Monday, June 10, 2019

स्वस्थानीको सपाट समाजशास्त्र

स्वस्थानीको सपाट समाजशास्त्र
माघ २६, २०७५सीमा आभास
काठमाडौँ — म हिन्दु हुँ । हिन्दुदर्शन, हिन्दु देवदेवी, तीर्थ, व्रत र अनुष्ठानसँग श्रद्धा छ । साथै गहिरो रुचि र चासो छ ।
हिन्दु आस्थासँग जोडिएर आउने कतिपय कथा र मान्यताहरू समसामयिक अवस्थामा मान्य नहुने खालका छन् । म एक हिन्दु भएको हुनाले त्यस्ता कथा र विषयलाई समयसापेक्ष परिमार्जन गरिनुपर्छ भन्ने लाग्छ । जीवनसापेक्ष धर्म, आस्था र व्रतका विधिविधानलाई परिवर्तन गरेर सहज बनाउन पाइने हिन्दुशास्त्रको मान्यता पनि हो । त्यही मान्यताको जगमा टेकेर स्वस्थानी कथाका बारेमा टिप्पणी उठाएकी छु ।
‘स्वस्थानी कथा भन्न जानेपछि पढ्न जानिन्छ’ गाउँमा बूढापाकाहरूले यसै भन्थे । स्वस्थानी पढ्ने लय र यसको संगीत खुब मजा र आनन्द लाग्दो छ । लय मिलाएर पढ्दा स्वस्थानी पढ्न र सुन्न मजा आउँछ । यसको संगीतले आनन्द दिलाउँछ ।स्वस्थानीको पूजा गुराँस फुल्ने समयमा हुने हुनाले गुराँसको फूल पानी–डोकामा ल्याइन्थ्यो । माला उनिन्थ्यो । बडो गजब लाग्छ । सम्झँदा पनि । रातभरि जाग्राम बस्दा खान पाइने सयरोटीको जस्तो मीठो स्वाद अरू केहीको छैन । हुन त पूजापाठमा खान पाइने प्रसादको स्वाद बेग्दै मीठो हुन्छ । त्यसरी खानुको आनन्द अद्भुत लाग्छ यद्यपि । रातभरि जाग्राम बसेर गाउँभरिका मान्छे भेला भएर नाचगान गर्नु, कथा भन्न तँछाड–मछाड गर्नुको मजा अरूमा कहाँ थियो र । नटुटाई, नबिगारी कथा भन्न सक्ने भएपछि सान पनि अलिक अर्कै हुन्थ्यो । पढ्न जान्ने छे । निकै ट्यालेन्ट छे भनेर पढाइको मूल्याङ्कन गर्थे छिमेकीले । स्कुलको रिजल्टभन्दा स्वस्थानी पढ्न जानेपछि छिमेकीले दिएको प्रतिक्रिया लाख गुना ठीक लाग्थ्यो, जसको घरमा स्वस्थानीको किताब छ । पौषशुक्लपक्षभरि कम्तीमा एक पटक पढेर सक्नुपर्छ भन्ने मान्यता छ । यसरी हेर्दा किताब भएको घरमा वर्षमा एक पटक पूरै किताब अनिवार्य पढ्छन् ।
रामायण, महाभारतभन्दा पनि बढी सुनिएको र पढिएको पुस्तक स्वस्थानी नै होला । एक जना मेरी हजुरआमा हुनुहुन्थ्यो क–ख पनि नचिन्ने । उहाँ हरेक वर्ष स्वस्थानी व्रत लिनुहुन्थ्यो । हामीजस्ता भुरालाई किताब पढ्न दिनुहुन्थ्यो । ध्यानपूर्व सुन्नुहुन्थ्यो । कहीँ गल्ती भए थाहा पाइहाल्नुहुन्थ्यो । अनि सच्याइदिनुहुन्थ्यो । उहाँले पढेर, हेरेर कथा जानेको होइन । वर्षौंदेखि सुनेर कथाका शब्दशब्द कण्ठ भएको हो । निरक्षरहरूले पनि शब्दशब्द थाहा पाउने सरल र मिजासिलो शैलीमा कथा बुनिएको छ । व्रतको महिमासँगै स्वस्थानीका चाखलाग्दा कथाहरू यसका अर्का पाटा हुन् । कथा सुरु गर्नुअघि र कथा सकिएपछि पढिने शास्त्रीय छन्दमा भएका ती मन्त्र पढ्नुको अर्को आनन्द अद्भुत नै छ । आजभोलि त्यसको संगीत विधिविधानले मात्र ध्यान तान्दैन त्यसभित्रको कथाले पनि त्यतिकै ध्यान तानिरहेको हुन्छ । कथाभित्रका कथाका अन्तरभाव र कथाले राखेका अपेक्षाका बारेमा पनि सोच्न बाध्य बनाउँछ ।
मानिसको चेतनाको अवस्थासँगै धार्मिक आस्था र त्यसभित्रका कथाका विषय र दैनिक जीवनसँग जोडिएर आउने कथाका प्रसंगहरूमाथि जिज्ञासा, प्रश्न, मत र अभिमत रहनु स्वाभाविक कुरा हो । एक समयमा मान्य भएको कुरा अर्को समयमा असान्दर्भिक हुन्छ । सामाजिक मान्यतासँगै कथाले परिवर्तनको अपेक्षा गरेकै हुन्छ ।
स्वस्थानी कथा उवाच:
यो व्रत खासगरी नेपाली महिलाहरूको मौलिक व्रतको रूपमा लिइन्छ । स्वस्थानीका किताबहरू पनि व्यापारिक हिसाबले विभिन्न प्रकाशक र सम्पादन गरेर कथालाई तलमाथि पारेर छापिएका पुस्तकहरू बजारमा छन् । किताबैपिच्छे भाषा र शैली पनि फरक देखिन्छन् । सम्पादक र प्रकाशक फरक परेपछि भाषा शैली फरक पर्नु स्वाभाविक कुरा छ । यसबाट भन्न सकिन्छ स्वस्थानीको कथा समय काल सम्पादकको सोचअनुसार तोडमोड र फरक पार्न सकिने रहेछ ।
स्वस्थानी कथामा कतै न कतै शिवपार्वतीलाई पात्र बनाएर तयार पारिएका कथा छन् । केही पत्यार लाग्ने । केही पत्यार नलाग्ने कथा छन् । कथाका प्रसंगहरू टुटेका र कथामा उल्लिखित समय र काल नमिल्ने प्रसंग थुप्रै छन् । स्वस्थानी कथाको मुख्य थिम भनेको नारी जाति त्यागी, चरित्रवान, आफूलाई गौण ठानेर अरूको सेवामा लीन रहने हुनुपर्छ भन्ने नै हो ।कथा लेख्दाको मुख्य उद्देश्य हुन्छ, कुनै पनि काल्पनिक कुरालाई ‘हो’ जस्तो बनाएर मान्छेभित्र विश्वास जगाउनु । त्यो विश्वास जगाउन त्यस समाजमा रहेको जीवनशैलीभित्र पसेर कथालाई बुन्नुपर्ने हुन्छ । ती कथाहरूलाई जिउँदो जाग्दो पार्नका लागि मान्छेको आस्थासँग लगेर जोडिदिनुपर्छ । पुराण, स्वस्थानीजस्ता जेजति व्रतहरू छन्, ती सबै आस्था हुन् । ती आस्थालाई पनि बेलाबेलामा ब्युँझाउन र जिउँदो जाग्दो पार्नका लागि व्रतले मुख्य भूमिका खेलेको हुन्छ ।
कथालाई विश्वासयोग्य बनाउनका लागि ब्रह्माण्ड, तारामण्डल, नक्षत्र, सौरमण्डल, जीवन, जगत्, स्वर्ग, नर्क, मत्र्य, पाताल, नदीनाल, समुद्रजस्ता शाश्वत विषयसँग काल्पनिक कथालाई जोडिएको हुन्छ । कथाका पात्रहरूमा स्वयं भगवान्लाई पात्र बनाएर उभ्याएपछि जम्ल्याहा हात जोडेर सुन्ने र मनन गर्ने विषय बन्छन् ।स्वस्थानी कथाको पहिलो अध्यायमा सृष्टिको उत्पत्ति कसरी भयो भनेर व्याख्या गरिएको छ । यद्यपि विज्ञानलाई सृष्टि, ब्रह्माण्डको उत्पत्ति कसरी भयो भनेर टाउको दुखाइको विषय बनिरहेको छ । स्कन्द पुराणले सृष्टि उत्पत्तिको विषयमा विस्तृत रूपमा चर्चा गरेको छ । ब्रह्माको उत्पत्ति, ब्रह्माण्डको सृष्टि, त्रिदेवको उत्पत्ति, अहंकारको उत्पत्ति, जीवात्माको उत्पत्ति, रजो, तमो, सत्त्वगुणको उत्पत्ति, पञ्चमहाभूतको उत्पत्ति, पाँच ज्ञानेन्द्रिय र पाँच कर्मेन्द्रियको उत्पत्ति, पञ्चतत्त्वको उत्पत्ति, जगत्को उत्पत्ति र संहारजस्ता विषयहरूको वर्णन आम मान्छेले बुझ्ने भाषा र शैलीमा तयार पारेको छ । भाषासँग सिर्जना जोडिएर आउँछ । सिर्जनाले धारणा निर्माण गर्न मद्दत गर्छ । बुझिने र सलिल भाषमा तयार पारिएका सामग्री धर्मसँग जाडिएर आएपछि बिनाआलोचना र बिनापूर्वाग्रह आम मान्छेको जीवनमा सत्य बनेर स्थापित हुन्छन् । आस्थासँग जोडिएर आएको स्थापित रूप स्वस्थानी कथा भएको देखिन्छ । स्वस्थानी व्रतकथा तिनै आममान्छेहरूका लागि तयार पारिएको मान्न सकिन्छ । यो कथा मानव सभ्यतासँगै नदीहरूको किनारबाट सुरु
भएको भनिन्छ । मानवसभ्यताभन्दा पनि पुरुषसत्ताले महिलामाथि शासन गर्ने परिपाटीको विकाससँगै यस्ता कथाहरूको विकास भएको पुष्टि यिनै कथाले गर्छन् ।
यी कथाहरू हिन्दु नेपाली समाजको विवाह परम्परालाई मजबुत ढंगले अगाडि बढाउनका लागि तयार पारिएको जस्तो देखिन्छ । हरेक कथा खण्डमा विवाहका प्रसंग आउँछन् । वैवाहिक सम्बन्धलाई निर्वाह गर्न हरेक नारीपात्रले बडो कठोर परिस्थितिको सामना गरेका छन् । सामना गर्नका लागि पापको डर देखाइन्छ । आज पनि नेपाली हिन्दु समाजमा विवाह संस्थाले स्त्रीजातिबाट सधैं त्याग, स्याहारसुसार, विवाह र त्यससँग जोडिएर आउने नातालाई निर्वाह गर्न कठोरभन्दा कठोर परिस्थितिको सामना गर्नुपर्ने, आफ्नो व्यक्तिगत जीवनको पर्वाह गर्नु नहुने, भक्तिभावयुक्त, आदर्शयुक्त स्त्रीको अपेक्षा गरेको हुन्छ । र, त्यही मनोविज्ञानलाई मजबुत बनाउने सामाजिक र धार्मिक नियमहरू प्रतिपादन गरेको छ । पुरुषको हकमा वैवाहिक सम्बन्ध निर्वाह गर्ने माध्यम हो । पुरुषले वंशपरम्परालाई, पराक्रमलाई र स्वयं आफूलाई केन्द्रमा राखेर कर्म गर्नुपर्ने मनोविज्ञान तयार पारेको छ ।
स्वस्थानी व्रत र कथा पनि त्यस्तै एउटा आस्था र विश्वासको संगमको रूपमा उभ्याइएको छ । हरेक समाजमा पौराणिक कथा, आस्था र व्रतका अनेकन असल कुराहरू छन् । असल मात्र छैनन्, समय असान्दर्भिक विषय पनि सँगसँगै हिँडेर आएका हुन्छन् । कथामा भनिन्छ— यो संसारको सृष्टि हुँदा परब्रह्मा शिवको इच्छाले ब्रह्मा, विष्णु, रुद्र प्रकट भए । यी त्रिगुणमयी पराशक्तिबाट भगवती, महामायाको उत्पत्ति भयो । ती महाशक्तिलाई कसैले पनि वशमा राख्न सक्तैन । ती आदिशक्तिको रूप स्वस्थानी हो । स्वस्थानी व्रतकथाको मूल सार स्कन्दपुराणको केदारखण्डअन्तर्गत स्कन्दकुमार र अगस्त्यमुनि ऋषिबीचमा भएको संवादको रूपमा लिइएको छ । ३१ वटा अध्यायमा रहेको यसका मूल कथाभित्रका अन्तर्कथाहरू, सृष्टि उत्पत्ति, दैत्य र देवताहरूका बीचमा भएको लडाइँ, महादेव र सतीदेवीको कथा, सतीदेवीको अंग पतन भएको स्थानमा शक्तिपीठहरूको उत्पत्ति, हिमालय पर्वत र मेनकाको गर्भबाट पार्वतीको जन्म र महादेवसँगको विवाह प्रसंग, स्वस्थानी व्रतको पूजाविधि, पार्वतीको कन्यादान, जालन्धरलाई मार्न विष्णुले वृन्दाको पतिधर्म नष्ट गरेको, वृन्दाले विष्णुलाई श्राप दिएको, स्वर्ग र पातालका कथाप्रसंग छन् ।
तेस्रो खण्डमा अष्टप्रजापति नाम गरेका आठ जना प्रजापति थिए । तिनीहरूमध्ये दक्षप्रजापति एक थिए । आदिशक्ति दुर्गादेवी सतीदेवीको रूपमा दक्षप्रजापति र विरणीबाट जन्मिन । त्यसपछि तेत्तीसकोटि कन्या जन्मिए । ती कन्याहरूलाई देवतासँग ‘कन्यादान’ गरिदिए । सतीदेवीलाई छोरा छैनन् भनेर विवाह नगरी राखे । पछिल्लो नेपाली समाजमा अनिवार्य छोरा चाहिने सोच बढ्दो छ । यदि छोरीछोरी जन्मिए भने बाउआमाको पालनपोषण गर्न र सम्पत्तिको सुरक्षा गर्न छोरीमध्येकी तेजस्वी प्रतापी छोरीको बिहे नगर्ने चलन थियो । त्यही चलनलाई मजबुत बनाउन यो कथा बुनिएको देखिन्छ । साथै ‘कन्यादान’ बालविवाह सँग जोडिएर आएको प्रचलन देखिन्छ । नेपालमा बालविवाहलाई संस्थागत गर्न यो कथाले टेवा दिएको छ । महाभारतकालसम्म कन्यादान दिएको प्रसंग छैन । पछिल्लो समयमा छोरीको विवाहमा कन्यादान अनिवार्य छ ।
यही कथासँग जोडिएर आउँछ । देवताले बिहे गरेको थाहा पाएर महादेव पनि बिहे गर्न चाहन्छन् । सतीदेवीको बिहे नभएको थाहा पाएपछि सतीदेवीलाई ‘माग्न’ जान्छन् । महाभारतकालसम्म पराक्रम देखाएर छोरी लान्थे । यो कथामा सतीदेवीलाई माग्न गएको प्रसंग छ । अहिले पनि छोरी माग्ने, केटी माग्ने प्रचलित भाषा छ । त्यही भाषा यहाँ प्रयोग गरिन्छ । मागिने भनेको चीजवस्तु हो, मान्छे होइन भनेर हामीले कतै सोचेनौँ । किनकि धार्मिक कथामा लेखिएको कुरा सत्य मान्नु हाम्रो धर्म ठान्छौँ ।सतीदेवीलाई माग्न आउँदा दक्षप्रजापतिले महादेवलाई अपमानपूर्वक फिर्ता गर्छन् । महादेवले दक्षको व्यवहार विष्णुलाई सुनाउँछन् । अनि विष्णु आफूलाई भनेर सतीदेवीलाई माग्छन् । कन्यादान दिने बेलामा भिक्षुरूपी महादेवको हातमा सतीदेवीको हात थमाइदिन्छन् ।
यो कथा पढ्दै गर्दा लाग्छ । सतीदेवीलाई आदिशक्ति दुर्गादेवी भनिन्छ एकातिर । आराधना गरिन्छ । अर्कातिर दक्ष सम्पत्ति रुँघ्न छोरीको विवाह नगर्ने निर्णय गर्छ । त्यही बेला विष्णुले छल गरेर महादेवलाई सतीदेवी पारिदिन्छन् । सामान्यभन्दा सामान्य पनि मानवीय संवेदना टुटाएर सतीदेवीको विवाह प्रसंगलाई कथामा बुनिएको छ । र, सतीदेवीलाई निरीह प्राणीको रूपमा चित्रण गरिन्छ । आदिशक्ति भनिएकी सतीदेवी त्यति निरीह देखाइनुको कारण उनी आदर्शपत्नी या आदेशपालक छोरी बनाउनकै लागि हो भन्न सकिन्छ ।
कथामै छ । वृद्ध भिक्षुसँग बिहे गर्न बाध्य सतीदेवी वृद्धको झुपडीमा पुगेपछि खाने कुरा केही हुँदैन । वृद्ध चार दिनसम्म निदाउँछ । ब्युँझिएपछि उल्टै ‘पापिनी मलाई एक्लै बाहिर सुताएर भित्र सुतिस् । मलाई भोकै राखेर एक्लै खाइस् ।’ भन्दै गाली गर्छ । सतीदेवी हँसिलो मुख लगाएर सिंगारिएर ‘हजुरकै पाउमा चार दिनदेखि छु’ भनेर जवाफ दिन्छिन् भनिएको छ । एकातिर भिक्षु, अर्कातिर चार दिनदेखि निदाएको, ब्युँझिनेबित्तिकै गाली गर्ने । त्यस्तो चरम यातनामा पनि स्त्रीले हाँसीखुसी रहनुपर्ने, शृङ्गारयुक्त हुनुपर्नेछ । अन्त्यमा त्यो भिक्षु महादेव हो भनेर सतीदेवीले थाहा पाउँछिन् । कोसँग विवाह गरेँ भनेर पनि थाहा नभएको अवस्था छ सतीको ।स्त्रीले हरेक पाइलामा परीक्षाको सामना गर्नुपर्ने हुन्छ । र, पास हुनैपर्ने अनिवार्य सर्तयुक्त सन्देश दिइएको छ । न्यूनतम मानवीय संवेदना पनि स्त्रीलाई जरुरी हुँदैन भन्ने मान्यताबाट यस्ता कथा बनेका छन् । तिनै कथाका चरित्र अहिलेको हाम्रो समाजमा स्वीकार्य र कार्यान्वयन भएका यद्यपि देखिन्छन् ।
उन्नाइस अध्यायतिर आइपुगेपछि मत्र्यमण्डलको कथाप्रसंग आउँछ । जसमा शिव भट्ट र सती नाम गरेका अति गरिब ब्राह्मण जोडीले सिद्धिविनायकको वरदान पाएर सम्पत्ति र गोमा नाम गरेकी छोरी प्राप्त गर्छन् । दान जपतपमा लिप्त ती ब्राह्मण दम्पतीदेखि डराएका विष्णु भगवान्ले शिवलाई भिक्षुको रूपमा उनीहरूको घरमा पठाउँछन् । चामल केलाइरहेकी छवर्षे बालिका गोमाले भिक्षा दिन ढिला गरेको निहुँ थापेर भिक्षुरूपी शिवले गोमालाई श्राप दिन्छन् । ‘तँ सात वर्षकी हुँदा सत्तरी वर्षको वृद्धसँग तेरो विवाह होस् ।’ छ वर्षकी बालिकामाथि किन यस्तो श्राप ? यो प्रश्न कहिल्यै गरिंदैन ।
नभन्दै गोमा सात वर्षकी हुँदा शिव शर्मा नाम गरेका सत्तरी वर्षका अत्यन्त कुरूप र वृद्ध ब्राह्मणसँग शिव भट्ट र सतीले विवाह गरिदिन्छन् । कथामा वर्णन गरिएअनुसार गोमा सात सूर्यजस्तो तेजस्वी, पूर्णिमाको चन्द्रमाजस्तो उज्याली, बाघको जस्तो कम्मर भएकी, हात्तीको सुँडजस्तो उरु भएकी पद्मपत्रजस्तो नेत्र भएकी, सावित्रीको जस्तो केश भएकी परम सुन्दरी थिइन् । उनी अत्यन्त भाग्यमानी पनि थिइन् । कथामा शिव शर्मा ब्राह्मणको वर्णन यसरी गरिन्छ सोह्र वर्षको उमेरदेखि कन्या खोज्दै हिँडेका र कन्या नपाएका । थकित भएर गंगाको किनारमा शिलासन गरी एक कुनामा बस्थे । उनी कुप्रा, कान नसुन्ने, डेरा, कैला आँखा भएका, आँखिभौँ जोडिएका, केश पाकेका, मुखदेखि र्‍याल चुहेका अत्यन्त कुरूप थिए ।
गोमाले शिव शर्मालाई पतिको रूपमा स्वीकार गर्दा कथामा प्रसंग जोडिएको छ । ‘दैवले जे चाहन्छन् त्यही हुन्छ । दैवभन्दा माथि कोही छैन । दैव लागेर रामचन्द्र वनबास गए, द्रौपदीको चीरहरण भयो, महादेवलाले कालकुट विष पिउनुपर्‍यो, दानी बली पाताल भासिनुपर्‍यो, कृष्णले यदुवंशको विनाश देख्नुपर्‍यो । भाग्यभन्दा माथि कोही छैन । ब्रह्माण्डमा सम्पूर्ण चीज नासवान छन् । पूर्वजन्मको फल भोग्नैपर्छ ।’ यसरी स्त्रीलाई भाग्यवादी बन्न कथाद्वारा प्रेरणा दिइन्छ । पूर्वजन्मको त्रास बालकैदेखि देखाइन्छ ।
जम्मा सात वर्षकी अबोध बच्ची गोमालाई सत्तरी वर्षको खुम्री परेको बूढो शिव शर्मासँग विवाह गरिदिए । अनमेल विवाह गरिदिएर भाग्यलाई दोष लगाई शिव शर्माप्रति पतिभक्तिका साथ रहेको कथा बुनिन्छ । व्रत लिने जो कोही महिलालाई पनि विवाहलाई भगवान्का पालामा त हुन्थ्यो । मान्छेका पालामा हुनु सामान्य हो भनेर स्वीकार गर्ने मनोविज्ञानको विकास गर्नलाई त्यस्ता कथा बुनिएको देखिन्छ । त्यस्तो कार्य अमानवीय हो भनेर उनीहरूले कहिल्यै जानेनन् । सिंगो समाज त्यही परिपाटीमा हुर्कियो । महिलाहरूले सिकेको भाषा नै यस्ता धार्मिक ग्रन्थबाट हो । जहाँ त्याग, आदर्श नैतिकताको एकपाटे आवाज सुनाइन्छ ।
कथाले भन्छ— शिव भट्ट र सतीलाई सन्तान नहुने श्राप थियो । विनायकले वरदान दिए पनि श्रापको कारणले छोरा (सन्तान) जन्माउने वरदान दिन नमिल्ने भएर गाईको गोबरबाट छोरी प्राप्त हुने वरदान दिए । गाईको गोवरबाट उत्पत्ति भएकी हुनाले गोमा नाम राखियो । तर, पूर्वजन्मको श्रापले गोमाले दु:ख भोग्नुपर्ने थियो । कथामा ती दु:खका भवसागरलाई भाग्यको रूपमा सहन र स्वीकार गर्न लगाइएको छ ।
एकातिर सन्तान भनेको छोरा हो । छोरी होइन भन्ने मान्यतालाई जोड दिन्छ । अर्कोतिर छोरी नै जन्मिए पनि गोमा श्रापको भागीदार हुन जन्मिएकी हुन् । हाम्रा हिन्दुशास्त्रमा छोरीलाई या त श्रापको भागीदार हुन् या कुनै निहित उद्देश्यपूर्तिका लागि जन्माइन्छन् । र, तिनीहरू आमाका कोखबाट जन्माइँदैनन् । जस्तै : गोमा गोबरबाट उत्पत्ति हुन्छिन् । सीता जमिनमुनिबाट, द्रौपदी आगोबाट उत्पत्ति हुन्छिन् । उनीहरूलाई उद्देश्यपूर्वक उत्पत्ति गराइएका छन् । चरम अपमान, चरम यातना, चरम आदर्शका कुरा उनीहरू मार्फत देखाइन्छ । र, यो समाजमा स्त्रीलाई कर्म र भाग्यअनुसार भोग्नेछौं भनेर धर्म र आस्थाको आडमा धम्काइन्छ । यसरी धम्क्याउँदा गालीको भाषा प्रयोग गरिंदैन । धर्मको भाषा प्रयोग गरिन्छ । धर्मको भाषाले मान्छेलाई श्रद्धा जगाउँछ । झुकाउँछ । त्यसभित्रको राजनीति खुट्याउनतिर लागिंदैन । त्यही राजनीति यस्ता कथा मार्फत प्रसारण गरिन्छ । अनि वर्षौंवर्षसम्म शासन गरिन्छ ।
कथा अघि बढ्छ— गर्भिणी गोमालाई घरैमा छोडी गर्भाधान कर्मका लागि भिक्षा माग्न जाँदा रूखबाट लडेर शिव शर्मा मर्छन् । गर्भिणी गोमा एक्लै हुन्छिन् । अब गोमाले भाग्यको फल भोग्नुपर्नेछ । बरु अघिपछि कहिल्यै नहोस् । तर, गर्भिणी हुँदा हरेक स्त्रीका पुरुष साथमा हुन् । गर्भिणी हुँदा एक्लै भएको कहालीलाग्दो समयमा गोमालाई उभ्याइन्छ । समय आएपछि गोमाले नवराज नाम गरेका छोरालाई जन्म दिन्छिन् । गोमाले कठोर दु:खका साथ नवराजलाई सम्पूर्ण शास्त्रको शिक्षादीक्षा दिएको प्रसंग छ । समय आएपछि बरुणपुरका अग्निस्वामीकी छोरी चन्द्रावतीसँग नवराजको विवाह हुन्छ । बाबुको खोजीमा निस्किएका नवराजले बाबु रूखबाट लडेर मरेको थाहा पाउँछन् । परम्पराअनुसार बाबुको क्रिया गरेर उतै काम खोजेर बस्छन् । यता चन्द्रावती माइत जान्छिन् ।गोमा फेरि एक्लै हुन्छिन । गोमाको दु:ख देखेर पार्वतीलाई दया जाग्छ । सप्तऋषिहरूलाई अनुरोध गरेर स्वस्थानीको व्रत लिएपछि बाबु खोज्न गएका छोरा नवराज पनि आउँछन् । गोमाका दु:खका दिन पनि सकिन्छन् । गंगामा स्नान गर्न जाँदा हरिहर प्रकट भएर नवराजलाई लावण्यदेशको राजा होलास् भनेर वरदान दिएका हुन्छन् । उता लावण्यदेशमा सुवर्ण कलश र फूलको माला दिई हात्तीलाई राजा खोज्न लगाइएको थियो । हरिहरको वरदानयुक्त नवराज ब्राह्मणलाई हात्तीले राजा बनाउन अभिषेक गर्‍यो । माता गोमा पनि लावण्यदेश आइन् । राजा नवराज र रानी लावण्यवतीलाई राज्याभिषेक गराए ।
चन्द्रनगरमा रहेकी चन्द्रावती लावण्यदेशमा आउँदा बाटामा अप्सराहरूले पूजा गरेको डोलेहरूले देख्छन् । त्यो पूजा स्वस्थानीको हुन्छ । चन्द्रावतीले प्रसाद छि:छि: र दूरदूर गर्दै फाल्छिन् । त्यही पापले चन्द्रावती शाली नदीमा खस्छिन् । शाली नदी बग्न छाड्छिन् । माझीहरूले नदी बग्न छाडेको कुरा राजालाई सुनाए । राजाले हुकुम दिए, ‘नदीमा जाल हालेर हेर्नू ।’ राजाले भने मुताविक माझीहरूले नदीमा जाल हाले । अर्धमृत अवस्थामा अर्धचेत भएकी एक स्त्री जालमा परिन् । शरीरमा कुष्ठरोग भएकी, हातपाउ खसेकी, होस नभएकी, हिलोले छोपिएको मुढोजस्तो भएकी । ती चन्द्रावती थिइन् । माझीहरूले चिनेनन् । अझै पनि नदी नबगेपछि नवराज राजा स्वयं गएर अघ्र्य दिएपछि नदी बग्न थालिन् । चन्द्रावतीको त्यो भयभीत र दर्दनाक कथा सुन्दा जो कोही स्त्री पनि आफूलाई उनको ठाउँमा राखेर हेर्छन् । अनि आतंकित हुन्छन् । यसरी आस्था र धर्मको नाममा नाममा स्त्री मनोविज्ञानलाई आतंकित बनाएर वशमा राख्ने सामथ्र्य राख्छन् यी कथाले । सत्ता र शासनको यो अर्को रूप हो ।
कथामा स्त्री पात्रले खेपेको दु:ख र भुक्तमानले आङ नै सिरिङ्ग हुन्छ । जति ठूलो अन्याय र अत्याचार गर्दा पनि पुरुष पात्रलाई पाप नलाग्ने । सानोसानो घटनाले पनि ठूलोठूलो अपराधको भागीदार नारी पात्रले हुनुपर्ने । उनीहरूले भोगेको यातनाको हिसाब नहुने । यातनाको चरम रूप देखाइन्छ । विष्णुले वृन्दालाई छल गरेर सतीत्व लुट्छन् । अहिलेको भाषामा भन्दा बलात्कार गर्छन् । त्यो बलात्कारको भागीदार विष्णु नभएर स्वयं वृन्दा नै हुनुपर्ने । यद्यपि बलात्कारजस्तो अपराधको भागीदार पुरुषभन्दा महिला बढी हुने गरेका छन् । यी कथाको नजानिदो प्रभाव यो पनि हो ।एकातिर स्वस्थानी देवी आदिशक्ति भनिन्छ । ती देवी स्त्री नै हुन् । अर्कातिर सतीदेवी, गोमा, वृन्दा, चन्द्रावती, सती, नागिनीले खेपेको चरम दु:ख र यातनालाई उनीहरूले हाँसीहाँसी स्विकार्नुपर्ने । अस्वीकार गरे एक जन्ममा नभएर अर्को जन्ममा पनि त्यसको भागीदार हुनुपर्ने । पाप पखाल्न व्रत लिनुपर्ने ।
एकातिर कथाहरूले स्त्रीलाई पूजा नै गरेको छ भन्ने भ्रम छर्ने काम गरेको छ । अर्कोतिर विभिन्न स्त्रीपात्र खडा गरेर मनोवैज्ञानिक रूपमा कमजोर बनाउने गर्छन् । त्यस्ता कथा सुनिरहँदा जो कोही स्त्रीको मनमा डरलाग्दो त्रास उत्पन्न हुन्छ । त्रासले मान्छेलाई केही सोच्न नसक्ने बनाउँछ । तिनै कथाहरू स्त्रीहरूका ज्ञानका स्रोत बनेका छन् । पुरुषहरूले पाप पखाल्न या केही प्राप्त गर्न व्रत लिनुपर्दैन । किनकि कथामा, व्रतमा उनीहरूलाई त्यसरी प्रेरित गरिंदैन । या त उनीहरूबाट पाप हुन्छ भन्ने धारण बनेकै छैन । महिलाहरूले लिने व्रतसँग जोडिएर आउने कथाहरूले जहिले पनि नारी मनोविज्ञानलाई त्रास उत्पन्न गराएका छन् । हेर्दा सामान्य लाग्ने तर भयावह र डरलाग्दो गरी मनलाई कमाउने कथा छन् । कथाको सुरुआतमा श्रीस्वस्थानी माता चार हातमा त्रिशूल, तरबार, चक्र, कमल लिएर अष्टदलमा अवस्थित अष्टमातृकाहरूको बीचमा स्वर्ण सिंहासनमा आदिशक्तिको रूपमा रहेकी छन् भनिन्छ ।
कथाको अन्त्यमा भनिन्छ— व्रतको समापनमा आठ रोटीलगायतका अन्य आठ–आठ प्रसाद फलफूल पतिलाई दिनु । पति नभए छोरालाई दिनु । छोरा नभए मित छोरालाई दिनु । मित छोरा पनि नभए गंगामा बगाइदिनु । छोरीलाई सन्तान मानेकी आमाले यो व्रत लिँदा आठरोटी के गर्नु ? मितछोरा खोज्नु कि ? गंगामा बगाउनु कि छोरीलाई दिनु ? मित छोरालाई सन्तानको स्थान दिइन्छ । तर छोरीलाई त्यति पनि स्थान दिइँदैन । हाम्रो समाजमा छोरीलाई भोग्या, भाग्यवादी, सेवक, सुसारेजस्ता रूपमा स्थापित गरिने मान्यता यस्ता कथाबाट विकास भएको देखिन्छ । त्यसैले त छोरीछोरी भए भने ‘हेर विचरा † एक पटक अझै कोसिस गर्नु । यत्रो टेक्नोलोजीको विकास भएको छ † नहेराएको ? ए छोराछोरा भएछन् । ढुक्क भयो ।’ जस्ता प्रतिक्रियाको सामना गरिरहेका छौँ ।
एकातिर स्त्रीहरू शक्तिशाली हुन्छन् भनेर प्रार्थना गर्ने देवीको रूपमा खडा गरिन्छ । अर्कोतिर सन्तानको रूपमा पनि स्वीकार नगर्ने देखिन्छ । त्यसो हुँदा महिलाहरू आजसम्म पनि भ्रममा नै छन् । साँच्चै स्त्रीहरू आदिशक्तियुक्त देवी हुन् कि सन्तान हुन पनि लायक नहुने प्राणी हुन् ? यस्ता कथाहरूलाई संशोधन गर्ने हो कि यत्तिकै चुप लागेर बसिरहने
हो ? विज्ञजनले केही बोल्ने कि ?
प्रकाशित : kantipur, माघ २६, २०७५ १२:०१

महापातकी विरूपाक्ष !

  महापातकी विरूपाक्ष ! विरूपाक्ष डा० माधव प्रसाद पोखरेल (‘नयाँ पत्रिका’ मा ‘महापातकी विरूपाक्ष’ शीर्षकमा प्रकाशित, कात्तिक २ गते २०७६ शनि बा...