Monday, June 10, 2019

बौद्धिक जागरणको नेपाली तिर्खा

बौद्धिक जागरणको नेपाली तिर्खा
पञ्चायती
नेपाली समाज र जनता चंगा हुन् । शासकहरू चंगा उडाइरहेका छन् जसलाई चंगाको जीवन र मृत्युसँग सरोकार छैन, चासो केवल आफ्नो मनोरञ्जनको छ । यही चालामा पुँजीवादी व्यवस्था विनाशकारी लीलामा छ ।
नेपाली समाजमा एउटा नयाँ बौद्धिक जागरणको आवश्यकता टड्कारो बन्न पुगेको छ । त्यस्तो जागरणका निम्ति हिजोको जस्तो न कम्युनिस्ट क्रान्तिहरूको उत्प्रेरणा आज छ, न उपनिवेशवादविरोधी आन्दोलनको उत्प्रेरणा ।
माघ २७, २०७५
आहुति
काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डले कार्यकर्ताबीच ‘धेरै पढ्ने मान्छे बहुलाउँछ’ भनेर प्रशिक्षित गरेको भिडियो सार्वजनिक भयो । प्रचण्डको भनाइ सुनेर गद्गद् हुँदै कार्यकर्ता हाँसेको र ताली बजाएको दृश्य पनि देखियो । धेरै पढ्ने भनेको कति र पढेर कति जना बहुलाए भन्ने तथ्य सार्वजनिक छैन ।
व्यवहारसँग पुस्तकको ज्ञान नजोड्ने बरु पुस्तकको लती भनेर सारसंग्रहमा हराउनेका सन्दर्भमा प्रतीकात्मक रूपमा कतिपयले त्यसो भनेको पाइन्छ । प्रचण्डले जजसलाई इंगित गरेर त्यसो भनेका थिए, तिनीहरू तिसौं वर्षदेखि संगठित रूपमा आन्दोलनमा रहिरहेका व्यक्ति हुन् । एक समय राम्रो पढ्ने र लेख्नेसहितको कार्य गर्दैनथे भने तत्कालीन शाही सेनाको जागिरेसम्म बन्न तम्सिएका छविलाल पुष्पकमल दाहाल हुँदै प्रचण्डसम्म हुन आइपुग्दैनथे । उनले यति ज्यादिविधि हावा बोल्दासमेत गद्गद् भएर हाँसो र ताली कार्यकर्ताले सजिलै दिए । किन होला ?
अर्को भिडियोमा त्यही पार्टीका अर्का अध्यक्ष तथा मुलुकका प्रधानमन्त्री केपी ओली आफ्नो पार्टीका केही वरिष्ठ नेतालाई दायाँबायाँ राखेर बोलिरहेको देखिन्छन्, ‘जुन देशमा गैंडा छैन, तिनीहरूले राइनो भन्ने ?’ जीवविज्ञानमा राइनोसोरस प्रजातिको होमियो र स्पेसिससम्मको सूक्ष्म अध्ययन दुनियाँमा कहाँ कहाँ भयो, धेरैलाई थाहा छ । ओलीको त्यस्तो पूर्वीया नयाँ शब्दमा भन्दा खोयाबिर्के खालको भाषण सुनेर अगलबगल ढसमस्स बसेका अरू नेता मात्र मुसुमुसु हाँसिरहेका देखिन्छन् । गजब छ !
स्थानीय तहको निर्वाचनमा नेत्रविक्रम चन्द तेतृत्वको नेकपाले चुनाव बहिस्कार गर्दा प्रहरीको गोली लागेर राप्रपा, नेपालका उम्मेदवारको मृत्यु भयो । केही घण्टापछि सो पार्टीले उनलाई सहिद घोषणा गर्‍यो । चुनावमा उठेको उम्मेदवार चुनाव बहिस्कार गर्नेको सहिद कसरी भयो भनी कुनै प्रश्न छैन । प्राविधिक रूपमा घोषणा गल्ती भए सच्याए भो, त्यो पनि छैन । त्यो पार्टीलाई मानौं हाइसन्चो छ । यसरी काम चल्दैन त !
नेपालका राणाहरूले नेतृत्व गरेको निरंकुश शासनविरुद्धको आन्दोलनदेखिका गणेशमान सिंह, भूविक्रम नेम्वाङ, जगन्नाथ आचार्य र कृष्णप्रसाद भट्टराईसम्मले नेपाली कांग्रेस पार्टी त्यागेको घोषण गरे । कम्युनिस्टहरूले पार्टी छाड्नेलाई कम्तीमा सैद्धान्तिक विचलनको आरोप लगाइदिएर कर्तव्य पूरा गर्छन् ।
कांग्रेसमा ती दिग्गजले किन त्यसो गरे भन्ने विषय कुनै बैठकको एजेन्डासमेत बनेको सुनिएन । जुन वैचारिकीमा त्यो पार्टी आज पनि छ भनेर देउवा र गगन थापाहरू कुर्लिन्छन्, त्यस वैचारिकीका मूल सहायक खाँबाहरूको निष्कर्षबारे मौनता छ । त्यस मौनताभित्र के होला ?
न दार्शनिक पुष्टि, न खास सिद्धान्तको जोगाड, बाबुराम भट्टराई कतै बोल्दिन्छन्, ‘अब वैज्ञानिक मानवतावाद जरुरी छ ।’ महाकालीपारि बस्तीको मेलामा हल्ला गरेझैं एक हुल कार्यकर्ता ‘सही हो, सही हो’ भन्छन् । संसदीय जोकर चुनावमा कोही नयाँ सिकारुले मञ्चबाट भट्याउँछ, ‘हामी कुनै वादको पाछाडि लाग्दैनौं ।’
वाद अर्थात विचारधाराबिनाको पशु र वनस्पतिको मात्रै जीवन सम्भव छ भनी समाजशास्त्र र राजनीतिशास्त्रमा प्रमाणित भएको आधा शताब्दीभन्दा बढी बितिसक्यो तर त्यस्तो पार्टीले पनि केही ताली त्यो पनि युवाको अनि एकाध सांसदको जोगाड गर्न थालेकै छ । यो पनि गजब !
र पूर्वी तराईका सीके राउत भन्छन्, ‘हाम्रो आफ्नै सेन राजा थियो तराईमा नेपाल देश बन्नुभन्दा पहिले ।’ काठमाडाैंको शासकीय धारलाई कन्पारो तताउन त यत्ति काफी हुन्छ तर यस्तो कमसल इतिहासबोधमा नतमस्तक हुन्छन् केही युवा र नेपाललाई टुक्रयाउँदा पनि फाइदा हुने ठान्छन् । सेन वंश न नेपालको तराईमा कहिल्यै रैथाने थियो, न अहिले त्यो वंशको अवशेष छ । बंगालको सेन वंश संकटले एउटा शाखा उछिट्टिएर पाल्पा पुग्यो । त्यहाँबाट पहाडिया सेन फैलिएर मकवानपुर, चौदण्डी र विजयपुर पुगेर मैदानलाई समेत कज्याउन पुगेको इतिहासतिर घोत्लिन फुर्सद नभएको कि रुचि नभएको कि या हाम्रो ऐतिहासिक बौद्धिकताको विरासतले उल्झनमा अल्झाएको ! भएको के होला ?
यहाँ प्रस्तुत उदाहरण प्रतिनिधि बन्न सक्ने सन्दर्भ हुन् जसले गम्भीर संकेतहरू गर्दै छन् । नि:सन्देह यो सिंगो समाज, मूलत: युवा पुस्तालाई गलत र भ्रान्त विचार एवं सूचनाद्वारा कठपुतली पुस्तामा रूपान्तरण गर्ने दुष्प्रयत्नको संकेत हो । यस्तो लाग्छ, सिर्जनशील बौद्धिकताको नेपाली समाजको यात्रा जिमिरगान्टे बन्दै छ र समाजमाथि हावी हुन बलात् खोज्दै छ– जीविकावाद ! सहज जीविकाको खोजी मानिस र सबै प्राणीको प्राकृतिक एवं सांस्कृतिक गुण हो, त्यो ठीक कुरा भइहाल्यो तर समाजको प्रगतिका बहुआयामबारे नसोच्ने बरु जीवनमा एक सूत्रीय एजेन्डा जीविकालाई बनाउने प्रवृत्ति जीविकावाद हो ।
विश्वका सबैजसो शासकले जति जनतालाई जीविकावादी बनाउन सके, त्यति लामो आफ्नो शासन टिकाए । पुँजीवादी व्यवस्थाले मानिसलाई झन् बढी जीविकावादी हुँदै जान बाध्य पारिरहेछ । पुँजीवादले भन्छ– आफ्नो कमाइबाट इन्सुरेन्स गर नत्र संकटमा दु:ख पाउँछौं । सामाजिक सुरक्षाका विभिन्न खोपामा आफ्नो कमाइ राख नत्र बुढेसकालमा दु:ख पाउँछौ । घर दिन्छु तर बीस/तीस वर्षसम्म किस्ता तिर्दै जाऊ नत्र बेघर हुन्छौ । आदि ।
पुँजीवादी व्यवस्थाले उपलब्ध गराउने झ्वाट्ट हेर्दाका सुविधा आम मानिसका निम्ति फाँसीको धराप हो, जुन कुनै पनि बेला उसको घाँटीमा कस्सिन सक्छ र उसको जीविका ध्वस्त हुन सक्छ । अनि आम मानिसलाई लाग्न थाल्छ किआफ्नो असुरक्षाको जिम्मेवार म आफैं हुनेछु । त्यसपछि ऊ रातदिन आफूलाई सुरक्षित गर्न जीविकालाई एक मात्र जीवन लक्ष्य बनाउन बाध्य हुन्छ ।
राज्यले कर खान्छ, शासकहरू करबाट सबै सुविधा लिन्छन् । शोषकवर्गको नाफाको हिस्सा बढ्दै जान्छ तर आम मानिस राज्य सञ्चालक र पुँजीपतिलाई भव्य जीवन दिएर आफू सधैं जीविका चलाउनमै अभ्यस्त हुँदाहुँदै जीवन बिसाउन बाध्य हुन्छ । राज्य सञ्चालक र पुँजीपतिवर्गले सामाजिक सुरक्षामा व्यक्तिगत लगानी नगरे पनि कसरी उनीहरू सुरक्षित हुन्छन् भन्नेसम्म सोच्ने बौद्धिकताका लागि पुँजीवादले आम मानिसलाई फुर्सद दिँदैन ।
नेपालमा पनि समृद्धि वा नयाँ युग सुरुवातको नारामुनि आम मानिसलाई जीविकावादको चक्रव्यूहमा धकेल्ने संगठित अभियान सुरु भइसकेको छ । सहज जीविका मानव समाजको आवश्यकता हो तर लक्ष्य होइन । मानव समाजको लक्ष्य त मानव समाजको सेवाका निम्ति सिर्जनात्मक आनन्द पो हो ।
मानव र पशुबीचको मूल अन्तर यही हो । पशुजगत्को जीवन लक्ष्य जीविका हो भने मानिसका निम्ति जीविका सिर्जनाका लागि भर्‍याङ हो । आजसम्मका शोषकवर्गीय व्यवस्थालाई अध्ययन गर्दा यस्तो चित्र देखिन्छ कि आम मानिसलाई जीविकामै संकटग्रस्त बनाएपछि उनीहरू नयाँ नयाँ कुरा सोच्न फुर्सद पाउँदैनन् । जीविकालाई थप सहज बनाउने पुँजीवादी व्यवस्थाले पनि त्यही परम्परालाई नयाँ रूपमा अभ्यास गरिरहेछ अर्थात् आम मानिसलाई जीविकामा सुविधा थप्ने तर सुविधाजनक जीविकाभन्दा अतिरिक्त चिन्तन गर्न नभ्याउने अवस्थाले घेराबन्दी गर्ने । समाजको जीविका सहज बनाउन लाग्नु र आम समाजलाई जीविकाका निम्ति मात्र बाँच्न बाध्य बनाउनु एउटै कुरा हैन ।
मानव इतिहासमा तिनै मानिसले समाजलाई गुणात्मक ढंगले अगाडि बनाउन सकेका छन्, जसले जीविकालाई मात्र जीवनको लक्ष्य बनाएनन् । जीविकालाई मात्र जीवनको लक्ष्य बनाउँथे भने वेदहरू रचना हुँदैनथ्यो, गौतम बुद्ध, जिसस क्राइस्ट, हजरत मोहम्मद, महावीर, माक्र्स, आइन्स्टाइन, गान्धी, योगमाया वा सहिद गंगालालहरू कोही पनि हुँदैनथे । यी सबै महास्त्री–पुरुषको प्रयत्न सारमा यही सत्य बुझाउन थियो कि जीविका मात्र जीवन होइन, अझ जीविकालाई समेत सहज बनाउन नवीन बौद्धिक सिर्जनात्मक अभ्यासमा लाग्नुपर्छ । त्यस अभ्यासमा अघि बढ्दा कष्ट किन नहोस् तर बेहोर्नुपर्छ ।
यसप्रकार मानव समाजको प्रत्येक युग र समाजमा जीविकावादमा आम जनतालाई लती बनाउनु शोषकवर्गको मुख्य हतियार रह्यो । त्यसविरुद्ध सबै कष्ट बेहोरेर विद्रोह गर्नु त्यस युग र समाजका मुठ्ठीभर बौद्धिकले विकृत यथास्थितिविरुद्ध चालेको क्रान्तिकारी कदम थियो । इतिहासमा धेरैजसो समाजका बौद्धिकहरू जीविकाको साधारण समस्याबाट मुक्त थिए । त्यो स्वाभाविक थियो ।
जीविकाको उल्झनमै किचिएर नयाँ अनुसन्धान र सिर्जन–तपस्या सजिलो थिएन, हुँदैन । जीविकाको समस्याले ग्रस्त हुनुपरेका बौद्धिकहरूले पनि असाधारण योगदानका निम्ति आफूलाई लगाइरहे । जीविकाको कठिनतम पीडादायी मोड बेहोरेर समेत लागिपरिरहने सिर्जनशील ‘पालगपन’ मानव समाजको आजसम्मको वास्तविक बौद्धिकको स्तुत्य बिम्ब हो । नेपाली समाजले आज फेरि एकपल्ट यस्तै सिर्जनशील ‘पागलपन’ भएका बौद्धिकहरूको आवश्यकता महसुस गरिरहेछ, अरण्य रोदनबीच उनीहरूलाई खोजिरहेछ ।
जब आम मानिसले बाध्यतावश जीविका नै जीवन लक्ष्य बेहोर्ने कष्टप्रद र आलस्यमय सिलसिला चल्छ अनि शासकहरू त्यसैमाथि चढेर तमाम सिर्जनाका द्वारलाई कुण्ठित गर्ने योजनामा अभ्यस्त हुन्छन् । त्यति बेला बौद्धिकहरूको जन्म हुन्छ र नयाँ बौद्धिक जागरणको अभियान सुरु हुन्छ । बौद्धिक जागरणबिना गलत यथास्थितिको विकल्प र परिवर्तनको व्यावहारिक प्रक्रिया प्रारम्भ हुन सक्दैन । नेपाली समाज आज ठीक यही कष्टकर चेरिनेटीमा अन्योलग्रस्त उभिएको छ ।
यस्तो कष्टकर चेरिनेटीबाट यात्रा प्रारम्भ गर्न एकपल्ट विगतको बौद्धिक जागरणको उत्प्रेरणालाई थोरै भए पनि नियाल्नु ठीक हुन्छ । आजको नेपाल सरहदभित्र धेरै ठूला साना राजनीतिक–सांस्कृतिक जागरणका बौद्धिक अभियान भएकै पाइन्छन् । गौतम बुद्धदेखि सहलेस, दिनाभद्री हुँदै श्रीजंगा, घण्टाकर्ण र महाकालीपारिका जंगबहादुर राणाकालीन बलदेव शाहीसम्म सयौं जागरणका बौद्धिक क्रियाकलाप श्रुति र इतिहासमा धेरथोर जीवित छन् ।
ती सबैबारे संवाद यस संक्षिप्त आलेखमा सम्भव छैन तर दक्षिण एसिया पुँजीवादी लोकतन्त्रको लडाइँको युगमा प्रवेश गरेपछि नेपालमा बौद्धिक जागरणको भने चर्चा गर्न सम्भव छ । त्यतिबेला दुई पात्र सबैभन्दा प्रखर रूपमा अगाडि आउँछन् । एक, पूर्वबाट योगमाया र पश्चिमबाट जयपृथ्वीबहादुर सिंह । योगमायाको उत्प्रेरणा स्रोत भारतमा विकसित भएको जोसमनी सन्त पन्थ वा उदार एक हिन्दु धार्मिक मत थियो भने जयपृथ्वीबहादुर सिंहको उत्प्रेणाचाहिं ब्रिटिसहरूले भारतमा ल्याइपुर्‍याएको सामन्तवाद विरोधी पुँजीवादी स्वतन्त्रता, समानता र भ्रातृत्वको अवधारणा ।
यी दुवै बौद्धिक अभियन्ता नेपालको शासकीय धारसँग जुध्दा पराजित भएर आआफ्नो ढंगले पलायन भए । योगमायाले जलसमाधि लिइन् । जयपृथ्वीबहादुर सिंह प्रवासिए । उनीहरू आधुनिक लोकतान्त्रिक युगका सखारै बास्ने पक्षी हुन् तर समाज जागरणका बौद्धिक अभियन्ताको स्तरमा आफूलाई निरन्तरता दिन उनीहरूले सकेनन् ।
राणा नेतृत्वको सामन्तवाद विरोधी अभियानदेखि लोकतान्त्रिक र कम्युनिस्ट दुवैखाले बौद्धिक अभियान ठोस योजनासहित अगाडि बढ्यो । विसं १९९०हाराहारीबाट नेपाली समाजमा अगाडि बढेको आधुनिक बौद्धिक जागरणको प्रेरणा स्रोत के थियो ? एक, भारतीय स्वतन्त्रता संग्राम । दुई, रूसी अक्टोबर क्रान्ति । भारतीय स्वतन्त्रता संग्रामको रणनीति उपनिवेशबाट आजाद हुने थियो । व्यवस्थागत राजनीतिक कार्यक्रमचाहिं ब्रिटिस मोडेलकै लोकतन्त्र अर्थात पुँजीवादी व्यवस्था स्थापना गर्नु थियो ।
गान्धी पन्थ दार्शनिक रूपमा त्यस संग्रामको संयोगमय गहना थियो । माधवराज जोशीदेखि विश्वेश्वरप्रसाद कोइराला आदि धेरैजसो भारतीय स्वतन्त्रता संग्राममा सशरीर भाग लिएका वा त्यहाँ पढ्न लगायत काममा जाँदा स्वतन्त्रता संग्राम देखेका व्यक्तिहरू नै आफ्नो देशमा पनि खराब शासन फाल्ने प्रेरणा लिएर आएका थिए ।
गलत सत्ताविरुद्ध सत्ताधारी वर्गकै प्रगतिशील हिस्सा सुरुमा लाग्ने यथार्थबाट हेर्दा वा त्यतिबेला भारत गएर पढ्न सत्ताधारी वर्गकै मान्छेबाट मात्र सम्भव हुने परिस्थितिका कारण भारतीय स्वतन्त्रता संग्रामबाट प्रभावित भएर नेपालमा क्रान्तिकारी बौद्धिक अभियान चलाउन आउने अधिकांशले राजनीति आफ्नै वर्गको अर्थात नयाँ शोषक पुँजीपति वर्गको रोजे । प्रजापरिषद्, राष्ट्रिय कांग्रेस र पछि नेपाली कांग्रेस सबैको राजनीतिक व्यवस्थासम्बन्धी कार्यक्रममा राणा परिवार नेतृत्वको सामन्तवादको विरोध छ र स्वतन्त्रताको आकांक्षा व्यक्त छ । सामन्तवादको कुण्ठनबाट केवल स्वतन्त्रताको आकांक्षा भनेको पुँजीवादी व्यवस्थाको आकांक्षा मात्र हो ।
भारतीय स्वतन्त्रता संग्रामको प्रेरणाबाट नेपालमा अघि बढेको यस बौद्धिक जागरणको धारले राणा नेतृत्वको सामन्तवादी राजनीतिलाई ध्वस्त बनाउन आम जनतामा जागरण ल्यायो । पछि २०१५ सालको आम निर्वाचनमार्फत दुई तिहाइ चुनावी जनमत प्राप्त गर्ने राजनीतिक अवस्थासम्म त्यो विकसित भयो । त्यस धारले सानदार ढंगले नेपालको सामन्तवादको एउटा मुख्य मेरुदण्ड ‘क’ वर्गको बिर्ता उन्मूलन गर्न साहसिक कानुन २०१६ सालमा पारित गर्‍यो ।
२०१७ सालपछि राजा नेतृत्वको पञ्चायत व्यवस्था हावी हुँदैनथ्यो भने बीपी नेतृत्वको यो धारले के के गथ्र्यो समाजलाई अगाडि बढाउन ? अहिले गरिने अन्दाजको खासै अर्थ छैन । यो धारको बौद्धिकीको केन्द्रमा बीपी रहँदासम्म उनी मात्र थिए । कम्युनिस्टहरूको तत्कालीन समाजवादको विकल्पमा टिटो हुँदै भारतकी इन्दिरा गान्धीसम्मले प्रचारमा ल्याएको प्रजातान्त्रिक समाजवाद यो धारको बौद्धिकीको राजनीतिक सपनाका रूपमा प्रचार भयो । भारत स्वतन्त्र भएसँगै उपनिवेशवादविरोधी चेतनाको खास व्यावहारिक अर्थ रहेन । गान्धी पन्थमा गान्धीनिकट राजनीतिज्ञसमेत हिँड्न चाहेनन्, नेपालीको कुरै भएन ।
गान्धी पन्थको सार अहिंसा थियो तर स्वतन्त्रतापछि भारतीय सत्ता मस्त हिंस्रक बन्नु यस तथ्यको ज्वलन्त प्रमाण हो । यस धारको बौद्धिकीको नाभि व्यक्तित्व बीपीको मृत्युसँगै त्यो धारको बौद्धिकी केवलआफ्नो वर्गको सत्तास्वार्थमा सीमित हुन पुग्यो । निष्कर्षमा भन्न सकिन्छ– भारतीय स्वतन्त्रता संग्रामबाट उत्प्रेरित बौद्धिक जागरणको सामन्तवादविरोधी पुँजीवादी नेपाली धार बीपीसँगै अस्तायो । त्यसपछिका यस धारसँग सम्बन्धित बौद्धिक खेलोफड्को कुनै नयाँ जागरणको विषय रहेन, बरु मात्र राजनीतिक सत्ता र भोगविलास प्राप्तिको साधारण नित्यकर्ममा सीमित रह्यो ।
अब चर्चा गरौँ सन् १९१७ को रूसी अक्टोबर कम्युनिस्ट क्रान्तिद्वारा उत्प्रेरित भई नेपालमा बौद्धिक जागरण ल्याउने धारको । पुष्पलाल श्रेष्ठको नेतृत्वमा २००६ सालबाट अगाडि आएको यस बौद्धिक जागरणको गुदीमा विचारधारा थियो अर्थात् माक्र्सवादी विचारधारा । रूसी अक्टोबर क्रान्तिको उत्प्रेरणासँगै चीनको नयाँ जनवादी कम्युनिस्ट क्रान्तिले त्यस उत्प्रेरणालाई तीव्र गति दिएको थियो । मानव जाति पूर्ण रूपमा समता र समानतामा आधारित समाजमा पुर्‍याउने सपनाद्वारा ओतप्रोत यस धारमा विसं. २०२० पछि समाजको विचारधारा परिवर्तन गर्न चीनमा चलेको सर्वहारा सांस्कृतिक क्रान्तिले आगामा घिउजस्तै गरी दनदनी बल्ने युवा थप्दै लग्यो ।
युरोपतिर दिशाहीन भए पनि विद्रोही चरित्रका बिटल्स समूहको संगीत र हिप्पी हलचलको प्रभावबाट जन्मिएका नेपालका विद्रोही युवा जमात पनि मार्क्सवादी अभियानमा समाहित हुँदै जाने क्रम बढ्यो । यस बौद्धिक जागरणको धारले साहित्य, संगीत, जीवन आचरणदेखि धेरै क्षेत्रमा पृथक् अस्तित्व देखाउँदै गयो । कम्युनिस्ट पार्टीहरू फुट्दै गए तर त्यो फुट थप कम्युनिस्ट जमात बढाउने सक्रियताका रूपमा प्रकट भयो । विसं. २०३५/३६ सम्म पुग्दा पञ्चायत सत्ता र प्रजातान्त्रिक समाजवादी धारसँग टक्कर दिने अवस्थामा यो धार पुग्यो ।
रूसी अक्टोबर क्रान्ति, चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति हँुदै भारतीय नक्सलवादी विद्रोहजस्ता उत्प्रेरणाले यस धारलाई वेगवान् बनायो । जब त्यो उत्प्रेरणाको नाभि सोभियत समाजवाद ढल्यो, नेपालमा त्यसद्वारा निर्मित बौद्धिक जागरणको विरासत ढल्ने क्रम तीव्र भयो । तत्कालीन माले हुँदै बनेको एमालेले त्यसपछि पुँजीवादी संसदीय व्यवस्था अंगीकार गरेको प्रस्टै छ । विसं २०४६ पछि पनि चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्तिको उत्प्रेरणासहित रूसी अक्टोवर क्रान्तिको उत्प्रेरणालाई ग्रहण गर्ने जमात थाकिसकेको थिएन ।
नेपाली समाजका आधारभूत समस्या र जनआकांक्षा पनि विस्फोट हुने चरणमा थिए जसलाई विसं ०४६ को परिवर्तनले सम्बोधन गर्न सकेको थिएन । त्यही पृष्ठभूमिमा सम्भव भयो, दस वर्षसम्मको माओवादी जनयुद्ध । दसवर्षे अल्पायुको दीर्घकालीन जनयुद्ध रूसी अक्टोबर क्रान्तिद्वारा उत्प्रेरित नेपालको माक्र्सवादी बौद्धिक जागरणको आधा शताब्दीभन्दा लामो यात्राको सांगे बन्न पुग्यो । माओवादी जनयुद्ध थप अगाडि बढेको भए वा त्यसको नेतृत्व डफ्फाले पुँजीवादी व्यवस्थासमक्ष आत्मसमर्पण नगरी नयाँ यात्रा जारी राखेको भए यो धारबारे थप चिन्तन जरुरी हुन्थ्यो तर माओवादी आन्दोलनको नेतृत्व डफ्फा पुँजीवादको अंग बन्न पुगेकाले सन् १९१७ को रूसी अक्टोबर कम्युनिस्ट क्रान्तिवाला उत्प्रेरणाको बौद्धिक जागरणको सीमा यतिमै सीमाधिस्थ हुन पुग्यो ।
आज सत्ताबाहिर रहेका कम्युनिस्ट समूह नयाँ जागरणको बाटो खोज्दै छन् । सत्ताधारी धारमा रमाएका कम्युनिस्ट नामका समूह बीपी कोइरालाको मृत्युपछिका कांग्रेसजनजस्तै वैचारिक लक्ष्यहीनताको हालतमा निरीह बन्न पुगेका छन् । यसबाट पनि यस धारको समाधिस्थ स्पष्टै हुन्छ । यसप्रकार नेपाली समाजमा असी वर्षदेखि बौद्धिक जागरण ल्याउने भारतीय स्वतन्त्रता संग्राम र विश्व कम्युनिस्ट क्रान्तिको उत्प्रेरणाको धकेल्ने क्षमता अन्त्य भइसकेको प्रमाणित हुन पुग्छ ।
मार्क्सवाद, गान्धी पन्थ वा अरू पनि दार्शनिक वा राजनीतिक सिद्धान्त र मतहरूको आयु अन्त्यको अर्थमा यो निष्कर्ष होइन, बरु ती विचारमा आधारित ठूला विद्रोहले नेपाली समाजमा ल्याएको बौद्धिक जागरणको उत्प्रेरक सामथ्र्यको सीमा मात्रै यहाँ आकलन गरिएको हो । आधुनिक लोकतान्त्रिक नेपाली समाजको बौद्धिक जागरणका सन्दर्भमा यी दुई धारबारे चर्चा देख्दा प्रश्न उठ्छ, के बौद्धिक जागरणका अरू आयाम नेपालमा विगत सत्तरी वर्षमा थिएनन् ? केही अपवाद बौद्धिक व्यक्तित्वका वैचारिक प्रयत्न थिए तर जागरणको स्तरमा हुन सकेनन् ।
पञ्चायत व्यवस्थाले हिन्दु उच्च जातीय पहाडिया पुरुषप्रधान सामन्तवादी बौद्धिकताबाट समाजलाई प्रशिक्षित गर्‍यो । राजा महेन्द्रको नेतृत्वमा त्यस व्यवस्थाले गहिरो मेहनत गर्‍यो र त्यसद्वारा नेपाली समाजमा भाषिक, क्षेत्रीय, लिंगीय, जातीय, धार्मिक र वर्गीय शोषण–उत्पीडनलाई निरन्तरता दिने वा नयाँ समयमा झन् गहिरो बनाउने काम गर्‍यो । त्यो बौद्धिक जागरण थिएन । यस धारमा योगी नरहरिनाथजस्ता उच्चस्तरीय चिन्तक पनि देखा परे । पुरानो खराब व्यवस्थालाई दीर्घजीवी बनाउन गरिने मेहनत जागरण कसरी हुन सक्थ्यो र ?
विविध सभ्यताका जनजाति समाज र तिनको ज्ञान परम्परामा आधारित भएर पनि नयाँ बौद्धिक जागरण हुन सम्भव थियो तर उनीहरूमाथि उपेक्षा, दमन र तिनी स्वयम्को कमजोर चेतनास्तरले त्यताबाट मौलिक वैकल्पिक बौद्धिक जागरण अभियान सम्भव हुन सकेन । आधुनिक विश्वमा विश्वविद्यालय पनि बौद्धिक जागरणको थलो भएका छन् । नेपाल यो सौभाग्यबाट पनि वञ्चित रह्यो ।
अमेरिकी साम्राज्यवादी बौद्धिकी र परम्परागत नेपालको डोरबहादुर विष्टको भाषामा भन्दा ‘बाहुनवादी’ शासकीय तजबिजको विश्वविद्यालय शिक्षा लेख्न र पढ्न जान्ने तर सामाजिक आवश्यकताका निम्ति धेरै गर्न नजान्ने जमातनिर्माणमा गिर्न पुग्यो । खास विचारधारामा आधारित राजनीतिमा समावेश नभएको व्यक्ति विश्वविद्यालयबाट प्राज्ञिक भएर निस्कँदा सिर्फ जीविकावादी भएर जीवन बिताउने दुर्भाग्य लामो समयसम्म र सायद अहिलेसम्म मूलत: जारी छ ।
पञ्चायत व्यवस्थाको विकट समयमा केही असाधारण बौद्धिक नेपालमा प्रकट भए जसले समाजलाई अघि बढाउन गम्भीर तथ्यसंगत निष्कर्ष अघि सारे । त्यतिबेलाको शासनले तिनको तथ्यसहितको निष्कर्षलाई बेवास्ता गर्‍यो, त्यो बेग्लै विषय हो । ती थिए महेश रेग्मी र डोरबहादुर विष्ट । रेग्मीले नेपाली समाजको मूल उत्पादन थलो भूमिको मुद्दालाई दरो उत्खनन गरेका थिए भने विष्टले समग्र नेपाली समाजको गतिहीनताको गुदी बाहुनवादलाई । यी दुई अप्रत्यासित बौद्धिकलाई पञ्चायतले मात्र होइन, तत्कालीन परिवर्तनकर्मीले समेत खासै ध्यान दिएको देखिँदैन ।
अहिले केहीले महेश रेग्मीको नाम उल्लेख गर्न थालेका छन् तर उनको भूमि मुद्दाको समय गुज्रिसकेको छ । डोरबहादुर विष्टको पनि सम्झना हुन थालेको छ, उनको निष्कर्षको औचित्य बाँकी छ तर त्यो निष्कर्षलाई बोक्ने जमात धुमिल छ ।
नेपाली समाजमा एउटा नयाँ बौद्धिक जागरणको आवश्यकता टड्कारो बन्न पुगेको यथार्थ स्पष्ट छ । त्यस्तो जागरणका निम्ति हिजोको जस्तो न कम्युनिस्ट क्रान्तिहरूको उत्प्रेरणा आज छ, न त उपनिवेशवादविरोधी आन्दोलनको उत्प्रेरणा । थाइल्यान्ड, भेनेजुयला, फ्रान्स, अमेरिकाको वाल स्ट्रिट आदि स्थानमा बेलाबेला प्रकट हुने जनप्रदर्शन नयाँ पुस्तालाई युगान्तकारी सपनातिर धकेल्ने स्तरका छैनन् । त्यसको एउटा मूल कारण तिनमा दूरगामी दर्शन, सिद्धान्त र राजनीतिक व्यवस्थाको बीउ नै छैन, असन्तुष्टि मात्र छन् । दुनियाँको यस्तो सुक्खा माहोलमा नेपालमा नयाँ बौद्धिक जागरण निकै कठिन हुने स्वत: सिद्ध छ तर नयाँ पुस्ता र न्यायप्रेमीका अगाडि त्यस दिशामा अघि बढ्नुको विकल्प पनि छैन ।
नेपालमा बौद्धिक, बुद्धिजीवी, चिन्तकजस्ता पदावलीले ओगट्ने अर्थहरूबारे बुझाइमा थुप्रै समस्या छन् । बुद्धिजीवी त्यो हो, जो बनिबनाउ ज्ञान अरूलाई बाँडेर वा त्यसका आधारमा जीविका गर्छ । चिन्तकले खास विषयमाथि नयाँ प्रश्न र नयाँ उत्तरहरूको संश्लेषण गर्छ, जीविकासँग उसको वैचारिक मन्थन प्रक्रियाले खास मतलव राख्दैन । चिन्तकले कुनै विषयमा निकालिएको निष्कर्षलाई लागू गर्ने कार्यभारको बोझ भने आफू बोक्दैन । बौद्धिकले मूलत: तीनवटा कार्यभार अनिवार्य पूरा गर्छ ।
एक, खास विषयमा नयाँ सिद्धान्त अनुसन्धान गर्छ, नयाँ निष्कर्षहरू प्रतिपादन गर्छ अर्थात् चिन्तकले गर्ने कार्य गर्छ । दुई, विद्यमान दर्शन र सिद्धान्तहरूमा समयानुकूल परिमार्जनका निम्ति सधैं आफूलाई जागरुक बनाइराख्छ र तीन, ती आविष्कारित वा परिमार्जित सिद्धान्तद्वारा समाज र प्रकृतिमा परिवर्तन ल्याउन संगठित रूपमा आवश्यकतानुसार जतिसक्दो बढी मानिसलाई परिचालित गर्न लागिपर्छ ।
केहीले भन्ने गर्छन्, ‘बौद्धिकहरूको संगठन हुन सक्दैन, उनीहरू संगठित भएर बाँधिन सक्दैनन् । बथान भेडाको हुन्छ, सिंहको हुँदैन । बौद्धिकहरू सिंह हुन् ।’ यो भनाइ प्रकृतिमा हुने सोझो क्रियाकलाप हेर्दा पनि गलत छ किनभने सिंहले संगठित रूपमा सिकार गर्छ । प्रतीकात्मक रूपमा पनि बौद्धिकहरूबारे यो प्रस्थापना गलत देखिन्छ । विगत तीन हजार वर्षको इतिहासलाई अध्ययन गर्दा पनि काफी हुन्छ । गौतम बुद्ध, शंकराचार्यहरू, महावीर, जिसस क्राइस्ट, हजरत मोहम्मद, नानक वा कार्ल माक्र्स यी सबै आफ्नो युग र समाजका महानतम बौद्धिक थिए । तिनीहरू आफ्नो समयमा संगठित थिए ।
आफ्नो निष्कर्षलाई संगठित रूपमा अगाडि नबढाएका भए उनीहरूको विचार आइपुग्नै सक्दैनथ्यो । संसारमा कुनै पनि परिवर्तन सम्भव भएको छ जब त्यस समयका सर्वोत्तम बौद्धिकहरू सबै प्रकारको कष्ट उठाएर आम मानिसलाई परिचालन गर्न तम्सिएका छन् । ठूलाठूला राजनीतिक वा अन्य सकारात्मक परिवर्तनका नेताहरू आधारभूत रूपमा बौद्धिकसमेत भएर मात्र त्यो सम्भव भएको भन्ने स्पष्ट छ । के सही हो भने कुनै आम मानिस जस्तै कुनै चिन्तक आफ्नो व्यक्तिगत वा तत्कालीन अन्य वातावरणका कारण संगठित नहुन सक्छ । संगठित रूपमा अघि नबढ्ने ज्ञानी व्यक्ति चिन्तकका रूपमा श्रद्धेय नै हुन्छ, चिन्तकहरू समाजका खराब तत्त्व हुँदैनन् । तर बौद्धिक हुनु भनेकै संगठित नहुनु हो भन्ने परिभाषा सही होइन ।
नेपालको शासकीय धार आज नेपाली समाज र नयाँ पुस्ताको भविष्यलाई दिशाहीन ढंगले उडाउन कम्मर कसेर लागेको छ । यस्तो लाग्छ, नेपाली समाज र जनता चंगा हुन् । शासकहरू चंगा उडाइरहेका छन् जसलाई चंगाको जीवन र मृत्युसँग सरोकार छैन, चासो केवल आफ्नो मनोरञ्जनको छ । यही चालामा विश्वव्यापी रूपमा पुँजीवादी व्यवस्था विनाशकारी लीलामा छ । यस्तो परिवेशमा जबरजस्त वैकल्पिक वैचारिक जागरणका निम्ति सबैभन्दा चिन्तन गर्ने मानिसले, चिन्तकहरूले आफूलाई ऐतिहासिक रूपमा बौद्धिकको स्तरमा उठाउने जोखिम मोल्नैपर्छ । यस समयको सबैभन्दा बढी बुद्धि विकास गर्ने अवसर पाएका र सबैभन्दा बढी संवेदनशील चिन्तकहरूले सबैभन्दा बढी बौद्धिक जागरणका निम्ति साहस गर्नुपर्ने हैन ? अनिवार्यत: नयाँ युगको नयाँ युगान्तकारी परिवर्तनका निम्ति नयाँ बौद्धिक जागरण सुरु हुनैपर्छ ।
प्रकाशित : kantipur, माघ २७, २०७५ ०७:४४

Societies of Nepal

 Societies of Nepal  Nepali society is incredibly diverse, shaped by over 142 distinct ethnic groups and multiple religious beliefs that oft...