्देश फरक होला । यो मन्त्रले चाहिँ सदाचारको सन्देश बोकेको छ—मा ते रसस्य मत्सत द्वयाविन: । अर्थात्, दोहोर आचरण गर्ने व्यक्ति आनन्दित हुन सक्दैन । मनमा एकथोक, व्यवहार अर्कै हुनेको भनाइ र गराइबीच तादात्म्य मिल्दैन । त्यस्ताले सुख पनि पाउँदैन । तसर्थ मन, वचन र कर्ममा एकरूपता ल्याउनुपर्छ ।
राजा ऋतेन विवावृधे । यो मन्त्रले सन्मार्गमा हिँड्ने अनि न्याय र सत्यलाई कर्तव्य मान्ने शासक (नेता) मात्र लोकप्रिय हुने औंल्याएको छ । कल्याण र प्रेम ऋग्वेदका लक्षण हुन् । त्यसका लागि देवताहरूका गुण वर्णन गरिएका छन्, कविता छन्दमा ।य शर्धते नानुददाति शृध्यां । यो मन्त्रले अहङ्कार त्याग्न प्रेरित गर्छ । अहङ्कारलाई मान्छेको शत्रु भन्छ । अभिमानीले केही पाएन भने उसको अभिमान स्वत: नष्ट हुने बताउँछ ।अनुवादकद्वयले अर्को मन्त्रलाई पनि समयसापेक्ष ठानेका छन्– अधूर्षत स्वयमेते वचोभि: र्ऋजूयते वृजिनानि ब्रुवन्त: । यसले सत्य पथमा हिँड्नेहरूसँग कुटिल व्यवहार नगर्न सचेत गराएको छ । सज्जनसँग दुर्वाच्य बोल्नेहरू आफैं नास हुने उल्लेख गरेको छ ।
अर्थववेदले कर्ममा एकाग्र र निश्चल हुन सिकाउँछ । मनमा दुर्विचार उत्पन्न हुन दिँदैन । मनोविकार हटाएर उत्तम पथप्रदर्शन गरिदिन्छ । यसमा खास गरी शारीरिक अङ्ग, रोगहरू, राष्ट्रधर्म, समाजव्यवस्था, अध्यात्मवाद एवं प्रकृतिको वर्णन पाइन्छ ।
शतहस्त समाहार सहस्त्रहस्त सं किर ।कृतस्य कार्यस्य चहे स्फातिं समावह ।।
यो मन्त्रले मानिसलाई कर्मशील अनि उदार हुन सिकाउँछ । भन्छ– तिमी सय हातले धन आर्जन गर तर हजार हातले दान गर । बल्ल कर्म र कर्तव्यमा उन्नति गर्न सक्छौ । यसले पुँजी ‘फ्रिज’ हुन नहुने, परिचालन हुनुपर्ने अर्थशास्त्रीय मान्यतातर्फसमेत सङ्केत गर्छ ।वेदका मूल ग्रन्थहरूको भाषा जटिल मानिन्छ । तर ‘चार वेद’को भाषा असाध्यै सरल छ । जे भन्न खोजिएको हो, सोझै बुझिन्छ ।मथिङ्गल घुमाइरहन पर्दैन । प्राचीन संस्कृति र मान्यता ओझेल पर्दै गएका बेला यसका पाठक सीमित हुन सक्छन् । ती पुस्तक पसल त पस्छन् तरह्वात्तै होइन, एक–दुई जना गरेर । यसले फरक पनि पार्दैन । किनकि ‘चार वेद’ क्षणिक होइन, दीर्घकालिक महत्त्वको पुस्तक हो । परिष्कृत शैली हुँदाहुँदै कतै–कतै व्याकरणिक अशुद्धि देखिन्छन् । हिज्जे बिग्रिएको छ । तर त्यो अनुवादकद्वयको अज्ञानभन्दा पनि असावधानी प्रतीत हुन्छ ।
प्रदीप खतिवडा
प्रकाशित : माघ २६, २०७५ १२:१४

सार्वजनिक सेवा सुध्रने कहिले ?

सार्वजनिक सेवा सुध्रने कहिले?
कमजोर सार्वजनिक सेवा देख्दा लाग्छ कर्मचारीतन्त्र सरकारको नियन्त्रण बाहिर छ वा सरकार परिवर्तनको पक्षमा छैन । माघ २४, २०७५
रोजिना पोखरेल
काठमाडौँ — कुशल सार्वजनिक सेवा प्रवाहले सरकार र नागरिकबीच सम्बन्ध सकरात्मक र विश्वासिलो बनाउँछ । नागरिकले आफ्नो राजनीतिक अधिकारमार्फत मतदान गरी सरकार बनाएका हुन्छन् । सरकारलाई आफ्नो दायित्व अनुरूप कर, शुल्क, दस्तुर बुझाउँछन् । उनीहरूले सरकारबाट सहज सेवा प्रवाहको आशा राखेका हुन्छन् । सरकारले नागरिकमा आफ्नो सक्षमता अभिवृद्धि गराउन, राष्ट्रिय एकता मजबुत बनाउन, नागरिक  सहभागिता वृद्धि गराउँदै शासकीय वैधता पुष्टि गर्न सार्वजनिक सेवा प्रवाहलाई महत्त्वपूर्ण जिम्मेवारीका रूपमा स्वीकार गरेको हुन्छ । सरकारले शान्ति सुरक्षाजस्तो बाध्यकारी सेवादेखि अत्यावश्यक, कल्याणकारी, प्रबद्र्धनकारी, व्यावसायिक लगायतका सेवा प्रवाह गर्छ । यस्ता सेवाको वितरण शैली र पहँुचको कसीमा सरकारको कार्यकुशलता मापन गर्न सकिन्छ ।
कर्मचारीतन्त्र सरकार र जनताबीच सेतु हो । कर्मचारीतन्त्रले सार्वजनिक सेवा प्रवाह जनता नजिक रहेर गर्छ । यसले जनताका आवश्यकता र चाहनालाई संस्थागत एवं कानुनी रूपमा बोध गरी सरकार समक्ष पुर्‍याउँछ । कर्मचारीतन्त्रले सरकारको प्रत्याभूति जनतामा पुर्‍याउँछ । सरकारको अनुहार, शैली, व्यवहार आफ्नो कार्यसम्पादन तथा सेवा प्रवाहमार्फत कर्मचारीले प्रस्तुत गरिरहेका हुन्छन् । हामीकहाँ कर्मचारीतन्त्रबाट वितरीत अधिकांश सेवामा आमजनता सन्तुष्ट देखिँदैनन् । पारदर्शिता, निष्पक्षता, छरितोपना सेवामा पाइँदैन भन्ने धारणा अधिकांशमा छ । धेरैले निजामती कर्मचारीलाई भ्रष्ट, अल्छी र कामचोर जस्ता लाञ्छना लगाउँछन् ।
सार्वजनिक सेवा सिद्धान्तत: निष्पक्ष रहनुपर्छ । सरकारको मूल उद्देश्य नाफा आर्जन होइन । यस्ता सेवा सरल र सुपथ शुल्कमा प्राप्त गर्नु नागरिकको हक हो । यी सेवा कानुन र निर्धारित निर्देशिका अनुसार प्रवाह गरिएको हुनुपर्छ । सार्वजनिक सेवामा उद्देश्यगत रूपमा जनताको स्वामित्व र नियन्त्रण रहनुपर्ने हो । हाम्रोमा सार्वजनिक सेवा प्रवाह समय सापेक्ष सुधार र चुस्त हुनसकेको छैन । धेरै सेवाको वितरण र नियन्त्रणमा बिचौलियाका चलखेल र सक्रियता देखिन्छ । सेवा प्राप्त गर्न अतिरिक्त रकम, समय, शक्ति, चाकडी, पहुँच पुर्‍याउनुपर्ने बाध्यात्मक अवस्था छ ।
सेवाको वरिपरि जनता नभई जनताको वरिपरि सेवा पुग्नुपर्ने हो । तर प्रविधि र पद्धतिमा सुधार नगर्ने र सुध्रिन नचाहने प्रथाले कर्मचारीतन्त्र र सरकारलाई गाँजेको छ । पुरानो पद्धति र प्रणाली छाडे कतै आफ्नो सेटिङ, कमिसन, घुस, रिसवत गुम्ने हो कि भन्ने मनोदशा सबैतिर देखिन्छ । यायायात, मालपोत, नापी, श्रम लगायत अन्य धेरै कार्यालयमा बिचौलियाको बिगबिगी देखिन्छ । तिनै बिचौलियाबाट प्राप्त हुने आर्थिक लाभको लोभले बसेको सिष्टम तोड्न कर्मचारी, कार्यालय प्रमुख चाहँदैनन् । कसैले तोड्न खोजे असहयोग र विरोध हुन्छ । असली सेवाग्राही बाहेक अरूलाई कार्यालयमा निषेध गरिएको, बिचौलिया पक्राउ गरेको कहिलेकाहीं देखिन्छ । तर यस्ता कार्य देखावटी, छोटो अवधिको र प्रचारात्मक हुन्छन् ।
अन्तिम भरोसाको केन्द्र न्यायपालिकासमेत बिचौलियाको छत्रछायामा पर्ने गरेको समाचार आइरहेका हुन्छन् । प्रधानन्यायाधीशले संसदीय सुनुवाइका क्रममा बिचौलिया रोक्ने प्रतिबद्धता जनाउनु अदालतमा बिचौलिया छन् भन्ने पुष्टि हो । अर्कोतिर सरकारवादी हुने फौजदारी अपराधमा प्रमाण संकलन, पक्राउ, बयान, अभियोजन, मुद्दा दर्ता, आरोप पुष्टि आदि पक्षमा प्रहरी, सरकारी वकिल राज्यहित, सामाजिक शान्ति र न्यायका लागि पूर्ण बफादार बन्न नसकेको आरोप छ ।
रकमी सहयोगी, बिचौलिया, दलाल, माफियाका कारण सुशासनमा चुनौती बढ्दैछ । यस्ता कतिपय समूह नीतिगत निर्णय आफू अनुकूल बनाउन सफल पनि हुन्छन् । सार्वजनिक सेवा प्रवाहमा सर्वसाधारण जनताको हितलाई उच्च प्राथमिकता नदिएसम्म सुशासन प्रबद्र्धन हुँदैन ।संविधानको धारा ५१ को खण्ड ख (४) मा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सेवासुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासन प्रत्याभूति गर्ने भनिएको छ ।
निजामती सेवा ऐन, २०४९ को प्रस्तावनामा निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने उल्लेख छ । सार्वजनिक निकायद्वारा सहज, सरल, छिटो, छरितो तथा पारदर्शी ढगंले सेवा तथा सुविधा प्रदान गरी सर्वसाधारणलाई सन्तुष्टि प्रदान गर्न सेवा अभियान सञ्चालन निर्देशिका व्यवस्था गरिएको देखिन्छ । यी व्यवस्थाका बाबजुद सेवाग्राहीले परिवर्तनको अनुभूति गर्न पाएका छैनन् ।
सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को व्यवस्था मुताबिक प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्रका रूपमा रूपान्तरण गरी सुशासनको प्रत्याभूति दिनेगरी कार्य सञ्चालन भएको पाइन्न । गुणस्तरीय, कम खर्चिलो र समय सीमाभित्रै सार्वजनिक सेवा उपलब्ध हुनसक्ने व्यवस्था मिलाउने उद्देश्य बोकेको सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ कागजी रूपमा सीमितजस्तो देखिन्छ । गलत पद्धतिबाट कार्यसम्पादन भए वा कानुनी व्यवस्था अनुसार सेवा प्रवाह नभए अनुगमन गर्ने संयन्त्र, अनियमिततामाथि कारबाही गर्ने निकाय, दण्ड–सजायको कानुनी व्यवस्था प्रशस्त छन् । सरकार, उच्च प्रशासकबाट बारम्बार सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता सम्बन्धी प्रतिबद्धता आइरहेका हुन्छन् । तर सुधारको आभाष छैन । लाग्छ, कर्मचारीतन्त्र सरकारको नियन्त्रण बाहिर छ या सरकार सेवा प्रवाह परिवर्तनको पक्षमा छैन ।
नागरिक बडापत्र र केही सार्वजनिक निकायमा लागु भएको क्षतिपूर्ति सहितको बडापत्र सफल देखिँदैन । सेवा प्रदायकको क्षमता र दक्षता अभिवृद्धिमा ध्यान दिएको पाइँदैन । कर्मचारीतन्त्र र सेवा प्रवाहलाई समय–सापेक्ष सुधार गर्न ढिला भइसकेको छ । राजनीतिक प्रतिबद्धता, प्रशासनिक कटिबद्धता, खर्चमा मितव्ययिता, जनतामा जिम्मेवारीबोध र बिचौलिया तथा रकमी सहयोगीको बन्देजबाट सार्वजनिक सेवा प्रवाह सुधार हुन्छ ।
प्रकाशित : kantipur, माघ २४, २०७५ ०८:१४

सहरमा सवारीको सकस

सहरमा सवारीको सकस
माघ २३, २०७५
शरदचन्द्र पौडेल
काठमाडौँ — साझा यातायातले लामो समय बन्द रहेको बससेवा पाँच वर्षअघि सुरु गर्दा काठमाडांैको सार्वजनिक यातायातमा सुधार हुने आशा पलाएको थियो । सरकारले सिन्डिकेट तोडेको घोषणा गर्दा आशा अग्लियो । यस बीचमा काठमाडौंको यातायातमा केही सकारात्मक परिवर्तन पनि देखियो ।
तर अपेक्षा अनुसार भरपर्दो, पहुँचयोग्य र विश्वसनीय सार्वजनिक यातायात सेवा सञ्चालन हुन सकेन । यस सन्दर्भमा काठमाडौंको सार्वजनिक यातायातको समस्या र यसको सुधारका विषयमा बहस जरुरी छ ।
सहरले मुलुकको आर्थिक गतिशीलता र उत्पादकत्व वृद्धिमा ठूलो योगदान गर्छ । उत्पादकत्व कम भएका क्षेत्रबाट बढी भएको सहरी क्षेत्रमा मानिस स्थायी वा अस्थायी रूपमा बसाइँ सर्छन् । सहरमा बस्नेको आय र जीवनस्तर निरन्तर वृद्धि भइरहने हुनाले जनसंख्या र घनत्व वृद्धिदर अन्तभन्दा बढी हुन्छ । संघीय राजधानी काठमाडौं अपवाद छैन । जनसंख्या वृद्ध्रिदर ४ प्रतिशतभन्दा बढी छ । जनघनत्वको २३ हजार ९ सय २३ जना प्रतिवर्ग किलोमिटर छ । जनसंख्या वृद्धिदर दक्षिण एसियाकै उच्च हो भने घनत्व विश्वको १६ औं ।
सहर विशेषतायुक्त हुन्छ । बाटोघाटोको वितरण सहरमा बढी हुन्छ । मानिस विभिन्न प्रयोजनका लागि धेरैपटक र फरक समयमा हिँड्छन् । बाहिरबाट धेरै मानिस दैनिक काम गर्न सहरभित्र आउँछन् । भिडभाड पन्छाउन धेरै मानिस सहर बाहिर बस्छन् । धेरै मनोरञ्जन गर्न सहरबाट बाहिरिन्छन् । धेरै मानिसले सवारी साधन किन्छन् । यसले सवारीकोचाप बढाउँछ । जग्गाको मूल्य र बनिबनाउ क्षेत्र बढी हुँदा पूर्वाधार विकास र विस्तार कठिन र चुनौतीपूर्ण हुन्छ । थोरै ठाउँमा धेरै सवारी, जाम र सुस्त गतिले धुवाँ र ध्वनि प्रदूषण बढी हुन्छ ।
यसैले सहरी यातायात फरक र चुनौतीपूर्ण हुन्छ । भित्र आवत–जावत गर्न र भित्रिन/बाहिरिनका लागि उचित व्यवस्था भएन र महङ्गो भयो भने मानिस सहरभित्रै बस्न बाध्य हुन्छन् । यातायात सहज र सरल भएन भने आर्थिक गतिविधिमा अवरोध आउँछ । गरिब र सुकुमवासीको संख्या बढ्छ । सीमित सडकमा निजी सवारी बढ्दा जाम, प्रदूषण, पार्किङ अभाव, दुर्घटनाजस्ता समस्या आउँछन् । अव्यवस्थाले व्यवस्थापकीय चुनौती थप्छ ।
काठमाडो उपत्यकाका तीन जिल्लाका दस नगरपालिकामा २५ लाखभन्दा बढीको बसोबास छ । यहाँ आएर केही समय बसेर बाहिरिनेको संख्या पनि धेरै छ । धादिङ, नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक आदि जिल्लाबाट दैनिक प्रवेश गरेर बाहिरिने धेरै छन् ।
पछिल्लो समय रहन–सहन र बसोबासमा ठूलो परिवर्तन आएको छ । ठूला सपिङ मल बढेका छन् । असन इन्द्रचोकबाट बजार अन्त विस्तार भएको छ । अपार्टमेन्टमा बस्नेको संख्या बढेको छ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल र धेरै कार्यालय, उद्योगधन्दा, शैक्षिक संस्था, अस्पताल आदि यहीं छन् । दैनिक आउने–जाने यात्रु र मालवाहक सवारीको संख्या ठूलो छ ।
उपत्यकाको २ हजार किलोमिटर सडकमा १० लाखभन्दा बढी सवारी गुडिरहेका छन् । सबै सवारी एकैपटक निस्किए भने सडक बन्द हुन्छ । ठूला र मझौला बस, ट्रक, माइक्रोबस, टिपर, जिप, टेम्पो, ट्याक्सी आदि सबै गरेर सार्वजनिक सवारीको संख्या २५ हजार छ । निजी स्तरमा कार, जिप, स्कुल बस, मोटरसाइकल, स्कुटर आदि मुख्य छन् । दुईपाङ्ग्रेको संख्या ८० प्रतिशतभन्दा बढी छ । पार्किङको समस्या बढेको छ ।
पैदल हिँड्ने र साइकल चढ्ने घट्दै गएका छन् । सडक सवारीको लागिमात्र भएको छ । १५ मध्ये १० लाखले सार्वजनिक सवारी प्रयोग गर्छन् । सडकमा मानिस, सवारी साधन, ठेलागाडा, पशु, रिक्सा आदि सबै देखिन्छन् । सडक र पेटी अरु कामका लागि अतिक्रमित छ ।
यातायात कार्यालय, नेपाल प्रहरी, ट्राफिक प्रहरी व्यवस्थापनमा संलग्न छन् । सडक बनाउने काम सडक विभाग, नगर विकास प्राधिकरण, नगर विकास समिति, सहरी विकास कार्यालय र नगरपालिकामा छरिएको छ । यातायातको माध्यम र स्वामित्वमा विगत चालीस वर्षदेखि कुनै परिवर्तन छैन । यातायात नियमनविना आफ्नै तालमा सञ्चालन भइरहेको छ ।
उपत्यकाको सार्वजनिक यातायातमा मागको तुलनामा सवारीको संख्या निकै कम छ । माग बढी र कम हुने दुवै समयमा सवारीको संख्या निश्चित छ । समय पालना र सेवाग्राहीप्रतिको उत्तरदायित्व रत्ति पनि छैन । कोचिएर यात्रा गर्नुपर्छ । साँझ परेपछि सवारी पाइँदैनन् । सडकको अवस्था निरपेक्ष साना, मझौला, तीन पाङ्ग्रे लगायतका सबै सवारी साधन सञ्चालनमा छन् । सवारी र सेवाको गुणस्तर कमजोर छ । सेवामा विविधता छैन, खाए खा नखाए घिच भन्ने अवस्था छ ।
थोरै यात्रु अटाउने साना निजी सवारी बढ्दा सहरको सौन्दर्य र यातायात व्यवस्थापनमा नकारात्मक असर परेको छ । थोरै सडक, धेरै र बढ्दो जनसंख्या तथा धेरै सवारीका कारण सहरमा जाम, दुर्घटना र प्रदूषणजस्ता समस्या दिनानुदिन बढेको छ । आवश्यकता अनुसार सडक पूर्वाधार बनेको छैन । पूर्वाधार निर्माण र यातायात व्यवस्थापनमा योजना र समन्वय नहँुदा यातायात भद्रगोल छ ।
साझाको न्युन हिस्सा बाहेक सार्वजनिक यातायात सम्पूर्ण रूपमा निजी क्षेत्रमा निर्भर छ । माग अनुरुप सवारीको आपूर्ति छैन । सवारीबीच सेवा दिनेभन्दा यात्रु छोप्ने प्रतिस्पर्धा छ । सिन्डिकेट हटे पनि स्पष्ट मार्गचित्रको अभावमा अन्योल बढेको छ, ठूलो लगानी आकर्षित भएको छैन । माध्यममा विविधता छैन, आम यात्राका साधन सञ्चालन हुनसकेको छैन । माध्यम निर्माणमा निकायबीच समन्वयभन्दा प्रतिस्पर्धा छ । मोनोरेल र मेट्रोमा फरक निकाय संलग्न छन् । सेवा बनाउन अपरिहार्य सार्वजनिक लगानी शून्य बराबर छ । सबै सहुलियत निजी क्षेत्रले दिँदै आएका छन् । भाडा निर्धारण राजनीतिक औजार बनेको छ । निकाय भए पनि नियमन छैन ।
सहरी यातायातको व्यवस्थापन बहुआयामिक र जटिल हुन्छ । सडक सञ्जालभित्र यात्रुका लागि एकभन्दा बढी माध्यम उपयोग गर्नुपर्छ । विविधताले माध्यमबीच यात्रामा सहजता माग गर्छ । तर यस्तो सहजता सापेक्ष रूपमा खर्चिलो हुन्छ । महङ्गो हुँदा निजी सवारी र सुकुमवासी थपिन्छन्, सवारीको भिडभाड बढ्छ । सार्वजनिक यातायात सबैको पहुँचमा हुनुपर्छ । कामका लागि प्रयोग गरिने हुनाले भरपर्दो हुनुपर्छ । नत्र वैकल्पिक साधन बाध्यता बन्छ ।
यात्रुको चाप र चाहना अनुसारको विविधतायुक्त सेवा चाहिन्छ । आधारभूत सेवा भने अनिवार्य र कोही नछुट्ने हुनुपर्छ । यातायात सुविधाजनक, विश्वसनीय र पहुँचयोग्य भएमात्र निजी सवारीको संख्या घट्छ । पूर्वाधार निर्माण सार्वजनिक यातायातलाई विस्तार गर्न, भरपर्दो, विश्वसनीय र पहँुचयोग्य बनाउन सघाउने हुनुपर्छ । थोरै सडकमा धेरै र फरक सवारीको व्यवस्थापन गर्न र पार्किङका लागि सुदृढ ट्राफिक नियन्त्रण चाहिन्छ ।
निजी सवारीको संख्यात्मक वृद्धिलाई नियन्त्रण गर्नुपर्छ । नवीकरणीय ऊर्जाबाट चल्ने साधनमा जोड दिनुपर्छ । पैदल र साइकल यात्रीको अधिकार सुनिश्चित गर्नुपर्छ । यातायातको विकास र व्यवस्थापन जटिल अभ्यास हो । छरिएका असक्षम निकायको सट्टा योजना र व्यवस्थापन एकीकृत रूपमा गर्नुपर्छ ।
काठमाडौंको सार्वजनिक यातायातको व्यवस्था, नियमन र सञ्चालन, ट्राफिक नियन्त्रण र पार्किङ व्यवस्थापन समेतको काम गर्न एक छुट्टै अधिकार सम्पन्न र स्वायत्त निकाय जरुरी छ । यो निकायले सार्वजनिक यातायातसँंग सरोकार राख्ने सडक, ट्राफिक, स्थानीय निकाय, बत्ती, पानी, टेलिफोन, अन्य पूर्वाधारमा संलग्न सबै निकायको प्रयासलाई सोहरेर परिचालन गर्ने क्षमता राख्नुपर्छ ।
प्रकाशित : kantipur, माघ २३, २०७५ ०८:४०

तस्बिरको राजनीति

तस्बिरको राजनीति

समीक्षा
मंसिर १५, २०७५राजेन्द्र महर्जन
काठमाडौँ — क्लिष्ट लेखन किताबको पठनीयताका लागि अवरोध हुन सक्छ । जटिलभन्दा सरल र बुझिने लेखाइ/अनुवाद जरुरी देखिन्छ । प्रत्येक वाक्यमा प्रश्न उठाउने र मथिंगल घुमाउने क्षमताको हुनु यसको लेखन विशेषता हो ।
तपाईं हीरा पार्कीलाई चिन्नुहुन्छ ? डोटीको शैलेश्वरी मन्दिरमा ट्याम्को बजाउने वृद्ध दलित । उनले दस वर्षको उमेरदेखि ६४ वर्षसम्म बाजा बजाए, तर पनि मन्दिर पस्न दिइएन । २०६३ सालमा दलित अभियन्ताहरूले संघर्ष गरेर मन्दिर प्रवेशको अधिकार जिते, तब उनलाई मन्दिर प्रवेश गर्न डर लाग्यो । अभियन्ताले घिसारेर मन्दिरभित्र लैजाँदा उनी मर्ने डरले बेहोस भए । जर्मन मनोविश्लेषक एरिक फ्रमले सुझाएझैं ‘स्वतन्त्रताको भय’ बिनाको जीवन भनेको आत्मसम्मानसहितको जिन्दगी हो । तीन हजार वर्षदेखि अछूत भनिने लाखौं जनताले ‘दलित’ पहिचान बोक्दै आत्मसम्मानले भरिएको जिन्दगी जिउने संगठित प्रयास गरेको पनि जुग भइसक्यो । यसबीचमा अनेक विष्ट–बराजु र शासक फेरिए, दलन–उत्पीडनसँगै संघर्षका रूप पनि फेरिए, तर आत्मसम्मानको लडाइाको सार भने फेरिएको छैन । यही प्रतिरोधको सचित्र गाथा हो, ‘दलित: अ क्वेस्ट फर डिग्निटी’ (दलित : आत्मसम्मानको खोजी) । यसका शब्द र तस्बिरले वर्णव्यवस्था–जातभात विरुद्ध संघर्ष गरेका अम्बेडकरदेखि टीआर विश्वकर्मा र उमादेवी वादीसम्मका संघर्षको कहानी देखाएका छन् । कसको तस्बिर खिच्ने, कसको फोटो कहाँ झुन्ड्याउने, कसको छायाछविले शासन गर्ने भन्ने प्रक्रियामाथि प्रश्न उठाएको छ । यस अर्थमा नेपाली समाजको तस्बिरले ‘तस्बिरको राजनीति’ माथि पनि सवाल उठाउँदै नयाँ सदृश्य डिस्कोर्स सिर्जना गर्न खोजेको छ ।
सिंहदरबारभित्र टाँसिएका फोटोबाट र टाँसिन बाँकी जीवित तस्बिरबाट शासित छन् हाम्रा मनमस्तिष्क । दुई वर्षअघि नै पाटन दरबारमा उभिएका तस्बिरले सोधेका थिए : सिंहदरबारमा झुन्ड्याइएका तस्बिरमा बाहुन–क्षत्रीका अनुहार मात्रै किन भए, किन भएनन् ‘शूद्र’ र ‘अछूत’ का मुहार पनि ? आज पुस्तकका रूपमा जीवन्त भएका तस्बिर सिंहदरबारको संरचनामा मात्रै होइन,त्यहाँ झुन्ड्याइने तस्बिर र सिंहदरबारबाहिरका आम मान्छेबीच, शासक र बहुजनबीचको सम्बन्धमा हेरफेरका लागि न्यायोचित उत्तर खोज्ने कोसिसको सदृश्य दस्तावेज हुन् । हेर्ने र नहेर्ने, शुद्ध र अशुद्ध, सम्मान र अपमान : जातप्रथाको दिनचर्याका अनेक आयाम हुन् । पूजक र पूजितका आखा आमुन्नेसामुन्ने नहोउन्, पूजित देवीदेवता नबिटुलियोस् भनेरै ‘अछूत’ लाई मन्दिर पस्न निषेध गर्ने परम्परा बसाइएको देखिन्छ । ‘देवत्व’ सँग साक्षात् सम्बन्ध बनाउन वञ्चित गर्न नै निषेधमार्फत अपमान गर्ने जारी छ । जारी छ मन्दिर प्रवेशको प्रयास पनि, देवत्वसँग साक्षात्कार गर्ने आस्तिक कोसिस पनि । यस्ता कोसिससँगै विभेदकारी धर्ममाथि प्रश्न उठाउने क्रम पनि जारी छ । दलित अभियन्ता जवाहररोक्काले सोधेका थिए, ‘जहाँ हाम्रो अपमान हुन्छ, त्यहाँ हामी किन जाने ?’
राजतन्त्रबाट लोकतान्त्रिक गणतन्त्रमा, सामन्तवादबाट पुँजीवादतिर जवाइको क्रममा भएका अनेक संघर्षका कारण छुवाछूत र जातीय विभेद घटेका छन् तर नयाँ खालका दलन र उत्पीडनसँगै अपमानको सिलसिला भने जारी छ । हिजोका मासिन्या (दास बनाउने हुने) अछूतहरू आज कम ज्याला र धेरै अपमानसँगै श्रमिक जिन्दगी जिउन विवश छन् । उनीहरूको सम्मानपूर्ण जीवनका लागि आधारभूत अधिकार मात्रै सुनिश्चित गरेर पुग्दैन, त्यसभन्दा अझै थप केही गर्नुपर्छ । ‘यसका लागि दलित श्रमका विभिन्न स्वरूपलाई समाजप्रति महत्त्वपूर्ण र अर्थपूर्ण योगदानको रूपमा आकलन गर्न सक्ने मूल्यमान्यताको व्यवस्थापनि चाहिन्छ ।’ ‘दलित हुनु भनेको जीवन र श्रमका लागि समानता, स्वतन्त्रता तथा न्यायका सिद्धान्तमा आधारित मूल्यमान्यताको नयाँ संरचना निर्माण गर्ने उद्देश्य लिनु पनि हो ।’ यही उद्देश्यका लागि भएका प्रयास र संघर्ष क्रममा हिजो विष्ट–बराजु, मालिक र शासकहरूबाट अछूत एवं मासिन्याजस्ता नकारात्मक पहिचान पाएका मानिसहरूले ‘दलित’ को गौरवपूर्ण पहिचान भिरेर प्रतिरोध गरिरहेका हुन् । यही पहिचानका साथ आफ्ना श्रम, सीप, कला र व्यक्तित्वको सम्मानका लागि चलाएका संघर्षकै कारण उनीहरूमा ‘स्वतन्त्रताको भय’ ले कम शासन गर्न थालेको आभास हुँदै छ ।
यही संघर्षसँगै अन्य आन्दोलनका कारण वर्णव्यवस्था र जातभातको हिंसा सार्वजनिकबाट निजी ठाउँमा खुम्चिँदै छ । नयाँ रूपरङमा गाउँदेखि सहरसम्म अपमान गर्ने क्रम पनि अनुभूत गर्न सकिन्छ । वर्णव्यवस्था र जातभातबाट मुक्त नभएको राजनीतिक, आर्थिक र सांस्कृतिक सत्ताको मूलधारले दलितको ओजपूर्ण प्रतिनिधित्व सहजै स्विकार्न नखोजे पनि ठाडै नकार्न सक्ने हालत अब छैन । त्यसैले तीनवटै सत्तामा ‘वार अफ पोजिसन’ मार्फत मानवीय र लोकतान्त्रिक धरातल निर्माणको क्रम जारी छ । शब्द र तस्बिर पनि ज्ञानका अन्य विधाजस्तै दोधारे तरबार हुन् । चाहे हीरा पार्की हुन् या उमादेवी बादी, जोकसैमा पनि यस किताबका शब्द वा तस्बिर हेर्दा आत्मसम्मानको भाव जाग्न पनि सक्छ । तर, मानव बेचबिखन, चरम दुव्र्यवहार र गुलामी भोगेका बादी महिलाको तस्बिरपछि कन्डमको तस्बिर राख्दा आत्मसम्मानमा ठेस लाग्न सक्छ । क्लिष्ट लेखन किताबको पठनीयताका लागि अवरोध हुन सक्छ । जटिलभन्दा सरल र बुझिने लेखाइ र अनुवाद जरुरी देखिन्छ । प्रत्येक वाक्यमा प्रश्न उठाउने र मथिंगल घुमाउने क्षमताको हुनु यसको लेखन विशेषता हो । आलोचनात्मक शब्द र तस्बिरको सम्मिश्रणले सामाजिक रूपान्तरणका अनेक विषयमा नयाँ बहस सिर्जना गर्न सक्छ । यसले स्वतन्त्रताप्रतिको भय भगाउन र आत्मसम्मानपूर्ण मानवीय लोकतान्त्रिक जीवन बनाउन सघाउ पुर्‍याउने आशा गर्न सकिन्छ ।प्रकाशित : मंसिर १५, २०७५ ०८:३२

धर्म, संस्कृति र जीवनको बहस

  धर्म , संस्कृति र जीवनको बहस अरूणा उप्रेति अनलायन खबर,   २०७७ साउन १८ गते १०:३४ ‘ नो वर्त प्लिज’ गीतको बोललाई लिएर मैले हिन्दु ‘जागर...